नारी अभिव्यक्तिको आजादीको निम्ति वैचारिक युद्धको शङ्खनाद गर्ने पारिजातका सम्बन्धमा केही लेखौट प्रस्तुत गर्नभन्दा पहिले सर्जकले वैश्विक रूपमा नारीवादलाई कसरी बुझेको छ, त्यो स्पष्ट हुनुपर्छ। त्यसरी नै सर्जक नारीवादका सन्दर्भमा व्यावहारिक रूपमा कत्तिको त्वरित छ, स्वयंलाई अन्वेषणमा राख्नुपर्छ। पारिजात नारीवादका सन्दर्भमा कस्तो अभिव्यक्ति राख्थिन् भन्ने सन्दर्भ उठान गर्नभन्दा पहिले पारिजातको कलम कुन वर्गका निम्ति बढी जुर्मुराएको थियो त्यसमाथि अझ ध्यानकेन्द्रित हुनुपर्छ। उनका सन्दर्भमा जति नै शृङ्खलाबद्ध तरिकाले शब्दहरूको हिमाल उभ्याए पनि वास्तवमा उ स्वयं तबसम्म नारीवादी व्यक्ति बन्नसक्दैन जबसम्म उसले आफू वरिपरिको वातावरणमा हुर्के-बढेका चेलीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्दैन। यसकारण पारिजातद्वारा लिखित नारीवादी साहित्यको विश्लेषण गर्नभन्दा पहिले वैश्विक स्तरमा नारीवादको पृष्ठभूमिको तख्ता के हो प्रष्ट हुन जरुरी छ। पारिजात केवल लहडमा लेखिका बनिनन्। उनी आफ्नो जीवनको प्रथमार्द्धतिर लहडवादी वा राल्फावादी देखिए पनि उनको चेतनालाई नारीवादी विमर्शले रेती लगाउने काम गरेको हो। नेपाली समाजमा रहेका अनेकौँ अन्तर्द्वन्द्वहरूसित हेल्लिँदै आफ्नो कलमले अन्तर्द्वन्द्वहरूका माझबाटै समाधानको सूत्र खोज्ने व्यक्तिका रूपमा परिचित छन् पारिजात। मूलतः नारी भएकै कारण उनलाई नारीवादी साहित्यकारको कित्तामा उभ्याउनु सायद मुनासिब हुँदैन होला। देश, काल, परिस्थितिअनुरूप उनका कृतिहरूले आज पनि नयाँ-नयाँ दिशा निर्देश गरिराखेकै छन्। एउटा कुरा निश्चित हुनसक्छ उनका रचनाहरूमा नारीवादी विमर्शहरू यथेष्ठ छन् तर यसो भन्दैमा उनका रचनाहरू केवल नारीहरूका निम्ति हुन् भन्दै अर्थ्याउन खोज्नु पुरुषवर्गीय व्यवस्थालाई खुल्ला साँढको रूपमा प्रतिस्थापित गर्नखोज्नु हो।
अन्ततः समाज नारी-पुरुषको हातेमालोमा अघि बढ्ने एउटा चक्र हो। पारिजातका रचनाहरूमा पनि सोही चक्रमा पुरुष सत्ताको ढलीमली हुनखोज्दा विद्रोहका स्वरहरू उर्लेका पाउँछौँ। पारिजात एकजना सतर्क, सचेत, चेतनशील र स्पष्टवादी चरित्रकी प्रतिमूर्ति हुनका कारण उनीबाट विश्वप्रसिद्ध रचनाहरूको सिर्जना हुनसक्यो। जबसम्म रचनाधर्मीमा इमान्दार सोच र सशक्त दृष्टिकोण रहँदैन तबसम्म उद्वारा सिर्जना भएका रचनामा न त चेतनाको स्वर पाइन्छ न त उ स्वयं नै आफ्ना कुराहरूमा स्पष्ट अडान राख्न सक्षम हुनसक्छ। यस्ता कुराहरूबाट माथि उठिसकेकी पारिजातका सन्दर्भमा वैश्विक स्तरमै धेरै रचनाहरू लेखिएका छन्। उनका प्रत्येक धारिला दृष्टिकोणमाथि आलोचक, समालोचकहरूले कलम चलाएका छन्। वैश्विक स्तरमा उभिइएकी पारिजातका सन्दर्भमा भारतीय स्तरका सर्जकहरूले जसरी कलम चलाउनु पर्थ्यो त्यतिको नपाइनु एक विडम्बना हो भन्नुभन्दा पहिले पारिजातलाई चिनाउनका निम्ति उनका रचनाहरूलाई अनुवादको स्वरमा ढाल्ने काम पनि भएन, यसका साथै नेपाल-भारतका लेखकमाझ उनका सन्दर्भमा जुन स्तरमा अन्तर्क्रियाहरू हुनुपर्थ्यो त्यो हुनसकेन। भनौँ फासिस्टहरूका निम्ति काल बनेकी पारिजातलाई सकल घरलु उत्पादनका रूपमा गोडमेल गर्ने काम भएन। एकाध सर्जकहरूले आज पनि त्यो प्रयास जारी राखेका छन्, यद्यपि उनीहरू उग्र सामन्तवादी विचारधाराले ओतप्रोत तथाकथित लेखकहरूद्वारा घेराबन्दी भइआएका छन्। तर पनि त्यो घेराबन्दी एकदिन तोडिने नै छ भन्ने आशा राखौँ।
नारी स्वाधीनताका निम्ति विश्व स्तरमा धेरै बेजोड आन्दोलनहरू भए। पारिजात बढी चेतनशील र समाजमा घटित अन्तर्द्वन्द्वहरूको गहिराइसम्म पुग्ने व्यक्ति भएका कारण ती आन्दोलनहरूको प्रभाव पर्नु स्वाभाविक थियो। पारिजातले अन्तरराष्ट्रियदेखि लिएर देशका नामित महिलावादी सर्जकका रचनाहरूको अध्ययन गरिन् तर अन्धोभक्त भइनन् जस्तो कि अहिलेका उत्तराधुनिकतावादीहरू देखिन्छन्। केवल विदेशमा मात्रै नारीवाद खोज्ने तर स्वदेशमै भएका नारावादीहरूलाई मान्यता दिन अनकनाउनेहरूका निम्ति पारिजात एक सशक्त उदाहरण हुन्। उनले सीमोन द बोउवर, महादेवी बर्मा, उलस्टोन क्राफ्ट, स्टुअर्ट मिल, मार्गरेट फुलर, भर्जिनिया उल्फ, रोला बार्थदेखि लिएर क्लारा जेटकिनसम्मलाई मन दिएर पढिन् तर आजका तथाकथित वरिष्ठ कहलाइने साहित्यकारहरूले जस्तो आफ्ना समाजका विभूतिहरूलाई लत्याइनन्। उनले स्वदेशका प्रतिभासम्पन्न व्यक्तिहरूलाई पनि त्यसरी नै अध्ययन गरिन् जत्तिको पश्चिमी साहित्यहरूको उनी अध्ययन गर्थिन्। कैयौँ नयाँ अन्दोलनहरू साहित्यको धुरीमा देखा परे अनि नारी विमर्श पनि यिनैमा एक हो भन्ने कुरामा पारिजात द्विविधामा रहिनन्। यसै सिलसिलालाई आफ्नो दैनिकी बनाउँदै आसामकी नारीवादी साहित्यकार दैवकीदेवी तिम्सिनादेखि लिएर दार्जीलिङकी वरिष्ठ साहित्यकार विन्द्या सुब्बालाईसम्म सम्झना गर्नछोडेकी छैनन्।
नारीवादका कैयौँ रूपहरू हुनसक्छन्। अझ पूँजीवादी व्यवस्थाले आफ्नो हितलाई ध्यानमा राख्दै आजको एक्काइसौँ शताब्दीमा साइवर नारीवादको जन्म गराएको छ। युद्ध उन्मादी पूँजीवादी मानसिकता उब्जाउ राष्ट्रहरू नारीहरूको सग्लो दृष्टिकोणलाई विभाजित गराउन यस्ता खेलहरू खेलिरहन्छन्। नारीवादी आन्दोलन प्रखर रूपमा समाजमा प्रतिस्थापित बन्ननसकोस् अनि उनीहरूको एकतन्त्री पूँजी व्यवस्थामा कतैबाट घात नहोस् र समाजमा कुनै आन्दोलनको सूत्रपात नहोस् भन्ने मूल चाहना उनीहरूमा रहेको हुन्छ। यस्तै कुराहरूसँग लड्न उत्प्रेरित गर्छन् पारिजातका रचना र कृतिहरूले। आज पनि पारिजातका विचारहरूलाई, उनले दिएको मार्गदर्शनलाई अस्वीकार गर्ने तत्वहरू कम छैनन्। नारीहरूलाई खुल्ला र स्वतन्त्रता दिएको नाममा उनीहरूको देहलाई आफ्नो पूँजीको कुञ्जी ठानिरहेका हुन्छन्। यसैकारण आज नारी देहको वैश्विक व्यापार बढेको हो। विचारको धरातल समाप्त भएको घोषणा गर्नेहरू नारी विमर्शका स्वरहरूलाई भर्याङ दिनचाहँदैनन्, कुनै सङ्घर्षको विगूल नबजोस् उनीहरूको अन्तिम चाहना रहेको हुन्छ। यस्तै वर्गीत हितविरोधी स्वरहरूलाई समाप्त पार्न आज पनि पारिजातका कृतिहरू सान्दर्भिक छन्। उनले उरालेका स्वरका ध्वनिहरूबाटै नेपालमा निरंकुश राजशासनको अन्त्य भई प्रजातन्त्रको उदय हुनगएको हो। यस कथनमा कसैको सहमति-असहमति हुनसक्छ, तर उनको दैहिक अवसानपछि पनि नेपालमा उनले छोडिगएका वर्गीय हितसम्बन्धका शब्दहरूमाथि विश्लेषण नभएको होइन। केही शासकीय भारदार लेखकहरूले नेपालको प्रजातन्त्रमा आफ्नो भूमिका देखाउने प्रयास रहेकै हुन्छ अनि आउने दिनहरूमा पनि उनीहरू हतास भएर पर सर्नेवाला छैनन् किनभने पूँजीवादी सोच त्यहाँसम्म सक्रिय रहने गर्छ जहाँसम्म उ अस्तित्वहीन बन्दैन। त्यसकारण इमान्दार र प्रतिबद्ध सर्जकहरूले पारिजातका रचनाधर्मितालाई स्वीकार्दै उनको पूँजीवादविरुद्धको स्वरलाई बल प्रदान गर्दै आएका छन्।
पारिजात उनका कुनै पनि रचनाहरूमा बढी व्यावहारवादी देखिएकी छन्। उदाहरणका रूपमा अघि सार्नु पर्दा उनको बोनीलाई नारीवादको पक्षमा बलियो धरातलको सतहमा लेखिएको लामो रचना मान्न सकिन्छ। बोनी पहिलो सोचमा उपन्यासको दर्जामा सोचेर लेखिएको होइन। समाजमा घटित अन्तर्द्वन्द्वहरूबाट पछि फर्किन नसकी पारिजातकै भित्री तहबाट उब्जिएको आवाज मान्न सकिन्छ बोनीलाई। बोनीका सम्बन्धमा धेरैले आ-आफ्नै स्तरमा व्याख्या गरेका छन् तर त्यसभित्र पारिजातलाई पाउन तबसम्म पाउन सम्भव थिएन जबसम्म उनी स्वयं बोनीभित्र पसेर अभिव्यक्तिन सकिनन्। त्यसैकारण बोनीका रचनाहरू टुक्रिँदै लेखिएर सग्लो उपन्यासको रूपमा देखा पर्यो। यदि बोनीभित्रका चरित्रहरूले पारिजातलाई नपोलेको भए बोनी, बोनीजस्तो हुनेथिएन अनि पारिजात समाजकै समावेशी स्वर पनि बन्नेथिइनन् भन्ने कुरालाई त्यति काट्ने स्थान पाइँदैन। पारिजातको बोनी उपन्यासलाई धेरैले नारीवादी उपन्यास मानेका छन् भने धेरैले कोरा कल्पना अनि धेरैले अयथार्थवादी उपन्याससमेत भनेका छन्। जसले जे अर्थ लगाए पनि आज पनि विश्वका प्रत्येक देश अनि ती देशहरूमा रहेका प्रत्येक जातिभित्र बोनीभित्रको अन्तर्द्वन्द्व छैन भनी प्रमाणित गर्ने साहस कसैले गर्नसक्दैन किनभने आजको सन्दर्भमा त झन् बोनीको स्वरलाई समाजमा ढिम्किनसम्म नदिने जाल पूँजीवादी खेमाले अझ दह्रिलो हिसाबमा बुनेको हामी पाउँछौँ। पारिजातले बोनी उपन्यासकै सन्दर्भमा अरूणा उप्रेतीसँगको अन्तर्वार्तामा एक ठाउँ भनेकी छन्-‘बोनीलाई परिवारले होइन बाह्य संसारले जित्यो।’ यो वाक्यलाई सप्रसङ्ग व्याख्या गर्नुपर्दा त्यो घुम्ने सियो पूँजीवादीहरूको सोचसम्म पुग्छ। बाह्य संसार भनेकै पूँजीवादी व्यवस्था हो। त्यही व्यवस्थाले सिर्जना गरेको विभाजनको नीतिकै कारण पुरुष वर्गीय वा भनौँ शासकीय मनोवृत्ति समाजमा हावी भएको हो। त्यसैकारण धेरै बोनीहरू आज पनि आफूहरू शोषित भएको, पछाडिएको, दमित भएको दोष पुरुषहरूलाई दिनेगर्छन् तर दोष सत्ताको धूरीमा चढेर नारीहरूको दैहिक शोषण गर्ने मनुवादीहरूको हो भन्ने कुरा बुझाउन तत्पर देखिन्छिन् साहित्यकार पारिजात। यसरी सफल देखिन्छ पारिजातको नारीवादी विमर्श वैश्विक स्तरमा।
वर्तमानमा पनि पुरुषले नारीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देखिँदैन, आजका नारीहरू पारिजातको समयमाभन्दा धेरै उच्च शृङ्खलामा चढ्दै निकै माथिल्लो तहसम्म पुगेका छन्। त्यो भलै पूँजीवादी प्रकल्पद्वारा निर्मित रूपवादको भर्याङमा चढेर होस् वा बहुराष्ट्रिय कम्पनीहरूद्वारा निर्मित आफ्नो उत्पादको बिक्री वितरण गर्नका खातिर होस् अथवा उपभोक्तावादी संस्कृतिलाई बढावा दिनका निम्ति प्रत्येक टोल टोलसम्म पुग्न सफल सुन्दरी प्रतियोगिता होस्। यस्ता कुराहरूसँग चुनौती लिँदै पारिजातले आफ्नो अनिँदो पहाडसँगै उपन्यासकी पात्रा सुवानीका माध्यमद्वारा समाजको यथास्थिति प्रष्ट्याउने प्रयास गरेको पाइन्छ। उनी यसै उपन्यासमा कम्युनिष्टको खास्टो ओढेर ठूला ठूला सिद्धान्त फलाक्ने तर आफ्ना परिवारजनमा श्रीमती, छोरी, बुहारीहरूलाई दैलोको ठेला ननाघ्ने फरमान जारी गर्ने पुरुष वर्गीय सोचविरुद्ध उठ्न तयार भएको पाइन्छ। कहीँ-कहीँ भ्रम देखिए पनि वास्तवमा सुवानी, बोनी जस्ता पात्रहरूका माध्यमबाट सामाजिक स्तरमा युगौँदेखि रोपिएका जड मानसिकता तोड्ने हुङ्कार देखिन्छ।
नारीहरू केवल सन्तान उत्पादनका मशीन हुन्, नारीहरूमा एउटा करङ नहुनाका कारण बुद्धिमा कमजोर हुन्छन्, पोथी भएर धेर बास्नु राम्रो होइन, खुट्टा भए जुत्ता जत्ति पाइन्छ, नारीको जन्म हारेको कर्म जस्ता विज्ञानविरोधी स्तरमा स्थापित गरिएका भनाइहरूमा पारिजात बाँचेको समाज थियो। आज पनि त्यो सोच र विचारमा प्रगतिशील दृष्टिकोण देखिँदैन। प्रगतिशील विचारबाटै समाज परिवर्तन हुनसक्ने बलियो आधार राख्ने समाज सचेतक, समाजवादी विचारधारा अप्नाउनेहरूलाई पनि आफ्नो अर्थतन्त्रको हाउ देखाएर शक्तिसम्पन्न राष्ट्रहरूले ऐंचेर राखेको पाइन्छ। उनीहरू क्रमागत रूपमा आधा संसारका हकदारहरूलाई विभाजित गर्नमा तल्लीन छन्। यही विभाजनको चेपारोमा परी नारीहरू पनि विकासशील राष्ट्रमा मात्र नभएर विकसित राष्ट्रका महिलाहरूसमेत अन्तर्द्वन्द्वमा देखिन्छन्। यस्तै अन्तर्द्वन्द्वको भुँवरीभित्र पारिजातका बोनीहरू उठ्ने प्रयास त गर्छन् तर दलदलका कारण उभयचर बन्न सक्दैनन्।
पारिजातका नारी पात्रहरू विशेष गरेर दक्षिण एशियाली राष्ट्रका प्रतिनिधि हुन्। 1980-को दशकदेखि दक्षिण एशियामा उदारवाद प्रवेश गर्ने तयारीमा थियो। त्यो प्रयास 90-को दशक लाग्दा नलाग्दै यसलाई छेक्ने कि नछेक्ने भन्ने भीषण अन्तर्द्वन्द्वका कारण एशिया महादेशका प्रायः सबै राष्ट्रहरूमा यो रोजगार दिने महामानवको रूपमा प्रवेशियो। भनौँ युगौँदेखिको सामन्तवाद, पुरातनवाद, जडवादलाई परास्त गर्दै हामी मानवका निम्ति मानव बन्न आएका भन्ने स्लोगानका साथ उ देखा पर्यो। नारीहरू पनि आफूहरू पुरुष हैकमका कारण पछि पर्न बाध्य भएको अथवा पुरुषहरूकै तइनमा हामी किन बस्नु भन्ने अर्द्ध विकसित उनीहरूको सोचलाई मलजल दिँदै पूँजी पूर्ण शक्तिका साथ महिलाहरूको प्रिय मित्र बन्दै विश्व सुन्दरी प्रतियोगिता, सौन्दर्य प्रतियोगिता अथवा मेरो शरीर मेरो खुशी जस्ता कुराहरूका साथ प्रत्येक घरमा उसले समर्थन पायो। यस्तै कुराहरूको विरोध गर्न पारिजातका पात्रहरू तयार थिए तर त्यो तयारी पनि त्यति विकसित थिएन। किनभने समाजमा अहिले पनि क्रान्ति सबैको निम्ति हो, पुरुषलाई खुल्ला र नारीहरूलाई बन्धनको वातावरणको तराजु ठीक छैन अथवा दुइ प्रकारको स्वतन्त्रता, दुइ प्रकारको समानता र दुइ प्रकारको बन्धुत्व किन भन्ने प्रश्नको त्वरित उत्तरको स्पष्टता आज पनि छैन। आजको समाजले पेरिस कम्युनको कुरा त गर्छ तर आफ्ना घरमा त्यही कम्युन लागू गर्न चाहँदैन। यस्तैखाले अन्तर्द्वन्द्वहरूको समाधान खोज्छ पारिजातको नारीवादले।
आज पनि पारिजातले आफ्ना पात्रहरूमार्फत् उठाएका सवालहरू साम्य भएका छैनन्। विश्वका धेरै राष्ट्रहरूमा झैँ उनी जन्मे-बढेको दार्जीलिङका चियाकमानहरूमा समान कामका निम्ति समान वेतन दिइँदैन थियो। विकसित राष्ट्रहरूमा पनि यो असमानता देखिन्छ। शरीर ढाक्नका निम्ति निर्माण गरिएका परिधानमा समेत समताभाव छैन। यस्तो भिन्नता ल्याउनेहरू नारीहरूका हिमायती बनेका छन्। 1871-मा पेरिसमा कम्युन स्थापना भएको समयमा पनि यस्ता भिन्नताका विरोधमा नाथाली लीमेल र एलिजावेथ दिमित्रिफ्तले आफ्ना अभिव्यक्ति पोखेका थिए आ-आफ्ना पुस्तकहरूमार्फत् भने पारिजातले आफ्ना सुकन्या, सुवानी, बोनीहरू जस्ता पात्रहरूका माध्यमबाट समाजमा स्थापित विज्ञानविरोधी परम्परा र सोचहरूको सर्वनाश गर्नखोजेकी छन्। यसै आशयलाई स्पष्ट पार्दै पारिजात स्वयंले आफ्ना भनाइमा भनेकी छन्-‘मानिसको समाजलाई उत्कृष्ट समाज साम्यवादसम्म पुग्न नदिनका लागि प्रतिक्रियावादीहरू खुलेर लागिपरिरहेका हुन्छन्।’
पारिजात स्वयंको भनाइमा विचारहरूले विकास पाउन सुगम वातावरण पाउनुपर्छ तर यिनै कुराहरूलाई पूर्ण हुननदिनका निम्ति पूँजीका सर्पहरू र्याल र्याल घुमिरहेका हुन्छन्। लैङ्गिकतालाई हतियार बनाउँदै आज पनि पूँजीले आफ्ना मतियारहरूलाई आफ्नो पक्षमा प्रसार-प्रचार गराउनमा अरबौँ रुपियाँ खर्चिरहेका छन्। पारिजातले बोनीको एक ठाउँमा स्पष्ट रूपमा भनेकी छन्-‘एकदिन हाम्रो काँधमा बन्दुक सँगसँगै अरू थुप्रै जिम्मेवारीहरू पनि आइलाग्ने छन्, त्यसबेला मृत्युलाई डरको वस्तु होइन बलिदानको वस्तु ठान्नेछौ।’ यो कथनले विश्वको कुनै पनि बहुराष्ट्रिय कम्पनी बहुलाउन सक्छ। ठीक पारिजातले बोलेको वाक्य पूरा हुन दिनचाहँदैन कुनै पनि सत्ता। विश्वको कुनै पनि सत्तालाई थाहा छ आधी आकाश जब उज्यालिन्छ तब उसको सत्ता अँध्यारोतर्फ भास्सिन्छ। त्यसकारण सत्ता जहिल्यै उज्यालो छेक्ने प्रयासमा लागिरहेको हुन्छ।
वास्तवमा मानवीय सम्बन्ध नै दिगो रहने कुरा व्यक्त गरेकी छन् पारिजातले। वास्तवमा यस वाक्यको सोझो सम्बन्ध वर्गीय स्तरमै गएर टुङ्गिन्छ। हो, पुरुषमा जसरी दुइ वर्ग छ-हुनेखाने र हुँदाखाने। त्यस्तै महिलाहरूमा पनि छ तर हुनेखाने महिलाहरू पनि शासकीय वर्गीय दृष्टिकोणबाट अलग छैनन्। पारिजातले ठाउँ-ठाउँमा यस्ता कुराहरूलाई बडो गम्भीरतापूर्वक उठाएकी छन्। उनले उठाएका सवालहरू पूर्णतः नारीवादसँग संलग्न नहुनसक्छन् तर उनले भोगेको, देखेको संसारको पाटो नारीको आँखाबाट भएका कारण यसलाई नारीवाद भनिएको हुनसक्छ।
पारिजातले आफ्ना नारी पात्रका माध्यमबाट एकठाउँ आफ्नो मन्तव्य व्यक्त गरेकी छन्-‘कुनै पनि महान् कार्य सम्पादन गर्न व्यक्तिले सक्दैन। सामूहिक रूपमा मिलेर गर्ने हो भने सजिलैसँग सम्पन्न गर्नसकिन्छ।’ साहित्य स्रष्ठा पारिजातद्वारा भनिएका कुराहरूसँग विश्वको प्रत्येक सत्ता आतिन्छ। किनभने उसलाई थाहा छ, आधी आकाश चाहनेहरू समग्रमा एक भएको खण्डमा न त युद्धको सम्भावना बढ्छ न त उनीहरूको मुनाफा कमाउने संसार बनिन्छ। त्यसैकारण पारिजातलाई थाहा थियो-पूँजीवादीहरू मुनाफाको संसार बनाउन चाहन्छन्, युद्धमार्फत् एकातिर हतियारको होडबाजी देश-देशमाझ होस् अनि अर्कोतिर प्रत्येक मानिसले केवल आफ्नो भौतिक विकास मात्र सोचोस्। सामूहिक आवाज, सामूहिक क्रान्ति, सामूहिक विकासको विरोधी सत्ताको जालबाट सबभन्दा पहिले नारीहरू उन्मुक्त भएमात्र अन्यहरूलाई पनि स्वस्थ मानसिकतायुक्त बनाउन सक्ने विचार पारिजातको सोच हो। त्यसैकारण उनी सामूहिक स्वर र क्रान्तिको कुरा गर्छिन्। त्यसैकारण कुर्लिएकी छन् पारिजात-आफूलाई केवल एकजोर हातले नहुने। उनी भन्छिन्-‘म पच्चीस जोर हातहरूले यस इन्द्र कमललाई रोप्न चाहन्छु। दुइ जोर हात यस बिरुवाका लागि अफाप सिद्ध हुनेछ।’ योभन्दा तेजिलो स्वर अर्को के होला र!
सिक्किम