14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली भाषा-साहित्यको श्रीवृद्धिमा श्री युवराज काफ्लेको योगदान

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व June 9, 2021, 12:37 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतीय नेपाली साहित्यका एक अग्रज सर्जक तथा सिलगढीका नेपालीभाषी गोर्खा समाजका सचेत मार्गदर्शक एवं द्रष्टाका रुपमा चिनिएका खुबै सरल अनि विनम्र स्वभावका मिलनसार व्यक्ति हुन् श्री युवराज काफ्ले। सिलगढी क्षेत्रमा नेपाली भाषी समुदायको निकै पुरानो इतिहास छ तर पनि सन् 1950 को दशकभन्दा अघि डुवर्स र सिलगढी भेकमा छरिएर बसेका नेपाली भाषी गोर्खा समाजमा जातीय सचेतना, जागरुकता र एकताको ठुलो अभाव रहेको पाउछौं। यसकारणले पनि त्योबेला यस क्षेत्रमा आफ्नो भाषा, संस्कृति र साहित्यको जगेरा राम्ररी हुन सकेको थिएन। स्वतन्त्रतापछि पचास-साठीको दशकदेखि मात्र सिलगढीका नेपालीभाषी गोर्खा समाजमा स्वजातिय बोधसँगै भाषिक. सांस्कृतिक एवं साहित्यिक जागरण आउन थालेको हो। सिलगढी क्षेत्रमा एउटा इतिहास नै बनेर देखापरेको त्यसै नवजागरणकालमा धेरै समस्याहरुको सामना गर्दै, कठिनाईहरूसित सङ्घर्ष गर्दै अघि बढेका हाम्रा केही साहसिक योद्धाहरूमध्येका एक विशिष्ट एवं कर्मठ व्यक्तित्व श्री युवराज काफ्ले पनि हुन्। सिलगढी र यसका वरिपरि क्षेत्रका गोर्खा समाजमाझ भाषिक. सांस्कृतिक एवं साहित्यिक गतिविधि बढाउने र त्यसको विकास गराउने कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको छ। उनी सिलगढीकै भूमिपुत्र हुन्। उनको जन्म सिलगढी शहरको सेभोक रोडस्थित गुरुद्वाराको निकटमा रहेको तत्कालीन आफ्नो पैत्रिक आवासमा 27 जनवरी 1946 को दिन भएको हो। उनको पिताको नाम स्व. डिल्लीराम काफ्ले अनि माताको नाम स्व. मेनुकादेवी काफ्ले हो। उनी चार जना दाज्यु-भाईहरूमध्ये सबैभन्दा जेठो हुन्। बाल्यकालमा उनको प्राथमिक शिक्षा त्यसबेलाको सिलगढ़ीको एक मात्र नेपाली माध्यमको प्राथमिक पाठशाला कृष्णमाया मेमोरियल प्राइमेरी स्कुलबाट शुरुआत भएको थियो। तर त्यहाँ लगभग दुई वर्षको अध्ययनपछि नै उनका पिताले उनलाई बङ्गला माध्यमको स्कुल रामकृष्ण महाशिक्षालयमा भर्ना गरिदिनु भयो। सन् 1957 मा त्यहाँबाट चौथो श्रेणीसम्मको पढाई सिध्याएर उनी बङ्गला माध्यमकै स्कुल नीलनलिनी हाई स्कुलमा पाँचौदेखि आठौँ श्रेणीसम्म पढे। त्यसपछि पुन: कृष्णमाया मेमोरियल हाई स्कुलमा भर्ना भएर नवौं अनि दशौँ श्रेणीको अध्ययन हिन्दी माध्यममा पुरा गरे। सन् 1964 मा उनले त्यहाँबाट स्कुल फाइनल उतिर्ण गरेका थिए। स्कुल फाइनल पछि उनले सिलगढी महाविद्यालयको सान्ध्यकालीन सत्रमा वाणिज्य विषयहरू लिएर प्री-युनिभर्सिटीको अध्ययन गर्न लागे। तर कतिपय पारिवारिक परिस्थितिले गर्दा आफ्नो अध्ययनलाई निरन्तरता दिन सकेनन्। पछि सन् 1967 मा उनी प्री-युनिभर्सिटी समुतीर्ण भए।
जनवरी, सन् 1965 मा उनको विवाह कालेवुङ निवासी हरिलाल शर्माकी सुपुत्री देवकुमारी शर्मासित सम्पन्न भइसकेको थियो। यसकारणले पनि उनी आफ्नो औपचारिक शिक्षा प्राप्त गर्ने क्रमलाई स्थगित राखेर संसारिक जीवनको कर्मक्षेत्रमा उत्रिन विवश भएका थिए। सन् 1964-65 तिर उनी सेभोक रोड स्थित लक्ष्मीमाया प्राथमिक पाठशालामा गैरसरकारी शिक्षकका रुपमा अस्थायी तौरमा काम गर्न लागिसकेका थिए। तर त्योबेला शिक्षकहरुको मासिक वेतन प्रयाप्त थिएन। अस्थायी शिक्षक रहेको हुनाले उनले पाउने वेतनले घर-संसार चलाउन सहज थिएन। यसर्थ उनी अन्यत्र कहीं राम्रो नोकरीको खोजमा लागे। त्यसै क्रममा उनी पहिले सिक्किमको डेन्जोङमा आर्मी सप्लाई कोरमा सप्लाई एजेन्ट र एकाउन्टटेन्टको काम सम्भाल्न पुगे । तर घरदेखि टाढा हुनाले र अन्य कतिपय असुविधाको कारणले त्यहाँ धेरै दिन टिक्न सकेनन्। लगभग एक वर्षपछि उनी पुन: सिलगढी फर्किए अनि इस्टर्न मोटर्स प्रा. लि. कम्पनीमा वर्कसप क्लर्कको रुपमा केही महिना काम गरे। सन् 1966 मा अस्थायी तौरमा अल्प अवधिका निम्ति उनले कृष्णमाया मेमोरियल हाई स्कुलमा अध्यापनको काम पनि गरे। त्यसपछि उनी पञ्चायत विभागमा कार्य गर्न थाले। उनी सन् 1966 देखि 1981 सम्म प्राय: 16 वर्ष पञ्चायत विभागमा रहेका थिए। यस अवधिमा पत्थरघट्टा ग्राम पञ्चायत, अठारखाइ ग्राम पञ्चायत र सेन्ट मेरिज ग्राम पञ्चायतको सचिवदेखि जिल्ला स्तर सचिवको कार्यभार उनले सम्हाल्ने अवसर प्राप्त गरेका थिए। यसै बीच उनले बाह्य विध्यार्थीका रुपमा सन् 1978 मा बी.ए. को अध्ययन पनि पुरा गरे। यसअघि उनले आफ्नो हिन्दी र नेपाली भाषा ज्ञानलाई सशक्त पार्ने उदेश्यले हिन्दी भाषामा ‘कोविद’ (सन् 1967) र ‘भाषा रत्न’ (सन् 1971) अनि नेपाली साहित्य प्रचार समितिको माध्यमबाट ‘साहित्य अलङ्कार’ (सन् 1977) जस्ता परिक्षाहरु पनि पास गरिसकेका थिए। बहुभाषिक समुदायमाझ रहेर उनले त्यसबेलासम्म आफ्नो मातृभाषा नेपाली सहित बङ्गला, हिन्दी र अङ्ग्रेजी भाषामा पनि समान रुपले लेख्न, पढ्न र बोल्न सक्ने क्षमताको विकास गरिसकेका थिए। यसबाहेक उनले संस्कृत र मैथिली भाषाको पनि ज्ञान आर्जन गरेका छन् । उनी साहित्यको सेवा गर्दै आफ्नो समाजका संस्कृतिक, साहित्यिक तथा संस्थागत आधारहरूलाई बलियो पार्ने व्यवहारिक कार्यहरुमा सदैव समर्पित रहन चाहन्थे। यसबाहेक आफ्नो शैक्षिक योग्यतालाई पनि अघि बढाउने उनको इच्छा रहेको थियो। यसका निम्ति शिक्षण पेशा नै उनलाई उचित र अधिक सुविधाजनक थियो। यसैले स्नातकपछि सन् 1981 को नोभेम्बरदेखि उनी कृष्णमाया मेमोरियल नेपाली हाई स्कुलमा स्थायी रुपले अध्यापन कार्य गर्न लागे। त्यसको दुई वर्षपछि नै सन् 1983 मा उत्तर बङ्गाल विश्वविध्यालयबाट उनले नेपालीमा विशेष सम्मान (Special Honours)-को अध्ययन पुरा गरे अनि सन् 1986-87 मा स्नातकोत्तर (M.A.) गरेपछि सन् 1987-88 मा सिलगढी बी.एड. कलेजबाट बी.एड. को अध्ययन पनि पुरा गरे।
उनको विध्यार्थी जीवनदेखि नै साहित्यमा अभिरुची रहेको थियो। सन् 1961 मा नीलनलिनी विद्यालयमा आठौँ श्रेणीमा अध्ययनरत रहँदा उनले बङ्गला भाषामा ‘बई चुरी’ शीर्षकमा एउटा कविता लेखेका थिए जो विद्यालयको वार्षिक पत्रिकामा प्रकाशित भएको थियो। बङ्गला भाषामा लेखिएको त्यो कविता नै उनको प्रथम प्रकाशित रचना थियो। त्यसपछि सन् 1965 तिर सिलगढ़ीको सेभोक रोड स्थित लक्ष्मीमाया प्राथमिक पाठशालामा शिक्षकका रुपमा कार्यरत रहँदा हिन्दीका प्रख्यात उपन्यासकार तथा कथाकार प्रेमचन्दको कथा ‘कफन’ लाई उनले नेपालीमा नाटकीकरण गरी मञ्घन गराएका थिए। त्यसबेला मञ्घ निर्माणदेखि नाटकको निर्देशन र सम्पूर्ण व्यवस्थापनसम्म उनको प्रमुख भूमिका रहेको थियो। त्यस नाटकमा अभिनय गर्ने कलाकारहरू थिए – पिताका रुपमा नाटककार स्वयं, पुत्रका रुपमा बी.बी. विश्वकर्मा, मृतकको भूमिकामा किशोर प्रधान अनि स्वास्नीको भूमिकामा किरण राई। त्यसपछि उनले सन् 1968 मा एउटा मौलिक तथा पूर्णाङ्की नाटक ‘उल्का’ लेखे। त्यही वर्ष यो नाटक देवकोटा सङ्घको तत्वधानमा मित्र सम्मेलनी हल, सिलगढ़ीमा मञ्चन गरिएको थियो। यसलाई सिलगढीमा मञ्चन गरिएको प्रथम मौलिक र पूर्णाङ्की नाटक मानिएको छ। सन् 1970 मा उनको प्रथम कृति ‘ फ्याँकिएको कसिङ्गर’ (कथा सङ्ग्रह) प्रकाशित भयो। त्यही वर्ष उनले बालकृष्ण समको दर्शनप्रधान कथा ‘रुपको मुल्य’ लाई हिन्दी भाषामा अनुवाद गरेर सिलगढीबाट प्रकाशित हुने हिन्दी पत्रिका ‘पावस’ मा प्रकशित गराएका थिए। सन् 1973 मा उनको नाटक ‘उल्का’ देव नाटक सङ्ग्रहमा काशीराम सुवेदीको नाटक ‘पुकार’ सहित प्रकाशित भएको थियो। सन् 1974 मा नेपाली साहित्य प्रचार समितिको स्थापना गर्नमा सिलगढीका अर्का एक सचेत एवं अग्रज व्यक्तित्व श्री मीमलाल सापकोटा र उनको प्रमुख भूमिका रहेको छ। सन् 1974 मा ने.सा.प्र.स.-को आयोजनामा देवकोटा जयन्तीको उपलक्ष्यमा उनले लक्ष्मीप्रसाद देवकोटाको कथा ‘तीज’ लाई नाटकीकरण गरी आफ्नै निर्देशनमा मञ्घन गराएका थिए। अभिनय गर्ने कलाकारहरूमा युवराज काफले (स्वयं), मीमलाल सापकोटा, सन्तोष कुमार राई (सकुरा), माया शर्मा र अमर लामा ‘मार्मिक’ थिए। पछि उनले स्थानीय कलाकारहरूलाई लिएर त्यसबेलाका प्रख्यात नाटककार दार्जीलिङका मनबहादुर मुखियाको नाटक ‘अनि देवराली रुन्छ’ र ‘फेरि इतिहास दोहोरिन्छ’ आफ्नो निर्देशनमा सिलगढीमा मञ्चित गराएका थिए। सन् 1982 मा उनले ‘भोलिको बिहान’ शीर्षकमा अर्को पूर्णाङ्की मौलिक नाटक पनि लेखे जो अहिलेसम्म अप्रकाशित नै रहेको छ। विभिन्न सङ्घ संस्थाहरूसित संलग्न रहेर सामाजिक संस्कृतिक र शैक्षिक विकासका व्यवहारिक कार्यहरुमा व्यस्त रहँदै साहित्यका विविध विधाहरू कविता, कथा, नाटक, लेख-निबन्ध, व्यक्ति-परिचय, अनुवाद आदिमा पनि उनले निरन्तर कलम चलाईरहे। उनका सयौं रचनाहरू धेरै अघिदेखि बाडुली, हाम्रो देव, दीयो, दियालो, हाम्रो परिसंघ, हाम्रो ध्वनि, नेसाप्रस, हिमालचुली, सुनचरी, आजभोलि, सगरमाथा, विवेचना, भानु, विश्वदीप, प्रतिभा परिचय, हिमालय दर्पण, सिक्सटी प्लस जस्ता पत्रपत्रिकाहरु लगायत विभिन्न स्मृति गन्थ र अभिनन्दन ग्रन्थहरुमा प्रकाशित हुँदै आएका छन् । अंग्रेजीमा लेखिएको उनको एउटा रचना पनि अंग्रेजी मासिक पत्रिका ‘अलुमाइन’ मा प्रकाशित छ।
उनका अहिलेसम्म पुस्तक आकारमा प्रकाशित मौलिक कृतिहरु यस प्रकार छन् :- 1) फ्याँकिएको कसिङ्गर (कथा सङ्ग्रह- 1970)
2) उल्का (नाटक, सहप्रकाशन- 1973)
3) ध्वनि प्रतिध्वनि (निबन्ध सङ्ग्रह 2004)
4) भाव तरङ्ग (कविता सङ्ग्रह-2015)
5) पूर्वोत्तरका बाह्र नेपाली तारा (व्यक्ति परिचय-2016)
6) केही बुनौट ; केही लेखौट (समीक्षात्मक लेख सङ्ग्रह – 2021)
7) सामयिक सृजन (विश्लेषणात्मक प्रबन्ध सङ्ग्रह – 2021)

उनले विध्यार्थीहरूका निम्ति मातृभाषामा कम्प्युटरको बुनियादी ज्ञान उपलब्ध गराउने उदेश्यले ‘बुनियादी कम्प्युटर शिक्षा’ भाग 1 र 2 (सन् 2015) पनि तयार गरी प्रकाशित गराएका छन्। मौलिक कृतिहरूका साथै विशेष उनले अनुवाद विधामा पनि निकै कलम चलाएका छन्। उनले हिन्दी, बङ्गला, अङ्ग्रेजी र मैथिली भाषाका पुस्तकहरू नेपालीमा अनि संस्कृत र नेपाली भाषाका पुस्तकहरू बङ्गला र हिन्दीमा अनुवाद गरिसकेका छन्। उनका केही उल्लेखनीय अनुवाद कार्यहरू यस प्रकार रहेका छन् :-
1) हरेन घोषको ‘निर्वासन’ (बङ्गला उपन्यास नेपालीमा अनुदित)
2) मोहिनी र राक्षस (अङ्ग्रेजीबाट नेपालीमा अनुदित बाल साहित्य)
3) सानु लामाको ‘जोशमणि सन्त –परम्परा अनि साहित्य’ (साहित्य अकादमीको अनुबन्धमा नेपालीबाट बङ्गलामा अनुदित आंशिक)
4) श्रीलङ्का सङ्कल्प (योगी नरहरिनाथद्वारा श्रीलङ्कामा दिइएको संस्कृत वार्ता बङ्गलामा अनुदित)
5) प्रेमचन्दको ‘गुप्तधन’ (कथा सङ्ग्रह हिन्दी भाषाबाट नेपालीमा अनुदित)
6) मैथिली कथाहरू (साहित्य अकादमीको अनुबन्धमा मैथिली भाषाका कथाकारहरूका कथाहरू नेपालीमा अनुदित आंशिक)
7) शिवकुमार राईको कथासङ्ग्रह ‘खहरे (साहित्य अकादमीको अनुबन्धमा नेपालीबाट बङ्गलामा अनुदित आंशिक)
8) सौमेन नागको ‘प्रसङ्ग गोर्खाल्याण्ड’ (बङ्गला भाषामा प्रकाशित ऐतिहासिक पुस्तकको नेपाली अनुवाद हिमालय दर्पणमा धारावाहिक रुपमा प्रकाशित लगभग 600 पृष्ठको गहकिलो पुस्तक प्रकाशनको निम्ति तयार भएता पनि आर्थिक अभावको कारण प्रकाशमा आउन बाँकी नै रहेको छ।
9) प्रेमचन्दको ‘गबन ’ (उपन्यास हिन्दी भाषाबाट नेपालीमा अनुदित)
10) उमर ख्य्याम (फारसी रुवाईयाँ हिन्दीबाट नेपालीमा)
11) श्रीनृसिंह देव (धार्मिक ग्रन्थ बङ्गलाबाट नेपालीमा)
12) रानु र भानु (सुनिल गङ्गोपाध्यायको बङ्गला उपन्यासको नेपाली अनुवाद)
13) नेपाली कविता सङ्ग्रह (नेपालीबाट बङ्गलामा अनुवाद आंशिक)
14) जीवन बाँचेकै छ (सरु सुवेदी, काठमाड़ौँको निबन्ध सङ्ग्रह नेपालीबाट बङ्गलामा)

यसबाहेक उनले बालकृष्ण समको दर्शनप्रधान कथा ‘रुपको मूल्य’ लाई हिन्दीमा अनुवाद गरी प्रकाशित गराएका छन् अनि भारतीय भाषा संस्थानको अनुबन्धमा हिन्दी-बङ्गला-नेपाली शब्दकोशको निर्माण कार्यमा उनको आंशिक सहभागिता रहेको छ। उनले लगभग एक दर्जन जति पत्र-पत्रिकाहरु, अभिनन्दन ग्रन्थ, स्मृति ग्रन्थ, व्यक्ति परिचय आदिको सम्पादन पनि गरेका छन् जसको सूची निम्न प्रकार रहेको छ:-
1) योगी नरहरिनाथ : जीवन एवं कर्म
2) छत्र बहादुर बस्नेत अभिनन्दन ग्रन्थ
3) शिशिर कुमार गुरुङ अभिनन्दन ग्रन्थ
4) अशोक राई अभिनन्दन ग्रन्थ
5) निर्मला शर्मा भण्डारी स्मृति ग्रन्थ
6) सकुरा (व्यक्तित्व कृतित्वपरक स्मृति ग्रन्थ)
7) ने.सा.प्र.स.- का तीन बौद्धिक व्यक्तित्व
8) द्रष्टा – स्रष्टा (व्यक्ति-व्यक्तित्व परिचय)
9) प्रतिभा परिचय (मासिक साहित्यिक पत्रिका)
10) ने.सा.प्र.स. (मासिक पत्रिका)
11) सिक्सटी प्लस (वरिष्ठ नेपालीभाषी नागरिकहरुको वार्षिक पत्रिका)
12) हिमालय दर्पण (भाषा साहित्य सन् 2004 देखि वर्तमानसम्म)
यसका अतिरिक्त सन् 1982 तिर सिलगढीमा ‘हिमालचुली’ दैनिक नेपाली समाचार-पत्रको प्रकाशनको प्रारम्भिक अवधिमा सम्पादनदेखि व्यस्थापनसम्म उनको ठुलो भूमिका रहेको थियो। सन् 1973-74 तिर प्रकाशित विष्णु शर्मा अधिकारीका उपन्यास ‘प्रकृति कन्या’ र ‘विजयमाला’ अनि काशीराम सुवेदीको उपन्यास ‘प्रतिदान’-को भूमिकाहरू पनि उनले लेखेका थिए। उनले साहित्यिक पत्रिका तथा समाचार पत्रहरुमा असङ्ख्य सम्पादकियहरू पनि लेखेका छन् जसको महत्व कुनै रचनाभन्दा कम छैन। साहित्य लेखनमा सिद्धहस्त भइसकेका उनी सामाजिक, संस्कृतिक क्षेत्रमा पनि त्यतिकै सक्रिय रहेका छन्। सन् 1965 मा उनी सिलगढी आश्रमपाड़ा शिवालयका सचिव , सन् 1968 मा उनी देवकोटा सङ्घबाट प्रकाशित हुने ‘बाडुली’ द्वयमासिक पत्रिकाको पहिले सह-सम्पादक र पछि सम्पादक थिए अनि त्यस संस्थाका सक्रिय कार्यकर्ता एवं सचिव पनि रहेका थिए। सन् 1971 मा श्री मीमलाल सापकोटासित मिलेर उनले देव प्रकाशनको स्थापना गरेर सन् 1975 मा ‘हाम्रो देव’ साहित्यिक मासिक पत्रिकाको पनि सम्पादन कार्य गरेका थिए। उनले एउटा उपन्यास पनि लेखेका रहेछन् जो अहिले सम्म प्रकाशमा आउन सकेको छैन। उनका अनुवाद तथा मौलिक सिर्जनामध्ये लगभग आधा दर्जनभन्दा अधिक कृतिहरू अप्रकाशित रहेका छन्। उमेरले 76 वर्ष नाघिसकेका श्री काफ्ले आज हाम्रो समाजका नयाँ पिढीका युवाहरूका निम्ति एक प्रेरणादायी एवं उदाहरणीय व्यक्तित्वका रुपमा देखापरेका छन्। वास्तवमा सिलगढी र यहाँका नेपाली भाषी गोर्खाहरूको इतिहास बुझ्ने प्रयास गर्नु हो भने उनका जीवनका कर्मकिर्तीहरू सहित उनले लेखेका ऐतिहासिक महत्वका केही लेखहरु ‘सिलगढीको साहित्यिक गतिविधि – एक विहङ्गम दृष्टिमा’ (ध्वनि-प्रतिध्वनि निबन्ध सङ्ग्रहमा सङ्कलित), ‘सिलगढी सेरोफेरोमा गोर्खा शिव मन्दिर’ (हिमालय दर्पण 15, 16, 17, 19 र 23 जुलाई 2019), ‘सिलगढी र कृष्णमाया मेमोरियल प्राइमरी स्कूल’ (हिमालय दर्पण 5 जुलाई 2019), ‘कृष्णमाया नेपाली हाई स्कूल बनिँदाको कथा-व्यथा’ (हिमालय दर्पण 12/13 सेप्टेम्बर 2017), ‘डा.आइ.बी थापा नेपाली विध्यालय : स्थापनाकाललाई सम्झँदा‘ (हिमालय दर्पण 7/8 मार्च 2017), ‘सचेत सफल बुद्धिजीवी एनबी खड्का’ (हिमालय दर्पण 19 अप्रेल 2017), आदि रचनाहरूको पनि अध्ययन नगरे त्यो अधुरो नै रहन जाला।
युवा अवस्थादेखि नै विभिन्न सङ्घ संस्थाहरुसित जोड़िएर अथवा त्यसको स्थापनामा सहभागी बनेर सामाजिक, सांस्कृतिक, शैक्षिक विकासका विविध कार्यहरूमा उनको सक्रिय भूमिका रहेको छ र अहिलेसम्म उनी एकनिष्ठ भइ निरन्तर त्यसमा लागिपरेका छन्। सन् 1974 देखि नेपाली साहित्य प्रचार समितिको संस्थापक सचिव रहेर उनले यस संस्थाबाट परिचालित नेपाली भाषा-साहित्यका विभिन्न तहका परिक्षाहरूको व्यवस्थापन एवं सञ्चालनका कार्यहरू पनि सम्पन्न गराएका थिए अनि सन् 2000 तिर यस संस्थाबाट प्रकाशित मासिक पत्रिका ‘नेसाप्रस’ –का उनी प्रधान सम्पादक रहेका थिए। यो पत्रिका 18 अङ्कसम्म प्रकाशित हुन सकेको थियो। सन् 1973-74 देखि नै उनी डुवर्सका विभिन्न सङ्घ संस्थाहरुसित पनि सम्पर्कमा रहँदै आएका छन्। उनी डुवर्स नेपाली साहित्य विकास समितिको स्थापना कालदेखि अहिले सम्म एक अभिभावकका रुपमा सम्बद्ध रहेका छन्। यस संस्थाका उनी आजीवन सदस्य पनि हुन्। डा. मोहन पी. दाहालको सम्पादनमा प्रकाशित ‘हाम्रो संस्था: एक परिचय’ मा डुवर्सको यस माउ संस्थाबारेमा लेखिएको उनको लेख ‘डुवर्स नेपाली साहित्य विकास समिति’ सङ्कलित रहेको छ। सन् 1978 मा सिलगढीमा डा. आइ.बी.थापा नेपाली हायर सेकेन्डरी स्कुलको स्थापना गर्नमा स्व. दान खालिङ, श्री मीमलाल सापकोटा जस्ता सामाजिक-साहित्यिक व्यक्तित्वहरूसित मिलेर कार्य निष्पादन गर्ने क्रममा उनको विशेष भूमिका रहेको थियो। यस स्कुलको स्थापनापछि प्रारम्भिक कालमा सञ्चालन समितिका संस्थापक सचिव र प्रधान अध्यापकसम्मको पद सम्हालेर उनले उल्लेखनीय सेवा पुर्याएका थिए। यसबाहेक सन् 1973-74 अवधिमा उनी नेपाल राष्ट्रिय विध्यापीठ, सिलगढी केन्द्रका अध्यक्ष, एसोसिएसन अफ नेपाली ड्रामाटिस्ट, सिलगढीका अध्यक्ष अनि सन् 1982 मा हिमालय सांस्कृतिक केन्द्र, सिलगढीका अध्यक्ष पनि रहेका थिए। यसबाहेक उनी योगी नरहरीनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद (बिर्तामोड़, नेपाल)-का कार्यकारी अध्यक्ष रहेका छन् । सन् 2005 देखि उनी सिलगढीको रविरत्न ढुङ्गाना स्मृति महाविध्यालयको परिचालक संस्थान ‘गोर्खा डेभलपमेन्ट वेलफेयर सोसाइटीका कार्यकारी अध्यक्ष रहेर आवश्यकता अनुसार स्वेच्छापूर्वक अध्यापन कार्य पनि गरिरहेका छन्। सिलगढी र यसका वरिपरिका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी गोर्खाहरूका निम्ति स्थापना गरिएको यो महाविद्यालय सोनादा स्थित महाविद्यालयसित सम्बद्ध (Affiliated) रहेको छ। सन् 2008 देखि उनी दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनका संस्थापक अध्यक्ष अनि यस संस्थाबाट प्रकाशित हुने वार्षिक पत्रिका ‘सिक्सटी प्लस’ को सम्पादक पनि रहेका छन्। उनी त्रिफला राष्ट्रिय पुस्तकालय (धुलाबारी, नेपाल) अनि भारतीय गोर्खा परिसंघ जस्ता संस्थाहरुका आजीवन सदस्य पनि हुन्। वर्तमान उनको निवास स्थल रुपनारायणसिंह नगर, तुम्बाजोत मतिगढ़ाको निकटमा रहेको भारतको प्रथम पञ्चमुखि पशुपतिनाथ शिव पाञ्चायन मन्दिर र गोर्खा सामुदायिक भवनका प्रबन्धक संस्थान मतिगढ़ा गोर्खा कल्याण सङ्घका पहिले संथापक अध्यक्ष रहेका थिए अनि अहिले प्रमुख सल्लाहकार रहेका छन्। भाषा, साहित्य, समाज र संस्कृतिको विकास र उन्नयनका निम्ति उनले दिएको योगदानको कदर गर्दै विभिन्न सङ्घ संस्थाहरुले उनलाई सम्बर्दना तथा सम्मान पनि जनाएका छन्। तीमध्ये नेपालबाट वीरगञ्ज साहित्य सदन, अलि मिया वाङ्मय प्रतिष्ठान (पोखरा), वाणेश्वर सर्जक समाज (काठमाड़ौं), पूर्वाञ्चल भारतबाट असम साहित्य सभा, सिरोई सिर्जना समिति काङ्लातोम्बी, मणिपुर, सिलगढीबाट कृष्णमाया मेमोरियल नेपाली हायर सेकेण्डरी स्कुल, डा. आइ.बी. थापा नेपाली हायर सेकेण्डरी स्कुल, राङभाङ समवाय साहित्य सदन आदि प्रमुख हुन्।
उनको यस्तै सामाजिक सेवा भावना र भाषा-साहित्यप्रति उनको योगदानको सराहना गर्दै सन् 1997 मा डु.ने.सा.वि.समितिले उनलाई स्व. चन्द्रवीर प्रधान स्मृति पुरस्कार दिएर सम्मान जनाएको थियो। यसै क्रममा उनलाई अहिलेसम्म स्वर सम्राट नारायण गोपाल स्मृति पुरस्कार (बाटुली प्रकाशन, सिलगढी), कवि शिरोमणि लेखनाथ पुरस्कार (नेपाली साहित्य प्रचार समिति, सिलगढी), डा. अम्बेडकर फेलोशिप पुरस्कार (भारतीय दलित साहित्य अकादमी, दिल्ली), सुभद्रा भट्टराई स्मृति पुरस्कार, उत्तर बङ्गाल नाट्य जगत पुरस्कार (उत्तर बङ्ग नाट्य जगत, सिलगढी), त्रिवेणी पुरस्कार (जसबहादुर राणा पुस्तकालय, दलसिंहपाडा, डुवर्स), कवि भक्त राई स्मृति पुरस्कार (कवि भक्त राई स्मृति मण्डप सिलगढी), नन्दी तिवारी स्मृति साहित्य पुरस्कार (सिलगढी) जस्ता पुरस्कारहरूद्वारा सम्मानित भइसकेका छन् । यसरी भारतीय नेपाली समाज, भाषा, साहित्य र संस्कृतिको विकास कार्य र श्रीवृद्धिका निम्ति उनले दिएको योगदान हाम्रो इतिहासका पृष्ठहरुमा सदैव अविस्मरणीय भएर रहोस्। उनलाई हाम्रो यही शुभकामना छ।

(बाग्राकोट, डुवर्स)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।