14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

लोककलाकार श्री इन्द्रप्रसाद अधिकारी

व्यक्तित्व / कृतित्व नवीन पौड्याल July 4, 2021, 4:43 pm
नवीन पौड्याल
नवीन पौड्याल

कालिम्पोङ बमबस्तीमा एकजना लोककलाकार छन्। उमेरले बयासी वर्षको लग लागेका ती वृद्ध मानिसमा आफ्नो लोकसंस्कृति बचाउने औडाहा छ। उनी आफुले जानेका कुरा युवा पुस्तालाई सुनाएर, सिकाएर, बुझाएर तथा हस्तान्तरण गरेर आफ्नो लोकपरम्परालाई जोगाइ राख्न चाहन्छन्। उनी आफ्नै गाउँ पाखामा फक्रिएका वनफूल हुन्। उनलाई समाज र समयले ठिकसँगले चिन्न सकेन, प्रतिभा फस्टाउन सकेन। उनको ख्याति सीमित ठाउँमा मात्र रह्यो। न त राम्रोसँगले उनको सम्मान भएको छ न रेडियो आदितिर खासै प्रतिभा देखाउने अवसर पाएका छन्, न कसैले लिखित रूपमा चर्चा गरेका छन्। यद्यपि उनको प्रतिभालाई आफ्नो क्षेत्रमा कसैले पनि उछिन्न सकेन। उनी पक्का लोककलाकार हुन्।
यी लोककलाकार हुन् श्री इन्द्रप्रसाद अधिकारी। कालिम्पोङको बमबस्ती गहिरी गाउँमा १ गते भदौ वि सं १९९० मा जन्मिएका श्री अधिकारी गाउँका एकजना गहना हुन्। उनले आफ्नो बाल्यावस्थादेखि नै आफ्नो घर र गाउँबाट नै हाम्रो लोकसंस्कृति, लोकनृत्य र लोकगीतादि परम्परागत रूपमा सिकेर आएका हुन्। पहिलेदेखि नै खासगरी आफ्नो देवसे टोलीमा लोकभाकालाई भट्ट्याउदै र लोक विरासतलाई थाम्दै र आफ्नो प्रतिभालाई निखार्दै आएका हुन्। उनी बालन, मागल, खैंजडी भजनमा सिपालु छन्। यी गीतादिमा उनी अग्रणी भई आफ्नो समाजमा युवा पुस्तालाई सिकाउँदै आएका छन्। उनका धेरै शिष्यहरूले पनि हाम्रा यस्ता अमूल्य लोकगीतहरूलाई जोगाएर राखेका छन्। गाउँका नरेश भण्डारीलगायत उनकै पुत्रहरू पनि यस्ता हाम्रो लोकगीतादिको संरक्षणमा लागिपरेका छन्।
उनी रात-रातभर रामायण, महाभारत र भागवत् आदिबाट कथा र लीलालाई लयवद्ध रूपमा सुनाउँछन्। बालुन मात्र पनि रातभरिलाई सुनाउन सक्ने सामर्थ्य र सामल छ। उनको गायन कला र गला पनि मिठो छ। उनी यी प्रत्येक लोकगीतको उत्पत्तिको कथा तथा कारण केलाउँछन्। उनका अनुसार 'बालन' शब्द 'व्यायाम लय' बाट व्युत्पन्न भएको हो। देवताहरूले ब्रह्मलोकमा दिनभरि कार्यक्रम गरेपछि रातमा मनोरञ्जन गर्नलाग्दा एकप्रकारले व्यायाम गरेर सिर्जना भएको लयलाई गाउने चलन बसाए र यही व्यायाम लयबाट बालन भएको हो। सीताभारत पनि बालनकै एउटा भाग हो। सीताभारतमा ऱामायणको सीताको गाथा गाइन्छ। सीताभारत उत्पत्तिको एउटा छुट्टै लोकरामायणको उपकथा पाइन्छ। जब सीतालाई नन्द पर्ने एउटी नारीले सोध्छे - 'भाउजू, तपाईं त तेत्रा दिन लङ्का बस्नु भयो, रावण पनि नजिकैबाट देख्नुभयो होला। रावण कस्ता थिए' भन्ने एकोहोरो सोध्न थाली। केही सीप नचल्दा सीताले एउटा काठको पीरामा रावणको आकृति जस्तो बनाएर नाम पनि लेखिन्। त्यसै पीरामा त रामले भोजन गर्ने गरेको रहेछ। त्यसको राती राम खान खान लाग्दा त्यो पीरा एक तमासले हल्लिएछ। के हो भनी बुझ्नलाई पीरालाई ओल्टाइ-पल्टाइ गर्दा त रावणको नाम देखेछन्। यो कसले लेखेको भनी सोध्दा त सबै कुरा खुलिहाल्यो। उनको पालो सीताको चरित्रमा शङ्का गरेर उनलाई बनवास पठाउन लक्ष्मणलाई अह्राउँछन्। लक्ष्मणले करैले दोजिया सीतालाई जङ्गलमा छोड्छन्। पछि सीताले धरती फाटेर मृत्यु वरण गरेको लोकरामायणको कथा पाइन्छ।
इन्द्रप्रसाद अधिकारीले आफ्ना सहयोगी साथीहरू र प्रसिद्ध फिल्म निर्देशक श्री तुलसी घिमिरे, श्रीमती भारती घिमिरेको तत्परतामा हाम्रो परम्परा भन्ने एउटा सिडी अल्बम तयार पारेका छन्। त्यसमा गणेशको स्तुतिको लोकलय, मागल, सङ्गिनी, खैंजडी भजन, कवित्त, खाँडो जगाउने, बालन, देउसी, भैलेनी गरी दशवटा लोकगीतहरू प्रस्तुत गरेका छन्। ती प्रत्येकको उत्पत्ति, विशेषता, महत्त्व र अवसर आदिबारे जनाउँदै एकेकवटा नाचेर र गाएर नमूना देखाइएको छ। गाईको खाँटी दुध पिउँदाको प्राप्त आनन्दसरह उनले संकलन र सामूहिक गायन गरेको हाम्रा यस्ता लोकगीतहरू हाम्रा लोकधरोहर हुन्। हाम्रा तादिदेखि चलेर आएका यस्ता गीतहरूको खोजी गरेर तिनलाई जोगाएर राख्नु आवश्यकता भएको सबैले बोध गरेको हुन्छ तर तिनलाई वास्तविकता दिन कोही अघि सर्दैनन्। यस्तोमा हाम्रा श्री इन्द्रप्रसाद अधिकारी र उनको साथीहरूको समूह साँच्चै हाम्रा अमूल्य निधि हुन्। उनी नेपाली संसारकै एउटा ठुलो भागको सांस्कृतिक संरक्षक हुन्। उनले अझै सिकाइरहने आयु लामो पाउन्, गाइरहन पाउँ र हामी पनि उनको कला र गलाको अमूल्य सम्पदाको भावलहरीमा हेलिन पाइरहूँ भन्ने कामना छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।