विश्राम धेर गरियो कविता कलामा
यो हातले नि रचिए अघि कल्पनामा
अल्छी भएर अहिले अब लेखनी यो
के लेख्नु लेख्नु भइयो कविता हरायो ।।
लेखौं म दुक्ख जति छन् दुनियाँ अघाडि
होलान् म लेख्छु जति छन् सजिला पछाडि
थाक्नै हुँदैन कविले यति मात्र जानें
धेरै गरौं म रचना अनि रच्न थालें।।
लेखेर काव्य अघि ता म त मक्ख पर्थें
लेखें कथा कति सधैं म त दङ्ग पर्थें
त्यै हो कला तर कता किन आज लुक्छ
लेख्नै अशक्त करले किन व्यंग्य गर्छ।।
आफ्ना कुरा कति मिठा कविता भएर
फुट्थे नि भाव कहिले गहिरा भएर
संसार त्यो सृजनको किन हो हरायो
जो सीपथ्यो नि अघिको अब खै हरायो ।।
उस्तै कला अब म फेरि सजाउँ भन्दै
यो हो वसन्ततिलका अब छन्द बुन्दै
लेखेर दिन्छु दुनियाँसित बात गर्दै
यो सिर्जनासँग रमाउँ अनन्त भन्दै ।।
सुस्तीपना अब म छोड्छु र फूर्ति हुन्छु
धेरै गरिन्छ रचना अनि काव्य बुन्छु
लेख्दै म भाव मनका अब लोकलाई
गर्नेछु धेर सृजना मनले रमाइ।।
पढ्दा विभिन्न कविता अथवा कथा हुन्
उल्लास हुन्छ मनमा रचना पढे झन्
मेरा विचार पढिउन् अनि हर्ष हुन्छ
लेखौं हलौं मन हुनेछ विचार फुल्छ।।
संकल्प गर्छु म त हो कवि कर्म गर्ने
विश्राम हो अब उसो कहिल्यै नगर्ने
साहित्यका सब विधा म समेट्छु भन्दै
आएँ म आज सृजना नवनीत उन्दै।।