14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

परेवाको प्वाँख कवितामा ध्वनिसौन्दर्य

कृति/समीक्षा उषा आचार्य June 16, 2021, 4:04 pm
उषा आचार्य
उषा आचार्य

१. विषयपरिचय
नवराज लम्सालले रचना गरेको ‘परेवाको प्वाँख’ कविता क्रमश ः एक्लै–एक्लै कवितासङ्ग्रहमा सङ्कलित छ । मानिसले हृदयमा झङ्कृत भावलाई साहित्यका विभिन्न माध्यमबाट प्रस्तुत गर्दछ, त्यसमध्ये कविता पनि एक हो । कवितामा वर्तमान समयका विदु्रप चित्र खिचिन्छ । ‘परेवाको प्वाँख’ कवितामा पनि परेवाको प्वाँखलाई बिम्ब बनाएर युद्धले देशलाई भग्नावेशमा पु¥याएको, युद्धका कारण देशका युवा देश छोडेर विदेशिएको र देशमा सोचेजस्तो परिवर्तन आउन नसकेको विषयलाई व्यङ्ग्यार्थमा प्रस्तुत गरिएको छ । अभिधाले वाच्यार्थ, लक्षणाले लक्ष्यार्थ बुझाएर विरत भइसकेपछि बाँकी रहने विशेष अर्थ व्यङ्ग्यार्थ हो र त्यही व्यङ्ग्यार्थ ध्वनि हो । काव्यमा प्रयोग भएका पद, पदावली, वाक्य, प्रकरण र स्वयम् प्रबन्धले अभिधेयार्थ मात्र नबुझाएर त्योभन्दा भिन्न प्रतीयमान अर्थ बुझाउनु ध्वनिसौन्दर्य हो ।
प्रस्तुत अध्ययनमा नवराज लम्सालको क्रमशः एक्लै–एक्लैमा सङ्गृहीत ‘परेवाको प्वाँख’ कवितामा अभिव्यञ्जित ध्वनिसौन्दर्यको उपस्थिति पूर्वीय साहित्यसिद्धान्तअन्तगर्त ध्वनिका कोणबाट गरिएको छ । उक्त कवितामा केकसरी ध्वनिसौन्दर्यको प्रतीति भएको छ भन्ने प्राज्ञिक समस्यामा केन्द्रित रही कवितामा निहित ध्वनिसौन्दर्यको विश्लेषण गर्ने कार्यलाई मुख्य उद्देश्य बनाइएको छ । पूर्वीय साहित्यपरम्परामा ध्वनिकाव्यलाई सबल मानिएकाले यस कोणबाट साहित्यको विश्लेषण गर्नु आवश्यक देखिन्छ । नवराज लम्सालका कविताले अभिधेय अर्थभन्दा माथि उठेर प्रतीयमान अर्थ प्रस्तुत गरेका छन् । उनका कवितालाई अन्य सिद्धान्तका कोणबाट अध्ययन गरिए पनि ध्वनिसौन्दर्यका पक्षबाट अध्ययन गरिएको पाइँदैन । ‘परेवाको प्वाँख’ कवितामा बिम्बको प्रयोग गरी वर्तमान समयको अभिघात प्रस्तुत गरिएकोले ध्वनिसौन्दर्यका कोणबाट अध्ययन गर्नु औचित्पूर्ण छ । ‘परेवाको प्वाँख’ कवितालाई अन्य सिद्धान्तका आधारमा विश्लेषण गर्न सकिने देखिए पनि यस अध्ययनमा ध्वनिसौन्दर्यका कोणबाट मात्रै विश्लेषण गरिएको छ ।
२. सैद्धान्तिक पर्याधार
ध्वनि सिद्धान्त पूर्वीय साहित्य सिद्धान्तमा महŒवपूर्ण प्राप्तिका रूपमा रहेको छ । ध्वनि शब्द वैदिक कालदेखि चर्चामा रहे पनि आनन्दवर्धनले ध्वन्यालोक ग्रन्थमार्फत यसको सैद्धान्तिक स्थापना गरेका हुन् । संस्कृत काव्यशास्त्र परम्परामा भरतको नाट्यशास्त्रपछि अलङ्कार, गुण, दोष, रीति सिद्धान्तका साथै रससूत्रको व्याख्याका क्रममा फरकफरक मत देखिएको पृष्ठभूमिमा ध्वनि सिद्धान्तको स्थापना भएको हो । व्याकरणको स्फोटवादसँग जोडिएको ध्वनिसिद्धान्तमा साहित्यका वाच्य र प्रतीयमान दुई अर्थ हुने र प्रतीयमान अर्थ नै ध्वनि बन्ने ध्वनिकारहरूको मत रहेको छ । यस सम्बन्धमा ध्वन्यालोकमा ध्वनि काव्यको आत्मा हो भन्ने कुरा विद्वानहरूले भनिसकेका छन्, काव्यको आत्मा मानिएको सहृदयश्लाध्य अर्थ ध्वनि हो र त्यसका वाच्य र प्रतीयमान दुई भेद छन् जहाँ शब्द वा अर्थले प्रतीयमान अर्थको प्राप्तिका लागि आफ्नो अर्थको परित्याग गरिदिन्छ र कुनै काव्यविशेषलाई व्यक्त गर्दछ, त्यस्तो काव्य ध्वनि हो भनी उल्लेख गरिएको छ (उपाध्यायक, २०६७ ः १९१) । ध्वनिको स्थापनापछि यसको खण्डन र मण्डन हुँदै आएको देखिन्छ । ध्वनिको व्यापक विरोध गरिए पनि अभिनव गुप्त र मम्मटले यसको पुनस्र्थापना गरे । आनन्दवर्धनले ध्वनिको महŒवपूर्ण पक्ष रसभावलाई मानेका छन् । उनले ध्वनि र रसबीच व्यङ्ग्य– व्यञ्जक, कार्य –कारण सम्बन्ध स्थापना गर्दै रसभाव युक्त काव्य ध्वनि काव्य हुने विचार प्रस्तुत गरेका छन् । उनले ध्वनिका सामान्य र विशिष्ट दुई अर्थ छन् । सामान्य अर्थमा त्यो वस्तु, अलङ्कार वा वाच्यार्थ हुन्छ भने विशिष्ट अर्थमा प्रतीयमान वा रसादि ध्वनि बन्दछ भनेका छन् (उपाध्यायक, २०६७ ः पृ. १९८) । आनन्दवर्धनले रसलाई उच्च महŒव दिएर त्यसकै केन्द्रियतामा ध्वनिको व्याख्या गरेका छन् । उनले रसध्वनिलाई काव्यको आत्मा मानी रसले युक्त काव्यलाई नै ध्वनिकाव्य मानेका छन् ।
कुनै पनि कृतिको ध्वनि पहिचान गर्नु वा अर्थ निर्धारण गर्ने काम ध्वनिवादी समालोचनामा गरिन्छ । यस्तो समालोचनामा ध्वनिको आश्रयलाई, स्वरूप र त्यस काव्यको स्तरलाई हेर्नुपर्ने उल्लेख गरिएको छ । जुन अर्थका लागि शब्द वा अर्थले आफ्नो अर्थ वा अभिप्रायलाई त्यागिदिन्छन् र कुनै विशिष्ट भावलाई व्यक्त गर्छन् त्यस्तो व्यङ्ग्य भएर आउने काव्यको वस्तुविशेषलाई विद्वानहरूले ध्वनि मानेका छन् । अभिनव गुप्तले वाच्यविशेष अर्थ वा वाचकविशेष शब्दले अत्यन्त चमत्कारजनक व्यङ्ग्यार्थलाई व्यक्त गर्दछ भने त्यो ध्वनिनामक उत्तम काव्य मानेका छन् । शब्द र अर्थ दुवैबाट ध्वननव्यापार हुन्छ । यो परस्पर विरूद्ध नभई सहकारी रूपमा हुन्छ भनेका छन् । यसै सम्बन्धमा विश्वनाथले अर्थले शब्दबोध्यभावलाई नै व्यक्त गर्दछ र शब्द पनि अर्थको आश्रित हुन्छ । एकको व्यञ्जकतामा अर्को सहयोगी हुन्छ भनेका छन् (उपाध्यायख, २०६७ ः २२०) । अर्थमा वा भनाइमा चमत्कार हुनु नै ध्वनि हो । ध्वनिले काव्यको कोटी निर्धारण गर्दछ । ध्वनिलाई केन्द्रमा राखेर काव्यशास्त्रीहरूले काव्यको स्तर निर्धारण गरेका छन् । ध्वनिकै केन्द्रियतामा आनन्दवर्धनले ध्वनि काव्य र गुणीभूत व्यङ्ग्य काव्य भनी दुई भेदमा विभाजन गरेका छन् र मम्मटले ध्वनिकाव्यलाई उत्तम काव्य, गुणीभूत व्यङ्ग्य काव्यलाई मध्यम काव्य र चित्रकाव्यलाई अधम काव्य गरी तीन प्रकारमा स्तरीकरण गरेका छन् (गड्तौला, २०७१ ः९४) ।
ध्वनिको स्वरूप निर्माण गर्ने क्रममा अभिनव गुप्तले ध्वनिसिद्धान्तको खण्डनमाथि प्रहार गर्दै जसले ध्वनित गराउँछ, जो ध्वनित हुन्छ, जसद्वारा ध्वनित हुन्छ त्यो शब्द र अर्थ अर्थात् वस्तु, अलङ्कार र रस ध्वनित हुनु नै ध्वनि हो (सन् १९९६ ः ३७) भनेका छन् । उनको यही मान्यतामा केन्द्रित रहेर शैलेन्दुप्रकाश नेपालले ध्वनिका कोणबाट काव्य विश्लेषणका स्पष्ट आधार प्रस्तुत गरेका छन् । उनले कुनै पनि पाठको ध्वनिपरक समालोचना गर्दा आश्रयगत, स्वरूपगत र कोटीनिर्धारण तीन पक्षलाई आधार बनाउनुपर्ने (२०६८ ः ३६–४३) उल्लेख गरेका छन् । प्रस्तुत अध्ययनमा नवराज लम्सालको ‘परेवाको प्वाँख’ कवितालाई ध्वनिसिद्धान्तका आधारभूत मान्यतामा केन्द्रित रही माथि उल्लेख गरिएका आश्रयगत र स्वरूपगत दुई कोणबाट विश्लेषण गरिएको छ ।
३. परेवाको प्वाँख कविताको ध्वनिपरक विश्लेषण
प्रस्तुत अध्ययनमा परेवाको प्वाँख कवितामा निहित ध्वनिलाई ध्वनितात्विक समालोचनापद्धतिका आधारमा अध्ययन गरिएको छ । यहाँ सो कवितामा रहेको ध्वनिलाई आश्रयगत, स्वरूपगत र कोटीनिर्धारण तीन कोणबाट विवेचना गरिएको छ ।
३.१ आश्रयगत
कुनै पनि काव्यले वाच्यार्थ मात्र व्यञ्जित गर्दैन । त्यसमा ध्वन्यार्थ निहित हुन्छ । काव्यमा निहित ध्वन्यात्मकता पहिचान गर्नका लागि पद, पदावली, वाक्य, प्रकरण र प्रबन्धमा आश्रित रहेको व्यङ्ग्य अर्थको खोजी गरिनुपर्छ । प्रस्तुत परेवाको प्वाँख कवितामा शीर्षक, पद, पदावली, वाक्य, प्रकरण तथा प्रबन्धका तलमा ध्वनि आश्रित रहेको देखिन्छ । यस अध्ययनमा उक्त कविताको पद, पदावली, वाक्य, प्रकरण र प्रबन्धमा आश्रित ध्वनिको निरूपण गरिएको छ ।
३.१.१ शीर्षकाश्रित ध्वनि
प्रस्तुत परेवाको प्वाँख शीर्षकको कविता २०६२ सालको जनआन्दोलनको परिवेशलाई केन्द्र बनाई रचना गरिएको हो । यस कविताको शीर्षकले सोही समयको नेपाली परिस्थितिको प्रतिनिधित्व गरेको छ । यस कविताको शीर्षक वाच्यार्थमा एउटा पङ्छी परेवाको प्वाँख भन्ने छ भने त्यही वाच्यार्थ तिरस्कृत भई शान्ति भन्ने व्यङ्ग्यार्थ ध्वनित भएको छ । यहाँ परेवाको प्वाँख शान्तिको प्रतीकका रूपमा आएको छ । प्रस्तुत कवितामा परेवाको प्वाँखलाई युद्धको द्रष्टाको रूपमा चित्रण गरिएको छ । शान्तियुक्त परेवाबाट प्वाँख खस्नुले शान्ति खण्डित हुन लागेको सङ्केत गरेको छ । प्वाँखले छोएपछि बमको डोब मेटिनुले शान्तिको खण्डित अंशमा पनि त्यसको गुण निहित भएको र त्यसले सबै चोट निको पार्न सक्ने सङ्केत कवितामा गरिएको छ । प्वाँखले युद्धले भग्नावेश बनाएका स्थलको अवलोकन गर्नु, कविलाई स्पर्श गर्नु, प्वाँखले छोएपछि बमका डोब मेटिनु, खुसीको आगमन हुनु, सबै प्रिय लाग्न थाल्नु जस्ता सन्दर्भले प्रस्तुत कविताको शीर्षक ‘परेवाको प्वाँख’ले शान्तिलाई ध्वनित गरेकाले शीर्षकका तहमा पनि ध्वनिसौन्दर्य रहेको देख्न सकिन्छ ।
३.१.२ पदाश्रित
परेवाको प्वाँख कवितामा रहेका कतिपय पदले वाच्यार्थभन्दा भिन्न अर्थ प्रतीत गरेर ध्वनि उत्पादनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । यहाँ कविताका केही पदलाई साक्षीको रूपमा राखेर पदमा निहित ध्वनिगत सन्दर्भलाई प्रस्तुत गरिन्छ ः
खरको छानामाथि बसेर
पोथीको चुच्चो कन्याउँदै गरेको परेवाको शरीरबाट
फुत्त खस्यो एउटा प्वाँख
प्रस्तुत उदाहरणको अध्ययन गर्दा परेवाको प्वाँख भन्ने पदमा ध्वन्यात्मकता रहेको देखिन्छ । यहाँ परेवाको प्वाँख पदले शान्ति भन्ने अर्थ ध्वनित गरेको छ । कविताको यस हरफमा नेपाल शान्तिपूर्ण देश हो तर पनि यहाँ बेलाबेलामा युद्ध र क्रान्ति पनि हुँदै आएको भाव प्रकट भएको छ । । प्रस्तुत साक्ष्यमा परेवाको शरीरबाट प्वाँख खस्नुले शान्ति क्षिण हुँदै गएको प्रसङ्गलाई ध्वनित गरेको छ । यसरी प्रस्तुत पदमा एउटा पूर्ण शान्ति खण्डित हँुदै गएको भाव व्यञ्जित भएको छ ।
हल्का हुरी चल्यो
सँगै हिँडे हुरी र प्वाँख
प्रस्तुत उदाहरणमा प्रयोग भएको हुरी पदमा ध्वनि निहित छ । यस पदले आन्दोलनको सुरुवात भएको समयलाई सङ्केत गरेको छ । यहाँ हल्का हुरी चल्नुले क्रान्तिको आरम्भ हुनु भन्ने अर्थ ध्वनित गरेको छ । त्यस्तै हुरी र प्वाँख सँगै हिड्नुले पनि क्रान्ति र शान्ति सँगै अगाडि बढेको प्रतीत हुन्छ । नेपाली जनता बर्षौँदेखि राज्यशासनबाट शोषित र उत्पीडित हुदै आए, उनीहरूको स्वतन्त्रताको अपहरण गरियो र त्यही हरण भएको स्वतन्त्रता प्राप्ति र जनस्तर सुधार गर्नका लागि क्रान्तिको आवश्यकता परेको हुँदा लोकतन्त्रका निम्ति सुरु गरिएको आन्दोलनलाई माथिको पदले सङ्केत गरेको छ । यसमा प्रयुक्त हुरी पदले क्रान्ति वा युद्ध भन्ने अर्थ ध्वनित गरेको सिद्ध हुन्छ ।

३.१.२ पदावलीआश्रित
प्रस्तुत परेवाको प्वाँख कवितामा रहेका कतिपय पदावलीहरू ध्वनि आश्रित रहेको पाइन्छ । यस अध्ययनमा उक्त कविताका केही पदावलीलाई साक्षीको रूपमा प्रस्तुत गरी पदावलीआश्रित ध्वनि निरूपण गरिएको छ ।
खण्डहरजस्तो लाग्ने पुरानो घरको
भित्ता मुसार्दै खस्यो र टक्क अडियो भत्किएको पर्खालमाथि
यहाँ खण्डहर घर र भत्किएको पर्खाल पदावलीमा अर्थसङ्क्रमण भई ध्वनि प्रकट भएको छ । यसमा खण्डहर घर भन्ने पदावली मार्फत युद्धका समयमा विक्षिप्त भएको गाउँ भन्ने अर्थ ध्वनित भएको छ । त्यस्तै भत्किएको पर्खाल पदावलीले युद्धको कारण मानिसमा पैदा भएको अविश्वास वा हराएको आस्था भन्ने अर्थ व्यञ्जित गरेको छ । यहाँ घर भनेको गाउँ हो जुन गाउँ अवशेषको रूपमा रहेको छ । शान्त गाउँ भग्नावेशमा पुगेको र त्यहाँका मानिसमा रहेको आपसी मेलमिलाप, सहभाव, विश्वास, आस्था सबै हराउन लागेको प्रसङ्ग माथिका पदावलीले चित्रण गरेका छन् । त्यही खण्डित र आस्था मेटिएको गाउँमा शान्ति पनि अडिन बाध्य भएको ध्वन्यात्मकता माथिका पदावलीमा व्यक्त भएको छ ।

तिनकै पैतालाको डाम मेटेर भत्किएको छ पर्खाल
यहाँ प्रयुक्त पैतालाको डाम पदावलीले नेपालीको अस्तित्वलाई ध्वनित गरेको छ । यसले युद्धपूर्व थोरै प्राप्तिमा जिन्दगी खोज्ने र त्यहीँ रमाउने नेपालीको अस्तित्व नै मेटेर आज देश र शान्तिप्रतिको आस्था भत्किएको सङ्केत गरेको छ । पैतालाको डाम कवितामा नेपालीको पहिचान, चिनो र अस्तित्वका रूपमा आएको छ । यहाँ पुर्खाले सुरक्षित गरेर राखेको मौलिक पहिचान र स्वाभीमान आज मेटिएको सङ्केत गरिएको छ । जनआन्दोलनपूर्व नेपाली जनताको आर्थिक, सामाजिक र राजनीतिक स्थिति दयनीय रहेको त्यस्तो कठिन अवस्थामा पनि उनीहरू आफ्नो पहिचान र स्वाभीमानका साथ बाँचेका, त्यही स्वाभीमानसिद्धि र स्वतन्त्रता प्राप्तिका लागि आन्दोलन सुरु भएको भाव कविताको यस पदावलीमा ध्वनित छ । आन्दोलनसँगै ती पुराना पहिचान, स्वभाव, विचार, समवेदना पन मेटिदै गए भन्ने अर्थ माथिको पैतालाको डाम पदावलीमा निहित छ ।
खाल्टो छेउ हिलैमा देखेँ फुल्नै लागेका आरु
र हाँगैमा निदाउँदै गरेको एक्ले ढुकुर
प्रस्तुत पङ्तिमा आएका फुल्नै लागेका आरु र एक्ले ढुकुर पदावलीमा ध्वनि आश्रित छ । यहाँ फुल्नै लागेका आरु पदावलीले मानिसले प्राप्त गर्न सक्ने खुसी, स्वतन्त्रता र अधिकारलाई सङ्केत गरिएको छ भने एक्ले ढुकुर निदाएको प्रसङ्गले मानिस पहिलेजस्तो समूहमा बस्न छोडेको, एक्लै पनि आनन्द लिन सक्ने अर्थात् सामूहिक जीवनशैलीबाट एकल जीवनतर्फ उन्मुख हुन खोजेको भाव ध्वनित भएको छ । ।
यसरी परेवाको प्वाँख कवितामा प्रयोग भएका पदावलीले प्रतीयमान अर्थ ध्वनित गरेका छन् । पदावलीमा आश्रित रहेर पनि ध्वनिले काव्यलाई ध्वनिकाव्यको कोटीमा पु¥याउन मदत गरेको छ ।
३.१.३ वाक्याश्रित
धुरीमाथि उसै गरी मायामा लिप्त छन् परेवा जोडी
प्रस्तुत वाक्यमा परेवाका जोडी धुरीमाथि बसी मायामा लिप्त भएको अभिधेयार्थबाट युद्धको समयमा पनि शान्तिको विशेषतामा परिवर्तन नआएको, शान्तिको गुण बाँकी नै रहेको अर्थ प्रतीत भएको छ । साथै यसले देशमा यति ठूलो आन्दोलन भयो, युवाहरू देश छोडेर गए, जुन सपना र उद्देश्य लिएर युद्ध गरिएको थियो त्यो पूरा नभएको स्थितिमा शान्ति अझै पनि पुरानो स्वरूपमै रहेकोले त्यसको सम्मान गर्नुपर्ने भाव माथिको वाक्यमा प्रस्तुत भएको छ । यसमा मूलतः देशको तत्कालीन आवश्यकताबारे नसोची आफ्नै रहरमा अल्झिएका मानिस भन्ने अर्थ ध्वनित भएको छ ।

पार तापेर निष्फिक्री बसेको छ कालो बिरालो
प्रस्तुत वाक्यमा कालो बिरालो निष्फिक्री पार तापेर बसेको वाच्यार्थबाट देशमा अझै पनि सङ्कट बाँकी रहेको ध्वन्यार्थ व्यक्त भएको छ । कालो बिरालोलाई अशुभ वा कुनै अपसकुन, दुर्घटनाको प्रतीकको रूपमा लिइने हुँदा कवितामा यसलाई विनाशकका रूपमा बिम्बित गरिएको छ । युद्धले देशमा विनाश ल्यायो, परिवर्तनका नाममा नेपालीको खुसी लुटियो, जनताको स्वतन्त्रता र समृद्धिका लागि युद्ध गरिएको भए पनि वास्तवमा त्यो विकास नेपाली जनतासम्म पुग्न नसकेको सन्दर्भमा प्रस्तुत वाक्यले देशमा शान्ति र सुरक्षाको अनुभूति गर्न नसकिएको, अझै पनि देशमा आन्दोलन हुने सम्भावना रहेको भाव प्रकट गरेको छ । त्यस्तै कालो बिरालोलाई आक्रामक प्राणीको रूपमा पनि लिइने हुँदा यसका माध्यमबाट केही मानिसहरू आक्रमणको लागि मौका पर्खेर बसेको सङ्केत कविताको यस वाक्यबाट ध्वनित भएको छ ।

तिर्खै तिर्खामा बेपरबाह बगेको छ दूधजस्तो पानी
यस वाक्यमा प्रस्तुत भएको दूधजस्तो पानी तिर्खै तिर्खामा निरन्तर बगेको छ भन्ने अभिधेयार्थबाट नेपालीले लामो समयदेखि स्वतन्त्रता, समानता र अधिकार चाहेको, अहिले लोकतन्त्रसँगै सो अधिकार पनि प्राप्त भएको छ भन्दै सो अधिकार उपयोग गर्ने भाव अभिव्यक्त भएको छ । यस वाक्यबाट नेपालीमा वर्षौँवर्षौँदेखि लोकतन्त्रको उच्च चाहना रहेको र अहिले त्यही सुन्दर, स्वच्छ र पवित्र लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा आफूभित्रको अतृप्त चाहना पूरा गर्नुपर्ने ध्वन्यार्थ प्रतीत भएको छ ।
आफैँ फूल हुँदो रहेछ मान्छे फूलभन्दा पनि सुन्दर
प्रस्तुत वाक्यमा मानिस फूलभन्दा पनि सुन्दर फूल हुँदो रहेछ भन्ने वाच्यार्थबाट जब शान्तिको प्रार्दुभाव हुन्छ तब जगत् सुन्दर र पवित्र लाग्छ, मानिस खुसी र सुखी बन्न सक्छ र जसरी फूलले अरूलाई आकर्षण गरी प्रिय बन्न सक्छ त्यसैगरी मानिस पनि सबैको प्रिय बन्न सक्ने भाव व्यञ्जित भएको छ । फूलले आफ्नो सुगन्ध र सुन्दरताले अन्य प्राणीलाई प्रभाव पार्न सक्छ त्यसै गरी मानिसले पनि आफूभित्र रहेको सद्गुण र शान्तिका कारण अरूमा सकारात्मक प्रभाव पार्न सक्छ र त्यस्तो अवस्थामा ऊ सबैभन्दा सुखी बन्न सक्छ भन्ने अर्थ माथिको वाक्यबाट ध्वनित भएको छ ।
३.१.४ प्रकरणाश्रित
प्रस्तुत ‘परेवाको प्वाँख’ कविताका प्रकरणमा ध्वनि आश्रित रहेको पाइन्छ । उक्त कविता फुटकर भएकोले यसका अनुच्छेदलाई प्रकरणको स्तरमा विश्लेषण गर्न सकिन्छ । प्रस्तुत कविता आठ वटा अनुच्छेदमा संरचित छ । यस अध्ययनमा उक्त कविताका आठ वटा अनुच्छेदले ध्वनित गनेको अर्थको निरूपण गरिएको छ ।
‘परेवाको प्वाँख’ कविताको पहिलो प्रकरणमा जम्मा पाँचवटा हरफ रहेका छन् । प्रस्तुत प्रकरण कविताकोे सन्दर्भप्रकरणका रूपमा आएको छ । यसमा खरको खानामाथि बसेर पोथीको चुच्चो कन्याउँदै गरेको परेवाको शरीरबाट प्वाँख खसेको र त्यो प्वाँख भग्नावशेष घरको भित्ता छुँदै भत्किएको पर्खालमा अडिएको वाच्यार्थबाट शान्ति बिस्तारै अशान्तिमा परिणत हुन लागेको छ भन्ने भाव ध्वनित भएको छ ।
दोस्रो अनुच्छेद अर्थात दोस्रो प्रकरणमा कविताको विस्तार भएको छ । यसमा परेवाको प्वाँखले त्यही पुरानो घरमा रमाउने बुढा बा र आमालाई नभेटेको र तिनीहरूकै खुट्टाको डोब मेटेर पर्खाल भत्किएको उल्लेख गरिएको छ । कवितामा ती बुढा बा आमाले छापेको ढुङ्गा उप्किएर आँगन नाङ्गो भएको, भित्ता भत्किएको, दलिनको नजिकै पीपल उम्रिएको र त्यही पीपलको पातमा जटिल प्रश्न पैदा भएको बताइएको छ । कवितामा जटिल प्रश्नको अगाडि प्राप्ति पनि सञ्चय नभएकोले प्रश्न सुनसान भएको र प्राप्ति निःशब्द रहेको त्यसै कारण गाउँको बास उठेको वाच्यार्थबाट पुर्खाले निर्माण गरेको यो देशमा तिनै पुर्खाको अस्तित्व मेटिएको सङ्केत गरिएको छ । कवितामा प्रस्तुत सहजता र सौहार्दको प्रतीक मानिने पीपल दलिन छेऊमा उभिए पनि त्यसमा जटिल प्रश्न छ भनी नेपालीको आस्था विश्वास र नेपालीले मान्ने भगवान पनि जटिल बनेको प्रतीत हुन्छ । प्वाँख अर्थात् शान्तिप्रिय मानिसको चेतनामा प्राप्ति सञ्चित हुन नसकेकोले प्रश्न पनि उत्तरविहीन बनेको र प्राप्ति क्षिण बनेको स्थिति कथामा रहेको छ । यही उत्तरविहीन प्रश्नका माध्यमबाट कवितामा यो देशमा बसेका देशबासी र खुसीको जीवन सबै बिरानो भएको र आफ्नो देश छोडेर गएको ध्वन्यार्थ ध्वनित भएको छ ।
प्रस्तुत कविताको तेस्रो प्रकरणमा युद्धको प्रभावलाई देखाइएको छ । यसमा हल्का हुरी चलेकोले प्वाँख र हुरी सँगै हिँडेको, युद्धको समयमा आधा जलेको दाजुबहिनीको तस्बिर इतिहासका प्रवर्तकजस्ता देखिन्थे तर छेवैमा पूजाको थाली घोप्टिएको थियो, चुलोमाथि कुच्चिएको कसौँडी र नालमा मदानी र नेती सिउरिएको थियो भन्ने विषय प्रस्तुत गरिएको छ । कवितामा त्यही परिवेशमा पेरेवाको प्वाँख नाचिरहेको र मान्छेको आलो बास्ना सुँघिरहेको वाच्यार्थबाट देशमा क्रान्तिको सुरुवात भएको, सोही क्रान्तिमा शान्तिको आशा वा मधुर किरण पनि सँगै भएको, युद्धको समयमा धेरैले आफ्नो ज्यानको बलिदान दिएको, इतिहासको रचना गरेको । देशमा परिवर्तनको लागि क्रान्ति गरिए पनि त्यसको शुभ लक्षण देख्न नपाइएको र देशमा भएको गरिबी र अभाव पनि नहटेको भाव व्यङ्ग्यार्थमा ध्वनित भएको छ । युद्धअघि नेपाली गरिब जनताको स्थिति जस्तो थियो अहिले पनि त्यस्तै रहको तर ती मानिसका सपना अझै ताजा बनेको, परिवर्तनको आशा नमरेको देशको लागि बलिदान गर्ने मानिसको बलिदान अझै साकार नभएकोले क्रान्तिको आवश्यकता भाव कविताको यस प्रकरणमार्फत ध्वनित भएको छ ।
कविताको चौथो प्रकरणमा घरको धुरीमाथि प्रेममा समर्पित परेवाको जोडी बसेको र त्यही धुरीमा धाँस उम्रिएको छ जहाँ कालो बिरोलोले निष्फिक्री बसेर घाम तापिरहेको छ भनिएको छ । यसमा गोठालाहरूले टाढा फुकेको बाँसुरीको धुन सुनिएको र जङ्गलबाट एक हुल गाई पानी खोज्दै आएको विषयको चित्रण छ । कवितामा आएको पोखरीको छेऊमा दूधजस्तो पानी बगे पनि मानिसले वर्षाैँदेखिको तिर्खा नमेटेको वाच्यार्थबाट शान्तिका भित्री गुण र विशेषता बाँकी रहेको तर त्यस खुसी र समर्पणमा पनि अनगिन्ति कठिनाइहरू छन्, देशमा अझै सङ्कट टरेको छैन भन्ने सङ्केत गरिएको छ । कवितामा युद्धपछि मानिसमा सुखी जीवन र अधिकार प्राप्त भए पनि त्यो अधिकारको प्रयोग गरी मानिसले वर्षौँदेखिको स्वतन्त्रताको चाहना पूरा गर्न किन सकेको छैन भन्ने जिज्ञासा वा प्रश्न नै यस प्रकरणमा ध्वनिको रूपमा प्रकट भएको छ ।
प्रस्तुत कविताको पाँचौँ प्रकरणमा आएको प्वाँख हातमा आउनु, मुसार्न नपाउँदै टाउकोमा बस्नु, आँखाभरि रङहरूको जुलुस आउनु, कानमा मुक्तिका गीत आउनु, विदेश गएकाहरू नफर्कनु गाउँको गल्ली बूढो हुनु र त्यहाँ तन्नेरी सुवास आउनु, विदेश पस्नुअधि युवकले आमाको हातबाट टीका लगाएर बिदाइको माला हल्लाए जस्तै युद्धमा जानेले पनि अबिर र माला लगाएर गएको वाच्यार्थबाट शान्तिको चाहना राख्ने शान्तिको प्रतीक प्वाँखले परिवर्तन चाहेको र त्यसले स्वतन्त्रताको लागि आह्वान गरेको भाव प्रकट भएको छ । कवितामा जनआन्दोलनका क्रममा बगेको रगत र मुक्तिका लागि गाइएका गीत, देशमा भएका जातीय, वर्गीय र लैङ्गीय रङका विरुद्धमा गरिएका आन्दोलन र मुक्तिका आवाजहरू आज पनि ताजा रहेको, ती मुक्तिका सपना छोडेर आफ्नो देश छोडेर विदेश गएका युवाहरू नफर्किएका कारण देश युवाविहीन बनेको अवस्थामा देशले अझै पनि युवाहरूलाई खोजिरहेको छ, उनीहरूको खाँचो छ भन्ने भाव प्रस्तुत गरिएको छ । । विदेश जाँदा र लडाइँमा जाँदा आमाले रातो टीका र विदाइको माला लगाइदिएको तर विदेश गएका र लडाइँमा गएका दुबै नफर्किएपछि देशमा युवाहरूको केवल याद र चाहना मात्र बाँकी रहेको भाव कविताको यस प्रकरणबाट ध्वनित भएको छ ।
यस कविताको छैटौँ अनुच्छेदमा रगत कटकटिएको फलैँचामा प्वाँख बसेपछि बमविष्फोटको खाल्टो पुरिएको देखिनु, आरुका बोटमा फूल फुल्नु, ढुकुर एक्लै पनि निदाउन सक्नु, हिमाल र आकाश खुल्नु, परेवाको प्वाँखले छोएपछि छातिमा हिमाल रहेको थाहा पाउनु, आँखामा रहेको आकासमा सपनाको राजमार्ग खुल्नु, मान्छे फूल हुनु वाच्यार्थ प्रकट भएको छ । यही वाच्यार्थबाट कवितामा युद्धको जिजीविषाको बीचमा जब शान्तिको प्रभाव प¥यो तब युद्धले निम्त्याएका परिणाम पनि बिस्तारै हराउँदै गए, खुसीको बहार आउन थाल्यो र सुरक्षा प्राप्त भयो, एक अर्कामा पैदा भएको अविश्वास अन्त्य भई विश्वासको वातावरण बन्न थाल्यो भन्ने ध्वन्यार्थ प्रकट भएको छ । त्यस्तै जब मानिसमा रहेको चेतना उदायो तब मानिसमा रहेको मानवता, प्रेमको महशुस हुन थाल्यो र समृद्धिका सपना देख्न थालियो जसका कारण मान्छै आफैँ फूलजस्तै सुन्दर, कोमल र प्रिय बन्न सकेको भाव कविताको प्रस्तुत प्रकरणमार्फत ध्वनित भएको छ ।
प्रस्तुत कविताको सातौँ अनुच्छेदमा यही घरबाट रङहरूको जुलुस निस्किएको, त्यहीँबाट मुक्तिको बाजा र मान्छेको गीत बजेको, टीका लगाइदिने हात नभेटिएको, युद्धमा दौडिएका खुट्टा नभेटिएको, आफू पनि खण्डहरको अगाडि एक्लै भएको, कसैलाई आफ्नो नाम थाहा नभएको, क्षतविक्षत घरको बारेमा सुन्ने कोही नभएकोले परिवर्तनका समृद्ध सपना पनि नभेटिएको र मान्छे नै नभएपछि विकास र प्रगतिका कुरा व्यर्थ रहेको वाच्यार्थ प्रकट भएको छ भने यस मुख्यार्थमा बाधा उत्पन्न भई युद्धको बेलामा यही देशबाट मानिसको स्वतन्त्रता, समानता र मुक्तिको लागि आन्दोलन सुरु भएको, त्यस समयमा आशीर्वाद दिने मानिस अहिले नरहेको र युद्धको समयमा खटिएका वीरहरू अहिले अस्ताएको अर्थ प्रकट भएको छ । त्यसैगरी देश विक्षत भएको, खण्डखण्ड भएको र त्यसको कथा र व्यथा सुन्ने मानिस सम्म देशमा नभएको भाव कविताको यस प्रकरणबाट प्रतीत हुन्छ । यहाँ देशमा भएका मानिसहरू कति देशकै निम्ति सहिद भएर नफर्किने भए भने कोही विदेश गएर उतै बस्न थालेको यथार्थ प्रस्तुत गर्दै जब देशमा मानिस नै छैनन् भने उनीहरूका लागि विकास, समृद्धि र प्रगतिका कुरा गर्नु व्यर्थ छ भन्ने लक्षार्थ प्रकट भएको छ ।
कविताको अन्तिम अनुच्छेदमा व्यक्त भएको प्वाँख हलुका छ र आफूसँगै बस्न खोज्छ तर हातमा दलका झण्डा र काँधमा दलकै मुखियालाई राखेर तार्नुपर्ने, टाउकोमा पनि अनेकन गाली र घृणा भरिएका कारण प्वाँखलाई राख्ने ठाउँ नभएको वाच्यार्थमार्फत त्यही प्वाँखमा शान्तिको सपना, घरको सपना, रगतको आशीर्वाद कलिला बालकको पैताला मिसिएको तर त्यति सानो प्वाँखलाई राख्ने ठाउँ नभएको बेला देशले यति धेरै मान्छेलाई आफूभित्र कसरी अटाउला भन्ने प्रश्न ध्वन्यात्मक रूपमा प्रस्तुत गरिएको छ । शान्ति हामीमा समाहित हुन खोजेको तर हामी त्यसलाई दलका पछि लागेर वास्ता गर्दैनौ तर त्यो विचार र चेतनामा शान्तिको चाहना छ, यो देशको व्यथा छ , वीर सहिदको बलिदान छ अनि सानासाना बालबालिकाको सुनौलो भविष्य छ तर हामीले त्यति पनि विचार गर्न सक्दैनौँ भने यो देशले यति धेरै मानिसका आवश्यकता पूरा गर्नुपर्छ, स्वदेशमा फिर्ता ल्याउनुपर्छ भन्नु पनि व्यर्थ छ भन्ने व्यङ्ग्यार्थ कविताको प्रस्तुत अनुच्छेदमा प्रकट भएको छ ।
‘परेवाको प्वाँख’ कविताका प्रकरणहरूमा युद्धका कारण देश खण्डहर बनेको, देशका कैयौँ युवाहरू युद्धमा मारिएका र कतिपय विदेश पलायन भएका कारण देशमा युवाको खाँचो रहेको भाव व्यक्त भएको छ । यहाँ हरेक मानिसमा शान्तिको चाहना र सपना हुन्छ तर पनि उसले शान्ति अशान्तिमा परिणत हुँदै गएकोले सबै विदेशिएको, त्यही शान्ति ल्याउनका लागि देशलाई युवाको खाँचो भए पनि कोही फर्किएर नआएको भाव ध्वनित भएको छ ।
३.१.५ प्रबन्धाश्रित
प्रस्तुत कविता कविको एकालापीय शैलीमा अगाडि बढेको छ । यसमा कविले युद्धपश्चातको नेपालको परिवेशको चित्रण गरेका छन् । परेवाले पोथीको चुच्चो कन्याउनु, प्वाँख खस्नु, पुरानो घरको पर्खालमा अडिनु, पहिलेका केही नभेटिनु, प्वाँख हुरीसँगै उड्नु, दाजुबहिनीको जलेका तस्बिर देखिनु, पूजाको थाली र कुच्चिएको कसौँडी भेटिनु, प्वाँखले मान्छेको बास्ना सुँध्नु, कालो बिरालो निडर भएर बस्नु, गोठालाले बाँसुरी बजाउनु, गाईले पानीको तिर्खा मेट्नु, प्वाँख हत्केलामा आई काँधमा र टाउकोमा सर्नु, मुक्तिका गीत गाउँदै रङका जुलुस निस्कनु, युद्धमा होमिएका र विदेशमा गएका युवाहरू फर्किएर नआउनु, युद्धको कारण बगेको रगतमा प्वाँख बसेपछि युद्धका दाग मेटिनु, आकास खुल्नु, खण्डहर घरको कथा सुन्ने कोही नहुनु, मान्छेबिना विकास र समृद्धिको कुरा व्यर्थ हुनु, प्वाँख कविसँगै बस्न खोज्नु तर दलका मानिस सजाएकोले उसलाई राख्ने ठाउँ नहुनु, प्वाँखमा शान्ति, घरको सपना, कलिला बालकको पैताला रहेको, आफूले प्वाँखलाई ठाउँ दिन नसकेको हुँदा देशले पनि यति धेरै मानिस कसरी अटाउला भन्ने सोच्नु जस्ता कथारेखाबाट प्रस्तुत कविताको प्रबन्ध निर्माण भएको छ । सिङ्गो कवितामा निहित ध्वनि नै प्रबन्धाश्रित ध्वनि हुने हुँदा यस अध्ययनमा प्रस्तुत कवितामा अभिव्यक्त प्रबन्धाश्रित ध्वनिको चर्चा गरिएको छ ।
प्रस्तुत कवितामा लोकतन्त्र प्राप्तिका लागि गरिएको युद्धको प्रभावका कारण शान्ति खण्डित हुँदै गएको र जसरी परेवारूपी शान्तिबाट प्वाँख खस्दै गएको छ विषय उठाइएको छ । यस विषयमार्फत कवितामा देशका युवा पनि कति युद्धमा मारिए र कति देश छोडेर गएको भाव ध्वनित छ । नेपाली युवा विदेशी भूमिमा हराएकोले देश बास उठेजस्तो एकान्त र अवशेष जस्तो देखिएको छ, देशमा बनेका सबै संरचना युद्धमा विनास भएका छन्, देशमा गरिबीमा आफ्नो जीवन देख्ने जनता पनि छैनन् भन्ने भाव कवितामा ध्वनित भएको छ । युद्धले आफन्तआफन्तमा अविश्वास पैदा गराएको छ, देश र मानिसप्रतिको आस्था पनि मरेको छ , देशमा परिवर्तन ल्याउनका लागि क्रान्ति गरियो, समानता र स्वतन्त्रताका लागि कयौँ नेपालीले आफ्नो जीवनको बलिदान दिएका छन्, आज पनि तिनका डोब बाँकी नै छन्, त्यो युद्धले गरिब जनतामा ठुलो प्रभाव पारेको र उनीहरूको जीवन कुच्चिएको कसौँडीजस्तै व्यर्थ र जर्जर बनेको भाव कवितामार्फत व्यक्त भएको छ । परिवर्तनका लागि क्रान्ति गरिए पनि आजसम्म परिवर्तन हुन नसकेको छैन र जनताको स्थिति पहिले जस्तो थियो आज पनि त्यस्तै रहेको भाव कवितामा प्रस्तुत छ । मानिसमा परिवर्तन, समानता र स्वतन्त्रताको चाहना रही लोकतन्त्रसँगै समानता र अधिकार प्राप्त हुने भए पनि त्यसलाई उपयोग गर्न नसकेको भाव कवितामा अभिव्यञ्जित छ । युद्धका समयमा विजयको चाहनाले अबिर र माला लगाएर गएका युवाहरू आजसम्म नफर्किएको भन्दै विदेश गएका पनि आफ्नो देशलाई बिर्सिएको विषय कवितामा प्रस्तुत छ । देशमा भएको जातीय, लैङ्गिक, वर्गीय विभेदविरुद्ध गरिएको आन्दोलनका अभियन्ता नभेटिएकोले यस देशको दयनीय स्थितिको बारेमा सुनाउने मान्छे नै नभएको भाव प्रस्तुत कवितामा ध्वनित भएको छ । कवितामा युद्धको जिजीविषामाथि चेतना पर्दा वा त्यसबारे विचार गर्दा युद्धको समयमा पाएको दुःख, विवीषिका सम्झिदा र चेतना जाग्दा ती पुराना घाउ निको भएको अनुभव हुन्छ । जब शान्तिको चाहनाले स्पर्श गर्छ तब सबै सुन्दर लाग्छ, दुःख हटेर खुसीयाली छाउँछ तर यसरी खुसी हुनका लागि, परिवर्तनको स्वाद लिनका लागि, विकास र समृद्धि देख्नका लागि देशमा कोही नभएकोले यी विकास र परिवर्तनको कुरा व्यर्थ भएको छ । शान्तिको अभिलाषा र परिवर्तनको सपना बोकेका नेपाली पनि विभिन्न दलमा समर्पित भएका कारण त्यता सोच्न नसकेको कारण सहिदको सपना र कलिला बालबालिकाको भविष्य पनि अन्योलमा रहेको भाव कविताको प्रबन्धको तहमा ध्वनित भएको छ ।
‘परेवाको प्वाँख’ कवितामा परिवर्तन र लोकतन्त्रका लागि गरिएको आन्दोलनले देशमा सकारात्मक प्रभाव पार्न नसकेको, कोही युद्धमा मरेर त कोही विदेश पलायन भएर देश युवामुक्त बन्न पुगेको छ, देशमा अझै पनि वास्तविक स्वतन्त्रता प्राप्त नभएको हुँदा युवा देशमा फर्किएर आफ्नो चेतनाको प्रयोग गर्नुपर्ने भएको तर देशमा बस्न अनुकूल वातावरण सिर्जना नभएको भाव मुखरित भएको छ । जुन उद्देश्यले आन्दोलन गरिएको थियो त्यो सपना, उद्देश्य पूरा नभएकोले सहिदको बलिदान व्यर्थ भएको भाव कविता प्रबन्धाश्रित ध्वनिका रूपमा ध्वनित भएको छ ।
३.२ स्वरूपगत
प्रस्तुत परेवाको प्वाँख कवितामा वस्तु, अलङ्कार र रसका सहायताले ध्वनि व्यञ्जित भएको देखिन्छ । यहाँ प्रस्तुत कवितामा निहित वस्तु, अलङ्कार र रसबाट अभिव्यक्त भएको ध्वनिको निरुपण गरिएको छ ।
३.२.१ वस्तुध्वनि

भित्तामा थियो
कुनै दाजु बहिनीको आधा जलेको तस्बिर
धुलोले छोपिए पनि तस्बिर
इतिहासका प्रवक्ताजस्ता देखिन्थे तस्बिरका दुई आँखा
पूजाकोठा जस्तो लाग्ने छेउमा थियो घोप्टिएको पूजाथाली
माटाको चुलोमाथि थपक्क थियो एउटा कुच्चिएको कसौँडी
नालमा सिउरिएकै थियो मोही पार्ने मदानी र नेती
प्रस्तुत उदाहरणमा दाजुबहिनीको आधा जलेको तस्बिर, घोप्टिएको पूजाथाली, कुच्चिएको कसौँडी, उही स्थितिमा रहेको मदानी र नेती वस्तुबाट देशको परिवर्तनको लागि आफ्नो बलिदान दिए पनि आजसम्म दुःख नहटेको जीवन गरिबी र अभावमै बितेको, नेपालीको जीवनशैली र स्थितिमा कुनै परिवर्तन नआएको विषय प्रस्तुत भएको छ ।

त्यहीँ सुनिन्छ कुनै गोठालाहरूले टाढा फुकेको बाँसुरीको रन्को
एक हूल गाईहरू जङ्गलबाट पानी खोज्दै आएका छन्
यहाँ गोठालाले बाँसुरी फुकेको सुनिनु र गाईले पानी खोज्दै आउनुले देशमा अझै पनि परिवर्तन र स्वतन्त्रताको सम्भावना बाँकी रहेको र केही परिवर्तनकामी मानिसले त्यो सम्भावना साकार गर्न खोजिएको वस्तु ध्वनि प्रस्तुत भएको छ ।

कहाँ छन् रातो टीका लगाइदिने हातहरू
कहाँ छन् युद्धमा कुदेका गोडाहरू
यहाँ टीका लगाइदिने हात र युद्धमा कुदेका गोडा नभेटिएको वस्तुबाट देश र मानिसको मुक्तिको लागि युद्ध गर्न र सङ्घर्ष गर्न प्रेरणा र आशीर्वाद दिने मानिस साथै मुक्तिका लागि जीवनमोह त्यागेका मानिस नभेटिएको वस्तु ध्वनित भएको छ ।

३.२.२ अलङ्कारध्वनि
बुढाबुढीको गालाजस्तै चाउरी परेको छ लिउन उप्केको भित्ता
यसमा भित्तालाई बुढाबुढीको गालासँग तुलना गरिएकाले उपमा अलङ्कार प्रकट भएको छ ।

माटाको चुलोमाथि थपक्क थियो एउटा कुच्चिएको पूजाथाली
यसमा प्रस्तुत पूजाथालीमा अप्रस्तुत मानिसको जीवन भन्ने आरोप गरिएकाले यसमा समासोक्ति अलङ्कार प्रकट भएको छ ।

आफैँ फूल हुँदोरहेछ मान्छे फूलभन्दा पनि सुन्दर
यहाँ मान्छेलाई फूलमा अभेद्य आरोप गरिएकाले रूपक अलङ्कार प्रकट भएको छ ।

३.२.३ रसभावध्वनि
पोथीको चुच्चो कन्याउँदै गरेको परेवाको शरीरबाट
फुत्त खस्यो एउटा प्वाँख
यसमा पोथीको चुच्चो कन्याएको कार्यबाट रति स्थायी भाव जागृत भई शृङ्गार रस ध्वनित भएको छ । यसमा शृङ्गार रस परिपाकको अवस्थामा नरही भावाभाषको रूपमा प्रकट भएको देखिन्छ ।

किन फर्कँदैनन् परदेश गएकाहरू
गाउँको बूढो गल्लीमा हरहरी आउँछ तन्नेरी सुवास
यसमा युवाहरू देश छोडेर गएको र गाउँमा उनीहरूको याद अझै आइरहेको बताइएकोले यसमा प्रेम स्थायी भाव प्रकट भई विप्रलम्भ रसाभाष उत्पन्न भएको छ ।

रगतको कटकटिएको फलैँचामा परेवाको प्वाँख बसेपछि
त्यही आँगनमा देखेँ पुरिँदै गएको बमविस्फोटको खाल्टो
यहाँ युद्धका कारण फलैँचाभरि रगत कटकटिएकोबाट घृणा स्थायी भाव जागृत भई वीभत्स रसाभाष भएको छ ।

हिजो यही घरबाट निस्केको हो रङहरूको जुलुस
यहीँ बजेको हो मुक्तिको बाजा र मान्छेको गीत
कहाँ छन् रातो टीका लगाइदिने हातहरू
कहाँ छन् युद्धमा कुदेका गोडाहरू
यसमा मानिसको मुक्तिका लागि रङहरूको जुलुस निकालिनु, राता टीका लगाएर युद्धका लागि प्रेरित गरिएकोबाट यसमा उत्साह स्थायी भाव जागृत भई वीर रसाभाष भएको छ ।

४. निष्कर्ष
प्रस्तुत ‘परेवाको प्वाँख’ कविताले लोकतन्त्र ल्याउनका निम्ति गरिएको आन्दोलनमा धेरै मानिसले जीवनको आहुती दिए पनि सोचेजस्तो र चाहेजस्तो परिवर्तन आउन नसकेको भाव ध्वनित गरेको छ । यसमा राज्य सत्ताकालीन समयमा अद्वेत शासनका कारण गरिब र सामान्य स्तरका मानिसको जीवन कष्टकर बनेको गरिबीको रेखामुनी बाँच्न विवश भएको सन्दर्भमा सो अवस्थामा सुधार ल्याउने उद्देश्यबमोजिम जनआन्दोलन सुरु गरिएको सङ्केत गरिएको छ । जुन उद्देश्य लिएर क्रान्ति गरिएको थियो त्यसको फलस्वरूप लोकतन्त्र आएको तर नेपालीको जीवनशैली दयनीय अवस्थामा कुनै सुधार नभएको तीतो यथार्थ कवितामा ध्वनित भएको छ । युद्धका प्रभावका कारण कैयौँ युवा देश छोडेर विदेशमा पलायन भएको विषयलाई समेत कविताले अभिव्यक्त गरेको छ ।
प्रस्तुत कवितामा प्रयोग भएका पद पदावली, वाक्य, प्रकरण र प्रबन्धमा आश्रित रहेको ध्वनिले २०६० को दशकको नेपाली राजनीतिक परिवर्तन र सामाजिक आर्थिक स्थितिलाई व्यङ्ग्यार्थ रूपमा प्रस्तुत गरेको छ । कवितामा प्रयोग भएका वस्तु, अर्थालङ्कार र रसाभाषका माध्यमबाट यस्तो ध्वनि अभिव्यञ्जित भएको छ । यसरी शीर्षकदेखि प्रबन्धसम्म र वस्तु, अलङ्कार र रसमा व्यङ्ग्यार्थ प्रकट भएकाले ‘परेवाको प्वाँख’ कविता असल काव्य बन्न पुगेको छ ।

सन्दर्भग्रन्थसूची
आनन्दवर्धन (१९५३ ई), ध्वन्यालोक, वाराणासी ः चौखम्बा संस्कृत सिरिज ।
उपाध्याय, केशवप्रसाद (२०६७),पूर्वीय साहित्यसिद्धान्त, ललितपुर ः साझा प्रकाशन ।
उपाध्याय, केशवप्रसाद (२०६७), साहित्य प्रकाश, ललितपुर ः साझा प्रकाशन ।
गड्तौला, नारायण (२०७१), रस र ध्वनि सिद्धान्त, काठमाडौँ ः प्रगति पुस्तक प्रकाशन प्रा.लि. ।
नेपाल, शैलेन्दुप्रकाश (२०६८), ध्वनिताŒिवक समालोचना ः औचित्य र स्वरूप प्रज्ञा, सम्पा. (ज्ञानु पाण्डे), काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ. ५३ – ६० ।
लम्साल, नवराज (२०७४), क्रमशः एक्लै–एक्लै, ललितपुर ः साझा प्रकाशन ।
शर्मा, सोमनाथ (२०५८), साहित्य प्रदीप, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार
सहाय, राजवंश (२००७ ई) भारतीय काव्यशास्त्रका इतिहास, वाराणासी ः चौखम्बा विद्याभवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।