14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अनलाइन क्लास

कथा राजु “हिमांशु” June 6, 2021, 11:51 am
राजु “हिमांशु”
राजु “हिमांशु”

“तपाईँको सिटिङ रूम खोलिदिनुहोस् न। म त्यहाँ अनलाइन क्लास गर्छु नि बडा।”
“तिम्रो घरमा गएर गर न । मेरो घरको सिटिङ रूम नै तिमीलाई किन चाहियो?”
“होइन कि यहाँ नेटवर्क राम्रो भेटिन्छ नि त।”
“नेटवर्क राम्रो भेटियो भनेर मेरो बेड रूममा नै क्लास गर्छौ कि क्या हो ?पर्दैन पर्दैन यहाँ क्लास गर्नु।”
“ए बडा त कस्तो हौ!” भनी नमिता त्यहाँबाट गई ।
“हन यो कोरोनाले पनि गर्नु गर्यो । स्कूल कलेज चैँ बन्द। क्लास चैँ अनलाइन हरे । अनलाइन क्लास पनि अर्काको घरमा पो हरे। त्यही पनि सिटिङ रूममा पो हरे। कस्तो जमाना आयो हौ यस्तो?” गन्गनिँदै राईबडा घरभित्र पसे।
नमिता छिमेकीकी छोरी। उसको घर सानो छ र केही अव्यवस्थित पनि छ। घरभित्र बसेर अनलाइन क्लास गर्दा उसलाई केही ग्लानिबोध हुने गर्छ । मोबाइल फोनको क्यामेराले उसको घरको अस्तव्यस्तता खिँचेर मिसलाई देखाउँछ कि भनी एक प्रकारको लघुताभासको शिकार हुन्छे ऊ । नेटवर्क त झन उसको घरभित्र राम्रो चल्छ। तर आफू जे र जस्तो स्थितिमा छ त्यो कसैले नदेखोस् भन्ने सोचले उसलाई घोच्छ । त्यसैले कलेज त लागेकै राम्रो लाग्छ उसलाई । घरमा कोही पनि नआओस् जस्तो लाग्छ उसलाई। घरको ल्याङफ्याङ अवस्थाले उसलाई भित्रबाट टोकेको टोकेकै छ र ऊ आँगनमा बसेर अनलाइन क्लास गर्छे। घाम चर्को लागेकोले गर्दा उसलाई केही असुविधा भयो मोबाइलमा हेर्दै अनलाइन क्लास गर्नु । त्यसैले छिमेकी राईबडालाई आँगनमा देखेर उसले सिटिङ रूममा क्लास गर्छु नि भनेकी थिई। हिजो राईनीबडीले भने सिटिङ रूम खोलिदिएकी थिइन् अनलाइन क्लास गर्नु । त्यसैले आज पनि नमिता त्यही सिटिङ रूममा बसेर क्लास गर्नु चाहन्थी। तर राईनीबडी बजार गएकीले गर्दा राईबडालाई त्यसो भनेकी थिई । हिजो मलामी जानु परेकोले गर्दा राईबडालाई थाहा थिएन नमिताले हिजो त्यही सिटिङ रूममा क्लास गरेको कुरा ।
राईबडा अझै गन्गनिँदै थिए-“हन कस्तो समय साँच्चै ? पढ्नलाई कलेज जानु पर्दैन। घरमै बस्यो । फोनको भरमा क्लास गर्यो। त्यही पनि अर्काको घरमा बसेर हरे। पाहुना आउँदा अप्ठेरो पर्ने। यस्तो पढाइले पनि केही हुन्छ होला?क्लासमा बसे पनि भो नबसे पनि भो। मन लागेन भने क्लास नगरे पनि भो । नेटवर्क डिस्टर्ब भयो भनेर भन्दा पनि भो । यस्तो शिक्षानीतिले नानीहरूको भविष्य कति उज्ज्वल होला?कोरोनाले गर्नु गर्यो। कोरोनाको भ्याक्सिन निस्किएर पनि मास्क चैँ लगाउनु नै पर्ने भो। सामाजिक दूरत्व पनि पालन गर्नु नै पर्ने भो। ढुक्कले त हिँड्न कहाँ सकिने भो र! मास्क लगाएर हिँड्दा निसासिन्छ । स्वच्छ हावा पनि मास्कबाटै छिर्नुपर्ने भो। खै,कहिले यो कोरोनाको अन्त्य हुने हो ?”
“हन कोसित बोलेको?”भन्दै राईनीबडी कोठाभित्र पसिन्।
“ए आइपुग्यौ ?मेरो दवाई ल्याइदियौ?” राईबडा बोल्यो।
“ल्याइदिएँ। त्यो अर्को दवाईचैँ नखानु भनेको छ डक्टरले । लौ ,खाइहाल।” भन्दै राईनीबडीले राईबडालाई दवाई दिइन् ।
“कति दिनसम्म चैँ यसरी दवाईको भरमा जिन्दगी घिसार्नु पर्ने हो? लेऊ त।” भन्दै राईबडाले दवाई थापेर छेवैको फ्लास्कबाट अलिकति तातो पानी गिलासमा सारे अनि फिल्टरबाट केही चिसो पानी मिलाएर मनतातो पारी त्योसित दवाई निले ।
“कस्तो तितो रहेछ यो त। हैट !” राईबडा बोले।
“अब गुलियो त खानु नै हुँदैन। सुगर बढिहाल्छ। आफ्नो जिउको लागि तितो पनि खानु पर्यो नि । मेरो पनि त प्रेसर अलिक बढेछ। अर्कै दवाई दियो । त्यही क्लिनिकमै खाएँ एउटा। अब यो मुखलाई चैँ अलिक नियन्त्रणमा राख्नू भन्यो डक्टरले। अम्मुई ! मुख बारेर त दवाईको भरमा मात्र कसरी हुन्छ? अलिअलि टेसिलो त खानै पर्यो नि । आज त जे सुकै होस् भनेर गाउँमा काटेको मासु ल्याएको छु। राम्रो रहेछ।” राईनीबडी बोलिन्।
“राम्रो गरेछौ । म अहिले गएर बारीबाट रायोसाग टिपेर ल्याउँछु। मज्जाले पकाऊ त । त्यो जाँड पनि छिप्पिएको छ । एक मग त आज खाइदिन्छु। जे सुकै होस्।” राईबडा बोले।
“हन यो मान्छे के भाको? जिउ सञ्चो छैन पनि भन्छ। जाँड पनि खान्छु भन्छ। हुँदैन नि।”
“तिमीले चैँ खानु हुनु?मैले चैँ खानु नहुनु ?”
“अब मैले जाँडचैँ कहिले खान्छु भनेँ र ? मासु पो खान्छु भनेको त । मासु त तिमी पनि खाऊ न । तर जाँडचैँ नखाऊ भनेको पो त।”
“मासु ल्याएपछि मासुसित जाँड खानु मन लागिहाल्छ नि त। एक मगले त केही हुँदैन होला।”
“बिख धेरै खानु पर्दैन क्या। चुपो लागेर बस। साग पनि मै टिप्छु। दवाई खायौ होइन? अब टिभी हेर्दै बस। जाँडसाँडको कुरा पनि नगर। दङदङ गन्हाउने मुख बनाउने कामै छैन। फेरि भोलिदेखि थला पर्यो भने मेरो बिजोग।” राईनीबडी गन्गनिँदै बारीतिर लागिन् ।
“यो टिभी पनि कति हेर्नु हो? राजनीति र कोरोनाको कुरोमात्र हुन्छ । टिभी सिरियल तन्किएर वाक्क भइसक्यो। समाचार पनि के सुन्नु ?कोरोनाको रगरगी र राजनीतिको चकचकीमात्रै छ। फिलिम हेरूँ भने एउटै फिलिम कति चोटि देखाको हो हो । कोइबेला त जुनै च्यानल खोले पनि त्यही फिलिम चलाइरहेको देखिन्छ । यो आमाचैँ फिलिम भने पछि हुरूक्कै हुन्छे । के साह्रो मन परेको।” शयनकक्षभित्र राईबडा बरबराउँदै थिए एक्लै ।
साग टिपेर आएकी राईनी बडीलाई देखेर नमिता बोली-“बडी,आइपुग्नुभयो?”
“आइपुगेँ त नानी। आज क्लास छैन कि क्या हो ?”
“अहिले सकियो।”नमिता बोली।
“ए,राम्रै भयो? हाम्रो सिटिङ रूम देखेर तिम्रो मिसले के भन्यो होला हगि?”
“आज त तपाईँको सिटिङ रूममा क्लास गर्न पाइनँ।”
“किन?”
“बडाले दिनुभएन।”
“हँ ! यो मान्छे त यस्तै हो। ल ल भोलि गर्नू” भन्दै भान्साकोठाभित्र पसिन् राईनीबडी । हातको हरियो रायो सागलाई सिल्भरको बोलमा हालेर कलमा लगी धोएर भान्साकोठामा आइन् र काट्न थालिन्।
“औ, चुल्हा खाली छ भने एक गिलास चिया बनाऊ न । खानु मन लाग्यो।”राईबडा भन्साकोठाभित्र पस्दै बोले।
“एक छिन पर्ख। औ, तिमीले नमिता नानीलाई सिटिङ रूममा पढ्नु किन नदिएको हँ?”
“कहाँ हुन्छ त्यहाँ पढ्नु? हाम्रो सिटिङ रूम क्लास रूम हो कि क्या हो?कति घण्टा त्यहाँ बसेर पढ्नुपर्छ! कोही आइहाल्यो भने उसलाई पनि डिस्टर्ब हामीलाई पनि डिस्टर्ब। आफ्नो घरभित्र बसेर पढ्दा भइगयो त !”
“होइन,एक छिन बसेर पढ्दा के हुन्छ?”
“तिमी सफा गर्छौ सिटिङ रूम ?”
“आच्चे! एक छिन त्यो नानी बसेर पढ्दा मैला भइहाल्छ सिटिङ रूम?बिचरीलाई घरभित्र बसेर पढ्नु अप्ठेरो हुन्छ र पो त !”
“के को अप्ठेरो ?यो सिटिङ रूम नभा चैँ कसको सिटिङ रूममा गएर पढ्थी त?”
“अब उनीहरूको घर सानो छ। अलग्गै पढ्ने कोठा छैन। त्यो नानीलाई एकान्त चाहिन्छ । अलग्गै बसेर एकान्तमा पढ्न पाउँदा पढाएको पाठ पनि त याद हुन्छ।”
“मान्छेले नि आफू जस्तो स्थितिमा छ त्यो स्थितिसित सामना गर्नु सक्नुपर्छ। आफूसित जे छ त्यसैमा सन्तुष्ट भएर जिन्दगी धान्नु सक्नुपर्छ। सुविधा खोजर अरूमाथि आश्रित हुनु हुँदैन अनि अरूमाथि आश्रित भएर अरूलाई दु:ख पनि दिनु हुँदैन। आफू जे जस्तो अवस्थामा छ ,त्यहीबाट उठ्नु सक्नुपर्छ । आफ्नो स्थितिसित लजाएर अरूमाथि आश्रित हुँदै गयो भने त नि उन्नति गर्न सकिन्न। अप्ठेरोपन र लाजलाई फ्याँक्न सक्यो र आफू उभिएको ठाउँमाथि नै खडा भएर केही गर्नसक्यो भने चैँ त्यो मान्छेको भविष्य उज्ज्वल हुनुसक्छ। बुझ्यौ?” राईबडा चटाचट बोले ।
“आम्मामा ! यो मान्छेको भाषण हेर ! त्यति जाबो कुरोमा यति धेरै बोल्छ र त थला पर्छ। अर्कालाई परेको बेलामा त मदद पो गर्नुपर्छ त। कपटी गरेर हुँदैन। एकै छिन पढ्न दिँदा सिटिङ रूम खिइन्छ ?”
“मैले अरूको सुविधाको निम्ति सिटिङ रूम बनाएको होइन। फेरि त्यो नानीलाई चैँ के पर्यो त्यस्तो र मदद गर्नु?”
“होइन,हाम्रोमा चैँ नेट राम्रो चल्छ अरे नि त।”
“उसो भए हाम्रो बेडरूममा नेट झन राम्रो चाल्यो भने त्यहाँ क्लास गर्नु दिनु ?”
“यो मान्छेसित राम्रो कुरा गर्नु पनि भएन। बाङ्गो भइहाल्छ।”
“तिमी बेसी अरूको मदद मात्रै नभन।आफूलाई परेको बेलामा कसैले मदद गर्दैन। छिटो चिया बनाऊ” भन्दै राईबडा भान्साकोठाबाट निस्किएर बारीतिर लागे।
नमिता बाहिर आँगनमै थिई । उसले सबै सुनी। तर उसलाई त्यस्तो केही नराम्रो अनुभव भएन।बुढाबुढीका कुरालाई ऊ त्यति मान्यता पनि दिदिन । केटाकेटीजस्ता हुन्छन् उनीहरू। आमाले भनेकी कुरामा उसलाई विश्वास लागेको छ। त्यसैले पनि राईबडाको कुरामा उसले त्यति ध्यान दिइन।
राईनीबडी चियाको मग बोकेर भान्साकोठाबाट बाहिर निस्कँदा पनि नमिता आँगनमै थिई । राईनीबडीलाई राईबडाले ठुल्ठुलो स्वरमा भनेका कुरा नमिताले निश्चय सुनी होली भनेर केही ग्लानिबोध भएको अनुभूत भयो र “बडा त त्यस्तै हो। नरिसाऊ है नानी” भन्दै कोठाभित्र पसिन्। राईबडालाई कोठाभित्र नदेखेर राईबडी बोलिन्-“हन यो मान्छे कता गयो फेरि?” यति बोली हातमा भएको चियाको मग टिभी राखिएको टेबलको छेउमा राखेर कराइन्-“हन चिया मागेर कता लाग्यो हो यो मान्छे?”
बाहिरबाट आवाज आयो-“आउँदै छु।चिया त्यहीँ राखिदेऊ।”
राईबडा भित्र पस्नसाथ राईबडी बोलिन्-“कहाँ गएको थियौ?चिया सेलाइसक्यो।”
“बारीमा। पानीको पाइप फुटेछ। त्यसलाई बुच्च्याएर आएको। खोइ चिया?”
“यहाँ छ।”टेबलबाट मग उठाएर राईनीबडीले राईबडालाई दिइन् र भनिन्-“तिमी चैँ बोल्दा अलिक बिस्तारी बोल। अघि पनि के के भन्यौ । त्यो नमिता नानीले सबै सुनिछ।”
“अन्त के भो त ? मेरो आवाजै ठुलो छ भनेर थाहा छैन? सुन्यो त के भो? राम्रै भो।”
“हामीलाई पर्दा त त्यही नमिता नानीहरू त चाहिन्छ नि फेरि।”
“मैले चाहिन्दैन भनेको छु र?”
“”अन्त,नचाहिएलाजस्तो एक छिन हाम्रो सिटिङ रूममा उसको अनलाइन क्लास गर्नु किन नदिएको?”
“फेरि त्यही अनलाइन क्लासको कुरा? अब बेसी उसको नाक नथाप।”
“भोलिदेखि दिनू” भन्दै राईनीबडी भान्सा कोठातिर लागिन्।
राईनीबडी गएकी तर्फ हेरिरहे राईबडा ठुल्ठुला आँखा बनाएर । हातमा भएको चियाको मगबाट बाफ उड्दै थियो राईबडाको मन तातिएर रिस भित्रभित्रै उडेझैँ ।

डाउहिल,खरसाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।