१. आमुख
चितवनमा क्रियाशील नारी स्रष्टा शान्ति शर्मा कविताको बाटो हुँदै नेपाली साहित्यमा प्रवेश गरेकी हुन् । उनको पहिलो कथाकृति ‘पहिलो प्रेमिका’ (२०६८) हो भने हालै उनको दोस्रो कथाकृति ‘ग्रिन टावेल’ (२०७७) प्रकाशित भएको छ । अत्यन्तै मृदीभाषी शर्माले एक भेटमा उनको पछिल्लो कथाकृतिका बारेमा केही लेखिदिन गरेको आग्रहलाई टार्न नसकी उनको कथाकृतिमा घोत्लिन पुगेँ । जम्मा पन्ध्रवटा कथाहरू समेटिएको प्रस्तुत कृतिलाई विविध कोणबाट समीक्षा गर्न सकिने पाएँ । यहाँ नारी मनोविज्ञानका कोणबाट ती कथालाई पर्गेल्ने प्रयास गरिएको छ ।
२. ‘ग्रिन टावेल’ कथा सङ्ग्रहको छोटो चर्चा
कथाकार शान्ति शर्माको पछिल्लो कथाकृति ‘ग्रिन टावेल’ जम्मा १५ वटा छोटा कथाहरू समेटिएको पाठकमैत्री कथासङ्ग्रह हो । घटीमा ९ पृष्ठदेखि बढीमा १४ पृष्ठसम्मको आयाममा फैलिएको यस कृतिले रचना खण्डमा १७८ र अन्य खण्डमा १२ पृष्ठ गरी आवरणबाहेक जम्मा १९० पृष्ठको मोटाइ ग्रहण गरेको छ । विविध विषयवस्तु समेटिएको यो कृतिमा नेपाली समाजका विविध पाटाहरू प्रस्तुत भएका छन् । यसका १५ कथामध्ये आखिर ऊ पनि गई, प्रतिशोध, दोस्रो लोग्ने, मनकली, ग्रिन टावेल, मोह, पर्खाल र प्रेमातङ्क जस्ता आठवटा कथामा नारीलाई केन्द्रमा राखिएको छ भने अन्य कथामा पनि प्रसङ्ग अनुसार नारी समस्याको चित्रण गरिएको पाइन्छ । यहाँ तिनै आठवटा कथाका साक्ष्यका आधारमा कथाकृतिभित्रको नारीका के कस्ता समस्या छन् भनी तिनालाई केलाउने काम गरिएको छ ।
३. नारीका समस्याबारे सामान्य चर्चा
लैङ्गिक हिसाबले नारी भएर जन्मिएका कारण झेल्नु पर्ने समस्या नारीका समस्या हुन् । त्यस्ता समस्या पनि सामाजिक, आर्थिक र सांस्कृतिक गरी मूल रूपमा तीन खालका हुन्छन् । ती समस्यहरूका सामान्य चिनारी निम्नानुसार दिन सकिन्छ ः
३.१. सामाजिक समस्या
हरेक कृतिकारले कृतिभित्र एउटा निश्चित सामाजिक परिवेश निर्माण गरेको हुन्छ । त्यसमा समाजमा स्थापित मूल्य, मान्यता तथा सामाजिक संरचनाका आधारमा पात्रहरूका भोगाइ प्रस्तुत भएका हुन्छन् । समान परिवेशमा पनि लैङ्गिकताका आधारमा फरक फरक समस्याहरू देखिन्छन् अर्थात् पुरुष वर्गले भोग्ने समस्या र नारीवर्गले भोग्ने समस्या एकै खालका हु“दैनन् । नारीहरूले मात्र भोग्ने समस्या नारी समस्यामा पर्दछन् । कुनै पनि कृतिभित्रका नारी पात्रहरूका सामाजिक समस्या निरूपण गर्नका लागि निम्न प्रतिमानहरू उपयोग गर्न सकिन्छ ः
(अ) पितृसत्तात्मकता
(आ) लैङ्गिकता
(इ) सामाजिक स्वतन्त्रता र समानता
(ई) पुरुषको नारीप्रतिको दृष्टिकोण
(उ) नारीको पुरुषप्रतिको दृष्टिकोण
(ऊ) नारीको नारीप्रतिको दृष्टिकोण ।
३.२. आर्थिक समस्या
साहित्यिक कृतिमा आर्थिक समस्याको प्रस्तुति पनि विशिष्ट ढङ्गबाट गरिएको हुन्छ । समाजमा विद्यमान आर्थिक ढा“चा तथा पात्रहरूको आर्थिक गतिविधिले पनि कृतिभित्र अनेकौ“ मोडहरू सिर्जना गरेको हुन्छ । कृतिभित्रका नारी पात्रहरूको आर्थिक अवस्था र गतिविधिका आधारमा नारी सम्बन्धी आर्थिक समस्याको पहिचान गर्न सकिन्छ । आर्थिक कारणले नै नारी पात्रहरूले अनेक समस्या झेलिरहेका हुन्छन् । उनीहरू आङ्खनो अस्तित्वबोध गर्न सकिरहेका हु“दैनन् साथै अनेक प्रकारका पारिवारिक र सामाजिक शोषणको सिकार समेत भइरहेका हुन्छन् । कृतिभित्रको नारीसम्बन्धी आर्थिक समस्या विश्लेषणका लागि निम्न ढा“चा उपयोग गर्न सकिन्छ ः
(अ) सम्पत्तिमाथिको अधिकार (स्वामित्व)
(आ) आत्मनिर्भरता
(इ) आर्थिक क्रियाकलापमा संलग्नता
(ई) श्रमको उत्पादनमूलकता ।
३.३. सांस्कृतिक समस्या
हरेक समाजमा आ–आङ्खनै धर्म, संस्कृति र परम्पराहरू चलेका हुन्छन् । त्यसले समाजमा एक प्रकारको मूल्य मान्यता स्थापित गरेको हुन्छ । त्यसैले मानिसहरू यस प्रकारको मूल्य मान्यताबाट प्रायः पृथक रहन सक्दैनन् । धर्म, संस्कृति र परम्पराको अपभ्रंश, गलत व्याख्या तथा परिमार्जनको अभावका कारण समाजमा देखिने नकारात्मक प्रभावलाई सांस्कृतिक समस्या भनिन्छ । सांस्कृतिक समस्याबाट समाजमा प्रायः नारीवर्गहरू नै आक्रान्त बनेका देखिन्छन् । कुनै पनि कृतिभित्रको समाजका धार्मिक, सांस्कृतिक मूल्य मान्यताका कारण त्यहा“ भित्रका नारी पात्रहरूको जीवनमा आएको नकारात्मक प्रभाव तथा उनीहरूले खेप्नुपरेको समस्याहरूको अध्ययन सांस्कृतिक समस्या अन्तर्गत गरिन्छ । नारी सम्बन्धी सांस्कृतिक समस्यको पहिचानका लागि निम्न आधारहरूको उपयोग गर्न सकिन्छ ः
(अ) धार्मिक रुढी तथा अन्धविश्वास
(आ) परम्पराको निरन्तरता
(इ) नारीमा पुरुष मानसिकता
(ई) मातृत्वप्रतिको मोह ।
४. ‘ग्रिन टावेल’का कथामा नारी समस्याको खोजी
‘ग्रिन टावेल’ कथासङ्ग्रह समसामयिक विषयवस्तुमा रचिएको कथाकृति हो । यसका कथाहरूमा विविध खालका कथावस्तु पाइन्छ । समाजमा आधा आकाश ढाक्ने नारीको कुरा कतै न कतै कथामा आउनु स्वाभाविक हो । यस सङ्ग्रहका पन्ध्रवटा कथाहरूमध्ये आखिर ऊ पनि गई, प्रतिशोध, दोस्रो लोग्ने, मनकली, ग्रिन टावेल, मोह, पर्खाल र प्रेमातङ्क जस्ता आठवटा कथामा नारी समस्या घनीभूत रूपमा प्रतिबिम्बित भएका छन् । यहाँ तिनै कथाका साक्ष्यलाई लिएर विवेच्य सङ्ग्रहमा प्रतिबिम्बित नारी समस्यको निम्न रूपमा समीक्षा गरिएको छ ः
४.१. पितृसत्तात्मकता
पुरुषले नारीमाथि नारी भएका कारण गर्ने सामाजिक दमन पितृसत्तात्मकता हो । यस्तो उदाहरण सङ्ग्रहभरि भेटिने भए पनि यसको उत्कृष्ट उदाहरणआखिर ऊ पनि गई कथामा भेटिन्छ । यो कथामा जयाको जीवनलाई चित्रण गरिएको छ । उसको लोग्ने सगुनले उसलाई असाध्यै माया गर्छ । यति भएर पनि उसबाट छोरो नजन्मिएका कारण उसको गर्भमा दोस्रो सन्तान पनि छोरी छ भन्ने थाहा पाएपछि आमाको सल्लाहमा गर्भपतन गराउने क्रममा अत्यधिक रक्तस्राव भएर उसको मृत्यु भएको घटना यो कथामा आएको छ । यसमा जयाले पहिलो सन्तान जन्माउने क्रममा बच्चाको नाम समेत उसले राख्न नपाएको कुरालाई यसरी देखाइएको छ ः
‘जया हाम्रो बच्चा जन्मिएपछि नामकरण चाहिँ मेरो नामको अक्षरबाट गनुपर्छ ल !’ सगुनले अचानक यस्तो प्रस्ताव राख्यो ।
उसको प्याच्च बोलीले जयाको हृदयमा चोट पुग्यो । सोच्न थाली– वाह ! पितृसत्ता सलाम छ तँलाई ! नौ महिनासम्मको पीडाचाहिँ मेरो अनि नामचाहिँ उसको ! कति निर्धक्कसँग खुलेर भन्न सक्छन् लोग्नेमान्छेहरू ! मानौँ यो सम्पूर्ण सृष्टि उसैको हो । मनले अनेक सोचे पनि मुखले फ्याट्ट भनिहाल्न भने सकिन । स्वीकारको भावमा टाउको हल्लाई मात्र । (पृ. ७)
माथिको साक्ष्यमा पितृसत्ताका कारण जयाले नौ महिनासम्म गर्भमा राखेर जन्माएको आफ्नो सन्तानको नाम समेत राख्न नपाएको कुरा गरिएको छ । यसर्थ यसमा पितृसत्तात्मकता नामक सामाजिक समस्यको चित्रण गरिएको पाइन्छ ।
४.२. लैङ्गिकता
नारीले नारी भएका कारण भोग्नु पर्ने समस्या भनेको लैङ्गिक समस्या हो । यसो हुनुमा मुख्यत समाज नै दोषी हुन्छ । नेपाली समाजमा छोरा र छोरीले गर्न हुने र नहुने भनी कामको बाँडफाँड समेत गरिएको पाइन्छ । यसरी नारीलाई नारी भएका कारण हेपिएका कुरा यो सङ्ग्रहका विभिन्न कथामा भेटिन्छ । त्यसमा पनि मनकली कथामा यसको ज्वलन्त उदाहरण पाइन्छ । लोग्ने मरेकी मनकलीलाई समाजका कुत्सित पुरुषहरूले आफ्नो यौन स्वार्थ पूरा गर्न नपाएपछि बोक्सीको आरोप लगाएर जिउँदै जलाएर मार्न खोजेको कुरा तलको साक्ष्यमा आएको छ ः
गाउँलेहरूले फटाफट सुकेको पराल, मसिना झिँगटी अनि केही दाउरा ठीक्क पारे । मनकलीलाई लछारपछार पार्न लागेका थिए, उसले धनीरामका नासो आफ्नो मुटुका टुक्राहरूलाई झलझली सम्झी । ‘आज म आफ्ना सन्तानको रक्षार्थ यी नरपिचासहरूलाई जितेरै छाड्छु !’ मनभरि सङ्कल्प गरी । लगत्तै मनकलीका आँखा झाँक्रीको नजिकै राखिएको चमचमाउँदो खुकुरीमा परे । उसले तुरुन्तै त्यसलाई समाती र बेस्सरी नचाई । जसरी दुर्गाले दैत्यहरूको नाश गर्न हातमा खुँडा लिएर नाचेकी थिइन् । (पृ.४८)
माथिको साक्ष्यमा आफूलाई नारी भएका कारण बोक्सीको आरोपमा जलाउन थालेको थाहा पाएर मनकलीले प्रतिवाद गरेकी छ । यदि ऊ पुरुष भएको भए यस्तो समस्या झेल्नु पर्ने थिएन । यसर्थ मनकलीले झेल्नु परेको बोक्सीको आरोप लैङ्गिताले निम्त्याएको समस्या हो ।
४.३. सामाजिक स्वतन्त्रता र समानता
समाजमा पुरुष नारीले पाउने समानता र स्वतन्तता पनि फरक फरक खालका हुन्छन् । नारी भएका कारण उनीहरूको स्वतन्त्रता हनन हुने गरेको घटना प्रस्तुत कथा सङ्ग्रहका विभिन्न कथामा पाइन्छ । यहाँ आफू राम्रो हुँदा हुँदै पनि विवाह गरेर घरमै छोडेर अमेरिकामा बस्ने गरेको लोग्ने शेखरका विरुद्ध लड्न चाहने म पात्रको कथा प्रतिशोध कथालाई त्यसको ज्वलन्त नमुना मान्न सकिन्छ । हेरौँ तलको साक्ष्य ः
शेखरले ममाथि अन्याय गरेको थियो, म न्यायका लागि लडिरहेँ । बिस्तारै सासू–ससुरालाई फकाएर आफ्नो नाममा सम्पत्ति पनि हात पारेँ । शेखर कुनै दिन नेपाल आउला नि ! मेरो लागि नभए पनि आफ्ना बृद्ध बाबुआमालाई त भेट्न आउला । त्यतिबेलै मैले कसरी बदला लिनेछु, यही दह्रो सोच मभित्र पलायो । म भित्रभित्रै प्रतिशोधको दावाग्निमा हुर्हुती जल्दै गएँ । (पृ. २४)
माथिको साक्ष्यमा लोग्नेद्वारा विवाह गरी घरमै बेवास्तापूर्वक छोडिएको म पात्रका माध्यमबाट के कुरा बुझिन्छ भने उसलाई नारी भएकै कारण विदेश जाने स्वतन्त्रता हनन गरी यसरी हेपिएको हो । यस्तो समस्या पनि सामाजिक समस्या नै हो ।
४.४. पुरुषको नारीप्रतिको दृष्टिकोण
समाजका पुरुषले नारीलाई कसरी हेर्छ भन्ने कुरा यस खालको समस्याभित्र पर्छ । दोस्रो लोग्ने कथामा सम्राटले विवाह गरेर घरमै छोडेर गएको म पात्रको आलोकसँग प्रेम भएको देखाइएको छ । यति मात्र होइन, उसले अन्तिममा उसैसँग दोस्रो विवाह समेत गरेकी छ । उसका मनमा लोग्ने र प्रेमीका बीचमा कसलाई चुन्ने भन्ने बारेमा छटपटी भएको कुरा तलको साक्ष्यमा देखिन्छ ः
त्यो सपनाले मलाई साह्रै छटपटी बनायो । यस्तो छटपटीका बीच म आलोकलाई भेट्न पनि सक्दैनथेँ । यता सम्राटले पनि त्यति साह्रो फोन गर्दैनथ्यो अब त । खै ऊ पनि परदेशमा अरूसँगै पो रमाउन थालेको हो कि ! परदेशिएकाको के भर हुन्छ र ? समय बित्दै जाँदा ऊसँगको बोलचाल घट्दै गएको थियो । (पृ.३३)
माथिको साक्ष्यमा आफूसँग लामो समय लोग्नेको फोन सम्पर्क नभएपछि म पात्रले नराम्रो देखेको कुरा आएको छ । यो सपना प्रेमी आलोकलाई पनि सुनाउन नसक्ने कुरा गरेकी छ । पुरुषले लामो समयदेखि भोग्याका रूपमा हेर्दै आएको कुरालाई यसले देखाएको छ । यस्तो समस्या भनेको पुरुषको नारीप्रति हेरिने दृष्टिकोणको समस्या हो ।
४.५. नारीको पुरुषप्रतिको दृष्टिकोण
समाजमा पुरुषका कारण मात्र नभई नारीका कारण पनि कतिपय समस्या निम्तिने गरेको पाइन्छ । नारीले पुरुषलाई अनावश्यक महत्व दिँदा यस्तो समस्या आउँछ । यसको उदाहरण ग्रिन टावेल कथामा देख्न सकिन्छ । आफूलाई सानोमा पढाएका र गृहस्थी जीवनमा प्रौढावस्थामा पुगेका काठमाडौँमा बस्ने गरेका गुरुलाई शर्मिलाले बारम्बार भेट्न जाने गरेकी छ । त्यति मात्र नभएर उनलाई हरियो रङको टावेल उपहार दिएको र गुरुले त्यसको प्रयोग गरेकोमा खुसी देखिएकी छ । हेरौँ तलको साक्ष्य ः
लाग्यो, प्रेमले सजाएका हरेक चिज सुन्दर हुँदा रहेछन् अनि जस्ताको तस्तै पनि । के प्रेमले निथ्रुक्क भिजेको मान्छे पनि यसरी नै जस्ताको तस्तै रहन सक्छ त ? प्रेमभन्दा शक्तिशाली चिज कुनै नहुँदोरहेछ । मेरो मनमा पनि नजानिँदो तरिकाले गुरुप्रतिको प्रेमभाव उब्जियो । (पृ.५९)
माथिको साक्ष्यमा नारीको पुरुषलाई हेर्ने दृष्टिकोण आएको छ । गुरुलाई आदर गर्नु ठिक हो, तर विवाह बन्धनमा बाँधिएका आफूभन्दा उमेरमा पनि निकै पाका गुरुलाई प्रेमीका रूपमा देख्ने गरेकोबाट शर्मिलाका जीवनमा समस्या आएको छ । यस्तो समस्या अरुका कारण नभई ऊ स्वयम्का कारण आएको हो, जसलाई नारीको पुरुषप्रतिको दृष्टिकोणका कारण सिर्जित समस्या भन्न सकिन्छ ।
४.६. मातृत्वप्रतिको मोह
मातृत्व भनेको सन्तानकाप्रति आमाले गर्ने व्यवहार हो । यसका लागि नारीले सन्तान जन्माउनु जरुरी हुन्छ । सन्तानका कारण कतिपय अवस्थामा नारीहरू समस्यामा पर्ने गर्छन्, तर पनि उनीहरू यसलाई समस्या मान्दैनन् । यसको उदाहरण मोह कथामा देख्न सकिन्छ । विवाहपूर्वको प्रेमका कारण गर्भ बोकेकी विनिताले जातपातका कारण अर्जुनसँग विवाह गर्न नपाएकी र उसकै बाबुको मिलेमतो हत्या गरिएपछि माइती त्यागेर असहाय केन्द्रमा छोरो जन्माएर हुर्काउँदै गरेको कुरा यो कथामा आएको छ । अझ त्यसमा हुर्कंदै गरेको छोराले बाबुका बारेमा सोधेर हैरान पारेपछि उसको जवाफ दिन तयार भएको कुरा तलको साक्ष्यमा आएको छ ः
आज बेलुकी मैले छोराको प्रश्नको जवाफ दिनु छ । दृढ सङ्कल्प गरेँ, आज म छोरोलाई आफ्नो वास्तविकता जसरी पनि बताउनेछु । आखिर को थियो आफ्नो बाबु भनेर जान्ने अधिकार उसको पनि त हुन्छ । उसको चाहनालाई मार्ने अधिकार मसँग छैन ।
छोरो स्कुल पठाएपछि म कोठाभित्र पसेर भक्कानिँदै रोएँ । रुँदारुँदै मेरा आँखामा पूर्वस्मृति चलचित्रझैँ फन्फन्ती घुम्न थाले । (पृ.७५)
माथिको साक्ष्यमा एउटी युवतीले आफ्नो गर्भमा प्रेमको निशानी स्वरूप रहेको बच्चालाई जन्माउन चाहँदा विभिन्न समस्या झेलेको कुरा आएको छ । यस्तो समस्या आउनुको मुख्य कारण मातृत्वप्रतिको मोह हो । सामान्यतया नारीहरू यसलाई समस्या ठान्दैनन् तर यसैका कारण उनीहरूको जीवन कठिनाइमा भने अवश्य परेको हुन्छ ।
४.७. धार्मिक रुढी तथा अन्धविश्वास
हाम्रो समाजमा रहेका कतिपय अन्धविश्वास र धार्मिक रुढीका कारण पनि कतिपय नारीहरू समस्यामा पर्ने गरेका छन् । यस्तो खालका समस्याका बारेमा पनि यो सङ्ग्रहका कथाहरूले बोल्ने काम गरेको छ । यसको उदाहरण पर्खाल कथामा पतिको मृत्युपछि सम्पदाले समाजका नारी तथा पुरुषले आफूलाई गरेका फरक व्यवहारका कारण भोगेका प्रताडनाहरूमा देख्न सकिन्छ । हेरौँ तलको साक्ष्य ः
सम्पदालाई छिमेकमा भएको शुभकार्यमा प्रायः बोलाउँदैनथे । घरमा निम्तो गरे पनि ऊ आएको जाती मान्दैनथे । कतै जान लाग्दा उसलाई देख्न नपरोस् भन्दै उसको घरनजिक पुगेपछि मुण्टो अर्कोतिर फर्काउँथे । उसले कातेका बत्ती चोखा मानिन्थेनन् । पूजाआजामा उसलाई तिरस्कार गर्थे । अलि उज्याला कपडा लाएर कतै निस्कन लाग्दा एकोहोरो टोलाएर हेर्थे । अलि चर्को हाँसो अनि खुलेर बोलेको देखे भने कानेखुसी भइहाल्थ्यो । त्यसो गर्नेमा महिला नै अगाडि देखिन्थे । धन्न नेपाली समाज ! उसलाई आफूप्रति गरिएको उपेक्षाले पीडित बनाउँथ्यो ।
फूलको मुस्कान, सूर्यको लालिमा, नदीको कलकल, चराहरूको चिर्बिर सबैसबै फिका लाग्थ्यो उसलाई । चाडपर्व नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । बिहान सबै उठ्दा आफू नउठ्न पाए हुन्थ्यो, सदाका लागि चिरनिद्रामा रहन पाए हुन्थ्यो जस्तो लाग्ने । शिशिरको मृत्यु कुनै मिथ्या सपना भइदेओस् अर्थात् ऊ विदेशमै होस् । अनेकानेक कल्पना गथ्र्यो मनले । (पृ.९४–९५)
माथिको साक्ष्यमा लोग्नेको मृत्युपछि सम्पदालाई समाजका शुभकार्यमा नबोलाइने गरेको, बाटो हिँड्दा समेत अशुभ हुने ठानेर उसको घरतिर नहेर्ने गरेको, यहाँसम्म कि उसले कातेको बत्ती समेत भगवान्लाई नचढाउने गरेको कुरा गरिएको छ । समाजमा आफूलाई गरिएको यस्तो भेदभावपूर्ण व्यवहारका कारण सम्पदाले मानसिक समस्या समेत झेल्नु परेको छ । यस्तो हुनु भनेको नेपाली समाजमा व्याप्त अन्धविश्वास र रुढीवादी मान्यताको प्रबलता नै हो । यस्ता अन्धविश्वासका कारण पनि नेपाली नारीहरूले समस्या भोग्नु परेको यथार्थलाई यो कथाले मार्मिक रूपमा चित्रण गरेको छ ।
४.८. परम्पराको निरन्तरता
नेपाली समाजमा नारीलाई चुप लागेर बस्ने, जस्तोसुकै समस्यालाई पनि चुपचाप सहने खालको चरित्रका रूपमा लिने गरिन्छ । नारीका यस्ता गुणलाई परम्पराको निरन्तरताअन्तर्गत राख्न सकिन्छ । यस्तो गुण प्रेमातङ्क कथाकी नायिका शुष्मामा देख्न सकिन्छ । आफूले प्रेम गरेको पुरुष पात्र किशोर डाक्टरी पढ्नका लागि विदेश जाँदा उसको यादमा उसले समय कटाएकी छ । किशोर फर्केर आएपछि उसँग विवाह गर्ने उसको सपना किशोर आफैँ आएर आफ्नो विवाह हुन लागेर आफू निम्तो दिन आएको कुरा गरेपछि शुष्मा छाँगाबाट खसेजस्तो हुन्छे । तर उसले कुनै प्रतिवाद गर्दिन, जसलाई तलको साक्ष्यमा देख्न सकिन्छ ः
बस् उसलाई बिहेको रौनक लागेको थियो । कति सजिलै निर्लज्ज भएर भन्यो किशोरले आफ्नो यथार्थ । एकपटक पनि उसले मेरो मनोभावनालाई बुझ्ने प्रयास गरेन । म कसका लागि यतिका वर्ष कुमारी नै रहेँ ? आमाबुवाको भावना लत्याएर म कसलाई मनमा सजाएर कुरी बसेँ ? के बुझ्थ्यो उसको डाक्टर मनले ?
ऊ भित्र पसेको मौका छोपी म फरक्क फर्किएँ । रोदनभन्दा पनि आवेग उर्लियो मनमा । तर आँखामा आँसु टिलपिल, सलको टुप्पोले सर्लक्कै पुछेँ । लाग्यो, मनको ब्रह्माण्ड अब मेरो रित्तो भयो, उजाड शिशिरजस्तो । (पृ.१२३)
माथिको साक्ष्यमा आफूले प्रेम गरेर प्रतीक्षा गरेको पुरुष लामो समयपछि फर्केर आउँदा सञ्चो–विसञ्चो पनि नसोधी सिधै बिहेको निम्तो थमाएर फर्कंदा पनि कुनै प्रतिवाद गरिएको छैन । उल्टै एक्लै सलको टुप्पोले आँसु पुछेको देखाइएको छ । यस्तो समस्या भनेको हाम्रो समाजमा चलिआएको परम्परावादी सोचको निरन्तरताबाहेक केही होइन ।
५. समापन
नारीस्रष्टा शान्ति शर्माको ‘ग्रिन टावेल’ समग्रमा भन्नुपर्दा नारी समस्यामा केन्द्रित कथाहरूको सङ्ग्रह हो । यसका प्रत्येक कथामा कतै न कतै कुनै न कुनै रूपमा नारी समस्याका पाटाहरू केलाइएको पाइन्छ । यो सङ्ग्रहका कथामा नारी समस्याका विविध पाटाहरू केलाइएका छन् भन्ने कुरालाई माथिका साक्ष्यलहरूले पुष्टि गरेका छन् ।
यस सङ्ग्रहमा सङ्कलित पीडक पत्नी भने फरक खालको कथा हो । एउटा नारी कथाकारले लेखेको कथा भएर पनि यसमा नारीका खराबीहरूको चित्रण गरिएको छ । यस कथाबाट एउटा साक्ष्य हेरौँ ः
फेरि पनि मैले उनीसँग एउटा निवेदन गरेँ, ‘सविता, मलाई तिमीसँगै आनन्दले बाँच्न देऊ यही घरमा हुँदैन ?’
‘सविता ? को सविता ? म पहिलेको सविता होइन । बिर्सिदेऊ त्यो नाम ! म त इरा हुँ इरा ! यदि यो घरमा बस्ने हो भने मैले भनेअनुसार चल्नुपर्छ । यहाँ तिम्रो कुनै रुल चल्नेछैन ।’ (पृ.१११)
माथिको साक्ष्यमा म पात्रलाई श्रीमतीले घरबाट निकाला गर्न खोज्दा त्यही घरमा बस्न पाऊँ भनी अनुनय विनय गरेको छ । यस्तोमा उसकी श्रीमती सविताले आफूले भनेअनुसार मानेर बस्ने भए मात्र बस्न दिने कडा उर्दी सुनाएकी छ । समाजका केही नारीहरूले कसरी आफ्ना पतिहरूको भावनात्मक तथा शारीरिक रूपले शोषण गरिरहेका छन् भन्ने पाटाको चित्रण गरिएकाले यो कथा पुरुषका पक्षमा लेखिएको कथा बन्न पुगेको छ । यसरी पतिलाई यातना दिएर मात्र नपुगी घरबाटै निकाला गर्न खोज्ने श्रीमती चित्रण गरिएकाले यो कथा पृथक् खालको बनेको छ ।
सामान्यतया नेपाली समाजमा नारी वा पत्नीलाई पीडित पात्रका रूपमा लिने गरिन्छ तर पीडक पत्नी कथा त्यसको विपरीत खालको कथा हो । एउटा नारी भएर नारीका कलुषित पक्षका बारेमा पनि निर्धक्क कलम चलाउन सक्नु कथाकार शान्ति शर्माको सफलता हो । यसले लेखकलाई कुनै लिङ्ग विशेषका रूपमा हेर्ने सङ्कीर्णता गर्नु हुँदैन भन्ने भावनाको पुष्टि पनि गरेको छ ।
अचेल नेपाली साहित्यमा लागेका अधिकांश नारी लेखकहरू नारीवादी लेखनबाट निर्देशित छन् । तिनमा पनि कतिपयमा त उग्र नारीवादी चेतना पाइन्छ । तर ‘ग्रिन टावेल’ कथासङ्ग्रहमा कथाकार शान्ति शर्मा समन्वयवादी नारी भएर देखापरेकी छिन् । उनको यस्तो समन्वयवादी लेखनीलाई धन्यवाद भन्दै अबका दिनमा नेपाली पाठकले उनीबाट उपन्यास पढ्न पाउनुपर्छ भन्ने पाठकीय अभिमत राख्दै समीक्षकीय लेखनीलाई विश्राम दिन्छु । शुभमस्तु ।
चितवन ।