14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भानुभक्तीय रचनामा हास्यव्यङ्ग्य

हास्यव्यङ्ग्य कृष्ण प्रधान July 12, 2021, 2:56 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

पूर्वपीठिका -
साहित्यका स्वघोषित ठेकादार कहलाउने यतातिरका तथाकथित साहित्यिक साँढ़ेहरूले हास्यव्यङ्ग्यलाई हेयको दृष्टिले हेर्ने गरेको देखिन्छ । कतिपय विद्वानहरूले हास्यव्यङ्ग्यलाई विधाको रुपमा स्वीकार गरेको पाइँदैन । यद्यपि साहित्यका विविध विधाकै आश्रयत्वमा हास्यव्यङ्ग्यले विधाकै रुपमा आफ्नो वर्चस्व कायम गर्दै आएको इतिहास हामीसित साक्षी छँदैछ । साहित्यका अन्य अनेकन् विधाहरूमध्ये हास्यव्यङ्ग्य साहित्य एउटा यस्तो विधा हो यसले सामान्य पाठकलाई हास्यव्यङ्ग्यको कुरा खुराक मात्र प्रदान गर्दछ भने बौद्धिक स्तरका पाठकलाई बने अनुहारमा सामान्य हास्य, मनमा खुल्दुली तथा मस्तिष्कमा चिन्तनले सोँड़्क्याउने क्षमता राख्दछ । विश्व साहित्यकै इतिहास पल्टाएर हेर्नु हो भने, संस्कृतका आदि आचार्य भरतमुनि आफ्नो 'नाट्यशास्त्र'-मा हास्यरसको चर्चा गरेको पाइन्छ । आचार्य भरतमुनिकै बिँड़ो थामेर उनीपछिका अन्य संस्कृताचार्यहरूले समेत हास्यरसको चर्चा गरेको बग्रेल्तै पाइऩ्छ । पाश्चात्यमा साहित्यमा पनि होमरकै रचनाकालदेखि कुनै न कुनै तवरले हास्य पात्र सिर्जना गरी उनै पात्रको माध्यमबाट व्यङ्गय सिर्जना गरेको पाइन्छ । वर्तमान विश्व साहित्यमै अन्य विधा सँगसँगै हास्यव्यङ्ग्य विधाले पनि समानरुपमा अन्य विधासित पौँठेजोरी खेलेको देखिन्छ । तर हाम्रो नेपाली साहित्यमा भने (नेपालतिर होइन, भारतमा) हास्यव्यङ्ग्य साहित्यको स्थिति ठीक विपरीत देखिन्छ । यसको कारण के हो ता ? आफूलाई बुद्धिजीवी साहित्यकार ठान्नेहरूा लापरवाहीले हो वा हास्यव्यङ्ग्य साहित्यको अध्ययनको कमीले हो हाम्रा नेपाली हास्यव्यङ्ग्य साहित्यलाई हेयको दृष्टि लगायत सानीमाले आफ्ना झ़ड़्केला छोरा-छोरीलाई झै दुर्व्यवहार गरेका हुन्, यस बारेमा साहित्यिक सीबीआई लाग्नु स्वाभाविक देखिन्छ ।
नेपाली साहित्यमा हास्यव्यङ्ग्यले कहिलेदेखि प्रेवश पायो भन्ने कुराको नालीबेली खोतल्दै जाँदा शक्तिवल्लभ अर्यालको नाम सिरानमै लिनुपर्ने हुन्छ । आफू स्वयमले सन् १७९७ (विं.सं. १८५४) मा लेखेका संस्कृत नाटक 'हास्यकदम्ब'-लाई नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यमा हास्यव्यङ्ग्य प्रत्यारोपण गरेको पाइन्छ । वीरकालिन नेपाली कविताको आँतभित्र हास्यव्यङ्ग्यको प्रवेश अपत्यारिलो पाराले भएको देखिन्छ । तर शक्किवल्लभ अर्यालभन्दा पनि अघि सुवानन्दको गद्य कवितामा र पृथ्वीनारायण शाहको 'दिब्योपदेश'-का गद्यमा व्यङ्ग्यको रमरम छाप नपाइएको होइन । तर त्यस व्य़ङ्ग्यमा ध्वन्यात्मकता धेर पाइन्छ । शक्तिवल्लभ अर्याल, रधावल्लभ अर्याल, गुमानी पन्तजस्तात कविहरूले तत्कालीन युद्धका समयमा युद्घकै हाराहारीमा बसेर लेखेका कविताहरूमा पनि व्यङ्ग्यको रमरम छाप देखिएको पाइन्छ । 'तनहूँ भकुण्डो', 'साँढ़्याको कवित्त', 'धन्य गोर्खाली राजा' आदि कवितालाई यसका उदाहरणका रुपमा लिन सकिन्छ ।
अङ्ग्रेजहरूसितको युद्ध साङ्गे भएपछि सम्पन्न सुगौलि सन्घिले गोर्खाको स्वाभिमानमा नून-चूक दलियो । यतिञ्जेल वीरकालिन सिर्जनामा मस्त सर्जकहरू सुगौलि सन्धिको नून-चूकले बिथोलिएर भक्तभावतिर बसाइँ सरे । भक्तिकालकै परिवेशमा आदिकवि भानुभक्त आचार्यको पदार्पणले हास्यव्यङ्ग्य लेखनको कुलो खनेको पाइन्छ । हास्यव्यङ्ग्यलाई नेपाली साहित्यसित मितेरी लाउने वलिष्ठ व्यक्तित्व नै जातीय कवि आदिकवि भानुभक्त आचार्य हुन् । कुरै गर्नु हो भने ता वीरगाथाका गुमानी पन्त वा निर्गुण सम्प्रदायकका ज्ञानदिलदासले पनि आफ्ना रचनाहरूमा धार्मिक कट्टरता, जातपात आदिमाथिको धारिलो र घातक व्यङ्ग्यवाण प्रहार गरेको पाइऩ्छ । माध्यमिक कालमा ता, राजीवलोचन स्वाँर, शम्भुप्रसाद ढुङ्गेल, सोमनाथ सिग्द्यालजस्ता स्रष्टाहरूले समेत आफ्नो लेखनमा हिङ् नभए पनि हिङ्का टालोको रुपमा हास्यव्यङ्ग्य प्रयोग गरेको भेटिन्छ ।
जे भए पनि नेपाली साहित्यमा हास्यव्यङ्ग्य साहित्यको घरेट आदिकवि भानुभक्त आचार्यले नै बसाएका हुन् । यसैले नेपाली भाषामा मौलिक हास्यव्यङ्ग्यका सर्जकको पगरी भानुभक्तलाई गुँथाउनु पर्ने हुन्छ । कवि भानुभक्तका 'बिन्ती डिट्ठा बिचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली...', 'रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मनमा कछु....', 'गजाधर सोतीकी घर बुढ़ि अलक्षिनकी रहिछन्, नरक् जानालाई सबसित विदावादि भइछन् ..' जस्ता फुटकर कविताहरूले विसङ्गतिबाटै हास्यव्यङ्ग्यको मूल स्रोत पहिल्याउन सकिन्छ भन्ने कुराको जानकारी पाइन्छ । भानुभक्तका यी फुटकर कविताहरूमा विसङ्गति र विकृतिलाई उदाङ्गो पारिनुका साथै तत्कालीन सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिलाई गज्जबले सोँड़्क्याउनुसम्म सोँड़्क्याइएको पाइन्छ । नेपाली साहित्यमा हास्यव्यङ्ग्यको श्रीगणेश भानुभक्तकै लेखनसँगै भएको हो भन्ने कुरा स्वीकार्ने प्रशस्तै ठाउँहरू छन् । भानुभक्तको हास्यव्यङ्ग्यबारे वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानको भनाइ यस्तो देखिन्छ - ''विनोदी शैली, शालिन, स्वच्छ र परिहासयुक्त व्यङ्ग्यको प्रयोग गरेर सुरुमै हास्यव्यङ्ग्यलाई प्रतिष्ठा गरे ।''
यसर्थ नेपाली हास्यव्यङ्ग्य साहित्यलाई हेयको दृष्टिले हेर्ने गरेका तथाकथित साहित्यिक साँढ़ेहरूलाई नै उद्देश्य गरेर के भन्न मन लागेको छ भने, नेपाली साहित्यमा हास्यव्यङ्ग्य परम्परा अति प्राचीन छ । हास्यव्यङ्ग्य साहित्यलाई बुझी न सुझी तल्लो स्तरको ठान्ने अनि हलुका साहित्य ठान्ने अधिकार कसैलाई छैन ।
यो कुरो साँचो हो, भारतीय नेपाली हास्यव्यङ्ग्य साहित्य सन्दर्भमा भने सैद्धान्तिक अवधारणाको अभाव रहेको कुरा सत्य मात्र नभएर रुपियाँमा सोह्रै आना स्वीकार्य देखिन्छ । अर्को कुरो पनि सत्य हो, नेपाली हास्यव्यङ्ग्य साहित्यका अऩ्य विधाको अपेक्षाकृत बढ़ी रुपमा निबन्धमा मात्र हास्यव्यङ्ग्यको स्वरुप टड़्कारो देखिन्छ । नेपालको हास्यव्यङ्ग्यको तुलनामा भारतीय नेपाली हास्यव्यङ्ग्य साहित्य त्यत्ति राम्रो प्रकारले फस्टिन सकेको छैन । हास्यव्यङ्ग्यमा ता शिरदेखि मनभित्रै कुत्कुत्याउने क्षमता, ताकत, बल, सीप, मानवीय दुर्बलता र कमी-कमजोहरूको धज्जी उड़ाउन सक्ने सामर्थ्य अऩि समाजमा प्रत्यक्ष वा परोक्ष रुपमा देखा परेका असङ्गति, विसङ्गति र विडम्बनाहरूलाई नाङ्गोझार पार्न सक्ने क्षमता हुनुपर्दछ । यसै धर्मलाई पालन गरेर वर्तमान भारतीय हास्यव्यङ्ग्यकारहरूले हास्यव्यङ्ग्य लेखनमा कलम चलाएर साहित्यका तथाकथित ठेकेदारहरूका मुखमा बुजो लाउने प्रयास गरेको देखिँदोछ । आफ्नो थैलो बलियो बाँधेपछि मात्र साथीलाई चोर लाउन सजिलो पर्छ ।

हास्य -
अमिल्दा क्रियाकलाप देख्दा वा सुन्दा मान्छेका मथिङ्गल बुरुक-बुरुक गरि घाँटीभित्रका स्वरचिन्हहरू उफ्रीपाफ्री गर्न थालेपछि आठै अठिङ्गल कुत्कुतिन थाल्छ । यो अस्वाभाविक कुत्कुत्याइँ 'मुख ओड़ार'-को सुरुङ भएर आउने ध्वनि वा आवाजलाई झर्रा नेपाली भाषामा 'हाँसो' भनिन्छ भने देववाणी भनिने संस्कृत भाषामा 'हास्य' ।
'हाँस्यो कि नास्यो' भन्ने उखानले उहिल्यैदेखिको अहिल्यैसम्म पनि प्रत्येक नेपालीको जिब्रामा वास पाएको छ..छ । काम ता के मामै नासिए वा खोसिए पनि हाम्रो हाँसो कुनै दिन नासिएको छैन न ता खोसिएको नै छ । न नासिने छन् न ता खोसिने नै । यसैले हास्यरसको स्थायी भाव 'हास' मान्दै साहित्य दर्पणकारले यसको विवेचनामा भनेका छैन "वाणी, वेशभूषादिको विपरीतताद्वारा जुन मानसिक विकास हुन्छ त्यसलाई 'हास' भन्दछन् ।"
साहित्य दर्पणकार आचार्य विश्वनाथले हास्यको परिभाषा यसरी दिएको पाइन्छ - "वाणी चेष्टा तथा आकार आदिको विकृतिले हास्यको अविर्भाव हुँदछ ।"
महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन्, "हास्यरस त्यहाँ निस्कन्छ जहाँ स्वाभाविक तथा आदती रुप र ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुत्कुत्याउँछ ।"
डा. पारसमणि प्रधान भन्छन्, "जुन मानिसले हाँस्न जानेको छैन त्यो मानिसलाई मानिस होइन भने पनि हुन्छ । 'हाँस्नु' मानिसको जन्मसिद्ध अधिकार हो । नहाँस्ने मानिस ता पशुजस्तै हो । पशुहरूमा पनि बाँदर हाँस्छ तर उसको हँसाइ सचेतन मानिसको जस्तो हुँदैन । मानिसको हँसाइँमा एक प्रकारको आनन्दनाभूति मिसिएको हुन्छ ।"
व्यक्तिगत र सामाजिक दुवै दृष्टिमा 'हास्य' हितकर हुने हुँदा हाँस्नु र हसाउँनु मानवजीवनको प्रवृत्ति हो । भरतमुनिले हास्यरसमा विकृतिलाई नैअवस्थित मानेको पाइन्छ । पश्चिमी मतमा हास्य र करुणलाई कारणभूत तत्वका रुपमा स्वीकार्ने प्रयास भएको पाइऩ्छ । एरिष्टोटलककै पालादेखि नै पश्चिमी साहित्यमा हास्यको महत्व प्रकट हुँदै आएको पाइन्छ । ट्रेजेडी र कमेडीका दुइ भेदहरू आँसु र हाँसोमा भङ्गालिएका छन् । 'आँसु र हाँसो' दुवै पहाड़का छाँगुबाट खसेको झर्नाजस्तो प्रकट हुँदै आएको छ भन्ने मनतव्य वयक्त गरेका छन् एम. शेलीले ।
यसै सन्दर्भमा भन्नुपर्दा, साहित्यमा नौवटा रस हुन्छन् । ती नै रसमध्ये एउटा रस हास्य हो । यसको अर्थ सुखान्त अथवा कमेडी हो । जिब्राको आस्वादको निम्ति ६ वटा रस प्रसिद्ध छ भने हृदयास्वादका निमित्त ९ वटा रस प्रसिद्ध छन् । जिब्राको आस्वादलाई लौकिक श्रेणीमा राखिएको छ । किनभने तिनको सोझै सम्बन्ध लौकिकवस्तुसित हुन्छ । हृदयास्वादलाई अलौकिक आनन्दको श्रेणीमा स्वीकार गरिएको छ । किनभने यसको सोझो सम्बन्ध वस्तुसित नभएर भावानुभूतिहरूसित जोड़िएको हुन्छ ।

व्यङ्ग्य -
नेपाली राजकीय प्रज्ञा प्रतिष्ठानको 'वृहत् नेपाली शब्दकोश (काठमाण्डौं, २०४०, पृ. सं. १२४६)-मा व्यङ्ग्यको शाब्दिक अर्थ यस्तो पाइन्छ -''१, अमिधा र लक्षणाभन्दा भिन्न व्यञ्जना वृत्तिद्वारा बोध हुने, बलाघातद्वारा अर्कै गहिरो अर्थ झल्किने, पारिएको, एउटा भनिएझैं गरी अर्को कुरा भनेको, छेंड़ हानिएको । २. अमिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाद्वारा गुड़ार्थ, साङ्केतिक अर्थ । ३. छनक" हो ।
व्यङ्ग्य संस्कृत शब्द हो र तत्समका रुपमा नेपालीमा प्रचलित हुन आइपुगेको छ । 'अज्ज' धातुमा 'वि' उपसर्ग वा 'ण्यत' प्रत्यय थपिनाले व्यङ्ग्य शब्द बनेको हो । अर्को शब्दमा भन्नु हो भने, 'व्यङ्ग्य एउटा यस्तो साहित्यिक अभिव्यक्ति वा सिर्जना हो जसले व्यक्ति अथवा समाजका विसङ्गति तथा विडम्बनाहरूलाई रोचक पाराले हँसाउँदै प्रस्तुत गरिन्छ ।' व्यङ्ग्य साहित्यको एउटा विधा हो जसमा ठट्टा, उपहास सँगसँगै आलोचनाको प्रभाव पनि रहेको हुन्छ ।
वर्तमान समाजको डाँवाडोल स्थिति, सामाजिक अव्यवस्था, राजनीति वा धार्मिक उथुलपुथुल देख्दा कहिले काहीँ मन खिन्न हुन्छ त्यसबेला यस्ता असुहाउँदिला, ऩचाहिँदा स्थितिलाई रोकथाम गर्न वा सोबारे सम्बन्धित सबैलाई सचेत गराउन व्यङ्ग्यकारले आफ्नो व्यङ्ग्य सिर्जना गर्छन् । साहित्यिक सन्दर्भ अऩ्तर्गत अङ्ग्रेजी 'सटायर' शब्दको पर्यायरुपमा व्यङ्ग्य शब्दको प्रचलन नै स्थिर भइसकेको देखिन्छ (हास्य र व्यङ्ग्यको सैद्धान्तिकस्वरुप स्नातकोत्तर शोधपत्र २०४४ , त्रि. वि. वि. नेपाली विभाग, पृ. सं. १३० - भरत कुमार भट्टराई) । वरिष्ठ भारतीय व्यङ्ग्यकार बरसानेलाल चतुर्वेदीको मत अलिक भिन्नै देखिन्छ -"हास्यको उद्देश्य विशुद्ध मनोरञ्जन गर्नु हो जब कि व्यङ्ग्यको उद्देश्य हाँसोद्वारा दण्ड दिनु । हास्यमा भाव तत्व प्रमुख रहन्छ भने व्यङ्ग्यमा बुद्धि तत्व । हास्यकार असङ्गतिहरूको चित्रणमा रस लिन्छ भने व्यङ्ग्यकार विद्रोहलाई वाणी दिन्छ ।"
व्यङ्ग्यको परिभाषा गर्ने क्रममा ड्राइडनको दृष्टिकोण यस्तो रहेको छ - "व्यङ्ग्यको सही उद्देश्य भूलहरूलाई सुधारद्वारा संशोधन गर्नु हो ।"
स्याडर ल्याम्ब भन्छन् -"व्यङ्ग्यकार सामाजिक मर्यादाको सुरक्षाका पक्षमा न्यायाधिशको काम गर्छ । व्यङ्ग्यले मान्छेलाई बौद्धिक र सामाजिक क्षेत्रमा तिक्खरो तुल्याउँछ ।"
नेपाली साहित्य कोश (पृ. सं. -७८२)-मा व्यङ्ग्यलाई अर्थ्याउँदै भनेको छ -"व्यङ्ग्यको विसङ्गतिले बढ़ार्ने र विकृति बढ़ार्ने बाढ़ी हो । समष्टिमा व्यङ्ग्य जीवनको समष्टि विकृतिको परिशोधक तत्व हो । आइरनी (वक्रोक्ति), प्यारोडी (परिहास), वीट (वाग्वैदग्ध्य), कार्टुन (व्यङ्ग्य चित्र) आदि सबै शब्दको तात्पर्य बोक्न सक्ने संवाहक शब्द व्यङ्ग्य हो ।"
हास्य र व्यङ्ग्यमा अन्तर -
पश्चिमी साहित्यमा एकातिर हास्यका भेदहरूको निरुपणको क्रममा व्यङ्ग्यलाई हास्यको एउटा प्रकार मानिएको देखिन्छ भने अर्कोतिर साहित्यिक अभिव्यक्ति क्रमका रुपमा चर्चा गरिएको पाइन्छ । हास्यकार र व्यङ्ग्यकार दुवैको मूल उद्देश्य मानवीय दुर्बलता र विसङ्गतिलाई प्रस्तुत गर्नु नै हो तापनि यिनमा निम्न अन्तर पाइन्छ -
(क) हास्यकारले हाँसोमा सहानुभूतिको भाव व्यक्त गर्छ भने व्यङ्ग्यकारले हाँसोद्वारा दण्ड दिन्छ । जीवनकोछ समम
(ख) हास्यको उद्देश्य विशुद्ध मनोरञ्जन गर्नु हो भने व्यङ्ग्यको उद्देश्य सुधार ।
(ग) हास्यमा मानवत्व प्रमुख हुन्छ भने व्यङ्ग्यमा बुद्धि तत्व ।
विसङ्गतिमाथि आक्रोश नै व्यङ्ग्य हो । व्यक्ति वा समाजका कमी-कमजोरी, दुर्बलताहरूलाई उदाङ्गो पार्नु नै व्यङ्ग्यको लक्ष्य देखिन्छ । व्यङ्ग्यबारे विभिन्न आचार्यहरूका मत यस प्रकार देखिन्छन् -
१। "विपरीततालंकारैर्विकृताचाराभिधान वेसैश्च
विकृतैरर्थविशेषैहंसतीति रसः स्मृतो हास्यः ।। -भरतमुनि (नाट्यशास्त्र)

२। प्रीतिर्वेशेषः चित्तस्य विकासो हास उच्य्ते - भावभूमि
३। वर्णादि वैकृताच्चेतो विकारो हास्य इष्यते - साहित्यदर्पणकार
४। विकृताकृतिवाग्वेरात्मनस्यपरस्य वा
हासः स्यात् परिपोषोSस्य हास्य स्त्रिप्रकृतिः स्मृतः।। - दशरुपककार
उपरोक्त भनाइको तात्पर्य के देखिन्छ भने, हास एउटा प्रीतिपरक भाव हुनाका साथै चित्तविकासको रुप हो । तिनका उद्रेक विकृत आकार, विकृत वेष. विकृत आचार, विकृत अभिधान, विकृत अलङ्कार, विकृत अर्थविशेष, विकृत वाणी, विकृत चेष्टा आदिले हुँदछ । यी विकृतिहरुसित युक्त हास्यपात्रता चाहे ती अभिनेताको होस्, चाहे वक्ताको, चाहे अन्य कुसैको होस् । विकृति भन्नाको तात्पर्य के हो भने, प्रत्याशितदेखि विपरीत अथवा विलक्षण कुनै वैचित्र्यबारे ज्ञान हुन सकोस् । यी लक्षणहरूमा पाश्चात्य समीक्षकहरूले प्रायः सबै लक्षण समावेश गरेको पाइऩ्छ ।
हास्यव्यङ्ग्य -
संस्कृत भाषाबाटै आएका यी दुइ हास्य र व्यङग्यमाझ अन्तर देखिए पनि हास्य र व्यङ्ग्यको सम्बन्ध भने दाँत र गिजाजस्तै भएकाले हास्य र व्यङ्ग्यलाई सम्मिलित रुपमा हास्यव्यङ्ग्य नै लेखिन्छ । यी दुवै बेग्ला-बेग्लै कुरा भए पनि साहित्यको निम्ति यी दुवै एकार्काका पूरक हुन् । हास्य क्यापसुल हो भने व्यङ्ग्य क्यापसुलको कोटिङ । क्यापुसको कोटिङभित्र नै मूल औषधि हुन्छ । यसर्थ हास्यव्यङ्ग्यको बाहिर कोटिङमा हास्य अनि भित्र व्यङ्ग्य समावेश भएको पाइन्छ । हास्यव्यङ्ग्यको मूल उद्देश्य नै सामाजिक कुरीति, सरकारी कुरीति, व्यक्ति विकृति र सबै विसङ्गति उदाङ्गो पार्नु हो ।
वासुदेव त्रिपाठीको भनाइमा, 'व्यङ्ग्यबिनाको हास्यमा असङ्गतिको चित्रण र संशोधन गर्ने शक्चि नहुने र हास्यबिना व्यङ्गय बढ़ी विषाक्त, कटु र खतरा हुन्छ ।' हास्यव्यङ्ग्यको सम्बन्ध नङमासु झैँ नै छ । हास्यको जलपले व्यङ्ग्य अझ टड़कारो हुन जान्छ भने व्यङ्ग्यको सप्कोले हास्यलाई बौद्धिकताको सिंहासनमा विराजमान गराउँछ ।
हास्य र व्यङ्ग्यलाई एकै ठाउँमा लेखिने वा हेरिने परम्परा पश्चिमबाट आरम्भ भएको हो ।
हास्यव्यङ्ग्यको मूल श्रोत हजारौं वर्ष पुरानो संस्कृति, सभ्यता र जीवनदर्शनमा देख्न पाइऩ्छ । भारतीय संस्कृतिमा मृत्यु, डर अनि दुःख हास्यव्यङ्ग्यको स्रोत वेदकालदेखिनै प्रचलनमा आएको पाइऩ्छ ।
नेपाली साहित्यमा हास्यव्यङ्ग्य साहित्यको श्रीगणेश हाम्रा जातीय कवि आदिकवि भानुभक्त आचार्यबाटै भएको पाइन्छ । यसै प्रसङ्गमा प्रख्यात समालोचक कृष्णनारायण प्रधानको भनाइ निक्कै ठुङमार्दो भएको साबित हुन्छ - "साहित्यको संज्ञा पाई व्यक्तिएको हास्यव्यङ्ग्य आदिकवि जतिकै प्राचीन छ । साहित्यमा आदिकवि भानुभक्त हुन् । हास्यव्यङ्ग्यका आदि स्रष्टा पनि भानुभक्त नै ।"
भानुभक्त हाम्रा जातीय कवि हुन् । उनका रचनामा प्रकृति-चित्रण, देशभक्तिको अभिव्यक्ति, सौन्दर्य चेतनाको मधुर भावना, लोक भावना सँगसँगै विद्रोह पनि बग्रेल्तै पाइन्छ । यिनको विद्रोही भावनालाई व्यङ्ग्यकै पर्याय रुपमा लिन सकिन्छ । महाकवि लक्ष्मी प्रसाद देवकोटामा पनि विद्रोही भाव नदेखिएको होइन । राणाहरूको शोषण विरुद्ध भानुभक्त लगायत अन्य कविहरूले समेत आफ्ना सिर्जनामा भ्रष्ट शासनको भण्डाफोर गरेर आफ्ना विद्रोही भाव व्यक्त गरेको पाइन्छ । कुनै पनि सर्जकको सिर्जनामा विद्रोही भाव देखा पर्नु नै खाँटी व्यङ्ग्यको प्रतीकात्मक रुप हो । उदाहरणस्वरुप देवकोटाका विद्रोही भाव सम्प्रेषण व्यङ्ग्य रुपमा यसरी कुर्लेको पाइन्छ -
"ए लौ छोरो होस् भने त्यो हात्तीलाई हाँक
अथवा मैसँग लड़्, देखूँ तेरो धाक ।घि नै भनियो ।"

भानुभक्तीय रचनामा हास्यव्यङ्ग्य -
प्रस्तुत सामग्रीमा आदिकवि भानुभक्त आचार्यका रचनामा पाइने व्यङ्ग्यकारितामाथि मात्रै सामान्य रुपमा चर्चा गर्ने योजना भएकोले अन्य सर्जकहरूको व्यङ्ग्य सामग्रीमाथिको चर्चा टही टुङ्ग्याइऩ्छ ।
जहाँसम्म भानुभक्तो प्रश्न छ, उनले आफ्ना फुटकर कविताहरूमा भक्कुचूर व्यङ्ग्यवाण प्रहार गरेर तत्कालीन समाजमा रहेको झोलेवादी प्रवृत्ति तथा अऩ्य विसङ्गतहरूलाई घातक रुपले प्रहार गरी नेपाली हास्यव्यङ्ग्यको संरक्षण, संवर्द्धन तथा विकासमा बिर्सनै नसकिने गुण लगाएका छन् । विकृति र विसङ्गतिको मन्थनबाटै हास्यव्यङ्ग्य सिर्जना हुन्छ । यसै सन्दर्भमा तत्कालीन नेपाली समाजमा व्याप्त विसङ्गति र विकृतिको स्वरुपलाई नाङ्गो रुपमा देख्ने प्रथम सचेत द्रष्टा भानुभक्तलाई नै देखिएका छन् । सामाजिक जीवनमा भानुभक्तले चिताउनै नसकिने पाराले लछेप्रै विकृति र विसङ्गति देखे । आफूले पनि बग्रेल्तै विषम परिस्थिति भोगे, सामना गरे । मन मानेन, भित्रभित्रै भानुभक्तमा विद्रोह पलायो । उपरोक्त कुराहरूलाई सचेत रुपमा साहित्यिक परिधान र आवरण दिने काम भानुभक्तले गरे । जीवनका पारिवारिक, सामाजिक, प्रशासनिक विसङ्गतिहरूलाई भानुभक्तले ढीट भएरै साघारणीकरण गरेको पनि पाइन्छ । भानुभक्तको सामाजिक व्यङ्ग्यलेखन अत्यन्तै ट़ड़्कारो र तीव्र देखिन्छ । यिनले आरम्भ गरेका हास्यव्यङ्ग्यमा पनि आधुनिक मूल्य र मान्यताको चयन हुन थालेको पाइऩ्छ ।
आफ्नो सङ्कीर्ण संस्कार, अन्धमान्यता र दुर्गन्धपूर्ण परिवेशमा मैला र कुत्सित वातावरणलाई सफा पार्न अनि त्यस्तो परिवेशलाई स्वच्छ रुपमा प्रदान गर्ने भित्री आशय एकजना व्यङग्यकारको अन्तःकरणमा रहेको हुन्छ । भानुभक्त पनि त्यस्तै संस्कार चाहन्थे । एउटा स्वच्छ उन्मुक्त वातावरणमा रम्न भानुभक्त औधी मनपराउँथे । उन्मुक्ति चाहन्थे उनी ।
भानुभक्त कुमारीचोकमा थुना पर्छन् । जेलखानाको परिवेशले उनको विद्रोही भावनामा गतिलो ठेस पुग्छ । जेलखानभित्रको सुठीसाह्रै अस्वस्थ्यकर परिवेशले भानुभक्तलाई सताउनुसम्म सतायो । थुना परेका अन्य बन्दीहरूको अवस्था ता बिल्कुलै राम्रो थिएन । त्यति मात्र पनि होइन राती सुत्न पनि सञ्चोसितले नपाउँदा भानुभक्त अग्निशर्मा भएर वमन गरेका विद्रोह ता उनको कविताबाटै स्पष्ट हुन्छ । यिनका कवितामा व्यङ्ग्य विद्रोह पलाउने प्रमुख कारण, उनका पिता धनञ्जय आचार्य पाल्पामा खरिदार थिए । यतिञ्जेल पिताको स्वर्गवास भइसकेकाले अड्डाबाट आउनु पर्ने पूर्जी भानुभक्तको नाममा आयो । श्रेस्ता मिलेको रहेनछ, पिता नभएपछि छोरोमाथि जिम्मेवारी आउनु स्वाभाविकै हो । भानुभक्तकै नाउँमा आको पूर्जी भानुभक्तको हात पर्ने बित्तिक्कै उनी काठमाण्डौको कुमारीचोकमा आए । श्रेस्ता नमिलेको आरोपमा उनलाई केही समयसम्म थुनियो । थुनामा पर्दा भानुभक्त चूपो लागि बसेनन् । रामायणका रहल अंश पूरा गर्नमा लागिरहे । थुना परेकै अवस्थामा रहे पनि दिनमा एकपल्ट कमाण्डर-इन-चिफ कृष्णबहादुरक राणको चाकड़ीमा जानुपर्थ्यो । थुनाबाट चाँड़ै मुक्त हुन पाए मुद्दा चाँड़ो साङ्ग भई घऱ पुगी साहित्यसाधनामा लाग्ने उद्देश्यले उनको विद्रोही भावनाबाट व्यङ्ग्यात्मक झटारो वर्षिन्छ । रातभरि उपियाँ, उड़ुस र मच्छड़को एकैसाथ ताण्डवले भानुभक्तको सरकार वा जेल अधिकारीप्रति व्यङ्ग्य-विद्रोह यसरी उकेलिन्छन् -
"रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मनमा कछु,
रातभर नाँच पनि हेर्छु खर्च नगरी ठूला चयनमा म छू ।
लाङ्खुट्ट्या उपिञा उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी,
लाङ्खुट्ट्याहरू गाउँछन् ति उपिञा नाच्छन् म हेर्छु बसी ।।"

तिनताक नेपालका राणा अधिकारीहरूको निद्दै ढलीमली थियो । ह्याँकुला मिचाइँ थियो । त्यस्तो कहालिलाग्दो परिस्थितिमा पनि भानुभक्तले आफू थुना परेका खोरको अवस्थालाई व्यङ्ग्यात्मक सिर्कनुले कमाण्डर-इन-चिफजस्ता सही सही बिसही बिसही गर्ने, शक्तिसम्पन्न अधिकारीसमक्ष सोर्याक्याउनु गतिलो आँटको कुरा होइन ।
यस व्यङ्ग्यात्मक पङ्क्तिमा अभिधा अर्थ सकारात्मक र सामान्य देखिन्छ । सधैँ चरणको दर्शन पाइरहेको, मनमा कुनै प्रकारको ताप सन्तापको नामोनिशान नरहेको, रातभरि उपिञा, उडुसको गान र लामखुट्टेको निःशुल्क नाच पनि बिनासित्थी हेर्न पाउऩे कुरा गरिएको पाइन्छ । जेलखानको यस्तो विषम परिवेशमाथि तीव्र व्यङ्ग्यवाण प्रहार गर्दै जेलखानबाट छुटकारा पाउनलाई भानभक्तले तत्कालीन कमाण्डर-इन-चिफ श्रीकृष्णबहादुर राणासमक्ष कविता आवेदन चढ़ाए । कमाण्डर-इन-चिफको अधिनमा रहेको खोरलाई प्रशंसा नगरेर उल्टो भानुभक्तले व्यङ्ग्यात्मक शैलीमा खोरको दूर्व्यवस्थाबारे व्यङ्ग्यवाण प्रक्षेपण गरेकाले अधिकारी कमाण्डर-इन-चिफ अग्निशर्मा भएर उनको थुनाकालको समय बढ़ोत्तरी गर्लान वा शास्ती देलान् वा मुद्दा लम्काई भानुभक्तलाई बिचल्नीमा पार्लान् कि भन्ने शोक वा सुर्ता वा डर भानुभक्तलाई एक रत्ति थिएन । उनी ढीट भएको मनको विद्रोह प्याचपुच ओकेले । यसैकारण खेतबारीबारे गिरिधारी भाटसँगको मुद्दाको म्याद ज्यादै तन्किनाले र कमाण्डर-इन-चिफ कृष्णबहादुर राणा प्रचण्ड प्रभावशाली अधिकारी हुनाले उनलाई विन्तिपत्र चढ़ाएमा मुद्दा चाँड़ो छिनाफाना हुने हुकूम सम्बन्धित न्यायाधिशलाई देलान भन्ने उद्देश्यमा भानुभक्तको विद्रोही भावनाबाट प्रस्तुत व्यङ्ग्यात्मक कविता सिर्जना भएको हो । उक्त कविता आवेदनमा भानुभक्तले एकातिर राणालाई फुरुक्क पारेका छन् भने अर्कोतिर व्यङ्ग्यको गतिलो सिर्कनुले सोँड़्क्याउनसम्म सोँड़्क्याएको पाइन्छ -
"बिन्ती डिठ्टा विचारीसित म ति गरुँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गऱ्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।
की ता सक्दीन भन्नू कि तब छिनिदिनू क्यान भऩ्छ्न इ भोली
भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।
यस व्यङ्ग्य कवितामा तत्कालीन शासक, शासन र शोषणप्रति गतिलो व्यङ्ग्यको झटारो हानेका पाइऩ्छ । यो कविता आवेदन चढ़ाइएका केही समयपछि भानुभक्त रिहाइ हुन्छन् । यो रिहाइ भानुभक्तको विद्रोही भाव अनि घातक व्यङ्ग्यको ज्वलन्त परिणाम हो । तत्कालीन शासन र समाजको प्रवृत्तिलाई उदाङ्गो पार्ने काममा भानुभक्तलाई यसैले हास्यव्यङ्ग्यकार रुपमा सफल देखिन्छ । विपरीत ढङ्गले व्यञ्जना शक्तिको आड़ लिएर उक्त हास्यव्यङ्ग्य सिर्जना भएको देखिन्छ ।
हास्यव्यङ्ग्यकार भानुभक्तको हास्यव्यङ्ग्य अन्तर्गत पूर्वीय र पश्चिमी हास्यव्यङ्ग्य दृष्टिकोण व्यक्त गरिएको पाइन्छ । पूर्वीय दृष्टिकोण अन्तर्गत भानुभक्तले आलम्बनलाई च्याँखे थापेर हास्य विपरीत स्थितिको चित्रणबाट हास्य उजागार गरेको भेटिन्छ । अर्कोतिर पश्चिमी दृष्टिोणबाट हेर्नु हो भने, यिनका हास्यव्यङ्ग्य सिर्जनामा व्याजोक्ति तथा वक्रोक्ति वा हँसी-ठट्टाका माध्यमबाट हास्य सिर्जना गरी व्यङ्ग्यको सिर्कनुले सोँड़्क्याएको बुझिन्छ । पश्चिमी परम्परानुसार यिनको हास्यव्यङ्ग्यमा फार्स वा विदूषण हास्य अथवा घोंचपेंच शैली प्रयोग गरी हास्यव्यङ्ग्य मार्फत् गतिलो पाराले चढ़कन लगाएको देखिन्छ ।
नेपाली हास्यव्यङ्ग्य फाँटको भुकभुके उज्यालोमा देखा परेका कवि भानुभक्तले भक्तिचेतनाबाट सामान्य पन्सेर हास्यव्यङ्ग्य फाँटमा पनि धारिलो हँसिया चलाएकाले यिनलाई हास्यव्यङ्ग्यकारको सिंहासनमा ढुक्कैले विराजमान गराउऩ सकिन्छ ।

सिलिगु़ड़ी, (भारत)
-O-O-O-O-O-O-O-O-

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।