14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रतिभा

कथा पूर्णकुमार शर्मा July 20, 2021, 3:07 pm

सभागार दर्शक श्रोता र लेखक साहित्यकार चिन्ताविदहरूको उपस्थितिले टन्नै भरिएको थियो। प्रतिभा पनि आजको कार्यक्रममा सहभागी हुन आएर मञ्चको निर्दिष्ट आसनमा बसेर अकाशपताल कुराहरु सोचि रहेकि छिन्।
यसपालि साहित्य विधामा राष्ट्रिय पुरस्कार थापेकि प्रतिभा। प्रतिभा देवी चापागाईं।
कति नानीहरू घिच्रो तानेर ती त्यत्रो ठूलो पुरस्कार पाँउने हाम्रै गाँउकि, उनिहरुको कक्षामा सँगै पढने सहपाठी निर्मलकी आमा हुन् भन्ने थाह लागेर पनि उनलाई हेर्न तम्सिएको भान हुन्छ। यत्रो ठूलो सभामा कस्तो कस्तो राम्रो साडीमा सजिएर दामी गरगहना पहिरिएका भारी भरकम ज्यान भएका स्री पुरूष छन। सबै तीनै मर्न आँटे जस्तो च्याखुरे ज्यान भएकि प्रतिभालाई हेर्छन। गुनगान गर्नमा व्यस्त रहेका छन। ससाना विद्यार्थीहरूको
कौतुहलता मनमनै मडारिएको छ। पछि पछि धेरै पढेर मपनि यस्तै सबैले मान सम्मान गर्ने,समाजको बिचमा सबैको निमित्त आदर्श मानिएको मानिस हुन्छु भन्ने कति कति कल्पना गर्नेहरू त्यहाँ भित्रै थिए। एउटा मौन आन्दोलन तीब्र छ तर शान्त छ। आजको सभामा पनि उनै चापागाईं महाजन सभापतिको आसनबाट बोल्दै छन। अनपढ भएपनि सभा समिति अनुष्ठान प्रतिष्ठानलाई मोटो रकमको आर्थिक सहयोगिता गरि आएका चापागाईं परिवारको मुखिया गाँउका पनि मुखिया नै छन। आज फेरि उनकै बुहारी प्रतिभालाई छुट्टै सम्मान गर्ने कार्यक्रम रहेको हुँदा,आयोजक समितिका संयोजक एवं कार्यकर्ताले उँहालाई सभापति राख्नु अझ राम्रो हुने सोचेको हो।
सभापतिको आसनबाट कार्यसूची सञ्चालन हुँदै आएर विशेष सम्बर्धना ग्रहण निम्ति प्रतिभालाई निर्दिष्ट स्थानमा उभ्याएर खदामाला र प्रशंसा पत्रादि दिएर सम्मान गरियो। उद्घोषकको भनाई र विशिष्ट समाजकर्मी चापागाईं महाजनको भनाईमा प्रतिभा हाम्रो गाँउ शहर जिल्ला राज्य मात्रैको नभएर हाम्रो राष्ट्रको निम्ति पनि गौरव हुन। यति कुरा भन्नुपर्दा महाजनले मुटुमा दह्रो चप्लेटी ढुङ्गो थामेको कसैले नदेखेपनि प्रतिभाले अनुभव गरेकि थिइन। उनको सहनशीलता, धैर्य, लगनशीलता मेहनती कलमले आज हाम्रो
जाति समेत देशको शिर उचा भएको छ भने। मन्त्री एमएलए हरूले पनि धेरै गुनगान गरेर गए। पुरस्कार प्राप्त प्रतिभाको परिचय राष्ट्रव्यापी भयो। नानीहरूले यत्ति कुरा छर्लङ्ग बुझे सभामा। सभा समापन पछि आयोजक समितिका पक्षबाट प्रतिभालाई ससम्मान गाडी चढाएर घर पुर्याइएको हो। घर पुगेर धेरै वर्ष छातीको पोखरीमा जमेको दुःखकष्ट पिरमर्का आँसु भएर बगे, बगि रहे बगि रहे। छोरो निर्मलले भोक लाग्यो आमा भन्दा मात्रै उ थाम्मिएकि हुन।
प्रतिभाले जीवनको एउटा युद्ध जितेकी छिन, एउटा दुःखी जीवन भित्र पालिएको उनको गर्भको प्रतिभाले आज स्वीकृति पाएको छ, उनको निम्ति सबै भन्दा ठूलो उपलब्धि यही हो आजको दिनमा। पुरस्कारमा कति लाख रकम रहेको छ, पुरस्कार प्राप्त समाचार छरिएपछि कतिले फुन गरे,कतिले आजन्म नदेखेको उनको घरको सिकुवा टेके, बधाई र आशीर्वाद दिने कति आए गए त्यस्को लेखा जोखा रहेन, समाचार पत्र र टेलिभिजन का मानिस पनि उत्तिकै आएर फोटो खिचेर लगे। यी कुनै कुराले प्रतिभालाई असर पारेको छैन,जति उनको प्रारम्भिक साहित्य चर्चा गर्ने समयमा, विपरीत धर्मी विचार, अत्याचार र कटुवचनयुक्त वाधाहरूले विगतमा असर गरेको थियो।
एकदिन माष्टर छोरा निम्ति चापागाईं महाजनले बुहारी रूपमा प्रतिभालाई यस घरमा भित्र्याएको थियो। संस्कारपूर्ण परिवारबाट धनी सम्पन्न परिवारमा शिक्षक पति पाएर आएकि प्रतिभा उसबेला सबैको नजरमा भाग्यमानी ठहरिएकी हो। समयमा सन्तान पनि भए। तर प्रतिभा यी सबै कुरा पाएर पनि सन्तुष्ट थिइनन, उनको मनमा जुर्मुराएका भावना पोख्न चाहन्थिन, घरको काम सकेर कविता कथा कोर्ने माइत घरको अभ्यासलाई निरन्तरता दिन चाहन्थिन। उनको शिक्षाको देन अरु सबैमा काम लागोस भन्ने चाहना राख्दथिइन। उनले बेहुली रूपमा आँउदा उनको लेख कविता लेखिएको पुरानो डाएरी लिएरै आएकि थिईन। समय पर्दा लुकाई छिपाई त्यो डाएरी पल्टाएर हेर्ने र नयाँ सिर्जना गर्ने गर्थिन। प्रतिभा भित्र एउटा कवि साहित्यकार कतै न कतैबाट प्रकाशित हुने झ्यालको मुखमा हुन्थ्यो। तर यो कुरा धेरै दिन लुकीछिपी रहेन। क्रमश सबैमा जानाजान भएको छ। प्रतिभाको लोग्ने माष्टर त हुन तर चापागाईं परिवारमा भएको एकमात्र शिक्षित र बाबुको महाजनगिरीमा माष्टरी पाएको हुँदा, स्कूलमा मात्र हैन, तास जुवा,जाँड रक्सी सबै खाले कुरामा माष्टर हुँदै गएको थियो। आफ्नो पतिको यो रूप बदलाँउन उनले यस लेखन माध्यमबाट पनि सुधार गर्न सकिन्छ कि भन्ने सोचेकि थिइन। तर उनको माष्टर लोग्ने भने-
स्वास्नीको यस्तो यो लोलोपोतो कविता र के के यी पटक्कै मन नपराउने। कुवचन र दुरब्यबाहार मात्रै होइन,प्राय दिनहुँ प्रतिभाले बिना दोषै कुटपिट खपेकी हुन। कसैलाई भन्नु उपाय थिएन। सासु उनलाई झन देख्नै नसक्ने। आइमाईले पढन स्कूल जानै हुदैँन भन्ने समयकी बुढी,बरु जगटा छर्ने मौकामा हुन्थिन। ससुराले प्रतिभा माइत गएको मौकामा त्यो कविता र के के कोरेको डाएरी, एकदिन जार्सी गाईको खोले पकाउने अगेनामा आगो दन्काएर स्वाहा पारी दिएछन। त्यो डाएरी हराएपछि प्रतिभा आफ्नो कोखको सन्तान हराएको जस्तो बौलाही भइसकेकी थिइन्। तर धैर्य धारण गरिन। त्यस्तैमा एकदिन जहरिलो रक्सीको सराप परेर प्रतिभाको सिन्दुर पुछियो। चापागाईं महाजन र आफन्त मिलेर समाजकर्मी, शिक्षक, हुनहार व्यक्तित्व, यस्तो धेरै उपाधि थोपरेको ठुलो स्मृति ग्रन्थ निकालेर रक्सिया छोराको वार्षिक श्राद्ध गरे। मानिलिउ उसका पतिको मानसिक सुस्वास्थ्यको उत्तरदायित्व वहन गरेको छ त्यस स्मृतिग्रन्थले।
यता यस अलछिनाले हाम्रो छोरो टोकेर खाई भनेर, सधैं घोक्राइ मुन्ट्याइ गर्ने बाक्लो भयो। अन्त्यमा प्रतिभालाई छुट्टै बस्, तैँले हामीलाई बिहान बेलुकी तेरो कुलक्षिनी अनुहार नदेखाउनु भनेर छुट्याइ दिए। साह्रै दुःख कष्ट गरेर त्यो सानो नानी लिएर प्रतिभा गाईगुहालीको एकाछेउमा बारिएको कटेरोमा बसेर जीवन धान्न बाध्य भएकि हुन। माईती बाट एउटा कपडा सिलाउने कल ल्याएर त्यसको भरमा एक छाक खाएर जीवन धान्नु परेको थियो हिजो सम्म प्रतिभाले। उसको मनमा मानिसको जीवन पनि एउटा कपडा एउटा कैंची र सियो धागो सँग सम्बन्धित छ भन्ने लाग्छ। कसैले यस जीवनमा कैंचीले झै सिङ्गो घर परिवार कपडाझैं च्यार च्यार काटेर टुक्रा टुक्रा पारी दिन्छन, कसैले टुक्रा टुक्रा कपडा जोडेर भत्किएको घरबार जोडी दिन्छन्। मेरो त टुक्रयाउने कैंची सिँदुरमै आएको रहेछ। यस्तो सोचेर प्रतिभा डराईनन, दुखहरु खपिन, उनले सोचिन म जति दुःखकष्ट परेपनि याे टुक्रेको घर यीनै सियो धागोले सिएर जोडी छाड्नेछु भन्ने कुरा मनमा गुनेर काम गरि रहन्छिन्।
मनको वह, समाजको विसङ्गति, बाहिर ठुलो समाजकर्मी शिक्षित भलाद्मी देखाउने यस्तो उस्तो गर्न पर्छ भन्ने र निजी जीवनमा भ्याए र सके सम्म शोषण अत्याचार गर्ने मुखुण्डाधारी माथि उनले कलम चलाउने काम दिनरात गरेकै थिईन। प्रत्येक अत्याचार र उत्पीडनको उमाथि हानिएको ढुङ्गामा प्रतिभाले प्रतिशोध हैन बरु मानिसको जीवन मुक्तिको अक्षरमार्ग निर्माण गर्ने प्रण गरेकि थिइन। उनको लक्ष्य र उदेश्यले आज एउटा आस्थान बनाउन सफल भएको छ। आजको राष्ट्रिय स्वीकृतिमा उनको सासु ससुराको पनि कतै भलो हुन्छ कि भन्ने भावनाले प्रभुको स्मरण गर्दै छन। अब उसो यो यात्रा प्रतिभाको अनन्त प्रतिभा यात्रा तय गरेकिछिन प्रतिभाले।

समारदलनि विश्वनाथ, असम-७८४१७५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।