14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कागजको-डुङ्गा

कविता राधिका कल्पित June 14, 2021, 4:11 pm
राधिका कल्पित
राधिका कल्पित

तिमीलाई याद छ सानु?
जब कागजका डुङ्गा बनाएर
खोलामा छोडिदिन्थ्यौं र बाजि थाप्थ्यौँ
कसको टाढा पुग्ने भनेर
हो त्यति खेरै मन हुन्थ्यो
तिमी र मलाई राजारानी बनाएर
एउटै ठुलो डुङ्गामा बगाइदिने
तर तिमिले के सोचौली भनेर
सधै छुट्टा छुट्टै ढुङगा बनाइरहेँ म
भिन्दाभिन्दै डुङ्गामा राखेर बगाइरह्यौँ
आ-आफुलाई ।

प्यारी सानू,
जब तिम्रो आँखामा म छु कि छैन होला भनेर
नजिकै गइ तिम्रो नयनहरु नियाल्न खोज्थेँ
खै के सोच्थ्यौ तिमी परेली झुकाएर भुइँतिर हेर्थ्यौ
तब अधुरै रहन्थे तिम्रो आँखाको ऐनामा
आफ्नो प्रतिविम्ब हेर्ने मेरा रहर !

जब तिम्रो धड्कन सुन्ने चाहनाले
अनेक बहाना बनाइ तिम्रो छातिको करिब पुग्थेँ
खै के सोच्थ्यौ तिमी
घाँटिको सल तानेर आफ्नो छाती छोप्थ्यौ
तब अधुरै रहन्थे तिम्रो स्पन्दन सुन्ने मेरा रहर!

जब तिमीले फेर्ने सासमा
मेरो नाम छ कि छैन होला भनेर
नजिकै कान लैजान्थेँ
तिमी खै के सोच्थ्यौ कुन्नि
पछ्यौरीको टुप्पो दाँतले टोकेर मुन्टो बटार्रथ्यौ
अधुरै रहन्थे मेरो नामको निश्वास सुन्ने मेरा रहर!

जब तिम्रा केशहरु सुमसुमाउने उत्कट इच्छाले
तिम्रा नागबेली परेका केश-रासिहरु
टक्टकाएको बहाना गर्दै स्पर्श गर्थेँ
खै के सोच्थ्यौ तिमी
खुला केश गुजुल्टाएर जुरो पारिदिन्थ्यौ
तब कपाल भन्दा बढि गुजुल्टो पर्थे
तिम्रो केशमा लुकामारी खेल्ने मेरा रहर!

हो सानू, त्यति खेरै पनि लाग्थ्यो मलाई
तिम्रो हिमनदी जस्तै खालि- खालि सिउँदो देख्दा
तिम्रो त्यो सिउँदो भर्ने मै त हुँला नि
र कोही अरु कोही नआओस् सिउँदोको बाटो हुँदै
म भन्दा पहिल्यै तिम्रो जिवनमा भनेर
`अब देखि सिउँदो नकाढि कपाल कोर´ है
भन्न मन लाग्थ्यो
फेरि तिमि के सोचौली भनेर चुपचाप हेरि बस्थें
त्यतिखेरै लाग्थ्यो सानु मलाई
म नै त होला नि तिम्रो छातीको मझेरीमा मुटु बिसाउन अाउने मान्छे
र म भन्दा पहिल्यै कसैले नखोलोस् मनको दैलो भनि
`चोलीको तुना कँसेर बान´ है भन्न मन लाग्थ्यो
फेरि तिमी के सोचौली भनेर मुखमा ताला लाउथेँ!
मलाई त्यति खेरै पनि लाग्थ्यो तिम्रो अोठमा
गुलाबी रङ्ग भर्ने मै त होला नि
त्यसैले त म भन्दा पहिल्यै
त्यो ओठभरि कोही फुल्न आइनपुगोस भनेर
`तिमी सबै सँग खुलेर नहाँस है´ भन्न मन लाग्थ्यो
फेरि तिमी के सोचौली भनेर मुख फोर्न सक्थिनथेँ ।

यो समुन्द्री तटमा आज
जब ठुला- ठुला पानी-जहाज देख्छु
मैले हामीले बगाएका कागजका डुङ्गाहरु सम्झन्छु
सानु, थाहा छैन तिमीले र मैले बगाएका डुङ्गाहरु कहाँकहाँ पुगे
समयको हुरीले बगाएर बिपरित दिशामा
हामी पुग्यौ भिन्न गोलार्धमा
कल्पन्छु,
अब त तिमी ठुली भैसकी होउली
तिम्रो मुस्कानमा बैँस फुल्यो होला
तिम्रो गालामा लालीगुराँश झुल्योहोला
तिम्रो आँखाको लाज उस्तै होला कि हरायो होला?
तिम्रो गालाको कोठि उत्रै होला कि बढ्यो होला?
लजालु स्वभाव उस्तै होला कि फेरियो होला?
सोच्दा सोच्दै
अनायासै हतास -हतास हुन्छु
कतै तिम्रो सिउँदो पो रङ्गियो कि?
कतै तिम्रो आँगनमा डोली पो सजियो कि?

काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।