14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भकारीको कथा

कविता प्रतीक्षा घिमिरे June 9, 2021, 12:40 pm
प्रतीक्षा घिमिरे
प्रतीक्षा घिमिरे

थोरै भए खन्ने कोदालोले
जमिन्दार भए हलो लगाउने
जमिन खन्न, खेति गर्न
ट्राक्टरको उपयोग गरे पनि भयो।
जमिन नहुनेले, यहाँ मजदुरी गर्ने
ज्यालामा हलो, ट्रयाक्टर,
कोदाली गरे पनि भयो।
तर, समस्या रह्यो।
खन्ने खनेको खन्यै भयो,
फसल खाने खाएको खाई।

कहिले सम्म चल्थ्यो र यसरी
कहिले सम्म बस्थे र त्यसरी
एक दिन त यस्तो आउनु नै थियो,
मेलापात भन्दा अर्थोक नै गरे पनि भयो।
शिक्षाका बाटा खुले, ईच्छाका बाटा खुले।
भोटको बाटो खुल्यो, भर्तिका बाटा खुले
खाडिका बाटा खुलेसंगै त
बाडिझैँ यत्र तत्र अवसरहरु खुले
जहाँ काम गरे पनि भयो,
अब त जे काम गरे पनि भयो।

यता, जहाँ कदर भएन श्रमको
न राज्यले, न जमिन्दार बाज्येले।
बाँझै रह्यो जमिन
न खन्नु रह्यो, न छर्नु रह्यो।
न रोप्नु रह्यो, न कुलो लगाउनु।
अनि त, सुतेरै बसे पनि भयो।
कसको जमिन थाहा भएन, तर
अन्न त फल्थ्यो सायद।
खान त पुग्थ्यो सायद।

तर अब, अब तर
भकारीसंग लुकामारि खेले पनि भयो।
श्रमले जमिन सिँच्नेहरुलाई
अन्न फलाई दिनेहरुलाई
अब बिर्सिदिएर अर्थोकै जे गरे पनि भयो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।