14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अन्तराल

कथा शिव गौतम June 6, 2021, 12:24 pm
शिव गौतम
शिव गौतम

“तँ आईपुगिस् , बाबु” , आमाले अलिकति कामेको आवाजमा सोध्नु भयो।
“हजुर, म एअरपोर्टबाट सिधै याहाँ अस्पताल आएको", आमा सुती राखेको अस्पतालको ओछ्यानको एउटा कुनाको छेउमा बिस्तारै बसें। म बसेको ठाउँमा मेरो जिउको गह्रौंको चापले ओछ्यान अलिकति लचक्क भासियो। कोठामा रहेको एउटा बेन्च जस्तोमा मेरो भाई बसीराखेको थियो।
"केटाकेटी सन्चै छन्?”
“हजुर, सन्चै छन् “
“अनि बुहारी?”
“उनीहरू सबैलाई सन्चै छ”. मेरो दाहिने हात स्वत बिस्तारै ओछ्यानको छेउ-छेउ सर्दै आमाको दाहिने हात सुम्सुम्याउँन पुगी सकेको थियो । एउटा ट्यूब सँग जोडिएको लामो नलीको अर्को छेउमा रहेको एउटा सुईले आमाको देब्रे हातलाई आफ्ना समस्त क्रुरताका साथ घोची रहेको थियो।
मेरी आमा मलाई धेरै मायाँ गर्नु हुन्थ्यो। हामी एक अर्काको धेरै नै नजिक थियौं। हामी यति नजिक थियौं कि मेरो जीवनको पहिलो नौ महिना सम्म आमा र म अभिन्न थियौं, एउटै शरीरमा बस्थ्यौं, एउटै शरीरमा बाँचेका थियौं। त्यसबेलादेखि अहिले सम्म म कसैको पनि त्यति नजिक हुन सकेको छैन।
म जन्में, र पहिलो पटक आमा र म अलिकति अलग भयौं, अलिकति टाडा भयौं, बेग्ला-बेग्लै शरीरमा बाँच्न थाल्यौं ।. म र मेरी आमा बीचको यो पहिलो दूरी थियो ।
“ अहिले कस्तो छ, आमा”
“मलाई के भै रहेको छ, थाहा छैन,” आमा एक छिनकोलागि चुपलाग्नु भयो र फेरि भन्न थाल्नु भयो, “खानमा पटक्कै रुची छैन, केहि खाइहाले पनि सबै उल्टी हुन्छ, ज्वरो आउँछ, टाउको दुख्छ, जिउ दुख्छ” ।
"अहिले पनि ज्वरो आइरहेको छ ? " भन्दै मैले आमाको निधारमा आफ्नो हात राखी दिएँ।

मलाई सम्झना छ, म बिरामी हुँदा आमा पनि त्यसरी नै मेरो निधारमा हात राखी दिनु हुन्थ्यो। कति पल्ट त आमाले त्यसरी छुने बित्तिकै मेरो बिमार निको भई सक्थ्यो । ती हात भएर बग्ने स्नेह, शितलता र ममताका कोशी-कर्णालीको कुनै अर्को पर्याय छैन ।
"अब यत्तिकै हो जस्तो छ, " आमाले भन्नु भयो ।
“होइन, तपाईंलाई ठिक हुन्छ, आमा, “मैले सरासर ढाँटें। मलाई थाहा थियो आमालाई फोक्सोको क्यान्सर भएको थियो, अनि क्यान्सर आफ्नो अन्तिम चरणमा थियो, शरीरभरी फैलिसकेको थियो । मलाई अमेरिकामा नै मेरो भाइले नेपाली डाक्टरले जाँचेको र ल्याबको रिपोर्ट पठाएको थियो। मैले ती रिपोर्टहरू अमेरिकामा फोक्सोको क्यान्सर विशेषज्ञलाई देखाएको थिएँ। ती अमेरिकी डाक्टर नेपाली डाक्टरको डाइग्नोसिस सँग सहमत थिए। वास्तवमा भन्ने हो भने, अमेरिकन डाक्टरको सल्लाह अनुसार नै म आमालाई हेर्न काठमाडौं आएको थिएँ।
“डाक्टरहरू के भन्छन् , बाबु ? "
“फोक्सोमा अलिकति पानी जमेको छ, केही दिनपछि सब ठिक हुन्छ भन्छन्,” मैले फेरि ढाँटें।
म सानो छँदा, आमा अक्सर गुनगुनाउने गर्नु हुन्थ्यो :
“यो छोरो बढला, पढला
दूध-भात खान देला “।
म जाहाँ हुर्कदैं थिएँ, त्याहाँ कोही-कोही हुनेखाने परिवारका मात्र दैनिक दूध र भात खान सक्नेमा पर्थे। त्यहाँ त्यसरी दूध र भात खान सक्नु सम्पन्नताको प्रतिक मानिन्थ्यो।
“अब तैंले लेख-पढ गर्न सिक्नु पर्छ” भन्दै आमाले माथि डाँडामा प्रत्येक औंसी र पूर्णिमामा लाग्ने बजारबाट किनेर ल्याएको एउटा क ख को किताब देखाउनु भयो।
" किन ? "
"तैंले धेरै पढ्नु पर्छ, ठूलो मान्छे बन्नु पर्छ”
आमा आफू अशिक्षित हुनुहुन्थ्यो, तर आपनो छोराले पढोस लेखोस भन्ने तिब्र चाहना थियो।
गाँउको नजिकै कुनै स्कूल थिएन। डाँडाको पल्लोपटि एउटा पूजारी बस्नुहुन्थ्यो। पूजारी मलाई दिनको एक घन्टा पढाउन सहमत हुनुभयो। पढे वापत उहाँ सिधै पैसा लिनु हुन्नथ्यो। उहाँको विद्वता र ज्ञान बिक्रीकालागि थिएनन् । तर चामल, घिउ, नुन, र मसला आदि सँग विद्या बिनिमय गर्न उहालाई कुनै नैतिक अप्ठ्यारो थिएन । यस प्रकार पुरोहितको मनमा न त सरस्वती बेचेको पापको डर भयो, न त सित्तैमा श्रम गर्नु परेको थियो। पुरोहितको घर जान मैले दिनहुँ पहिले आधा घण्टा जति उकालो चढ्नु पर्थ्यो, अनि डाँडामा पुगेर फेरि अर्को तिर पन्ध्र मिनेट जति ओरालो झर्नु पर्थ्यो। यसरी ठूलो मान्छे हुने अनि महानता र ज्ञान तिर जाने बाटोमा पहिलो पल्ट मेरा पाइलाहरू उठेका थिए।
“चार पन्चे कति हुन्छ, आमा?”, पुरोहित सँग पढ्न थालेको यस्तै केहि समय पछि मैले आमालाई सोधें।
“मलाई के थाहा, पढन भनेर तँ पो जान्छस् त,”
“बीस हुन्छ,” मैले भने। खै किन हो मलाई अलिकति गर्व लागे जस्तो भयो। शायद यस कारणले हो कि अब म केही कुरा जान्दथें जुन कुरा मेरी आमा जान्नु हुन्नथ्यो। म अचानक आमा भन्दा जान्ने भएको थिएँ। यो भन्दा पहिले म सबै कुरा आमालाई सोध्ने गर्थें, र आमाले नजानेको केही कुरा थिएन। म ठूलो र विद्वान बन्ने हाम्रो (मेरो र आमाको) महान योजनामा आमाले सबै भन्दा पहिले सानो र मुर्ख बन्नु पर्यो। तुलना गर्नकालागि कोही म भन्दा सानो र मूर्ख भएन भने म कसरी ठूलो र बुद्धिमान हुन सक्थें र? मेरो जन्मपछि यो दोश्रो घटना थियो जसले आमा र मलाई अरू अलिकति अलग गरेको थियो। आमाको र मेरो विचको दूरी अरू अलिकति बढेको थियो।
"तपाईं अमेरिकाबाट कहिले आईपुग्नु भयो? " अस्पतालमा आमालाई हेर्न भनेर आएका एक नातेदारले कोठा भित्र पस्दा पस्दै मलाई सोधे ।
" आजै " ओछ्यानमा अलिकति सरेर उनलाई ठाउँ बनाउदै मैले भनें, र त्यो ठाउँमा हातले बिस्तारो थपथप्याएर बस्न ईसारा गरें ।
"मेरो छोरो पनि अचेल अमेरिकामा वातावरणीय इन्जिनियरिङ अध्ययन गरिरहेको छ । के यो साँचो हो कि नेपालभरीमा त्यस्तो विषय पढ्ने एकजाना पनि छैन ? " उनले एक सासमा सोधे |
“खै मलाई त्यति थाहा भएन। "
एक छिन् अगाडि पनि आमालाई हेर्न आएको मान्छेले आफ्नो छोरालाई कसरी अमेरिका पढ्न पठाउने भनेर सोधी रह्यो र बसुन्जेल सारा समय उसकै छोराको बखानमा बिताएर र दिक्क लगाएको थियो ।
मेरा आँखा फेरिआमा तिर गए। आमा अस्पतालको सेतो ओछ्यानमा सुती रहनु भएको थियो । म सानो छँदा म आमाको काखमा मेरो टाउको राख्थें, आमा आफ्ना हातका औलाहरूले मेरो कपाल खेलाउनु हुन्थ्यो। कहीले टाउको चिलायो भन्दै, कहीले जुम्रा छ कि हेरी दिनु न भन्दै म आमाको काखमा टाउको राखिदिने बहाना खोजिरहन्थें । आज पनि म आमाको काखमा टाउको राख्न चाहन्थें, र डाँको छोडेर रुन चाहन्थे। तर, आज मेरो बयस्क लोग्नेमान्छेपन, मैले आर्जन गरेका विस्वविद्यालयका प्रमाणपत्र, विद्वता, आदि सबै म र मेरी आमाको विचमा पर्खाल भएर उभिएका थिए। अनि फेरि मेरो कपालमा अब जुम्रा पनि छैनन्। गह भित्र भित्रै मेरा आँसु विद्रोह गरी रहेका थिए।
“बाबु, पानी”
"आमा, पानी यता," मैले आमालाई गिलासबाट अलिकति पानी खुवाई दिएँ।
पुरोहित संगको प्ररम्भिक शिक्षा सकेपछि अरू पढ्न गाउँमा स्कूल थिएनन्। त्यसैले मलाई तराइमा काकाको घर पठाउने निधो भयो । काका सानो सहरमा बस्नु हुन्थ्यो । तराई जान हिंडेको रात पहिलो पटक म र मेरी आमा अलग घरमा सुत्यौं। आमा र मेरो बिचमा दुरी अझ अरू बढेको थियो, अन्तराल फैलिंदै थियो।
मैले पढाइमा राम्रो गर्दै गएँ। मेरा प्रारम्भिक उपलब्धिहरूले मलाई उच्च शिक्षाकोलागि काठमाडौं लगे । चाँडै मैले कलेज पनि पुरा गरें। मेरी आमा र म खुसी नै थियौं, कम्तिमा सतहमै भए पनि। मलाई ठूलो, विद्वान मान्छे बनाउने मेरो र आमाको लक्षतिर हामी बढी रहेका थियौं, हाम्रो योजनाले काम गरी रहेको जस्तो देखिन्थ्यो। तर अब मेरी आमा र मेरो बिचको दुरी धेरै बढी सकेको मात्र हैन, यसले पखेटा पनि हालिसकेको थियो। अब म र मेरी आमा कैयौं प्रकारले फरक भइसकेका थियौं । शुरूमा यो अन्तराल एक आयामिक थियो भने अब यो बहु-आयामिक भई सकेको थियो। मेरा शैक्षिक ग्रेड, प्रमाणपत्र, डिप्लोमा, अनि अन्य बौद्धिक र प्राज्ञिक गतिविधि, मेरो विद्वता र महानतालाई आफ्नो काँधमा उचालेर मेरी आमा सानी की सानी भै रहनु भयो, मूर्ख की मूर्ख भै रहनु भयो। मेरो संसारमा पृथ्वी सूर्यको वरिपरि घुम्थ्यो, किनभने मलाई कसैले त्यसै भनेको थियो। आमाको संसारमा सुर्य पृथ्वीको वरिपरि घुम्थ्यो, किनभने आमालाई कसैले त्यसै भनेको थियो। म बोल्दा बीच-बीचमा अँग्रेजी शब्दमा घुसाएर बोल्थें, कठिन र परिष्कृत नेपालीमा कुरा गर्न थाले । मेरी आमा ठेट ग्रामीण नेपालीमा कुरा गर्नु हुन्थ्यो । मेरो हतार-हतार पश्चिमिकरण हुँदै थियो । म र मेरी आमा लगभग अलग संस्कृति र सभ्यताको जस्तै हुन थालिसकेका थियौं। आमा र म बीचको दूरी अनेकौं आयाममा झन-झन बढेर गएको थियो।
उच्च शिक्षाको सिलसिलामा म अमेरिका गएँ र आफ्नो पढाई सकेर उतै जागिर खान थालें । म अब माता र मातृभूमिबाट भौतिक रूपमा पनि निकै टाडा पुगेको थिएँ, दूरीको अर्को आयाम थपिएको थियो । यद्यपि आमा र मेरो बिचको अन्तराल अनेकौं दिशा र आयाममा बढेका थिए तर म अझै आमाको हृदयमा थिएँ, मनमा थिएँ, नसानसामा थिएँ, शरीरका रेशा-रेशामा थिएँ। यो दिशामा अझै कुनै दूरी थिएन। अहिले क्यान्सर आमाको फोक्सोबाट शरीरको अन्य भागमा तीव्र गतिमा फैलिंदै थियो । क्यान्सरले आमाको शरीरको रेशा-रेशाबाट मलाई निकालेर आफु त्यहाँ बस्न खोजी राखेको थियो। क्यान्सर मेरो र आमाको बीचमा अरू दूरी उत्पन्न गर्न खोज्दै थियो, आमा भित्रबाट मलाई हटाउन र मेरो नामो निशान मेटाउन खोज्दै थियो । तर मलाई थाह छ मेरी आमा बरू आफ्नो ज्यान दिनु हुनेछ, तर कसैललाई आफू भित्र मेरो स्थान लिन दिनुहुने छैन।
“के भयो, आमा?”, आमा अचानक स्वाँस्वाँ गर्न थाले पछि मैले आमालाई सोधें।
“अलिक छटपटी जस्तो भयो,” आमाले कठिनाईका साथ भन्नु भयो। आमालाई सास फेर्न असजिलो भई रहेको थियो।
मेरो भाई डाक्टर बोलाउन गयो । डाक्टर र एउटा नर्स आएर एक छिन् जाँचेपछि आमालाई अक्सिजन चढाए । केहि समय पछि आमा फेरि सामान्य हिसाबले सास फेर्न थाल्नु भयो ।
अब झन्डै सुत्ने बेला भई सकेको थियो । म बिहान देखिनै अस्पतालमा थिएँ । मेरो भाईले मलाई उसको घरमा गएर सुत्न भन्यो र आफूचाहिं अस्पतालमै आमालाई कुरेर बस्ने भयो। मेरो भाई काठमाण्डौमा जागीर खान्थ्यो, र उसैले उपचार गर्न भनेर आमालाई काठमाण्डौ ल्याएको थियो ।
भाईको सल्लाह मानेर म उसको घरमा गए । हवाईजहाजको लामो यात्रा र दिनभरी जसोको अस्पताल बसाईले म निकै थाकेको थिएँ। खाना खाएपछि म ओछ्यानमा गएर पल्टें अनि सुत्ने कोशिश गर्न थालें । तर आमासंगका मेरा बाल्यकालका सम्झनाहरु मेरो मनमा सजीव भएर आउन थाले ।
कुन बेला झपक्कै निदाएछु, थाहै भएन । एक्कासी फोनको घन्टीले मलाई उठायो । फोनको अर्कोपटी मेरो भाई थियो । भाईले आमाको अवस्था अचानक गम्भीर भएको कुरा भन्यो। त्यतिबेला निकै राती भई सकेको थियो। ट्याक्सीको लागि लामो समय कुर्नु पर्यो । अन्तमा एउटा ट्याक्सी भेटियो तर दोब्बर भाडा दिने शर्तमा मात्र मलाई अस्पताल पुर्याउन राजी भयो । ट्याक्सीको पछाडिको सिटमा बस्दै ड्राइभरलाई सकेसम्म छिटो अस्पताल पुर्याईदिन अनुरोध गरें । हेडलाईटले आफ्नो अघाडीको अँध्यारोलाइ बाटोको किनार तिर धकेल्दै ट्याक्सी मलाई बोकेर अस्पताल तिर हुईंकियो |
अस्पताल पुगेर म सिधै हतार-हतार आमालाई राखेको कोठा भित्र पसें। भुइँमा बसिरहेको भाइले मलाई पुलुक्क हेर्यो। उसका आँखाबाट आँसु निस्केर गलामा झरे। आँसुको जबाफ मैले पनि अनायसै आँसुमै दिएँछु । मलाई थाह भई सकेको थियो आफना सम्पूर्ण आयाम सहित म र मेरी आमाका बीचका दूरीहरू र अन्तरालहरू सीमाहीन भएर, अन्तहीन भएर अनन्त सम्म फैलिएका थिए फेरि कहिल्यै नखुम्चिने गरी।
भोलीपल्ट बागमतीको किनारमा, पशुपतिको पछाडि आर्यघाटमा, आमाको अन्त्येष्टि सकेर म सडकको किनारै किनार फर्की रहेको थिएँ ।
“बाबु”, अत्तालिएर आमाले चिच्याएको अवाज एक्कासी पछाडिबाट आयो। हजारौं बोल्टको करेन्ट लागे जसरी म जोडले एक झट्का सहित फनक्क पछाडि फर्केर हेरें।
एउटा सानो बालक सडकको बिचैबिच सानासाना खुट्टी टेक्दै हिंड्दै थियो। त्यो केटाकी आमा चिच्याउँदै उस्को पछि-पछि कुद्दै आइरहेकी थिइन्। अर्को तिरबाट बेगले आइरहेको एउटा कार त्यो केटाबाट एक ईन्च टाडा जति मात्र आएर ब्रेकको चर्को चिच्याहट सहित रोकियो ।
आमाले छोरालाई हत्त र पत्त सडकबाट उचालेर बेस्सरी अंगालोमा हालिन। त्यो केटो आफ्नो आमाको छातीमा लपक्क टाँसियो।
अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।