14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

निषेधित मन भित्रका आवाजहरु

कविता चन्द्र खनाल June 8, 2021, 12:10 pm

धरहराको उचाईबाट
यो देश तिर फर्केर हेर्दा
माहामारी पिडामा
थलिएर बसेको छ

हस्पिटलका पेटीहरूमा
बाँकी जीवन बच्ने आशामा
छटपटाई रहेका अनगिन्ती जिन्दगीहरु
मृत्यु पखेंर बसेको पल
तितो सम्वेदना र चीत्कारहरु

अफ्नै मुटु भित्रको भूगोलमा
नभेटिएकौ देश
आस्थाको केन्द्र बिन्दुमा
हराएको सार्वभौमिकता
चोईटिएका सम्भावनाहरु
अनि भक्कानिएका मनहरु

भय र संनत्रासका खबरहरु
लेख्दै गरेका अखबारका पानाहरु
पती गुमाएका सिंउदोहरु
कख गुमाएका आमाहरु
अनि जिन्दगी गुमाउन लागि रहेका
केही केही परिदृश्यहरु

अनि सिंहदरबारको रङमन्च भित्र
अफ्नै घर भत्काएर
न्याय माग्ने निवेदकहरु
संविधानको गर्भबाट
जनमाउदै छन अाज
थरि थरिका बादशाहहरु

अझै पनि उद्घोष गर्दैछन्
हर्दिकताका हातहरु उठाएर
सुखी समृद्ध नेपाल हो भनेर
एक घुट्को सास फेर्नलाई पनि
करुणाको भिक्षा माग्दाामग्दै
बितेका जिन्दगीहरु
एका एक जल्दै छन्
आर्यघाटको चितामा
फेरि एक पल्ट तिनैले
सराप्ने छन् यो देशलाई ।।

सुर्यबिनायक-६ , भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।