14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

समीक्षाको गोरेटोमा फिलिङ्गो उपन्यासका कुरा

कृति/समीक्षा रमेश प्रभात July 12, 2021, 3:32 pm
रमेश प्रभात
रमेश प्रभात

फिलिङ्गो उपन्यासले जापान र नेपालका सन्दर्भहरू उल्लेख गर्दै नारी सशक्तीकरणको कुराको उठान गरेको छ । नेपाली नारीमा चेतनाको बीज छर्ने काम गरेको छ । नारीलाई स्वअस्तित्वबोध गराउँदै समाजमा नारीलाई आर्थिक र सामाजिक हैसियतमा उच्च स्थानमा राख्न खोजेको छ । पुरुषको नारीलाई हेर्ने हेपाहा प्रवृत्तिको भण्डाफोर गरेको हुनाले फिलिङ्गोे उपन्यास सशक्त नारी विषयक उपन्यास बनेको पाइन्छ । नारीको बारेमा कुनै नारी लेखकले लेखिन् भने उक्त लेखकलाई नारीवादी लेखकको बिल्ला भिराउने समकालीन समाजमा फिलिङ्गो पूर्ण नारीवादी उपन्यास हो होइन भन्ने बारेमा जमेर बहस गर्नु आवश्यक देखिन्छ । यति मात्र नभएर यो उपन्यासले समाजका सबै नारी उस्तै हुँदैनन् भन्दै नारीका कमजोरीको चित्रण समेत गरेको छ । सामान्यतया एउटा नारी लेखकले नारीका कमजोरी देखाउने जोखिम कमैले मोल्ने गरेको पाइन्छ । यस्तो जोखिम मोलेकोमा स्रष्टा प्रभा बराललाई एउटा पुरुष समीक्षकका तर्फबाट सम्मान छ ।

क) उठान
अलिक पहिले कतै पढेको र मनमा गढेको कथन हो–“उपन्यास पूँजीवादी समाजको महाकाव्य हो ।” यहाँ यो कथन राल्फ फक्सले किन र कुन प्रसङ्गमा भनेका हुन् भन्ने कुराको खोजी गर्नु मेरो ध्येय होइन । तर यति चाहिँ पक्कै भन्नु उपयुक्त होला, अचेल आम पाठकका माझमा उपन्यास निकै लोकप्रिय छ । हिजोआज अन्य विधाका किताब धेरै बिक्नु र उपन्यासका किताब कम बिक्नुमा सङ्ख्यात्मक हिसाबले तात्विक भिन्नता पाइन्न । यो कुरा नेपाली साहित्यमा पनि लागू भएको पाइन्छ । यस कारण प्रकाशकहरू लेखकलाई उपन्यास लेख्न प्रेरित गरिरहन्छन् र अन्य विधामा कलम चलाएर नाम कमाएका स्रष्टा पनि उपन्यास लेखनतर्फ तानिन थालेको पाइन्छ । यही लाममा कवि तथा निबन्धकार प्रभा बराल पनि जोडिन आइपुगेकी छिन् उनको पछिल्लो उपन्यासकृति फिलिङ्गो (२०७७) का माध्यमबाट ।
मेरो प्रभा बरालसँगको चिनजान आजको होइन । उनीसँग सहलेखन गरी संयुक्त कविताकृति शब्दहरू अविराम यात्रामा (२०५७) छापिएको पनि यतिबेला एक्काईस वर्ष भइसक्यो । यस बीचमा उनका गजल, निबन्ध र बालसाहित्यका कृति पनि प्रकाशित भइसकेका छन् । उनी पछिल्लो पटक उपन्यासकारका रूपमा हामीमाझ आएकी छिन् । उनको फिलिङ्गो उपन्यास पढिसकेपछि त्यसका बारेमा छोटो अनुशीलन गर्नु आवश्यक ठानेर यो आलेख तयार पारेको हुँ ।

ख) फिलिङ्गो उपन्यासको छोटो चर्चा
सर्जक प्रभा बरालको नवीनतम उपन्यास फिलिङ्गो अक्षर क्रियसन्स नेपालले २०७७ चैतमा प्रकाशन गरी पाठकसामु ल्याएको हो । यो उपन्यास शीर्षकसहितको जम्मा खण्ड ३३ मा विभाजित छ । जम्मा ३०८ मा फैलिएको यो उपन्यासले औपन्यासिक पाठका लागि भने २९८ पृष्ठ ओगटेको पाइन्छ । सबैभन्दा छोटो खण्ड मैले ‘सक्छु’ मात्र भनिरहेँ शीर्षकको ३० औँ खण्डले जम्मा तीन पृष्ठमा फैलिएको छ भने सबैभन्दा लामो खण्ड पटलक शीर्षकको ८ औँ खण्डले जम्मा सोह्र पृष्ठ ओगटेको छ । यसका कूल ३३ खण्डमध्ये २६ वटा खण्ड (खण्डहरू १–११, १४–२८) जापानसँग सम्बन्धित छन् भने मात्र ७ वटा खण्ड (खण्डहरू १२–१३, २९–३३) नेपालसँग सम्बन्धित देखिन्छन् । प्रत्यक्ष रुपमा पन्ध्र वर्षको समय अवधि चित्रण गरिएको यो उपन्यासको आरम्भदेखि मध्यसम्म समय ठिकठिकै चलेको छ भने पछाडि गएर निकै रफ्तारमा चलेको पाइन्छ । पोखरेली परिवेशमा हुर्किएकी नायिका सीमान्तीका सुख, दुःख र जीवन सङ्घर्षका कथा व्यथाको चित्रण गरिएको यो उपन्यासको मूल ध्येय नै नारी सशक्तीकरणको कुरा देखाउनु हो ।

ग)े आख्यानसन्दर्भमा फिलिङ्गो उपन्यास
भर्खरै उच्च माध्यमिक तह पार गरी स्नातक पढ्दै गरेकी सीमान्तीको जापानमा काम गर्दै आएका निर्भयसँग विवाह भएको केही समयपछि पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको पढाइलाई त्यत्तिकै थाँती राखेर भिनाजुको साथ लागी सुन्दर भविष्यको कामना र रङ्गीन सपना बोकेर जापानतर्फ लाग्छे । एक हप्तासम्म आराम र कागजी प्रक्रिया मिलाएपछि उनीहरूको नजिकै बस्ने नेपाली दिदी सुजु भण्डारीको सहयोगमा काम उसले काम पाउँछे । समयतालिकामा रोबोटजस्तै खटिने जापानीको शैलीसँग तालमेल गरी काममा गएको दुई वर्ष पत्तै हुँदैन । यस्तैमा नेपालबाट तालिममा जापान गएकी त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक अजिला म्यामसँगको चिनजाबाट उसमा आफूले कमाएको रकम आफैँले बचत गनुपर्छ भन्ने भावनाको विकास हुन्छ । सोही अवधिमा ऊ बिदा मिलाएर एक महिनाको लागि नेपाल फर्कन्छे । घरपरिवार र माइतीलाई समेत थाहा नदिई उसले पोखराको नबिल बैँकमा खाता खोलेर सात लाख रुपैँया मुद्दती खातामा जम्मा गर्छे । त्यसपछि बिदा सकिएका कारण पुनः जापान जान्छे । यो अवधिमा लोग्ने निर्भयको जापानी महिला मिसावासँग प्रेम बस्छ, तर उसले त्यसलाई प्रेम नभएर सँगै काम गर्ने साथी हो भनेर परिभाषित गर्छ । लोग्नेको कुरा सुरुमा मानेपनि पछि उसले त्यो बारेमा थाहा पाएर पनि केही गर्न सक्दिन । यसरी विवादका बीचमा सीमान्तीले थप तीन वर्ष बिताउँछे । यस्तैमा निर्भयले काममा बेवास्ता गरेको, रेस्टुरेन्टबाट कसैलाई केही नभनी दिनहुँ खानेकुरा लगेको र जापानी महिलासँग आपत्तिजनक अवस्थामा भेटिएको आरोपमा कामबाट निकालिन्छ । यसपछि ऊ कामको खोजीमा यताउति भौँतारिन्छ र अन्त्यमा उही मिसावासँग मिलेर साझेदारीमा रेस्टुरेन्ट खोल्छ । यसपछि अति भएका कारण निर्भयसँग केही समयका लागि नेपाल जान्छु भनेर सल्लाह गरी नेपाल फर्कन्छे । आफ्नो एक वर्षको भिसा भएर पनि ऊ त्यसको कागजी प्रक्रिया नगरी काठमाडाँैमा माइती र घरसँग सम्पर्क नगरी अजिला म्यामको सहयोगमा डेरा गरेर बस्छे । पछि घरसँग सम्पर्क भएपनि घरसँग र निर्भयसँग भने सम्पर्क गर्दिन । यो अवधिमा अजिला म्यामको सहयोगमा नीलम म्यामसँग सम्पर्कबाट पुनर्जीवन संस्थामा पाँच वर्ष काम गर्नुका साथै आफ्नो छुटेको पढाइलाई निरन्तरता दिँदै समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्छे । पाँच वर्ष अनुभवपछि सधैँ अरूकोमा कति काम गर्ने भन्ने भावना उसको मनमा पलाउँछ । यसपछि आफैँले केही गनुपर्छ भनेर जापानमै चिनजान भएको सुशील भाइलाई सहयोगी राखेर उसले पोखरामा भरोसा नेपाल नामक संस्था खोलेर अप्ठ्यारोमा परेका महिलाहरूलाई तालिम दिने र आत्मनिर्भर बनाउने काममा लाग्छे । यसमा अजिला म्याम, नीलम म्याम र कलेज पढ्दाको साथी अतुलले सहयोग गर्छन् । संस्था खुलेको पाँच वर्षपछि यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउँछ । यो थाहा पाएर निर्भयको परिवार उसको सम्पर्कमा आउँछन्, तर उसले वास्ता गर्दिन । यस्तैमा जापानमा चिनजान भएकी जापानी साथी वातानाबेले म्यासेन्जरमार्फत् आफू नेपाल घुम्न आउन लागेको कुरा जानकारी दिन्छे । यति मात्र नभएर निर्भय र मिसावालाई समेत साथमा ल्याएर सीमान्तीलाई चकित तुल्याउँछे । निर्भयले एकान्तमा सीमान्तीसँग माफी मागेपछि ऊ भावनात्मक रूपमा पग्लिएजस्तो देखिन्छे, तर उसँग सम्झौता भने गर्दिन । निर्भयहरू जापान फर्कने बेलामा उसको आँखामा आँसु आउँछ र उपन्यास टुङ्गिन्छ । त्यस्तै उपकथाका रूपमा जापानका विभिन्न सहकर्मीहरू, मालिकहरू, निर्भयका साथीहरू र सुशीलको कथा पनि उपन्यासमा आएका छन् । यसको मूल कथा सीमान्तीको वरिपरि घुमेको छ ।

घ) मुद्दाका कोणबाट फिलिङ्गो उपन्यासको व्याख्या
अचेल नेपाली साहित्य कविता होस् कि आख्यान, निबन्ध होस् कि नाटक सबै मुद्दाकेन्द्री बन्दै गएका छन् । नेपालमा लोकतन्त्र र गणतन्त्रको प्राप्तिपछि राजनीतिले मात्र नभएर साहित्यले पनि मुद्दाका कुरा बढी उठाउने गरेको प्रष्ट देखिन्छ । कोही महिलाका मुद्दा, कोही दलितका मुद्दा, कोही जनजातिका मुद्दा, कोही राष्ट्रियताका मुद्दा र कोही भने भूगोलका मुद्दामा आफूलाई केन्द्रित गराउँदै लगेका छन् । यसरी साहित्य मुद्दाकेन्द्री बन्दै जाँदा सबैले सबैको साहित्य पढ्ने जाँगर भने चलाएको पाइँदैन । त्यसो हुँदाहुँदै पनि नेपाली साहित्यमा नयाँ नयाँ पाठक निस्केका कारण साहित्यिक कृतिहरूको व्यापार राम्रो प्रस्तुत फिलिङ्गो उपन्यासले जापानका कुरा गर्दै त्यहाँ कामको सिलसिलामा गएका नेपाली नारीलाई सुजु दिदीमार्फत् बिदाको दिन रमाइलो गर्न भनी पार्कमा बोलाइएको छ । पार्कमा रमाइलो गर्ने क्रममा उनीहरूको परिवारका बारेमा सोध्दै उनीहरूलाई कसरी सशक्त बन्ने भन्ने सन्देश नेपालबाट तालिमको लागि गएकी अजिला म्यामबाट बताइएको छ । यसरी उपन्यासमा लेखकले तारतम्य मिलाएर उठाउन खोजेको मुद्दालाई निम्न बुँदामा चर्चा गरिएको छ ः

१. नारीमा चेतनाको बीज छर्नु
प्रस्तुत फिलिङ्गो उपन्यासमा नारीमा चेतनाको बीज छर्ने र आफ्ना बारेमा आफैँले सोच्न लगाउने काम गरिएको छ । यसका लागि कारक बनाएर अजिला म्यामको उपयोग गरिएको छ । सुजु दिदीमार्फत् जापानमा पुगेका महिलाहरूलाई बिदाका दिन पार्कमा रमाइलो गर्ने बहानामा भेला गराई यसरी चेतनाको बीज छरिएको छ ः
साक्ष्य १
भनिन्छ नि, राम्रोको लागि आशावादी हुनुपर्छ र खराबको लागि तयार हुनुपर्छ । तपाईंहरू काम गर्दागर्दै कुनै दुर्घटनामा पर्नुहोला । हात खुट्टा नै गुम्न सक्छ । ढाड दुख्ने रोगी नै बन्नुहोला । नसा च्यापिएर बेडको बेडमै थला पर्नुहोला । कुनै दीर्घ रोगी पो बन्न पुगिन्छ कि ! फेरि, जोखिमपूर्ण कामहरू गरिब मुलुकका कामदारले गर्छन् जहाँ पनि । (पृ. ७१)
माथिको साक्ष्यमा नारीले आफ्नो बारेमा आफैैँले सोच्नु पर्छ अरू कसैले सोचिदिँदैन भन्ने सन्देश अजिला म्यामका माध्यमबाट भनिएको छ । जबसम्म आफ्ना बारेमा आफैँले सोच्न सक्ने चेतना विकास हुँदैन, तबसम्म नारी हेपिएर बस्नुपर्ने कुरा माथिको साक्ष्यमा आएको छ ।

२. नारीलाई स्वअस्तित्वबोध गराउनु
प्रस्तुत फिलिङ्गो उपन्यासमा म के हुँ ? मैले के गर्नुपर्छ ? भनेर नारीले आफ्नो अस्तित्वका बारेमा जानकारी राख्नुपर्ने, घरपरिवार र श्रीमान्लाई जतिबेला पनि आँखा चिम्लेर विश्वास गर्दा जीवनमा कतिपय अवस्थामा दुर्घटना हुने कुराको बोध अजिला म्याममार्फत् यसरी गराइएको छ ः
साक्ष्य १
मेरो कुरा सुनेर घर भँडुवाई जस्तो लाग्यो होला । तर जबसम्म हामी आत्मनिर्भर हुँदैनौँ, हामीमा आत्मविश्वा हुँदैन । आत्मविश्वास नै भएन भने जीवनमा केही गर्न सक्दैनौँ । अहिले तपाईंहरूले कमाइरहनुभएको छ । अलिकति भए पनि आफ्नो नाममा पैसा राख्नुस् जुन पैसाले भविष्यमा केही गर्ने आँट र शक्ति देओस् । आर्थिक रूपले आत्मनिर्भर हुनु, मानसिक सुखको लागि हो । (पृ. ७१–७२)
माथिको साक्ष्यमा नारीलाई आत्मनिर्भर हुन र आर्थिक रूपले सक्षम हुने सल्लाह अजिला म्यामले दिएकी छिन् । यसरी आर्थिक रूपले सबल भएपछि मानसिक रूपमा समेत सुखी हुने कुरा गर्दै नारीलाई स्वअस्तित्वबोध गराउने काम यो उपन्यासमा गरिएको छ ।

३. नारी सशक्तीकरणको कुरा गर्नु
प्रस्तुत फिलिङ्गो उपन्यासले उठाउन खोजेको मुख्य मुद्दा नै नारी सशक्तीकरण हो । यसका लागि जापान गएर पनि काम गरेर कमाएको पैसा खुरुखुरु लोग्नेको हातमा दिने गरेका महिलालाई नेपालबाट तालिमका सिलसिलामा जापान गएकी अजिला म्यामका माध्यमबाट आँखा खोल्ने काम गरिएको छ । हेराँै तलको साक्ष्य ः
साक्ष्य १
आफूले तलब बुझ्दा, आवश्यक परेमा मात्र श्रीमान्लाई दिनुस् । बाँकी आफ्नो खातामा पठाउनुस् । उता ब्याज पाकिरहन्छ । कुनै महिना बुढासँग सल्लाह गरेर सबै रकम आफ्नो खातामा पठाउँदा पनि हुन्छ । आफ्नो कमाइमा अरूले हस्तक्षेप गर्न सुहाउन्न । श्रीमान्लाई कन्भिन्स गर्नुस् । सबै रकम घरपरिवारमाथि लगानी नगरौँ भन्नुस् । आँटिलो बन्नुस् । (पृ. ७३)
माथिको साक्ष्यमा आफूले कमाएको पैसामा आफ्नो अधिकार हुनुपर्छ । पछि आफू असक्त भएको अवस्थामा लोग्ने र घर परिवारले नहेर्ने हुनाले बेलैमा सचेत हुन भनिएको छ । यसरी बेलैमा सचेत भएर आफ्नो बारेमा आफैँले सोच्न लगाउनु भनेको नारी सशक्तीकरणको उठान गर्नु हो ।

४. समाजमा नारीलाई आर्थिक र सामाजिक हैसियतमा उच्च स्थानमा राख्न खोज्नु
प्रस्तुत फिलिङ्गो उपन्यासमा जापानमा पतिमार्फत् डिपेन्डेन्ट भिसामा गएका, आफैँ पढ्न वा काम गर्न गएका महिलालाई आफू आर्थिक र सामाजिक हैसियतमा उच्च हुन सिकाइएको छ । त्यतिमात्र नभएर नेपाल फर्केपछि पनि त्यो सन्देशलाई पालना गर्न सीमान्ती लागी परेको कुरालाई तलका साक्ष्यले पुष्टि गरेका छन् ः
साक्ष्य १
त्यो दिन दोगो पार्कमा अजिला म्यामले “आफ्ना लागि आफ्नो कमाइको हिस्सा खै ?” नभनेको भए मैले कहाँ जुटाउँथे र आफ्नो लागि पैसा ! आज मेरो खातामा चालिस लाख जति जम्मा भइसकेको छ । त्यसको ब्याज पनि भयो होला चार, पाँच लाख । त्यही पैसा परिचालन गरेर म आफ्नो लक्ष्यमा पुगाँैला भन्ने सोचेँ । (पृ. २५३)
साक्ष्य २
समयक्रममा भरोसा नेपालले दिदीबहिनीहरूको माया धेरै पायो । हामीले गर्ने काम र समाजसेवाका लागि अघि बढाएका थियौँ । इमानदारीमा कहीँ कतै प्रश्न गर्ने ठाउँ थिएन । घरको मुली मान्छे ठिक भए पछि सबै कुराहरू ठिकठाक हुने रहेछ । उत्साह माथि उत्साह थपियो । संस्था खोल्नुभन्दा त्यसलाई स्थापित गर्नु ठुलो कुरा हो । नीलम म्यामको छत्रछायामा काम गर्दा सबै कुराहरू सहज भएका थिए । (पृ. २९१)
माथिको पहिलो साक्ष्यमा सीमान्तीले आफू जापान छँदा अजिला म्यामले दिएको शिक्षालाई उपयोग गरी नेपालमा पैसा जम्मा गरेको कुरा स्मरण गरेकी छ । आफ्नो लोग्नेले आफ्नो आत्मसम्मानमा ठेस पु¥याएपछि नेपालमा जम्मा भएको पैसाले देशभित्रै केही गर्ने सोचमा पुगेकी छ । त्यस्तै दोस्रो साक्ष्यमा सीमान्ती आफूले भरोसा नेपाल नामक संस्था खोलेर सबैको मन जितेको र समाजमा विशिष्ट स्थान बनाएको कुरा गरेकी छ । यसरी आर्थिक र सामाजिक रूपले महिलालाई सशक्त बनाउने काममा यो उपन्यास अग्रसर देखिन्छ ।

५. पुरुषको नारीलाई हेर्ने हेपाहा प्रवृत्तिको भण्डाफोर गर्नु
प्रस्तुत फिलिङ्गो उपन्यासमा पितृसत्ता जतासुकै हावी भएको र जहाँका नारीलाई पनि पुरुषले हेप्ने गरेको कुरा चित्रण गरिएको छ । अझ एक्लै बसेकी नारीलाई पुरुषहरूले कसरी अनावश्यक सम्बन्ध बढाउन चाहेर हेप्ने गर्छन् भन्ने कुरालाई तलका साक्ष्यले पुष्टि गरेका छन् ः
साक्ष्य १
म एक्लै छु भन्ने थाहा पाउनेहरू, मसँग नजिकिन खोज्नेहरूको आशय म राम्रैसँग बुझ्थेँ । परिचित नहुँदा नै पनि उनीहरू “हाइ हेल्लो” गर्न आइपुग्छन् । श्रीमती भएका, विभिन्न ओहोदामा भएका, समाजमा प्रतिष्ठा कमाएकाहरू पनि आत्मानुशासनमा कति कमजोर हुँदा रहेछन् । एक पटक बोलिदियो भने भुतुक्कै हुन्छन् । त्यसै त्यसै लट्ठिन्छन् । कुरा गर्न मरिहत्ते गर्छन् ।
अतुल मेरो सहपाठी मित्र भनेर मैले उसँग सहयोग लिएकी थिएँ । त्यसलाई उसले मेरो कमजोरीको रूपमा लियो । (पृ. २९१–२९२)
साक्ष्य २
अतुलको तर्फबाट एकतमासको म्यासेजको वर्षा हुन्छ । उसका म्यासेजले मनमा साह्रै बेचैनी हुन्छ । रिसले आगो बन्छु । मुखभरिको जवाफ फर्काउन मन लाग्छ । वषौँदेखिको मिल्ने साथी यति छिट्टै गुमाउन पनि सक्दिनँ । (पृ. २९२)
माथिको पहिलो साक्ष्यमा एक्ली महिला देखेर सीमान्तीसँग विभिन्न पुरुषहरू आकर्षित भएको र त्यस्तो सूचीमा उसको क्याम्पसका सहपाठी अतुल पनि मिसिएको कुरा गरिएको छ । त्यस्तै दोस्रो साक्ष्यमा अतुलले मेसेन्सजरको प्रयोग गरी अनावश्यक रूपमा यौनिक क्रियाकलाप गर्न उत्साहित गर्नुका साथै सीमान्तीलाई हेपेको कुरा चित्रण गरिएको छ ।
फिलिङ्गो उपन्यासको सर्सती अध्ययन गर्दा यसले उठाउन खोजेको मुद्दा भनेको नारीमा चेतनाको बीज छर्न खोजेको, नारीलाई स्वअस्तित्वबोध गराउने प्रयास गरेको, नारी सशक्तीकरणको कुरा गरेको, समाजमा नारीलाई आर्थिक र सामाजिक हैसियतमा उच्च स्थानमा राख्न खोजेको तथा पुरुषको नारीलाई हेर्ने हेपाहा प्रवृत्तिको भण्डाफोर गरेको कुरा मूल रूपमा आएका छन् । जापान र नेपालका सन्दर्भहरू दिएर त्यसको पुष्टि गर्ने काम उपन्यासमा भएको छ । यसर्थ मुद्दाका कोणबाट यो उपन्यास अधिकतर सफल देखिन्छ ।

ङ) फिलिङ्गो उपन्यासको शक्ति
प्रस्तुतफिलिङ्गो उपन्यासमा पतिको डिपेन्डेन्ट भिसामा जापान गएकी सीमान्तीले पतिको दुव्र्यवहारका कारण आफ्नो कमाइलाई नेपालमै खाता खोलेर राखेको, पछिल्लो समयमा अपमानित भएर कामबाट निकालिएको, जसका कारण अपमानित भएको हो उसैसँग साझेदारीमा व्यवसाय सुरु गरेको, पतिले अर्की जापानी महिलासँग सम्पर्कमा रहेर आफूलाई पूरै बेवास्ता गरेपछि जापान छोडेर कसैलाई पत्तो नदिई पाँच वर्ष काठमाडौँमा बसेर समाजशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नुका साथै सोही अवधिमा एन्.जि.ओ.मा काम पनि गरेको कुरालाई छिटोछिटो चित्रण गरिएको छ । नारी सशक्तीकरणका पक्षमा लेखिएको भए पनि यो उपन्यासका प्राप्तिलाई निम्न बुँदामा चित्रण गर्न सकिन्छ ः

१. जापानबारे विभिन्न तथ्यको प्रस्तुति
प्रस्तुत फिलिङ्गो उपन्यासले जापानबारे विभिन्न तथ्यहरू प्रस्तुत गरेको छ । जापानका पारिवारिक जीवन, धर्म, संस्कृति, चाडपर्व, नीतिनियम, अनुशासन, देशप्रेम, कामप्रति लगनशीलता, राजनीतिप्रति आस्था आदि कुरालाई चित्रण गरिएको छ । त्यति मात्र नभएर जापानका केही अँध्यारा पक्षहरू पनि चित्रण गरिएको छ । हेरौँ केही साक्ष्य ः
साक्ष्य १
मात्चुयामाको कथा कतै किताबमा पढेकी थिएँ । जसमा एक जना सङ्घर्षशील व्यक्तिको कथा जोडिएको रहेछ । उनी प्रशान्त महासागरमा निस्केका रहेछन् । खराब मौसमको कारणले उनको डुङ्गा पल्टिँदा आफ्नो सन्देश बोतलभित्र हालेर पानीमा छोडिदिएछन् । यो घटना सन् १७८४ को हो रे । त्यसको १५१ वर्षपछि सन् १९३५ मा समुद्रको किनारमा त्यो बोतल फेला परेछ । संयोगले समुद्र छेउको त्यही गाउँमा फेला परेछ, जहाँ उनी जन्मेका थिए । ती व्यक्तिको नाम चुनोसुके मात्चुयामा रहेछ । तिनकै नामबाट त्यो सहरको नाम मात्चुयामा रहन गएछ । (पृ. २५७)
साक्ष्य २
जापानीहरू श्रम साधक लाग्छन् । शारीरिक श्रम होस् वा मानसिक । कार्यस्थललाई स्कुलपछिको दोस्रो पाठशाला ठान्छन् । उनीहरू श्रमबाट जीवन जिउने कला सिक्छन् । श्रम गर्न सके उनीहरूको जीवन चल्छ । उनीहरूले श्रम आफ्नै देशका लागि खर्चिन पाए । (पृ. ३८)
साक्ष्य ३
हाम्रो देश समृद्ध छ । तर, रुढिवादी कुराहरू अझै जीवित छन् । यहाँ हिबाकुसा (हिरोसिमाको बम आक्रमणबाट बचेका मानिस) भनेपछि अत्यन्तै दयाको दृष्टिले हेरिन्छ । कठै ! उपेक्षापूर्ण दृष्टि फ्याँकिन्छ । छिः छिः र दुरदुर गरिन्छ । यही कारणले मेरो ब्वाइफ्रेण्डले मलाई छाड्यो । हो, म हिबाकुसाकी वंशज हुँ । मसँग बिहे गर्दा कतै मेरा सन्तान अपाङ्ग जन्मिएलान् भन्ने उसलाई लाग्यो । (पृ. २१४)
माथिको पहिलो साक्ष्यमा एउटा सामान्य नागरिकका नाममा सहरको नाम राखेको तथ्य उल्लेख गरिएको छ भने दोस्रो साक्ष्यमा जापानीहरूको श्रमप्रतिको उच्च सम्मानका बारेमा उल्लेख गरिएको छ । त्यस्तै तेस्रो साक्ष्यमा जापानमा पनि रुढीवादी मान्यता कायम कायम रहेको तथ्य उल्लेख गरिएको छ । यस्ता अन्य थुप्रै तथ्य यो उपन्यासमा आएका छन् ।

२. नारी सशक्तीकरण
प्रस्तुत फिलिङ्गो उपन्यासको मूल ध्येय भनेको नारीसशक्तीकरणको पक्षमा वकालत गर्नु हो । यसमा मूलतः जापानमा रहेका नेपाली महिलाले कसरी आफूलाई सशक्त बनाउँछन् भन्ने कुरालाई यसरी देखाइएको छ ः
साक्ष्य १
सासूससुरा, इष्टमित्र, आफन्त सबै नेपालमा छन् । उनको मनमौजी व्यवहारको प्रत्यक्षदर्शी म मात्र बनेकी छु । अब त उनी व्यापारको नाममा खुलेरै मिसावाको अघिपछि गरिरहेका छन् । म नाममात्रकी पत्नी भएकी छु । यसबाट निम्तिने परिणामले मलाई नै बढी पिरोलेको छ । किनकि समाजमा महिलाकै दोष देखाइन्छ । म बोलेर हैन, व्यवहारले बागी बन्छु । मनभित्र बलिरहेको स्वाभिमानको फिलिङ्गोबाट अस्तित्वको भुङ्ग्रो निकाल्छु र ताप्छु त्यही तातो । म सहेर बस्दिनँ निर्भयको हेपाहा व्यवहार । म जिउन सक्छु आफ्नै स्वावलम्बी पाखुरीमा । म हिँड्न सक्छु आफ्नै निर्णयको कुसुमपथमा । मेरो मन सल्लाह दिन्छ । (पृ. २२६)
माथिको साक्ष्यमा नायिका सीमान्तीले लोग्ने निर्भयको अपहेलनाका विरुद्ध आफूलाई खरो उत्रने, बोलेर मात्र होइन केही गरेर देखाउने कुरा गरेकी छ । यसरी आफूलाई सशक्त बनाउन आफैँ लाग्ने निर्णय गर्नु भनेको आफैँले आफैँलाई सशक्त बनाउने पक्षमा लाग्नु हो । यसर्थ माथिको साक्ष्यले नारी सशक्तीकरणलाई बोलीमा हैन व्यवहारमा उतार्ने काम गरेको छ ।

३. नारीका सङ्घर्षको गाथा
प्रस्तुत फिलिङ्गो उपन्यासमा एउटी नारीले जीवनमा गरेका सङ्घर्षका गाथालाई मार्मिक रूपमा चित्रण गरिएको छ । उपन्यासकी नायिका सीमान्तीले जापान छँदा गरेका दुःख र नेपाल फर्केपछि गरेका सङ्घर्षलाई निम्न साक्ष्यमा हेर्न सकिन्छ ः
साक्ष्य १
“मैले त काम गर्न सक्दिनँ जस्तो छ । यता पनि दुख्छ, उता पनि दुख्छ । दश दश घण्टा उभिन त गाह्रो हुने रहेछ ।” साथीहरूलाई सुनाउँथेँ । सुरुमा यस्तै हो, पछि बानी पर्छ । हामीलाइै पनि पहिला यस्तै भएको थियो भन्ने उत्तर पाउँथेँ । (पृ. २८)
साक्ष्य २
जुन कमाइको आडमा म नेपाल आएकी थिएँ, त्यो पैसा पाँच पर्षसम्म एक रुपियाँ पनि झिक्न परेको थिएन । अजिला म्यामको सहयोगले मैले जागिर भेटिहालेँ । एक्लो ज्यानलाई कति नै खर्च आवश्यक पर्दथ्यो र ? उल्टो मैले मेरो तलब बचाएर नै पाँच वर्ष बिताएँ । दुःखलाई सहन गर्ने क्षमता ममा झ्याङ्गिइसकेको थियो । (पृ. २८७–२८८)
माथिको पहिलो साक्ष्यमा नायिका सीमान्तीले जापान गएको केही समयमै काम पाएको र दिनमा दश घण्टा उभिएर काम गर्न परेको कुरा उल्लेख गरिएको छ । यसरी काम गर्दा शरीर दुख्ने गरेको कुरालाई महत्व दिइएको भए पनि सुरु सुरुमा यस्तो हुने पछि आफँै ठिक हुने कुरा गरिएको छ । त्यस्तै दोस्रो साक्ष्यमा नेपाल आएर पनि दुःख गरेर पैसा कमाएको कुरा गरिएको छ । यसर्थ यो उपन्यास नारीका सङ्घर्षको गाथा हो ।

४. नारीको समाजसेवी भावना
प्रस्तुत फिलिङ्गो उपन्यासमा नायिका सीमान्ती, अजिला म्याम, नीलम म्याम जस्ता नारीलाई समाजसेवी महिलाका रूपमा चित्रण गरिएको छ । यसका लागि नीलम म्याम र सीमान्तीले संस्था नै खोलेका छन् भने अजिला म्यामले विभिन्न तालिम दिएर सहयोग गरेकी छिन् । हेरौँ तलका साक्ष्य ः
साक्ष्य १
हाम्रो अफिसमा पचास जना जति महिलाले सिपमूलक तालिम तथा व्यक्तित्व विकासका लागि आवेदन दर्ता गराइसकेका थिए । हाम्रो संस्थागत नीति महिलाहरूले सिकेको सिपलाई व्यावसायिकता प्रदा गर्दै आर्थिक रूपमा समृद्ध बनाउने थियो । (पृ. २८९)
साक्ष्य २
मैले मनमनै सोचेको कुराले मूर्तरूप पाउँदा खुसी लाग्यो । यो खुसीलाई सफल तुल्याउने अजिला र नीलम म्याम नै थिए । (पृ. २९०)
माथिको पहिलो साक्ष्यमा सीमन्तीलाई समाजसेवामा लागेको देखाइएको छ । यसका लागि उसले अप्ठ्यारोमा परेका महिलालाई सिपमूलक तालिम दिन थालेको कुरा गरिएको छ । दोस्रो साक्ष्यमा सीमान्तीलाई समाजसेवा आउन अजिला म्याम र नीलम म्यामले भरपुर सहयोग गरेको कुरा उल्लेख गरिएको छ । यसर्थ उनीहरूलाई पनि समाजसेवी देखाइएको छ ।

५. नारीले नारीलाई गर्ने सहयोगको चित्रण
प्रस्तुत फिलिङ्गो उपन्यासमा नारीलाई नारीको सहयोगी देखाइएको छ । उपन्यासभित्र आएका विभिन्न सन्दर्भमा जापानमा होस् कि नेपालमा नारीले नारीलाई कसरी सहयोग गर्छन् भन्ने कुरालाई देखाइएको छ । हेरौँ केही साक्ष्य ः
साक्ष्य १
“तपाईं आएको थाहा पाएकी थिएँ । आउँछु भन्दाभन्दै ढिला भयो । कोठामा बसिरहँदा कति बोर लाग्यो होला ? भोलिदेखि काममा जानुपर्छ है ? मैले काम गर्ने ठाउँमा लैजाने बन्दोबस्त मिलाउँछु । भोलि बिहान आठ बजेतिर सँगै जाऊँला ।”
सुजु दिदीका कुराले कम्ती खुसी लागेन । (पृ. २२)
साक्ष्य २
म्यामसँग आउने महिलाले काम गर्ने क्षेत्र मैले सोचेको जस्तै रहेछ । विभिन्न अन्याय र उत्पीडनमा परेका महिलालाई न्याय दिलाउन उहाँको संस्थाले काम गर्ने रहेछ । एकदमै इमान्दार र सहयोगी हातको जरुरी परेको कुरा अजिला म्यामले थाहा पाएर मसँग भेट गराउन ल्याउनुभएछ । (पृ. २७२)
माथिको पहिलो साक्ष्यमा सीमान्ती जापान पुगेको केही दिनमै सुजु दिदी आफैँले काम खोजेर उसलाई काम लैजान चाहेको कुुरा गरिएको छ । त्यस्तै दोस्रो साक्ष्यमा अजिला म्यामको सहयोगमा नीलम म्यामसँग चिनजान गराइएको र उनको अफिसमा काम गर्न दिने कुरा गरिएको छ । यसरी यो उपन्यासमा सीमान्तीलाई कामका मामलामा भाग्यमानी देखाइएको छ । उसलाई काम खोजिदिने काम महिलाले नै गरेका छन् । उनीहरूको सहयोगी भावनाका कारण उसले काम खोज्न कुनै दुःख गर्नु परेको छैन ।

६. नारीका कमजोरीको चित्रण
प्रस्तुत फिलिङ्गो उपन्यासमा सुशीलमार्फत् एउटी प्रौढ एन्. जि. ओ कर्मी. महिलाले उसलाई प्रशस्त पैसा दिएर जागिर दिएको बहानामा यौन शोषण गरेको चित्रण गरिएको छ । हेरौँ तलको साक्ष्य ः
साक्ष्य १
हाउजिङको चिटिक्क परेको घरमा बस्ने हामी दुई जना सदस्य थियौँ । मेडम बेलुका थाकेर आउनुहुन्थ्यो । मेडम र म बियर र वाइनमा रमाउन थाल्यौँ । सँगै बसेर गफ गर्ने भयौँ । हामी नजिकिँदै गयौँ । शरीर दुखेको बेला मसाज गरिदिन्थेँ । रहँदा बस्दा म मेडमसँग आवश्यकताभन्दा बढी नै नजिकिएँछु । उहाँ र म एउटै ओछ्यानमा समय बिताउन थाल्यौँ । खै, के कुरा गरौँ मैले हजुरको सामु । योभन्दा बढी बताउन सक्दिनँ । सुरु सुरुमा त म निकै आत्तिएँ, छटपटिएँ । तर, मेडमले सबै कुरा स्वाभाविक बनाउनुभो । मान्छेका बाध्यता बुझाउनुभो । मभन्दा पन्ध्र वर्ष जेठी हुनुहोला उहाँ । पैँतालीसको हाराहारी । (पृ. २८१–२८२)
माथिको साक्ष्यमा पैसा र जागिरको प्रलोभन देखाएर एउटा युवकको कसरी प्रौढ महिलाले यौन शोषण गर्छन् भन्ने कुराको चित्रण गरिएको छ । यसले नारीका कमजोरीलाई चित्रण गरी नारी लेखकले नारीकै कमजोरी चित्रण गरेको कुरा प्रमाणित गर्छ ।
एकचोटि पढ्न भनेर हातमा लिएपछि पूरै पढेर नसकुञ्जेल पाठकलाई आफूतिर तानिराख्न सक्ने खुबी फिलिङ्गो उपन्यासमा पाइन्छ । जापान नगएका पाठकलाई पनि यसले जापान गएको जस्तो भान गराउँछ । यसमा भएको जापानबारे विभिन्न तथ्यको प्रस्तुति आकर्षक छ । त्यस्तै नारी सशक्तीकरणका कुरा, नारीका सङ्घर्षको गाथा, नारीको समाजसेवी भावना, नारीले नारीलाई गर्ने सहयोगको चित्रण, नारीका कमजोरीको चित्रणजस्ता कुरा यसका प्राप्ति हुन् जसले उपन्यासलाई पाठकका सामु सगर्व उभिन सक्षम बनाएको छ ।

च) फिलिङ्गो उपन्यासको सीमा
प्रस्तुतफिलिङ्गो उपन्यासले नेपाल र जापानका महिलाले भोगेका दुःख र पीडालाई चित्रण गरेको छ । जापान गएकी सीमान्तीले पतिले अर्की जापानी महिलासँग सम्पर्कमा रही आफूलाई पूरै बेवास्ता गरेपछि जापान छोडेर कसैलाई पत्तो नदिई नेपाल फर्केको कुरा यसमा चर्चा गरिएको छ । ऊ पाँच वर्ष काठमाडौँमा बसेर समाजशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नुका साथै सोही अवधिमा एन्.जि.ओ.मा काम पनि गरेको कुरा वर्णन गरिएको छ । नारी सशक्तीकरणका पक्षमा लेखिएको भए पनि यो उपन्यासमा भएका कमीकमजोरी अर्थात् सीमालाई निम्न बुँदामा चित्रण गर्न सकिन्छ ः

१. नारी सशक्तीकरणलाई एन्. जि. ओ. मुखी बनाइएको
प्रस्तुत फिलिङ्गो उपन्यासमा समाजसेवामा लागेका पात्रहरू नीलम म्यामले काठमाडाँैमा पुनर्जीवन नेपाल नाम एन्. जि. ओ. चलाएकी छिन् भने त्यसमा पाँच वर्ष काम गरेकी उपन्यासकी नायिका सीमान्तीले पोखरामा गएर भरोसा नेपाल नामक एन्. जि. ओ. खोलेकी छिन् । उनीहरू ती एन्. जि. ओ. मार्फत् नारी सशक्तीकरणमा लागेको कुरा तलका साक्ष्यले पुष्टि गरेका छन् ः
साक्ष्य १
नीलम म्याम र उहाँको संस्थामार्फत् मैले धेरै कुरा बुझ्ने मौका पाएँ । अब मलाई छुट्टै संस्था खडा गर्ने रहर जागेको थियो । जसरी नीलम म्यामले आफ्नो पहिचान बनाउनुभएको थियो, त्यस्तै पहिचान मलाई पनि बनाउन मन थियो । तर यो काम काठमाडौँमा मात्रै गर्नुपर्छ भन्ने थिएन । (पृ. २७६)
साक्ष्य २
संस्था खोलेपछि, संस्थाकै प्रवद्र्धनका लागि सामाजिक सञ्जालमा एक्टिभ थिएँ । (पृ. २९१)
माथिको पहिलो साक्ष्यमा सीमान्तीले नीलम म्यामको संस्थामार्फत् आफूले धेरै कुरा बुझ्न पाएको र दोस्रो साक्ष्यमा आफैँले संस्था खोलेर समाजसेवामा लागेको कुरा गरिएको छ । यसरी नारी सशक्तीकरणलाई पनि संस्था वा एन्. जि. ओ. को शरणमा पु¥याएर टुङ्ग्याउने काम यो उपन्यासले गरेको पाइन्छ ।

२. समाजसेवालाई पनि जागिरसँग तुलना गरिएको
प्रस्तुत फिलिङ्गो उपन्यासमा नीलम म्याम र स्वयं सीमान्ती पनि समाजसेवामा समर्पित भएर लागेको देखाइएको छ । यसरी समाजसेवामा लागेका भए पनि उनीहरूको जीवन जागिरे जीवनजस्तो भएको कुरा तलका साक्ष्यले पुष्टि गर्छन् ः
साक्ष्य १
पुनजीर्वन नेपालको जागीर र पढाइमा म चुर्लम्म डुबेँ । संस्थाकै सहयोगमा मैले नेपालका थुप्रै दुर्गम ठाउँहरूमा जाने मौका पाएँ । (पृ. २७५)
साक्ष्य २
मलाई काम गर्ने प्रशस्त प्रेरणा मिलेको थियो र खटेर काम गर्न सुशील भाइ थिए । नीता हाम्रो लक्ष्यमा जोडिएकी थिइन् । अन्य आवश्यक कर्मचारी नियुक्त गरिएको थियो । (पृ. २९०–२९१)
माथिको पहिलो साक्ष्यमा सीमान्तीले आफ्नो समाजसेवालाई जागिर भनेको प्रष्ट देखिन्छ भने दोस्रो साक्ष्यमा सीमान्तीको आफ्नै संस्थामा सुशील भाइ, नीता र अन्य कर्मचारीले सहयोग गरेको कुरा गरिएको छ । यसरी समाजसेवामा खटिएकाले पनि कामलाई जागिर भनेकोबाट उनीहरूको सेवा वास्तवमा सेवा नभएर जागिर भएको पुष्टि भएको छ ।

३. देशमा भएका विभिन्न राजनैतिक परिवर्तनका बारेमा मौनता साँधेको
वि.सं. २०७७ सालमा प्रकाशित फिलिङ्गो उपन्यासमा जापानमा पाँच वर्ष, काठमाडौँमा पाँच वर्ष र पोखरामा पाँच वर्ष गरी जम्मा पन्ध्र वर्षको अवधि प्रत्यक्ष रूपमा चित्रण गरिएको छ । यो समयमा देशमा भएको सशस्त्र द्वन्द्वको पछिल्लो चरण, २०६२–६३ को जनआन्दोलन, संविधान सभाको निर्वाचन जस्ता मुख्य घटनाका बारेमा कतै पनि चर्चा गरिएको छैन । यसरी समाजसेवामा लाग्ने देशका पठित नारीका बारेमा लेख्दा देशलाई चटक्कै बिर्सनु भनेको समयका बारेमा बेखवर हुनु हो । मुद्दाका बारेमा कलम चलाउने एउटा जिम्मेवार लेखकलाई यस्तो गल्ती गर्ने छुट हुँदैन ।

४. २०७२ को महाभूकम्पबारे उपन्यास बेखवर रहेको
प्रस्तुत फिलिङ्गो उपन्यासको पछिल्लो खण्डमा नायिका सीमान्तीले काठमाडौँमा पाँच वर्ष र पोखरामा पाँच वर्षको अवधि समाजसेवा बिताएको कुरा रूपमा चित्रण गरिएको छ । उक्त अवधिमा उसले समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको कुरा पनि गरिएको छ । सोही अवधिमा देशमा महाविपत्तिका रूपमा गएको महाभूकम्प २०७२ का बारेमा कतै पनि चर्चा गरिएको छैन । यसरी उपन्यासले देशमा भएको त्यति ठूलो विपत्तिलाई चित्रण नगर्नु भनेको समयका बारेमा लिएको मौनताको पराकाष्ठा हो । यतिबेला ठिकै देखिए पनि कालान्तरमा यो उपन्यास पढ्दा यसको कमजोरी त्यतिबेलाका पाठकले प्रष्ट देख्ने छन् ।

५. देशभित्रको अन्य परिस्थितिका बारेमा उदासीनता रहेको
प्रस्तुत फिलिङ्गो उपन्यासको सुरुदेखि अन्त्यसम्म जापानका बारेमा मिहिन चित्रण गरिएको भए पनि आफ्नै देश नेपालका बारेमा भने उदासीनता पाइन्छ । अझ पछिल्लो खण्डमा नायिका सीमान्तीले काठमाडौँमा पाँच वर्ष र पोखरामा पाँच वर्षको अवधि समाजसेवा बिताएको र सोही अवधिमा उसले समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको कुरा पनि चर्चा गरिएको छ । यसरी समाजसेवासँगै अध्ययनमा लागेको पात्रले देशमा भएका सामाजिक, सांस्कृतिक, राजनैतिक लगायतका विविध घटनाका बारेमा जानकारी राख्नु पर्नेमा त्यसको बारेमा पूरै बेखवर देखाउनु उपन्यासको सामाजिक पक्षमा देखिने अँध्यारो पाटो हो ।
यसरी फिलिङ्गो उपन्यासले सीमान्तीको जीवनका जापानका पाँच वर्ष, काठमाडाँैका पाँच वर्ष र पोखराका पाँच वर्ष गरी प्रत्यक्ष रूपमा पन्ध्र वर्ष चित्रण गरेको छ । लोग्ने निर्भयको आफूमाथिको अन्याय र अत्याचारलाई पचाउन नसकी उसँग राम्रै सल्लाह गरेर नेपाल आई स्वावलम्बी भएको देखाइएको भए पनि उसलाई पूर्ण रूपले सशक्त देखाइएको छैन । उपन्यासको अन्त्यतिर जापानी साथी वातानाबेसँग निर्भय र उसकी प्रेमिका मिसावा घुम्न आउने क्रममा निर्भयले उसँग माफी मागेपछि ऊ निर्भयसँगै रुन्छे । त्यति मात्र होइन उनीहरू जापान फर्कन लाग्दा पनि उसका आँखामा आँसु आउँछ । यसले के प्रमाणित गर्छ भने उपन्यासकारले सीमान्तीलाई अन्तिमसम्म पनि भावनात्मक रूपले सशक्त नबनाई अझै कमजोर बनाइ राखेको देखिन्छ । महिला सशक्तीकरणको मुद्दामा कलम चलाउने स्रष्टाका लागि यो ज्यादै अशोभनीय काम हो ।

छ) समापन
जापान र नेपालका सन्दर्भहरू उल्लेख गर्दै नारी सशक्तीकरणको कुरा गरेको, नारीमा चेतनाको बीज छर्ने काम गरेको, नारीलाई स्वअस्तित्वबोध गराएको, समाजमा नारीलाई आर्थिक र सामाजिक हैसियतमा उच्च स्थानमा राख्न खोजेको र पुरुषको नारीलाई हेर्ने हेपाहा प्रवृत्तिको भण्डाफोर गरेको हुनाले फिलिङ्गोे उपन्यास सशक्त नारी विषयक उपन्यास बनेको पाइन्छ । यति मात्र नभएर सबै नारी उस्तै हुँदैनन् भन्दै नारीका कमजोरीको चित्रण गर्न पनि उपन्यास अघि सरेको छ । एउटा नारी लेखकले नारीका कमजोरी देखाउने जोखिम कमैले मोल्ने गरेका छन् । यस्तो जोखिम मोलेकोमा स्रष्टालाई एउटा पुरुष समीक्षकका तर्फबाट सम्मान छ । नारीको बारेमा कुनै नारी लेखकले लेखिन् भने उनलाई नारीवादी लेखकको बिल्ला भिराउने समकालीन समाजमा फिलिङ्गो पूर्ण नारीवादी उपन्यास हो होइन भन्ने बारेमा जमेर बहस गर्नु आवश्यक देखिन्छ । अन्त्यमा फिलिङ्गो उपन्यासमा उपन्यासकार प्रभा बरालले एउटी भावनात्मक रूपले कमजोर मुटु भएकी नारी पात्र सीमान्तीलाई चुपचाप पतिको साथ मात्र नभएर राम्रो कमाइ र भिसा सकिन एक वर्ष बाँकी छँदै सधैँको लागि जापान छाडेर नेपाल फर्कने कठोर निर्णय गर्न लगाएकी छिन् । यसरी अपर्झट निर्णय गराएर उक्त पात्रमाथि इमोसनल अत्याचार गरेको त होइन भन्ने प्रश्न गर्न सकिने प्रशस्त आधारहरू पाइन्छन् । समकालीन लेखकले आफ्ना पात्रमाथि यस्तो अनावश्यक दबाव दिनु राम्रो मानिन्न । सर्जकलाई उनको आगामी उपन्यासमा त्यसमा ध्यान पु¥याउन सल्लाह दिन्छु । अन्त्यमा फिलिङ्गो उपन्यासले नारी सशक्तीकरणका क्षेत्रमा सानो फिलिङ्गोको काम गरेकोमा हार्दिक बधाई दिँदै यस उपन्यासको पूर्ण सफलताको शुभकामना सहित कलम रोक्छु ।

उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन ।
–––––

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।