14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

ड्रीम क्याचर

कथा शिव गौतम June 16, 2021, 4:06 pm
शिव गौतम
शिव गौतम

मैले ढोकामा रहेको घन्टिको स्विच थिचें र ढोकाकै अघाडि उभिई रहें। अवन्तिकाले तुरुन्तै ढोका खोलिन् । अड्कल काट्न गाह्रो थिएन, उनि मलाई नै पर्खेर बसिरहेकी थिइन्। एअरपोर्टको काम सकिए पछि मैले उनलाई फोनबाट म सकुसल आईपुगेको र आधा घण्टा जतिमा ट्याक्सी लिएर घर आईपुग्ने कुरा भनेको थिएँ। बेलुकाको सात बजीसकेको थियो।

यात्राबाट थकित म, घरभित्र पसेर आफ्ना दुईवटा सुटकेसहरू र एउटा झोलालाई बेवारिसे पाराले कोठाको माझमै राखेर, सिधै सोफामा गएर बसें। अवन्तिका मेरो छेउमा आएर हलुकासंग टाँसीएर बसिन्। उनको शरीरको न्यानोले मेरो शरीरका थकानलाई सुम्सुम्याउन थालीसकेका थिए। हुन त मेरोलागि भर्खरै ढोका खोल्दा-खोल्दै उनका आँखामा फर्फराएका तूल र तोरणले गरेका स्वागतले नै मेरो मन केहि चंगा भैसकेको थियो।

"भोक लागेको होला, खान खाने होईन?" अवन्तिकाले केहि क्षणपछि मेरो दाहिने हातको कुईनो र काँधको बीच तिर समाउँदै सोधिन्। प्राय यस्तै हुन्छ। म बाहिर गएर आउँदा मलाई मिठो लाग्ने खाना तयार भै राखेको हुन्छ। देश भित्रको यात्रा होस् या देश बाहिरको होस्, प्राय यस्तै हुन्छ। यसपाला म नेपालबाट अमेरिका फर्कंदै थिएँ, जहाँ म गत पच्चिस-छब्बीस बर्ष देखि बसोबास गर्दै आएको छु।
खाना खाई सके पछि म फेरि सोफामा गएर बसें। अवन्तिका मेरा सुटकेसहरू खोल्न थालिन्। यो पनि लामो यात्रापछिको नियमित कार्य जस्तै हुने गरेको छ।

"तिम्री साथि उर्मिलाले अलिकति गुन्द्रुक र मस्यौरा पठाउन खोजेकी थिइन् , मैले मानिनं, भन्सारमा अप्ठ्यारो पर्छ भनेर," मैले भनें।
"खोई, ल्याउने ले ल्याई राखेकै छन्, तपाईं चैं कहिल्यै पनि ल्याउनु हुन्न। सील गरेर ल्याए त ल्याउन दिईहाल्छ नि," अवन्तिकाले अलिक गुनासो गरे जसो गरि भनिन्। म केहि पनि बोलिनँ।
कोसेलीहरु यो कसले दिएको, वा यो के हो वा भनेरे एक-एक गरेर सोद्धै कुनैलाई भुईंमा राख्तै, कुनैलाई फेरी सुटकेसमै राख्तै गर्न थालिन्। मैले केहि समान अरूको पनि ल्याई दिएको थिएँ।

सुटकेसको जांच पड्ताल पछि अब पालो थियो मैले हातैमा बोकेर ल्याएको झोलाको। त्यसमा प्राय राहदानी, ओखती, दांत माझ्ने बुरुष र अन्य यात्रा सम्बन्धि कुरा वा महत्वपूर्ण कागत वा बस्तुहरु हुने गर्थे । झोला यसो उघारेर, यो के हो भन्दैअवन्तिकाले त्यस भित्रबाट अलिकति मोटो कागजको सानो झोला निकालिन् । त्यो झोला भित्रबाट एउटा सानो रातो बट्टा निकालिन् । अनिफेरी त्यो बट्टा उघारिन्। त्यो बट्टा बाट एउटा यार्लिङ निकालेर मलाई देखाउँदै ,"मलाई हो," भनेर सोधिन्। मैले पनि हाँस्तै “हो, तिमीलाई नै हो, त्याहाँ त्यसैको जोडि अर्को पनि छ," भनें। म प्राय बाहिर जाँदा केहि न केहि यसो सानो तिनो उपहार लिएर आउने कोशिस गर्छु, र अवन्तिकाले केही न केही आश गरको हुन्छ भन्ने मलाई लागेको हुन्छ।

"तिमीलाई त्यति मन नपरे , छोरीलाई भए पनि हुन्छ भनेर ल्याएको हो" मैले अलिक काँतर स्वरमा भने। अवन्तिकालाई त्यो यार्लङको डिजाईन अलिक मन नपर्ने पो हो कि भन्ने डरले जोगिनका लागि त्यसो भनेको थिएँ। त्यति भनेपछि उनलाई मनै नपरे पनि 'के यस्तो ल्याएको’ भनेर भन्ने छैनन् भन्ने लागेको थियो। तर उनले ती यार्लिङलाई मनपराई दिईन्, देखाउनलाई हैन साँच्चै मन पराएको जस्तो लागी रहेको थियो मलाई।

सुनका ती दुवै यार्लिङका तिन भाग थिए। सबै भन्दा माथि, कानको प्वालमा छिराउनका लागि एउटा सानो आँकुसे जस्तो थियो। आँकुसेको तल्लो भागबाट एउटा गोलो औंठी वा वृत्त जस्तो झुन्डिएको थियो। त्यो औंठीबाट पाँचवटा ससाना सुनका सिन्काहरू तुर्लुंग झुन्डिएका थिए। सुनका ती सिन्काहरु एउटै लम्बाईका थिएनन्। बिचको सिन्को सबै भन्दा लामो थियो। त्यो बिचको सबैभन्दा लामो सिन्कोका दुवै तिरका सिन्का हरु क्रमश छोटा हुँदै गएका थिए। यस प्रकार सबैभन्दा छेउका सिन्काहरु सबै भन्दा छोटा थिए । आकारका हिसाबले ती सिन्काहरू, अलिक खाँदिएका, एकदमै लुखुरे हातका छोटा र मसिना औंलाहरू जस्ता थिए भन्दा पनि हुन्छ ।

अवन्तिकाले आँफुले लगाई राखेको मुन्द्री जस्ता ईअररिङ एक-एक गरेर निकालिन् र मैले भर्खर काठमाडौँबाट ल्याई दिएका यार्लिङ लगाईन्। दाहिने हातले दाहिने कान माथिको कपाल अलिकति पन्छाउँदै , "कस्तो देखियो?" भनेर सोधिन्।

"खै,एक त कुन, कानमा सुन भनुँ कि, वा सुनमा सुगन्ध भनुँ कि?” मैले अलिक जिस्किँदै भनें। अनि फेरी गम्भिर भएर भने “एक दमै राम्रो देखियो। ”

"तिमीलाई मन न परेको भए, म यी यार्लिङसंग जोडिएको एउटा सत्य घटना सुनाउनेवाला थिएँ, जसलाई सुनेर तिमीले मन पराउने कुरामा म विश्वस्त थिएँ," मैले भने।
"कस्तो घटना ?"
"अब त्यो सुनाउने आवस्यकता नै परेन, तिमीले यसै मनपराई हाल्यौ नि"
"यी यार्लिङ मलाई मन नपर्ने पो हुन कि भन्ने चैं तपाइंलाई कसरी लाग्यो?” अवन्तिकाले सोधिन्
"यी यार्लिङ बेच्ने साहुनीले यस्तो डिजाईन अचेलका भर्खरका केटीहरूले लाउँछन्, अधबैंसे आईमाईहरूले मन पराउँदैनन् , अनि लाउँदैनन् भनेकी थिइन्, " मैले भनें।
"मलाई त एकदम मन पर्यो, डिजाईन पनि," अवन्तिकाले भनिन, अनि थपिन, "मलाई त त्यो घटना एकदमै सुन्न मन लाग्यो। त्यस्तो के कुरा होला त जसले गर्दा मैले यी यार्लिङ मन नपराएको भए पनि त्यो घटना सुने पछि म मन पराउने थिएँ होला?"
“हुन्छ त म भन्छु,” मैले भनें ।
ती यार्लिंङ किन्दा र किन्नु भन्दा अघि-पछिका दृश्य र घटनाहरू मेरो मस्तिष्कमा सजीव हुन थाले।
यसपाली म नेपाल सात दिनकोलागि मात्र गएको थिएँ। त्यो भन्दा बढी छुट्टी, यो बर्ष बाँकी थिएनं । तर एउटा काम विशेषले जानै पर्यो। बुवा विरामी भएकोले र परिवारको आग्रहका कारणले गर्दा जानु परेको थियो। नेपाल बसाईका अधिकाँश दिनहरु भैरहवामै बिते। अमेरिका फर्कने क्रममा जहाज उड्ने अघिल्लो दिन बेलुका मात्र काठमाडौँ पुगें। भोलि पल्टको बिहान एक दुइ ठाउँमा भेट-घाट गर्दैमा बिती हाल्यो।
म प्राय नेपाल गएर अमेरिका फर्किंदा अवन्तिकालाई केहि न केहि ल्याई दिने गर्छु। कहिलेकाँही ती उनका फर्मायासका कुरा पनि हुन्छन। तर यसपाली छोटो यात्रा, त्यसमाथि पनि बिरामी भेट्न जान आँटेकोले गर्दा, अवन्तिकाले केहि ल्याई दिन नभनेको होला र खासै केहि आश गरेकी पनि थिईनन् होला। मलाई पनि समय यसो केहि किनमेल गर्न समय निस्की राखेको थिएन। हवाईजहाज साँझ तिर उड्नेवाला थियो, र मध्य दिउसो भै सकेको थियो, खाना खान पनि भ्याएको थिईनँ। एउटा ठाउँमा एकजना आफन्त भेट्न बाँकी नै थियो, उहाँहरू पर्खेर बसीरहनु भएको थियो होला। यसपाली केहि कोसेली लान पाईएन, ठिकै छ अर्को पटक लैजाउँला भन्ने लाग्यो।
जहाज उड्ने समय भन्दा केहि घण्टा अघि एउटा ट्याक्सी लिएर एअरपोर्ट तिर लागें। तर, मनले रित्तो हात लिएर जान मानेन। ट्याक्सी चालकलाई पहिले भाट-भटेनी तिर लैजान अनुरोध गरें। भाट-भटेनी पुगेपछि ट्याक्सीलाई ‘एकछिन पर्खनुस है’ भनेर गहना पसल भित्र छिरें।
चारैतिरबाट सिसाले घेरिएका बाकस भित्र राखिएका औंठी, चुरा, सिक्री, कानमा लगाउने ईअररिङ हेर्न थालें। गहना बेच्ने काउन्टर भित्र दोकानमा काम गर्ने दुईजना महिला थिए। ति मध्ये एक जना अलिक अधबैंसे अनि एकजाना चैं अलिक भर्खरकी युवती थिइन् । मैले गहना हेरेको देखेर ती भर्खरकी साहुनी अलिक वर म म तिर आइन्।
“त्यो ईअररिङको सेट देखाउनुस न,” मैले उनितिर हेर्दै , उनले केही भन्नु भन्दा पहिल्यै भनें । एक जोडी यार्लीङमा मेरा आँखामा परिसकेका थिए। ती साहुनी बहिनीले दोकानको भित्रपट्टिबाट सिसाको बाकसको ढोका घ्वार्र पार्दै एकातिर तानेर उघारिन् र ती यार्लिङ मेरो अगाडी राखी दिईन्। सुनको जलप लागेको सानो अंकुसे, त्यसमा जोडिएको सुनको सानो गोलो मुन्द्री जस्तो, अनि त्यो मुन्द्री संग जोडिएका मसिना सुनका सिन्काहरू।
मैले आफ्नो दाहिने हातको बुढी औंला र चोरी औंलाले एउटा चै ईअररिङको आँकुसे भागमा समाएर बिस्तारै उचालें। आँकुसेबाट मुन्द्री अनि मुन्द्रीबाट सुनका सिन्काहरु तुर्लुङ्ग हावामा झुन्डिए। त्यो आँकुसेलाई बिस्तारै लगेर मैले मेरो दाहिने कानको लोतीको पुच्छारमा लगेर टाँसे झैं गरें।
“कस्तो देखियो, सुहायो?” गहना बेच्न बसेकी ती भर्खरकी साहुनीलाइ अलि-अलि हाँस्तै सोधें।
“अब, साँच्चै लगाउने मान्छेलाई कस्तो देखिन्छ, त्यसले पो गर्छ त.” उनले पनि हाँस्तै भनिन्।
“उहाँ कति बर्ष जतिको हुनुहुन्छ?” उनले सोधिन्।
“अँ, त्यस्तै पचास भन्दा माथि होला ,” मैले अन्कनाउँदै भने। मलाई आफ्नी श्रीमतीको उमेर भन्न र त्यसबारे कुरा गर्न मन लागिरहेको थिएन एउटी पराई महिलासंग। .
“ए त्यसो भए यो उहाँलाई हुँदैन, यो त भर्खरका केटीहरूले लाउँछन्, उनीहरूलाई मात्रै यो सुहाउँछ,” ती बहिनीले भनिन्। उनले मुखले अरू केही नभने पनि उनको अनुहारले मलाई ‘धत् ‘ भने जस्तो लाग्यो।
म अलिक अन्कनाएं। मैले कुनै प्रतिक्रिया नदेखाएको र केहि पनि नबोलेको देखेर हो वा अलिक खिस्रिक्क परेको देखेर हो उनले फेरी सोधिन् , “उहाँ के लाउनु हुन्छ, सारी लाउनु हुन्छ कि कुर्ता सुरुवाल?”
“सारी, कुर्ता सुरुवाल, प्यान्ट, स्कर्ट सबै लाउँछिन् ,” मैले भनें , र म आँफै अलिक ढुक्क, अलिक हलुका भएको पनि महसूस पनि गरें । मलाई सायद ती बहिनीले मेरी श्रीमतीलाई बुढी, पाखे, पुरातन चाल-चलनको ठानिन् होला भनेर उनको त्यो ठनाई गलत भएको साबित गर्न खोजीरहेको थिएँ अन्जानमै, र साथै साँचो पनि भनिरहेको थिएँ।
“यो त अलिक भर्खरका केटीहरुलाई सुहाउँछ,” ति साहुनी बहिनीले आफ्नो जिद्दी कायमै राखिन् , मानौं उनले मेरो जवाफै सुनिनन्। उनि अन्जानमै मेरी श्रीमतीलाई बुढी बनाएर आँफू तरुनी भएको साबित गर्न चाहन्थिन् कि वा जानी-जानी मेरो जवाफ सुनेर यो ग्राहक त बाहिरबाट आए जस्तो छ यसलाई अलिक महंगो समान बिक्री गराउन सकिन्छ कि भनेर सोच्तै थिईन् कि जस्तो पनि लाग्यो। नत्र किन मेरो श्रीमतीका सम्भावित पोसाक सारी र कुर्ता सुरुवालमा सिमित राखिन्, अनि मेरी श्रीमती आधुनिक केटीहरुले लाउने पोसाक पनि लाउँछिन् भन्दा-भन्दै पनि मैले रोजेका यार्लीङ भर्खरका केटीहरुलाई सुहाउँछ भनेर अड्डी लिइराखेकी छन्।
सिसाको बाकस भित्रको अर्को अलिक मोटो, घण्टा आकारको, महंगो, अनुहार नपरेको, ढ्याब्रे थुप्रै सुनका झुर्का-झुर्की भएको ईअररिङ तिर देखाउँदै, ”उहाँको उमेरकाहरूलाई त यस्तो सुहाउँछ” भनेर देखाईन् ।
“हैन, त्यो पचास भन्दा माथिको उमेर त अरुको लागि मात्रै हो। मेरो लागि त उनि संधैं सँधैँ सोह्र बर्ष”, मेरो मुखबाट निस्क्यो।
ति साहुनी बैनी एक भन्नु न दुई भन्नु जसो गरी, हाँस्तै तर अवाक भएर मलाई हेरिरहिन्।
त्यहीं अलिक पर उभिएर हाम्रो कुरा नसुनेझैं गरेर तर सुनिरहेकी ती अलिक प्रौढ साहुनीले अचानक परैबाट अलिक ठूलो आवाजमा बोलिन् , “ओहो, यस्तो मायाँ गर्ने मान्छेले लगिदिएपछि उहाँलाई जे पनि सुहाउँछ”। अनि मतिर हेर्दै भनिन् , “तपाईंले आँफुले मन परेकै ईअररिङ लगिदिनुस्, त्यो उहाँलाई सुहाउँछ, त्यो उहाँलाई मन पनि पर्छ । आजकाल सबैले यस्तै मायाँ गर्ने श्रीमान कहाँ पाउँछन्। ”
त्यसो भन्दा-भन्दै उनि अलिक भावुक जस्तो देखिईन् । उनका आँखा पनि केहि रसाएका जस्ता देखिए, बोली पनि अलिक रुन्चे रुन्चे जस्तो भयो । शायद राम्ररी खाटा नबसिसकेको कुनै पुरानो घाउ बल्झियो कि , जेन तेन गरेर गहमा बाँधी राखेका आँसु त्यहाँबाट तँछाड-मछाड गर्दै उम्किएर कुनै पिर पखाल्ने आतुरिमा थिए कि, मैले केही ठम्याउन सकिनं। म पनि गम्भीर भएँ, अल्मलिएँ, आत्तिए जस्तो भएर धन्यबाद भन्न पनि बिर्सें।
अचानक शोरूमको वातावरण नै गम्भीर र अर्कै प्रकारको जस्तो भएर आयो । म प्राय आफ्नो वरिपरिको वातावरणबाट निथ्रुक्कै भिज्छु। फूलबारीमा जाँदा , झरना वा प्रपातको सामू हुँदा , पूजा-अर्चना, र तपस्या स्थलमा जाँदा ती ठाउँका आफ्नै प्रकारका आनन्द, शान्ति , सौम्यता सिधै आएर मेरो मनभित्र पस्ने अनि बस्ने गर्छन् । शायद त्यस्तै अरूलाई पनि हुन्छ होला र त सिनेमा वा नाटक हेर्दा कलाकारको अभिनयले मात्र पनि मान्छे सुँक्कसुँक्क गरेको सुनेको छु, कल्पनिकै भए पनि त्यहाँको दृश्य बिझेको अनि त्यसले आँखा भिजेको देखेको छु।
मैले एक पल्ट फेरी ती यार्लीङ तिर हेरें, त्यहाँ मायाको जलप थपिएको जस्तो लाग्यो।
“ती ईअररिङहरू प्याक गरीदेउ बहिनी उहाँलाई,” ती प्रौढ साहुनीले उही भावमा भर्खर कि साहुनीलाई अह्राइन्।
अवन्तिकाले मन पराई दिईनन् भने के गर्ने होला , मनमा कुरा खेल्न थाले । अवन्तिकाले मन पराईनन् भने ती यार्लीङमा भर्खरै टाँसिएको मायाको लेप उक्किएर जानेछ, सुनका ती सिन्का काठका छेस्का वा ससाना झिक्रा सरी हुनेछन् अनि मेरो मन पनि खिस्रिक्क हुन्छ होला जस्तो लाग्यो। तर किन्दाका यी सबै वृतान्त सुनाएपछि उनलाई ती यार्लीङ पक्कै मनपर्छ भन्ने कुरामा एक प्रकारले विश्वस्त थिएँ।
ती गहना बेच्ने सानी उमेरकी बहिनीले दुइटै यार्लीङलाई दोकानको अर्को छेउको काउन्टरमा लगिन् र जोखिन् अनि एउटा हाते क्यालकुलेटरमा पैसा हिसाब गर्न थालिन् । बलैले अनुहारभरी नक्कली स्मित मुस्कान ल्याएर बिस्तारै केही निर्दोषिताको अभिनय गर्दै भनें, “बुधबारको कुनै डिस्काउन्ट छैन, बहिनी?” त्यो दिन बुधबार परेको थियो।
“किन नहुनु, भै हाल्छ नि,” उनले पनि हाँस्तै भनिन्।
मैले आफ्नो क्रेडिट कार्ड दिएँ।
“क्रेडिट कार्डमा पाँच प्रतिशत बढी लाग्छ, बाहिर ए. टि. एम्. मेशिन छ। त्यहाँ गएर क्याश ल्यानु भए पनि हुन्छ,” ती बहिनीले भनिन्।
“ठिकै छ, क्रेडिट कार्डबाटै तिर्छु, मलाई एकदमै हतार छ,” मैले भने।
उनले एउटा सोने मखमली बट्टामा यार्लीङहरू राखी दिईन, अनि त्यो बट्टालाई एउटा मोटोखाले कागजको सानो झोलामा हालेर मलाई दिईन।
तीनै यार्लीङका जोडी अहिले अवन्तिकाका कानमा तुर्लुङ्ग झूलिरहेका , फूलीरहेका थिए।
मैले ती ईअररिङहरू किन्दाको त्यो सानो घटना सुनाई सकेर अवन्तिकाको अनुहार तिर हेरें। उनको अनुहार धपक्क बल्यो।
“कस्तो लाग्यो?” मैले सोधें.
“राम्रो” अवन्तिकाले मुसुक्क हाँस्दै भनिन्।
“यार्लीङ कि, यार्लीङ किन्दाको कथा ?”
“दुवै”
“एकदमै सुहाएको छ,” मैले भने।
त्यसको भोलि पल्ट बिहान हामी संगै बसेर चिया खाँदै थियौं। अवन्तिकाले एक्कासी केहि सम्झे जसो गरी भनिन् , “हिजै देखि यी यार्लीङहरूको डिजाईन के जस्तो, के जस्तो लागीरहेको थियो। बल्ल अहिले सम्झें”
“यी यार्लीङको डिजाईन आदिबासी अमेरिकन ईन्डियनहरूको ‘ड्रीम क्याचर’ को आधारमा सोचिएको हुनुपर्छ,” अवन्तिकाले अरु थपिन्।
मैले पनि थरी-थरीका ड्रीम क्याचरहरु टुरिष्टहरूलाई समान बेच्ने दोकानहरूमा देखेको छु, तर अहिले अवन्तिकाले भनेपछि मात्रै ती यार्लीङहरुको बनावट ड्रिम क्याचरमा आधारित भएको साँच्चै हो कि जस्तो लाग्यो।
“मैले ड्रीम क्याचरहरु देख्न त देखेको छु, तर त्यो भन्दा बढी तिनीहरूको बारेमा खासै केहि थाहा छैन। ईन्टरनेटमा गएर हेर्नु पर्ला,” मैले भने.
“ड्रीम क्याचरको पछाडि एउटा गज्जबको दन्त्य कथा भनौं वा मिथक भनौं, छ। मैले केहि हप्ता अघि मात्रै यसको बारेमा पढेकी थिएँ,” अवन्तिकाले भनिन् ।
“हो?” उत्सुकताबस मैले भनें.
“हो,” अवन्तिकाले भनिन्, अनि उनका आँखाहरुमा एकाएक परिपक्क चन्चलता अवतरित भए।
“अब यी यार्लीङमा मिठो मायालु प्रसङ्ग र सम्झनाको अर्को लेप लगाउने पालो मेरो,” अवन्तिकाले भनिन्।
अवन्तिका, ड्रीम क्याचरको बारेमा र अमेरिकन ईन्डियनहरू बिच प्रचलित बिश्वासका बारेमा भन्न थालिन्। म चुप-चाप, एकाग्रका साथ चाख मानेर सुन्न थालें।
अमेरिकन ईन्डियनहरूका प्राय जसो सबै जाती वा समुदायमा ड्रीम क्याचरको बारेमा एउटा बिश्वास छ। समुदाय समुदाय बीच केहि थपघट भएता पनि समग्रमा ड्रीम क्याचारको लगभग एकै प्रकारको किम्बदन्तीहरू प्रचलित भएको पाईन्छ।
सबै ड्रीम क्याचारहरू उस्तै –उस्तौ प्रकारका हुन्छन। सब भन्दा माथि एउटा गोलाकार काठ या फलाम या यस्तै अरू कुनै बस्तु, त्यसबाट झुन्डिएका तुर्लुङ्ग डोरी, कपडा, चीलका प्वाँखहरू पाईन्छन्। त्यो गोलाकार बस्तु भित्र पनि एउटा जालो जस्तो हुने गर्दछ। त्यसरी डोरीमा वा अन्य चिजमा झुन्डिएका प्वाँख वा अन्य बस्तुहरुको लम्बाई प्राय एकै प्रकरको हुँदैन। बिचको सबै भन्दा लामो अनि अरुको लम्बाई कमश घट्दै गरेको पाइने गर्छ।
सबै भन्दा बढी प्रचलित बिश्वास अनुसार राती सुत्दाखेरि टाउकोदेखि माथि ड्रीम क्याचर झुन्ड्याउनु पर्छ। रातको अन्धकारमा सपनाहरू यता उति भौंतारिएर डुलिराखेका हुन्छन्। ड्रीम क्याचारले ती सपनाहरुलाई समात्छ। राम्रा सपनाहरु ड्रीम क्याचर भएर ती झुन्डिएका डोरी,प्वाँख आदि हुँदै सुत्ने मान्छेको निद्रामा आईपुग्छन् । नराम्रा वा दुस्वप्नहरू ड्रीम क्याचर मै अल्झिन्छन् , अल्मल्लीई रहन्छन्, रुमल्लीई रहन्छन, त्यहाँबाट निस्केर जान सक्तैनन्। अनि बिहानको घामको पहिलो उज्यालोले ती दुस्वप्नहरूलाई त्यहीं नष्ट गरिदिन्छ।
अवन्तिकाले ड्रीम क्याचारको बारेमा प्रचलित कथा सुनाई सकेर चुप लागिन।
मेरा आँखा एकपल्ट फेरी उनका कानबाट तुर्लुङ्ग झुण्डी रहेका यार्लीङमा गएर अडिए।
अब त्यहाँ हाम्रा मिठा-मिठा मायाँ मात्र हैन, सुनौला सपनाहरु पनि संग्रहित भै रहेका थिए।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।