14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

संवैधानिक पत्नी

कृति/समीक्षा छविरमण सिलवाल June 14, 2021, 4:58 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

‘लघुकथाले संक्षिप्त रुपमा समाजका विसङ्गति, विडम्वना, राजनीतिक एवम् प्रशासनिक भ्रष्टाचार, घातप्रतिघात, शोषण, अन्याय, अत्याचार र असमानतामाथि प्रहार गर्ने गर्दछ । तिनैमाथिको कथात्मक प्रहार र विरोधको कला नै लघुकथा हो ।’ यस्तै विचारहरु संम्प्रेषण गर्दै लघुकथा लेखनको क्षेत्रमा एउटा अलग्गै पहिचान बनाउँन सफल कृष्ण बजगाईँले भर्खरै ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याएका छन् ।

लघु आकारका तिखा, चोटीला कथाहरुलाई नै हामीले लघुकथा भनेर बुझ्ने गर्दछौँ । नेपाली साहित्यमा लघुकथा लोकप्रिय विधाको रुपमा लिइन्छ । लघुकथामा कलम चलाउँने स्रष्टाहरु धेरै रहेपनि, निरन्तरता दिने कमै मात्रामा देखिन्छन् । अझ लघुकथालाई मात्र आफ्नो मूल विधाको रुपमा पहिचान बनाउने लघुकथाकार त नगण्य रुपमै छन् ।

बजगाईँ लघुकथा लगायत अन्य विधामा पनि निपुर्ण छन् । तापनि लघुकथालाई कहिल्यै दोश्रो विधा ठान्दैनन्, यसैले लघुकथामार्फत समाजका विकृतिलाई झटारो हानिरहेका छन् । कर्मभूमिको सेकेण्ड सेकेण्डको महत्वपूर्ण समयलाई साहित्यमा खर्चिएका छन् । विदेशमा बसेर नेपाली भाषा साहित्यको क्षेत्रमा लाग्न त्यति सजिलो छैन, भन्ने उनले बुझेका छन् । तर पनि नेपाली भाषासाहित्यलाई माया गरिरहन्छन् । अर्को कुरा साहित्य अनुरागीहरुको लागि एउटा प्लेटफार्म बनाएका छन्, समकालीन साहित्य डट कम ।

आजकलको बढ्दो प्रविधिसंगै मान्छेको व्यस्तता, छोटो, छरितो रचना प्रतिको पाठकको आकर्षणका कारणले लघु आकारका रचना लोकप्रिय भएका छन् । पछिल्लो समयमा निकै सशक्त र प्रभावपूर्ण रुपमा लघुकथामार्फत आफ्नो प्रभाव जमाउँन निकै सफल देखिएका छन्, बजगाईँ । समकालीन प्रतिष्ठानमार्फत पुस्तक प्रकाशनको श्रृङ्खलाले पनि उनलाई अब्बल बनाएको छ ।

विदेशमा रहँदा नेपाली राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा साहित्यिक क्षेत्रमा देखिएका विसङ्गतीहरु देखेर उनको मन खिन्न हुन्छ, र यी तमाम विसङ्गतीहरु सकभर हेर्नु नपरोस भन्ने चाहना छ उनको, तथापि, यहाँको परिस्थिति झन जटिल बन्दै गएकोमा चिन्तित छन् । यीनै चिन्ताका रेखाहरुलाई हटाउने प्रयत्न साहित्यमा गरिरहेका छन् ।

डायस्पोरिक जीवनशैली बाँचेर डायस्पोरिक चेतनाबाट पृथक ‘संवैधानिक पत्नी’ भित्रका लघुकथाहरुले नेपाली जीवन र समाजकै सेरोफेरोका यथार्थ चित्र उतारेका छन् । परदेशमा रहेर घरदेशको चिन्ताले उनलाई सताएको देखिन्छ । कहिलेकाहीँ लाग्छ त्यस्तो विकसित मुलुकमा बसेर पनि नेपालको किन चिन्ता लिनु परेको होला ? तर, मान्छे संसारको कुनै पनि मुलुकमा पुगे पनि आफ्नै माटोको सुगन्ध प्यारो हुने रहेछ । त्यसकारण कर्मभूमि उतै भएपनि ढुकढुकी नेपालकै हुने रहेछ । त्यसैले त नेपालमा कुनै विपत्ति अथवा कुनै संकट पर्यो भने पहिलो चिन्ता उनीहरुलाई हुन्छ । देशप्रति केही गर्ने अठोट बोकेर कर्मभूमिमा लागिरहेका हामीले देखेका छौँ ।

घटना, विषयवस्तु र प्रस्तुतिसँगै, रोचक, घोचक र व्यङ्ग्यले भरिपूर्ण उनका लघुकथाले नेपालमा राजनीतिक परिवेशले निम्ताएका दुःखद पक्षलाई उजागर गरेका छन् । नेपाली राजनीतिमा देखापरेका विकृतिप्रति तिखा व्यङ्ग्य छन् । ध्वंसात्मक राजनीति गर्ने प्रवृतिप्रतिको तीब्र व्यङ्ग्यहरु उनका लघुकथाहरुमा रहेका छन् । नातावाद, कृपावाद र नेताहरुका ‘कमाउ’ वृत्तिप्रतिको यथार्थ चित्रण, जातीय र भाषिक विखण्डनको दुष्प्रवृत्तिप्रति व्यङ्ग्यात्मक प्रहार गरेका छन्, बजगाईँले ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रहमार्फत ।

सङ्ग्रहमा ५४ ओटा विविध शिर्षकका लघुकथाहरु रहेका छन् । ‘कमरेडको अन्तर्वार्ता’बाट शुरु भएको र ‘कमरेडको पेट’ कथा अन्तेम रहेको छ । विविध शीर्षकका यी लघुकथाहरुले वर्तमानकै असन्तुष्टीलाई समेट्नुका साथै नेपालमा लोकतन्त्र पछि झाँङ्गीएको विकृति लघुकथाको मूल विषय रहेको देखिन्छ । कमरेडहरुका कर्तुतका पोल लघुकथामार्फत खुलेका छन् ।

पहिले पत्रकारले अन्तर्वार्ता लिंदा धर्म अफिम हो भन्ने, दौरा सुरुवाल नलगाउँने, दसैँको टीका नलगाउने कमरेडहरु पछिल्लो समयमा मन्दिर जाने, टीका लगाउँने, दौरा सुरुवाल लगाउने र भाकल गरेर मन्दिरमा बोका काट्ने भैसकेको समाचार सुन्दा पत्रकार बेहोस भएर ढल्छ । अहिलेको नेपालका कमरेडहरुसँग ठ्याक्कै मिल्छ । जनताका नाममा गरिएका आन्दोलनले जनता भन्दा उनीहरुलाई फाइदा पुगेको छ । यस्ता मिहिन विषयलाई बजगार्इँले लघुकथामार्फट उठान गरेका छन् ।

हामीले भोगका तर, त्यहाँसम्म सोच्न नभ्याएका सुक्ष्म कुराहरुलाई बजगाईँले लघुकथामार्फत प्रस्तुत गरेका छन । ‘महंगीको हत्या’ शीर्षकमा महंगीको हत्या भएको छ, तर यसको हत्यारालाई कारवाही गर्नको लागि राजनीतिक पार्टीका मान्छेहरुले दिँदैनन्, यसको मतलव महंगी गर्ने व्यापारीहरुलाई राजनीतिक संरक्षण देखिन्छ ।

वर्तमान समयको कटु सत्य पनि यहीँ हो । प्रजातन्त्र पछि फस्टाएका धेरै विकृतिहरु ‘अभियुक्त्त सङ्घ’, ‘अपराधी प्रशिक्षण केन्द्र’, ‘मूर्ख सङ्घ’ लगायतका केही शीर्षकहरुले सङ्घ संंस्थाप्रति खरो व्यङ्ग्य प्रहार गरेका छन् । महिला हक अधिकारका बारेमा पनि धेरै लघुकथा रहेका छन्, त्यसमध्ये एउटा छुट्टै महिला राज्यको माग गर्छन, एनजीओ आइएनजीओहरुले । महिलाहरुले परररर ताली पिटछन् ।

उनीहरु नै भन्छन्– ‘हामी उन्नतजातको वीर्य आयात गरेर बच्चा जन्माउँछौ ।’ महिलाहरु झन खुसी हुन्छन् । त्यसमध्ये एउटीले भन्छे– ‘छोरी जन्मे त ठिकै छ, तर छोरो जन्मियो भने नि ?’ महिलाको शासन चलिरहेको कार्यक्रम हलमा सन्नाटा शुरु हुन्छ । यो एउटा संवैधानिक पत्नीको प्रतिनिधि कथामात्र हो ।

नेताहरु मौका मिल्यो भने स्वर्गनै किनबेच गर्छन्, महिला अधिकारकर्मीहरु स्वर्गमा पनि आफ्नो प्रभूत्व खोज्न पछि पर्दैनन् भन्ने कुरा लघुकथा मार्फत बजगाईँले प्रस्तुत गरेका छन् । नेपालमा भूकम्पले पीडित जनताका झुप्राहरु ढल्दा पनि भ्यूटावर ठड्याउने होड चलिरहेको छ । वास्तवमा पहाडै पहाडले घेरिएको मुलुकमा भ्यूटावरको के महत्व तै पनि शासकहरुको यो होडवाजीले नराम्रो प्रभाव जनमनमा परेको थियो ।

त्यसै विषयमा पनि कथाले जनमनको आवाजको प्रतिनिधित्व गरेको छ । पीडित पतिहरुले पत्नीपीडित संस्था खोल्नको लागि गोप्य भेला गर्छन् । उनीहरुले यसको आवश्यकताको बारेमा लामै भाषण दिन्छन् । अन्तमा समिति गठन गर्नको लागि कोही पनि अध्यक्षमा बस्न राजी हुँदैनन् । अन्तमा एउटा ले भन्छ– ‘अरुको बारेमा त जान्दिनँ । तर मचाहिँ पत्नीकै डरले समितिमा नबसेको हुँ ।’

एक पीडितको कुरा सुनिसकेपछि सबैले निकैबेर ताली पिटिरहन्छन् । यी र यस्तै ५४ ओटै दमदार लघुकथाले नेपाली लघुकथाको क्षेत्रमा मानवीय संम्वेदनाका स्वरहरुलाई प्रतिनिधित्व भएको देखिन्छन् । यो उनको अनुभवले खारीएको प्रमाण पनि हो । नेपाली लघुकथालाई अन्तर्राष्ट्रिय जगतमा पुर्र्याउने जिम्मा पनि उनैको छ, नेपाली लघुकथा समाजको अन्तर्राष्ट्रिय संयोजक भएर ।

बजगाईँ लेखनमा त अब्बल नै छन्, सांगठनिकरुपमा पनि अब्बल देखिन्छन् । यसरी समग्र रुपमा हेर्दा बजगाईँका लघुकथाहरु समाजमुखी साहित्यको पक्षमा रहेका छन् । साहित्यले समाजलाई परिवर्तमात्र नगरेर त्यहाँ भएका यथार्थ कुराहरुलाई त्यहीँ समाज समक्ष पस्कनु हो र समाजलाई मार्गनिर्देशन गर्नु हो ।

यस अर्थमा उनका यी लघुकथाहरु निकै उपयोगी रहेका छन् । उनका यी लघुकथाले के स्पष्ट गर्छन् भने उनी स–शरीर परदेशमा रहे पनि उनको मनमस्तिष्क हरक्षण नेपालमै केन्द्रित छ । परदेशका आँखाले घरदेशलाई नियाल्दैछन्, र विकृतिको शल्यक्रिया गरिरहेका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।