14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

विशृङ्खलित प्रेमको सुसेली

कथा हिमाल लिम्बु June 8, 2021, 11:42 am
हिमाल लिम्बु
हिमाल लिम्बु

गोधूलिको बेला अस्ताउदो सूर्यको मधुर प्रकाशलाई कालो बादलको चँदुवाले ढाकेको थियो । त्यस सन्ध्याकालमा परेको साउने झरीबाट बच्नका लागि म आफ्नो घरभित्रै बसेको थिएँ । त्यसैबेला त्यो झरीमा लुथ्रुक्क भिजेर ठण्डीले काम्दैकाम्दै उमेरले सत्तरी वर्षकी जस्ती देखिने वृद्द महिला मेरो झुपडीमा शरणार्थी भएर प्रवेश गरिन् । दयालाग्दो अवस्था देखिन्थ्यो उनको । भावभङ्गिमा लथालिंग भताभुंग भएको थियो । पूर्णिमाको चहकिलो जूनलाई खग्रास ग्रहणले कलङ्कित पारे जस्तो उनको अनुहारमा खिन्नता र उदासीले ढाकेको थियो । झरीको रंगहीन पानी सीमन्तबाट खहरे बनेर खसिरहेको थियो र बुढेसकालमा पनि बान्की मिलेको मुहारभरि छताछुल्ल बग्दै थियो । उनका गालाका पातला चाउरीहरू र देब्रे गालाको डिम्पल खोलाको किनारमा लहरले बनाएका बालुवाका तरेलीहरू र डोब जस्तैँ झल्किन्थे । उनको कैलो लामो कपाल गुजुल्टिएर लट्टा परेका र अस्तव्यस्त छरपस्ट थिए । मैलिएर घुर्मिल भएको सेतो चोली ठाउँठाउँमा झुत्रिएको थियो । च्यातिएका त्यान्द्राहरू तुन्द्रुङ् तुन्द्रुङ् झुण्डिएका थिए । ती बुढीआमैको हालत यो दुनियाँको वास्ता नगर्ने बौलाहा जस्तो बेमतलबी थियो । मेरो घरको निदालमुनि ओत लिएर बसिन् आमै । उनको आँखाबाट भदौरे भेलसरि आँसुका थोपाहरू तप्किरहेका थिए । तड्पिएका अश्रुधाराको अगाडि बाहिरको झरी पनि निस्तेज झैँ देखिन्थ्यो । मैले प्रश्नार्थक नजरले उनलाई हेरेँ । त्यसपछि सुरु भयो उनको जिन्दगीको अतित र त्यसको अन्तर्वेदना फुटेको कप्टेरो बाँसले बनेको बाँसुरीको विरहलाग्दो सुसेली जस्तै .....................।
"शिशिरको शीतले उजाड वटवृक्ष नवपालुवा पलाएपछि हराभरा हुन्छे, बिहानी किरणको स्पर्श पाउदा बासनाहिन लज्जावती फुल पनि लजालु मुस्कानका साथ मुस्कुराउँछे । तुसारोले सबथोक तुषारपात गराएको भए पनि आशाको रहरले छोएपछि कोइली पनि कुहुकुहु गर्दै उमङ्गको गीत गाउन थाल्छे । त्यो हो बसन्त, त्यस्तै हुन्छ बसन्तमा, मौसमको बसन्त, समयको बसन्त, जीवनको बसन्त, सबै बसन्त कति स्वर्णिम र रंगिन हुन्छन् । संसारलाई, भोग्ने चञ्चलता र चासो बोकेको सोर्ह वर्षे यौवन जीवनको बसन्त नै हो ।
म सोर्ह वर्षे जवान केटी आतिफको अँगालोमा ग्वार्लाम्म टाँसिएर घुक्कघुक्क रोइरहेकी थिएँ । बिना शरम, बिना हिचकिचाहट । "गल्ती भयो, कान्छीमैया, मलाई माफ गर । प्लिज, माफ देऊ” भन्दै आतिफ कान समाएर माफी माग्दै थियो र मलाई फकाउने प्रयास गर्दै थियो । त्यस दिन आतिफले घोडा दौडाउन सिकाउछु भन्दै मलाई सानो बछेडामा चढ्न लगाएको थियो । म बछेडामा चढेको मात्र के थिएँ उसले लौरीले स्याट्ट पिट्यो, घोडा तर्सेर बुरुक्क उफ्रियो । म अतालिदै चिच्याएँ र तीन बल्ड्याङ खादै भुइँमा बज्रिएँ । म यति डराएछु, अनायसै उसको अँगालोमा बेरिन पुगेँ । उसको छातिमा थामिएर रुन पो थालेँ । आतिफ पनि पहरामा सहारा खोज्दै आएको लहरालाई आश्रय दिदै मजाकका साथ गल्ती महसुस गर्दै थियो । वास्तवमा हामी दुई नवयौवनाहरू एक अर्काको प्रेममा चुर्लुम्म डुबेर रोमान्स गर्न थालेका थियौँ ।
समयको प्रवाहसगैँ बग्दै बाल्यकालको अपरिपक्क भोगाइ पार गर्दै बैशको बसन्तमा ढकमक्क फुलेको सूर्यमुखी फूल भएकी थिएँ म । मेरो जन्मघर झापाको गौरीगञ्जमा थियो । आतिफ मेरो छिमेकी थियो । उसको परिवार भारत विहार राज्यको हरियापुर गाउँबाट बसाइ सरेर नेपाल आएको थियो । गौरीगञ्जमा उनीहरुको घर थिएन । भाडामा लिएको घरमा बस्ने गर्थे । आतिफको बुबाको सब्जीपसल थियो र काँटा राखेर धान मकै अन्न-अनाजहरू किन्ने बेच्ने व्यापार व्यावसाय गर्दथे । व्यापारको सामानहरू बजारबाट ल्याउने र लाने गर्नका लागि उनीहरूले घोडाहरू पालेका थिए । विक्रम संवत् दुई हजार तीस सालतिरको कुरा हो गाउँमा मोटरगाडी, साइकल जस्ता सवारीका साधनहरू कम थिए । मालसामान ओसार पसार गर्न बयलगाडा र घोडा नै भर पर्नुपर्थ्यो । दुःखसुख, हाँसो खुसी मिलीजुली बाडीचुडी गरेर बसेपछि को हो आफ्नो को हो बिरानो, को स्वदेशी को विदेशी सबै नै आफन्त हुन्छन् । मेरो परिवार नेपालको क्षेत्री तर आतिफको भने भारतीय मुसलमान थियो । हाम्रो जात, धर्म, भाषा, सस्कृति भिन्न भए पनि छिमेकी जस्तो गहिरो मित्रता र सम्बन्धले बाँधिएर आपसमा सहयोग, सद्भाव र प्रेम गरी बसेका थियौँ । अझ म र आतिफ अति नै मिल्ने नजिकका साथी थियौँ । एउटै आगन अगेनुमा भए जसरी हुर्कदै ठुला भइसकेका थियौँ । सँगसँगै खेल्नु सँगसँगै घाँस काट्नु, दाउरा बटुल्न जानु र गाइवस्तु हेर्न गोठाला सँगै जानु हाम्रो दिनहुँको काम थियो । गाउँमा सबै केटाकेटीहरूले स्कुल जान पाउदैनथे त्यो जमानामा । मेरा बाआमाले पनि मलाई स्कुल पठाउन त्यति इच्छा राख्न भए जस्तो लाग्दैन । म पनि पढ्न छाडेर खेल्न र गोठाला जान मै रमाइलो मान्थे । आतिफ पनि उसको बाबालाई व्यापारको काममा सघाउनु पर्ने भएकाले स्कुल जादैन थियो । पढाइ लेखाइ के काम, हलो जोति खायो माम भन्ने उखानले त्यतिखेरको समयलाई जकडेको थियो । म र आतिफ रतुवा खोलाको बगरमा बालुवाको घर बनाउने बाजी खेल्थ्यौँ । जस्को घर ठुलो राम्रो हुन्छ त्यसले बाजी जित्थ्यो । पैसाको बाजी होइन भरै खाजामा जे हुन्छ त्यो आधा दिनै पर्ने शर्त हुन्थ्यो हाम्रो । बालुवाको सुन्दर घरहरू बनाउदा बनाउदै बगरमा सहर नै बन्दथ्यो । कस्को राम्रो भयो भनेर एक अर्काको घरलाई हेर्दै जिस्क्याउदै आ-आफ्नो राम्रो भएको दाबी गर्दै झगडा गर्थ्यौ आतिफ र म । अनि अपरान्हमा घर जाने बेला कस्ले छिटो बालुवाको महलहरू भत्काउने भनेर जोर लात्तीले कुल्चदै, लत्याउदै गर्ल्याम्म गुर्लुम्म भत्क्याएर गर्वका साथ घरतिर दौडिन्थ्यौ हामी । कहिलेकाहीँ आतिफ र म पढ्नेवाजी खेल खेल्थ्यौँ । आतिफ पढ्न लेख्न जान्ने थियो भने म कालो अक्षर भैँसी बराबर थिएँ । एकदिन उसले मलाई मेरो नाम लेख्न सिकाइदिने तर उसले मागेको कुरा दिनुपर्ने प्रस्ताव राख्यो । उसले के माग्छ भन्ने कुरामा मैले कुनै मतलब गरिन तर नाम लेख्न सिकाइदिन लागि भने कर गरे उसलाई मैले । "सुन्, कान्छी मैले चाहेको कुरा दिने भए मात्र नाम लेख्न सिकाउछु नत्र सिकाउदिन ।" उसले अड्डी कस्यो । "ठिक छ भैया, तिमीले चाहेको कुरा मसँग भए म दिन्छु तर पहिले नाम लेख्न त सिकाउन ।" मैँले उसलाई जिस्क्यिाउदै भने । आतिफले मेरो दाहिने हातको चोरी औँला समात्यो र त्यही औँलालाई कलम बनाएर बगरको बलौटे भुइँमा लेख्न थाल्यो । 'म' ... लाई कान्दानी 'मा' .......'ल' को खुट्टा काट्ने, 'द' लाई ईकार 'दी' फेरि 'द' लाई ईकार 'दी' 'माल्दीदी' हाहा हाहा ... मेरो जिस्क्याउने नाम लेख्दै ऊ हाँस्दै भाग्यो । मैले भैया-खोया घोडावाला भन्दै उसलाई लखेटेँ । मालती मैले जोक गरेको । आउ म अब चाहिँ रामरी सिकाइदिन्छु भन्दै माटोमा मेरो चोरऔँलाले कोर्न थाल्यो । उसले जसरी लेख्न लगाउथ्यो त्यसरी नै मैले भुइँलाई सेतो पाटी सम्झेर कोरि नै रहे । दश बाह्र पल्ट लेखेपछि बांगो टिंगो भए पनि मेरो नाम लेख्न म सक्ने भएँ । म खुसीले फुरुङ्ग भएँ । "अँ मालती, म तिम्रो गुरू भएँ । मलाई गुरू दक्षिणा देऊ ।" आतिफले पहिले राखेको शर्त सम्झायो। "आतिफ तिमी के के माग्छौ ?" मैले अलि सशङ्कित हुदै प्रश्न गरेँ । उसले अक्मकाएको मसिनो स्वरमा भन्यो, "मा-ल-ती म, म ........ तिमीलाई माया गर्छु, म तिम्रो चोखो माया चाहन्छु ।" म अलमलमा परेँ । गट्टी खेल्दा ढुङ्गा माग्ने, कपर्दी खेल्दा सोम माग्ने, गोठाला जाँदा खाजा भुजिया माग्ने आतिफले आज माया भन्ने चीज माग्यो । झस्किएँ म, यो माया भन्ने चीज मसँग खोइ कहाँ छ भनेर ! जामाको गोजीमा अञ्जानमै पुगेछन् मेरा हातहरू माया खोज्नलाई । म सोझी गाउँले केटीलाई वैशालु बसन्तको उन्माद यौवनमाथि लोभी भमराले वासनादार आखा लाइसकेछन्, मलाई ख्यालै थिएन । तैपनि माया भन्ने चीज खोज्ने प्रयास गर्दा मनमा मिठो लज्जा सल्बलाए जस्तो भान भयो । दिलमा एक प्रकारको तरङ्ग उठे जस्तो लाग्यो । अनि सोचविचार नै नगरी स्वीकृतिमा टाउको हल्लाउदै म वस्तुको बथान भएतर्फ दौडिएँ ।
भोलिपल्ट गोठालामा आतिफले एउटा बरको पात ल्याएर मेरो हातमा राखिदियो । मलाई हिजोको कुराले मनमा कता कता लाजले गम्भीर बनाइरहेको थियो । म अचम्म मान्दै त्यो बरको पातलाई ओल्टाइ पल्टाइ हेरेँ । पातको पछाडि पटि सेतो अक्षरहरूले मेरो नाम लेखिएको रहेछ । त्यति मात्रै मैले पढ्न सकेँ । बाकी शब्दहरू मैँले बुँझिन । अर्को एक जना मङ्गले नामको साथीलाई भेट्न रतुवा खोलातिर दौडिएँ । ऊ खोलामा माछा मार्न मेटेका झारहरू पन्छाउदै थियो । उसले तीन कक्षासम्म पढेको थियो र गोठालाहरूमा लेखनदास मङ्गले भनेर चिनिन्थ्यो । सबैजनाले उसैलाई चिठ्ठी लेख्न पढ्न लगाउँथे । मैले खोलाको डिलबाट नै पातका सेता अक्षरहरू देखाउदै उसैलाई सोधेँ, "ओइ मङ्गले यहाँ के लेखेको छ भन् त।" मङ्गले केही परबाट आँखाहरू फर्काएर निद्याएर हेर्यो अनि कराएर भन्यो, "म तिमलाई प्यार गर्छु, आतिफको मालती ....।" यति भन्दै मङ्गले पानीझारभित्र हात घुसाएर माछा खोज्न लागि हाल्यो । म चाँहि के गरौं कसो गरौं भएँ । मख्ख परेर खुसीले झँण्डै नाच्न थाँलेछु । त्यसबेला थाह पाइरहेको थिएँ योवनको मादकताले झुमझुम-झमझम भएर मेरा हातगोडाहरूमा नृत्यको झंकार सञ्चार भइरहेका थिए । मेरो पहिलो प्रेमको सौगात स्वीकार गर्दा हर्षले गदगद भएको थिएँ । त्यसपछि हाम्रो प्रेमको सहयात्रा सुरु भयो । हामीले हाम्रो माया सधैँ सुनगाभा झैँ फुलिरहोस् भनेर प्राथना गर्यौं, जुनीजुनीसम्म पनि जूनतारा झैँ चम्किरहोस् भनेर कसम खायौं । हामी कहिले नछुट्ने सम्झौतामा पुगिसकेका थियौं ।
समयले कोल्टे फेर्न के बेर लाग्दो रहेछ । शकुन्तला र दष्स्यन्तको जस्तो हाम्रो सच्चा प्रेममा दुर्वासा बनेर देखा परे मेरो बुबा । आतिफ नेपाली नागरिक थिएन, म चाहिँ पहाडे क्षेत्रीको छोरी थिएँ । मैले प्रतिवाद गर्दै भने आतिफ बाहेक अरुसँग बिहे गर्नु परे जगेकुण्ड बनाउनु भन्दा पहिले मृत्यूको चिता बनाउनु ।
तैपनि हरतरहले मेरो बुबाआमा आतिफसग संबन्ध तोड्ने षड्यन्त्रमा लागेका थिए । पहाडे नेपालीहरुको बाहुल्यता भएको त्यो गाउँमा आतिफको परिवारलाई गरिखान नदिने योजना बन्यो । एकदिन आतिफको दोकानमा झगडा भयो । गाउँलेहरुलाई व्यापार गर्दा ठगेको आरोप लाउदै आतिफ र उसको बुबालाई गाउँलेहरूले कुट्पिट् गरे । त्यो भगडाको अगुवाउ मेरो परिवारले गरेको थियो । विभिन्न बहाना बनाउदै मेरो बाआमा र दाजुभाइहरुले आतिफको परिवारमाथि बसि नसक्ने स्थिति बनाउदै गए । छिमेकीको अन्याय, अनाहकको झगडा र आक्रमणको डरले आतिफको परिवार त्यहाँ नबस्ने निर्णयमा पुगे । एक दिन त्यो गाउँ छोडेर आतिफको परिवार अर्कै ठाउँ बसाइ सरे । मलाई आतिफले कुन ठाउँ जान लागेको हो सुनाएन । जानु भन्दा पहिले छोटो भेटमा यति भन्यो "मालती, जीवनको गोरेटोमा कहिकतै ठेस लाग्दा त मलाई सम्झन्छौ होला नि ? मलाई भुले पनि कहिलेकाँही यो असफल प्रेमीलाई याद गर ल । म तिमीलाई कहिले भुल्ने छैन मालती । मेरो स्मृतिको डायरीमा सधैँ तिमी नै हुनेछौ ।"
त्यो क्षण मेरो चोइटिएको मनलाई सम्हाल्ने मसँग सामर्थ्य नै थिएन भने शब्दसँग खेल्ने रेडिमेड जिब्रो नै कहा थियो र । गहभरि आँसु पारेर विदाइको हात हल्लाउन सिवाय केही गर्न सकिन मैँले । ऊ सधैँका लागि मलाई, गाउँलाई छोडेर टाढा गयो । आतिफसँगको बिछोडपछि मैले आत्महत्या गर्ने सोच लिएँ, तर मर्न कहा सजिलो छ र । जीवन, मरण र लगन भावीको लेखान्त मै जिम्मा लाएर बाँच्नु पर्छ यहाँ । त्यस पछिका दिनहरूमा केवल रुनु नै हरदिनको रुटिन बन्दै गयो मेरो । केही समय नबित्दै परिवारले मेरो विवाह मेरो बिना मञ्जुरी गर्दिए, मभन्दा बीस वर्ष जेठोसँग । सायद फेरि पनि माइतीको नाक काट्छे छोरीले भन्ने डर थियो मेरो आमा बुबालाई । आतिफसँगको प्रेमको सजाय थियो त्यो मेरो । छोरीको कर्म यस्तै हो सोचेर मोरङ्को राजघाटमा रहेको कर्मघरमा भित्रिएँ म । जीवन भन्नु नै यही हो, जन्मन्छ कहाँ, मर्नु छ कहाँ । माया गर्छ एकलाई, छाँया दिन्छ अर्कैलाई । चाहन्छ एक, पाउछ अर्कै एक । जीवनको नियति नै अनेक अनेक । मेरो जीवनले अर्को मोड लियो । म वैवाहिक व्यावहारिक जीवन बिताउन थालेँ । गाउँको जीवन न हो समस्या, अभाव र असुविधासग सङ्घर्ष गर्दागर्दै जीवन बित्दोरैछ । मेरो बिहे भएको बिस वर्षको अवधिमा मेरा पाँच जना छोराहरू भइसकेका थिए । म छोरीलाई जन्म दिने पापी आमा भइन, यस अर्थमा कि त्यो छोरी जसको आफ्नो थर हुदैन, अस्मिताको सुरक्षा हुदैन त्यसको विपरित पतिव्रता पत्नी हुन्छे, बुहारी हुन्छे, भोगविलासकी कठपुतली समेत हुनसक्छे र जिउँदो छदै कात्रो ओढ्ने विधवा पनि हुन्छे , धन्य छोरीको जन्म दैव । मेरा छोराहरू पञ्चपाण्डव जस्तै थिए । म पाण्डवहरूकी आमा कुन्ती झैँ पञ्चकन्या मध्यकी एक भाग्यमानी आमा सम्झन्थे आफूलाई । छोराहरू हुर्कदै बढ्दै ठुला हुदै गए । उता मेरा पति भने क्षयरोगका दीर्घ रोगी थिए । त्यो बेलामा टि.बि. ज्यानमारा रोग नै कहलिन्थ्यो । अझ उनलाई दमको रोगले ग्रस्त पारेको थियो । जति नै उपचार गर्दा पनि ती रोगहरूले बुढालाई छाडेको थिएनन् । हातमुख जोर्न, घरको गर्जो टार्न भएको एक बिघा डाँडो सुख्खा खेतमा दश नंग्रा खियाउनु र दश पाउ धसाउनु पर्थ्यो । बाबु रोगी हुनाले खेतको काममा छोराहरू सानो उमेर मै खट्नु पर्यो । उनीहरूले विद्यालय जाने अवसर पनि पाएनन् । दश एघार वर्षको उमेर देखि नै हलो जोत्ने, कोदालो खन्ने काम गर्नु बाध्यता थियो । बुढो बुबाको नचाहिदो गनगने बेहोरा बाहेक कुनै आडभरोसा थिएन । यसरी नै जसोतसो जिन्दगीले गति लिइरहेको थियो । २०५० साँलमा एकदिन मेरा दीर्घ रोगी पतिको निधन भयो । मेरा पाँच पुत्रहरु टुहुरा भए । मेरो सिन्दुर पुछियो, तिलहरी चुडियो, राता चुराहरू तोडिए, रंगिन पहिरन उतारियो अनि मैले रैया लाए, सेतो पहिरन लाएँ । म सर्वांग विधवा भएँ तर मनमा अनौठो अनुभूति भएको थियो, मलाई किन किन दुई लुंग पोते र दुई अञ्जुली राता चुराहरू फोडिदा तबेलामा फलामे साङ्लोले बाधिएँकी घोडी स्वतन्त्र भएको भान भयो । वास्तवमा बुढो लोग्नेको तितो कर्कश स्वभाव, हैकमता र रोगको झन्झटबाट फुक्का भएको थिएँ म । कहिलेकाँही सम्झना आउने आतिफलाई झल्याक्क सम्झे कतै चट्याङ पर्दा आउने झिल्काको उज्यालो झैँ । उसलाई कसरी भुल्न सक्थेँ र म ? मेरो पहिलो प्रेम, पहिलो कथा, व्यथा ......... । उसको सम्झनामा आँसुका थोपाहरू खस्न थाले । हुनसक्छ, दुनियाँको नजरमा म मृत पतिप्रति शोक प्रकट गर्दै थिएँ । धर्मपत्नी हुनुको श्रद्दा र समर्पण चढाउदै थिएँ । चितामा दागबती दिन लागिएको लोग्नेको लास अगाडि बसेर विगत, वर्तमान र भविष्य सम्झदै म धेरै धेरै रोएँ । आगामी दिनमा लोग्नेको निधनले दिग्मिगाएको दिल र दिमागले व्यावहार चलाउनु थियो मैले । छोराहरूको लालन पालन, शिक्षा दिक्षा दिलाउनु मेरो कर्तव्य थियो । तिनै छोराहरूको मुख हेरेर बाकी जीवन विधवा भइ व्यतित गर्नु थियो मैले । जेठा छोरा हर्क र माहिलो छोरा विजय किशोर उमेरका भइसकेका थिए । घरको अभाव र दुःख देखेर दुवै भाइ पैसा कमाउन सहर पसेका थिए । जेठो हर्कले अठार वर्षकै उमेरमा सहरबाट मलाई बुहारी ल्याइदियो । छोरीचेली नभएको घरमा बुहारीको आगमन साच्चै नै खुसीको विषय थियो । बिहेको सिदिविधि टीकोटालो गरेर बुहारी भित्र्याइयो । मलाई घाँसपात सघाउने बुहारी पाएकोमा म असाध्यै खुसी थिएँ ।
हाम्रो कमाइ खाने भाडो खेतीपाती थियो । त्यही थोरै खेतीमा पसिना पोखेर अन्न फलाइ परिवारको गुजारा चल्दै थियो जसोतसो । मेरा जेठा छोरा र बुहारी घर व्यावहारमा लागेकाले मलाई सजिलो भएको थियो । तर दैव पनि तिनैलाई लाग्छन् जसलाई कर्मले पनि ठग्छन् । चौवन्न सालमा परेको भिषण वर्षाले वक्रा खोलाको पूर्वतर्फको बाँध फुट्यो र त्यो बाढीले हाम्रो भएको खेत कटान गरेर बालुवाको बगर बनाइदियो । घर घडेरी मात्र बाकी रह्यो भने बाकी खेत सबै खोलामा पर्यो । अब पो हामी सहारा विहीन भयौँ, पाखुरीमा पौरख हुदाहुदै विचल्लीमा पर्यौँ, लालपुर्जा छदाछदै सुकुम्बासी झैँ भयौँ । अन्न फल्ने खेतमा खोलाले ताण्डव नृत्य मच्चाए पछि त्यो सालको मंसिरमा भकारीमा धान भर्न सकिएन । खाने लाउने समस्या भयो । आर्थिक स्थिति सार्है नाजुक भएर गयो । छोराहरू बनिबुतोको लागि अर्काको काम र ज्याला मजदुरी गर्न जान थाले । जेठा छोरा बुहारी आमा र भाइहरूसँग बसेर दुःख गर्न दिक्दारी मान्न थाले । जेठो हर्कको भाइहरू सानै उमेरका हुनाले काम गर्न सक्ने भइसकेका थिएनन् । उनीहरुलाई सबथोक पुरा गर्दिनु पर्दथ्यो । कलह नै झगडाको कारक हो यो भनाइ हाम्रो घरमा लागु भयो । मैले बुहारीको बुहार्तन खप्नु पर्ने भो । भाइहरू दाजुभाउजुसँग बस्न नसक्ने अवस्था सुरु भयो । तीन भाइ छोराहरू लाखापाखा हिड्न थाले । विराटनगर, दुहवी र टङ्कीका फेक्ट्रीहरुमा मजदुरी गर्न गए । म बुहारीको दलाहा व्यावहार सहदै पाच वर्षको कान्छो छोराको लागि मात्र बाँच्नु परे जस्तो भयो । पचपन्न सालमा पनि गत वर्षको झै साउन महिनामा फेरि वक्रा खोला उर्लेर भेलबाढी आयो । अलिकति बचेको घडेरी पनि सोरपटार पारेर लग्यो खोलाले । हाम्रो उठीबास भयो । संकटको बेला पनि नभनी छोरा बुहारीले बचेको जायजेथा पोको पारेर काठमाण्डौँ तिर गए । म र मेरो कान्छा छोरा छिमेकीको खेतमा सानो छाप्रो बनाएर बस्न थाल्यौं । अरु छोराहरू कहिलेकाँही भेट्न आउथे । जेठा छोराबुहारीसँग मेरो आशा थियो यस्तो विपतको घडीमा साथ दिउन् । तर जानेबेलामा बुहारीले मलाई नमिठो बोलिले व्यंग्य हानेर गई "कलियुगका विधवाले सती छाडे पछि यस्तै गति हुन्छ ।" हो रहेछ बुढापाकाले भनेको कुरा; एउटी आमाले एउटा छोरालाई हुर्काउन बिस वर्ष लगाउछे तर छोराले भने बिस मिनेट मै बुहारीको बनेर आमालाई एक्ल्याउछ । त्यस्तै गर्यो सहारा दिने जेठो छोराले । त्यो बेला परेको पीडाको सम्झना अझै ताजा छ । साउनको महिना, औँसीको रात मुसलधारे पानी परिरहेको थियो । निस्पट अन्धकारमा वक्रा खोला उर्लदो छंगछंग छालसगैँ एकोहोरो सुसाइरहेको थियो । छचल्किरहेको त्यो नदीलाई हेर्दा यस्तो लाग्थ्यो लाखौँ ताराहरू निल्ने विशाल आकाशले मुख बाइरहेको थियो । म जीवन र मृत्यूको दोसाँधमा थिएँ । एक मनले वक्राको बाढीमा हाम फालेर आफूलाई समाहित गर्दिउँ; अर्को मनले हरेस नखान अर्जी गर्थ्यो । म आफ्नै मनको अन्तर्द्वन्दमा विभाजित थिएँ । मान्छेले इच्छा मृत्यू पाएको भए यो संसार कहा यस्तो दुखी हुन्थ्यो होला र ! म मर्न सक्तैनथेँ किनकि मैले बाँचेर प्रमाणित गर्नु थियो जीवन केही होइन केवल पीडै पीडाको पुञ्ज हो । मैँले बालकैमा टुहुरो भएको कान्छा छोराको लागि पनि बाँच्नु थियो । उसले नदेखेको उसको बाबाको बारेमा सोध्ने बालसुलभ प्रश्नहरुको जवाफ दिनु थियो ।
खेतीपाती गर्नलाई खेत नरहेपछि मैले पेट पाल्ने मेलोमेसोको लागि सब्जी पसल सुरु गरेँ । हात गोडा चल्दैन, दैलामा फल्दैन, मेरो त दैला पनि बाकी थिएन । सब्जी व्यापार सुरु गरे पछि मेरो धेरै समय हाटबजारमा नै बित्न थाल्यो । कहिले पथरी, कहिले उर्लाबारी, कहिले सोमबारे, कहिले दुर्गापुरी बजार धाउन थालेँ म । बजारमा ग्राहकहरूको सम्पर्कमा रहदा बस्दा मेरो परिचय मेरै उमेरका एकजना पुरुषसँग भयो । उसको नाम राजन थियो । हरेक हाटबजारमा ऊ मलाई भेट्न आउन थाल्यो, उसको साइकलमा हालेर मेरो सब्जीको लोड बजारमा लान ल्याउन सघाउथ्यो । मेरो पसलको छेउमा बसेर हाँसो ठट्टा गर्दै मसँग हिमचिम बढाउन थाल्यो । बजारमा उसको साथ सामिप्यता पाउदा मलाई पनि रमाइलो लाग्न थाल्यो । प्रेमको कुनै सिमाना हुदैन । प्रेम अन्धो हुन्छ । त्यही भयो फेरि मेरो जिन्दगीमा । राजनले मलाई विवाहको प्रस्ताव राख्यो । म रनभुल्लमा परेँ । यो पचास वर्षे ढल्कदो उमेरमा म मति विगार्न लाग्दै थिएँ । मैले उसको कुरालाई ठट्टामा उडाइदिएँ त्यसबेला । हुनेहार दैव नटार । लेखान्तले दिएको मेरो दुखी कर्म म कहाँ टारेर टार्न सक्थेँ र । बुढा बितेसके पछि मेरो एकाङ्गी जीवन कहालीलाग्दो भएको थियो । हातका पाँच औँला जस्ता मेरा छोराहरूलाई मैले सम्झेँ । सबै जना मेरो अस्थाइ शिविरमा थिएनन् । खोलाले घरखेत बगाए पछि म सानो टहरा बनाएर बसेको थिएँ । छोराहरू कमाउने सोचमा काठमाण्डौँ, दिल्ली, गुजरात गएका थिए । कान्छा छोरा समेत बसको खलासी भएको थियो । प्राय घर आउदैनथ्यो ऊ । मैले समाजको साँघुरो परिवेश, विधवाको सतित्व र जीवनको अस्तित्वलाई घोत्लिएर सोच्न बाध्य भएँ । राजन पनि एकल पुरुष थियो । मेरो र उसको संबन्ध राम्रो हुन्छ भन्ने लाग्यो मलाई । मैले मस्तिष्कले होइन ह्रदयले सोचेँ सायद । र म उसको घर गएँ बाकी जीवनको साथी बनेर ।
अफसोच म नराम्ररी चुक्न पुगेँ । तीन चार महिना नबित्दै उसले मलाई दुर्व्यावहार गर्न थाल्यो । ऊ त काखमा राखि पिठिउँमा छुरा धस्ने हुँडार पो रहेछ । सहारा गुमाइ वेवारिसे भएका महिलाहरुलाई फकाउदै बिहे गर्दै छाड्दै हिड्ने कुकर्मी रहेछ । उसको लागि धेर हुन थालेँ म । उसले रक्सी पिएर आइ कुटपिट गर्न थाल्यो । मैले सहनु परेको थियो किनकि मेरो बुद्दि भ्रष्ट भएर छोराहरूलाई छोडेको पापको फल मैँले भोग्नु थियो । म आफ्नो भाग्यलाई धिकार्दै एक वर्षसम्म उसकै घरमा बसेँ । एकदिन उसले मलाई घरबाट निकाली दियो । म अक्क न बक्क परे । मलाई साथ र समर्थन दिने त्यसबेला कोही थिएन । म गल्लीमा मिल्काएको रछान भएको थिएँ । मैले नारी अस्मिता र विधुवाको सतित्व गुमाइसकेको थिएँ । त्यसैले समाजले मलाई औँला ठाडो पारेर प्रश्न गर्न थालिसकेको थियो । म निरीह असहाय भएँ । गिटी कुटी, ढुङ्गा बोकेर बनीबुतो गरेर खान थालेँ । मेरो जीवनको उतार चढाव आरोह अवरोह यस्तै हुदै कहाँबाट कहाँ आइपुग्यो । दुई दिनको जिन्दगी भन्छन् यो तर मेरो जिन्दगी लामो दुखान्त धारावाहिक जस्तो लाग्यो । मेरो सडकको बास, ढुङ्गामाटोको गाँस अनि मानसिक रुपले निरास भइसकेको थिएँ म । यो हालत देखेर मेरो कान्छा छोराले समाज आफन्तको बहिस्कारको बावजुद पनि यो जन्म दिने तर कर्म दिन नसकेकी आमालाई फर्काएर ल्यायो । निर्लज्ज भएर म छोराहरूले बनाएको छाप्रोमा फर्किएँ । तर मेरो पुनरागमन यो समाजलाई पाच्य भएन । मेरो खोइरो खन्न सबै आफन्तहरू लागि परे । मैले उनीहरुको इज्जतमा कलङ्कको धब्बा पोतिदिएको थिएँ रे । उनीहरूको बुझाइमा म कुलाङ्गार थिएँ । "यो बाइफाले, वेश्याले हाम्रो गाउँघरलाई बिगार्छे" भन्दै समाजले म माथि उछितो गर्न थाल्यो । एकदिन बेलुकी घाम अस्ताउदै थियो पश्चिम आकाशमा । म करेसामा घाँस काट्दै थिएँ । गाउँका महिला दिदी बैनीहरू आएर मलाई हातपात गरे । "पल्लाघरे माइलोलाई सल्किस्, गन्धी । मेरो पोइमाथि पनि आँखा लाइस, वेश्या ।" नानाभाति मुखमा आए जति सबै गाली ओकल्दै ममाथि आइलागे छिमेकका दिदीबहिनीहरू । मेरो साथ दिने छोराहरू कोही थिएनन् त्यहाँ । मलाई बेहोस हुन्जेल कुटेछन् जब मैले आँखा खोले म वक्रा खोलाको पानी रसाउने बालुवा बगरमा लडिरेहेको पाएँ । त्यहाँ कोही थिएन सिर्फ अन्धकार, बालुवाको चिसो अनुभूति र एकतमासले बगिरहेको वक्राको मधुरो सलल सल सल । कुर्कुच्चो पनि नडुब्ने छिपछिपे पानी कलल कलल बग्न बल गरिरहेको थियो । दुई मुठ्ठी बालुवाको भर लिएर थरथर काम्दै लडेको भुइँबाट उठेँ म । अनि मेरो अपूर्ण अर्थहीन जिन्दगीको कथालाई सदा सदाका लागि पुर्णविराम दिन लतारिदै हिड्दै छु । एक पटक मेरो पहिलो मायालाई भेटे पछि म बालुवाको घर बनाउनेछु ।"
यति भनिसके पछि ती वृद्दआमै रातको अन्ध्यारोमा अलप भइन् । म हेरेको हेर्यौ भएँ त्यो अन्ध्याँरोमा । मेरो घरको बलेसीमा झरीको पानी तपतपाउन छाडिसकेको थियो तर मेरो आँखाबाट थाहै नपाइ आँसुका वर्षा सुरु भइसकेका थिए । मैले अश्रुधारालाई रोक्ने प्रयास गरेँ तर आँखाहरूले मानेनन् । मैले बोल्ने प्रयास गरे तर गलाले मानेन, अवरुद्ध भयो । हातहरू अचानक उठेछन् तीनीलाई रोक्न तर लम्किन सकेनन् । गोडाहरू चल्न खोजे तीनी गएको दिशाविहीन बाटोतिर तर पाइला चलेनन् । पूर्व क्षितिजमा भर्खर उदाएको जुन बादलको घुम्टो भित्र बेलाबेलामा छोपिदै निस्कदै थियो । मैले त्यही जुनको लुकामारी नियाल्दै आफूलाई सम्हाँले र आँसुले भिजेका आँखाहरू तन्काएर त्यो रातमा बिलाइ गएको छाँयालाई देखिन्छ कि भनेर एकटक हेरेँ । भावशून्य, तागतशून्य र विचारशून्य मेरो मूर्ति त्यो बालुवाको घरभित्र छिर्यो, पाँच दसक अघिको आफ्नै प्रेमकथा विस्मरण गर्दै ।

***

उर्लाबारी, मोरङ
हालःधरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।