14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आफैँसितको युद्ध हो यो

कविता राजु “हिमांशु” July 4, 2021, 4:59 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

मैले मलाई नै जित्न नसकेर
म हारिरहेको हुन्छु सधैँ ।

सही अर्थमा
साँचो उपलब्धि नै
प्राप्त गर्नु हो भने
मैले मलाई नै जितेको हुनुपर्छ।

आफैँसितको युद्धमा
मेरो जित नहुन्ज्याल
म हारिरहेको नै हुन्छु सधैँ।

आफैँसितको युद्ध भनेको
कपटी र स्वेच्छाचारी मनसितको युद्ध हो।
लोभ कलेटी परेको
षड्यन्त्रको सफलतामा
बेस्सरी रमाउने
चकचके मगजसितको युद्ध हो।

बीभत्सतासित सामना गर्न नसकेर
भागिहिँड्ने पिलन्धरे सोचसितको युद्ध हो
आफैँसितको युद्ध भनेको ।

जुन दिन सफा मनको नदीबाट
उदार मायाका छालहरू उर्लन्छन्
जुन दिन निष्कपट मगजको समुद्रमा
परोपकारी लहरहरूका आउजाउहरू भइरहन्छन्
त्यस दिन
मैले आफैँसितको भीषण युद्ध जितिरहेको हुनेछु।

आह्रिसहरूको बथानमा रिसहरू मिसाएर
महाभूलहरूको पतवारले
जिन्दगीको नाउलाई
खियाउनै नसक्ने दुस्साहसहरूसित
साहसिलो भएर लडेको दिन
म उन्मुक्तिको छेउ-किनारसम्म पुग्छु कि कतै !

पार त गराउन नै परेको छ
डुबिरहेको आफैँलाई
मिथ्याहरूको आडम्बरी सभ्यताको समुद्रबाट ।

‘मेरो-मेरो’ मात्र फलाक्ने म
मुक्त भए पनि
सही अर्थमा उन्मुक्त कहाँ छु र ?

शीतल-शान्त
आन्तरिक उत्थानको
उँचाइमा नपुगेसम्म
उचित उन्मुक्तिको सास फेर्न कहाँ सकिन्छ र ?

र युद्धरत छु म ।

अहो!
हारिरहेको समयमा
आफैँले आफैँलाई जित्न खोजिरहेको
एउटा स्वाङमात्र हो कि
आफैँसितको युद्ध यो?

डाउहिल,खरसाङ(भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।