विकिरण युक्त घामका किरणहरु
जब चिहाउँछन्
पहाडका कापबाट
ओझेल पार्न खोज्छन् त्यसलाई
कंक्रिटका जंगलहरुले शहरभीत्रबाट ।
पछ्याउँदै त्यसैलाई
शहरका अर्धनग्न मान्छेहरु
दौडन्छन् मृगमरीचिका
तिर्खा भएर समुद्र तिर
लम्पसार पर्छन् पानीको नजिकै
समुद्रको कुनै किनारमा
अनि तताउँछन् चीसा मांसपिण्डहरु
तातो वालुवामा ।
कुनै विष कन्याले झै
विषालु घामको किरणले
जब स्पर्स गर्दछन् देहमा
तब क्षणभरमै उत्तेजित हुन्छन्
पसिना बगाएर वालुवामा तप ! तप !
अलिपर
ओभरकोट लाएका एक जोडी बुढो बैंश
बकुल्ला झै झोक्राएर बसेका छन्
समुद्रको डिलमाथि
खल्खली पसिना काढ्छन्
आफ्नो जवानी सम्झेर ।
हेर्दा हेर्दै
उत्तेजित सूर्य बिस्तारै सिथिल हुँदै जान्छ
र अस्ताउँछ समुद्रमा
अनि सिथिल हुन्छन् सबै
बत्ति निभाएर ।