14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली भाषा शुद्धीकरणको आग्रह

विचार डा. विष्णुप्रसाद पौडेल June 9, 2021, 12:52 pm
डा. विष्णुप्रसाद पौडेल
डा. विष्णुप्रसाद पौडेल

भाषा परिवर्तनशील वस्तु हो । सामाजिक गतिशीलतासँगै यसमा परिवर्तन हुँदै जान्छ । यसको खास प्रयोजन विचार विनिमय गर्नु हो । कुनै पनि भाषा प्रयोक्ता, विषय र परिस्थितिको भिन्नताका कारण फरक फरक हुन्छ । नेपाली विषय पढाउने व्यक्ति यस भाषाको आधिकारिक प्रयोक्ता ठानिनु स्वाभाविकै हो । उनीहरुले प्रयोग गर्ने भाषा सर्वत्र व्याकरण सम्मतै हुनु पर्छ भन्ने कुरा सुन्दा ठिकै लागे पनि व्यवहारमा त्यस्तो पाइँदैन । त्यस्तो हुनुको पहिलो कारण त यसको व्याकरणको फरक फरक मान्यता हुनु हो । यसलाई करिब एक दशकसम्म जनबोली निकट बनाई समय सापेक्ष सरलीकरण गर्ने भनी केही नयाँ नियम बनाएर प्रयोगमा ल्याइयो । सोही अनुसार पाठ्यक्रम निर्माण, पाठ्य पुस्तक लेखन र अध्यापन गरियो । साथै सोही अनुसार अनेक शोध प्रतिवेदनहरु निर्माण पनि गरियो । तर व्यक्ति विशेषको टसलले र केहीको लहडका कारणले फेरि तर्कहीन ढङ्गमा त्यसलाई पुरै उल्ट्याएर पुरानै स्थितिमा लगियो । यस्तो गर्दा ती ८/९ वर्षदेखि नयाँ नियममा हिँडेका शिक्षक र तिनले हिँडाएका विद्यार्थीको अवस्था कस्तो होला भन्ने सोचिएन । निश्चित स्वार्थवश राजनीतिक आडमा गरिएको निर्णय मान्न बाध्यकारी बनाइए पनि त्यो धेरैका लागि मान्य बनेको छैन । त्यसैले पदयोग र वियोग अनि तद्भवीकरणका क्षेत्रमा यस्ता समस्या बढी नै देखिएका छन् ।

दोस्रो कारण प्रयोग कर्ताको परिस्थितिका कारण पनि भाषा भिन्न हुन्छ । एकै शिक्षकले एउटै विषय कक्षामा पढाउँदा र कक्षा बाहिर विद्यार्थीहरुलाई सम्झाउँदा औपचारिक र अनौपचारिक शैलीको प्रयोग गरेको हुन्छ । यसले भाषाको स्वरूप पनि भिन्न बनाउँछ । सामाजिक सञ्जालमा औपचारिक भन्दा अनौपचारिक शैलीको प्रयोग बढी देखिन्छ । त्यसैले त्यसमा प्रयोग गर्ने नेपाली विषयका केही शिक्षकका भाषा पनि कतिपय अवस्थामा शुद्ध भन्दा पनि विचार सञ्चार गर्न सक्ने बनेर प्रकट भएको देखिन्छ । जस्तै–
क. आकस्मिक निधनको समाचारले खुत्रुक्क बनायो । मृतकात्माले शान्ति पाओस् र भाउजु र होम सुवेदीजी लगायतका समस्त शोक सन्तप्त परिवारमा समवेदना!
ख. वरिष्ठ समालोचक, निबन्धकार, कवि तथा नेपाली केन्न्द्रीय विभाग कीर्तिपुरका पूर्व विभागीय प्रमुख प्रा. राजेन्द्र सुवेदीको कोरोनाको संक्रमणबाट भएको दुखद निधनबाट स्तब्ध भएको छु । श्रद्धेय गुरुप्रति हार्दिक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

माथिका उद्धरणहरु नेपाली विषयका प्रतिष्ठित निवृत्त प्राध्यापक डाक्टरहरुका फेसबुकका भाषा हुन् । पहिलोमा पूर्ण विरामका सट्टा संयोजक र स्त्रीलिङ्गी शब्दान्तमा ह्रस्व लेखिएको छ । त्यस्तै विस्मय बोधक शब्द अघि स्पेस पनि छाडिएको छैन । दोस्रोमा केन्द्रीयमा न् बढी छ भने तत्सम शब्दमा पञ्चम वर्ण प्रयोग गर्ने नियम मानिएको छैन । त्यस्तै वाक्य टुङ्गिए पछि पूर्ण विराम पनि राखिएको छैन । अघिल्लोमा “शोक सन्तप्त”मा पद वियोग छ भने पछिल्लोमा पदयोग । यी समस्या नै होइनन् म भन्दिनँ तर “बढाले जो ग–यो काम हुन्छ त्यो सर्व सम्मत” जस्तो पनि छ । यस्तै त्रुटि अलि हैसियत बनाइ नसकेकाले गरे भने केही स्वनामधन्य शुद्धीकरणका अभियन्ताले त्यस्ता शिक्षकहरुको दोहोलो काढेर आफ्नो श्रेष्ठताको हुँकार गरेको देख्छु । त्यसमा स्याल हुइयाँ मच्चाउने पनि चर्कै देखिन्छन् । मलाई यस्तो कर्म “काम पाइनस् बुहारी .....” भने जस्तो लाग्छ । किनभने म त्यस्तो अंश मूलभाव बोधका दृष्टिले मात्रै पढ्छु । त्यसको स्तरीय मानक रूपमा खासै चासो दिन्न । किनभने त्यसको प्रयोजन वक्ताको भाव सञ्चार मात्रै हो ।

तेस्रो कारण भाषा मानक संरचनाले मात्रै बाँच्ने होइन; त्यसमा अन्तर्निहित विचार र संवेदनाको घनत्वले बाँच्ने हो । हाम्रा प्रयोगवादी स्रष्टाहरुको त कुरै छाडौँ, लेखनाथ, सम, देवकोटा जस्ता स्रष्टाका पाण्डुलिपि हेर्ने हो भने पनि उनीहरु विचार र संवेगलार्इ छाडी मानक अमानक भाषामा कहिल्यै अल्झिएनन् । त्यो काम प्रकाशकले प्रुफ रिडरलार्इ नै जिम्मा दियो । अहिले पनि नेपालीका धेरै लेखकहरु राम्रो प्रुफ रिडरलार्इ जिम्मा दिएर तपसिलको कर्म टुङ्ग्याउँछन् तर यसका आधिकारिक प्रयोक्ता ठानिने हामीहरु विचार र संवेदनाशून्य बन्दै गएर यस्ता तपसिलका कुरामा मात्रै बढी अल्झिएका हौँ कि जस्तो पनि लाग्छ । अनि उराठ केमा पनि लाग्छ भने विशुद्धताको हुँकार गर्दै अरुलार्इ चर्को उपदेश गर्नेहरुकै भाषा उनीहरुकै मानक व्याकरण अनुसारको पनि देखिन्न । जस्तै–

१. मेरा आदरणीय गुरु/अभिभावक एवम् नेपाली वाङ्मयका विशिष्ट साधक प्रा.राजेन्द्र सुवेदी हामीबाट बिदा हुनुभएको खबरले मर्माहित बनाएको छ ।उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हृदयत: समवेदना प्रकट गर्दछु ।(कृपया Rip नलेख्नु होला )
२. मर्म+आहत=मर्माहत । 'मर्माहित' होइन ।नेपाली भाषासाहित्य पढाउने गुरूहरूले त बुझेर प्रयोग गरौं न हौ!
३. सारै दुःदायी खबर आयो । श्रद्धेय गुरू प्रा. राजेन्द्र सुवेदीको दिवङ्गतिको खबरले नेपाली भाषासाहित्यको क्षेत्रमा कार्यरत हामी सबैलार्इ मर्माहत बनाएको छ । गुरूको आत्माले शान्ति पाओस् ।
(१. को टिप्पणीमा २. आएको छ तर त्यहाँ भएका अन्य गल्ती उल्लेख गरिएको छैन । ३. पनि २. टिप्पणीकारकै हो । यसले उनमा रु पनि ह्रस्व र दीर्घ हुन्छ भन्ने हेक्का नभएको देखाएको छ । “दुखदायी”मा ख छुटेको छ । चलेको तत्सम शब्द “दिवङ्गत” हो । शुद्धताको कुरा गर्दा पूर्ण विराम वा विस्मय बोधक चिन्ह अघि स्पेस पनि राखिन्छ । “हौ” पूर्वी भाषिका होला । “है” भए राम्रो हुन्थ्यो कि ?)
४. साहित्य र भाषा पढेको न हो । विद्यार्थीहरूले शुद्ध प्रयोग गर्ने हो नि प्राध्यापक र शिक्षकहरूले किन गर्न पर्यो ? परोपदेशे पाण्डित्यम् न हो । जब बौद्धिकता पसलमा बिक्री हुन्छ तब भाषाको स्तर नामेट हुन्छ भन्ने सिद्ध पुरूषहरूको उक्ति सार्थक हुँदै छ सर ! (कपी पेस्ट गर्दा पनि द्यको संयुक्त रूप यस फन्टमा परिवर्तन भएर आएको छ । “पर्यो” र “पुरूष” विचारणीय बनेका छन् ।)
५. आदरणीय गुरु राजेन्द्र सुवेदीसर, भौतिक शरीर त्यागेर यस संसारमा हुनुहुन्न भनेर पत्याउनै गाह्रो भइरहेको छ ।(आदरणीय गुरु भए पछि सर चाहिने हो र ? अधिक पद दोष भएन ? प्रयोग छ भन्ने हो भने पनि पदयोग हुन्छ र ?)
६. नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख, सरल व्यक्तित्वका धनी, वरिष्ठ प्राध्यापक राजेन्द्र सुवेदीज्यूको कोभिडका कारणले निधन भएको खबरले स्तब्ध र मर्माहत भएका छौँ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। (यहाँ पहिलो कुरा बहुवचनको सान्दर्भिकता खुलेको छैन । दोस्रो कुरा मर्माहत भएर स्तब्ध हुने होला । त्यसैले “निधनको खबरले मर्माहत भर्इ स्तब्ध छौँ ।” राम्रो हुन्थ्यो होला ।)
७. २०७७ असारदेखि पक्षाघातबाट थलिनुभएका पौरस्त्य वाङ्मयका अथक साधक पूजनीय गुरुवर प्रा. डा. वेणीमाधव ढकालज्यूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उहाँको व्यक्तित्व, कृतित्व र योगदानमा आधारित प्रस्तुत अनुसन्धानात्मक पुस्तक पढेर यहाँहरू सबै लाभान्वित हुनुहोला । (यस वाक्यको सङ्कथन अस्पष्ट छ । पूर्वापर शृङ्खलित सङ्गति / संशक्ति / कोहोरेन्स मिलेको छैन । ढकालप्रति स्वास्थ्यलाभको कामना लेखकको होला तर वाक्यमा लेखकले पाठकलार्इ कामना गर्न लगाएर उनका बारेको पुस्तक पढ्न अनुरोध गरे जस्तो भएको छ ।)

माथिका पछिल्लो बाहेक सबै उद्धरण हिजोको फेसबुकबाट लिइएका हुन् । पछिल्लो भने अस्तिको हो । यी सबै उद्धरण आजीवन नेपाली भाषा साहित्यमा समर्पित विश्वविद्यालयका धेरै जिम्मेवार ठाउँमा रहेका प्राध्यापकहरुका हुन् । कतिपय त मेरा सहपाठी र सहकर्मी मित्र पनि हुनुहुन्छ । के उहाँहरुले अज्ञानताका कारण अशुद्ध भाषा लेख्नु भएको हो त ? अवश्य होइन । अलिकति प्रमाद होला तर धेरै गाँठी कुरो यस भाषालार्इ बहु स्वीकार्य ढङ्गमा सरलीकरण नगर्दा नै यस्तो भएको हो । मेरा आदरणीय गुरुहरु र सहकर्मी मित्रहरुबाट हुने गल्ती मबाट पनि हुन्छन् । अझै धेरै भएका होलान् । मैले यो चर्चा उहाँहरुलार्इ खिस्याउन वा अपमानित गर्न पटक्कै गरेको होइन । त्यसैले स्रोतव्यक्ति पनि त्यहाँ उल्लेख गरिनँ । तर ती सबै देखिएका तथ्य हुन् । मैले त व्यक्तिमा होइन यस भाषाले सहज निकास नपार्इ ठिँगुरिएको संरचनामा समस्या देखेको छु; साथै हाम्रो भाषा पाठ्यक्रममा पनि । त्यसैले यस्ता समस्या जन्मिएका हुन् ।

होइन भने आजीवन यसमै लागेर पनि हामी शुद्ध लेख्न किन सक्दैनौँ ? अनि अरुलार्इ के भन्ने ? अब अरुले अशुद्ध लेखेनन् भन्ने नैतिक हैसियत नै हामीमा छ त ? अब पनि यो हामीले नै गिजोलेर बनाएको समाधान रहित समस्या हो भनेर सोच्ने कि नसोच्ने ? समाधान संस्कृत व्याकरण पल्टाएर होइन भाषा वैज्ञानिक चेत सहित जनबोली निकट बन्न थाल्दा हुन्छ जस्तो लाग्छ । समाधानको दायित्व अब हाम्रो काँधमा आएको छ । सहिष्णु र संश्लेषणकारी दृष्टिले गमौँ । अन्यथा हामी सबै नेपाली भाषाका लागि असान्दर्भिक प्राणी बनिरहेका हुने छौँ । सबैलार्इ चेतना भया ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।