14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

हाइस्कूल विदाइ र खुशी

संस्मरण/स्‍मृति नम्रता गुरागाईं June 6, 2021, 12:10 pm
नम्रता गुरागाईं
नम्रता गुरागाईं

“मामु हाइस्कूल त कस्तो अर्कै खालको लाग्यो, सबैजना कलेजको कुरा गर्दारहेछन् । मिडिल स्कूलभन्दा कति कति फरक रहेछ, विद्यार्थीपनि कति हुन कति । अनि मामु थाहा छ, ११ कक्षामा गएपछि त लन्च खान साथीसंग बाहिर जान पाइने रहेछ नी ! स्कूलले पास दिन्छ रे तर समयभित्रै स्कूलभित्र छिरिसक्नु पर्छ रे” छोरीले हाइस्कूल अर्थात माध्यामिक विद्यालय टेकेको पहिलो दिन बेलुका खाना खान बस्दा भनेका कुरा हुन यि । उसले कुरा गर्ने क्रममा अलिकति स्वतन्त्रताका कुरापनि गरी । उसका कुरा सुन्दासुन्दै म आफनो स्कूलको सम्झनामा डुबेंछु । म छोरीमा आफनो प्रतिबिम्ब देख्न थालेछु —

मलाइ मैले ज्योती स्कूलबाट निम्न माध्यामिक कक्षा पुरा गरेर साजिलाल माबि, दुलारीमा आठ कक्षामा गएको पहिलो दिनको याद आयो । मेरोपनि मन लाग्ने वित्तिकै राजमार्गको छेउमा गएर तुफानले कुदेका गाडी हेर्न जान र पैसा भएको दिन सुदामाको होटलमा नास्ता खान जान कसैलाइ सोध्न नपर्ने कुरा सत्य थियो । त्यति मात्र हुंदापनि धेरै स्वतन्त्र भएझैं लागेको थियो तर कडा अनुशासनमा सात कक्षा पास गरेकी मलाइ त्यहां पुगेपछि त्यहांका धेरै चालचलन ठीक लागेनन् । सर कक्षामा पसे सरसंगै बाहिर भएका सबै विद्यार्थीहरु भित्र आउने, सर पढाइ सकेर बाहिर गए सबै संगै हुरुरु बाहिर जाने चलन सबैभन्दा मन नपरेको चलन रहेछ । न मनिटर छ, न कुनै कडा सर । बाहिर जानलाइ कसैलाइ सोध्नै नपर्ने, कस्तो अचम्म ! केहीचाहिं कक्षा कोठामै बसेर ठूलोठूलो श्वरले भर्खर पढाएर निस्किनुभएको सरलाइ उडाउंदा रहेछन । मलाइ न सरलाइ उडाएको मन पर्यो न बाहिर गएको नै तर अर्को उपायपनि थिएन आफूलाइ रोक्न, विस्तारै त्यस्तैमा बानी पर्दै गएं । अरु नचिनुन्जेल एउटै स्कूलबाट आएका हामी एकै थुप्रो लागेर बस्न थाल्यौं । ३०, ४० जना जति विद्यार्थीहरु भएको कक्षा कोठामा पढने बानी परेका हामीलाइ एकैचोटी करिब करिब २०० जति विद्यार्थी त्यो पनि सेक्सनमा बांडिएर पढनु परेको देख्दा सानो माछो ठूलो पोखरीमा कसरी पौडन सक्ला ? सजिलो थिएन । “छोरीले मामु अनि थाहा छ, हाइस्कूलमा त कलेजमा पढन पर्ने कोर्सहरुपनि पढन पाइने रहेछ ! हाम्रो एपेक्स हाइस्कूलले इतिहास विषयलाइ अफर गरेको रहेछ, सायद म पढछु होला” भन्दा पो म झसंग भएं । ओहो... एकै दिनमा कतिधेरै कुरा थाहा पाइसकि छ छोरीले !

खाना खाइसकेपछि भाइ खेलेर बस्यो । हामी आमाछोरीले धेरैबेर कुरा गर्यौं । नौ कक्षालाई फ्रेसमेन भन्दारहेछन् । उसले संगै पढने धेरै फ्रेसमेनहरुका कुरा गरी । उसको कपाल सुम्सुम्याउदै मैले भर्खर तिमीसंगै फेरी आठकक्षा पास गरेकी नि ! भने । कसरी मामु ? उसले ठूलो प्रश्न मतिर तेस्र्याइ । एकपल्ट म आफैं स्कूल गएर, अर्कोपल्ट तिमीसंग पढेर, अब मलाइ हाइस्कूलकोपनि पढाउ है, मैले सजिलै भनिदिएं । तुरुन्तै उसले तपाईं त कतिधेरै जान्नु हुन्छ नि मामु ! किन त्यसो भनेको, मैले त मेरा टिचरहरु र तपाइबाट सिक्ने हो नी ! भनी । जान्ने त कहां हुनु र अलिअलि फांइफुट्टी लगाउन बाहेक तर कोशिसचाहिं गरिराखेकी थिएं । उसले त्यती भन्दा मैले केही महिना अगाडि मात्र उसको आठ कक्षाको विदाइमा लेखेको लेख सम्झिएं । त्यहां मैले तिमीले आफनो जिन्दगीको बाटो आफैले खन्नुपर्छ तर म कोदालो समाउन भने पक्कै सिकाउंनेछु भनेकी थिएं । भन्न त भने तर मलाइपनि थाहा थिएन हाइस्कूले कोदालो समाउन कसरी सिकाउने ।

उभन्दा भाइ दुइ वर्षमात्र कान्छो भएकोले उनिहरुका कुरा साह्रै मिल्थे अहिलपनि उस्तै मिल्छन । स्कूलबाट आउनेबित्तिकै दुबैजना दिनभरीका कुरा एक अर्कालाइ सुनाउंछन । कसैसंग रिस उठेपनि, कसैसंग खुस उठेपनि, कसैलाइ गाली गर्नु परेनि, कसैलाई आदर गर्नु परेनि सबभन्दा पहिला दिदीभाइ एक अर्कालाइ सुनाएर मात्र हामीसम्म आइपुग्छन । भाइलाइ केही सहयोग चाहिएमा दिदीले नजाने मात्र हामीसंग आइपुग्थ्यो, एक अर्काको सहयोग अहिलेपनि जारी नै छ । बग्ने समय बगिरहयो । छोराछोरी स्कूलबाहेक भलिबल र सकर(फुटबल) मा कुदाकुद भएकाले हामी सबै ब्यस्त नै भयौं । केही नभएको दिन आउन धेरै समय पर्खनुपर्ने भएकाले त्यो दिन अत्यन्त महत्वपूर्ण हुन्थ्यो सबैलाइ । धेरै ब्यस्त भएर होला हैन यो वर्षमापनि बाह्रै महिना थिए त ? भन्नुजस्तो नभएको होइन तर आफूले भनेर कहां समय रोकिन्थ्यो र !

नौ कक्षामै कलेजको कोर्ष लिनु भनेको बोकाको मुखमा कुभिन्डो भनेजस्तै हुनेरहेछ भर्खर हाइस्कूल प्रवेश गरेकाहरुलाई । त्यो कुरा न हामी आमाबाउलाई थाहा थियो न छोरीलाइ । आठ कक्षामा हुंदा उसकी शिक्षिकाले यसले पढन सक्छे भनेर राखिदिएकी रे तर सांच्चै पढन थालेपछिमात्र थाहा हुन थाल्यो कति गाह्रो छ भनेर । शुरुशुरुका हरेक बेलुका छोरी एकदमै टेन्सनमा देखिन थाली । त्यति धेरै उज्याली छोरी क्रमशः अध्यारी हुन थाली । ममापनि उसको पढाइको प्रेसर बढन थाल्यो । स्कूलको विषयहरुभन्दा कलेजको विषयको पढाइमा उसले धेरै भिन्नता पाइ । सबैकुरा आफैले खोजेर पढनु पर्ने भएकोले उसलाइ धेरै कठीन हुदै गयो । उसका अनुहारमा इतिहास विषयका अप्ठ्याराहरु सजिलै देखें तर मैले ती अप्ठ्याराहरु हटाउन सकिन । अध्यारोजति सबै आफैले लिएर छोराछोरीलाइ उज्यालै उज्यालोमात्र दिन्छु भन्ने म आमापनि फेल खाइरहें धेरै समय । हरेक बेलुका उसलाइ भेटदा आज केही दिए कि तिम्रो सरले ? मैले सोध्दा उ कहां दिनु र मामु ! मैले आफै खोज्नुपर्छ रे, कस्तो गाह्रो हुदोरहेछ.... आंखाभरी आंशुपार्दै भन्थी । हुनपनि बिश्वको इतिहासको किताब नै एकमुड्की बाक्लो छ, कति विगत समेटिएको होला त त्यसमा ! म त्यो किताब हेरेरै तर्सिन्थें, पल्टाउन त परै जावोस । धेरैपल्ट ड्र्रप गर न त नसक्ने भए भनेपनि मैले तर उपनि त्यति सजिलै छोडनेवाला थिइन । अत्यन्त कठीनसाथ उसले पार लाउने विचार गरी, नभन्दै पार लगाइपनि । नौ कक्षा सिध्याइ । नौ सिध्याउनुअघिनै दशमा पढने विषयहरु छान्नु पर्ने भएकोले मैले केही समय अगाडि नै एपीको टेन्स लिएर नपढने सल्लाह दिएकी थिएं तर उसले आफनो तर्क अघि सार्दै लिनु पर्छ नि मामु ! कलेजमा पढनै पर्ने विषयहरु केही स्कूलमै पढियो भने फी तिर्नपनि पर्दैन, पछिलाइ समयपनि बच्छ । कसरी पढने अब त जाने नी ! सक्छु होला, निकै आंटिला कुरा पो गरी । ओ.. हो.. हिजोसम्म रोइरहेकी छोरीले यति धेरै सिकिसकिछ त ? म पनि दंग परें । अघिसम्म उसको चिन्ताले पाकेको मेरो मनपनि एकाएक निचोरियो ।

छोरी नौ मा भन्दा अझै बढि कलेजका कोर्ष लिएर दशमा पढन थाली । दशकक्षाको अर्को नाम सफमोर अरे । समय भलिबलमापनि दिनु पर्ने भएकोले राती अबेरसम्म बसेर होमवर्क गर्थी । त्यति धेरै चिन्तापनि लिइन । मलाइपनि खुशी लाग्यो । मेरी सफमोरेले हेर्दाहेर्दै दश सकी । मैले एस.एल.सी पास गरेको दिन संसारकै ठुली मान्छे भएंजस्तो लागेको याद आयो मलाइ । हाम्रा सिनियरहरु एस.एल.सी पास हुनु भनेको आइरन गेटबाट छिर्नु हो भन्थे । त्यही भएर मेरो एस.एल.सी को धेरै महत्व भएको होला तर उसले अझै ११ र १२ कक्षा त्यही स्कूलमा पढनु पर्ने भएकोले दशलाइ खासै महत्व दिएझैं लागेन । उ दश सकेर ११ कक्षामा गइ । भाइपनि मिडिल स्कूल सकेर हाइमा प्रवेश गर्यो तर दिदीबाट हाइस्कूलका बारेमा धेरै कुरा थाहा पाइसकेकोले हामीले केही भन्नै परेन, मात्र उसलाइ हाइस्कूलमा गएर दिदीले भनेका कुराको अनुभब गर्नु थियो ।

११ कक्षालाई जुनियर भन्दारहेछन । घरमा भएकी मेरी जुनियरसंगै मपनि आफनो दिमागमा धार लाउदै गएं । ए गांठे, यो पढाइ त मैले पाटन क्याम्पसमा पढेको आइ.ए. प्रथम वर्ष पो हो त, कहां सजिलो होला र ! कसरी पार लाउंछे होला, मनमा कुरा खेल्न थाले । “छोरोछोरी हाइस्कूलमा पुग्दा त आमापनि साथीजस्तै भइदिनुपर्छ ता कि उनिहरुले आफनो दिमागमा खेलेका कुरा सजिलै आमासंग पोख्न सकुन” एकदिन हाइस्कूल सकिसकेका छोराछोरीका आमाबाट सुनेकी थिएं । जन्मेदेखि आजसम्म आमाकै भूमिका निभाइरहेकी मलाइ साथी हुन खोज्नु भनेको कठिनकै विषय थियो । बस्ने क्रममा मैले थोरै अमेरिकाको समाजलाईपनि बुझन कोशिस गरेकीले कडापनि थिइन तर साथीचाहिं कसरी हुने ? फुर्सदमा यसो गम खान थालें । विस्तारै आफूलाई थोरै परिवर्तनपनि गर्दै गएं । छोरो त अझै कोपिलै थियो, समय पाएसम्म फक्रन लागेको फूलजस्ती छोरीका मनका कुराहरु पढन कोशिस गर्न थालें । उसलाई मनका कुरा आफू अगाडी पोख्न सजिलो पारिदिन थालें । “मामु मसंग भलिबल खेल्ने मेरा तीनजना साथीका ब्वाइफ्रेण्डहरु गेम भएको दिन हामीलाइ चियर (हौसला बढाइदिन) गर्न आउंछन !” छोरीले नौ कक्षाको आधाउधी पढाइ सक्दा नै भनेकी थिइ । तिनीहरुमा अर्को थपिएर चार पो भएर आउंथे कि ! म नजानिदो तरिकाले सोध्थेंपनि । उ सजिलै होइन भन्थी । भन्न खोजेको त छदैंछ, भन्न नखोजेकोसुद्दा भनोस भनेर कहिलेकाहिं जिस्क्याउंथेंपनि । नभन्दै उसले धेरै कुरा विस्तारै मेरा अगाडि पोख्न थाली । बिस्कुनमा भएको ढुंगा, माटो टिप्नजस्तो कहा सजिलो हुंदोरहेछ र मान्छेका कुरामा भएको ढुंगा, माटो टिप्न ! म कहिले पास भएं कहिले फेल । सबैभन्दा साह्रो त मनोविज्ञान पो रहेछ पढन बाबै ! सानो कक्षामा हुन्जेल पढन नपरेको विषय ठूलो कक्षामा पढन पर्दा मलाइ आच्छु आच्छु पार्न खोज्यो तर कोशिस गरिरहें ।

पढाइलाइ समय पुग्दैन भनेर छोरीले भलिबलतिर रुची देखाइन । राम्रै खेल्थी, निरन्तरता दिए हुन्थ्यो, आमाबाउको मनले भनिरहयो तर स्कूलमै हुंदा पढन पाउने कलेजको कोर्षले समय नपुग्दाचाहिं भलिबल छोडेर ठीक गरिछजस्तै भयो पछि । सबैजना उत्तिकै ब्यस्त भइयो । आफू ब्यस्त हुंदा त थाहै नपाइ बगेको समय देखेर बग्ने समयपनि हामीलाइ एकपल्ट सोधेर बग्नु नी ! भन्नुजस्तो नभएको होइन । सबैका आ-आफनै किसिमका सारागारा थिए । जागिरेलाइ गरिरहेको कामले डेडलाइन मिट गर्ला कि नगर्ला त्यतै गाह्रो, स्कूलेलाइ आफनै गाह्रो । भनेजस्तो जांच दिन नसकुलाकि भनेर भक्कानिएको बेला छोरी मलाइ बोलाउंथी । उसले बोलाएपछि केही भएको म सजिलै अनुमान गर्थें । आमाको काखमा टाउको राखेर अघाउंजी आंशु बगाएपछि ठीक हुन बानी परेकी छोरीलाइ म आफनो क्षमताले भ्याएसम्म हिम्मत भरिदिन्थें । मेरा कुराले उसलाइ कति बलियो बनाउथ्यो थाहा छैन, न म कुरा गर्न सिपालु मान्छे नै थिएं तर उ केही समयपछि जुरुक्क उठ्थी र आफनो इलममा लाग्थी । कहिले सजिला दिन आए त कहिले अप्ठ्यारा । यस्तैमा हामी दुबै बानी पर्दै गयौं ।

११ कक्षाको अन्तिम अन्तिमतिर संसारमा अनौठो, अदृश्य तर ज्यानमारा भाइरसले प्रवेश गर्यो । हेर्दा सामान्य रुघाखोकी लागेकोजस्तो हुने तर त्यो लागेपछि कसैले छुन त के नजिकबाट हेर्नसम्मपनि नहुने, एकान्तमा बसेर आराम गर्नु पर्ने रोग रहेछ । औषधी ननिस्केकोले साह्रै पार्यो भने अस्पतालनै जानु पर्ने । अस्पतालं गएपछि फर्केर आउने आशै कम । आफनै दाजु (ठुलोबुवाको छोरा)लाइ त्यो भाइरसले लगेकोले मन थर्रर काम्न थाल्यो । चीनबाट शुरु भएको कोरोना भाइरस संसारका धेरै देशहरुमा पुग्दा अमेरिकापनि अछुतो रहेन । अमेरिकामा आइपुग्दा अरु देशमा आइहोरी धेरै मान्छेको ज्यान लिइसकेको थियो । इटलीमा कोरोनाले सुनामी नै ल्याइदिइसकेको थियो । खानेकरा किन्न नपाएपछि मान्छेले पैसा फालेको दृश्यपनि समचारमा आइसकेकोले मान्छेहरु सुरक्षाको लागी साबधानी अपनाउन थाले । साबधानीमा मान्छेको भीडभाडमा जानु परेमा मुखमा मास्क लाएर जाने, भेट्नै परे ६ फीटको दुरी कायम गर्ने, घरमा फर्केर आएपछि साबुनपानीले राम्ररी हात धुने गर्नाले कोरोना सर्नबाट केही बचिने कुरा थाहा भएपछि गर्भनरहरुले आ-आफनो राज्यहरुमा स्कूल, कलेज केही समयलाई बन्द गरे । धेरैजसो कम्पनीहरुलेपनि घरबाटै काम गर्ने निर्णय गरे । अति आवश्यक कर्मचारी बाहेक सबै घरबाट आफना दैनिकीहरु गर्न थाले । हेर्दा हेर्दै अमेरिकामा दिनको ८, १० हजार मान्छे मर्न थाले । कोरोनाबाट धेरै मर्नेहरुको संख्याको केन्द्रविन्दु न्यूयोर्क भएकोले कतै फेर्दै गरेको श्वास रोकिने त हैन ? एकतमासले मुटुको ढुकढुकी बढन थाल्यो । सबैजना घरमा छौं तर मनमा अनौठो त्रास पसेको छ । यहीबेला छोराछोरीको स्कूलपनि एकमहिनाको लागि बन्द भएकाले थोरै ढुक्क भयो ।

हरेक दिन समचारमा देखिएका कोरोना भाइरसको केसले बढेका राता थोप्ला कसले हरिया बनाउला ? कतै बैज्ञानिकहरुनै फेल खाने त होइनन् ? सबैको खोजीको विषय भइरहयो धेरै महिनासम्म । भर्खर स्कूल जान थालेकादेखि स्कूले जीवननै सक्न लागेका छोराछोरीलाइ केही नगरी घरमा चौबिसै घण्टा कसरी राख्ने होला ? त्यो अर्को च्यालेन्ज छ सबै आमाबाउलाइ । यो बन्धनमा हाम्रा १५, १६ वर्ष पुगेका छोरोछोरीले अर्कै भर्चूअल ढोकाहरु ढकढक्याउने त होइनन ? साना हुन्जेल राम्रो कुरा सिकाउन कहिले आकाश जोडें त कहिले पाताल, कहिले सीधा कुरा गरें त कहिले बांगा । अहिले त यिनिहरु बुझ्ने भइसके न म त्यो गर्न सक्छु अहिले, न उनिहरुले पत्याउंछन नै । के गरेर छोराछोरीलाइ सही बाटैमा राख्ने हो, मनमा कुरा खेलिरहे । नभन्दै एकमहिनापछि स्कूल लाग्ने भए तर भर्चूअल । ल यति भएपनि बेसै भयो, कमसेकम उनिहरुले आफना साथी त देख्न पाउने भए, मन थोरै ढुक्क भयो । आफनै घरमा माथि स्कूल, मूनी अफिस चल्न थाल्यो । छोराछोरीपनि यस्तैमा बानी पर्दै गए । धन्न ठूला भएछन, भएको प्रबिधिलाइ उपयोग गरेर पढिदिएभने यो पनि लाखै हो भन्नुजस्तो भयो तर चैनले होइन ।

प्रविधिलाइ प्रयोग गर्न जानेकाले हामीले केही गर्न परेन । पढाइ नसकुन्जेल अरु कुरा गरेनन । उनिहरुको ब्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै हामीलेपनि उनिहरुमाथि बिस्वास गर्यौं तर दिनकादिन घरमा बसेर कोरोनाको समचार मात्र सुन्न बाध्य हुनुपर्दा लकडाउनले यिनीहरुमा केही नराम्रो कुरा पो जन्मायो कि भन्ने लाग्न थाल्यो । एकदिन छोराछोरी दुबैलाइ उनिहरुका दैनिकीका बारेमा सोधें । उनिहरुले वर्तमान अबस्थालाइ सजिलै स्वीकारेर उल्टै मलाइ नै सम्झँए । उनिहरुले त्यसो भनिरहंदा छोराछोरी ठूला भएको आभाष पाएं ।

११ कक्षा सकेर गर्मीको विदा आयो । त्यो बिदाले छोराछोरीमा कुनै उत्साह थपेन । बाहिर घुम्न जाने न चाहना भयो हामीमा, न सहज वातावरण नै । छोराको केही गर्न नपर्ने भएकोले साथीहरुसंग कम्प्यूटरमा गेम खेलेरे बस्छु भन्यो । अर्थोकतिर दिमाग लानुभन्दा ठीकै भन्यो जस्तो लाग्यो । छोरी कलेज एप्लाइ गर्न निबन्ध लेख्न सिक्न थाली । निकै ब्यस्त भइ, त्यो मेरो लागि अर्को खुशीको कुरो थियो । हरेक दिन टिभीमा कोरोनाका विरामी बढेका बढेइ छन् भन्छ । आफन्तपनि देख्न नपाइ गएका मान्छेहरुको लास पुर्न नभ्याएर दाउरा चांग लाएजस्तो लासमाथि लास राखेको देखिन्छ, के को खुशी हुनु र मनमा । सकेसम्म खानेकुरा त किन्न बाहिर जान नपरे हुन्थ्यो भन्नुजस्तो हुन थाल्यो । घरबाट बाहिर निस्किएर दुइपल्टदेखि तीनपल्ट कसैले खोक्यो भने हं, केही त भएको होइन ? भन्नुपर्ने अबस्थामा मान्छेबाट भाग्दै, पन्छिदै हिडन मन लाग्न थाल्यो ।

यतिकैमा छोराछोरीको नयां कक्षा शुरु भयो, उहि भर्चूअल नै । छोरो १० मा छोरी १२ मा । १२ कक्षाको अर्को नाम सिनियर रहेछ । उनिहरु अब सफमोर र सिनियर अरे । नयां कक्षाको पढाइका लागि उत्साही नै देखिए, खुशी लाग्यो । १२ कक्षा शुरु भएदेखि नै कलेजको लागिपनि एप्लाइ गर्न थाल्नु पर्ने रहेछ । पढाइका अलावा कलेज एप्लाइ गर्न थाली छोरी । आफै बसिरहेको राज्य नर्थ क्यारोलाइनाका पांचओटा कलेज छानी एप्लाइ गर्नलाइ । हरेक कलेजलाइ भिन्दाभिन्दै निबन्ध लेख्नुपर्छ अरे । राम्रो लेख्न नसकेर कलेजले अफर नगर्लान कि ? उसको ठूलो चिन्ताको विषय भएकोले उसले स्कूलको पढाइ संगसंगै त्यसकालागि सकेसम्म मेहनत गर्न थाली । छोराले त अरु दुइ वर्ष छ स्कूल जान । औषधी निस्किहाले उ ढिलोचांडो स्कूल जान पाउला तर छोरीको त अन्तिम वर्ष, ढिलो भए पाउंदिन उसले । केही समय स्कूल नै गएर पढन पाए कति खुशी हुन्थी होला उ ! मनमा कुरा खेलिरहे । यस्तैमा कोभिडको भ्याक्सीन आउने कुरा समचारले भन्न थाल्यो । २०२० को शुरुवातदेखि नै भित्रिएको कोरोना भाइरसको दिनका दिन अनुमान गरेभन्दा बढि मान्छे मर्दासम्म तात्कालिन राष्ट्र्रप्रति डोनाल्ड ट्रम्पले जनतालाइ ढांटिरहेको बेला एन्थोनी फाउची एक मात्र सत्य कुरा भन्ने मान्छे भएकोले संसारकै अभिभाबक भएका थिए । उनैको मुखबाट औषधी आउने कुरापनि सुनेपछि थप ढुक्क भयो । स्कूललेपनि सिनियर भनेर उनिहरुलाइ भनेसम्म रमाइलो गर्ने वातावरण मिलाइदिन्छन रे, छोरीले पहिलेदेखि नै भनिराखेकी थिइ, पक्कैपनि जान पाउली, अलिकति आशा पलायो । वर्ष फेरिदा कतै स्कूल खुल्लान कि त ? आंगमा अलिकति घाम छिर्यो ।

वर्ष फरियो तर पढने तरिका उही भर्चुअल नै । छोरीका मनमा चुलिएको खिन्नता थाहा पाउथें । उसका खिन्नताहरु आफूमापनि पहाडजत्तिकै अग्लिएका थिए, उपायविहिन आमा के गर्न सक्थें र ! तर आंट भर्न भने छोडिन, थोरै भएपनि खुशी बनाउन छोडिन । “साथीले ड्राइभ गरेको गाडीमा बसेर कहिलेकाहिं लन्च खान जानपनि अर्कै आनन्द हुन्छ होला हगी मामु ? मैले त स्कूलमा हुन्जेल फेरी जान नपाउने भएं तर भाइलेचाहिं पाओस”, लामो सुस्केरा हाल्दै छोरीले कहिलेकाहिं भित्रि चिन्ता ओकल्थी । बाहिरको खान मगाइदिए छोरीको खिन्नताले केही मलम पाउंथ्यो कि भन्ने लागेर म उसैलाइ सोध्थें । उ खुशी भएर म भाइसंग सल्लाह गर्छु है भन्थी । एकछिनमा उनिहरु दिदीभाइ सल्लाह गरेर खानेकुरा नाम भन्थे मलाइ, म त्यही खाना मगाउंथें । कहिले पिजा, कहिले पास्ता, कहिले इण्डियन, कहिले चाइनिज, कहिले मेक्सिकन त कहिले नेपाली, परिपरिका र थरिथरिका खानाले उनिहरुलाइ थोरै रमाइलो दिन्थ्योपनि । मलाइ थाहा थियो यतिमात्र उसले भनेको होइन तर त्योभन्दा अरु उपाय थिएन मसंग । कहिलेकाहिं म आफै उनिहरुलाइ घरबाट बाहिर गएर साथीसंग भेट, म लगि दिन्छु भन्थें तर साबधानीका उपायहरु अपनाउने सर्तमा मात्र । उनिहरु खुशी भएर साथीसंग भेटने समय मिलाउथे । एकपल्ट भेटेर आएपछि निकै फ्रेस देखिन्थेपनि । लकडाउनले मलाइ छोराछोरीको मनोविज्ञान धेरै पढायो । उमेर अनुसारको मनोविज्ञानका पाठहरु मेरीआमै कहां सजिला रहेछन र ! जति ठूलो कक्षामा गयो उति गाह्रो । हिसाबको फरमूला जस्तो मनोविज्ञानको फरमूला हुनु नि ! एकपल्ट नमिले अर्कोपल्ट त पक्कै ! ल हिसाबको फरमूलाजस्तो होइन मनोविज्ञान थाहा पाएं । त्यो नभए ठीक बेठीक चिन्ह लाउने त हुनु नि ! आफैलाइ सोध्छु, उत्तर भने आउदैन ।

भर्चूअलमा अभ्यस्त छोराछोरीलाइ एकछिन बाहिर फ्रेस हावाका लागि लैजानपनि निकै कसरत गर्नु पर्ने हुन थाल्यो । बाहिर लाने कुरापनि म कहिले पास भएं, कहिले फेल । यसो गर्दागर्दै आधावर्ष वितिसकेछ । जांचहरु आउदै गए । एप्लाइ गरेका कलेजमा नाम निस्कने हो कि होइन ? छोरीको अनुहारभरी चिन्ताका रेखाहरु कोरिएका देखिन्थे । उसको चिन्तित अनुहार देख्नेवित्तिकै हामी आमाछोरी धेरैबेर कुरा गथ्र्यौ । म उसलाइ उठनकालागि आफू धेरैपल्ट लडेको कथा सुनाउंथें, जित्नकालागि आफू धेरैपल्ट हारेको कथा सुनाउंथे । मैले भनेको कुराले कति सहयोग पुर्याउथ्यो उसलाई थाहा छैन तर थोरै खुशीचाहिं देखिन्थी । यस्तै केही दैनिकीहरुकोपछि एप्लाइ गरेका कलेजहरुले विद्यार्थिहरुको नाम क्रमशः निकाल्दै गए । आफनो नाम निस्केको हो कि होइन घरमा चिठी आएपछि थाहा हुने रहेछ । क्रमशः एप्लाइ गरेका कलेजबाट बधाइ लेखेका चिठीहरु उसको नाममा आउन थाले । छोरीको खुशी आफूमा बढदै गयो । जनवरीको महिनाको अन्त्यतिर सबै कलेजले आ-आफना कलेजमा पढनका लागि बधाइ तथा स्वागत लेखेका पत्र पठाए । छोरीका खुशीले थाहै नपाइ आमा त भुइमा न भांडामा हुन थालेंछु ।

उ स्कूलको पढाइ र कलेजका कुराले निकै नै ब्यस्त भइ । नाम निक्लिसकेपछि हाम्रामा भर्ना गर भनेर कलेजहरुले तारन्तार पत्र पठाउन थालेपछि अब त सांच्चै कलेज छान्न पर्ने दिन पो आयो त ! हामी घरमा सल्लाह गर्न थाल्यौं । उसले अहिलेसम्म पढन मन गरेको विषय पब्लिक हेल्थ र उसले जान मन गरेको कलेज युनिभरसिटी अफ नर्थ क्यारोलाइना(युएनसी च्यापलहिल) थियो । उसको आफनै मेहनतले अरु कलेजसंगै पब्लिक हेल्थको पढाइमा देशभरीमै दोस्रो नम्बरमा आउने कलेजमा नाम निकाली, किन पठाउन आनाकानी गर्नु होला र बाउआमाले ! पढाउन सकिएन भने लोन लिएर पढछे नी ! हामी दुबैको भित्रि मनले यसै भन्यो । उसले त्यहिं जाने टुंगो गरी । कस्तो अचम्म स्कूल सक्नु अगाडि नै कलेज पक्का गरिसक्नु पर्ने रहेछ ।

छोरीलाइ त कहां फुर्सद थियो र ! टेष्ट भन्यो, कुइज भन्यो, परिपरिका जांचले टाउको उठाउन पाएकी थिइन । खोइ किन हो आमाको मन भने छोरीले कलेजमा नाम निकालेदेखि नै निकै परपर दौडिरहेको थियो, अझै रोकिएको छैन । पखेटा हाल्न लागेको बच्चाले गुंड छाडने कुराप्रति बिश्वास नभएर हो कि अथवा गुंडभित्र हुर्किरहेको बच्चाले आफनो सुरक्षाको आकाशभन्दा बाहिरको आकाश, उसको आफनै सपनाको आकाशकोपनि उडान भर्नुपर्छ भन्ने कुरामा विस्वास नभएर हो, चैन भने पटक्कै छैन । छोरीका घर छोडने दिन मिल्ने भए लम्ब्याउथी होला उ ।

यति भन्दा भन्दै स्कूलबाट विदाइ हुने दिन अर्थात ग्रयाजुएट हुने दिन आएछ ।

धेरै धेरै बधाइ छ छोरी !
आज तिम्रो दिक्षान्त समारोहको दिन, मेरा खुशीको अनौपचारिक ताज त तिमीले पहिले नै मेरो शीरमा सजाइदिइ सक्यौ । मात्र तिमीले पहिरेको औपचारिक ताज हेर्न बांकी छ । मलाइ आज अघाउंजी हांसौ कि रोउं, उडु कि गुडुं भएको छ । तिमी जन्मेका दिनदेखिका असिमित खुशीका भंगालाहरु मेरा आंखाबाट फाटेका छन् । ताते र तोतेबाट शुरु भएको तिम्रो जीवन आज एक परिपक्व नारीमा रुपान्तरित भएको क्षण मेरो एउटा मिठो विपना हो ।

तिमी धर्तीमा आउनु अगावै हत्केला फराकिला लिएर आउ, भाग्य आफै कोर्नुपर्छ, हामी रेखा तान्न सिकाउछौं भनेकी थिएं मैले । बुझैजस्तै गरेर ठूलै हत्केला लिएर आयौ । केही रेखा हामीले कोर्न सिकायौं, केही तिमी आफैले कोर्यौ तर धेरै धेरै कोर्न वांकी छन । हत्केलालाइ सिधा बनाउंन धेरै बांगा रेखाहरुपनि कोर्नुपर्छ, सजिलो बाटो बनाउन आफू अगाडि उभिएको चट्टानलाइ फोर्नुपर्छ । मेहनतको चुचुरोमा पुग्न उत्साहित तिमी आरोहीलाइ चुचुरोे नपुगेसम्म आधारसिबिरबाट म सहयोगी भूमिका निभाइरहन्छु । अप्ठ्यारोमा मेरो काख सधैं तिम्रो सिरानी हुनेछ । तिमी चढ, एकपछि अर्को उकालो चढ, म बेंसीबाट हैंसे गरिरहनेछु ।
मामु

नर्थ क्यारोलाइना, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।