14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली नाटक र रङ्गमञ्चमा प्रेमसिंह सुवेदी

व्यक्तित्व / कृतित्व राजु “हिमांशु” July 20, 2021, 3:25 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

भारतीय नेपाली नाटक र रङ्गमञ्चको परिप्रेक्ष्यमा कुरा उठाउँदा जहिले पनि दार्जिलिङलाई आधार मान्नुपर्ने बाध्यता देखा परेको छ। ।किनकि भारतीय नेपाली नाटक र रङ्गमञ्चको विकासक्रममा योगदानको सिंहभाग दार्जिलिङकै रहेको छ भन्नुपर्छ। यसैले भारतीय नेपाली नाटक र रङ्गमञ्चको सन्दर्भ साह्रै दार्जिलिङमुखी भयो भन्ने गुनासो पनि सुनिन्छ । भारतका विभिन्न प्रान्तमा बसेर नेपाली नाटक र रङ्गमञ्चका निम्ति धेरै समय खर्चेर नाटक लेख्ने र नाट्यमञ्चन गर्ने नाट्यकर्मी र नाट्यप्रेमीहरूको उल्लेख भने त्यति नभएकोले गर्दा कहिलेकाहीँ असन्तुष्टि जाहेर हुनु स्वाभाविक नै मान्नुपर्छ। दार्जिलिङबाहेक खरसाङ,कालेबुङ,सिलगढ़ी,डुवर्स,कोलकाता,सिक्किम,असम,
भाग्सु,देहरादून,मणिपुर,मिजोराम,नागाल्याण्ड प्रभृति स्थानहरूमा नेपाली नाटक लेखिएर मञ्चित तथा प्रकाशित भएका थाहा लागे तापनि विवेचना भने दार्जिलिङीय नेपाली नाटक र रङ्गमञ्चबारे धेर भएको देखिन्छ । जे होस्,विविध कालमा भारतीय विविध क्षेत्रबाट नेपाली नाटकहरू लिखित,मञ्चित र प्रकाशित भएका देखिन्छन् । अत: भारतीय नेपाली नाटक र रङ्गमञ्चको इतिहासमा दार्जिलिङबाहेक अन्य ठाउँबाट पनि बलियो नाट्यपृष्ठ थपिएको छ भन्न सकिन्छ ।
उत्तर-पूर्वाञ्चलीय भारतबाट पनि नेपाली नाटक र रङ्गमञ्चको विकासक्रममा धेरै योगदान पुगेको तथ्य बिर्सन हुन्न। त्यहाँ पनि विविध कालमा नाटकहरू लेखिएर तथा अन्य भाषाबाट नेपालीमा अनूदित भएर मञ्चित भएका थाहा लाग्छ। यद्यपि ती मञ्चित नाटकहरू सबै प्रकाशित र संरक्षित नभएका हुनाले भारतीय नेपाली नाटक र रङ्गमञ्चको इतिहासलेखनमा अर्घेलो तेर्सिएको अनुभव हुन्छ।
उत्तर-पूर्वाञ्चलीय भारतीय नेपाली नाटक र रङ्गमञ्चको प्रसङ्गमा हरिनारायण उपाध्याय विद्याभूषण,गङ्गाधर खातिवड़ा,विष्णुप्रसाद दाहाल,बबूर राणा,हर्क बहादुर शाही,हरिप्रसाद ‘गोर्खा’ राई,लीलबहादुर क्षेत्री,प्रेमसिंह सुवेदी,अविनाश श्रेष्ठ,दुर्वासा उपाध्याय,रामप्रसाद उपाध्याय,टङ्कनाथ उपाध्याय,डम्बरू भट्टराई,प्रो० निशि शर्मा,हरी ढुङ्गेल,विनोद खनाल,केपी० भूसाल आदि नाटककार/नाट्य अनुवादकहरू उल्लेख्य छन्। यी नाटककारहरूबाहेक विविध नाट्य सङ्घसंस्थाका योगदान पनि महत्त्वपूर्ण रहिआएको देखिन्छ। ती नाट्य संस्थाहरूमध्ये ई०सन् १९२९ मा असमको विहालीमा स्थापित भएर ई०सन् १९४० सम्म अनवरत रूपमा दरङ जिल्लाका समग्र गाउँबस्तीमा नाट्य मञ्चन गरेर नेपाली जनमानसमा आनन्दसहित जनचेतना जाग्रत बनाउने “माजगाउँ थिएटर पार्टी” र असमको नलबारी(निकासी)-मा ई०सन् १९९४ मा नेपाली मोबाइल थिएटरका रूपमा स्थापित भएर ई०सन् १९९८ सम्म असम र नेपालका विभिन्न स्थानमा लगातार नाट्य मञ्चन गर्ने “लाली गुराँस थिएटर” का नामहरू उल्लेख्य छन्।
यसरी असमेली नाटककारहरूका योगदान महत्त्वपूर्ण रहिआएको सत्य नकार्न सकिन्न। यद्यपि उत्तर -पूर्वाञ्चालका नेपाली नाटककार,निर्देशक,अभिनेता,रङ्गकर्मी,नाट्यशिल्पी,गीतकार,
सङ्गीतकार आदिका अवदानबारे राम्ररी लेखाजोखा हुनु बाँकी नै रहेको अनुभूतिले ऐठन पारेको बोध भइरहेछ। यस लेखमा भारतीय नेपाली नाटक र रङ्गमञ्चको इतिहासमा केही जानकारी पुग्न सकोस् भन्ने उद्देश्य लिएर असमका एकजना नेपाली नाटककारबारे छोटो चर्चा गर्ने कोसिसमात्र गरिएको छ। अब मुख्य विषयतर्फ उन्मुख हुँदछु।
असममा नेपाली नाटकलाई केही अग्रसर पार्ने नाटककारहरूमध्ये प्रेमसिंह सुवेदीको नाम पनि उल्लेख्य छ। उनी असमका नेपाली नाटककार हुन्। ई० सन् १९५१ देखि १९६६ सालसम्म नाटक मञ्चन र निर्देशन गर्ने प्रेमसिंह सुवेदीका धेरैवटा नाटकहरू मञ्चित भइसकेका छन्। पिता नारायण सुवेदी र माता लीलावती सुवेदीका कोखबाट देहरादूनमा १५ फरवरी १९२५ मा जन्मेका प्रेमसिंह सुवेदी गुवाहाटी आकाशवाणीमा सङ्गीत निर्णायक पनि रहेका थिए ।
स्कूल गए पनि उनले औपचारिक शिक्षा पूरा गर्न पाएनन् अनि सन् १९४२ मा उनी गोर्खा रेजिमेन्टमा भर्ती भए। तर सन् १९४४ मा सेनाको काम छोडेर उनी गुवाहाटी आए। त्यही समय पूर्वोत्तर सीमा रेलवेमा एकजना रोडकर्मीका रूपमा उनी भर्ती भए। पछि रेलवे मजदूर सङ्घ गठन गरेर उनी अध्यक्ष बने। सन् १९४७ मा हड़ताल गरेर रेलवेको काम बन्द गरेको आरोपमा उनी पक्रा परेर जेल गए। उनले अखिल भारत मजदूर सङ्घको आव्हानमा असममा हड़तालको नेतृत्त्व गरेका थिए । केही समयपछि मजदूरका मागलाई ब्रिटिश सरकारले स्वीकृति दिएपछि उनी जेलबाट छुटे । त्यसपछि कम्युनिस्ट पार्टीका सक्रिय सदस्य बनेको आरोपमा सन् १९४८ देखि सन् १९५० सम्म गुवाहाटी र नवगाउँको जेलमा उनलाई राखियो। कालान्तरमा जेलभित्र हेमाङ्ग विश्वासको सम्पर्कमा आएपछि उनीबाट नाटक मञ्चन र लेखनबारे प्रेरणा पाएर प्रेमसिंह सुवेदीले “गोलीको निशान”(सन् १९५०)नाटक लेखे।
“गोलीको निशान” नाटक सन् १९५१ तिर गुवाहाटीको भास्कर नाट्यशालामा उनकै निर्देशनमा मञ्चित भइसकेको छ । उक्त नाटकको समीक्षा त्यसबेला आर० के० करञ्जियाको सम्पादनमा निस्कने ब्लीट्ज पत्रिकामा प्रकाशित भइसकेको छ। चेकोस्लोभाकियाको एउटा नाट्य संस्थाले उक्त नाटकको अङ्ग्रेजी अनुवाद मागेको तर नाटककारले दिन नसकेको कुरो सुवेदीले “गोलीको निशान” नाटकसङ्ग्रहको “मेरा कुरा”मा लेखेका छन् । ‘गोलीको निशान” दर्शकहरूले मन पराइदिएर पटक पटक मञ्चन भएका कुरा पनि उनले उल्लेख गरेका छन्। उनले अझै यस्तो पनि लेखेका छन्-“आधिकारिक दाबा त गर्न सक्दिनँ तर मलाई लाग्छ असमको नेपाली रङ्गमञ्चको इतिहासमा पुरुष तथा महिलाको सह-अभिनय यसै नाटकको मञ्चनबाट शुरु भएको हो। नाटकमा नायक गुमानको भूमिकामा क्षत्र बहादुर गुरुङ(हाल स्वर्गीय)थिए भने नायिका मालतीको अभिनय श्रीमती चन्द्रा मजुमदारले गरेकी थिइन्। ”
“गोलीको निशान” नाटकसङ्ग्रह सन् २००२ मा प्रकाशित भइसकेको छ। यस सङ्ग्रहभित्र दुई वटा नाटक “गोलीको निशान” र “लाइछोकडो” समाविष्ट पाइन्छन् ।
श्रीमती लक्ष्मी सुवेदी लेख्छिन्-“लेखक मेरा ससुरा-पिता भएका हुँदा उहाँद्वारा लेखिएका कृतिहरूलाई पाठकसमक्ष पुर्याउने मेरो पुनीत कर्तव्य भएको छ र अन्य कृतिहरूसरह गोलीको निशान र लाइन छोकडोसमेत प्रकाश गर्ने जमर्को लिएकी छु। ”
ससुरा-पिताका नाटकहरूलाई सम्हालेर राखी प्रकाशित सम्म गरिदिने बुहारी प्रकाशिकाको कार्य स्तुत्य छ। यी नाटकबारे उनी लेख्छिन्-“यी दुईटै नाट्यकृतिका कथा चालीसका दशकको अङ्ग्रेज शासनकाल,भारत र नेपालमा राणा शासनको प्रचलित रीतिथितिमाथि आधारित छ। विदित हवस् कि अङ्ग्रेजले भारतबाट जुट र नेपालबाट गोर्खा जवान आयात गर्दथे। भारतको जुट लगेर बेलायतका कारखाना चलाउँदथे र गोर्खा जवानहरू लगेर महासमरमा होम्दथे। लेखकले आफ्ना कृतिहरूमा त्यही सच्चाइलाई प्रकाश पारेका छन्। ”
नाटककार प्रेमसिंह सुवेदीका अन्य प्रकाशित नाट्यकृतिहरू हुन्-‘आम्रपाली’, ‘कुमारी आमा’, ‘घाम झुल्केपछि’ आदि। आम्रपाली बुद्धकालीन नारीहरूमध्ये एक प्रभावशाली व्यक्तित्वका रूपमा देखा परेकी र उनको व्यक्तित्वले प्रभावित भएर नाटककार सुवेदीले चौध वटा छोटाछोटा दृश्यमा आम्रपालीको चरित्रलाई राम्ररी चित्रण गरेका छन्। यो एउटा ऐतिहासिक पूर्णाङ्की नाटक हो,जुन सन् १९९९ मा प्रकाशित भइसकेको छ। यसै नामको उनको हिन्दी नाटक पनि सन् २००२मा प्रकाशित भएको थाहा लाग्छ।
उनको कुमारी आमा नाटक सङ्ग्रह सन् २००० मा प्रकाशित भएको देखिन्छ। यस सङ्ग्रहमा
दुई वटा पूर्णाङ्की नाटक ‘कुमारी आमा’ र ‘मौसमी’ सङ्गृहीत छन्। यी नाटकबारे सुवेदी लेख्छन्-“कुमारी आमाले मातृत्व लाभ गरेर आफ्नो फरेबी प्रेमीलाई समाजका कठघरामा उभ्याएकी छ भने मौसमी नामकी युवती विधवा आफ्नो वैधव्य जीवनको पुनरुद्धारका लागि सडकमा उत्रेकी छ।”
यस पुस्तकको प्रकाशकीयमा विनोद कोइराला लेख्छन्-“सुवेदीज्यूका लेखनमा समसामयिक घटनाहरूको समाधान हुन्छन् या ऐतिहासिक पृष्ठभूमिमा आफ्नै विचारद्वारा नयाँ ढाँचाले प्रस्तुत गरेको पढ्न पाइन्छ। यी दुईवटा नाटकहरू पनि समसामयिक पृष्ठभूमिमा लेखिएका छन्। यी दुईटै नाटकले तत्कालीन समाजमा ज्वलन्त प्रश्न बोकेर समाजका अघि उभिएका छन् र समाधानको उत्तर पाएर समाप्तिमा पर्दा बन्द भएका छन्। ”
‘घाम झुल्केपछि’ सुवेदी लिखित आठवटा रेडियो नाटकको सङ्कलन हो;जुन सन् २००१ मा प्रकाशित भइसकेको छ। यस सङ्ग्रहभित्र सङ्गृहीत मतवाली,मोहिनी,महफिल-ए-आजम,घाम झुल्केपछि,पञ्चचुडा,प्रलयको रात,भ्रातृरेखा,मैतालु नाटकहरू विविध काल र वातावरणमा लेखिएका छन्।
नाटककार प्रेमसिंह सुवेदीका अप्रकाशित नाटकहरूमा विजय यात्रा,सेना सन्तति,धनुष यज्ञ,पाप धुरीबाट कुर्लन्छ,सुनको ठुन्को,अशान्त स्वर्ग,उर्वशी प्रभृति उल्लेख्य छन्। उनका नाटकहरूमध्ये आम्रपालीलाई उत्कृष्ट मान्नुपर्छ।
नाटकका पुस्तकहरूबाहेक सुवेदीका अन्य पुस्तकहरू पनि प्रकाशित भइसकेका छन्। ती हुन्-जितको मैदानमा बहिनीको आँसु (गीतिकाव्य)-१९५३),१६ मिनट(कवितासङ्ग्रह-१९८४),हामी कसका दैला अघि हो उभिने?(निबन्ध-१९८७),नेपाली ठाकुरवादी र नेपाली समाज संस्मरण-१९८९),असमका पशुपालक र दुग्ध व्यवसायवर्गको ऐतिहासिक वृतान्त(१९९८),टीपटाप(सँगालो-२०००),मन्थन(बुलेटिन-१९९२-१९९७)प्रभृति ।
समाज,राजनीति र साहित्यमा समाजलाई सर्वोपरि ठान्ने सुवेदी भन्छन्-“मान्छे राजनीति र कलाबिना रहन सक्छ तर समाजबिना सक्दैन।”
साहित्यिक पुरस्कारबारे सुवेदी भन्छन्-“जहाँसम्म पुरस्कारको प्रश्न छ। यो त चयनकर्ताको कुरा हो । यदि मेरा कृतिहरू उपयुक्त भएका भए अवश्यै पाउँथेँ। ”
एघार वटा प्रकाशित,धेरै वटा अप्रकाशित कृति र थुप्रै फुटकर रचनाका जन्मदाता एवं लगभग छ वर्षसम्म मन्थन बुलेटिन निकाल्ने असमका चिरपरिचित नेपाली साहित्यकार/नाटककार प्रेमसिंह सुवेदीको योगदान भारतीय नेपाली नाटक र रङ्गमञ्चका इतिहासमा उल्लेख भई मूल्याङ्कित हुनैपर्छ भन्नु अतिरञ्जना हुँदैन।
भारतमा उत्तर पूर्वाञ्चलबाट पनि नेपाली रङ्गमञ्च र नाटकको फाँटमा धेरै काम भएर योगदान पुगेको माथि चर्चित कुराले बुझाउँछन्। भारतीय विविध प्रान्तहरूमा नेपाली नाटक र रङ्गमञ्चका निम्ति उल्लेखनीय काम भए तापनि समयानुकूल नाट्यप्रकाशन,कार्यशाला,नाट्यविनिमय र प्रचारप्रसार राम्ररी नभएकोले गर्दा उचित मूल्याङ्कन र विश्लेषण हुन नसकेको ज्ञात हुँदछ। विगतमा वर्तमानमा जस्तो सामाजिक सञ्जाल तथा शिल्पशास्त्रीय सुविधा उपलब्ध नहुनाले पनि कति नेपाली नाट्यपृष्ठ धूमिल भए कि जस्तो लाग्छ। नाटकजस्तो चाम्रो विधामा कलम चलाउनेहरूको सङ्ख्या बढ़ी भए तापनि पठनपाठन र समीक्षण भने कमै हुने हुनाले साथै सरकारी सहूलियतहीन परिवेश र आर्थिक विपन्नताले गर्दा भारतमा नेपाली नाटक र रङ्गमञ्च विकासको चुचुरामा पुग्न नसकेको भान हुन्छ। यद्यपि समयसमयमा नाट्यलेखन,निर्देशन,मञ्चन र प्रकाशन भइरहेको छ।
नेपाली नाट्य साहित्य र रङ्गमञ्चको समृद्धिका निम्ति धेरै योगदान दिए तापनि ओझेलमा परेका नाटककार/रङ्गकर्मीहरू नाट्यइतिहासको पृष्ठबाट पनि ओझेलमा नपरून् भनी यस लेखमा असमका नाटककार प्रेमसिंह सुवेदीबारे सङ्क्षिप्त चर्चा गरियो।
ओझेलमा परेका नाटककारहरूबारे जोखजाख हुनुपर्ने अपरिहार्यताले नाटक विषयका शोधार्थीहरूलाई झकझकाउँछ कि कतै! कि नाटक त रङ्गमञ्चमा मञ्चित हुँदा प्रेक्षण गरिने विधा हो तर पढिने विधा होइन भन्ने सोचले आक्रान्त भएर बस्ने हो? विचारणीय छ कि?

डाउहिल, खरसाङ(भारत)


*****

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।