14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

विगत र बाडुली पढ्दा

कृति/समीक्षा अतुल पोखरेल June 14, 2021, 4:56 pm
अतुल पोखरेल
अतुल पोखरेल

भारती गौतमको संस्मरणहरूको संगालो ‘विगत र बाडुली’ पढ्न भाग्यले जुरायो । पढें । हरफ–हरफ, वाक्य–वाक्य पढें । पढिसिध्याएँ।

हुन त म कुनै पनि पुस्तक छिटोछिटो पढ्ने मान्छे होइन। एकै रातमा वा एकै बसाइमा एउटा सिङ्गै किताब पढिसकेको अरे भन्ने अरूका कुरा सुन्दा ईष्र्या लाग्न समेत छोडिसकेको लाचार पाठकलाई यो पुस्तकले दुई हप्ता मजाले अल्मल्यायो। तर, यसपालिको अलमल अलि बेग्लै किसिमको भयो। कुनै एउटा पुस्तक पूरै पढिसिध्याएँ है भन्ने आडम्बरी आनन्दको अझ भित्री तहमा पुगेर आफैंलाई चियाउँदा यो पुस्तकले मलाई दुई हप्ता अगाडिको मभन्दा अलि फरक म बनाइदिएछ भन्ने कुरा अहिले म आफ्नै छातीमा ढक्क अनुभव गर्दैछु।

धेरै अघि, पाँचसात वर्ष नै भयो होला, मैले एउटा कुनचाहिँ अनलाइन पत्रिकामा भारती गौतमको दशैंबारेको एउटा लेख पढेको थिएँ । नेपालमा पहिलेको दशैं र अहिले अमेरिकाको दशैं तुलना गरेर लेख्नुभएको त्यो लेखभित्रका धेरै कुराहरू याद नभए पनि लेखिकाको बाल्यकालमा, धनकुटामा उहाँले अनुभव गर्नुभएको दशैंको सचित्र वर्णन र लेखन शैलीले पारेको प्रभावले मैले लेखिकाको नाम बिर्सन सकेको थिइन । त्यसपछि बेलाबेला उहाँका दुईचार लेखहरू पढेको थिएँ। तर, सिंगो पुस्तक पढ्ने साइत जुरेको थिएन। त्यसैले, यो पुस्तक हात पर्दा नै एक किसिमको उमङ्ग थियो मेरो मनमा।

यो किताब न त कथा संग्रह वा उपन्यास हो रहेछ, न त निबन्ध वा आत्मकथा नै हो रहेछ । तर यो किताब त्यो सबै रहेछ । सुरुका पानादेखि नै झलमल्ल देखिने धनकुटाका हरिया फाँटहरू नै फिक्सनका प्लटहरू सरह रमाइला रहेछन् । पुस्तकका हरेक परिघटनाका भेलहरूले सँगै बगाएर ल्याएका चिन्तन र भावका सानाठूला छालले हुत्याउँदा तिनलाई मैले कथाका अनगिन्ती क्लाइमेक्सको रूपमा स्वीकारें । अनि घटनाहरूको नागबेलीले मलाई बगाउँदै अमेरिका र अन्तिमतिर युरोपसम्म पनि लगे । तर, पनि सोझै कथा भनेर नलेखिएका यी खास निबन्धहरूले पूर्वीय संस्कृतिबाट जुरुक्क उचालेर पश्चिमी जीवनशैली र मूल्यमान्यताको धरातलमा बेलाबेला थपक्क छोडिदिँदा घामबाट आएको मान्छे स्वाट्ट घरभित्र छिर्दा आँखाले देख्न गाह्रो भएको जस्तो मलाई आफ्नै बुद्धिले कुरो बुझ्न अलि घोरिनुपर्ने पनि भयो । बिजुलीको स्विचस्वरूप लेखिकाका दृष्टिकोणहरूले मेरो चेतनाका कोठा, बरन्डा र गल्लीहरूमा बिस्तारै एकपछि अर्को उज्यालो बत्ती बाल्दै गए।

किताब सुरु हुन्छ लेखिकाका स्वर्गीय पिता हेमचन्द्र पोखरेल बारेको स्मरण लेख, ‘बा मेरो सर्वस्व’ बाट । अरू बेला, अरू कुरा पढेभन्दा मलाई यो अनुच्छेद पढिसक्न अलि धेरै नै समय लाग्यो। कारणचाहिँ एक पाना पढिसक्न खोज्यो, आँखाबाट आँसु आएर अक्षर देखिँदै देखिँदैन। लेखिका सानी, छ–सात बर्षकी हुँदा बाको मामाघर ताङ्खुबा जाँदा बाटामा बाले सानी छोरी (लेखिका) को कपालको चुल्ठोमा नीलो फूल सिउरिदिनुभएको दृश्यबाट रसाएका मेरा आँखा अन्तिम पृष्ठ सकिँदासम्म पनि ओभानो हुन मानेनन् । त्यो यात्राको परिदृश्य मेरो कल्पनाले निर्मित गरेको काल्पनिक दृश्यभन्दा फरक अवश्य थियो होला तर पनि लेखिकाको बेजोड लेखन शिल्पले सिर्जेको सचित्र लेखमा मैले झल्झली सबै दृश्य आफ्नै आँखै अगाडि देखेँ भनेर म ठोकुवा गर्छु । लेखिकाका बा कस्तो बहुमुखी र अतुलनीय प्रतिभावान् अनि कतिसम्म ममतामय हृदयका धनी हुनुहुँदो भनेर थाहा पाउन त मैले यहाँ भनेर सकिंदैन । त्यसका लागि यो पुस्तक नै पढ्नुपर्छ।

२६ वटा लेखहरूको सँगालो यो पुस्तकमा लेखिकाले पहिले नेपालमा हुँदा र पछि अमेरिकाबाट बेलाबेला नेपाल आउँदाका धेरै अनुभवहरूलाई पाठकसँग साझा गर्नुभएको छ । ती लेखहरूभित्र आफन्तहरूसँगको आत्मीय भेटघाट, कवि मोहन कोइरालासँगको भेट, साहित्यकार झमक घिमिरेसँगको भेट, साहित्यकार डायमनशमशेर राणासँगको भेटहरूको रोचक प्रसंगहरूलाई साहित्यिक रङ्ग र कुचीहरूको माध्यमबाट रमाइला र छर्लंग उज्याला चित्रहरू बनाउन लेखिका सफल हुनुभएको छ।

बेलाबेला, पुरुषप्रधान, पितृसत्तात्मक समाजको आँगनका खस्रा घोच्ने ढुङ्गालाई विचारोत्तेजक प्रश्न र तर्कहरूको घनले हिर्काउन पनि लेखिका पछि पर्नु भएको छैन । ‘बेरीतले दुखेका रीत’ लेखमा पितामातालाई श्राद्धमार्फत स्मरण गर्ने कुरामा छोरीको शून्यप्राय भूमिकाबारे र ‘अनुभूतिको दोछायामा’ लेखमा छोरीले आफ्नो जीवनसाथी आफैं चुन्ने स्वतन्त्रताबारेमा लेखिकाको प्रष्ट धारणा र अडान बुझ्न सकिन्छ । पारम्परिक, रुढीवादी सामाजिक मूल्यमान्यताविरुद्ध प्रगतिशील दृष्टिकोण सहित, तार्किक र भावनात्मक दुवै रङ्गका मसीले एकैचोटि लेख्न सक्नु एक सशक्त लेखिकाको पहिचान हो भन्ने कुरा यी लेखहरूले प्रमाणित गर्दछन् ।

झट्ट हेर्दा, लेखिकाले आफ्नो नितान्त व्यक्तिगत जीवनका घटनाहरू र प्रसंगहरूलाई समेटेको देखेर साहित्यिक रचनामा त्यस्ता विषयवस्तुको औचित्यताबारे कुनै पाठक अलमलमा पनि पर्न सक्छन् । उदाहरणका लागि, आफ्ना कुनै अमुक काका वा पल्ला घरका मामाका बारेमा लेखिएका अनुच्छेदहरू । तर, बुझ्नुपर्ने कुरा के छ भने, त्यस्तै सामान्य विषयवस्तुहरूको माध्यमबाट नै सूक्ष्म रूपमा समाजका मनोवैज्ञानिक र भावनात्मक पाटाहरूलाई बुझ्न मद्दत मिल्छ । विषयवस्तु जे पनि हुन सक्छ, तर चिन्तन, विश्लेषण र अभिव्यक्तिको गुणवत्तामा साहित्यको गुणवत्ता भर पर्दछ । त्यस्तो झुक्याहटमा पर्न सकिने अरू उदाहरण पनि छन् । जस्तै, लेखिकाका छोराछोरीको विवाहका प्रसंगहरू अनि घर सर्दा पालेको कुकुर त्याग्नु परेको प्रसंग । सर्सर्ती हेर्दा, त्यस्ता व्यक्तिगत विषयमा किन साहित्यिक शब्द खर्चिनु भन्ने प्रश्न मनमा उठ्न सक्छ । तर अलि गम्भीर भएर हेर्ने हो भने, पूर्वीय हिन्दू परम्परामा आधारित नेपाली समाज र आधुनिक पश्चिमी समाज बिचको सांकृतिक मनोविज्ञानको फरक छुट्याउने अमूल्य साहित्यिक कुन्जी तिनै शब्दहरूमा लुकेको छ भन्ने प्रष्ट देखिइहाल्छ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड भनेझैं ।

सबै लेखहरू मन छुने खालका छन्। ‘सारीको पिङ्ग’ को मनोविज्ञानले पनि मेरो मन छोयो । तर, अलि फरक कुरा के भने, एउटी सानी बालिकाको मनमा एउटा सानो घटनाले जन्माएको मनोदशाबारे पढ्दा मलाई क्याथरिन म्यान्सफिल्डको कथा ’द डल्स हाउस’ को सम्झना भयो। हुन त यो कथा सारीको पिङ्गको कथावस्तुसँग केही मेल खाँदैन र मनोविज्ञानको विषयवस्तु पनि फरक छ, र पनि किन हो, दुवैमा लेखकहरूको बाल अनुभूति छाम्न सकेकोमा मैले आफ्नो पिठ्यूँ आफैं थपथपाएँ। ‘दोलखा भीमसेन’ मा एउटा तीव्र किसिमको डरको वर्णन छ। त्यो डरको अनुभूति बुझ्न कोसिस गर्दा कक्षा एघारमा उहिले मैले पढाएको अंग्रेजी पुस्तक म्याजिक अफ वर्ड्समा भएको ’फीयर’ भन्ने कथाको सम्झना भयो। समग्रमा, यो किताबमा मैले अनुभूत गरेको पहिलो तत्व लेखिकाको कोमल भावना र अरूको भावना समेत बुझ्न सक्ने संवेदनशीलता नै हो । यसलाई अंग्रेजीको एक शब्द ’इम्प्याथी’ले परिभाषित गर्न सक्छ जस्तो मलाई लाग्छ। मानवीय सम्बेदना र भावनाहरूको अत्यन्त सानो टुक्रालाई पनि लेखिकाले विस्तीर्ण डाँडाहरूको तरेली जत्तिकै विस्तृत देख्न सक्नु हुन्छ । अनि त्यो देखाइलाई उत्तिकै सूक्ष्म र विस्तृतताको आयाममा ठीक्क अटाएर शब्दमा अभिव्यक्त गर्न सक्नु नै लेखिका भारती गौतमको मौलिक साहित्यिक विशेषता हो।

भारती गौतमको लेखन शिल्पमा मैले एउटा अर्को प्रमुख, निकै आकर्षक तत्व देखें, त्यो हो– उपमा । ‘आमा दिवंगत हुनुभएको यथार्थ लिपेको आँगनजस्तै आलो,’ ‘मेलामा बाआमासँग हराएको बालकजस्तो,’ ’शिक्षकलाई पाठ बुझाउन नसक्ता लागेको डरजस्तै,’ ’शालिग्रामसँग झुक्किएर मिसिएको दर्शन ढुङ्गाजस्तै’ – यस प्रकारका अनगिन्ती उपमाहरू मलाई अत्यन्त नै रोचक लाग्यो उहाँको लेखनमा।

अभिव्यक्तिको मौलिक शैली र शब्द छनोट पनि अत्यन्त रोचक लाग्यो मलाई । ’मेरो गणितले अलि धर्म छोडेकाले,’ ’समय घोडालाई पछाडि दौडाएर छोरीभन्दा कान्छी हुने लालच ममा उम्रियो,’ ’मेरो मनाले गुलिया लड्डू खान्छ,’ – यसप्रकारको शैली भनुँ वा अभिव्यक्ति भनुँ, ले गर्दा पढ्नमा अत्यन्त आनन्द आयो।

कतैकतै तिनै उपमाहरूले बडा मिठो हास्यरस पनि थपेको देखें। “तिम्रो बुहारीको सिङ पनि छ ?’ लाटोबुङ्गोको कथा याद आयो,’ ’दाँत नभएको मान्छेको हातमा उखुको टुक्रा जस्तो,’ ’माइजूका दाजुको साला जत्तिको नातेदार पनि नभएपछि’ जस्ता वाक्यहरूले पढ्दापढ्दै एकछिन रोकिएर हाँस्न बाध्य गराए।

लेखिकाको शब्द चयनको एक रोचक उदाहरण प्रस्तुत गर्न चाहन्छु– ‘हवाईजहाजमा आफू त्यस्तो निरन्तर यात्रा गर्ने नभए पनि आफ्ना परिवारको कुनै सदस्य हवाईजहाजमा चढेको छ भने जमिनमा नझरुञ्जेलसम्म मनमनै रामराम गरिराख्न भने मलाई खाँचो थिएन ।’ मेरो विचारमा, यो वाक्य अरू सामान्य लेखकले लेख्ने हो भने सुरुदेखि रामराम सम्म यस्तै लेख्न सक्थे तर बाँकी वाक्य एकदमै सामान्य किसिमले पूर्णविरामसम्म लैजान्थे, तर यहाँ ‘मलाई खाँचो थिएन’ले चाहिँ भारती गौतमको लेखन हो यो भन्ने झल्को दिइहाल्छ । यहाँनेर आइपुगेपछि वाक्यले पाठकलाई अलिकति हल्लाउँछ । अरूले लेखेको पढ्दा सरर बसमा गुडेको जस्तो, भारती गौतमले लेखेको पढ्दा, हरेक पृष्ठमा, फन पार्कमा सानासाना रोलर कोस्टर, रोटेपिङ, चिप्लेटी खेलेको जस्तो अनुभव भइरहन्छ।

जे होस्, विगत र बाडुली पढेपछि, एउटा राम्रो किताब पढेँ भन्नेमा मलाई ढुक्क छ । दुई हप्ता लगाएर पढिसकेको यो पुस्तकले जीवन र जगतप्रति मेरो अनुभूति, कल्पना, दृष्टिकोण अनि लेखनका विधा र शिल्पबारेको मेरो सीमित ज्ञानलाई अलिकति उँचो र फराकिलो बनाइदियो भन्नेमा म प्रष्ट भएर नै मलाई यो पुस्तकबारे केही शब्द टिप्पणी गर्ने जाँगर चलेको हो ।

केन्टकी, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।