14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रबुद्ध साहित्यकार तथा अध्यात्मिक चिन्तक श्री कृष्णसिंह मोक्तान

जीवनी गोपालसिंह विश्व June 6, 2021, 12:02 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतीय नेपाली साहित्यमा मूलत: आख्यानकारका रुपमा परिचित श्री कृष्णसिंह मोक्तान एक निष्ठावान्, अत्यन्त मृदुभाषी, सरल प्रकृतिका आदरणीय व्यक्तित्व हुनका साथै संवेदनशील मानवीय गुणले सम्पन्न, बौद्धिक तथा आध्यात्मिक चिन्तक पनि हुन्। उनले विद्यार्थी जीवनदेखि आफ्नो मातृभाषासँगसँगै अङ्ग्रेजी, बङ्गला, हिन्दी जस्ता उन्नत भाषिक ज्ञान तथा शैक्षिक योग्यता हासिल गर्ने क्रममा र जीवनको कर्मक्षेत्रमा अथक परिश्रम, धैर्य, अनुशासन, इमान्दारी र लगनशीलताका साथ जति सफलता हासिल गरे उत्तिकै साहित्य क्षेत्रमा पनि समानान्तर रुपले कलम चलाउँदै अघि बढेको देखिन्छ। लगभग पचासको दशकदेखि उनले कथा, कविता, उपन्यास, लेख-निबन्ध, संस्मरण, जीवनी, अनुवाद आदि विधामा कलम चलाउँदै आएका हुन्। वर्तमान एकानब्बे वर्ष उमेर नाघिसकेर वार्द्धक्य अवस्थामा पुगिसक्दा पनि लेखनप्रति प्रतिबद्ध, उत्साह एवं आशाका उज्याला किरणहरूले प्रज्वलित, एक कर्मनिष्ठ व्यक्तित्वका रुपमा उनी हामी सबैका निम्ति प्रेरणाका प्रतीक स्वरूप एक दृष्टान्त बन्न पुगेका छन्।
यस्ता सहृदयी श्रद्धेय पुरुषको जन्म दार्जीलिङको घूम पहाड़मा 21 अगस्त सन् 1930 को दिन पिता स्व. गौरीसिंह मोक्तान अनि माता स्व. रुपादेवी मोक्तानको एउटा मध्यम वर्गीय परिवारमा भएको थियो। उनी आफ्ना माता-पिताका चार भाई छोरा अनि एकजना छोरीमध्ये माइला सुपुत्र हुन्। तिनताक पिता गौरीसिंह मोक्तान घुम पहाडमा अङ्ग्रेजकालीन भारतको सिगरेट कम्पनीको एउटा वितरण केन्द्र डिपो इन्चार्जको पदमा कार्यरत थिए। केही वर्षपछि उनी दार्जीलिङ सहरको लोयड्स ब्याङ्कमा प्रबन्धक मुनिको लेखापाल (Accountant)-को पदमा कार्य गर्न थाले अनि सन् 1935 देखि घुमबाट सपरिवार दार्जीलिङ आएर स्थायी रुपले बसोबास गर्न थालेका थिए। कृष्णसिंह मोक्तानका माता-पिता आफु धेरै शिक्षित नभए पनि दुवै शिक्षाप्रति जागरुक र सचेत रहेका हुनाले आफ्ना छोरा-छोरीहरूलाई शिक्षित अनि समाजमा केही उल्लेखनीय कार्य गर्न सक्ने योग्यको बनाउने ध्येय राखेका थिए। उनको शैशवकाल आफ्ना माता-पिताको वात्शल्यपूर्ण अनि अनुशासित परिवेशमा बित्यो। बाल्यकालमा प्राथमिक पाठशालामा भर्ना हुन अघि नै उनले आफ्ना माता-पिताबाट केही नैतिक शिक्षा, बाल सुलभ संस्कार र साउँ अक्षरको ज्ञान प्राप्त गरिसकेका थिए।
उनको औपचारिक बुनियादी शिक्षाको शुरूआत दार्जीलिङको रामकृष्ण वेदान्त आश्रमबाट भयो। त्यसबेला उक्त विध्यालयका प्रधानाध्यापक थिए रामकृष्ण परमहंसका अनुयायी स्वामी प्रबुद्धानन्द महाराज। उनी अनेपाली भएता पनि त्यतिबेलाको दार्जीलिङको नेपाली समाजमा शिक्षाको ज्योति वाहक, एकजना प्रेरणादायी एवं प्रतिष्ठित व्यक्तित्वका रुपमा परिचित थिए। उनी रामकृष्ण परमहंस, स्वामी विवेकानंद जस्ता व्यक्तित्वहरूका आध्यात्मिक दर्शनका अनुयायी साथै साहित्य, कला र संस्कृतिका अनुरागी एवं अङ्ग्रेजी, हिन्दी, बङ्गला, नेपाली, तिब्बती आदि भाषाका ज्ञाता थिए। उनै स्वामी प्रबुद्धानन्दको सान्निध्य, प्रेरणा र अनुशासनमा एक वर्ष आश्रममा रहेर उनले प्रथम श्रेणीको पढ़ाई पुरा गरेका थिए। त्यसपछि उनी सन् 1938 मा आठ वर्षको उमेरमा दार्जीलिङ सरकारी विद्यालयमा दोस्रो श्रेणीमा भर्ना भए। सानै उमेरदेखि उनी पढ्नमा निकै तेज थिए। त्यसबेला दार्जीलिङ सरकारी उच्च विद्यालयमा नेपाली भाषा-साहित्यका अग्रज साहित्यिक व्यक्तित्वहरू सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सुधपा) जस्ता त्रिरत्न, सुयोग्य गुरुहरुको छत्रछायाँमा रहेर उनले शिक्षा ग्रहण गर्ने अवसर पाएका थिए। उनका तत्कालीन अन्य गुरुहरूमध्ये रामचन्द्र गिरी, परशुराम रोका, प. लालजी सहाय, ज्ञानेन्दुमोहन शर्मा, पदमबहादुर सिंह आदि स्मरणीय रहेका छन्। उनी सानैदेखि स्वामी प्रबुद्धानन्दको व्यक्तित्वबाट प्रभावित भएका थिए। वेदान्त आश्रम दार्जीलिङ सरकारी उच्च विद्यालयदेखि धेरै टाढा थिएन यसैले बीच बीचमा उनी स्वामीसित आशिर्वाद लिन अनि औपचारिक भेटघाट गर्न गइरहन्थे। यसरी शैक्षिक, भाषिक तथा साहित्यिक ज्ञान आर्जनको दिशामा दिनदिनै उनको प्रगति भइरहेको थियो। सन् 1945 मा उनी नवौं श्रेणीको विद्यार्थी छँदा अकस्मात् पिताको देहान्त भयो। उनले यसरी विद्यार्थी अवस्थाको कलिलो उमेरमा नै आफ्नो अभिभावक पिता गुमाए। फलस्वरूप परिवारमा आर्थिक अभाव र सङ्कटको परिस्थिति सृजना भयो। त्यसबेला उनले दुई वर्ष स्वामीजीको डेरामा बसेर आफ्नो अध्ययन तथा म्याट्रिक परिक्षाको तयारी गर्नु परेको थियो। सन् 1947 मा उनले प्रथम श्रेणीमा म्याट्रिकुलेसन उतिर्ण गरे। परिवारको आर्थिक परिस्थितिकै कारणले गर्दा म्याट्रिकुलेसनको परिक्षाफ़ल निस्कन अघि नै उनी 17 वर्षको उमेरमा तकदाह क्यान्टोन्मेन्ट स्थित अङ्ग्रेजी माध्यममा सञ्चालित ग्रिफिथ निम्न उच्च विद्यालयमा प्रधानाध्यापकको पद सम्भाल्न पुगेका थिए। त्यहाँ उनले तीन वर्षसम्म प्रधानाध्यापकको उत्तरदायित्व सम्भाल्दै स्व-अध्ययनबाट नै आई.ए. को परिक्षा दिए। यसरी सन् 1950 मा उनले आई.ए. पनि प्रथम श्रेणीमा उतिर्ण गरे। उनको आफ्नो शैक्षिक योग्यतालाई अझै अघाडी बढाउने उत्कट आकांक्षा रहेको थियो। उनलाई स्वामी प्रबुद्धानन्दको स्नेह एवं आशिर्वाद प्राप्त थियो। अन्तत: शिक्षण पेशालाई छोडेर उनी दार्जीलिङ सरकारी महाविद्यालयमा भर्ना भए। उनी एक मेधावी छात्र भएको हुनाले तत्कालीन कलेजका प्रिन्सिपल डा. सुनितकुमार मजुमदारले उनलाई मासिक रुपमा दिइने छात्रवृतिको व्यवस्था पनि गराइदिएका थिए। यसले उनलाई आफ्नो अध्ययन जारी राख्न धेरै सहज हुन गयो। मासिक छात्रवृति बाहेक पनि उनले अलग्गै तीन-तीन महिनामा अतिरिक्त वृतिको रुपमा एक मुश्त रकम पाउने गर्थे। यसले उनको परिवारमा पनि आर्थिक सहयोग हुन्थ्यो।
सन् 1952 मा स्वामी प्रबुद्धानन्दको देहान्त भयो। उनका प्रथम गुरु, मार्गदर्शक र शुभचिन्तकको मृत्यु हुँदा उनी अत्यन्त दु:खी भए। स्वामीजीको अध्यात्मिक चेतना, आदर्श, त्याग एवं मानवहितका कर्महरूबाट उनी अत्यन्त प्रभावित थिए र त्यसलाई आफ्नो जीवनमा पनि उतार्ने संकल्प गरिसकेका थिए। सन् 1953 मा उनले बी.ए. प्रथम श्रेणीमा उतिर्ण गरे। बी.ए. उतिर्ण गरेपश्चात् उनी पश्चिम सिक्किमको च्याखुङ जुनियर हाई स्कुलमा प्रधानाध्यापकको कार्य सम्हाल्न सिक्किम पुगे। तर प्रारब्ध अर्कै थियो, बी.ए. पास गरेर अझै उच्च शिक्षा हासिल गर्ने उनको मनमा रहेको इच्छा अधुरै थियो। यसर्थ लगभग एक वर्षको अध्यापनपछि शिक्षण पेशालाई त्याग गरी उनी आफ्नो शैक्षिक योग्यतालाई अघि बढाउने उदेश्यले कलकत्ता पुगे। त्यहाँ उनले सन् 1954 मा विश्वभारती शान्ति निकेतनबाट समाजशास्त्रमा डिप्लोमा लिए अनि रवीन्द्र सङ्गीत सम्बन्धी केही ज्ञान हासिल गरे। त्यसपछि सन् 1955 मा कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र विषय लिएर एम.ए. प्रथम श्रेणीमा उतिर्ण गरे। एम.ए. अध्ययनको साथसाथै उनको वकालतको अध्ययन पनि जारी रहेको थियो र सन् 1956 मा उनले एल.एल.बी. पनि उतिर्ण गरे। यस अवधिसम्म उनले मातृभाषा बाहेक अङ्ग्रेजी, बङ्गला र हिन्दी भाषा पनि राम्ररी पढ्न, लेख्न र बोल्न सिकिसकेका थिए। यसबाहेक पछि उनले सौंताली, उड़िया, असमी, तेलुगु, टिबेटन आदि भाषाहरूमा पनि बोल्न र बुझ्न सक्ने क्षमताको विकास गरे।
कलकत्तामा उच्च शिक्षा एम.ए. एल.एल.बी. को डिग्री हासिल गरे पश्चात् उनी दार्जीलिङ फर्के। सन् 1956 मा उनको विबाह दार्जीलिङको निकट तकदाह निवासी सरदार पी.एस.लामाकी सुपुत्री पुर्णिमा लामा (यल्मो)-सित सम्पन्न भयो। सन् 1956 मै उनी पश्चिम बङ्गाल सरकार अधीन खण्ड विकाश कार्यालय, जोरबंगलो-सुकियापोखरीमा समाज शिक्षा अधिकारी (Social Education Officer)-को पदमा नियुक्त भएका थिए। पछि त्यहीँ नै शिल्प विकास अधिकारी (Industrial Development Officer) भए। त्यहाँ लगभग चार वर्ष कार्य गरेपश्चात् उनको विभागीय स्थान्तरण भयो। उनी कलकत्ताको राईटर्स् बिल्डिङमा सन् 1960 मा ‘पश्चिम बङ्गाल’ नेपाली पत्रिकाको सम्पादनको कार्यभार सम्हाल्न पुगे।
त्यसपछि सन् 1963 तिर पश्चिम बङ्गाल सरकारको सेवा अधीन गृह विभागमा अधिकारी पदका निम्ति परिक्षा उतिर्ण गरी उनी डिस्ट्रिक सुपरेन्टेन्डेन्ट (जिल्ला अध्यक्ष) काराको ओहोदामा जलापाईगढी आए। त्यही अवधिमा उनले डुवर्सलाई पनि नजिकबाट चिन्ने अवसर पाएका थिए। त्यहाँबाट उनी सन् 1969 मा स्थानान्तर भई आसनसोल पुगे। आसनसोलबाट उनी सन् 1973 मा मुर्शिदाबादको बहरमपुर सेन्ट्रल जेलको सुपरेन्टेन्डेन्ट भए। त्यसपछि सन् 1975 र 1976 मा क्रमश: दमदम र अलिपुर सेन्ट्रल जेलको सुपरेन्टेन्डेन्ट रहे। सन् 1976-80 का माझमा उनी डी.आई.जी, (कारा) अनि सन् 1980-85 मा अतिरिक्त आई.जी. (कारा) रहेपश्चात् सन् 1986 देखि उनी पश्चिम बङ्गाल राज्यको गृह विभाग अन्तर्गत उच्च पदस्थ अधिकारी आई.जी.(कारा)-को उत्तरदायित्व सम्हाल्न पुगेका थिए। उनी सरकारी सेवाकालमा स्थानान्तर भइ जहाँ जहाँ पुगे उनकी सहधर्मिनी पनि सदैव साथमा रहेकी थिइन्। दुई दम्पतीको वैवाहिक जीवन सुखमय रहेको थियो। तर सन्तानको रुपमा कुनै जयजन्म हुन नसकेको जानकारी पाइयो। सन् 1980 मा कृष्णसिंह मोक्तानका दाज्यु अरूणचन्द्र मोक्तानको देहान्त भएपश्चात् उनका पाँच जना छोरीहरूलाई काख लिएर उनले उनीहरूको लालन-पालन, शिक्षा-दीक्षाको दिशामा आफ्नो कर्तव्यको पालन गरे। एकतीस वर्षको दाम्पत्य जीवनपछि सन् 1987 मा उनको धर्मपत्निको देहान्त भयो। सन् 1993 मा माता पनि बित्नु भयो। उनी एक्लो भए। तर जीवनमा आफुले गर्नुपर्ने कर्तव्यहरूबाट कदापि विचलित भएनन्। उनी आफ्नो सरकारी सेवाप्रति कर्तव्यनिष्ठ एवं इमान्दार रहेको हुनाले पनि प्रशासनको नजरमा एक सुयोग्य अधिकारीका रुपमा उनले निकै ख्याति पाइसकेका थिए। सम्भवत: यसैकारण सन् 1990 मा उनको अवकाश ग्रहण गर्ने समय आइसकेको भए तापनि तत्कालीन मुख्यमन्त्री ज्योति बसुको व्यक्तिगत परामर्शमा उनको सेवाकाल अझै 9 वर्ष विस्तार गरिएको थियो। अन्तत: उनी सन् 1999 मा सेवानिवृत भएर दार्जीलिङ फर्किए। आज उनी सेवानिवृत भएर आएको पनि लगभग 22 वर्ष बितिसक्यो। वर्तमान उनी आफ्नो अवकाशप्राप्त जीवन समाज सेवा, साई धर्मप्रति दृढ़ आस्था अर्थात् अध्यात्मप्रति ध्यान मनोयोगका साथ साहित्यका विविध विधागत अध्ययन, चिन्तन र लेखनमा आफ्नो अमूल्य समयको सदुपयोग गरिरहेका छन्।
भारतीय नेपाली साहित्य क्षेत्रमा उनको लेखनको पृष्ठभूमिमाथि नजर दौड़ाउँदा सरकारी नोकरीको कारणले निरन्तरतामा केही व्यतिक्रम देखिए तापनि साहित्यप्रति उनको योगदान यथेष्ट रहेको पाइन्छ। असल एवं सुयोग्य गुरुहरूको प्रभावले विद्यार्थी जीवनदेखि नै शिक्षाप्रति जागरुकतासँगै साहित्यप्रति उनको अभिरुची बढ्दै गएको थियो। यसै क्रममा सन् 1945 मा नवौं श्रेणीमा अध्ययनरत छँदा ‘बढौं बढौं’ शीर्षकमा उनको प्रथम कविता ‘गोर्खा’ पत्रिकामा प्रकाशित भएको जानकारी पाइन्छ। उनको ‘प्रायश्चित’ शीर्षक कविता सन् 1948 मा ‘युगवाणी’ पत्रिकामा प्रकाशित भएको थियो। महाविद्यालय जीवनको प्रारम्भमा उनका कथाहरू ‘गरिबको आँशु’ (सन् 1950 - हाम्रो कथा), ‘भिखारी’ (सन् 1951 - साथी), ‘चलाख’ (सन् 1952 - धुवाँ), प्रकाशित भएको पाइन्छ। उनका अन्य कथाहरू समला, हाम्रो संसार, परिवर्तन, पिँढी, दियालो, हिमालय दर्पण आदि पत्र-पत्रिकाहरूमा पनि प्रकाशित भए। उनले अङ्ग्रेजी साहित्यका कविहरू कलरिज, वर्ड्सवर्थ, शेली, किट्स र वायरनका कविताहरू पनि नेपालीमा अनुवाद गरेका छन्। त्यहीबेलादेखि उनका केही लेख-निबन्ध तथा संस्मरणहरू पनि प्रकाशित हुँदै आएका छन्। तीमध्ये गुमानसिंह चामलिङको सम्पादनमा दार्जीलिङबाट निस्कने पत्रिका ‘साहित्य सङ्गम’ मा प्रकाशित ‘अङ्ग्रेजी साहित्यमा रोमान्टिसिज्म’ अनि ‘स्वामी प्रबुद्धानन्द स्मृति ग्रन्थ’ मा प्रकाशित ‘नयाँ दार्जीलिङका महान् स्वप्नदर्शी स्वामी प्रबुद्धानन्द’ उल्लेखनीय रहेका छन्। यी बाहेक उनले रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, सिस्टर निवेदिता, बर्ट्रेन्ड रसेल, अल्बर्ट आइन्स्टाइन जस्ता विद्वान मनिषीहरूका जीवन चरित्रबारे फुटकर लेखहरू लेखेर विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित गराएका छन्।
पुस्तक रुपमा उनको प्रथम कृति ‘चरणधूलि’ उपन्यास सन् 1958 मा प्रकाशित भएको थियो। त्यसपछि सन् 1959 मा उनको कथा सङ्ग्रह ‘प्रेम, भ्रान्ति र सत्य’ (आठ वटा कथाहरूको सङ्ग्रह) प्रकाशनमा आयो। सन् 1960 मा उनले नाटक ‘सुनौलो बिहान’ लेखेको जानकारी पाइन्छ। दार्जीलिङमा यसको मञ्चन पनि गरिएको थियो। यसका निम्ति पश्चिम बङ्गाल सरकारबाट नगद पुरस्कारद्वारा उनी सम्मानित पनि भएका थिए। त्यसपछि उनका अझै दुई वटा नाटक ‘मृत्युपछि’ र ‘वीरहरू’ पनि मञ्चित भएका थिए। तर ती नाटकहरू सबै अप्रकाशित नै रहे। यसका अतिरिक्त विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित उनका डेढ़ दर्जनभन्दा अधिक कथाहरूको सङ्कलन गरी पुस्तक रुपमा प्रकाशित गराउन बाँकी नै रहेको छ। सन् 1964 मा उनको दोस्रो उपन्यास ‘अशेष यात्रा’ अनि सन् 1969 मा तेस्रो उपन्यास ‘जीवन परिक्रमा’ प्रकाशित भयो।
सरकारी सेवाको यति उच्च ओहोदासम्म पुग्न सफल रहेका एकजना साहित्यिक व्यक्तित्वलाई कुन समय र परिस्थितिले साई सान्निध्यको दिशामा अग्रसर हुन जागरुक गरायो त्यसप्रति कौतुहलतावश बुझ्ने प्रयास गर्दा थाह पाउन सकेका केही घटनाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु। सन् 1969 मा उनी जलपाईगढीबाट बर्द्धमान जिल्लाको आसनसोलको विशेष (स्पेशियल) जेलका अधिक्षक (सुपेरिन्टेन्डेन्ट)-को उत्तरदायित्व सम्हाल्न पुगेका थिए। दार्जीलिङ पहाड़ भेकका उनी जस्ता सीधा-साधा शिक्षित र सुयोग्य व्यक्तिका निम्ति जेलका कैदीहरूको नाना थरिको समस्याहरू र अनेकौं जटिलताहरूले भरिएको त्यति ठुलो जिम्मेदारी सम्हाल्नु त्यसबेलाको परिस्थिति अनुसार सहज थिएन। मधेसको प्रचण्ड गर्मी, बङ्गालमा त्यस समयको अशान्त राजनैतिक गतिविधि, कम्युनिष्टहरूको वामपन्थी आन्दोलन, उग्र नक्सलवादी आन्दोलन, कारारक्षी सिपाही वाहिनीका युनियनको असङ्गत दावपेँच, इन्क्वारी, सस्पेन्सन, सजाय आदि अनेकौं समस्याहरूको सामना गर्नुपर्थ्यो। त्यो बेला चारु मजुमदार र कानु सन्यालको नेतृत्वमा नक्सल आन्दोलन चरम सीमामा थियो। केही विश्वविद्यालय र महाविध्यालयका विद्यार्थीहरू पनि यस आन्दोलनमा सक्रिय रुपले लिप्त रहेका थिए। दिनहुँ मारकाट, हिँसा, हत्या, चोरी-डकैति, लुटपाट जस्ता अपराधका कारण जेलमा कैदीहरूको सङ्ख्या बढिरहेको थियो। यस्तो परिस्थितिमा उनलाई अचानक नैराश्य (dipression) जस्तो मानसिक रोगले सताउन थाल्यो। रातभरि निद्रा नलाग्ने, अनिदोको कारणले दिउँसो हिँड्दा रिँगटा चल्ने, भोक नलाग्ने, काममा कुनै उत्साह र चासो नहुने आदि समस्याहरूले उनी ग्रस्त भए। धेरै डाक्टरहरूलाई देखाए तर त्यसबाट मुक्ति पाउन सकेनन्। कलकत्तामा त्योबेलाका प्रसिद्ध डा. मणिकुमार छेत्रीले पनि जाँच गरी उनलाई शारीरिक रुपले स्वस्थ पाए। तर उनको त्यो मानसिक अशान्तिको कुनै निदान हुन सकेको थिएन।
त्यही अवधिमा एकदिन उनी आफ्नो सरकारी विभागसित सम्बन्धित एउटा कन्फेरेन्समा उपस्थित हुन आसनसोलबाट कलकत्ता पुगे। त्यहाँ कन्फेरेन्स समाप्त भएपछि पूर्वपरिचित तत्कालीन डी.आई.जी. शान्तिप्रिय घोषले उनको सरकारी आवासमा उनलाई लिएर गए। धेरै वर्षअघि आफ्नो प्रारम्भिक सेवाकालमा शान्तिप्रिय घोष दार्जीलिङ जेलका जेलर रहेका थिए। उनी नेपाली भाषा राम्ररी बोल्न सक्थे। उनको आवासमा चिया चमेनाको सत्कार, व्यक्तिगत तथा विभागीय बातचित र औपचारिक भेटघाटपछि विदाइको समयमा श्रीमान घोषले भने – ‘विदा ! मिस्टर मोक्तान, तपाईंको यात्रा सुगम होस्, सबै बाबाले ठिक गर्नु हुनेछ।‘ यो सुनेर उनको मनमा कौतुहलता जाग्यो र उनले सोधे – सर ! कुन बाबाको आशिर्वाद दिनुहुँदैछ? श्रीमान घोषले उनलाई ‘सत्यम् शिवम् सुन्दरम्’ अङ्ग्रेजीमा लेखिएको भगवान श्री सत्य साई बाबाको दिव्य जीवनी अनि एउटा अङ्ग्रेजी पत्रिका ‘इलष्ट्रेड विकली अफ इण्डिया’ जसमा साई बाबाको फोटो अनि एउटा लेख छापिएको थियो सो देखाउनु भयो। उहाँले ‘सत्यम् शिवम् सुन्दरम्’ प्रदान गर्दै भन्नुभयो – यो राम्ररी पढ्नुहोस्। बाबाले तँपाईलाई कृपा गर्नु हुनेछ।‘ यो घटना उनको निम्ति एउटा दैविक संयोग नै थियो। उनी त्यहाँबाट विदा लिएर आसनसोल फर्के।
‘सत्यम् शिवम् सुन्दरम्’ पुस्तकका लेखक थिए – श्री नारायण कस्तुरी। उनी स्वयम् श्री सत्य साई बाबाका अन्यतम भक्त थिए। कृष्णसिंह मोक्तान आसनसोल आफ्नो सरकारी आवास पुगेर बढ़ो उत्सुक्तासित पुस्तकको अध्ययन गर्न लागे। दिनहुँ एक एक अध्याय पढ़्ने उनको नियम भइसकेको थियो। उनकी धर्मपत्नी पनि यसमा सहभागी हुने गर्थिन्। लगभग 5 दिनपछि रात्री सपनामा उनले बाबा स्वयम् आएर वार्तालाप गरी ओमकारम्, पूजा सङ्कीर्तन आदि विधि सिकाएर आशिर्वाद दिएर गएको साक्षात् दर्शन अनुभव गरे। त्यस घटनापछि बाबाले सिकाए बमोजिम सदैव बिहानै पूजा भजन सङ्कीर्तन गर्ने उनको नियम भएको थियो। उनी विस्तारै आफुले भोग्दै गरेका मानसिक रोगबाट मुक्त हुँदै गए। श्री सत्य साई बाबाप्रति उनको आस्था, विश्वास र ध्यान मनोयोग बढ्दै गयो। उनले ‘सत्यम् शिवम् सुन्दरम्’ पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने अठोट गरे। त्यसपछि उनी बाबाको साक्षात् दर्शन गर्न सपरिवार पुट्टपर्ती पुगे। वहाँ बाबाको दर्शन, भेट तथा आशिर्वाद सहित उहाँको जीवनी ग्रन्थको नेपालीमा अनुवाद गर्ने आज्ञा समेत लिएर फर्के। त्यही अवधिमा दार्जीलिङ आएर उनले श्री सत्य साई बाबाको सन्देश, जीवन दर्शन, दिव्य शक्ति, चमत्कार आदिबारे आफ्ना परिचित तथा केही गण्यमान्य व्यक्तिहरूसित चर्चा-परिचर्चा गरे। सबैतिरबाट राम्रो प्रतिक्रिया आयो अनि औपचारिक रुपमा सभाहरूको आयोजना गरियो। यसरी उनकै प्रचेष्टामा दार्जीलिङमा प्रथमपल्ट श्री सत्य साई सेवा सङ्गठनको स्थापना भयो र यसका शाखाहरू फैलिँदै गए।
लगभग डेढ़ वर्षभित्र उनले पुस्तक अनुवाद गरिसके। ‘सत्यम् शिवम् सुन्दरम्’ को नेपाली अनुवाद सन् 1971 मा प्रकाशित भयो। उनी हरेक वर्ष पुट्टपर्ती प्रशान्ति निलयममा बाबाको दर्शन-भेट गर्न जानथाले। उनको कर्मस्थल आसनसोलका निकटवर्ती स्थानका मानिसहरू जो श्री सत्य साई बाबाप्रति दृढ़ आस्था राख्थे उनीहरूसित पनि परिचय एवं सम्पर्क बढ्दै गयो। विभिन्न स्थानहरूमा सत्सँग, पूजा सङ्किर्तन आदिमा भाग लिन थाले। उनी साई धर्म तथा अध्यात्मप्रति तन्मयपूर्वक लीन भए। ‘सत्यम् शिवम् सुन्दरम्’ (नेपाली अनुवाद)-को प्रकाशनपछि उनले अध्यात्म तथा मानव मूल्यमा आधारित साहित्यको दिशामा कलम चलाउन थाले। उनले ‘श्री सत्य साई भजनावली र पूजाविधि’ अनि ‘सर्वदेवता स्वरूप भगवान श्री सत्य साई अष्टोत्तरशत नामावली’ लेखे जो क्रमश: सन् 1972 र सन् 1973 मा प्रकाशित भयो। त्यसपछि ‘सत्य साई सम्भाषण (प्रथम खण्ड) र बाबाका दिव्यवाणीहरू’ अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरी सन् 1974 मा प्रकाशित गरे। सन् 1980 मा मानव मूल्यमा आधारित उनका तीन वटा पुस्तक – गुरुहरूको निम्ति पुस्तिका, सर्व धर्म प्रार्थना र शिशुहरूका निम्ति कथाहरू (बाल साहित्य) प्रकाशित भए। सन् 1999 मा उनले वर लक्ष्मी व्रत कथा बंगलाबाट नेपालीमा अनुवाद गरेर प्रकाशित गराए। यसबाहेक उनले सन् 1970 देखि वर्तमानसम्म प्रशान्ति निलयम, पुट्टपर्तीबाट नियमित रुपले प्रकाशित हुने नेपाली सनातन सारथि (मासिक) पत्रिकाको सम्पादन गर्दै आएका छन्। उनको सम्पादनमा प्रकाशित अन्य पत्रिकाहरू हुन्- सत्य सारथि (सन् 1970-72), साई स्रोत (सामयिक - सन् 2000 देखि वर्तमानसम्म), अभ्युदय (वार्षिक - सन् 2000 देखि वर्तमानसम्म) र सन् 2015 देखि वार्षिक रुपमा प्रकाशित अर्को अध्यात्मिक पत्रिका ‘ओम् सारथि’ को सम्पादक मण्डलीमा पनि उनको प्रमुख भूमिका रहेको छ।
उनी विद्यार्थी जीवन कालदेखि नै महात्मा बुद्ध, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, स्वामी प्रबुद्धानन्द जस्ता महापुरुषहरूबाट प्रभावित थिए। पछि श्री सत्य साई बाबाको जीवन दर्शन र दैविक चमत्कारहरूबाट उनी अझ आकृष्ट भए। उनले साई बाबाको जीवन चरित्र, जीवन दर्शन, दिव्य वाणीहरू, प्रवचन, सम्भाषण आदिको गहिरो अध्ययन गरे। साई दर्शन तथा चिन्तनलाई आफ्नो दैनिक जीवनमा आत्मसात् गरे, त्यसलाई व्यवहारिक रुपले अभ्यास गरे। आफ्ना कतिपय सम्भाषणहरूमा उनले बाबाको सन्देश यसरी दिने गरेको पाइन्छ- “भगवान् बाबा विशेष धर्म प्रचार गरी अन्य धर्ममा परिणत गराउनु आउनुभएको होइन। धर्मलाई मन्दिर, मस्जिद, गुम्बा, गिर्जा, गुरूद्वारमा सिमित नराखी मन, वचन अनि कर्ममा लोक कल्याण अनि सबैको हित अनि सबैको भलो हुनु नै धर्म हो। धर्म केवल सत्कर्म हो। श्री सत्य साईको उदेश्य एकजना हिन्दुलाई अझ उत्तम हिन्दु, ईसाईलाई अझ उत्तम ईसाई, बौद्धलाई अझ उत्तम बौद्ध अनि मुसलमानलाई अझ उत्तम मुसलमान बनाउनु हो। ...... साई सङ्गठनले मानिसको सर्वाङ्गीन विकास गर्नुपर्छ – वैयक्तिक, सामाजिक एवं अध्यात्मिक। यस पथमा अग्रसर हुन सामाजिक सर्वश्रेष्ठ प्राणी मानिसले सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाको मार्ग अनुसरण गर्नुपर्छ।“ यसरी दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी, तराई, डुवर्स, सिक्किम, आसाम, नेपाल आदि स्थानहरूमा श्री सत्य साई बाबाको सन्देश तथा जीवन दर्शनको प्रचार-प्रसार हुन थाल्यो। यसका अनुयायीहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गयो। विभिन्न स्थानहरूमा साई सङ्गठनका शाखाहरू खोलिए। यी शाखाहरूले अभाव र दु:ख-कष्टमा परेका सर्वसाधारण माझ पुर्याएको विभिन्न सेवामूलक कार्यहरू एवं यस सङ्गठन अन्तर्गत शिक्षा विभागले 6 वर्षदेखि 14 वर्षसम्मका शिशुहरूलाई मानवीय मूल्यहरूमा आधारित नैतिक शिक्षा प्रदान गरेर सुयोग्य नागरिक बनाउने जुन कार्य गरिरहेको छ ती खुबै उल्लेखनीय रहेका छन्।
अध्यात्मिकता तथा मानव मूल्यमा आधारित साहित्य लेखनबाहेक नेपाली साहित्य जगतमा धेरै अघि उनका तीनवटा उपन्यास ‘चरणधूलि’ (1958), ‘अशेष यात्रा’ (1964) र ‘जीवन परिक्रमा’ (1969) अनि एउटा कथा सङ्ग्रह ‘प्रेम, भ्रान्ति र सत्य’ (1959)-को प्रकाशनपछि नै उनी एकजना विशिष्ट आख्यानकारको रुपमा परिचित भइसकेका थिए। सन् 1987 मा उनले रविन्द्रनाथ ठाकुरको नाटक ‘विसर्जन’ बङ्गलाबाट नेपालीमा अनुवाद गरे जसलाई साहित्य अकादेमी दिल्लीबाट प्रकाशित गरिएको थियो। यी बाहेक सरकारी सेवाबाट अवकाश ग्रहण गरेपश्चात् सन् 2003 मा उनको यथार्थवादी उपन्यास ‘जीवन गोरेटोमा’ साझा पुस्तक प्रकाशन, दार्जीलिङबाट प्रकाशित भयो। आफ्नो सेवाकालमा उनले नजिकबाट देखेका कारागारका विभिन्न कैदीहरूका चरित्रमाथि आधार गरी लेखिएको यस उपन्यासको नेपाली साहित्यमा एउटा विशिष्ट स्थान रहेको छ। यस उपन्यासको निम्ति उनी दिल्लीबाट सन् 2005 को साहित्य अकादेमी पुरस्कारले सम्मानित भए। यस अघि सन् 2004 मा उनको दीर्घ साहित्यिक योगदानको निम्ति पश्चिम बङ्गाल सरकारले भानु पुरस्कार प्रदान गरेर उनलाई सम्मान जनाएको थियो। यसरी नै उनलाई सन् 2002 मा निर्माण संस्थान, सिक्किमबाट निर्माण पुरस्कार, सन् 2011 मा नेपालबाट त्रिमुर्ति पुरस्कार, सन् 2017 मा विध्याधर्म प्रचारिणी नेपाली समिति, वाराणसीबाट मदनस्मृति व्याख्यानमाला पुरस्कार, सन् 2018 मा पश्चिम बङ्गाल सरकारबाट बङ्ग रत्न पुरस्कार, सन् 2020 मा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन, दार्जीलिङबाट शिवकुमार राई स्मृति पुरस्कार प्रदान गरी सम्मान गरियो। उनले विभिन्न सङ्घ संस्थाहरूबाट अनेकौं संवर्द्धना तथा अभिनन्दनहरू पनि प्राप्त गरे।
निकै लामो अन्तरालपछि सन् 2019 मा उनको पाँचौ उपन्यास ‘उदय –अस्त’ प्रकाशित भयो। अहिलेसम्म उनका आख्यानात्मक कृतिहरूमा 5 वटा उपन्यास र एउटा कथा सङ्ग्रह प्रकाशित भइसकेका छन्। उनका अनुवाद कृति, एउटा बाल कथा सङ्ग्रह र धर्म तथा मानव मूल्यमा आधारित पुस्तकहरू लगायत उनका लगभग 15 वटा कृतिहरू प्रकाशित छन्। भारतीय नेपाली साहित्यका समालोचकहरूले पनि उनका अख्यानात्मक कृतिहरूको मूल्याङ्कन गरेको पाइन्छ। डा. गीता छेत्रीले सन् 2016 मा प्रकाशित आफ्नो शोध ग्रन्थ “कृष्णसिंह मोक्तानको उपन्यासकारिता” मा उनको जीवन चरित्र, व्यक्तित्व एवं कृतित्वको विस्तृत अध्ययन तथा मूल्याङ्कन प्रस्तुत गरेकी छन्। उक्त ग्रन्थ उनले विद्यावारिधिको निम्ति त्रिभुवन विश्वविध्यालय, काठमाड़ौँमा बुझाएको शोध प्रबन्धको प्रकारान्तर स्वरूप हो। यसमा डा.गीता छेत्रीले कृष्णसिंह मोक्तानका उपन्यासहरूलाई पूर्वाद्ध र उत्तरार्द्ध दुई चरणमा विभाजित गरी अघिल्ला दुई उपन्यास ‘चरणधुलि’ र ‘अशेष यात्रा’लाई स्वछन्दवादी धारा अनि पछिल्ला दुई उपन्यास ‘जीवन परिक्रमा’ र ‘जीवन गोरेटोमा’ लाई यथार्थवादी प्रवृति अन्तर्गत राखेर मूल्याङ्कन गरेकी छन्। सन् 2018 मा डा. नकुल छेत्रीको सम्पादन तथा श्री कमलचन्द्र राईको प्रकाशनमा ‘बन्धन’ (श्री कृष्णसिंह मोक्तान अभिनन्दन ग्रन्थ) प्रकाशित भएको छ। यसमा साहित्यकार कमलचन्द्र राई आफ्नो लेख “कृष्णसिंह मोक्तान र तिनको अशेष यात्रा उपन्यास” मा लेख्छन् – ‘कृष्णसिंह मोक्तान पूर्वार्द्ध चरणमा स्वच्छन्दवादी छन् भने उत्तरार्द्ध चरणमा तिनी छन् यथार्थवादी। तिनी रुपनारायण सिंह र लैनसिंह बाङदेलका योग्य उत्तराधिकारी हुन्। तिनका स्वच्छन्दवादी उपन्यासहरू ‘चरणधुलि’ र ‘अशेष यात्रा’ ‘भ्रमर’-को समकक्षमा उभिन जान्छ भने ‘जीवन परिक्रमा’ र ‘जीवन गोरेटोमा’-ले मुलुकबाहिरलाई सम्झाउने गर्छ।‘ सन् 2019 मा प्रकाशित उनको पाँचौं उपन्यास ‘उदय-अस्त’-मा भने यथार्थवादसँगै अध्यात्मिक दर्शनको चहकिलो रुप पनि देख्न पाइन्छ। समीक्षक श्री अर्जुन प्रधान आफ्नो समीक्षात्मक लेख “कृष्णसिंह मोक्तानको उपन्यास ‘उदय-अस्त’ मा रेखाङ्कित काल-रेखा” (हिमालय दर्पण 21 फरवरी 2021)-मा लेख्छन् – ‘उपन्यास ‘उदय-अस्त’ को मूल स्वर दु:खवाद मान्न सकिन्छ। स्वयं उपन्यासकारको मान्यता – जन्म दु:ख, जीवन दु:ख, अनि वार्धक्य महादु:ख – उपन्यासका संघटनाहरूको मुख्य कड़ी हो। निर्मलको परिवार सदा डोहोडोहोमा हुँदछ। ठूलो परिवार, थोरै आयस्ता। निर्मलकी आमाले त्यति धेरै नानीहरू जन्माएर, हुर्काएर, बढ़ाएर गर्नु भनेको र केटाकेटी ठूला भइसक्दा स्वयं जीर्ण शीर्ण भइसक्नु भनेको उसको त्रास हो। जीवनमा घाम लागेको, सुखको अनुभव भएको उसलाई थाह छैन। जीवनको उत्तरार्धमा उ थकित भइसक्छ। यो उसको हार पक्ष हो। उपन्यासका सबै पात्रहरू एक न एक तवरले हारेका छन् अनि उनीहरूको हार दु:खवादी पाटोले मानवीय त्रासदीको प्रतिनिधित्व गरेको छ।‘ आधुनिक युगको अध्यात्मविहिन भौतिक सुखवादी जीवन वा आत्मकेन्द्रित उपभोगवादी जीवन शैलीको परिणति अन्तमा निराशा र दु:खवादले परिपूर्ण विपर्याय स्थितिमा पुग्न सक्छ भन्ने सन्देश उपन्यासले दिएको छ। एउटा प्रश्नको उत्तरमा उपन्यासकार स्वयंले भनेका छन् – ‘भौतिक अर्थमा भनिने सुख, आनन्द र शान्ति जो कहिले पनि पूर्ण हुँदैन। जति पुरा भयो उति बढ्दै जाने इच्छाहरूको जालो हो यो। तर साँचो शान्ति, सुख र सन्तुष्टि प्रेम, सत्य र धर्ममा आधारित छ।‘ उपन्यासले दर्शाउन चाहेको विशेष सन्देश यही हो। उमेरको यस कुइनेटोमा पुगेर यस्ता अनुपम कृतिहरूको सृजना गर्न सक्नु हाम्रा निम्ति एउटा प्रेरणाप्रद दृष्टान्त हो। अध्यात्मिक ज्ञानसहित उनका कृतिहरूबाट हामी उनको विस्तृत अनुभव र असीम प्रतिभाको परिचय पनि पाउँछौँ।
सन्दर्भ : 1) कृष्णसिंह मोक्तानको उपन्यासकारिता – डा. गीता छेत्री
2) बन्धन (श्री कृष्णसिंह मोक्तान अभिनन्दन ग्रन्थ – सम्पादक – डा. नकुल छेत्री
3) ओम सारथि (अध्यात्मिक पत्रिका) वर्ष 5 अङ्क 5 – २३ नोभेम्बर 2020
4) जीवन गोरेटोमा (उपन्यास) – कृष्णसिंह मोक्तान
5) उदय – अस्त (उपन्यास) – कृष्णसिंह मोक्तान

बाग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।