17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मणिपुरमा नेपाली निबन्ध साहित्य : एक अध्ययन

विचार डा. गोमा देवी शर्मा 'अधिकारी' July 13, 2021, 4:27 am
डा. गोमा देवी शर्मा 'अधिकारी'
डा. गोमा देवी शर्मा 'अधिकारी'

पूर्वोत्तर भारतमा नेपाली साहित्यको बिउ छर्ने मणिपुरले विभिन्न विधामार्फत नेपाली साहित्यको ढिकुटी भर्दै आएको कुरा सर्वविदितै छ। यस क्षेत्रमा सबै भन्दा फस्टाएको विधामा कविता साहित्य देखापरेको छ। कथा साहित्य दोस्रो पंक्तिमा उभिन्छ बने तेस्रो स्थानमा नाटक साहित्य देखिन्छ र यसरीनै निबन्ध साहित्य पनि आफ्नै गतिमा हिँडिरहेको हामी पाउँछौं। लेखन र मंचनमा नाटकले निक्कै विकास गरेको पाइन्छ तर पुस्तकको रूपमा फस्टाएको छ भन्न मिल्दैन। मणिपुरेली नेपालीभाषी कलमकारहरूले साहित्यका अन्य विधा सरह निबन्ध विधामा पनि आफ्नो कलम चलाउँदै आएका छन् तर यस दिशामा सन्तोषजनक विकास भने देखिएको छैन। हुन त प्रारम्भ देखि नै पत्र-पत्रिकाहरूमा प्रशस्त मात्रामा निबन्धहरू प्रकाशित नभएका होइनन्, तर पनि यस प्रान्तबाट पुस्तक आकारमा देखापरेको पहिलो निबन्ध सङ्ग्रह सन् 2013 मा प्रकाशित पं. बद्रीशरण खतिवड़ा रचित 9 परिदर्शन देखा पर्दछ। यसका अघिपछि अरू पनि केही निबन्धहरू पत्रिकामा प्रकाशित भए, तर पुस्तकको रूपमा सीमित सङ्ख्यामा मात्रै फल्न सकेको पाइन्छ। यस लेखमा अहिलेसम्म मणिपुरबाट प्रकाशित निबन्ध साहित्यको परिचय निबन्धकारहरूको जन्ममितिको क्रमको आधारमा साहित्य जगतमा राख्ने प्रयास गरिएको छ।
बद्रीशरण खतिवड़ा
पं. बद्रीशरण खतिवड़ाको नामले चिनिने बद्रीशरण खतिवडाको जन्म 17 जुलाई 1934 मा ऋषिनगर, चारहजारे मणिपुरमा भएको हो। माता स्व. खड़ानन्द र पिता स्व. शारदा देवीका सुपुत्र पं. बद्रीशरण खतिवड़ा मणिपुर प्रान्तमा सनातन हिन्दूधर्मको प्रचार-प्रसारमा प्रतिबद्ध व्यक्तित्व हुन्। चारहजारे, मणिपुरमा धर्मोदय वेदपाठशाला, सनातन संस्कृत विदयालय, सनातन धर्म सेवा समिति जस्ता संस्थाहरूको स्थापनामा यिनको ठूलो भूमिका रहेको पाइन्छ। विश्व हिन्दू परिषद मणिपुरसँग पनि यिनको गहिरो सम्बन्ध रहेको छ। यिनका थुप्रै लेखहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित भइसकेका छन्। यिनका कुमारी दीक्षा (2000), आशादेवी व्रतकथा (मिति उल्लेख छैन) र 9 परिदर्शन (2013) पुस्तकहरू प्रकाशित छन्। यी मध्ये 9 परिदर्शन एउटा निबन्ध सङ्ग्रह हो।
9 परिदर्शन लेखकको तेस्रो ग्रन्थ हो। यो विभिन्न निबन्धात्मक लेखहरूको सङ्गालो हो। यसमा 9 परिदर्शन, ईश्वर, दैलो, डायनासोरको भारतीय चिन्तन, ज्ञान विज्ञान, भारतमा गङ्गाको स्थान र महिमा, नेपाली भाषा, चिट्ठी, ब्रह्माक्षर ॐ को संक्षिप्त परिचय, तृष्णा, तीज, चेतना, पोलिस गरि जम्मा 13 वटा निबन्ध रचनाहरू सङ्कलित छन्।
9 परिदर्शनमा भारतीय मान्यता अनुसार 9 अङ्कको महत्वको वर्णन छ। नौ अङ्क सबैभन्दा ठूलो मानक अङ्क मानिन्छ। क्रमसँग राख्दा यसको स्थान अन्तमा पर्छ। 0 (शून्य) मात्रै मान बढ़ाउन प्रयोग गरिन्छ। यो पनि यदि अङ्कको देब्रेतिर राखिन्छ भने त्यसको मूल्य हुँदैन। दाहिनेतिर राखेको 0 (शून्य) को मात्रै मूल्य हुन्छ। यसको विस्तारसँग चर्चा गर्दै पुस्तकको भूमिकामा रामप्रसाद पौड्याल लेख्नु हुन्छ-’’9 अङ्कले 18 पुराण, गीताको 18 अध्याय, र जपमालाको 108 संख्या भएको हुँदा अङ्कद्वारा मान्छेको जीवन अपूर्णताबाट पूर्णतातर्फ लम्किनु हो। मनुष्य जीवन अधूरो हो। परब्रह्म पूर्ण हो। अधूरो अपूर्णताले पूर्णतालाई प्राप्त गरेर एकाकार हुनु नै मोक्ष हो।“ 1
भारतमा गङ्गाको स्थान र महिमा निबन्धमा नदीहरूको पौराणिक, सांस्कृतिक र सामाजिक महत्व दर्शाउँदै गङ्गा नदीको महत्वलाई बुझाइएको छ भने डायनासोर भारतीय चिन्तनमा पौराणिक विशालकाय चराको कथालाई ल्याएर आधुनिक युगको डायनासोरसँग साम्य भएको चिन्तन् प्रस्तुत गर्एको छ। ईश्वर निबन्धमा जिज्ञासु शिष्य र गुरूबीच भएको सम्वादको माध्यमबाट ईश्वरको अस्तित्व र व्याप्तिलाई सरल तरीकामा बुझाउने प्रयास गरिएको छ भने दैलो निबन्धमा सुन्दर प्रसंगका साथ सुरक्षाको प्रतीक दैलो प्रति चिन्तन मनन प्रस्तुत गरिएको छ। यसरीनै अन्य सबै लेखहरू दार्शनिक चिन्तन र मनन युक्त रहेका छन्।
मुक्ति गौतम
मुक्ति गौतमको जन्म 25 सेप्टेम्बर 1953 का दिन अप्पर कालापहाड, मणिपुरमा भएको हो। यिनकी माताको नाम स्व. डम्बर कुमारी गौतम र पिताको नाम स्व. रामचन्द्र गौतम थियो। यिनले माध्यमिक शिक्षा साथै राष्ट्रभाषा रत्न र शिक्षण पारंगत सम्मको शिक्षा हासिल गरे। पेशागत यिनी अवकाशप्राप्त सरकारी शिक्षक हुन्। विद्यार्थी जीवनदेखि नै साहित्यमा रुचि राख्ने मुक्ति गौतमले समिधा, सन्देश, नारदगङ्गा, गौतमबन्धु, प्रणाम जस्ता सामयिक पत्रिकाहरूको कुशल सम्पादन गरेर नेपाली साहित्य जगतमा आफ्नो परिचय दिएका हुन्। यिनका धेरै लेख, निबन्ध, कथाहरू हाम्रो ध्वनि, नेती, आधार, सपरिवार, सन्देश, सभापत्रिका, गोर्खा ज्योति जस्ता पत्र-पत्रिकाहरूमा प्रकाशित भए। यिनी अति लघुकथा लेख्नमा सारै खप्पिस छन्। तर यिनका कथाहरू भने पत्र-पत्रिकामा मात्रै छरिएका छन्।
मुक्ति गौतमका निबन्धहरू पनि लामो समयसम्म पत्र-पत्रिकाहरूमा छरिएका थिए। लेखकले सबै रचनाहरू सङ्कलित गरेर विचार प्रवाह (सन् 2015) शीर्षकमा पुस्तक आकार दिएका छन्। यस सङ्ग्रहमा भानुभक्त आचार्य, भारतीय संस्कृति, रक्सीको उखान र बखान, बुहारीदेखि सासूसम्म, पाङ्ग्रे कुकुरको सम्झनामा, यौन र नारी, विचार प्रवाह, जीवनलाई सरसर्ती हेर्दा, प्रकृतिमा रस छ, हामिसंग जिब्रो छ, चित्तवृत्ति, शक्ति उपासनाको सार्थकता शीर्षकका 11 वटा निबन्धहरू सङ्कलित छन्।
भानुभक्त आचार्य भानुभक्तको जीवन सम्बन्धित विभिन्न प्रसंगहरू, उनको काव्यकारिता, नेपाली भाषा -साहित्यप्रति उनको अवदान आदिको चर्चा उदाहरण साथ गरिएको छ। भारतीय संस्कृति निबन्ध मणिपुर बोर्डको पाठ्य पुस्तक नेपाली साहित्य सङ्कलन भाग 1 (ने.सा.प 1999) मा सङ्कलित गरिएको छ। यसमा भारतीय संस्कृति अनेक जाति उपजाति मिलेर बनेको हो जुन शुद्ध भारतखण्डको मात्रै नभएर आगम-निगम, बौद्ध-जैन, द्रविण-हुण, यवन-अङ्ग्रेज, किरात-मङ्गोल आदिको समन्वित रूप हो। यस संस्कृतिले सामाजिक आदर्शमा विश्वास राख्दछ र यो बहुजन हिताय, बहुजन सुखायको मंत्र लिएर अघि बढेको हो भन्ने कुराको सरल व्याख्या गरिएको छ।
रक्सीको उखान र बखानमा रक्सीको उत्पत्तिको पौराणिक आधारको चर्चा गर्दै यसले इतिहासमा विभिन्न अवान्छित कुराहरू, समाज भाँडने साधन, मानव पीढिलाई भ्रष्ट दिशातिर लैजाने र सामाजिक विसङगति निम्त्याउने साधन बन्न पुगेको कुराको चर्चा सहज शैलीमा गरिएको छ।
पाङ्ग्रे कुकुरको सम्झना संस्मरणात्मक निबन्ध हो। यसमा निबन्ध भन्दा पनि एउटा रेखाचित्रको गुण बढि विद्यमान भएको पाइन्छ। यसमा घरमा पालेको स्वामीभक्त र विश्वासी पाङ्ग्रे कुकुरको जन्म देखि लिएर मृत्युसम्मको कुरा, उसको व्यवहार, सहज चातुर्य, मिलनसार व्यवहार, स्वामीभक्ति, पशु सहज व्यवहार आदि गहिरो चित्रण गरिएको छ।
यौन र नारी निबन्धमा नारी महिमामय पक्षलाई उद्घाटित गरिएको छ भने विचार प्रवाहमा विचारको औचित्य र महत्वलाई विभिन्न उदाहरणले प्रष्ट पार्ने प्रयास गरिएको छ। जीवनलाई सरसर्ती हेर्दा निबन्धमा आत्मा, परमात्मा, जीव, जगत र मुक्तिको गहिरो दर्शनको दार्शनिक पक्षलाई सरल भाषामा स्पष्ट पारिएको छ। यसरीनै यस सङ्ग्रहमा सङ्कलित अन्य निबन्धहरूमा पनि निबन्धकारका प्रौढ विचार, तात्विक दर्शन, सौन्दर्यबोध आदिको राम्रो दर्शन पाइन्छ।सयी निबन्धहरूमा एकातिर वैचारिकता भन्दा समाजमा व्याप्त रीति परम्परा, व्यसन आदि विषयवस्तुहरूको सुन्दर समायोजन देख्न पाइन्छ भने अर्कातिर मनोविज्ञानको दर्शन पनि पाठकले अनुभव गर्ने छन्।
भवानी अधिकारी
भवानी अधिकारीको जन्म 30 जनवरी 1962 मा मन्त्रिपोखरीमा भएको थियो। माता श्रीमती लक्ष्मी अधिकारी र पिता श्री विष्णुप्रसाद अधिकारीका जेठापुत्र भवानीले स्नातक सम्मको शिक्षा हासिल गर्नका साथै राष्ट्रभाषा रत्न परीक्षा उत्तीर्ण गरे। पेशाले यिनी सरकारी शिक्षक हुन्। स्कूली जीवनबाटै यिनले रचना क्षेत्रमा प्रवेश गरेको कुरा बताउँछन्। सन् 1982 मा डि. एम. कलेज अफ आर्टस एण्ड कमर्सको विभागीय पत्रिकामा यिनका रचनाहरू प्रकाशित भए। सरस्वतीपूजा, भानुजयन्ति आदिमा सञ्चालित हुने कवि गोष्ठिमा भाग लिन यिनी सँधै तत्पर रहन्थे। यसरी यिनमा साहित्यिक र सामाजिक चेतनाको उदय भयो। सन् 1999 बाट सन् 2013 सम्म भवानी अधिकारी नेपाली साहित्य परिषद मणिपुरका सचिव रहे। सचिवको कार्यभार ग्रहण गरेपछि मुखपत्र नेतीको प्रकाशन का साथै 1999 एवं 2007 मा कक्षा 9 र 10 का विद्यार्थीहरूका लागी नेपाली विषयका पुस्तक निर्माण कार्य र 2008 मा कक्षा एघारौं र बाह्रौंका लागी पाठ्य पुस्तकको निर्माण कार्यमा यिनले सक्रियताका साथ आफ्नो योगदान दिए। भवानी अधिकारी नेपाली लगायत मणिपुरी भाषामा काव्यरचना गर्ने कवि हुन्। मणिपुरी भाषामा यिनको कोरौगी मशेक मङाल शीर्षकको कविता सङ्ग्रह प्रकाशित छ। यसका लागी यिनलाई 2009 को पद्मा देवी पुरस्कारले सम्मानित गरियो।
प्रकाशित कृति - कोरौगी मशेक मङाल (मणिपुरी कविता सङ्ग्रह, 2003), मनका आवेग (2015, निबन्ध, सङ्ग्रह), आँखिझ्याल), आँखिझ्यालभित्र मणिपुर (निबन्ध सङ्ग्रह, 2017), ऐगी लोकताक इशेङ शेङ्ले (मणिपुरी निबन्ध सङ्ग्रह, 2017), एउटा पिस्तौल एउटा कुन्द-पुष्प (मणिपुरीबाट नेपालीमा अनुवाद कथा सङ्ग्रह, 2018)।
लेखकको उमेरका आधारमा भवानी अधिकारी मणिपुरका तेस्रो निबन्धकार हुन् भने पुस्तक प्रकाशनका आधारमा दोस्रो निबन्ध कृतिकार हुन्। उनको मनका आवेग निबन्ध सङ्ग्रहमा मेरो लोकताक सङ्लै छ, हामी विरूद्ध म, मेरा गाउँ तिम्रा काखमा खेल्न पाउँ, मन बिसाउने ठाउँ, मलाई स्वर्गलोक होइन मनुष्यलोक प्यारो छ, म्यान्मा तिमीलाई चियाएर हेर्दा शीर्षक जस्ता 14 वटा निबन्धहरू सङ्कलित छन्।
मेरो लोकताक सङ्लै छ निबन्धमा मणिपुरको विश्वप्रसिद्ध लोकताक झीलको सांस्कृतिक, सामाजिक र आर्थिक पक्ष केलाइएको छ भने अर्कातिर यसको माध्यमबाट बदलिँदै गरेको विश्व, मानिसको स्वार्थी प्रवृत्तिले गर्दा प्रकृतिलाई पुगेको क्षति, बमकाण्ड, दिनहुँ हुने नरसंहार आदिप्रति खेद जनाइएको छ। हामी विरूद्ध ममा व्यष्टि होइन समष्टिनै सफलताको आधार हो भन्ने विचार प्रकट गरिएको छ। मेरा गाउँ तिम्रा काखमा खेल्न पाउँ निबन्धमा गाँउको महत्वलाई छर्लङ्ग्याएर गाँउ विकासको कामना गरिएको छ। मन बिसाउने ठाउँमा मनुष्यको अन्तर्मन केलाइएको छ भने मलाई स्वर्गलोक होइन मनुष्यलोक प्यारो छ निबन्धमा स्वर्ग भन्दा पृथ्वीनै श्रेष्ठ हो भन्ने विचार राखेर पृथ्वी जीवन र प्रकृतिको महत्वलाई केलाइएको छ। गान्टोकमा भानुजयंति-2007 संस्मरणात्मक र श्रद्धेया स्व. आशारानी राईका आँगनमा स्मृतिपरक निबन्ध हुन्। म्यान्मा तिमीलाई चियाएर हेर्दा निबन्धमा म्यान्माको नेपाली जनजीवनको विश्लेषण प्रस्तुत गरिएको छ। यसरीनै यस सङ्ग्रहमा संकलित सबै निबन्धहरूमा विविध विषयहरू देख्न पाइन्छ।
आँखीझ्यालभित्र मणिपुर सङ्ग्रहमा 15 वटा निबन्धहरू संकलित छन्। प्रथम 11 वटा निबन्धले मणिपुरको परिचय बोकेको देखिन्छ। यसरी विभिन्न शीर्षक भएका निबन्धले मणिपुरको भौगोलिक स्थिति, मणिपुरका नेपालीभाषी गोर्खाहरूले मनाउने चाडबाड, नेपाली संस्कृति, मणिपुरमा नेपाली भाषा र साहित्यको स्थिति, नेपाली नाटक विधाको परिचय, प्रथम गोर्खा शहीद निरंजनसिंह छेत्रीको परिचय, मणिपुरकी नेपाली महारानी ईश्वरी देवीको परिचय, व्यक्ति परिचय साथै लेखकले अन्य सामाजिक बेथितिहरूमाथि अभिव्यक्ति दिएका छन्। यस कृतिमा अघिल्लो कृतिभन्दा बढि प्रौढ विचारयुक्त, शोधमूलक र परिचयात्मक निबन्धहरू समावेश छन्। यी निबन्धहरूले मणिपुरको भूमिमा बसोवास गर्ने नेपाली भाषीहरूको सामाजिक, साङगठनिक, साहित्यिक परिचयको केहि अंश विश्व सामू राख्न सफल भएका छन्।
फुटकर निबंध
रामप्रसाद पौड्याल
रामप्रसाद पौड्यालको जन्म 1953 मा इराङ्को गोर्खा हरूपमा स्वर्गीय हरिप्रिया र डिल्लीराम पौड्यालको माइलो सुपुत्रको रूपमा भएको थियो। प्रारम्भिक शिक्षा कालिम्पोङमा र माध्यमिक साथै उच्च क्षिक्षा काशीमा सम्पन्न भयो। यिनले हिन्दी साहित्यमा एम.ए. र संस्कृत साहित्यमा आचार्य गरेका हुन्। सन् सत्तरको दशकदेखि नै पत्र-पत्रिकामा यिनका रचनाहरू देखा पर्न थालेका हुन्। केही साल सिक्किमका माध्यमिक विद्यालयमा अध्यापन गरेर मणिपुरको दामदई क्रिश्चियन कलेजमा दस वर्षसम्म अध्यापन गरि विश्राम लिएर हालमा काङ्ग्लातोंग्बी मन्दिर बस्तीमा आफ्नो गृहस्थ जीवनयापन गरि रहेका छन्।
अस्सीको दशकमा रामप्रसाद पौड्यालका निबन्धहरू पत्र-पत्रिकामा प्रकाशित भएको तथ्य प्राप्त भएको छ। सन् 1982 मा मुक्ति गौतम, कालापहाड़को सम्पादनमा प्रकाशित भएको पत्रिका समिधामा यिनको म मातेको छु शीर्षकको निबन्ध प्रकाशित भएको थियो। यस निबन्धले राम प्रसाद पौड्याललाई अग्र पंक्तिका निबन्धकारको रूपमा साहित्य जगतमा उभ्याउन सफल भयो। यस पछि यिनका धेरै उत्कृष्ट निबन्धहरू पत्र-पत्रिकाहरूमा प्रकाशित हुँदै गए। पापीको अभाव यिनको अर्को सुन्दर निबन्ध रचना हो र यो सिक्कमको तिलक बस्नेतद्वारा सम्पादित पत्रिका पुष्पवृष्टिमा सन् 1986 मा प्रकाशित भएको थियो। भोकाएको सम्मान शीर्षकको निबन्ध स्वर्गीय पदमबहादुर राई ‘ओल्ड ब्वाय सम्पादित पत्रिका संकल्पमा सन् 1999 मा प्रकाशित भएको देखिन्छ भने यिनको बन्दी बसन्त भन्ने रचना बोर्ड आफ सेकेन्डरी एजुकेशन मणिपुरद्वारा प्रकाशित कक्षा 9 को पाठ्यक्रममा सामेल गरिएको छ। सपना बुख्याँचाको यिनको अर्को उत्कृष्ट निबन्ध हो। यो नेतीमा प्रकाशित भएको थियो। यसको विषयवस्तु मणिपुरको उग्रवादको आड़मा समाजलाई हप्काउने दप्काउने प्रवृत्तिमाथि प्रहार गरिएको छ। उग्रवादी भयका व्यापारी हुन् र यसलाई नै बेचेर यिनीहरूको गुजरा चल्दछ भन्ने सन्देश यसको मूल विषय हो। राम प्रसाद पौड्यालका रचनाहरूमा समसामयिकता, वैचारिकताको उच्च भावभूमि र आकर्षक शैलीको दर्शन पाइन्छ।
मणिपुरमा निबन्ध क्षेत्रमा देखापरेका फुटकर सर्जकहरूमा स्व. सुन्दरमणि भारद्वाज, आलोक गौतम, भावना बाँस्कोटा, पुष्पा नेपाल, हरि बस्नेत, लोकबहादुर बस्नेत, देवीप्रसाद उप्रेती, नरबहादुर अधिकारी, श्याम खतिवड़ा, शिव गौतम, ज्ञानप्रकाश बस्नेत, हर्कबहादुर लाम्गादे कलमकारको नाम लिन सकिन्छ। यिनीहरूका निबन्ध रचना पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन्। यी कलमकारबाट भविष्यमा राम्रा निबन्ध कृतिहरूको बलियो आशा राख्न सकिन्छ।
............................................................
नोट - माथि उल्लेख गरिएका कृतिकार र कृतिबाहेक केहि छुटेको पाउनुभएमा लेखकलाई जनाइदिनहुन आग्रह गरिन्छ।
सन्दर्भ:
1. 9 परिदर्शन एक दृष्टि - रामप्रसाद पौड्याल, परिदर्शन भूमिका
2. मणिपुरमा नेपाली जनजीवन- मुक्ति गौतम-2018 (दोस्रो सं.)
3. मणिपुरमा नेपाली साहित्य एक अध्ययन - डॉ.गोमादेवी शर्मा, 2016

गुवाहाटी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।