17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपनाको पुनःनिर्माण

लघुकथा अङ्कुर चन्द June 10, 2021, 1:43 am

शहरमा गई पढेर ठुलो मान्छे बन्ने सपना बोकेर आमा बुबालाइ घुरक्याएर छोरो शहर पस्यो ।मेहनतका पसिनाले कनिकुथी कमाएर जोरजाम गरेको पैसा छोरोकै पढाइमा खर्च गरे ।

छोरोले पढाई सक्यो । कण्ठ गरेर पढेका पुस्तकका अक्षर निलेर पढाइका प्रमाणपत्र थनक्यायो झोलामा।
काम खोज्न दौडियो अब ऊ ठुलो मान्छे बन्ने आफ्नो सपना पूरा गर्न । तर अहँ कही कतै पाएँन । परीक्षाका लागि मात्रै निलेका ती पुस्तकका अक्षरलाइ कसैले विश्वास गरेन । ऊ रन्फनियो, भौतारियो , बौलाहा जस्तै भयो । आफ्ना विशिष्ट अंकका सर्टिफिकेट हेरेर टोलायो एकछिन ।

शहरमा ठूलो मान्छे बन्ने आफ्नो सपना भत्काएर हुइकियो गाउँतिर । आफ्नो खेतबारीमा गयो । कोदाली समात्यो खनजोत गर्यो । पसिना बगायो आफ्ना बा आमासँग आफ्नै बारीमा ।

लहै लहै फलेका बाली हेर्दै बयेली खेलेको चिसो बतासमा रमाउँदै खुशी हुँदै आफ्नो सपनाको पुननिर्माण गर्दैछ ऊ देश र जनताको भोक मेटाउन अचेल।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।