14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

समसामयिक नेपाली राजनीतिको प्रतिबिम्ब ‘कोमा’ नाटक

कृति/समीक्षा ताराप्रसाद पोखरेल July 4, 2021, 4:49 pm
ताराप्रसाद पोखरेल
ताराप्रसाद पोखरेल

लेखसार
कोमा (अ पोलिटिकल सेक्स) नाटककार कुमार नगरकोटीको पछिल्लो राजनीतिक परिवेशलाई आधार बनाएर लेखिएको नाटक हो । प्रस्तुत लेखमा नाटककार कुमार नगरकोटीको कोमा नाटकलाई देशको पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर अध्ययन गरिएको छ । कोमा नाटकले नेपाली राजनीतिको तस्वीर कसरी चित्रण गरेको छ ? नाटकले नेपाली राजनीतिको यथार्थलाई कसरी प्रस्तुत गरेको छ ? भन्ने लेखको खोजी रहेको थियो । नाटकको स्थापित सैद्धान्तिक मान्यतालाई आधार बनाएर कोमा नाटकको विश्लेषण गरिएको छ । नाटकमा उल्लेख गरिएका सबै खाले पात्रहरू समसामयिक प्रवृत्तिका भएर पनि नाटकमा उनीहरूको भूमिका स्वाभाविक छैन । नेपाली राजनीतिमा देखिएको अस्थिर अवस्थालाई नाटकमा छर्लङ्ग हुने गरी प्रस्तुत गरिएको छ । हराउँदै गएको राजनीतिक निष्ठालाई नाटककारले बचाउन खोजेका छन् । राजनीति गर्नेहरूमा देखिएको अदूरदर्शीताको बारेमा नाटकले स्पष्ट पारेको छ । देशलाई कोमाबाट जोगाउन हरेक सचेत नागरिकले आफूलाई अग्रसर गराउनु पर्ने चेतना नाटकले दिएको छ ।

मुख्य पद/ पदावली
पोलिटिकल¸ समकालिन¸ बर्थ डे¸ नपुंसक¸ विस्तारवादी¸ रङ्गमञ्च¸ षडयन्त्र¸ उभयलिङ्गी¸ राजनीतिक पार्टी¸ प्रयोगवादी ।
१) परिचय
नेपाली नाटकको क्षेत्रमा पछिल्लो समयमा विभिन्न प्रयोगको थालनी भएको छ । वि सं २०५५ सालयता नाटकको क्षेत्रमा देखा परेको नवीन प्रयोगले नाटकलाई उच्च स्थानमा पुर्याएको छ । नाटककार कुमार नगरकोटी साहित्यको क्षेत्रमा नवीन प्रयोग गरी लेख्ने साहित्यकारको रुपमा परिचित छन् । उनको ‘कोमा’ ( अ पोलिटिकल सेक्स ) शीर्षकको नाटक पछिल्लो समयको उत्कृष्ट नाटक हो । वि सं २०३१ साल मंसिर १७ गते ललितपुरमा जन्मिएका कुमार नगरकोटी नेपाली साहित्यको क्षेत्रमा नवीन प्रयोग गरी लेख्ने साहित्यकारको रुपमा परिचित नाम हो । लेखन क्षेत्रमा साहित्यकार नगरकोटी विधाभञ्जन गरी लेख्ने लेखकको रुपमा स्थापित भएका छन् । लेखन मात्र नभएर कलाकारिताको क्षेत्रमा पनि उत्तिकै सशक्त मानिने कलाकार नगरकोटी साहित्यका विभिन्न विधामा सफल साहित्यकार हुन् । उनका कविता, उपन्यास, नाटक प्रकाशित भएका छन् ।
विशेष गरी तिसको दशकपछि नेपाली नाट्यलेखन र रङ्गमञ्चमा परिवर्तन आएको हो । मानव मनको शुक्ष्म विश्लेषणको घेरालाई छाडेर सामाजिक विसङ्गति, राजनीतिक विकृति र मानवीय संवेदनाका विविध पक्षलाई समकालीन नेपाली नाटकले आफ्नो सीमाभित्र बाँध्न खोजेको छ ( मल्ल, २०५७ ) । नेपाली नाटकको समकालीन पक्षलाई रङ्गकर्मीहरूले नयाँ रुपमा प्रस्तुत गरेका छन् । नाटकलाई रङ्गमञ्चमा पुर्याएर जीवन्तता दिने कार्यमा कलाकर्मी, रङ्गकर्मीहरूको ( मल्ल, २०५७) महत्त्वपूर्ण योगदान रहेको छ । आफूलाई रङ्गकर्मीको रुपमा प्रस्तुत गरेर पनि नाटक सिर्जना गर्ने नगरकोटीको हालसम्म एकमात्र नाटक ‘कोमा’ ( अ पोलिटिकल सेक्स ) प्रकाशित भएको छ । नगरकोटीका नाटक बाहेक अन्य विधा कविता संग्रह, कथा संग्रह, उपन्यास प्रकाशित भएका छन् ।
नाटककार नगरकोटी कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका थिए । ‘सरि बुद्ध आइ क्यान नट फलो यु’ शीर्षकको कविता उनको पहिलो प्रकाशित कविता हो । उनका प्रकाशित कृतिहरूमा मोक्षान्त : काठमाडौ फिभर (कथा संग्रह), मिस्टिका (उपन्यास ), अक्षरगञ्ज (गैरआख्यान ), घाटमाण्डु ( कविता संग्रह ) प्रकाशित भएका छन् ।
साहित्यको क्षेत्रमा नाटककार नगरकोटी विधाभञ्जक साहित्यकार हुन् । उनका हरेक विधाका साहित्यमा परम्परित मूल्य मान्यताभन्दा फरक नवीन दृष्टिकोण रहेको हुन्छ । नाटकको क्षेत्रमा नाटककार नगरकोटीले नवीन प्रयोग गरेर समसामयिक यथार्थता झल्किने गरी लेखेका छन् । नगरकोटीको आफ्नै विशेषता छ । उनी अन्य साहित्यकार भन्दा फरक छन् । घरपरिवारको कुनै वास्ता नगर्ने र कहिलेकाहिँ पाटीमा गएर बस्न मन पराउने उनको व्यक्तिगत स्वभाव हो । उनी कहिलेकाहिँ आफ्नो घर नै बिर्सिन्छन् । रातिमा हिँड्न मन पराउने, नदी किनारमा घाटमा एक्लै जाने र रातिको समयमा पानीको धारामा गई एकान्त समय निर्वस्त्र नुहाउने उनको स्वभाव छ । विवाहपूर्व उनी एकान्तस्थलमा बस्ने र गाँजा समेत खाने स्वभावका थिए । उनी सधैजसो रक्सी पिउने, एकोहोरो चुरोट सेवन गर्ने गर्दथे । एकपटक गाँजा खाएर पाटीमा एक्लै सुतेको अवस्थामा प्रहरीले फेला पारी लगेको थियो । त्यसबेला दुईरात उनले प्रहरी हिरासतमा बिताएका थिए । उनले प्रहरीको झापड त धेरैपटक खाएका छन् ( नगरकोटीसँगको मौखिक कुराकानीमा आधारित ) । नाटककार नगरकोटीले आफ्नो जीवनमा सँगालेका अनुभूतिको सँगालो बनेको छ, ‘कोमा’ नाटक ।
नगरकोटीका नाटकमा मानवीय जीवनका विसङ्गति र अस्तित्वको खोजी गरिएको छ । विभिन्न स्वरुपका चरित्रलाई उमेर र व्यक्तित्वका आधारमा (उपाध्याय, २०५२ : १९) विसङ्गतिवादी नाटकमा प्रस्तुत गरिएको हुन्छ । नगरकोटीको नाटक कोमा पाश्चात्य नाटककार तथा निर्देशक हेराल्ड पिन्टर (बेलायत ) को ‘द बर्थ डे पार्टी’ को प्रभाव परेको छ । त्यसैगरी जर्मन नाटककार बर्टाल्ड ब्रेख्त, स्पेनिस फिल्मी लेखक तथा निर्देशक पेट्रेडो अल्माडेभोर, अमेरिकन साहित्यकार अर्नेस्ट हेमिङ्वे, इटालियन नाटककार तथा मनोवैज्ञानिक विश्लेषक दार्शनिक लुइजी पिरान्डेलोको प्रभाव नाटककार नगरकोटीको नाटकमा परेको छ । उनी अझ पनि नवीन कृति नेपाली साहित्यमा प्रस्तुत गर्न सक्रिय छन् ।
‘कोमा’ नाटकमा नाटककार नगरकोटीले नेपालको वर्तमान राजनीतिको सजिव चित्रण गरेका छन् । नेपालमा संविधानसभाको निर्वाचन भएपश्चात २०६९ सालमा संविधान निर्माण नभईकन संविधानसभा नै विघटन भएको थियो । राजनीतिक दलहरूले संविधानसभालाई कोमामा पुर्याएका थिए । स्वेच्छाचारी रुपमा गरिने त्यसप्रकारका क्रियाकलाप चाहे संविधानसभाको विघटनको अवस्थामा होउन् या अन्य परिस्थितिमा । देशको राजनीति सुधार भएको छैन । नेपालको राजनीतिले नीति, सिद्धान्त, बिचार र वादहरूको कपडा फुकालेर नग्न बन्दै गइरहेको छ । नाटककारले यही तथ्यको वास्तविक चित्रण कोमा नाटकमा गरेका छन् ।
२) अध्ययनको उद्देश्य
‘कोमा’ नाटक नाटककार नगरकोटीद्वारा लेखिएको एकमात्र नाटक हो । उक्त नाटकमा नेपाली राजनीतिको यथार्थ रुपको चित्रण गरिएको छ । नाटककारले नेपालमा प्रजातन्त्रको आगमनपश्चात नेपाली राजनीतिमा देखिएको स्वेच्छाचारीपनको उद्घाटन गरेको छ । यतिबेला राजनीति कोमामा गएको छ । नेपाली राजनीतिमा अश्लिलता मौलाउँदै गइरहेको छ । नाटकले नेपाली राजनीतिको नग्न चरित्रको उद्घाटन गरेको छ । नेपाल सामन्तवादी परिस्थितिबाट नवउदारवादी अर्थतन्त्रमा प्रवेश गरेको अवस्थामा राजनीतिक नेतृत्वमा आएको बिचलनको अवस्था नाटकमा प्रस्तुत गरिएको छ । राजनीतिकर्मीहरूले देशको अवस्थालाई पुरानै सामन्तवादी सोचको आधारमा हेरेका छन् । देशलाई अग्रगमनको दिशामा लैजानुपर्नेमा पश्चगमनको दिशामा लैजाने कार्य राजनीतिक नेतृत्वबाट भएको छ । सत्ता उन्मादले गर्दा यतिबेला नेपालको राजनीति ज्यादै तरल अवस्थामा पुगेको छ । राजनीतिकर्मीहरूको ‘सर्ट टर्म मेमोरी लस्ट’ भएको छ । नेताहरूलाई हरेक जिम्मेवारी बिर्सने रोग लागेको छ । ‘ कोमा’ नाटकमा नेपाली राजनीतिलाई समसामयिक अवस्थासँग तुलना गरेर लेखकले कसरी प्रस्तुत गरेका छन् ? नाटकले दिन खोजेको समसामयिक राजनीतिप्रतिको यथार्थता के हो ? भन्ने समस्यामा आधारित रहेर प्रस्तुत अध्ययन गरिएको छ । अध्ययनको क्रममा नेपालको राजनीतीको समसामयिक यथार्थतालाई नाटकको माध्यमबाट दिन चाहेको सन्देश खोजी गरी नाटकमा उल्लेखित विषयवस्तुको विश्लेषण गर्नु अध्ययनको उद्देश्य रहेको छ ।
३) अध्ययनको सीमा
प्रस्तुत अध्ययनमा ‘कोमा’ नाटकमा उल्लेखित विषयवस्तुसँग सम्बन्धित रहेर अध्ययन गरिएको छ । अध्ययनको लागि नाटककार कुमार नगरकोटीको ‘कोमा’ नाटकमा पाइने प्रयोगधर्मीताको बारेमा नाटकमा उल्लेखित बिचारहरूको गुणात्मक अध्ययन पद्धतिसँग सम्बन्धित रहेर अध्ययन र विश्लेषण गरिएको छ । कोमा नाटकसँग सम्बन्धित रहेर गरिएका अध्ययनका सीमाभित्र रहेर नाटकलाई पूर्णता दिइएको छ ।
४) अध्ययन विधि
‘कोमा’ नाटक अध्ययनको लागि गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । नाटकको अध्ययनका क्रममा सङ्कलित सामग्रीको व्याख्यात्मक विधिको आधारमा अध्ययन गरिएको छ । नाटककार कुमार नगरकोटीको कोमा नाटकमा रहेका ६ वटा दृश्यमा आधारित भएर नाटकको विश्लेषण गरिएको छ ।
५) सामग्री सङ्कलन विधि
प्रस्तुत अध्ययनमा नाटककार कुमार नगरकोटीको ‘कोमा’ नाटकलाई प्रमुख अध्ययन सामग्रीको रुपमा प्रयोग गरिएको छ । अध्ययनमा प्राथमिक र द्वितीयक सामग्रीको प्रयोग भएका छन् । प्राथमिक सामग्रीको रुपमा नाटककार नगरकोटीको कोमा नाटक रहेको छ । द्वितीय सामग्रीको रुपमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरू, नाटकको अध्ययनसँग सम्बन्धित लेखरचनाहरूलाई द्वितीयक सामग्रीको रुपमा प्रयोग गरिएको छ । नेपाली नाटकको क्षेत्रमा देखा परेको प्रयोगधर्मी चेतना र प्रयोगधर्मी नाटकहरूको अध्ययन गरिएका सामग्रीहरूलाई अध्ययन गरी प्रस्तुत गरिएको छ । विद्युतीय सामग्रीको रुपमा इन्टरनेटमा प्राप्त सामग्रीलाई आवश्यकताअनुसार प्रयोग गरिएको छ ।
६) सैद्धान्तिक पर्याधार
नाटक दृश्यपाठ्य विधा हो । यसको स्वरुप त्रिआयामिक हुन्छ । एउटा नाटक सफल हुनको लागि त्यसमा दर्शक, स्रोता र पाठकले मन पराउनु आवश्य हुन्छ । इटालीका नाटककार लुइजी पिरान्डेलोले नाटकको क्षेत्रमा नवीन प्रयोग र दृष्टिकोण प्रस्तुत गरेका छन् । व्यक्तिको मनोविज्ञानलाई नाटकमा प्रस्तुत गरिएको छ (पिरान्डेलो, १९०८) । पिरान्डेलोले नाटकको क्षेत्रमा धेरै महत्वपूर्ण कार्य गरेका थिए । जनताको अधिकारका लागि उनी सधै लडिरहे । राजनीतिमा व्यक्तिको अनुशासनका कुरा उनका मुख्य दर्शन हो । उनी तानाशाहको विरोधी थिए । उनको दर्जन भन्दा बढी नाटकहरू प्रकाशित भएका छन् ।
नाटक प्राचीन विधा हो । पूर्व र पश्चिममा नाटकको आफ्नो विकास परम्परा छ । नाटकलाई पूर्वीय र पाश्चात्य विद्वानहरूले आफ्नै प्रकारले हेरेका छन् । पश्चिमाहरू नाटकलाई ड्रामा, थिएटर नामले चिन्दछन् (उपाध्याय, २०५२ :११) । यस आधारमा नाटकलाई कुनै निश्चित रङ्गमञ्चमा प्रदर्शन गरिने विधा मानिएको हो । नाटकमा ड्रामाले अभिनयलाई जनाउँछ भने थिएटरले अभिनय गर्ने स्थान विशेषामा जोड दिएको हुन्छ (उपाध्याय, २०५२ :११) । अहिले नेपाली नाटकको क्षेत्रमा थिएटरको प्रचलन चलेको छ । पछिल्लो समयका नाटककारहरूले थिएटर स्थापना गरेर नाटक मञ्च परम्परालाई अगाडि बढाएका छन् ।
नाटकको चर्चा पहिला पूर्वबाट भएको हो । पूर्वीय नाट्याचार्य भरतमूनीले सर्वप्रथम नाटकको चर्चा गरेका थिए । भरतमूनीको नाट्यचर्चालाई अगाडि बढाउने कार्य धनन्जय र विश्वनाथबाट भएको हो ( उपाध्याय, २०५२ : ४७) । पूर्वीय नाट्य मान्यताअनुसार नाटकका तत्त्वहरूको बारेमा चर्चा गरिएको छ । नाटकको वास्तविक महत्त्व रङ्गमञ्चमा प्रदर्शन गरेपछि मात्र हुन्छ । नाटक मञ्चन र अभिनय परम्पराको सुरुवात पूर्वीय आचार्य तथा विद्वानहरूको पालादेखि भएको हो । पश्चिममा नाट्य परम्परा पूर्वमा भन्दा पछि भएको हो । पाश्चात्य जगतमा नाटकसम्बन्धी चिन्तन ग्रिसेली काव्यमनिषी एरिस्टोटलबाट आरम्भ भएको हो ( उपाध्याय ,२०५२ :६३) । एरिस्टोटलले दु:खान्त नाट्य मान्यतालाई अगाडि सारेका थिए । नाटकको परम्परा यही क्रममा अगाडि बढ्दै आयो ।
नाटक कुनै अभिप्रायको साथ प्रादुर्भाव हुन्छ । अनुकरण परम्पराबाट नाटकको विकास भएको हो । कुनै विषयमा दर्शकको सामु अभिनयको माध्यमबाट प्रस्तुत गर्ने कार्य नाटकमा हुन्छ । नाटकलाई विभिन्न कोणबाट प्रस्तुत गर्ने कार्यको थालनी पूर्वमा जसरी भयो त्यसरी नै पश्चिममा पनि विकसित हुँदै गयो । पश्चिमका नाटककार विलियम सेक्सपियरले नाटकको क्षेत्रमा दु:खान्त नाट्य परम्परा स्थापित गरेर नवीन चिन्तन प्रारम्भ गरे । सेक्सपियरपछिका पश्चिमी नाटककारहरूमा बेलायतका जर्ज लिलिओ, जर्मनीका जि इ लेसिङ, फ्रान्सका डेनिस डिडेरटले नाटकको क्षेत्रमा नवीन र प्रयोगवादी मान्यतालाई अगाडि सारे ।
नेपाली नाट्ययात्रालाई अध्ययन गर्दा पृथ्वीनारायण शाहको पालामा शक्तिवल्लभ अर्यालले नाटक लेखनको सुरुवात गरेका थिए (श्रेष्ठ र शर्मा, २०५६ :१३३) । यस परम्परा अगाडि बढ्ने क्रममा २००८ सालपछिको नाटक परम्परा आधुनिक रुपमा देखा परेको हो । गोबिन्दबहादुर मल्ल गोठाले (१९७९-२०६७) ले नेपाली नाटकको क्षेत्रमा मनोवैज्ञानिक नाटक लेखेर नेपाली नाट्य परम्परालाई अगाडि बढाउने कार्य गरे (श्रेष्ठ र शर्मा ,२०५६ : १३३) । आधुनिककालमा नाटकको परम्परा विभिन्न स्वरुपमा अगाडि बढेको छ । वर्तमान अवस्थासम्म आउँदा नाटक क्षेत्रमा मोहनराज शर्माका स्वैरकाल्पनिक नाटक, ध्रुबचन्द्र गौतमका मानवीय सम्बन्धलाई प्रस्तुत गरिएका नाटक, अशेष मल्लका सडक नाटक, सरुभक्तका नवीन कथ्य प्रस्तुत गरिएका नाटक, गोपाल पराजुलीका शुक्ष्म कथानक प्रस्तुत गरी लेखिएका विसंगतिपूर्ण विषयवस्तु उल्लेख भएका नाटक, अविनाश श्रेष्ठका प्रयोगवादी बौद्धिक नाटक (श्रेष्ठ र शर्मा, २०५६ :१४५ ) हुँदै पछिल्लो समयका नाटककार कुमार नगरकोटीसम्म आउँदा नेपाली नाटकको क्षेत्रमा प्रयोगवादी एवम् मानवीय जीवनका विसङ्गति र अस्तित्वको खोजी गरेर नाटक लेख्ने परम्पराको सुरुवात भएको छ । नाटककार नगरकोटीले समसामयिक जीवनका विषयवस्तु समेटेर सफलतापूर्वक नाटकको प्रस्तुति गरेका छन् । नाटक लेखन मात्र नभएर आफूले सिर्जना गरेको नाटकमा महत्त्वपूर्ण अभिनय समेत गरेका छन् । नेपाली नाटक क्षेत्रसँग सम्बन्धित रहेर अहिले नाटककार नगरकोटी नाटक लेखन र अभिनयको माध्यमबाट आफूलाई नेपाली नाटक क्षेत्रको एक सशक्त व्यक्तित्वको पहिचान दिन सफल भएका छन् ।
नाटकको सैद्धान्तिक मान्यताका आधारमा नाटक लेखन र मञ्चन परम्परालाई अध्ययन गर्नु आवश्यक हुन्छ । पूर्वीय नाटक सिद्धान्तले सुखान्त पक्षलाई जोड दिएको छ । पाश्चात्य नाट्य मान्यताअनुसार दु:खान्त पक्षमा जोड दिइएको छ । पूर्वमा आचार्य भरतपछि धनन्जय र विश्नाथले सुखान्त नाट्य परम्परालाई अगाडि बढाएजस्ती पश्चिममा दु:खान्तको स्वरुप निर्धारण गर्नमा र नाट्य रचनामा एस्किलस, सोफोक्लिज र युरिपाइडिजको विशिष्ट देन छ (थापा, २०५०:१०१ ) । नेपाली नाटकको पछिल्लो समय प्रयोग काल हो । वर्तमान समयमा नाटकको आयाम र रङ्गमञ्चीय स्वरुपमा परिवर्तन भएको छ । आकारको हिसाबले लामा नाटक लेख्ने परम्पराको अन्त हुँदै गएको छ । नाटक हेर्ने दर्शकहरू लामो समयसम्म पट्यार लाग्दो गरी बस्ने अवस्था छैन । चलचित्रको विकास र व्यापक प्रचारका साथै आधुनिक मानिसको व्यस्तताले गर्दा रङ्गमञ्चमा नाटक प्रस्तुत गर्ने परम्परा पन्यालो हुँदै आयो ( नेपाल, सन १९९१ : ११९) । यस परिवेशमा नाटक लेखन र मञ्च दुबै तहमा नाटक क्षेत्रमा नवीन प्रयोग गरिएको छ ।
नाटकको अध्ययन गर्ने क्रममा त्यसको कला पक्ष, संरचना पक्ष र बिचार पक्षलाई आधार मानेर गरिन्छ । नाटकको कलापक्षले बौद्धिक पक्षालाई समेटेको हुन्छ । संरचना पक्षमा नाटकका तत्त्वलाई ख्याल गर्नुपर्छ । बिचार पक्षले नाटकले समाजलाई दिन खोजेको सन्देश उल्लेख गरिएको हुन्छ । नाटककार नगरकोटीका नाटकमा संरचनागत पक्षमा नवीनता प्रस्तुत गरिएको छ। लेखकले नौलो शैलीमा नाटकलाई प्रस्तुत गर्ने परम्पराको सुरुवात गरेका छन् । जर्मन लेखक फ्रेन्ज काफ्का ( १८८३-१९२४), स्पेनिश नाटककार तथा फिल्मी लेखक पेट्रेडो अल्माडभोर ( १९४९), जर्मन नाटककार तथा कलाकार बर्टाल्ड ब्रेख्त ( १८९८-१९५६ ) र भारतीय नाटककार तथा साहित्यकार मोहन राकेश ( १९२५- १९७२) को नाट्य चिन्तनको प्रभाव नाटककार नगरकोटीले आफ्नो नाटकमा प्रस्तुत गरेका छन् ।
नेपाली नाटकको क्षेत्रमा नाटकको विषयवस्तुलाई संक्षिप्त रुपमा प्रस्तुत गरी समाजलाई मार्गदर्शन गर्ने नाटक लेखन र मञ्चन परम्पराको थालनी भएको छ । नाटककार कुमार नगरकोटी यही नवीन प्रयोगको माध्यमबाट नेपाली नाट्य क्षेत्रमा देखा परेका पछिल्लो समयका सशक्त नाटककार हुन् ।
७. नाटकको विश्लेषण
कोमा नाटकको मुख्य विषयवस्तु राजनीतिक विसङ्गतिले निम्त्याएको देशको समसामयिक अवस्था चित्रण गरिएको छ । नेपाली जनताको लामो सङ्घर्षपश्चात स्थापित गणतन्त्रको प्रमुख पाइला संविधानसभा हो । संविधानसभाको निर्वाचनपश्चात संविधान निर्माण नहुँदै संविधानसभाको अवशान भयो । २०६९ साल जेठ १५ गते संविधानसभा कोमामा गयो । संविधानसभा फेरि कोमाबाट बाहिर आउने नआउने कुनै निश्चित भएन । सोही विषयवस्तुलाई कोमा नाटकमा प्रस्तुत गरिएको छ । कोमा नाटकमा समसामयिक राजनीतिक अवस्थाप्रति व्यङ्ग्य गरिएको छ ।

७.१ राजनीतिमा पहिचानको खोजी
अहिले राजनीति गर्नेहरू सिद्धान्त र बिचारभन्दा टाढा सत्तास्वार्थमा दौडिएका छन् । राजनीतिमा पहिचान हराएको छ । उनीहरूको वर्ग नै चिन्न गारो भइसकेको छ । यही अवस्थालाई नाटकको पात्र पोष्टम्यानले व्यङ्ग्य गर्दै आफ्नो बिचार प्रस्तुत गरेको छ –
कुरा अजीवगरिबको हो । अचम्मलाग्दा घटनाहरूको । त्यो कथामा सो कल्ड पुरुष पात्रहरूको लिङ्ग हराएको ज्यादै अनौठो प्रसङ्ग छ । म एकरात त्यो कथा पढेर सुतेँ । तर त्यो रात ज्यादै डरलाग्दो सपना देखेँ । सपनामै सही मेरो लिङ्ग पनि चट् भयो (पृष्ठ¸ ४९) ।
राजनीति स्पष्ट नीति र बिचारबाट प्रभावित हुनु पर्दछ । अहिले राजनीतिको बिचार¸ सिद्धान्तको त कुरा परै रहेको छ । राजनीतिमा पहिचान हराइसकेको कुरामा जोड दिइएको छ ।
७.२ राजनीतिको दास प्रवृत्तिप्रतिको व्यङ्ग्य
मानिस राजनीतिप्रति सचेत प्राणी हो । राजनीतिको बारेमा जान्नु मानिसलाई आवश्यक पनि छ । तर अहिले मानिसहरू राजनीतिक पार्टीको पछाडि अन्धो भएर हिँडेका छन् । राजनीतिले सबैलाई अन्धो बनाइसकेको छ । मानिस राजनीतिमा सचेत प्राणी भन्दा बढी राजनीतिक पार्टीको प्राणी बनेको छ । राजनीतिक नेताले जे गर्छन् कार्यकर्ताले त्यसलाई सहज स्वीकार गर्छन् । ठीक- बेठिक भन्दा पनि आफ्नो आस्थाको राजनीतिक नेतृत्वले जे गर्यो त्यो ठीक भन्ने प्रचलन छ । जसको परिणाम राजनीति अस्थिर बन्न गएको छ । यसलाई नाटकको पात्र श्लोकले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ –
म्यान इज अ पोलिटिकल एनिमल । मलाई यो प्रख्यात फ्रेजमा वाक्यमा के-के कुरा छुटे झैँ लाग्यो । संयोगवश ओभरकोटको खल्तीमा यो मार्कर रै छ । ( सबैलाई मार्कर देखाउँछ । भित्तामा झुण्डिएको ओभरकोटको खल्तीबाट निकाल्दै ) त्यो सेन्टेन्समा एउटा शब्द थपिदिएँ । सेन्टेन्समा यस्तो देखियो : म्यान इज अ पोलिटिकल पार्टीज एनिमल ( पृष्ठ¸ ५८ ) ।
राजनीतिबाट अस्तित्वविहिन भइसकेकाहरू पनि ब्युँतिएर गिज्याउन थालेको कुरामा जोड दिइएको छ ।
७.३ जीवनको विसङ्गति र अस्तित्वको प्रस्तुति
मानिसको जीवन विसङगतिमय छ । मानिसले सुख र आनन्दको खोजी जीवनभर गरिरहन्छ । मानिस एउटा कुराको प्राप्ति गर्छ । फेरि अर्को झन ठूलो समस्याको पहाड उसको अगाडि आइदिन्छ । समयसित मानिसले धेरै ठूलो सङ्घर्ष गरेको छ । मानिस समयसँगै आफूलाई पनि हिँडाउन चाहन्छ । तर समयले मानिससित धेरै कुरा लुटेर लगेको छ । यस अर्थमा समयले मानिसलाई केही नदिएको तर मानिससँग लुटेर मात्र लिएको जीवनको विसङ्गतिमय भावलाई एकजना मानिसको भनाइ नाटकमा प्रस्तुत गरिएको छ –
मेरो शुभकामनाले तिम्रो जवानी फर्कने भए क्या जाती हुन्थ्यो । बट् ग्रीष्मिला¸ माइ डियर गोन आर द डेज अफ फेयरी टेलस् । म पनि त बूढो भइगएँ । कहिलेकाहीँ झल्याँस्स हुन्छु । यसो सोची बस्छु । समय भनेको मेरो टोल¸ गल्लीको गण्डा रहेछ । डाँकु रहेछ । लुटेरा रहेछ । समयले मान्छेसित लुट्न मात्रै जान्दो रहेछ ( पृष्ठ¸५ ) ।
जीवनलाई प्रत्येक बिहानको उज्यालोसँगै आनन्दमय बनाउने चाहना हरेक मानिसको हुन्छ । मानिस आफ्नो अस्तित्वको खोजीमा जीवनको रङ्गमञ्चमा विभिन्न उत्सवहरू मनाइरहेको कुरा कोमा नाटकमा गीत मार्फत प्रस्तुत गरिएको छ –
सुस्तरी आउँछ सुस्तरी चलमलाउँछ जीवन
अस्तित्वको रङ्गमञ्चमा दुई दिनको सेलेब्रेसन
हेलो पोष्टम्यान¸ हेल्लो पोष्टम्यान
कसको खबर लिई आयौ
एका देशको कथा त लोप भयो
कसको सहारा लिई आयौ ( पृष्ठ¸ ७३) ।
जीवन हरेक दिन पोष्टम्यानको खबरजस्तै अस्तित्ववान हुन खोजेको आशय व्यक्त भएको छ ।
७.४ अस्थिर राजनीतिको कारण संवैधानिक समस्या आएको प्रस्तुति
देशका राजनीतिक अस्थिरता बढ्दै गएको छ । देशको राजनीति ज्यादै बिरामी परेको छ । सोही बिरामीको कारण यतिबेला देशको राजनीति विक्षिप्त अवस्थामा कोमामा छटपटाएको छ । २०६९ साल जेठ १५ गतेपछि नेपालको राजनीति कोमामा गएको कुरालाई नाटकमा उल्लेख गरिएको छ । यतिबेला देशको अवस्थालाई नाटकको विषयवस्तुले स्पष्ट पारेको छ –
संविधानसभाको असामयिक निधन भएको भोलिपल्ट । वास्तबमा उहाँ नाटक लेखिरहनुभाथ्यो । नाटकलाई बिचैमा छाडी उहाँ कोमामा गैदिनु भयो । एकाबिहानै । कफी पिउँदा पिउँदै । सिग्रेट खाँदा खाँदै ( पृष्ठ¸ २३ ) ।
अहिले देशको संविधान बिरामी परेको छ । बिरामीको चर्को पीडाले देशको संविधान नै कोमामा छ । जब संविधान ब्युँतिने छ तब देश कोमाबाट ब्युँतिने आशय नाटकमा प्रस्तुत छ ।
मलाई कहिलेकाहीँ के लाग्छ भने उहाँ देशको संविधान हो¸ जो यसरी कोमामा गएको छ । हाफडेड¸ हाफ अलाइभ¸ मलाई एउटा भ्रम सधै भइरहन्छ कि देशमा संविधान जन्मेको दिन उहाँ कोमाबाट ब्युँझनु हुनेछ ( पृष्ठ¸ २४) ।
देशमा संविधानसभा मरेपछि फेरि संविधान त बनेको छ । संविधान बने पनि संविधानको कार्यान्वयनमा समबन्धित तहबाट नै उदासिनता आएको कुरासमेत यहाँ प्रसङ्ग बनेको छ ।
७.५ नेपाली राजनीतिमा विदेशी हस्तक्षपको प्रस्तुति
नेपाली राजनीतिमा प्रत्यक्ष रूपमा विदेशी हस्तक्षेप छ । अझ साँचो अर्थमा भन्दा नेपालको राजनीतिमा भारतीय दबदबा बढ्दो छ । नेपालमा प्रजातान्त्रिक समाजवादको राजनीतिक बिचारबाट चिनिएका व्यक्तिहरू भारतमै हुर्के बढेको नाटकमा प्रस्तुत छ । आफ्नो पार्टीको नामसमेत भारतीय लवजमा बोल्ने प्रवृत्ति छ । यस अर्थमा पार्टी कार्यालय पेरिसडाँडा¸ सानेपामा हुने गरेको यथार्थता नाटकमा पत्रकारको माध्यमबाट प्रस्तुत गरिएको छ –
तिम्रो तथाकथित प्रजातान्त्रिक समाजवादमा पनि त निख्खर भारतीय गन्ध आउँछ । तिम्रो पार्टीका प्राचीन बूढाहरू उतै दक्षिणतिर हुर्के बढेकाले हुनुपर्छ¸ त्यसैले सम्पूर्ण आचार¸ बिचार¸ व्यवहार दक्षिणपन्थी छ । काँसम्म भने¸ आफ्नो पार्टीको नामसमेत तिमीहरू इण्डियन लवजमा गर्छौ ( पृष्ठ¸ ३६ ) ।
नेपालको राजनीति र आन्तरिक मामलामा उत्तर र दक्षिणबाट ठाडो हस्तक्षप भएको छ । आफ्नो पहिचान हराएका नेताहरू यस प्रकारको हस्तक्षपलाई टुलुटुलु हेरीमात्र रहेका छन् । अझ भन्दा छिमेकीको लवजमा बोल्नसमेत पछि पर्दैनन् । नाटकले यस्ता प्रवृत्तिको उजागर गरेको छ ।
७.६ पुरानो सत्ता ब्युँतिन खोजेको आशय
देशमा गणतन्त्र ल्याउन जनताले ठूलो सङ्घर्ष गरेका थिए । तर नेताहरूको कारण गणतन्त्र नै धरापमा परेको छ । अहिले गणतन्त्र चिहानमा पुग्न लागेको छ । मरिसकेको पुरानो सत्ता ब्युँतिन खोजेको छ । चिहानमा पुगेको पुरानो राज्यसत्ता फेरि आफ्नो ठाउँ बनाउन खोजेको कुरा डेडम्यान (श्लोक) को माध्यमबाट प्रस्तुत गरिएको छ –
होइन होइन । नाङ्गै थिएँ । चिहानबाट निस्केर यसो बाहिर हेरेँ । एउटा मान्छे चिहान छेवै गुडुल्किएर सुतेको रैछ । मरिसकेको । त्यो मान्छेको कपडा लगाएँ । यो मैले लगाएको लुगा त्यही मान्छेको हो । त्यो मान्छेको अण्डरवयर चाहिँ लगाइन । घिन लाग्यो । लुगाहरू सबै मेरो शरीरलाई म्याच गर्यो । ओभर-कोट मात्रै अलिक ओभर- साइज भएको हो । त्यसपछि त्यो मान्छेलाई मैले आफ्नै चिहानमा पुरिदिएँ । त्यसले मेरो ठाउँ ओगट्यो । वास्तवमा हामी सबैले आफूले ओगटेको ठाउँ छाडिदिनु पर्छ कुनै न कुनै दिन ( पृष्ठ¸ ५७ ) ।
राजनीतिक पार्टी र तिनका नेताहरू असफल भै सके । आफूले प्राप्त गरेको अधकारको सही प्रयोग गर्न सकेनन् भन्ने बिचार नाटकमा प्रुस्तुत भएको छ ।
७.७ नेपालको सञ्चार प्रविधिप्रतिको गुनासो
नाटकमा सञ्चारको यथार्थता प्रस्तुत गरिएको छ । नेपालको सबैभन्दा ठूलो सञ्चार कम्पनी नेपाल टेलिकमको समस्या ठूलो छ । भनेको समयमा फोन लाग्दैन । एनटिसिलाई राष्ट्रिय टेन्सन कम्पनी भनी नाटकमा सङ्केत गरिएको छ –
खिन्न हुन्छ । साथीहरूसित आफ्नो मोवाइलको गुनासो गर्छ । यो मुला एनटिसिको कामै यस्तो । एनटिसि अर्थात नेशनल टेन्सन कम्पनी (फोन पुन : प्रयास गर्छ ) । यसपटक फोन लाग्छ । पत्रकारले घाँटी सफा गर्छ । समूहमा बिस्तारै इशारा गर्दै लाग्यो¸ लाग्यो भन्छ । स्त्री आवाज सुनिन्छ ( पृष्ठ¸ ३१ ) ।
नेपाल टेलिकम नेपालको सबैभन्दा ठूलो सञ्चार कम्पनी हो । तर यसको सेवा जुन गतिमा हुनु पर्ने हो सो अनुसार भएको छैन भन्ने आशय व्यक्त गरिएको छ ।
७.८ राजनीतिक पार्टीको नकारात्मक परिणाम
विश्वमा राजनीतिक प्रदूषण बढेको छ । वातावरणीय प्रदूषण बढ्नुमा राजनीतिको प्रमुख हात छ । राजनीतिक दलका नेताहरूले राजनीतिक वातावरण प्रदूषित बनाउन लागी परेका छन् । द्वन्द्वात्मक भौतिकवादको गलत अर्थ लगाइएको छ । विपरीतका बिचको द्वन्द्वले सकारात्मक निचोड निकाल्छ भन्ने द्वन्द्ववादलाई राजनीतिक विकृतिको रूपमा रूपान्तर गरिएको छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको सौन्दर्यशास्त्रलाई विकृत बनाइएको आशय पत्रकारको पत्रकारको भनाइबाट स्पष्ट भएको छ-
छलफलको निष्कर्ष त अहिले निस्किहालेको छैन । त्यसबारे बोलिहाल्नु अलि हतार हुनेछ । तर पक्का के हो भने ग्लोबल वार्मिङ यसरी बढ्नुको पछाडि हाम्रो महान पार्टीको महान ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको ठूलो हात छ । तिमी अहिले नुहाइरा’छौ । यो पनि ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको सौन्दर्यशास्त्रीय उदाहरण हो ( पृष्ठ¸ ३२) ।
कोमा नाटक राजनीतिक व्यङ्ग्य गरेर लेखिएको छ । अहिले राजनीतिको नाममा विकृति मौलाएको छ । राजनीतिमा आस्था राख्नेहरू आफ्नो पार्टीप्रति अन्धो भएर लागेका छन् । आफ्नो आस्थाको राजनीतिक दलले जे गरे पनि त्यसलाई स्वीकार गर्ने प्रवृत्ति मौलाएको छ । राजनीतिक दललाई महान मानेर भक्ति भावना प्रकट गर्ने प्रवृत्ति मौलाएको छ । यही कारण देशमा अस्थिरता¸ राज्य व्यवस्थामा विभिन्न विकृति र विसङ्गतिको विकास हुँदै गएको छ । राजनीतिमा अन्धो भएर लाग्ने महान रोग लागेको बिचारलाई सेलोफोनको माध्यमबाट व्यक्त गरिएको छ –
आफ्नो पार्टीको सम्पूर्ण कुरा तिमीलाई महान लाग्छ । के को महान हुन्थ्यो ? बुझ्यौ¸ यो एउटा रोग हो । तिम्रै शब्दमा भन्ने हो भने महान रोग ( पृष्ठ¸ ३५) ।
राजनीतिक विकृति नै देशको प्रमुख समस्या भएको कुरालाई नाटकले जोड दिएको छ ।
७.९ साहित्यकार लेखकको पीडा
लेखकको आफ्नो बिचार कृतिमा प्रस्तुत भएको हुन्छ । लेखकले कृति जन्माइ सकेपछि उसलाई थप हौसला दिने प्रचलन हामीकहाँ छैन । अझ भन्नु पर्दा लेखकको रचना किनेर पढ्ने पाठकको अभाव छ । पुस्तक किनेर पढ्ने पाठक भन्दा सित्तैमा पढ्न चाहने जमात बढी छ । लेखकको भावनालाई पाठकले विभिन्न अर्थमा ग्रहण गर्दछन् । यस भावलाई ह्विलचेयर मानवको माध्यमबाट प्रकट गरिएको छ-
पुस्तक विमोचन भैसकेपछि म त्यहाँ धेरै बेर बसिनँ । एकप्रति लिई घर फर्केँ । उपन्यास जम्मा सयप्रति छापिएको थियो¸हार्ड कभरमा । घरमा आइ किताब पल्टाइ हेरेँ । त्यहाँनेर अचम्म भयो । किताबभित्र अक्षरहरू बिलाउन थाले । मरूभूमिमा मनसुन बिलाए झैँ । त्यति मात्र कहाँ हुनु ? त्यसपछि मेरो बुक सेल्फमा रहेका सम्पूर्ण किताबहरूबाट पनि अक्षर¸ शब्दहरू क्रमश: बिलाइगए । म हेर्याहेर्यै भै गएँ । ट्वाँ परि गएँ । अनि अर्को अचम्म लाग्दो घटना के भयो भनेदेखि विमोचनका बेला ती बाँकी उनानसय पुस्तक ज-जसले किनेका थिए¸ ती सबै घर फर्केनन् । सहरबाट ती जम्मै मान्छे¸ उनानसय मानिसहरू कहिलै घर फर्केनन् ( पृष्ठ¸ ४८ ) ।
एउटा लेखकले एउटा कृति जन्माउन धेरै समस्या भोगेको हुन्छ । तर जब कृतिको जन्म हुन्छ तब लेखकको सबै मिहिनेत यतिकै खेर जाने अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ ।
७.१० कम्युनिष्ट बिचार जवानीमा मात्र उपयोगी भएको धारणा
मानिसहरू राजनीति गर्ने क्रममा जवानीमा कम्यनिष्ट हुन्छन् । पछि तिनी मानिसहरू कट्टर आध्यात्मिक बनेका हुन्छन् । किताब पढेर कम्युनिष्ट बनेकाहरू पछि बुर्जुवा हुने धारणा फोटोग्राफरको भनाइबाट स्पष्ट भएको छ –
कम्युनिष्ट घोषणापत्रमा यस्तो आध्यात्मिक कविता । ( बिस्मित हुँदै गुनगुनाउँछ ।) वाण्डरिङ¸ वाण्डरिङ- आइ एम लाइफ¸ साँच्चै युवाकालमा कुनै दिन म पनि कम्युनिष्ट थिएँ । जवानीमा कम्युनिष्ट नहुने को होला र । साँच्चै भन्ने हो भने कम्युनिष्ट मेनिफेस्टो त कम्युनिष्टहरूको धर्मग्रन्थ नै हो । म पनि यही किताब पढेर कम्युनिष्ट बनेको थिएँ । अहिले पो बुर्जुवा कम्युनिष्ट बनेँ । तर¸ यो वाण्डरिङ¸ वाण्डरिङ – आइ एम लाइ फ … ( पृष्ठ¸ ६५) ।
कोमा नाटककार कुमार नगरकोटीको प्रयोगवादी समसामयिक नाटक हो । नाटकको मुख्य उद्देश्य समसामयिक राजनीतिक परिवेश प्रस्तुत गर्नु रहेको छ । राजनीतिले विकृत सामाजिक परिवेशलाई नाटक मार्फत प्रस्तुत गरिएको छ । नेपाली राजनीतिको नग्न तस्बिर नाटकमा चित्रण भएको छ । राजनीति अश्लील बन्दै गएको यथार्थता नाटकमा चित्रण गरिएको छ ।
८. निष्कर्ष
नेपाली नाट्य साहित्यको पछिल्लो समयका सशक्त नाटककार कुमार नगरकोटी हुन् । उनको कोमा नाटक समसामयिक प्रयोगलाई प्रस्तुत गरी लेखिएको छ । नेपाली राजनीतिमा देखिएको विकृत अवस्थालाई नगरकोटीले कोमा (अ पोलिटिकल सेक्स) नाटकमार्फत प्रस्तुत गरेका छन् । वर्तमान नेपाली राजनीति कोमामा गएको छ । राजनीतिलाई अर्धमृत अवस्थामा पुर्याउने कार्य राजनीतिका खेलाडी नेताहरूबाट भएको छ । नाटककार नगरकोटीले उडी एलेनको फिल्मको अर्नेष्ट हेमिङ्वेको जमानामा पुगेर नाटक सिर्जना गरेका छन् । ‘पेड्ररो अल्मडेभोर’ को ‘टक टु हर’ नामको चलचित्रमा उल्लेखित पात्र नर्सको कथासँग कोमा नाटकको कथावस्तु मिल्न गएको छ । यहाँ राजनीति गर्नेहरूले प्रजातन्त्र¸ गणतन्त्र र समग्र राजनीतिक प्रणालीमाथि बलात्कार गरेका छन् । राजनीतिकर्मीहरूको सामुहिक बलात्कारको पीडाले गणतन्त्र यतिबेला कोमामा छ ।
यो समयमा नेपाली राजनीति नीति¸ सिद्धान्त¸ बिचार र वादहरूको कपडा फुकालेर नग्न बन्दै गइरहेको छ । यस्ती राजनीतिक नग्नताको समयमा कोमा नाटकले राजनीतिमा ‘जे भयो ठीक भयो’ भन्ने प्रवृत्ति विकास भएको आशय प्रकट गरेको छ । नेपाली राजनीतिमा मौलाउँदै गएको अश्लीलतालाई नाटकले राम्रोसँग प्रस्तुत गरेको छ । नाटक अध्ययनको क्रममा नेपाली राजनीतिको नग्न चरित्र स्पष्ट देख्न सकिन्छ ।
यतिबेला नेपाल सामन्तवादबाट नवउदारवादी अर्थतन्त्रतिर लम्किएको छ । तथापि राजनीतिक नेतृत्वमा रूपान्तरण आउन सकेको छैन । राजनीतिकर्मीहरूले देशको अवस्थालाई पुरानै चश्माबाट हेरेका छन् । समस्या ज्यूँका त्यूँ छन् । देश अग्रगमन होइन¸ पश्चगमनको दिशामा छ । राजनीतिकर्मीहरूको ‘ सर्ट टर्म मेमोरी लस्ट’ भएको छ । यस्तो अवस्थामा जिउँदो मानिसलाई बिर्सने रोग लागेको समय नाटकमा चिहानबाट लास उठेर आएको छ । आफू चिहानबाट उठेर आएको डेडम्याम भएको परिचय सगौरव दिएको छ ।
नेपाली शासकहरूले प्रत्येक पल¸ प्रत्येक दिन देशलाई कोमामा धकेलिरहेका छन् । राजनीतिकर्मीहरू देशलाई कोमामा पठाएर जन्मोत्सव मनाइरहेका छन् । यहाँ राजनीतिले देश र जनतामाथि बलात्कार गरेको छ । जनताले आफ्ना नेता चुनेर पठाए पनि उस्तै अशान्त छन्¸ उस्तै बेचैन छन् । यति भएर पनि राजनीतिले जनतालाई राजनीतिक पार्टीको प्राणी बनाएको छ । राजनीतिक रूपमा सचेत हुनु सबैलाई आवश्यक छ । मानिस राजनीतिक प्राणी हो । नेपाली जनता यतिबेला राजनीतिक प्राणी मात्र भएका छैनन् कि राजनीतिक पार्टीको प्राणी भएका छन् । राजनीतिले नेपाली जनतालाई दाश बनाएको छ ।
नाटकमा छिमेकीको व्यवहार उल्लेख छ । उत्तर र दक्षिणका छिमेकीहरू हामीलाई माया गरेको बाहनामा हाम्रो अस्मिता लुट्न प्रेरित छन् । देशमाथि अरू छिमेकीले बलात्कार गर्न खोजेको अवस्थामा राजनीतिक पार्टीहरूले उभयलिङ्गीको भूमिका निर्वाह गरेका छन् । देशभक्ति र जनताको उन्नतिको क्षेत्रमा स्पष्ट धारणा प्रस्तुत गर्न सकेका छैनन् । नाटकमा यस प्रवृत्तिलाई नपुंसकताको संज्ञा दिइएको छ ।
देशमा गणतन्त्र आएपछि जनताका सबै खाले निराशाहरू आशामा परिणत हुने विश्वास थियो । तर यहाँ जनताका आशा निराशामा परिणत भएका छन् । राजनीति गर्नेहरू देशमाथि दोहन गर्ने नीति अङ्गीकार गरेका छन् । जनताको समृद्धि र देशको विकासमाथि धोका भएको छ । राजनीतिकर्मीहरूले जनताको विश्वासमाथि बलात्कार गरेका छन् । बिचार र सिद्धान्त एकातिर थन्किएका छन् । राजनीतिक सिद्धान्तलाई नेताले आफू अनुकूल प्रयोग गरेका छन् । यहाँ जनतालाई पार्टीको दास बनाएर राजनीतिलाई कोमामा पुर्याएका छन् । यतिबेला देश कोमामा छ¸ राजनीति कोमामा छ । जनताको आस्था र विश्वासमाथि हाकाहाकी बलात्कार भएको छ । यही सन्दर्भलाई नाटककार कुमार नगरकोटीले कोमा (अ पोलिटिकल सेक्स) नाटक मार्फत उल्लेख गरेका छन् । समग्रमा देशको समसामयिक राजनीतिको प्रतिबिम्बको रूपमा कोमा नाटकको विषयवस्तु रहेको छ ।

सन्दर्भ सामग्रीसूची
उपाध्याय, केशवप्रसाद (२०५२)· समको दु:खान्त नाट्य चेतना· काठमाडौ : साझा प्रकाशन ।
मल्ल, अशेष (सम्पा·) (२०५७)· समकालीन नेपाली नाटक· काठमाडौ : साझा प्रकाशन ।
पोखरेल¸रामचन्द्र (२०६२). नेपाली नाटक सिद्धान्त र समीक्षा . काठमाडौ : विद्यार्थी पुस्तक
भण्डार ।
Pirandello, Luigi ( 1908 ). L'umorismo, saggio. Italian: Lanciano R. Carabba. https://en.wikipedia.org/wiki/Luigi_Pirandello .

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।