14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दुख्दैन अब....!

कविता रमेश भट्टराई ‘सहृदयी’ July 12, 2021, 4:27 pm
रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’

भकारीभरि खुशी भर्न
आमाको आशीर्वाद ढाका टोपीमा सिउरिँदै
दूधे बालिका र प्रियाको धड्कन सम्झेर
परदेशी जङ्गलभित्र
कस्तूरी पिरोलिन्छ अभैm कति,
तिरस्कृत बाध्यतामा !

त्यसैले,
पखेरी र फाँटमा जवानी साटेर
सम्भाव्यता खोतलिरहन्छ पाहुना डाकेर
सगरमाथा सौन्दर्यमा
सङ्घर्षको एउटा स्वर्णिम लेखोट भाकेर
तमोर सजाउँदै गाउँको टुकी फेर्नु छ,
आइन्स्टाइन–माक्र्स–बुद्धत्वको एकत्वमा
जनक–व्यास–फाल्गुनन्दको घनत्वमा
नेपालीपन फुलेपछि नेपालीत्वमा
देउडासँग धाननाच रम्छ,
कर्मले बाटेको प्रारब्धमा
‘म’ समदर्शन भेट्छु !

लिम्पिया, लिपुलेक, कालापानीको अद्यावधिक चित्रमा
पर्खालले घेरिएका सीमाभित्रमा
स्वाभिमान चिमोटिँदैन अब
भूकम्प, डुबान, महामारीमा पनि
गैरी खेतको फापर–सिस्नोसँग
भेडाको घिउ र चिउरी अझ
तीतेपाती–गुर्जो अनि सर्वौषधिले
आफ्नै गोडामा उभिनु छ मैले
आमाको अधरमा खुशी छर्न ।

निर्मला, विपना, नवराजको घाइते इतिहास दुख्छ
तर,
डाँडाघरे र गहिराघरेहरू–
भारोपर्ममा रमेर
पैसामा जोख्दैनन् प्रेम
बिहानै ताप्लेजुङदेखि झरेर
झापाबाट रेल चढेर
बैतडीसम्म मामाघरकी हजुरामालाई भेट्न जाँदा
चाउरिएको गाला हँसिलो देख्छु,
विज्ञानको नवीनतासँगै
मेरो मानचित्रमा
कतै पनि
सौम्य मानवता दुख्दैन अब ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।