14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

लघुकथामा नौलो धारणाको विमर्श

विचार डा. विदुर चालिसे July 12, 2021, 4:25 pm
डा. विदुर चालिसे
डा. विदुर चालिसे

साहित्य आलेख –२

विषय प्रवेश
विश्वको बदलिंदो समाज र चेतनामा प्राचीन कालदेखि नै मानव जगत्ले आफ्ना वरिपरि रहेका घटना, अनुभव, स्वभाव, आदर्श, चरित्र, सत्यमूल्य, जीवन शैली, परम्परा, संस्कृति, आनीबानी, रहनसहन, व्यवस्था एवं मनोविज्ञान लगायतको सन्दर्भका विषयका मार्फत सुख, दुख, वेदना, आदर्श, प्रार्थना, इच्छा, आरोप, अभाव, मान्यता, चरित्रका संगति एवं विसंगति भावहरूद्वारा कथनहरू कथ्नु वा अभिव्यक्त गर्नु समग्र कथ्यता पद्धतीका सन्दर्भमा आख्यानको रूपमा बुझ्दै र बुझाउँदै आएको पाइन्छ । आख्यानका विभिन्न संरचना स्वरूपका सन्दर्भमा समयसापेक्ष विकास भएका मूल्य मान्यताले साहित्यिक विधाको रूपमा आफुलाई अङ्गिकार गरिरहेको समेत देखिन्छ । यसै आधारमा आख्यानको लघुत्तम आकारमा रहेको विशिष्ट कथ्यता प्रणालीमा संरचित रहने पछिल्लो विधाको नाम लघुकथा रहेको देखिन्छ । यो विषय मानव सभ्यताको विकाससँग जोडिएर आएको उपाख्यान(किस्सा) प्रथाको एक अत्यन्त प्रभावकारी आम जन जनको मन मनमा सुषुप्त एवं प्रखर दुवै अवस्थामा मानवससँग रहेको विशिष्ट छोट्टो कथ्यता प्रणाली भएको विषय हो । मानव सभ्यताको विकाससँगै यसले व्यञ्जना एवं लक्षणा प्रधान सन्देशका अर्थमा किस्सा, छेडपेच, ठट्टा वा व्यङ्ग्यको रूपमा विकृति विसङ्गति बोधलाई उजागर गरिरहेको देखिन्छ । यसका साथै समग्र विषय क्षेत्रलाई कथ्यताको माध्यमबाट मुख्यतः समाजमा मनोरञ्जन, उपदेश, सुधार, आदर्श एवं अलौकिकता प्रस्तुत गरेर मानव शक्तिको छोट्टोमा छोट्टो गाथा कहनु यसको निर्माण भइदिने कथ्यताको मूल्यबाट सत्यताको प्रकट गरिदिने काम नै यसको परम कर्तव्य रहेको देखिन्छ । संरचनात्मक आयाममा यस्ता छोट्टो कथ्यताहरूको प्रयोग बालबालिका, उपसन्दर्भ कथा, आदेश, उपदेश, मनोरञ्जन र समग्र विषयगत क्षेत्रमा सुधारको अभिप्रायले उपयोग, प्रयोग र कथ्ने कार्य गरिएको पाइन्छ । यसैलाई आधार मानेर विश्व साहित्यमा आख्यान विधाको उपल्लो सानो छोट्टो विधाको उदय भएको हो । यसैको सानो वा छोट्टो आयामको खिरिलो तर संक्षिप्त एवं छोट्टो कथातत्व भएको आख्यानको सबैभन्दा न्यूनतम आयामको स्वरुपलाई हिन्दीमा ‘उपाख्यान’, अरबिकमा ‘किस्सा’, नेपाली लोक प्रचलनमा ‘कुथुङ्ग्री’ तथा आधुनिक हिन्दी तथा नेपाली साहित्यमा यस्तो प्रकारको संरचनालाई ‘लघुकथा’ भनेर चिनिने प्रचलन रहेको देखिन्छ ।

लघुकथा निर्माण नौलो धारणाको विमर्श
आख्यानको पिच्चे आकारको विधाको रूपमा प्रचलित रहेको छोटो, चट्ट मिलेको, उत्कृष्ट प्रभावमय सन्देश दिने संरचनाको प्रचलनका रूपमा त्यसैले यसलाई लिइन्छ । प्राचीन एवं मध्यकालमा, छोटो छरितो एवं छोटोआकारको यस्तैप्रकारको संरचनालाई जेजस्तो नामले पुकारिए पनि संरचना तत्वमा भएको विकासको नवीनम मान्यताले यसलाई नयाँ पहिचान दिएको देखिन्छ । यसलाई ‘एन्ट्रोपी मान्यता’ एवं ‘आख्यानात्मक परावर्तन’ प्रबृतिको सैद्धान्तिक आधारको रूपमा नियमितता र आकस्मिक प्रक्रियाको रूपमा हेरेर यस अध्ययनमा छोटोकथाहरूको इतिहास एवं लोक प्रचलित र सिर्जनात्मक पाठहरूको उदाहरण समेत प्रस्तुत गर्ने जमर्को गरिएको छ । साथै सामान्यतया शाब्दिक अर्थमा लघुकथालाई छोटोकथा, सानो आकारको कथा, कुथुङ्ग्री एवं लघुकथा जेसुकै भनेर पहिचान गरिने भएपनि यस अध्ययनमा सजिलोका लागि छोटोकथाको साथै अन्त्यतिर लघुकथा भनेर सम्बोधन गरिएको छ ।

१. एन्ट्रोपीसम्बन्धी सैद्धान्तिक मान्यता
‘एन्ट्रोपी’ शब्द भौतिकशास्त्रमा प्रयोग गरिने शब्द हो । यसको व्युत्पत्ति अङ्ग्रेजीको ‘en’ उपसर्ग र ग्रिकको ‘trope’ मुल शब्दको योगको आधारमा भौतिकशास्त्रीय प्रयोगका लागि ‘entropy’ शब्दलाई उन्नाइसौं शताब्दीको मध्यतिर यस शब्दको व्युत्पत्ति गरी प्रयोग गरिएको हो । हरेक वस्तुसत्यमा आफ्ना गतिशीलताहरू हुन्छन् । यिनै गतिशीलताहरू प्रारम्भिक रुपमा खास तरङ्गका स्वरुपमा देखा पर्दछन् । यस्तै वस्तुबाट उत्पादन हुने तरङ्गहरूले खासखास अवस्थामा शेष आधारहरू छोडेका हुन्छन् भन्ने मान्यता नै यसको मुल धारणा हो । त्यसैले यस सिद्धान्तले उर्जाबाट प्राप्त हुने प्रतिएकाइ उर्जाशक्तिको मापन कार्य गर्न नसकिने अवस्थामा पनि बाँकी उर्जाशक्तिको प्रकार्यात्मक आदेशअनुसार आणविक गतिमा प्राप्तहुने एकप्रकारको मधुरो उर्जाशक्तिलाई यथावत् पहिचान गरिन्छ । यसको सूक्ष्ममापनता, अनियन्त्रितता एवं अनियमितताको अवस्थामा पनि केही नयाँ आधारमा पनि खास एक नयाँशक्तिको रुपमा पहिचान गरिने गरिन्छ । यस्तै पहिचान गरिने सिद्धान्तलाई नै भौतिकशास्त्रमा एन्ट्रोपी सिद्धान्तको रुपमा लिइन्छ “Entropy, the measure of a system's thermal energy per unit temperature that is unavailable for doing useful work. Because work is obtained from ordered molecular motion, the amount of entropy is also a measure of the molecular disorder, or randomness, of a system (https://www.britannica.com/science/entropy-physics).”
समकालीन भौतिकशास्त्रीहरूको एक वर्गले भौतिकशास्त्रीय मान्यताअनुसार कुनै पनि एक वस्तुमा अतिरिक्त उर्जाशक्ति हुन्छ भन्ने बारे विश्वास समेत गर्दछन् । त्यसैलाई उनीहरूले थर्मोडायनामिक इन्ट्रोपीको तथ्यको रुपमा समेत मानेका छन् । कुनै पनि प्रणालीमा फेलापरेको लगभग यस्तो प्रकारको अव्यवस्थाका उर्जाशक्ति मात्र एन्ट्रोपी हो भन्ने उनीहरूको मान्यता रहेको देखिन्छ । यस्तै, यस मान्यताको प्रयोग रसायनशास्त्र, सूचना आदानप्रदान तथा तिरस्कृत भाव जनाउने सन्दर्भमा पनि यसको उपयोग गर्न सकिन्छ । यसैले उपाख्यान, किस्सा, कुथुङ्ग्री एवं आधुनिक युगमा परिभाषित लघुकथाहरूमा यसको प्रयोग व्यङ्ग्योक्तिमा केन्द्रीय भावको भावार्थमा गएर टुङ्गिएको देखिने हुँदा यस सिद्धान्तलाइी पनि साहित्यिक मान्यतामा पनि प्रयोग गर्न सकिने देखिन्छ । आमसंचार वा तिरस्कृत भावमा देखिने एन्ट्रोपीका आख्यानात्मक सूक्ष्म आयामका भावहरू प्राय विसङ्गतीबोधका कारणले पाठक वा स्रोताका लागि व्यङ्ग्यशील मजाकको रुपमा समेत पदार्पण भएको समेत पाइन्छ ।
भौतिकशास्त्रीहरूले भने झैं अतिरिक्त एवं अव्यवस्थित उर्जाशक्ति(थर्मोडायनामिक एन्ट्रोपी) कुनै पनि प्रणालीमा अधिक मात्रामा प्राप्त हुने गर्दछ । यस्ता एन्ट्रोपीहरू अधिक रुपमा अव्यवस्थित रहे तापनि तिनीहरूले आफ्नो प्रकार्यताका लागि मार्ग खोजिरहेका हुन्छन् । यिनीहरूले अधिक मात्रामा नियमित र व्यवस्थित रूपमा परिणामहरू उत्पादन गर्न समर्थ हुनका लागि तयार रहेका पाइन्छन् भन्ने मान्यताका आधारमा साहित्यमा पनि यसको सूक्ष्म प्रयोगलाई दृष्टिगत गरी हिन्दी साहित्यको ‘हिंदीकी विश्व यात्रा’ नामक पुस्तकको भूमिका खण्डमा यसबारे विमर्श समेत गरिएको छ (परदेसी, २०१८, पृष्ठ ः भूमिका खण्ड) । उक्त पुस्तकमा कविता विधाको सन्दर्भमा यसबारे विमर्श गरिए पनि लघुकथाको सन्दर्भमा समेत यसको गतितत्वको आधारलाई ध्यानपूर्वक हेरेर विश्लेषण गर्न सकिन्छ ।
यिनै मान्यताका आधारमा साहित्यमा देखापरेको बृहत्तर आख्यान विधाको न्यूनतम आख्यानतत्व रहेको एवं अनियन्त्रित, सूक्ष्म एवं अनियमित रुपमा आख्यानात्मक अतिरिक्त उर्जाशक्तिका गतिमार्फत बृहत्तर आख्यानको सूक्ष्म विषयवस्तु वा घटनाको प्रकार्यहरू पूरा गर्ने आधारलाई जसरी भौतिकशास्त्रमा नयाँशक्तिको उत्पादन र मापन गरिन्छ ठीक त्यसैगरी आख्यानको छोट्टो एवं सूक्ष्म स्वरुपको सानो वा छोट्टो आयामको खिरिलो तर संक्षिप्त एवं छोट्टो कथातत्व भएको आख्यानको सबैभन्दा न्यूनतम आयामको स्वरुपलाई आख्यानको एन्ट्रोपी सिद्धान्तको उपाख्यान, किस्सा, कुथुङ्ग्री वा आधुनिक आख्यान विधामा लघुकथाका संरचनालाई सिर्जनात्मक एन्ट्रोपीको रुपमा मान्नुपर्दछ । विकिपेडियाले समेत आइन्सटाइनको हवाला दिंदै [S = Kb ln Ω] सूत्रले कुनै प्रणालीमा निहित उर्जाको डिसअर्डरको मात्रा मापन गर्नु नै एन्ट्रोपी हो भनेको पाइन्छ । उनकाअनुसार ‘S’ ले ‘entropy’, ‘Kb’ ‘Boltzmann [P = pressure, V = volume, T = absolute temperature, N = number of molecules of gas]’, ‘ln’ n] ‘netural logarithm [The natural logarithm of a number is its logarithm to the base of the mathematical constant]’ तथा ‘Ω’ ले ‘number of microscopic configurations [A thermodynamic system that the system may occupy with a certain probability in the course of its thermal fluctuations]’ लाई नै एन्ट्रोपी सूत्रका रुपमा हेरिएको देखिन्छ (https://en.wikipediya.org>wiki> entropy)
यही मान्यतालाई आधार मान्ने हो भने कविताको शैलीगत प्रयोगका सन्दर्भमा बाह्रौँ शताब्दीमा नै इटालियन, फ्रेन्चं तथा स्पेनिस लेखक एवं साहित्यकारहरूले साहित्यको सन्दर्भमा प्रयोग गरेको शब्द ‘Envoy’ यस सन्दर्भमा अत्यन्त मननीय देखिन्छ । उनीहरूका अनुसार ‘envoy’ को मतलब ‘send-off’ हो । यसको साहित्यिक अर्थ “छोटो श्लोक” का रुपमा प्रयोग गरेको देखिन्छ । कवितामा स्लोकको अर्थमा प्रयोग गरिएको भए तापनि लघुकथामा पनि छोटो खिरिलो भाषिक संरचना भन्ने अर्थ दिन्छ । यसर्थ यसले पनि बृहत्तर आकारको ‘epic’ परम्पराको पराकम्पनको रुपमा ‘envoy’ लाई एन्ट्रोपीको रुपमा लिएको पाइन्छ (अब्राहम्स, २०१८, पृ. २७६)
यसैका आधारमा साहित्यका अनेक विधाजस्तै आख्यान विधामा पनि जोडेर हेर्न सकिन्छ । यसै प्रसंगलाई जोडेर नेपाली लघुकथाकारहरू ः कपिल लामिछाने, श्रीओम श्रेष्ठ रोदन, कृष्ण बजगाई, खेमराज पोखरेल, रामकुमार पण्डित, निबन्धकार शिव गौतम तथा संस्मरण लेखनका प्रखर व्यक्तित्व भारती गौतमहरूसँगको बरोबरको जिज्ञासा, प्रश्नोत्तर र इमेलमार्फत भएका विमर्शका आधारमा भौतिकशास्त्रमा जस्तै आख्यान विधाको अव्यवस्थित घटनाको उर्जाशक्तिलाई निश्चित मापन गर्दा आख्यान विधाको सबैभन्दा सूक्ष्म कथातत्व भएको संरचना स्वरुपको आधारलाई नै लघुकथा उत्पत्ती हो र यो आख्यानको एक एन्ट्रोपी सिद्धान्तका माध्यमबाट उत्पादित आख्यानको छोट्टो आयाम हो भन्ने धारणा समेत प्रकट भएको पाइन्छ । विशेषत यो विषयवस्तु एवं घटना संयोजनका लागि सर्जकको मनमा उत्पादित हुने भावचित्र तरङ्ग हो । लघुकथामा कथावस्तुको स्वरुपसँग एन्ट्रोपीको घनत्व बृहत्तर आयाममा जस्तो स्पष्ट र अनावश्यक वर्णित हुन सक्दैन ।
एन्ट्रोपीको मान्यता साहित्यमा स्वभावैले समाजमा उत्पन्न हुने वा भएका सूक्ष्म विषयवस्तु एवं घटनाहरूमा आधारित हुन्छ । सूक्ष्म विषयवस्तु एवं घटनाका दृष्टिले लघुकथाका संरचनाभित्र घटना सन्दर्भहरूको घनत्वको आवृत्ति(frequency)लाई अनुमान गरी सर्जकले आफुले मस्तिष्कमा पहिचान गरेका कलागत मान्यताका आधारमा समाजका अव्यवस्थित घटनाका पराशक्तिहरूलाई स्मरण, अनुभव, निरीक्षण, अनुगमन र सामान्यत अध्ययन गर्दछ । तत्पश्चात यावत सामाजिक घटना परिघटनाहरूको सन्दर्भहरूलाई केलाएर लघुकथा आयामको एक खाका तयार गर्न एन्ट्रोपीका सामान्य गतिमा पुगेर घटनाहरूको पहिचान गर्दछ । यसरी पहिचान भएका विषय वा घटनाहरूलाई उसले बुझेको सामाजिक विषयको चाप, घटनाको आयतन, भावित भावनाको उत्कर्ष एवं विचरणको निष्कर्षका माध्यमबाट बृहत्तर आख्यानको स्वरुपलाई सूक्ष्मतम आयामका रुपमा लघुकथाको स्थूल अस्थिपन्जर बनाउन निम्नअनुसार तयारी गर्दछन् ः
१) सूक्ष्य घटना ः यसलाई भौतिकशास्त्रमा ‘Kb’ को सूत्रात्मक अर्थमा व्याख्या गरेपनि वास्तवमा साहित्यको आख्यान विधामा बृहत्तर कथावस्तु वा घटनाको प्रकम्पनको अर्थमा मात्र लघुकथाका विषय वा घटनाहरू कथावस्तुका रुपमा प्रस्तुत हुन पुग्दछन् । सर्जकले साहित्यको सामाजिक आदर्शको मूलमर्ममा रहेर यस्ता पराभौतिकीय सामाजिक सूक्ष्य घटना तरंगहरूलाई एक एन्ट्रोपी निष्कर्षको रुपमा प्रस्तुत गर्दछ ।
२) घटनाका अवशेष ः यस्तै भौतिकशास्त्रीय ‘In’ को सूत्रात्मक आधारले बृहत्तर आख्यानको प्राकृतिक स्वरुपमा रहेका पराभौतिकीय सामाजिक घटनाका बाँकी अवशेषहरूलाई सूक्ष्म आयामको संरचनामा प्रस्तुत गर्दछ भने वास्तविक एवं सत्यासत्य तथ्यहरूलाई परिभाषित गर्दै गुणात्मक सिर्जनाको रुपमा सूक्ष्म आख्यानको आयामका लागि लघुकथालाई अनुबन्धित गरिदिन्छ ।
३) विचार संयोजन प्रणाली ः भौतिकशास्त्रमा ‘Ω’ को रुपमा प्रयोग भएको थर्मोडायनामिक प्रणालीको सूत्रात्मक आधारले जस्तै साहित्यका लागि सम्भावित घटनाहरूको प्रसंगका लागि विचारहरूको संयोजन एवं बृहत्तर आख्यानको आयामबाट निर्देशित सूक्ष्म आयामको लघुकथागत विधाको सन्देश उद्बोदन गर्दछ ।
समग्रमा यसैलाई साहित्यमा प्रयोग गरिने ‘S’ लाई एन्ट्रोपीको पराभौतिकीय शक्ति उत्पन्न मान्यताको रुपमा लिइएको छ । त्यसैले एन्ट्रोपी सिद्धान्त भौतिकशास्त्रमा मात्र नभई साहित्यको लघुकथा विधालाई वैज्ञानिक विधिमार्फत सूत्रबद्ध गर्नका लागि एक महत्वपूर्ण सूत्रको रुपमा देखापरेको छ । त्यसैले माथि भनिएझैं हिन्दीमा ‘उपाख्यान’, अरबिकमा ‘किस्सा’, नेपाली लोक प्रचलनमा ‘कुथुङ्ग्री’ तथा आधुनिक हिन्दी तथा नेपाली साहित्यमा यस्तो प्रकारको संरचनालाई ‘लघुकथा’ भनेर चिनिनु पर्दछ । यसैलाई आधुनिक लघुकथाको सन्दर्भमा बृहत्तर आख्यानको पराकम्पन मान्यताको रुपमा लिनुपर्दछ भने लघुकथालाई बृहत्तर आख्यानको एक एन्ट्रोपी सैद्धान्तिक आधारमा निर्माण हुने सूक्ष्म विचारतत्व भएको सूक्ष्म आख्यान हो भनेर मान्नुपर्दछ ।


२. लघुकथामा ‘परावर्तन’ सैद्धान्तिक मान्यता
यो सैद्धान्तिक मान्यता भौतिकशास्त्रीय क्षेत्रमा प्रयोग गरिने गरेको भए तापनि जोन लकले यसलाई विभिन्न आवश्यक व्यक्तित्वहरूसँग गरिएको विमर्शका माध्यमबाट विकास गरेको Empiricit (अनुभववादी) सम्बन्धी सिद्धान्त हो । उनले “Reflection theory is the idea that our knowledge reflects the 'real world” भन्ने यस मान्यतालाई विचारको प्रकाशको गति र यसको मापनको सन्दर्भका अर्थमा अनुभववादी सिद्धान्तका रुपमा प्रयोग गरेको देखिन्छ (https://www.qualityresearchinternational.com › reflectiontion theory) । उनका अनुसार जसरी सूर्यको बृहत्तर प्रकाशलाई पारदर्शी प्रिज्मका मार्फतबाट कुनै अँध्यारो कुनामा परावर्तन गर्दा अँध्यारो कुनामा पुग्ने उज्यालोसँग बृहत्तर प्रकाशमा भएको उज्यालो, ताप र विकीरण सँगसँगै कुनामा प्रत्याभूत हुन्छ । ठीक त्यसैगरी बृहत्तर आयाममा रहेको आख्यानको स्वरुप पनि खुम्चिदै सूक्ष्म स्वरुपको आयामको रुपमा प्रकटहुँदा लघुकथाको संरचनागत आयाममा निर्माण भइदिन्छ भन्ने मान्यता राखिन्छ ।
यस सिद्धान्तमा सर्जकको कल्पना शक्ति र उसको क्षमता प्रस्तुतीले निर्धारण गर्ने आयामगत संरचनालाई लघुकथामा परावर्तन सिद्धान्तको रुपमा हेरिएको छ । मानवीय जगतको ज्ञानको क्षेत्रका माध्यमबाट वास्तविक संसारको पहिचान गराउँदछ भन्ने मान्यता समेत रहेको छ । यस सिद्धान्तमा बृहत्तर आख्यानका सन्दर्भमा जस्तै सूक्ष्म आयाममा अनुबन्दित लघुकथाहरूमा प्रस्तुत घटना परिघटनाका प्रसंगहरूले सर्जकको प्रतिभा क्षमताका मार्फत भाषिक प्रस्तुतीद्वारा बृहत्तर समाजका दृश्यचित्रलाई सूक्ष्म दृश्यचित्रमा प्रस्तुत गर्नु यसको खास मर्मको रुपमा लिइएको छ । “सर्जकको प्रतिभा क्षमताका मार्फत भाषिक प्रस्तुती” भन्नाले नोमचम्स्कीको भाषिक रुपान्तरण नियम(१९५७)का सन्दर्भबाट प्रस्तुत हुने पदावली एवं वाक्यात्मक घटकका मार्फत प्रस्तुत हुने मानव मस्तिष्कका आन्तरिक भाषिक क्षमता एवं सो क्षमताका मार्फत प्रस्तुत हुने भाषिक बाह््य संरचनामा अन्तर घुलित कथांशको मनोविज्ञान, प्रयोग र भाषिक कार्यसम्पादन समेतलाई लघुकथाको प्रस्तुतीमा खास आयामको रुपमा लिन सकिन्छ । वस्तु, घटना, सन्दर्भ वा स्वभाव लगायतका अन्य विषयवस्तुको चमकमा अन्तर्निहित सातत्व बोध कुनै न कुनै रुपमा मनोवैज्ञानिक रुपमा मानव मस्तिष्कसँग निहित रहेको हुन्छ । यो मानव समुदायको विशिष्ट प्रतिभा, बौद्धिक क्षमता एवं ज्ञानको भण्डारण हो । यसैका मार्फतबाट भाषिक परावर्तनको समेत सहयोगमा लघुकथामा दृश्य, आयाम र यसको संरचना अनुबन्धित भएको हुन्छ । यसैलाई लघुकथामा परापर्तन नियमको अर्थमा प्रयोग गर्नुपर्ने हुन्छ ।
वर्णित घटनाहरूको क्रियात्मक परिचालनका लागि सर्जकले गर्ने घटनाको निर्देशन, पात्रहरूको संवादमा प्रयोग हुने कल्पना शक्ति, दृश्यहरूको वर्णन तथा पूर्वघटनाहरूको प्रस्तुती नै लघुकथा निर्माणअन्र्तगत परावर्तन सैद्धान्तिक मान्यताभित्र रहन्छ । यसमा पनि छोट्टो कथानक, पात्र, परिवेश एवं भाषाशैली जस्ता विषयहरू यस परावर्तन शैलीमार्फत प्रस्तुत हुने लघुकथाभित्र मुख्य आधार समेत हुने गर्दछ । परावर्तनलाई साहित्यमा एक जीवन्त गतिशील गतिको रुपमा लिन सकिन्छ, जसका माध्यमबाट छरपष्ट भएका समाजका घटनाहरू परिभाषित हुन सकून् ।

३. लघुकथामा ‘अनैच्छिक आवृत्तिको सम्झनाशक्ति’ को सैद्धान्तिक मान्यता
यो सैद्धान्तिक मान्यतालाई विशेष गरी मनोवैज्ञानिक क्षेत्रमा प्रयोग गरिने गरेको भए तापनि यसलाई औषधी विज्ञान तथा चलचित्रजस्ता विभिन्न आवश्यक क्षेत्रमा समेत यसको प्रयोग गरिन्छ । एक शब्दमा भन्नुपर्दा यो “एक स्मरणसँग सम्बन्धित प्रकरण” समेत हो । बृहत्तर आयाममा प्रस्तुत हुने घटना परिघटनामा जस्तै सूक्ष्म आयामको लघुकथामा पनि पात्रका मार्फत प्रस्तुत गरिने पूर्वकल्पना, धारणा, अनुभव वा अवस्थाको बारेमा यसले घटनाहरूको अनुकरण वा छायाचित्रको रुपमा पात्रको मनोचेतना मार्फत प्रस्तुत हुन्छ । यसलाई विचारको एक साधनको रुपमा समेत लिइन्छ । त्यसैले लघुकथामा प्राक्कल्पित उद्देश्य, प्रक्षेपित सन्देश एवं लघुकथाको शीर्षीकरणका लागि यस सिद्धान्तको महत्वपूर्ण भूमिका रहन्छ ः विकिपेडियामा उल्लिखित भएअनुसार यस सिद्धान्तलाई { “A flashback, or involuntary recurrent memory, is a psychological phenomenon in which an individual has a sudden, usually powerful, re-experiencing of a past experience or elements of a past experience sf] को रुपमा व्याख्या गरिएको छ । (https://en.wikipedia. org ›wiki › Flashback (psychology)” .को रुपमा व्याख्या गरिएको छ (https://en.wikipedia. org ›wiki › Flashback (psychology)”
यस सिद्धान्तले मानवको चेतनाभित्र रहेको सुषुप्त घटनाहरूलाई एक अनैच्छिक आवृत्त सम्झनाका रुपमा एक मनोवैज्ञानिक घटनाका सन्दर्भमा प्रस्तुत गर्दछ । व्यक्ति विशेषको अचानक, सामान्यत शक्तिशाली, विगतका अनुभव वा विगतका अनुभव तत्वहरूको पुनः अनुभव प्रस्तुत गर्ने कार्य यस सिद्धान्तमार्फत गरिन्छ । त्यसैले सूक्ष्म आख्यानात्मक तत्व भएको लघुकथाका लागि यस्ता विधागत संरचनाका उद्देश्य, शीर्षक र सन्देशले तारामण्डलको जस्तो चम्किलो झिल्के उज्यालो प्रस्तुत गर्दछ र घटनाहरूलाई विशिष्टीकरण गर्दछ । ‘अनैच्छिक आवृत्तिको सम्झनाशक्ति’ सिद्धान्तले मुख्य रुपमा निम्नअनुसारसँग सम्बन्धित घटनालाई प्रस्तुत गर्दछ ः
(क) व्यक्तिपरकता ः व्यक्तिका जीवनसँग जोडिएका विभिन्न घटना परिघटनामा संलयित भएर आएका, विकृति विसंगती र उसका व्यवहारिक जीवनप्रति प्रकारान्तर सन्देशले व्यक्ति माथि रहेका अनन्य चरित्र सुधारको अपेक्षा राखेको हुन्छ । यसमा व्यंग्यको प्रभाव अधिक प्रयोग भएको देखिन्छ ।
(ख) समाजपरकता ः सामाजिक जीवनमा रहेका विभिन्न जीवनका पात्रहरूसँग जोडिएका घटनाका साथै समाज, धर्म, संस्कृति, मूल्यमान्यता, आदर्श र व्यवस्थासँग जोडिएका विचारहरू ‘अनैच्छिक आवृत्तिको सम्झनाशक्ति’ का रुपमा सर्जकको मनभित्र घटनाहरू आउँछन् । तिनै ‘अनैच्छिक आवृत्ति’ का रुपमा आएका विचारहरूलाई संगतीपूर्ण भए सहज सन्देश र विकतिपूर्ण भए सुधारको सन्देशका लागि हास्यमिश्रित व्यंग्यको उद्बोधन रहेको हुन्छ ।

४. लघुत्तम आख्यानको विगतको सन्दर्भ ः
उहिलेदेखि नै सिर्जनात्मक कथाहरूको तुलनामा मौखिक रूपमा रहेको लोक परम्पराका छोटोकथाहरूको प्रयोग संसारका सबै समाजमा मानिसहरूका आफ्नै गति, मति र प्रगतिले कहिंदै र भनिदै आएको विषयका रूपमा पाइन्छन् । समय, भूगोल, समृद्ध/असमृद्ध सामाजिक परम्परा, धार्मिक आदर्श, अलौकिकता, रोमान्स, मानवता, सामाजिक उचनीचता, सत्ता र शक्तिको प्रयोगका सन्दर्भमा जीवनका सुख दुखसँग अन्तर्घुलन भएका सम्झनाका विषयहरूलाई छोट्टो रूपमा कथ्नु छोटोकथाको विश्वव्यापी मान्यता हो । यसै मान्यताको वरिपरि पूर्वीय एवं पाश्चात्य साहित्यको समुल छोट्टो कथ्य ढाँचामा मौखिक एवं लिखित कथ्यता परम्परा अगाडि बढेको पाइन्छ । मौखिक परम्पराको लोक प्रचलित तरङ्गसँगै लेख्य परम्पराको धरोहरका रूपमा साहित्यका अन्य विधाजस्तै लघुकथा पनि सिर्जनात्मक धरालाई सम्हालेर पश्चिमको सैद्धान्तिक ढाँचाको तुलनामा पूर्वमा छुट्टै तरिकाले उभिएको देखिन्छ । पाश्चात्य साहित्यमा Short Story’ ले कथाको संरचनात्मक आयामलाई मात्र परिभाषित गर्ने हुनाले नेपाली साहित्यमा कथा र लघुकथाको भेदलाई छुट्याउन अङ्ग्रेजीमा समेत ‘Laghu-Katha’ भन्ने शब्दको छोटो आयाम र संरचना भएको अर्थमा शब्दगत रूपमा प्रविष्टि गराई ‘लघुकथा’ छुट्टै नेपाली आख्यान विधा हो भनी पहिचान दिएर यसको मूल्यलाई स्थापित गराउनतिर लाग्नु जरूरी देखिन्छ । यसैले शब्दगत रूपमा जेजस्तो भए तापनि लघुआकारको कथालाई नेपाली समाजमा लघुकथाको रूपमा परिभाषित भएको देखिन्छ । प्राचीन कालदेखि नै कथ्य एवं लेख्य रूपमा रहेका लोक प्रचलनका छोटो उपाख्यानहरूको समग्र श्रृङ्खला नै पछिल्लो चरणमा छोटोकथाको रूपमा किस्सा, कुथुंग्री भनेर परिभाषित गरिएको भए पनि आधुनिक कालको पछिल्लो चरणमा यसलाई लघुकथाको रूपमा परिभाषित गरेको देखिन्छ ।
विशेषत् पूर्वीय दर्शनका दार्शनिक ऋषि परम्परा र पाश्चात्य दर्शनका आचार्य दार्शनिक परम्पराले उत्पादन गरेका चिन्तन प्रणालीको आयाममा संरक्षित र पोषितहुँदै विभिन्न भाषिक परिवारको संरक्षणमा कथ्यबद्ध भएका आख्यानका यस्ता छोटाकथाका स्वरूपहरू वर्तमान समयमा लघुकथाको रूपमा प्रचलित भएको देखिन्छ । विगतमा लोक प्रचलित भएका छोटा यस्ता लघुआयामका कथाहरू पछिल्लो चरणमा संकलन र सम्पादनका माध्यमले समाजमा कथागत विषयहरू जीवन्त बनेर बसेका देखिन्छन् भने यसैको अर्को पाटोको रूपमा व्यक्ति विशेषको चिन्तन प्रणालीमा आधारित सिर्जन कलाको आयाममा स्थापित सिर्जनात्मक लेखनका लघुआकारका कथाहरू पनि प्राप्त गर्न सकिन्छन् । यस्ता कथाहरू विशेषत् अत्यन्त दार्शनिक तहका छोटो आयामको सानो आकारको कथाको रूपमा मूर्तिएर छोटोकथाको ढाँचामा सुरक्षित हुन पुगेका देखिन्छन् ।

५. सारांश
वर्तमान समयमा लघुकथालाई आयाम र संरचनाको दृष्टिकोणले विशेष गरेर हेर्ने गरिएको देखिन्छ । तथापी यससँग जोडिएका अन्य विषय क्षेत्रका सैद्धान्तिक अवधारणहरूसँग जोडेर हेरिएको देखिदैन । त्यसैले लघुकथा आख्यानको समृद्ध एवं खिरिलो तर छोट्टो सिर्जना हो भनेर परिभाषित गर्न सिद्धान्तनिष्ठ खोजी र प्रयोगको आवश्यकता पर्दछ । विशेषत् लघुकथामा प्रचलित मान्यताहरू “कथा संरचनाको छोट्टो रुप हो” भन्ने अर्थमा प्रयोग गरेको मात्रै देखिन्छ । लघुकथा त्यति मात्रै होइन, बरु यसले बोकेका आन्तरिक धर्मलाई केलाउनु जरुरी छ । लघुकथामा “घनत्व (घटना, भाषिक प्रयोग र शैली) को प्रयोग उत्कृष्ट रहनु पर्दछ र व्यञ्जनापूर्ण सन्देश बहुअर्थी तर चोटिलो सन्देशमा रहनु पर्दछ” भन्ने प्रचलित मान्यतालाई थप पुष्टी गर्न ‘एन्ट्रोपी’ मान्यता, ‘परावर्तन’ सिद्धान्त एवं ‘अनैच्छिक आवृत्तिको सम्झनाशक्ति’ जस्ता मूल्यहरूलाई लघुकथा सिर्जनाको मूल सैद्धान्तिक परिवेश आधार बनाउनु पर्दछ । यसैले नै आख्यानको लघुत्तम रुपमा व्याख्या गरिने लघुकथाको मूल्यस्तर अकासिन्छ ।

सन्दर्भ सूची
परदेसी, राजेन्द्र र भास्कर शर्मा.(२०१८). हिंदी की विश्व यात्रा. नई दिल्ली ः परिंदे प्रकाशन ।
Abrams M.H & Geoffrey Galt Harpham. (2018). A Glossary of Literary Terms. Delhi : Cenege
Learning India Private Limited.
https://www.britannica.com/science/entropy-physics.
https://en.wikipediya.org>wiki> entropy.
https://www.qualityresearchinternational.com › reflectiontion theory.
https://en.wikipedia. org ›wiki › Flashback (psychology).

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।