14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

घरबेटी

कथा रमेश भट्टराई ‘सहृदयी’ July 4, 2021, 5:15 pm
रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’

हुन त बन्दाबन्दी भएको आज ६६ औँ दिन भइसकेको थियो । सरिताले हेरिन्– बोराको पिँधमा एक पाथी जति मात्रै चामल बाँकी छ ।
“वसन्त, अब तत्कालै तलब दिन सक्ने अवस्था छैन । बजार ठप्प छ, के गर्ने र खै ! पाइयो भने अन्त केही गर्दै गर्नु । पछि कोरोना सक्कियो भने बोलाउँला ।” हाकिमले निकै भावुक नै भएर भने ।
वसन्तको मन असारे भेलमा हराएभैmँ जसरी आत्तियो । कोठाभाडा तिर्न नसकेको पीडालाई झल्याँस्स सम्झे अनि सानी छोरीले ‘डेरी मिल्क खाने..’ भन्दै झगडा गरेको पनि ।
गाउँका ठूलाबाका सहायताले बल्लतल्ल कार्यालय सहायकको जागिर पाएका वसन्तलाई कोरोनाले बेरोजगार मात्रै बनाएन, उनले दुई महिनाको तलब पनि पाएनन् ।
सरिताले छोरी सानै भए पनि केही काम गर्ने भनेर निकै कोसिस गरिन् । पैसा लगानी गरेर केही गरौँ भन्ने आधार पनि थिएन ।
“भनेजस्तो काम पनि पाइँदैन । अब त बिचल्ली हुने भइयो ।” वसन्तले सरितासँग दुःख पोखे ।
झिसमिसेमा झ्यालको सिसाबाट अलिअलि प्रकाश भित्र पस्न खोज्दै थियो ।
सरितालाई हिजोको घरबेटीको गालीले रातभरि निद्रा परेन । वसन्त यसो कोल्टो फेर्दै थिए । आँखा मात्र चिम्म गरिरहेका तर उही पीरले सताइएका उनी पनि । निदाउन सकेका थिएनन् ।
सरिताले सुस्केरा हाल्दै भनिन्– “न त काठमाण्डु छोडेर गाउँघरतिर जान सकिन्छ न त यहाँ बसिरहन नै सकिन्छ । न गाउँमा केही छ, न यहाँ । ए बूढा, यसो हाकिमलाई फेरि अनुरोध गरे हुँदैन । घरबेटीले अब त मार्ने नै भए । घरबाट निकालिदिए भने के गर्ने ! साह्रै दुःख पाइयो !”
वसन्तले लामो सुस्केरा हाले । निदाइरहेकी चार वर्षे छोरीको टाउको मुसारे । कति निर्दोष ! चिन्तारहित । त्यही एउटा ‘डेरी मिल्क’ को चाहना छ, वस । वसन्तलाई पनि छोरीकै बालापनको उमेरमा रम्ने आशाले पानीको फोका जसरी मस्तिष्कमा झट्का हान्यो ।
वसन्तले निदाइरहेकी छोरीको मुखतिर आएको कपाललाई पन्साउँदै भने– “ए बूढी, हाकिमलाई हामीजस्ता निरीहको जीवनसँग के मतलब क्या । पहिला सामान्य अवस्थामा त दश हजार तलब माग्न दश पटक विन्ती गर्नुपथ्र्यो । झन्, अहिले बजार ठप्प भएको बेलामा कसरी देलान् र ! रिसेप्सनिस्ट कृशु मिसलाई आपैmँले सोधीसोधी तलब दिन्थे । मैलेचाहिँ जति मागे पनि बहाना बनाइरहन्थे । संसार स्वार्थी छ बूढी !”
यत्तिकैमा बाहिरबाट ठूलो आवाजमा बेस्सरी ढोका ढक्ढक्याएको सुनियो । सरिताले हस्याङफस्याङ गर्दै उठेर ढोकाको छेस्किनी खोलिन् । उनको अनुमान सही थियो । घरबेटीका सपरिवार ढोकामा आइपुगेका रहेछन् !
“भारा नादिने भे आजै कोथा खाली गर् ! दुई मैना भेइसक्यो ।” आमाचाहिँले भनिन् ।
“अर्काको घरमा बसेपाछि भारा दिनुपर्छ भन्ने था’छैना ? पाखेहरूलाई कोथा दिएर यो बाबाले पनि ।” छिटोछिटो बोल्ने छोरोचाहिँ बाबुतिर हेर्दै कड्कियो ।
सरकारले एक महिनाको भाडा नलिनु भनिसकेको थियो । केही दानवीर मनकारी घरबेटीले दुई महिनाकै भाडा लिएनन् भन्ने समाचार पनि सुनिन्थ्यो तर यी घरबेटीले यी सबै कुरा मान्ने र सुन्ने त कुरै थिएन ।
“अझ, दिनमा पनि रातमा पनि बसिरहने । तल, हाम्रो इनारको पानी तानेर सकिसके अनि भारा पनि टाइम्मा नदिने ! यो के पारा हो ?” बाबुचाहिँले थपे ।
वसन्त भित्री भेस्टमा नै थिए । हत्त न पत्त ढोका छेउमा आएर सुस्तरी भने– “कृपया, सानो बोलिदिनुहोस् न । हामीलाई पनि चिन्ता भइरहेको छ । हामी पैसा खोजिरहेका छौँ ।”
सरिताको आँखा एक्कासि छोरीको माटाको खुत्रुकेतिर गयो । त्यसलाई हातमा लिइन् ।
“बाबा..., मामु मनाइ यो खुत्रुलेको पैचाले कानमा चाचा लाइदिने हो नि है ।” सरिताको कानमा स्मरणको रूपमा त्यो आवाज गुञ्जियो ।
छोरी त अभैm निद्रामै थिइन् । सरिताको मुटुमा गाँठो प¥यो । वसन्त पनि अक्क न बक्क भए ।
उनले खुत्रुकेलाई भुइँमा हानेर प्वाट्ट फुटाइन् । छोरीको निर्दोष अनुहार र बुच्चो कानतिर एकपटक हेरिन् । मुटु गाँठो प¥यो । एक–दुई रुपैयाँका सिक्का, पाँच रुपैयाँ, दश रुपैयाँ, सय रुपैयाँसम्मका नोट छरपस्ट भए । वसन्तका आँखा रसाए । टुक्रुक्क बसेर सरितालाई पैसा गन्न सघाए । घरबेटीका परिवारले भने अभैm पनि पालैसँग गाली गर्न छोडेका थिएनन् ।
“घरबेटी आमा, अहिले यति ४ हजार ३ सय ३२ रुपैयाँ भएछ । यो लिनुहोस् । अरू बाँकी हामी यसो कतै खोजेर दिन्छौँ ।” सरिताले बाचा गरिन् ।
सरिताको शिर निहुरेको थियो । वसन्तले पनि हात जोडिरहे । छोरी पनि त्यो होहल्लाले उठ्न खोज्दै थिइन् तर अर्कोतिर पल्टिइन् । घरबेटीको परिवार भुत्भुताउँदै हिँडे । सरिताले ढोकाको छेस्किनी लाइन् ।
अब उनी कोठाको सामान पोको पार्नतिर लागिन् । वसन्तले पनि चुपचाप उनलाई सघाउन थाले ।
निकैबेरको मौनतापछि वसन्तले भने– “अब त बरु गाउँमै गएर, साइँला महाजनको खेत कमाएर बस्नुपर्ला जस्तो छ ।”
सरिताले सहमतिमा टाउको हल्लाइन् मात्र । केही बोलिनन् ।

फुङलिङ–२, ताप्लेजुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।