14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘योगमाया’लाई नियाली हेर्दा

कृति/समीक्षा डा.कृष्णराज अधिकारी July 12, 2021, 3:06 pm
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

पृष्ठभूमि
‘चीरहरण’ र ‘अर्की आइमाई’ जस्ता उपन्यासबाट आफ्नो पहिचान बनाइसकेकी नीलम कार्की ‘निहारिका’ अर्को उपन्यास ‘योगमाया’ बाट आफ्नो औपन्यासिक यात्रालाई थप उचाइतिर पु¥याएकी छन् । ‘चीरहरण’ जस्तो पौराणिक विषयवस्तु बोकेको महाभारतकालीन सन्दर्भलाई नेपालको सामाजिक सन्दर्भमा ल्याउँदै विद्रोहात्मक चेतना उजागर गर्ने नीलमले अर्को छुट्टै विद्रोहात्मक चेतनाकी ऐतिहासिक पात्र योगमाया मार्फत् सामाजिक जागरण र नारी अधिकारका स्वरहरूलाई उजागर गरेकी छन् । समाजमा विद्यमान पात्रहरूलाई नलिई पुराण र इतिहासका पात्रहरू खोतल्दै हाम्रो मन–मस्तिष्कलाई नै तरङ्गित पार्ने तत्कालीन शासन सत्ता र पुरुष सत्ताबाट प्रताडित विद्रोही महिलालाई उपन्यासको नायक बनाउनुले पनि उपन्यासकारको उद्देश्य बुझ्न सकिन्छ । राणा शासनको चर्को दवदवा भएको राजनीतिक अवस्था अनि अन्धविश्वास, छुवाछुत र विभेदका साथै सतिप्रथा र दासप्रथा जस्ता मानव सभ्यताका कलङ्कहरूले ग्रसित सामाजिक अवस्था भएको समयमा त्यस्तो व्यवस्थाकै विरुद्धमा मानिसहरूलाई अझ विशेषतः महिलाहरूलाई सङ्गठित गर्दै सामन्ती सत्ता र पुरुषसत्तासँग जुध्नु र विद्रोहका अन्य शैलीले काम नगरेपछि ६८ जना अनुयायीसहित अरूण नदीमा पसेर आत्मदाह गर्ने विद्रोही योगमायालाई नै प्रमुख पात्र बनाएर उपन्यास लेखिनु आफैंमा महत्वपूर्ण कार्य हो । अधिकांश घटना र पात्रहरू ऐतिहासिक तथ्यमा आधारित भएको र लेखकले स्थलगत अध्ययनबाटै कतिपय तथ्यहरू अघि सारेको हुँदा यसलाई सत्य घटनामा आधारित ऐतिहासिक उपन्यास भन्न सकिन्छ ।
ऐतिहासिकता
‘योगमाया’ उपन्यास ऐतिहासिक पात्र योगमायाको जीवन–सङ्घर्ष र तिनका गतिविधिमै केन्द्रित भएकाले ऐतिहासिक प्रकृतिको रहेको छ । योगमायाका बारेमा केही खोज–अनुसन्धानहरू नभएका होइनन् तर कतिपय सन्दर्भमा तिनका कुराहरू अस्पष्ट र विरोधाभासी प्रकृतिका भएको पाइन्छ । जनकलाल शर्मा, ज्ञानमणि नेपाल, बार्बरा निम्री, लेखनाथ भण्डारी, मातृका तिमिल्सिना, सन्तोष न्यौपाने, पवन आलोक, गोविन्दमासिँह कार्की लगायतका व्यक्तिहरूले योगमायाका बारेमा लेख–रचना र पुस्तक प्रकाशन गरेको पाइन्छ । जनकलाल शर्माले ‘जोसमनी सन्त परम्परा र साहित्य’ नामक कृतिमा योगमायालाई जोसमनी सन्तबाटै प्रभावित र दीक्षित मानेका छन् । उनले शक्तिमाई नाउँ दिँदै वि.सं.१९१७ मा जन्मेर ५ वर्षको उमेरमा विवाह भई त्यसको २ वर्षमै विधवा भएको कुरा उल्लेख गरेका छन् । ‘कान्तिपुर’, ‘राजधानी’ लगायतका कतिपय पत्रिकामा प्रकाशित लेखमा पनि उनलाई बालविधवा नै भनिएको पाइन्छ । जन्मचाहिँ जनकलाल शर्माले १९१७ भनेपनि अन्यत्रचाहिँ कतै १९३४ र कतै १९२५ भनिएको छ । उनी माइत आएको केही वर्षपछि गाउँको एकजना आसाममा काम गर्ने व्यक्तिसँगै त्यहाँ गएको र उसैसँग बिहे गरी एउटी छोरीसमेत जन्माएको उल्लेख पाइन्छ । तर कतिपय लेख र पुस्तकमा भने ती आसामेको पनि निधन भएपछि त्यहीँको अर्को व्यक्तिसँग तेस्रो बिहे गरी तीबाट पनि छोरी जन्माएको भन्ने पनि पाइन्छ । यस बारे उपन्यासले स्पष्ट गर्न सकेको छैन । उपन्यासकार कार्की आफैं स्थलगत अध्ययन गर्दै भोजपुर योगमायाको घर र माइती पुगेर तथ्य सङ्कलन गरेको बुझिएकाले उनले प्रस्तुत गरेको तथ्यप्रति त्यति अविश्वास गर्नुपर्ने स्थिति देखिँदैन । तर कतिपय घटनामा भने विभिन्न लेखकहरूले औंल्याएको तथ्यसँग उनको उसन्यास मेल खाँदैन । उपन्यासलाई कलात्मक र प्रभावकारी बनाउन योगमायासँग सम्बन्धित केही कुराहरू आत्मकथनका रूपमा योगमाया र उनकै भाइबुहारी गङ्गाका मुखबाट भन्न लगाइएको छ । पछिल्ला कतिपय घटनाहरूको तिथिमिति दिइएको भएपनि योगमायाको जन्मसालचाहिँ कतै भन्न लगाइएको छैन । उनको प्रसङ्ग आउँदा कतिपय पात्रले उनलाई तीनबीस र चारबीस काटेको अनुमान लगाए पनि त्यो पात्र बोलेको साल उल्लेख नहुँदा उनले जलसमाधि लिँदाको उमेर र जन्मसाल उपन्यासले एकिन भन्न सकेको छैन । डा.गोविन्दमासिंह कार्कीले भने आफ्नो अनुसन्धानात्मक पुस्तक ‘समाजसुधारक योगमाया’ मा उनको जन्म वि.सं. १९२५मा भएको उल्लेख गरेका छन् ।
को थिइन् योगमाया ?
नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको नेपालेडाँडा, सिम्ले भन्ने ठाउँमा श्रीलाल न्यौपाने र चन्द्रकलाको कोखबाट वि.सं. १९२५ (?)मा जन्मिएकी माया न्यौपाने नामकी बालिका नै पछि भक्तिमाई, शक्तिमाई र योगमायाका नाउँले प्रसिद्ध हुन पुगेकी हुन् । उनी जन्मिँदा जङ्गबहादुर सत्तामा थिए भने उनको जीवनकालभरि वीर शमशेर, चन्द्र शमशेर, भीम शमशेर र जुद्ध शमशेर जस्ता राणाहरूको हुकुमी शासन थियो । एकातिर नेपाली समाज जातभात, छुवाछुत, उचनीच अनि रुढि र अन्धविश्वासले गाँजिएको थियो भने अर्कातिर सामन्ती शोषण, दमन, पुरुष हैकम र नारी उत्पीडन जस्ता शोषणको जाँतोमा पिसिइरहेको थियो । बालविवाह र बहुविवाहका कारण धेरै महिलाहरू बालविधवा बन्दै संपूर्ण जीवन अन्धकारमा डुबाउन विवश हुन्थे भने मानव समाजको कलङ्कका रूपमा रहेको सतिप्रथा र दासप्रथाले समाजलाई वर्वरतातिर धकेलिरहेको थियो । अशिक्षा र गरिवी व्याप्त हुनुका साथै राजनीतिक अधिकारका नाउँमा चुँसम्म बोल्ने अवस्था थिएन ।
यस्तो अवस्थामा जन्मेकी माया न्यौपानेको विवाह तत्कालीन प्रचलन अनुसार सात बर्षको कलिलै उमेरमा भोजपुर धोद्लेका कोइराला परिवारमा हुन पुगेको थियो । कलिली केटी, टाढाको घर, बिहान झिस्मिसे नहुँदैदेखि राति अबेरसम्मको कामधन्दा अनि त्यसैमाथि सासूको हप्काइ र पेलाइलाई सहदै आएकी उनी नौ बर्षमै विधवा बन्न पुगिन् । ‘समाजसुधारक योगमाया’ पुस्तकका लेखक गोविन्दमासिँह कार्की लगायत अन्य कतिपयले उनलाई बिहे गरेको दुई वर्षमै लोग्ने मरेको भन्दै उनी माइतमा आउँदा बालविधवाको रूपमा आएको देखाएका छन् भने उपन्यासमाचाहिँ त्यसो नगरी सधवा अवस्थामै माइत आएकी र उनको चरित्रमा आशङ्का गर्दै उनलाई आफ्नो घरमा फर्काउन अस्वीकार गरी पछि लोग्नेले अर्को बिहे गरेको देखाइएको छ । लोग्ने मरेपछि परिवारका सदस्यले ‘अलच्छिनी’ र ‘पोइटोकाइ’ भन्दै घृणा र दुव्र्यवहार गर्न थालेपछि त्यो सब सहन नसकी भागेर माइत आएकी र माइतमा पनि बस्न सहज नभएपछि आसाममा काम गर्ने गाउँकै एकजना व्यक्तिसँग भागेर आसाम पुगेकी अनि एउटी छोरी जन्मिइसकेपछि आसामेको मृत्यु भएको र त्यसपछि सहाराका लागि पुनः अर्को व्यक्तिसँग बिहे गरी नैनकलालाई जन्माएको देखिन्छ । त्यसपछि साधु–सन्तहरुको सङ्गतमा लाग्दै पुराण र प्रवचनहरू सुन्दै गरेकी उनी तीर्थ हिँडेका मानिसको हुलमा मिसिएर स्वर्गद्वारी पुगी जोसमनी सन्त अभयानन्द द्वितीयसँग दीक्षा लिन पुगेपछि नै उनमा नयाँ ज्ञान, चेतना र विद्रोहको भावना प्रस्फुटन भएको पाइन्छ । त्यसपछि पनि बारम्बारको तीर्थाटन अनि लामो र कठिन तपस्याले उनीभित्र समाज सुधारको बाटो तय गरिदिएको देखिन्छ ।
कथानक
योगमाका बारेमा सुनेपछि उनका बारेमा खोजी गर्दै भोजपुर पुग्ने अमेरिकी महिला बार्बरा निम्री अजिजले पारिजातलाई भेटेर योगमाया बारे आफूले प्राप्त गरेका सामग्री दिँदै कतिपय अर्थ स्पष्ट पारेर कपीमा उतारिदिन सहयोग माग्दै बिदा भएको सन्दर्भलाई उपन्यासले पृष्ठभूमिका रूपमा राखेको छ । ‘ठूली हजुर’बाट उपन्यासको मूल कथा सुरु हुन्छ र ५५ अनुच्छेदसम्म पुग्छ । ‘दुखुना भन्छे’ चाहिँ उपन्यासको उपसंहारका भागका रूपमा रहेको छ । यसमा गङ्गाकी कान्छी छोरी दुखुनाले आत्मकथात्मक शैलीमा भनेका जलसमाधिको अघिल्लो दिनका गतिविधि र भोलिपल्ट बिहान झिस्मिसेमा ऊ सहित ६६ जना जलसमाधिका लागि अरूण नदीतिर पंक्तिबद्ध भएर गएसम्मका घटनाहरू बताइएको छ । लेखकले आफ्ना भनाइलाई पनि औपन्यासिक शैलीमै ‘प्रसङ्गबस’ शीर्षकमा राखेकी छन् ।
योगमायाकै भाइबुहारी गङ्गा (पछि सानीहजुर)ले आत्मकथात्मक शैलीमा कथालाई अघि बढाउँछे । आफूले सुन्दै आएकी तर कहिल्यै नदेखेकी आफ्नी फुपू माया न्यौपाने बारे उनलाई उत्सुकता जागेको हुन्छ । एकदिन गङ्गाका पति अग्निधर आसाम पुगेर दिदीलाई लिई आउँछन् । दिदीको साथमा एउटी छोरी पनि हुन्छे । मायाका बारेमा गाउँमा अनेक कुरा काटिन्छ । अर्कासँग हिँडेकी जैशिनीलाई भान्छामा राखिएको भन्ने हल्ला चलेपछि दिदीलाई भाइसँगै भान्छामा खान दिन पनि असहज हुन्छ । एक बेलुका फुपूले बुहारी गङ्गालाई आफ्नो सबै इतिहास सुनाउँछिन् । उनलाई सानै उमेरमा बिहे गरेर टाढाको गाउँ धोद्ले दिइएको, घरको बुहार्तन र सास्ती खप्न नसकी आत्तिएर माइत आएको, माइत आउँदा बाटो बिराएर जङ्गलमा बास बस्नु परेको, माइतमा माया र सहानुभूति पाउनुको साटो ‘इज्जत फालेकी’ भन्दै गाली गर्न थालेका, बाटोमा तीन दिन हराएकीलाई घरमा स्वीकार्न नसकिने भन्दै घरकाले सन्देश पठाएपछि माइतै बस्नुपरेको, माइतमा पनि कुरा काट्न सुरु भएको, आसामे कँडेलसँग पल्किएकी भन्दै लाञ्छना लगाउन थालेपछि सबैतिरको अपमान, गाली र उपेक्षा सहन नसकेपछि आसामतिर गई काम गरेर खान्छु भन्दै गाउँकै एकजना व्यक्तिसँग हिँडेको कुरा सुनाउँछिन् ।
आसामे कँडेलले माया गरेर राखेको भए पनि उसको मृत्युपछि माया बेसहारा बन्छिन् । त्यसै बेलामा एकजना व्यक्तिले उनलाई सहारा दिन्छ र उसबाट एउटी छोरी पनि जन्मिन्छे । जीवन राम्रैसँग चलेको बेलामा उनी भजन कीर्तन गर्न र सन्तको सङ्गत गर्न पुग्छिन् । गाउँमा पुराण सुन्न जाँदा पण्डितले ‘परपुरुष र परस्त्री गमन गर्नाले नर्कमा परिन्छ’ भन्ने कुरा राख्छन् । उनी यसबाट बिचलित बन्दै लोग्नेसँग छुट्टिएर बस्ने सोच बनाउँछिन् र बेग्लै बस्न थाल्छिन् । यसै बीचमा नैनकलाका बा अर्थात् पछिल्लो लोग्नेको पनि मृत्यु हुन्छ । यस्तो अवस्थामा रहेकी उनलाई माइतबाट भाइ अग्निधर आई लिएर जान्छन् । उनी माइत पुगेपछि ध्यानमा बस्ने, बेला–बेलामा तीर्थाटन जाने, रुढिवादी र छुवाछुतको विरुद्ध बोल्ने, कर्मकाण्डको विरोध गर्ने जस्ता कार्य गर्न थाल्छिन् जसबाट ब्राह्मण–पुरोहितहरू रुष्ट हुन थाल्छन् । उनी बारम्बार हराउने गरेको अनि लवाइ तथा व्यवहारमा पनि परिवर्तन हुन थालेको हुन्छ । छोरी नैनकलाको बिहे एकजना पाको उमेरको रोगी व्यक्तिसँग गरिन्छ र उसको छिटै मृत्यु हुन्छ । मायालाई ठुली हजुर, भक्तिनी, माईहजुर, शक्तिमाई जस्ता नामले संबोधन गर्न थालिन्छ । उनको कुटीमा हरेक साँझ भजन गाउने र प्रसाद बनाएर खाने गरिन्छ । यसरी भजन गाउन र सुन्न आउनेको सङ्ख्या बढ्दै जान्छ । उनको कुटी नजिक अरू कुटीहरू थपिँदै जान्छन् । कुटीमा जातभातको भेद गरिँदैन, छुवाछुतको विरोध गरिन्छ । योगमायाले दलित भनिने काँइली कमिनीबाट पानी मागेर खान्छिन् । यो थाहा पाएर त्यहाँ आउने धेरै ब्राह्मणहरूको जात काढिन्छ । गङ्गाका दाजु महेश्वरको पनि जात काढिन्छ ।
कुटीमा जातभात, छुवाछुत केही रहन्न । रुढि र कर्मकाण्डका साथै दासप्रथा, सतिप्रथा, अनि बालविवाह प्रथाको भने विरोध गरिन्छ । विधवा विवाहलाई प्रोत्साहन गर्ने कुरा गरिन्छ । साहुहरूले लिने चर्को व्याज र असमान मानापाथीको विरोध हुन्छ । कर्मकाण्ड, गरुढ पुराण अनि दान कार्यको पनि योगमायाबाट विरोध हुन्छ । उनको कुटीमा विस्तारै न्याय माग्न आउनेको सङ्ख्या बढ्न थाल्छ । लोग्नेले गरेका अत्याचारलाई लिएर गुनासो पोख्ने कतिपय उत्पीडित महिलाको आश्रयस्थल पनि उनको कुटी बन्दछ । मुलुकमा विद्यमान अन्याय, अत्याचार, रुढि, अन्धविश्वास र विभेदलाई कानुन बनाएरै अन्त्य गर्नुपर्छ भन्ने लागेपछि श्री ३ लाई बिन्तीपत्र चढाउन आफ्नो दूतका रूपमा प्रेमनारायणलाई पठाइन्छ । कुनै सुनुवाइ नभएपछि आफैं गएर जुद्ध शमशेरसँग माग राख्ने काम हुन्छ । जुद्धसँग दर्शनभेट र कुराकानी हुन्छ । श्री ३ बाट दिइएको सुनका असर्फीको थाली योगमायाबाट अस्वीकार हुन्छ । सत्यधर्मको भिक्षा प्राप्त गरेपनि लामो समयसम्म त्यसलाई लागू गरिँदैन । नयाँ ऐन लागू नभएपछि योगमायाले नयाँ र कठोर निर्णय गर्छिन्— १९९५ को हरिशयनी एकादशी पारेर अग्नि समाधि लिने । इच्छापत्र दिनेहरू २४० पुग्छन् । अधिकांशले अग्निसमाधिमा इच्छा देखाउँछन् । अग्निसमाधिको तयारी हुन्छ । सयौं भारी दाउरा र ठूलो परिमाणमा घिउ, जौ, तिल आदि जम्मा गरी यज्ञका लागि दुईवटा ठूला ठूला खाडल खनिन्छ । तर अग्निसमाधि लिन लागेको थाहा पाएर ठूलो सङ्ख्यामा सेनाहरू आएर घेरा हाल्छन् । पुरुषहरूलाई हत्कडी लगाएर जेलमा हालिन्छ भने महिलाहरूलाई राधाकृष्ण पाटीमा नजरबन्द गरिन्छ । गुप्त रूपमा श्री ३ समक्ष थुनामुक्त हुन बिन्तीपत्र हालेपछि भक्तिनीहरू कागज गरेर छुट्छन् भने पुरुषहरू पनि क्रमशः छुट्दै जान्छन् ।
अग्निसमाधि लिने योजना असफल भएपछि अव फेरि गोप्य रूपमा जलसमाधि लिने निर्णय गरिन्छ । जलसमाधिमा जानेको नाम टिपिन्छ । कसैलाई कर नगरी स्वेच्छाले जान भनिन्छ । साना बच्चा हुने आमाहरूलाई जान दिइँदैन । रातभर तयारी गरिन्छ । उपसंहारका रूपमा रहेको ‘दुखुना भन्छे’ मा गङ्गाकी कान्छी छोरी दुखुनाको मुखबाट जलसमाधिको तयारी र अन्तिम परिणाम भन्न लगाइन्छ । अन्तिम तयारीको वर्णन हुन्छ । समाधिमा जाने ६६ पुग्छन् । रातभरि भजन र योगवाणी गाइन्छ । बिहान अँध्यारोमै टपरीमा दियो राखेर सबैभन्दा अघि ठूलीहजुर, त्यसपछि क्रमशः अरूका पाइला अघि बढ्छन् । सबैको अनुहार चम्किलो हुन्छ । सबैमा एउटा अठोट र विश्वास हुन्छ । सबैभन्दा पछि दुखुना हुन्छे र उसैले अगाडिको दृश्य दियोको उज्यालोमा देख्छे । ‘अधर्मको नास होस्, धर्मराज्य स्थापना होस् !’ भन्ने सामूहिक आवाज निस्कन्छ र उपन्यास समाप्त हुन्छ ।
योगमायामा विद्रोहचेत
राणाशासनको चरम दवदवा रहेको बेला नेपालको विकट पहाडी भूभागको एउटा गाउँमा जन्मेर बाल विवाहको सास्ती खप्दै रुढि, अन्धविश्वास र सामन्ती प्रथाको जाँतोमा पिल्सिएकी अनि शिक्षाको अवसरबाट बञ्चित भएकी एउटी महिला कसरी राणाशासनलाई समेत चुनौती दिँदै समाज परिवर्तनको पक्षमा उभिन पुगिन् ? के कस्तो वातावरण, सङ्गत र अन्तःचेतनाले उनलाई विद्रोहमा उभिन प्रेरित ग¥यो ? उनको माइतीतिर दाजु, भाइ वा बाबुबाजेहरूमा समेत त्यस्तो विद्रोह चेत नदेखिएको अवस्थामा आनुवंशिक गुण अनि पारिवारिक वातावरणले समेत विद्रोहलाई उद्दिप्त पारेको देखिँदैन । तत्कालीन सामाजिक राजनीतिक परिवेश र उनले भोग्नुपरेको चरम उपेक्षा र उत्पीडन मात्र पनि त्यसको कारक देखिँदैन । सामाजिक –राजनीतिक परिवेश र उत्पीडन मात्र कारक हुन्थ्यो भने त्यस्तो उत्पीडन र अन्याय अधिकांश महिला र पुरुषले भोग्दै आएको स्थितिमा अरूमा पनि त्यस्तो चेतना जागृत हुनुपथ्र्यो । उनीभित्रको विद्रोह चेतको विकास खोतल्न सामाजिक राजनीतिक परिवेशजन्य उत्पीडनका साथै उनले माइती छोडेर हिँडेपछिका गतिविधि, उनले सङ्गत गरेका र प्रभाव पारेका व्यक्तिहरू, उनको तपस्या वा योग, तिर्थाटनमा हिँड्दा भोगेका, सुनेका र अनुभूत गरेका कुराहरू अनि उनीभित्र अन्तर्निहित प्रतिभा पनि विद्रोह चेतनाकोे कारक हुनुपर्छ ।
बालविवाहले थोपरेको बुहार्तन र सास्ती खप्न नसकेर वा वैधव्य जीवनको सकस सहन नसकेर घर छाडी माइत आउने वा आत्महत्याको बाटो समाउनेसम्मको अवज्ञा वा विद्रोहजन्य कार्य गर्नेहरू तत्कालीन समयमा निकै हुने गर्थे । तिनको अवज्ञा वा विद्रोहले घर–परिवारलाईसम्म त चुनौती दिने गथ्र्यो तर समाज–व्यवस्था र सिङ्गो राज्यसत्तालाई नै चुनौती दिँदै महिला– पुरुष सङ्गठित गर्दै विद्रोहजन्य गतिविधि गरी ठूलो सङ्ख्यामा सामूहिक आत्मदाह गर्नुलाई संभवतः विश्व इतिहासमै पहिलो ठूलो आत्मदाह र विद्रोहको नौलो शैली मान्न सकिन्छ । भानुभक्तले ‘बधुशिक्षा’ लेखी महिला स्वतन्त्रतामाथि धार्मिक अङ्कुश लगाएको कुरा गर्दा ‘तत्कालीन सामाजिक अवस्था नै त्यस्तै थियो’ भन्दै भानुभक्तको पक्षपोषण गर्ने समीक्षकहरूले योगमायाको तत्कालीन समयको विद्रोहतिर ध्यान दिएको देखिँदैन ।
जनकलाल शर्माले स्वर्गद्वारी जान लागेको तीर्थयात्रीको हुलमा मिसिएर हिँडेकी उनको स्वर्गद्वारीका महाप्रभु अभयानन्द द्वितीयको सङ्गतमा बसी जोसमनी मतमा दीक्षित भएको कुरा उल्लेख गरेका छन् । उनका अनुसार जोसमनी सन्तकै प्रभावले उनी जातभात विरोधी भएकी थिइन् । उपन्यासले यस विषयमा त्यति ध्यान दिएको देखिँदैन । प्रस्ट नभएको कुरामा उपन्यास पन्छिन खोजेको देखिन्छ । ठूली हजुर अर्थात् योगमायाले गङ्गालाई सुनाएको आफ्नो कथा–व्यथामा आसामे कँडेलसँग हिँडेको, उसको मृत्युपछि अर्कोले सहारा दिएको र उसैबाट छोरी जन्मेको अनि गाउँमा लागेको पुराण सुन्न जाँदा परस्त्री–परपुरुषसँगको गमनले नर्कमा परिन्छ भन्ने सुन्न पुगेपछि पछिल्लो लोग्नेसँग सल्लाहले नै छुट्टै बस्ने गरेको भन्नेसम्म त उल्लेख छ, त्यसपछिको प्रसङ्ग उठ्दैन, उठाइँदैन । लेखक नीलम आफैं योगमायाको घर–माइती रहेको ठाउँमा पुगी तथ्यहरू सङ्कलन गरेकाले त्यहाँबाट प्राप्त तथ्यमै सीमित हुन पुगेको देखिन्छ । योगमाया बिहे गरेको घर छाडेर माइत आएको र माइतमा पनि विभिन्न लाञ्छना र अपहेलना सुन्नुपरेपछि आसामे कँडेलसँग आसाम हिँडेको अवस्थापछि एकैचोटि छोरीसहित माइत आउँदा भक्तिनी बनिसकेको स्थिति उपन्यासले देखाउँछ । बीचको लामो अन्तराललाई उपन्यासले देखाउन सकेको छैन ।
ठूलीहजुरले बेलुका गङ्गालाई सुनाउँदा आफू आसामेसँग हिँडेको, उसको मृत्यु भएपछि अर्कोसँग गई छोरी पाएको प्रसङ्गले नै बीचको लामो अन्तराललाई जोडिदिएको छ । योगमाया आसाम गएपछिको अवस्था अज्ञात रहेको र योगमायाको जीवनको महत्वपूर्ण पक्ष भनेकै छोरी लिएर माइतमा फर्केपछिका गतिविधि हुन् भन्ने लागेर पनि उपन्यासले आसामको जीवनलाई नखोतलेको हुनसक्छ । घरबाट माइत आउँदा बाटोमा भोगेको कष्टलाई विस्तृतमा सुनाउने ठूलीहजुरले आसाम बस्दाको अवस्थाचाहिँ छिपाउन पुग्छिन्, अति छोटोमा टुङ्ग्याएर । लेखक नीलमसँग भोजपुरमा योगमायाले गरेको गतिविधि र पारिवारिक अवस्था बारे प्रशस्त जानकारी हुनाले ठूलीहजुर र सानीहजुर गङ्गाको मुखबाट भन्न लगाउनु स्वाभाविक र प्रभावकारी पनि हुन्थ्यो तर राम्ररी जानकारी नभएको आसाम बसाइको अवस्थालाई काल्पनिक रूपमा भन्दा त्यो तथ्यहीन हुन गई उपन्यास नै काल्पनिक बन्न जान्थ्यो । यसैले लेखकले उपन्यासलाई तथ्यमा आधारित ऐतिहासिक बनाउन खोज्दा भोजपुरमै केन्द्रित भई आसामको परिवेशतिर आँखा चिम्लिएको देखिन्छ । हुन त माया न्यौपानेलाई योगमाया बनाउन भोजपुरकै भूमिका रह्यो, संपूर्ण साथ–सहयोग पनि भोजपुरबासीकै रह्यो तर पनि उनीभित्र विद्रोहचेत जागृत गराउनचाहिँ आसाम पनि कारक रहेको देखिन्छ । माया न्यौपाने आसामबाट कहिले फर्किन् भन्ने निश्चित मिति उल्लेख पाइँदैन । आसामेसँग हिँडपछिको अवस्था त उपन्यासमा पूरै रित्तो देखिन्छ । आसामेसँग बिहे गरेपछिको पारिवारिक अवस्था र छोरीको अवस्था बारे उपन्यास केही बोल्दैन । वि.सं.१९७४ मा दिव्यादेवी, मेलवादेवी, योगमाया आदिले नेपालमा पहिलो पटक महिला समिति बनाएको भन्ने पाइन्छ । उनलाई १९१७ मा जन्मेको मान्ने हो भने सन्ताउन्न बर्षमा र १९२५मान्दा पचास बर्षको उमेरमा उनी आसामबाट फर्किसकेको र महिला अधिकारका लागि भित्रभित्रै सक्रिय रहेको देखिन्छ ।
माया न्यौपाने कति समय आसाममा रहिन् भन्ने कुरा उपन्यासबाट स्पष्ट हुँदैन । उनी आसाम हिँड्दा १६–१७ की र फर्किँदा ४० कटेको स्थिति देखिन्छ । यसरी कम्तीमा २२–२३ वर्ष आसाममा रहेकी उनको संपूर्ण यौवनावस्था उतै बितेकाले त्यो समयको गतिविधि र क्रियाकलाप अध्ययन नभई उनको चेतनाको विकास र विद्रोहको प्रेरक तत्व भेटाउन सकिँदैन । उनका बारेमा लेखिएका लेखहरू र प्रस्तुत उपन्यासलाई हेर्दा उनी जोसमनी सन्त सम्प्रदायका साथै विभिन्न सामाजिक–राजनीतिक अभियन्ताबाट प्रभावित बनेको देखिन्छ । जनकलाल शर्मा र ज्ञानमणि नेपालले उनलाई ‘परस्त्री गमन गर्नाले नरकमा परिन्छ’ भन्ने पुराणका कथाले विचलित पारेको र त्यसपछि नै उनले लोग्नेलाई छाडेर एक्लै बस्नुका साथै वैराग्य धारणा गरेको उल्लेख गरेका छन् र उपन्यासले पनि यसैलाई आधार मानेको देखिन्छ । तर यति ठूलो सङ्घर्ष गर्दै आएकी र पछि गएर सामाजिक विभेद र अन्याय विरुद्ध अभियान चलाएकी योगमायाले पुराण सुनेकै भरमा विद्रोही बनेको देखाउनुले उनको सही चरित्राङ्कन गर्न सक्तैन । पुराणले परम्परागत धार्मिक मान्यताको संरक्षण गर्न प्रेरित गरेको हुन्छ, परम्परागत मान्यताको विद्रोहलाई प्रेरित गर्दैन । संभवतः योगमाया आसाममा रहँदा त्यहाँ विभिन्न योगी र सन्तहरूका साथै सामाजिक अभियन्ता र राजनीतिक व्यक्तिहरू पनि आउने गर्दथे । भारतमा अङ्गे्रज विरोधी भावना व्याप्त हुनुका साथै परम्परागत धर्म र कर्मकाण्डमा सुधार गर्न आर्य समाज जस्ता विभिन्न धार्मिक आन्दोलनहरू पनि चल्न थालेका थिए । आसाममा पनि त्यसको प्रभाव र असर पर्नु स्वाभाविक थियो । स्वतन्त्र र उन्मुक्त चेतनाकी योगमायामा तिनको प्रभाव पर्नु स्वाभाविक थियो । यसैले उनी आर्य समाजी धार्मिक सुधारक, कर्मकाण्ड र पुरोहितवादका विरोधी जोसमनी सन्त अनि विभिन्न सामाजिक अभियन्ता र राजनीतिक व्यक्तिहरुको प्रभावमा पर्न थालेकी थिइन् । यसैले उनीभित्रको विद्रोह चेतलाई यस्तै व्यक्तिहरुको सङ्गतले उद्दीप्त गरिदिँदा उनीभित्र समाजबोध र युगबोधको भावना जागृत हुनपुगेको हुनुपर्छ । तर उपन्यासले योगमायाको विद्रोहचेतलाई खोतल्नतिर लागेको देखिँदैन । विभिन्न राजनीतिक व्यक्ति र सामाजिक अभियन्ताका साथै जातभात, छुवाछुत, मूर्तिपूजा र कर्मकाण्डका कट्टर विरोधी जोसमनी सन्तको प्रभावले उनी त्यस्ता कुरीतिको विरोधमा लागेको देखिन्छ । यसैले स्वर्गद्वारीका महाप्रभु अभयानन्दबाट दीक्षित बनेपछि उनी आफ्नो सामाजिक तथा राजनीतिक सुधारको अभियानमा लाग्न पुगिन् । उपन्यासमा वर्णित र तस्वीरमा देखिने उनको शारीरिक अवस्थालाई हेर्दा पनि अन्य जोसमनि सन्तहरूकै जस्तै लवाई र क्रियाकलाप देख्न सकिन्छ । लामो समयसम्म ध्यानमा बस्ने, चिन्तन गर्ने, लामो समय लगाएर तीर्थ हिँड्ने र कतिपय अवस्थामा त तीर्थस्थलसमेत नभनी हिँड्ने र हराउने अनि देशको सामाजिक राजनीतिक अवस्थाप्रति चिन्ता र चासो राख्ने प्रवृत्तिले पनि उनीभित्रको प्रतिभा र चेतनाको क्रमिक विकास भएको अनुमान गर्न सकिन्छ ।
समाजचेतना र युगबोध
देशको तत्कालीन राजनीतिक–सामाजिक परिवेश, बाल्यकालमै बिहे भई दुई वर्षपछि नै विधवा बन्नुपरेको अवस्था अनि घरको यातना र बुहार्तन खप्न नसकेर माइत आउँदा त्यहाँ सुन्न र भोग्न परेका लाञ्छना, घृणा, निन्दा र तिरस्कारले उनीभित्रको विद्रोहचेतनाको बीजलाई अङ्कुरित गरिदिएको थियो । जसको परिणाम उनले घर र माइती परित्याग गर्दै गाउँकै आसामेसँग आसाम हिँड्न पुग्छिन् । अन्याय सहन नसकेपछि मानिसले कि त विद्रोहको बाटो लिन्छ कि त पलायनको । उनले माइती र समाजलाई चुनौती दिँदै विद्रोहको बाटो लिइन् । यो विद्रोह एक किसिमले परम्पराको अवज्ञा थियो । परम्परा र संस्कारले थोपरिदिएको मूल्य र मान्यतालाई उनले उलङ्घन गरेकी थिइन् । यो कुनै सचेत विद्रोह नभएर चरम उत्पीडनले सिर्जना गरेको स्वतः स्फूर्त विद्रोह थियो । लामो समयको अन्तरालपछि आसामबाट माइती फर्केपछिका उनका गतिविधि र क्रियाकलापचाहिँ समाज रूपान्तरणका लागि गरिएको सचेत र सङ्गठित विद्रोह थियो । जोसमनी लगायतका सन्त र अन्य सामाजिक–राजनीतिक अभियन्तासँगको सङ्गत, योगसाधना अनि समाजमा व्याप्त अन्धविश्वास, कुरीति र सामन्ती शोषणले उनीभित्र अङ्कुरित विद्रोह–चेतनालाई हुर्काइदियो । उनले जातभात, छुवाछुत जस्ता प्रथाको विरोध गर्दै आफ्ना कुटीमा दलितलाई समेत प्रवेश गराई समान व्यवहार गर्न थालेपछि दलितहरू उनीप्रति आकर्षित हुनु स्वाभाविक थियो । त्यसैगरी बालविवाहको विरोध, विधवाले पनि विवाह गर्न पाउनुपर्ने, महिलाले पनि पढ्न पाउनुपर्ने, महिला पुरुषवीच भेदभाव गर्न नपाइने जस्ता महिला अधिकारका कुरा उठाउन थालेपछि महिलाहरूले उनलाई साथ दिन थाले र उनको कुटीलाई आश्रयस्थल बनाउन थाले । उनले कर्मकाण्ड र दानको मात्र विरोध गरिनन् मानिस मर्दा लगाइने गरुड पुराण जस्तो स्वर्गको आश र नरकको त्रास देखाउँदै दान गर्न लगाउने र महिलालाई अपहेलना गर्ने परिपाटीको पनि विरोध गरिन् । चर्को व्याज लिने, आफूले लिँदा र दिँदा भिन्नाभिन्नै मानापाथी प्रयोग गर्ने जस्ता सामन्ती प्रथाको पनि उनले विरोध गरिन् । यसैले उनलाई कतिपय ठाउँमा हातपात गर्न खोजियो भने कतिपय अवस्थामा विष खुवाई मार्ने षड्यन्त्र पनि गरियो । तर उनी विचलित भइनन् ।
उनको सानो समूहले शोषण, उत्पीडन र विभेदग्रस्त समाज अनि निरङ्कुश शासन व्यवस्थासँग लड्न सक्ने स्थिति थिएन । यो कुरा उनले राम्रै बुझेकी थिइन् । यसैले समाजका विकृति, अन्याय र भ्रष्टतालाई राज्यबाटै कानुन बनाएर हटाउनु पर्छ भन्ने उनले ठहर गर्दै धर्म भिक्षाका रूपमा समाज सुधारका महत्वर्ण मागहरू लिएर प्रेमनारायणलाई दूतका रूपमा राणा समक्ष पठाइन् । चन्द्र शमशेरदेखि जुद्ध शमशेरसम्म आफ्ना मागहरू पु¥याउँदा पनि सुनुवाई नभएपछि केही सहयोगीका साथ आफैं जुद्ध शमशेरलाई भेट्न गइन् र धर्म भिक्षाको आश्वासन पाएर फर्किन् । तर राणाहरूबाट उनको माग पूरा नहुने देखेपछि आफ्ना अनुयायी सहित जलसमाधि (सामूहिक आत्महत्या) लिन पुगिन् ।
राणा शासनको त्यस्तो दवदवामा पनि उनले जे जस्ता माग अघि सारिन्, त्यसलाई हेर्दा उनीभित्र उच्च सामाजिक चेतना, अदम्य साहस, युगबोध र प्रबल आत्मनिष्ठा रहेको देखिन्छ । उनको कठोर तपस्या र साधनाको प्रभाव मझुवावेंसीमा मात्र नभएर भोजपुर, खोटाङ, ओखलढुङ्गा, सँखुवासभा जस्ता जिल्लातिर पनि फैलिएको र त्यस बाहिर पनि संभवतः काठमाडौंतिर पनि उनका अनुयायीहरू थिए । कुनै राजनीतिक वा सामाजिक सङ्गठनका रूपमा वा कुनै सामान्य व्यक्ति विशेषले यस्तो साहस गरेको भए ऊ सजिलै राणाहरूको कोपभाजनमा पर्दथ्र्यो । तर उनले योगिनी वा भक्तिमाईका रूपमा यो सब गरिरहेकी थिइन् र आफ्ना मागहरू पनि धर्मराज्य स्थापनाका लागि भनिरहेकी थिइन् । सबै गतिविधिहरू धर्मकै नाउँमा भइरहेका थिए । राणाहरू धर्मभिरु थिए । धर्म र ईश्वरको मामलामा उनीहरू उदार रहन्थे । यसैले पनि उनीहरूले योगमायालाई गिरफ्तार गर्न वा थुन्न सकिरहेका थिएनन् । अग्निदाहको तयारी गरेपछि मात्र त्यसो हुन नदिन उनीहरूलाई गिरफ्तार गरी नजरबन्दमा राखिएको थियो । धर्मको आवरण हटाइदिने हो भने उनले राखेका मागहरू र उठाएका कदमहरू तत्कालीन अवस्थामा क्रान्तिकारी थिए । आजका महिलाहरूले समेत हिम्मत गर्न नसक्ने गरुड पुराण वाचन बन्द गर्न दवाव दिने काम कम साहसिक थिएन । त्यसैगरी चर्को व्याज लिन नपाउने, एक समान मानापाथीको प्रयोग, जात काढ्न र मुड्न नपाइने, विधवाले चाहेमा बिहे गर्न पाउनुपर्ने, श्रीमतीको इच्छावेगर सौता हाल्न नपाइने, छुवाछुतको अन्त्य, बालविवाहको अन्त्य, शिक्षामा महिलालाई समान अवसर, तिरो जिन्सीमा तिर्न पाउनु पर्ने, गरिवको ऋण मिनाहा हुनुपर्ने, घुस खानेलाई कडा कार्वाही हुनुपर्ने जस्ता मागलाई हेर्दा उनीभित्रको युगचेतना, समाजबोध र क्रान्तिचेत उन्नतस्तरमा रहेको पाइन्छ ।
योगमायाको कुटी ः कम्युनको आभास
योगमाया कुटीमा बस्न थालेदेखि नै उनको कुटीमा भजन गाउने, त्यहीँ प्रसाद बनाएर खाने वा कहिले कसैले, कहिले कसैले लिएर आउने र बाँडेर खाने, छुवाछुत, ठूलोसानो, महिला–पुरुषवीच भेद नरहने, कोही वेसहारा भएमा वा पीडा खप्न नसक्दा उनी समक्ष मद्दत माग्ने, कतिपयले त्यहीँ आश्रय लिने, उनकै कुटी वरपर अरू कुटीहरू बनाएर बस्ने जस्ता गतिविधिलाई हेर्दा त्यहाँको जीवन र बसाइ (सामूहिक जीवन) कम्युन जस्तो लाग्दछ । मझुवावेँसीमा पहिला उनको एउटा मात्र कुटी रहेकामा पछि बढ्दै गएर धेरै कुटीहरू बन्न थालेको स्थितिलाई हेर्दा सामूहिक भाव, मातृप्रधानता र वयोबृद्ध माताको नियन्त्रण रहने आदिम साम्यवादी समाज व्यवस्थाको झलक पाइन्छ । तर त्यहाँ आएका भक्त वा उनका अनुयायीहरू सामूहिक उत्पादन कार्यमा सरिक नभई वैराग्य भावले युक्त भएर लागेको पाइन्छ । अझ कतिपयले त धन–सम्पत्ति र घर–गृहस्थी नै त्यागेर आएको देखिन्छ, एक किसिमले भन्दा आध्यात्मिक साम्यवाद । उनीहरूमा संपत्ति र सञ्चयको मोह पाइँदैन । सानीहजुर (गङ्गा) आफ्नो पैतृक सम्पत्ति जेठाजुको छोरा महेश्वरलाई सुम्पेर कुटीमा बस्छिन् भने बस्नेत काजीहरूमा पनि पैतृक सम्पत्तिको मोह रहँदैन । त्यहाँ आउनेहरू निःस्वार्थ भावले मन खोलेर सहयोग गर्छन् । त्यहाँ कुनै करकाप वा बन्धनको स्थिति रहँदैन ।
सबैजसो मानिस कुटीमा आउँदा घरमा भएको खाद्यान्न लिएर आउँछन् अनि त्यहीँ पकाएर सामूहिक रूपमा खान्छन् । योगमाया सुन र पैसा परित्याग गर्छिन् । जुद्ध शमशेरले थालीमा असर्फीहरू राखेर दिँदा त्यसलाई अस्वीकार गर्दै भन्छिन् —‘योगीलाई असर्फी के काम ? धर्मराज्यको भिक्षा लिन आएकी हुँ ।’ यहाँ धर्म भनेर न्याय वा मानवोचित हक–अधिकारका रूपमा प्रयुक्त भएको पाइन्छ । उनले धर्मभिक्षाका रूपमा मागेका कुराहरू पनि उत्पीडित जनता र महिलाको उद्दार अनि सामाजिक विभेद र अन्यायबाट मुक्तिका लागि थियो । त्यहाँ कुटीमा बस्ने कसैलाई अप्ठेरो पर्दा सबैले सघाउँछन् । तिनीहरू योगमाया र उनको विचारका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहन्छन् । अग्नि समाधि लिन २४० जनाले मञ्जुरी गर्नु अनि गुप्त रूपमा र छोटो समयमा निर्णय गरिएको जल समाधि (सामूहिक आत्महत्या) मा स्वतःस्फूर्त रूपमा ६८ जना सहभागी हुनुले यसको पुष्टि हुन्छ । उनीप्रति यतिधेरै त्यागको भाव आउनु वा एउटै वचनमा सयौंले प्राण आहुती दिन तयार हुनुमा योगमायाप्रतिको निष्ठा र समर्पण भाव मात्र नभएर उनले हिँडेको न्याय, सत्य र मानवताको बाटो भएर नै हो भन्न सकिन्छ । कुटीभित्र गाइने भजन पनि प्रायः योगवाणी हुने गरेको र त्यसमा पनि सत्य र मानवोचित भाव अभिव्यक्त हुने गरेको पाइन्छ । सामूहिक उत्पादनमा लागेको नदेखिए पनि र बाहिर धर्मको कुरा गरेको पाइए पनि त्यहाँभित्रका गतिविधि र धर्मभिक्षाका रूपमा राखिएका मागहरू हेर्दा कता–कता प्राचीन कम्युनको आभास पाइन्छ ।
सन्त कवयित्री योगमाया
जोसमनी सन्त परम्पराका प्रमुख सन्तहरू कविसमेत भएको र तिनले कविता मार्फत् आफ्ना विचारहरू व्यक्त गर्ने गरेको पाइन्छ । यसमा शशिधर र ज्ञानदिलदास प्रमुख रहेका छन् । जोसमनी मतको प्रचार गर्न देशका भिभिन्न भूभाग र भारतका आसाम, सिक्किम, दार्जिलिङ, बर्मा र भुटानसम्म पुग्ने गरेका यिनीहरू जातभात, छुवाछुत र कर्मकाण्डको विरोध गर्दथे । बढी प्रभावकारी हुने भएकाले सन्त कविहरू कवितामै आफ्ना विचारहरू व्यक्त गर्दथे । आसाम छँदैदेखि धार्मिक प्रवचन सुन्न जाने गरेकी योगमायामा त्यहाँ प्रचारमा हिँडेका जोसमनी सन्तहरूसँग पनि संभवतः भेट भएको थियो । यसैले उनी विस्तारै त्यसको प्रभावमा पर्न थालेकी थिइन् । भोजपुर फर्किएपछि उनी त्यस मतलाई आत्मसात गर्दै स्वर्गद्वारीका अभयानन्दसँग दीक्षा लिई आफूलाई संपूर्ण रूपमा जोसमनी सन्तका रूपमा उभ्याउन पुगिन् । उनीभित्रको कवित्व प्रवचनका क्रममा प्रस्फुटित हुन थालेको पाइन्छ । उनी प्रवचन पनि कवितामै दिन थालेकी थिइन् । जोसमनी सन्त परम्पराका सबैजसो कविहरूले लोकजीवनमा व्याप्त रहेको लोकलयमै आफ्ना भाव वा विचार व्यक्त गर्ने गरेको पाइन्छ । योगमायाले पनि लोकलयमै आफ्ना कवितात्मक अभिव्यक्ति दिएको पाइन्छ । योगमायाले कतिपय सन्दर्भ र प्रवचनका क्रममा व्यक्त गर्ने गरेका कवितात्मक भावलाई उनकी छोरी दुखुनाले कण्ठ पारेको र त्यसैलाई उनका निकटका शिष्य प्रेमनारायणले कागजमा उतारी पछि ‘सर्वार्थ योगवाणी’ नामबाट प्रकाशन गरिएको थियो । आध्यात्मिकता, समाज सुधारको सन्देश, सामन्तको विरोध, नारी अधिकारको पक्षपोषण, जातीय विभेदको विरोध, राजनीतिक सचेतता र क्रान्तिकारिता उनका कविताका प्रवृत्ति रहेका छन् । उनी लेखपढ गर्न नजान्ने भएकाले मौखिक रूपमै कविता प्रस्तुत गर्ने गर्दथिन् जसलाई उनकी छोरीले सुनेर कण्ठ पारेकी थिइन् । उनका कविता लोकलयमा हुनुका साथै मौखिक रूपमा प्रस्तुत गरिएको हुनाले तिनमा सरलता, वैचारिकता र प्रभावकारिता रहेको पाइन्छ । ‘सर्वार्थ योगवाणी’बाट उनको कवित्व अनि प्रतिभा र विचारलाई धेरै हदसम्म बुझ्न सकिन्छ । उनी अन्य जोसमनी सन्तहरूझैं आफ्ना विचारलाई प्रचार गर्न विभिन्न भूभागमा घुम्नुको सट्टा कठोर तपस्या, ध्यान र प्रवचनमै केन्द्रित रहिन् । उनीभित्रको कवि–प्रतिभा, उच्च राजनीतिक–सामाजिक चेत र क्रान्तिकारिताले उनलाई क्रान्तिकारी सन्तका रूपमा उभ्याउन पुग्यो ।
योगमाया र यौन
बालविवाहको शिकार र छोटो अवधिमै वैधव्य जीवन भोग्नुपरेपछि घरको बुहार्तन र दुव्र्यवहार खप्न नसकेर माइत आउँदादेखि नै माया न्यौपानेप्रति तत्कालीन समाजले अनेकौं लाञ्छनाहरू लगाएको थियो । उनी घरबाट भागेर माइत हिँड्दा बाटो बिराएर जङ्गलतिर गई हराएकी र साँझ परेपछि जङ्गलमै बसी पर्सीपल्ट मात्र माइतीको आगन टेकेकी हुँदा घरका मानिसले उनलाई उतिखेरै अर्कै केटासँग हिँडेको आरोप लगाएका थिए । त्यही निहुँमा उनलाई घरमा भित्र्याउन नसकिने भन्दै छोराको अर्को विवाहको सुरसार गरेका थिए (उपन्यासमा यसो भनिए पनि अन्य पुस्तक र लेखहरुमा भने उनी माइत आउँदा विधवा भइसकेको भन्ने पाइन्छ) । उपन्यासमा माया न्यौपानेले आफ्नी भाइ–बुहारीसँग व्यक्त गरेको उक्त घटनाका कतिपय सन्दर्भहरू काल्पनिक जस्ता लागेपनि तत्कालीन समाज–व्यवस्था र उनको उमेर–अवस्थालाई हेर्दा त्यति अस्वाभाविक लाग्दैन । मायाले घर छोडेर हिँड्दाको उमेरलाई विचार गर्दा उनी अर्को कुनै केटासँग हिँड्न सक्ने अवस्था पनि देखिँदैन । माइतमा बस्न थालेको केही वर्षपछि भने उनको शरीरमा यौवनले प्रवेश गरेको थियो । उनको शारीरिक बनावट पनि निकै सुन्दर र आकर्षक भएकाले पुरुषहरूको आँखा लाग्नु अस्वाभाविक थिएन । उनी माइतमा बसेकी हुँदा घरमा जस्तो धक र बन्धन पनि थिएन । यसैले उनीभित्रको यौवनले शिर उठाउन खोज्नु स्वाभाविक थियो । यो बेलामा उनी घाँस काट्न जाँदा गाउँको आसामेसँग छिल्लिने गरेकी थिइन् भन्ने कुरा बाबुले नै थाहा पाएर उनलाई हप्काएको प्रसङ्गबाट थाहा हुन्छ । घरबाट परित्याग गरिएको र माइतमा पनि अनेक थरि कुरा सुन्नु परेको स्थितिमा उनले कसैको सहारा खोज्नुलाई उत्ताउलिएको अवस्था मात्र भन्न सकिने स्थिति थिएन । फेरि उनको मनले माइतमा सधैंभरि अपहेलित हुँदै बाबुआमालाई समेत अप्ठेरो पारिदिएर बस्न मानिरहेको पनि थिएन । यसैले उनी घर–माइतको मुखै नहेर्ने गरी धेरै टाढा गएर काम गरी खाने मनस्थितिमा थिइन् । यसका लागि आसाम र आसामे उपयुक्त ठाउँ र पात्र थिए । यसैले उनले आसामेसँग सम्बन्ध बढाएको देखिन्छ । जनकलाल शर्मा र अझ विशेष गरी ज्ञानमणि नेपालले उनले रोजेको महिलाको यौन र विवाहको अधिकारलाई होच्याउने किसिमले प्रस्तुत गरेको देखिन्छ । पुरुषहरुले श्रीमती मरेको केही महिना नहुँदै अर्को बिहे गरिहाल्ने अनि घरमा श्रीमती हुँदाहुँदै दोस्री, तेस्री श्रीमती ल्याउन हुने तर बाल विधवा भइ बसेकी युवतीले बिहे गर्न खोज्नुलाई उत्ताउली भन्दै चारित्रिक कलङ्क लगाउने पुरुषसत्ताकै पक्षपोषक देखिन्छन् तिनका लेखहरू । यौन र विवाह प्राकृतिक र सामाजिक आवश्यकता पनि हुन् र यिनको अधिकार महिलालाई पनि हुनुपर्छ भन्ने मान्यता योगमायामा पछिसम्म पनि कायम थियो ।
योगमाया आसामेसँग गएपछि लामो समयसम्म उसैसँग बसेको देखिन्छ । धेरैजसो लेखकले आसामेसँग पनि एउटी छोरी जन्मेको र आसामेको मृत्युपछि माया न्यौपाने छोरी लिएर हिँड्न खोज्दा नदिएर आफैंसँग राखी पछि बिहे गरिदिएको भन्ने पाइन्छ । तर उपन्यासले आसामेसँग छोरी जन्मेको उल्लेख गर्दैन । माया न्यौपाने आसामेसँग कति समय सँगै बसिन्, आसामेको मृत्युपछि के गरिन् र नैनकलाका बाबुसँग कहिले बिहे गरिन् भन्ने स्पष्ट हुँदैन । पछि पुराण सुन्न जाँदा पण्डितले ‘परपुरुष–गमन गर्नाले मृत्युपछि नरक परिन्छ’ भनेको सुनेर विचलित हुँदै नैनकलाका बाबुसँगको सल्लाहमै छुट्टाछुट्टै बस्ने गरेको कुरा उपन्यासमा पाइन्छ । जनकलाल शर्माको भनाइलाई आधार मानिएको यो सन्दर्भ त्यति स्वाभाविक र न्यायोचित देखिँदैन । एउटा पुराण सुनेकै भरमा लोग्नेलाई छोडेर बेग्लै बस्नु नै स्वाभाविक लाग्दैन भने पुराण सुनेकै भरमा वैराग्य उत्पन्न भई घर छोडेर हिँडी सामाजिक–राजनीतिक सुधारको अभियानमा लाग्नु झनै अस्वाभाविक लाग्छ । पुराण सुनेर वैराग्य उत्पन्नसम्म हुन सक्छ तर त्यही पुराण र परम्पराको विरोधमा लाग्ने कुरा हुन सक्तैन । बिहे गरेको पुरुषलाई परपुरुष भनिदैन, स्वपुरुष नै भनिन्छ । उनले आफूलाई परपुरुष–गामी ठानेकी हुन् भने आसामेको मृत्युपछि (संभवतः अघि पनि) र नैनकलाका बाबुसँग बिहे नहुँदैको समयमा पनि उनको अन्य पुरुषहरूसँग पनि शारीरिक सम्बन्ध रहेछ कि भन्ने आशङ्का जन्माउँछ । यसैले उनी यौनलाई महिलाको स्वेच्छिक अधिकारका रूपमा हेर्दथिन् कि भन्ने अनुमान लगाउन सकिन्छ । एकपटक बिहे गरेपछि जे जस्तो अवस्था र घटना भएपनि लोग्नेकै सत्मा बसिरहने तत्कालीन संस्कार र कथित धर्मलाई हतपत तोड्ने आँट सितिमिति कुनै महिलाले गर्दैनथे । त्यस्तो समाज र संस्कारलाई तोड्दै क्रमशः दोस्रो र तेस्रो विवाह गर्नुलाई ठुलै आँट र साहस मान्नुपर्ने हुन्छ । त्यसैले त्यस्तो कार्यलाई अनुचित ठहर गर्नकै लागि उनले प्रायश्चित गरेको देखाउन पुराणको सन्दर्भ र लोग्नेसँग बेग्लै बसेको सन्दर्भ अघि सारिएको देखिन्छ जुन संभवतः प्रायोजित थियो । उनले दोस्रो र तेस्रो बिहे गरेको तत्कालीन समाज र पुरुषसत्तालाई अपाच्य भएको साक्ष्य स्वरूप उक्त सन्दर्भ जोडिएको थियो ।
विवाह र यौनलाई महिलाको आफ्नो अधिकारका रूपमा लिएकी योगमायालाई उपन्यासमा धार्मिक कर्मकाण्डीय सङ्गतमा परेपछि र पुराणवाचक बाह्मणले परस्त्री गमनलाई पापका रुपमा व्याख्या गरेपछि पश्चातापको भावना उब्जिएको देखाइएको छ । अधिकांश ब्राह्मण र पुरोहितहरू जो आफैं दुई वा त्योभन्दा बढी महिलाका पति बनेका हुन्थे र अझ कतिपय महिलाहरूसँग अवैध यौन सम्बन्ध पनि राख्दथे उनैले महिलालाई पतिब्रताको पाठ पढाइरहेका हुन्थे । महिला अधिकारकी हिमायती उपन्यासकारले पनि पुराणकै प्रभावले उनले पछिल्लो लोग्नेसँग बेग्लै बस्ने निर्णय गरेको देखाउनु र जोगीकै सङ्गतले मात्रै विद्रोही बनेको देखाउनु योगमायाप्रतिको अन्याय हो । योगमायाले धार्मिक पाखण्डलाई बुझ्दै गएपछि ब्राह्मणवाद र कर्मकाण्डप्रति विरोधका स्वरहरू उठाउन थालेकी थिइन् । यसरी यौवनावस्थामा र पछि बुझ्दै गएपछिको प्रौढावस्थामा पनि योगमायाले यौनलाई स्वाभाविक र प्राकृतिक कार्यका रूपमा लिने गरेको पाइन्छ ।
मझुवावेंसीका कुटीभित्र रहँदा महिला पुरुषका वीचमा र छुवाछुतमा कुनै बन्देज नभएको देखिन्छ । महिला र पुरुषलाई छुट्टाछुट्टै स्थान र कुटी तोकिएको देखिँदैन भने तीर्थमा जाँदा, तपस्या गर्न दुर्गम स्थलतिर जाँदा अनि पछि काठमाडौं जाँदा पनि महिला पुरुषसँगै हिँड्ने गरेको पाइन्छ । त्यहाँ कुनै छेकवार वा नियम राखिएको पाइँदैन । यौनको सम्बन्धमा उपन्यासको मूल पाठमा कुनै उल्लेख नपाइए पनि उपन्यास सिध्दिएपछिको ‘प्रसङ्गवस’ भन्ने लेखकीय मन्तव्यमा भोजपुर पुगेर योगमाया बारे खोजी गर्दाका प्रसङ्गमा केही सङ्केत पाइन्छ । त्यहाँ योगमायालाई हरतरहले सहयोग गर्ने डम्बरबहादुर बस्नेतका छोरा लोकेन्द्र बहादुर बस्नेतले भनेको कुराले पनि यौनको अवस्थालाई केही स्पष्ट पार्दछ । उनी उपन्यासकारसँग भन्छन्—‘नानी, एउटा कुरा भनूँ कि नभनूँ, उहाँ टाढादेखि बुझ्न भनी यहाँसम्म आउनुभो । सत्य मैले भन्नै पर्छ होला । त्याँ काँचो मासुको बन्देज थिएन भनेर हल्ला गर्थे पछिसम्म ।’ यसबाट के सङ्केत पाइन्छ भने उनको कुटीमा यौनको बारेमा कुनै बन्धन वा नियम थिएन वा भनौं यौन स्वतन्त्रता थियो ।
आसाम गएपछिका उनका गतिविधिहरू स्पष्ट छैनन् । आसाम पुगेर राम्ररी खोज नगरी यसै भन्ने स्थिति देखिँदैन तर पनि आसामेको निधनपछि वा निधन नहुँदै पनि उनको अन्य पुरुषहरूसँग संपर्क वा सहवास भएको हुनसक्ने अनुमानचाहिँ गर्न सकिन्छ । पुराण भन्ने पण्डितले परपुरुषसँगको सहबासले नर्कमा परिन्छ भन्ने सुनाएपछि उनी विचलित हुनुको कारण संभवतः यही हुनुपर्छ । पछिल्लो लोग्ने वा नैनकलाका बाबुसँग बिहे गरेकै कारण उनी यति धेरै विचलित हुनुपर्ने थिएन । उनी विचलित हुनुबाट लोग्ने बाहेक अरूसँग पनि उनको यौन सम्बन्ध थियो कि भन्न सकिन्छ । उनले यसपछि धेरैजना साधु र जोसमनी सन्तहरूसँग सङ्गत गरेपछि मात्र पुराण भन्ने पण्डितको उक्त भनाइलाई अन्धविश्वासयुक्त र संकीर्ण ठान्न थालेको हुनुपर्छ । पछि भक्तिनी भएर मझुवाबेंसी बस्न थालेपछि पनि महिला–पुरुषबीचको भेद नगर्ने, सहभोजन र सहयात्रा गर्ने अनि कुनै पनि महिला–पुरुषवीच कुनै पनि खालको छेकबार वा बन्देज नगरिएको अवस्थामा उनको चिन्तन यौनलाई प्राकृतिक वा स्वाभाविक प्रक्रियाका रूपमा लिएको देखिन्छ । बिधवाले पनि चाहेमा बिहे गर्न पाउनुपर्छ भन्ने उनको मागले पनि यौनको आवश्यकताको सङ्केत गर्छ ।
आञ्चलिकता
उपन्यासकार नीलम लामो समयको काठमाडौं बसाइँपश्चात् अमेरिका बस्दै आए तापनि उपन्यासमा वर्णित परिवेश चित्रण र संवादको भाषाले ग्रामीण भेकमा अभ्यस्त भएको व्यक्तिले लेखेजस्तो लाग्छ । उपन्यासका पात्रहरूको संवाद र परिवेश वर्णनले पूर्वी पहाडका तत्कालीन बासिन्दाको जीवनशैली र आञ्चलिकतालाई दर्शाउँछ । ठूलीहजुर, सानीहजुर, अग्निधर, प्रेमनारायण, गञ्जबहादुर, बालुमाया, काली थापा जस्ता विभिन्न वर्ग र समुदायले प्रयोग गर्ने भाषामा कुनै कृत्रिमता नभएर सहज र स्वाभाविकता झल्किन्छ । वर्तमानमा प्रचलनबाट हराइसकेका र सहरी जीवनमा अभ्यस्त भएकाहरूका लागि नौलो र अपरिचित लाग्ने शब्द र वस्तुलाई पात्र र परिवेश अनुसार प्रयोग गरेर उपन्यासले आञ्चलिकता र भाषिक सहजताको सिर्जना गरेको छ । निम्न उद्धरणलाई त्यसको साक्ष्यका रूपमा लिन सकिन्छ—
“डालोबाट चुलुवा चारमानो चामल तमौरामा झिकें र दुई पानी धोएँ (पृ.२५)।” “कति काम निब्टाउनु छ । ...तल्लो खड्कुँलोमा पुग्दा बल्ल संझिएँ । ...पोतारोमा दुई ढेला रातो माटो थपेर...(पृ.२७)।”
“फिलिङ्गोमा पाँच–छ पटक बेस्मारी फुक्दा ज्वाला बनेर सलेदो टिप्यो । अनि एक हातमा उज्यालो समाएरै गजबार तानें, ढोका उघारें (पृ.४४)।” “ठूलो आरीमा कोदाको पिठो मुछें तुलसाले एकमुठा हरिया पात ल्याएर चौकामा फालिदी । हेर ढङ्ग !...फतपताउँदै थाल घोप्टो पारेर त्यहाँमाथि पात ओछ्याई रोटी बनाएँ (पृ.६८) ।”
‘‘एकदिन म लुँडो लाएर गहुँ फल्दै थें...।” “घान लाउन मलाई बोलाकी भए हुन्थ्यो नि,’ उहाँले ओखलनेर बस्दै भन्नु भो । ‘एकपाथी मात्रै हो, लुँडैले भ्याउँछ ।” (पृ.१२०)
“हन्बेर्नोले कुँडे उतारेर चुलो पछाडि राख्दै भनें (पृ.१३१)।” “एकदिन गग्रेटोमा गाग्री राख्ने नयाँ बिडा बनाउँदै थें (पृ.१४०)।”
तत्कालीन समयमा त्यस ठाउँमा बोलिने भाषाको उच्चार्य रूप र स्तरलाई त्यही अनुरूप प्रयोग गर्न खोजिए पनि कतै पनि अस्वाभाविक लाग्दैन । विशेषतः सानी हजुरको आत्मकथनमा बढी मात्रामा त्यस्तो भाषाको प्रयोग पाइन्छ । तर पछि ठूली हजुर आसामबाट फर्केपछिका गतिविधि र प्रयुक्त भाषामा चाहिँ प्रायः स्तरीय र मानक भाषाकै बढी प्रयोग पाइन्छ । माथि उद्धरणमा प्रयुक्त तमौरा, निब्टाउनु, खड्कुँलो, पोतारो, सलेदो, गजबार, आरी, लुँडो, घान, ओखल, हन्बेर्नो, कुँडे, गग्रेटो, बिडा जस्ता थुप्रै वस्तुहरू आज प्रयोगबाट हटेका वा अपरिचित बनेका छन् । लेखकले तत्कालीन समाजमा प्रयोग हुने त्यस्ता सामानका साथै बोलिचालिका अन्य शब्दहरू पनि संभवतः त्यहाँका बृद्ध–बृद्धाहरूबाट लिएर प्रयोग गरेको देखिन्छ । यसले संवादलाई जीवन्त तुल्याएको छ ।
बिसौनी
योगमायाका बारेमा धेरै पछि मात्र केही खोज–अनुसन्धान भएको र त्यो पनि पर्याप्त नभएकाले उनको समग्र जीवनका उकाली ओराली अर्थात् मानसिक चोट, पीडा, अपहेलना र लाञ्छना, यौन, प्रेम र वैवाहिक स्थिति, पारिवारिक अवस्था, आसाम गएपछि गरेका काम र सङ्घर्ष, सर–सङ्गत, वैराग्य, सामाजिक चेत, सन्तहरूको प्रभाव, तीर्थहरूको भ्रमण, योग साधना अनि विद्रोह चेत बारेमा साङ्गोपाङ्ग अध्ययन नगरी राम्ररी चिन्न र बुझ्न सकिँदैन । तर जे जति अध्ययन र खोजी भएको छ त्यसलाई आधार मान्दा उनी एउटी तपस्वीनी, भक्तिनी वा योगिनी मात्र नभएर नारी जागरणकी अग्रज अनि रुढि, अन्धविश्वास, कुप्रथा, अन्याय, शोषण र विभेद विरुद्धकी अभियन्ता पनि थिइन् । राणाकालको चर्को दवदवा भएको बेला जन्मे–हुर्केकी अनि शिक्षा र राजनीतिक संस्कार नपाएकी उनमा समाज चेतना र विद्रोह चेतनाको विकास कसरी हुन सक्यो भन्ने बारे गहिरो अध्ययन र खोजीे आवश्यक देखिन्छ । योगमायाका बारेमा ऐतिहासिक तथ्यलाई नै आधार बनाएर लेखिएको उपन्यास ‘योगमाया’ ले उनको उत्तराद्र्ध जीवन र विद्रोहात्मक गतिविधि अनि त्यसको परिणतिलाई बुझ्न धेरै सहयोग पु¥याएको छ । तत्कालीन समय, समाज र परिवेश अनुसारै घटनाको तारतम्यता मिलाइएको हुँदा उपन्यास प्रभावकारी बन्न पुगेको छ । ऐतिहासिक तथ्यलाई काल्पनिक जर्ती र जलपले जोडिएको हुँदा यो रोचक र स्वाभाविक पनि बनेको छ । त्यसै गरी कतिपय तथ्य, घटना र मिति पनि अन्य कतिपय खोजकर्ताको तथ्यसँग मिल्न सकेको छैन । कतिपय ठाउँमा वर्णनको अतिविस्तार अनि कतिपय अनावश्यक पात्रलाई पनि उभ्याउँदै तिनको भूमिकालाई जवरजस्त स्थापित गर्न खोज्नुले उपन्यासलाई त्यति खँदिलो हुन दिएका छैनन् । जम्मा ५५ अनुच्छेदमा विभक्त यस उपन्यासका कतिपय अनुच्छेद केवल विषय विस्तारका लागि मात्र राखिएको देखिन्छ । आवश्यक ठानिएको वर्णन वा विस्तारलाई संक्षिप्त र त्यति आवश्यक नपर्ने अनुच्छेदलाई विस्तार गरिएको पाइन्छ । अनुच्छेद २३ र २४ को प्रेमनारायणको बिहेको सन्दर्भलाई त्यति विस्तार आवश्यक देखिँदैन । त्यसैगरी २५, २६, ३४, ३९, ४१, ४४ र ४६ जस्ता अनुच्छेद पनि उपन्यासलाई तत्काउनकै लागि प्रयोग गरिए जस्तो लाग्छ । त्यहाँका घटना–सन्दर्भ त्यति जरुरी थिएनन् र राख्नै परे पनि एक–दुई अनुच्छेदभित्रै समेट्न सकिन्थो । यसरी कतिपय सन्दर्भको अति विस्तार अनि कतिपय आवश्यक सन्दर्भ नराखिनु उपन्यासका सीमा रहेपनि समग्रमा उपन्यास यथार्थपरक, स्वाभाविक अनि तथ्यको नजिक र प्रभावकारी रहेको छ । हाम्रो इतिहास र समाजभित्र उपेक्षित तथा दमित न्यायपूर्ण र विद्रोहात्मक स्वरहरूलाई औपन्यासिक वा आख्यानात्मक रूपमा प्रस्तुत गर्दै तिनको मूल्य र महत्वलाई स्थापित गर्न खोज्ने उपन्यासकार नीलमको प्रयास सराहनीय देखिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।