14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चिठी-पत्रको प्रेमकथा

कथा हिमाल लिम्बु July 21, 2021, 12:07 am
हिमाल लिम्बु
हिमाल लिम्बु

“समी, तिमी तिम्रो आदर्श विचारहरू यसरी व्यक्त गर्थ्यौ जुन तिम्रा ती मधुमिश्रित शब्दहरू मेरो मस्तिष्कमा अमिट रेकर्ड भएका छन् । तिम्रा ती वाचा बन्धनका मिठामिठा वचनहरूले वियोगका तिक्त वेदनाहरूलाई साथ दिएर तिमी प्रतिको प्रेमलाई अझ गाढा अनन्त बनाउदै गएका थिए । आज ममाथि विश्वासघातको विषाक्त बज्रवाण किन प्रहार गर्यौ, समी? सच्चा प्रेमका समर्पणका लागि किन तिरस्कारको उपहार दियौ? हो, समी तिमीले शाश्वत प्रेमको सार्थक परिभाषालाई बदलेर नया परिभाषा बनायौ। असफल प्रेमका मर्मस्पर्शी कथाव्यथाले तिमी अनुभवी भइसक्यौ कि ? अनुभवका तिनै सङ्गालोहरूमध्ये मेरो प्रेमको इपिसोड पनि कृपया समेटेर राखिदेऊ। त्यो सङ्गालो तिम्रा लागि पानीका फोका सरह होला तर मेरा लागि जिन्दगीको अमूल्य निशानी बन्ने छ। समी, तिमीसँगका ती अतितका दिनहरू मेरा आँखामा आज सपना बनेर आउछन्। तिमी प्रतिको मेरो साँचो प्रेमको कारण म वेदनाको असहनीय दलदलमा फसेको छु। हो, समी अब म तिम्रो हात थाम्न पाउने छैन किनकि तिमी अर्काको ह्दयमा सजिई सकेकीछौ। म भने त्यही अतितको पानाबाट प्रफुस्टित सपनामा तिमीसँग रम्दैछु, तिमीलाई सम्झदैछु।”
अतितका स्मृतिहरू ....................................
" विक्रम संवत् दुई हजार एकाउन्न साल (२०५१) को पहिलो दिन नव वर्षको 'हयापी न्यु इअर'को दिन आशा र किरण फिजाएर क्षितिजपारि आकाशमा सूर्य उदायो। नव वर्षको खुशियालीमा प्रकृति हराभरा भएको थियो र कोइलीको गीतसँगै सबैजना गएको वर्षलाई बिर्सेर हाँसो र उमङ्गमा रमाउदै थिए। सोही नव वर्षको पहिलो दिन मेरो हातमा एउटा ग्रिटिङ कार्ड पर्यो। यस्तो आकस्मिक उपहार पाएर म स्तब्ध भए। मेरो कौतुहलता टुङ्ग्याउन मैले तुरुन्तै खाम खोलेर हेरेँ।
प्रेषकः समीरा
मेरो खुसीको सिमाना नै थिएन। समीराले नव वर्षको शुभकामना व्यक्त गर्दै प्रेम प्रस्ताव राखेकी रहिछन्। मेरो एक्लो जिन्दगीमा कसैले साथ दिने प्रस्ताव पाएकाले म हर्षले भावविभोर भएछु सायद। बिहानीको पहिलो किरण सरी बहार बनेर समीरा मेरो जिन्दगीको ढोका ढक्ढक्याउन आइपुगिन्। उनको हँसिलो मुहार सम्झदै कल्पनाको गगनमा उड्दै म पुलकित हुदै मुस्कुराइ रहेको थिए।
त्यो दिनको खुसीलाई पोख्ने कुनै शब्द नै नभएको भान हुन्छ मलाई। मैले उनको प्रस्तावलाई स्वीकार गर्दै भोलि पल्ट रिप्लाई कार्ड पठाएँ। हो, नया वर्षको आगमनसँगै हाम्रो प्रेम यात्राको प्रारम्भ भइसकेको थियो। थाहा थिएन, त्यो हाम्रो मिलनको मार्गको अन्तिम गन्तव्य कहाँसम्म थियो। त्यो हाम्रो प्रेमयात्रा गोरेटो बिनाको यात्री जस्तैँ त थिएन। अमूर्त भविष्यको सोचबाट टाढै रहेर माया गर्न पनि किन ढिला गर्ने भनेर म पनि व्यग्र भएँ। र सुरु भयो हाम्रो अधुरो प्रेम कहानी ............।"
उनको घर मेरो घरदेखि करिब एक घण्टाको पैदल यात्रा गर्नुपर्ने दुरीमा थियो। हामी पहिलेदेखि नै एकअर्कामा परिचित थियौं किनभने हामी एउटै स्कुलमा पढ्ने विद्यार्थी थियौं। नजिकिएर मित्रताको साइनो समेत गास्न अवसर मिलेको थिएन हामीलाई। आजभने हाम्रा दुई आत्माहरू एकाकार हुने अनुबन्धनमा परिसकेका थिए। अनवरत चलिरहेको समयसँगै हामी दुईको मिलन पनि गतिशील बन्दै गयो। एस.एल.सि. पछि म दमक बहुमुखी क्याम्पसमा पढ्न सुरू गरेँ। समीरा पनि दमक सहरकै एक ल्याङ्गवेज इस्टिच्युटमा इङ्गलिस भाषा सिक्दै थिइन्। मायालु जोडीहरूको युटोपिया नै जस्तो लाग्थ्यो त्यसबेला मलाई दमक सहर। त्यहाँ नै म र समीरा भेट्ने घुम्ने र दिलको मोहआकर्षणमा रमाउदथ्यौं। एक दिन पनि उनलाई देख्न नपाउदा म पानी बिनाको अक्टुपस झैँ आकारविकार बिनाको हुन्थे। कुनै पनि बहानामा म उनलाई भेट्न जान्थे। एक आपस प्रतिको समर्पणले हाम्रो प्रेम असफल होला भन्ने मलाई शङ्का लागेको थिएन। हरेक दिनको सूर्योदयसँगै यी एक प्रेमजोडी पनि लैला मज्नु, चन्द्र-चकोर झैँ कहानी जोड्दै गए। संघर्षपुर्ण कुरुक्षेत्र जस्तो यो सांसारिक धरातलमा हरेक क्रियाको प्रतिक्रिया गराउने तगारो पहाड हुन्छ रे। हाम्रो प्रेम सफल बनाउन मुकाविला गरेर नाध्न पर्ने सिमांकन अग्नि रेखाको रुपमा थियो त्यो थियो हाम्रो आर्थिक हैसियत। समीरा लखपति हङकङे लाहुरेकी छोरी थिइन्। उनको परिवारका सदस्यहरु कोही हङकङ कोही युके सिफ्ट भइसकेका थिए। मेरो अवस्था भने नाजुक थियो। म एक गरीब किसानको छोरा थिएँ। मायाप्रितीलाई धनको तराजुमा तौलेर धनमा नै माया पिरति र चैन पाउने आजको दुनियामा धन नै सच्चा प्रेमको अबोध्य छेकबार हो। जतिसुकै गहिरो भावनात्मक प्रेम गरे पनि म भने बेला बेलामा हाम्रो माया असफल हुने आशंकामा झस्कन्थे।
एकाउन्न सालको माघे संक्रातिका दिन मकर नुहाउने सोचका साथ म र समीरा दोमुखा माइबेनी मेला गयौँ। मुटु कपाउने माघको जाडोमा दाह्रा किट्दै माइखोलाको चिसो पानीमा छ्यापाछ्याप गर्दै आछुछुछु भन्दै, हाँस्दै नुहाएको, त्यसपछि धुनी बालेर आगो ताप्दै घरतरुल, पिँडालु पोलेर खोसाखोस गर्दै खाएको, एकअर्काको हातमा हात समाएर भिडभाडमा हराएको, यी सब यादहरु सपना भए समीरा सपना, फगत सपना। बातीको दीप बालेर माइको पवित्र पानीमा बगाउदै कन्काइ माइलाई साक्षी राखी कसम खाएको बेला मैले तिमीलाई सोधेको थिएँ, “समी, हेर, माइ नदीको दुई किनारहरु कहिल्यै कही मिलन भएको छ? कहिल्यै मिलन नहुने यी दुई किनारहरु जस्तैँ हामी पनि कतै मिल्न नसकिने हो कि, समी? तिमीले म जस्तो गरीबसँग कसरी जीवन बिताउन सक्छौ होला? तिम्रो धनी आपाले कदापी पनि मलाई तिम्रो हात सुम्पने छैनन्, समी।” मेरा यस्ता प्रेमनैराश्यताका कुराहरु सुनेर भावुक हुदै भन्दथ्यौ, “सागर मैले तिमीसँग चोखो प्रेम गरेकी छु, न कि कुनै भौतिक सम्पतिको लागि नै गरेको हुँ। धन केवल साधन मात्र हो साध्य होइन जसले मान्छे किन्न सक्ला तर माया किन्न सक्तैन। सागर, मैले तिमीबाट भावनाको असीम प्रेमको अपेक्षा गरेको छु, धन सम्पति, रुप र यौवनमा गरिने प्रेम सच्चा प्रेम होइन त्यो वासना हो जो क्षणिक हुन्छ र असफल्ताको खाडलमा फस्दछ। मलाई विश्वास छ सागर, मेरो परिवारले धनको नाउमा हाम्रो चोखो माया तोड्न सक्ने छैन। केहीले कसैले पनि रोक्न छेक्न सक्ने छैन सागर, मेरो कसम।”यसरी, समी तिमी मलाई विश्वासका शब्दहरुले मुटुलाई टम्म भरिदिन्थ्यौ। म अवाक भएर तिमीलाई एकोहोरो हेरिरहन्थे। तिमी आवेशमा आएर मलाई कसम खुवाउथ्यौ। जनम जनम साथ दिने प्रतिज्ञा गर्थ्यौ।
समय बित्न के बेर लाग्छ र ! आफ्नै गतिमा बहिरहेको थियो समय। समयको प्रवाहसँगै हाम्रो प्रेम पनि सतत चलिरहेको थियो। मैले अध्ययनलाई अगाडि बढाउदै जादा आइ. ए. लेवल प्रथम श्रेणीमा उतीर्ण गरे। अनि अध्ययनलाई निरन्तरता दिन मैले आफ्नै खुट्टामा उभिनु अत्यावश्यक थियो। यसै शिलशिलामा म बि. ए. पढ्नका लागि आशाको सहर काठमाण्डौतिर लागेँ। त्यहा काम गर्दै अध्ययनलाई अगाडि बढाउने सपना सजाएर गाउँको केटो हिडेको थियो उनलाई र परिवारलाई छोडेर। समीरासँग तनबदनबाट टाढा भएको थिएँ। तर स्मृतिका पटलहरुमा सिर्फ उनी थिइन् उनी। अविरल मिलनमा भन्दा विछोडको विरहमा मायाको वास्तविकता बढी महसुस हुन्छ। अनि हाम्रो विछोडको बेलामा हामीलाई भेटाउने सहारा तिनै प्रेमपत्रहरु थिए; उनी चिठी र म उनको पत्र झैँ बनेर हामीले हाम्रो प्रेमको सोपानमा आयाम थप्दै गयौं । म दिनको एक टाइम काम गर्ने र बाँकी टाइम क्याम्पस जानुपर्ने, पढाइलाई दिनुपर्ने हुँदा निकै व्यस्त हुन थालेँ। काठमाण्डौमा संघर्षका दिनहरू बिताउदै जाँदा एक बर्ष यति चाडो बितेछ कि मैले पत्तै पाइँन।
एक दिन पूर्व दिशामा घामले लाल लाल किरण फिजाउन लाग्दै थियो। म मेरो कोठामा बन्दी थिएँ। अचानक ढोकामा ढक्ढक् आवाज आयो। मैले कसैको आगमनलाई स्वागत गर्न ढोका उघारी हेरेँ । ढोकाको सामुन्नेमा मलिन मुस्कानका साथ रसिला नयनहरुमा मेरा नयनहरू गएर ठोक्किए । म अलमलमा परेँ, एकछिन मलाई सपना हो कि जस्तो लाग्यो । जब समी मेरो अँगालोमा टाँसिएर विछोडको विरामलाई विश्राम दिइन् तब लाग्यो त्यो विपना रहेछ । मैले उनलाई सम्झाउँदै भनेँ जीवन भन्नु नै मिलन र विछोडको सङ्गम बाहेक अरु केही होइन रहेछ । यसलाई स्वीकार गर्नुमा नै जीवन बुझ्नुको आधार खुल्नु हो।
"भन्न सजिलो छ सागर, जीवन भोग्न गार्हो छ।” भन्दै समी झन भक्कानिएर सुकसुकाउदै रोइरहिन्। तप्किरहेका आँसुका थोपाहरू पुछ्दै समीराले भनिन् “सागर, आज म तिमीबाट टाढा जादैछु, यो देशबाट टाढा जादैछु।" उनको यी शब्दहरू सुनेर मेरो दिलमा बिनाधारको छुरीले चरररररर चिरेको जस्तो दर्द भयो। मेरो छत्तिस इन्चको छातीको साइज बढेर चालिस इन्च भए जस्तो लाग्यो। सास फेर्न रोकेँ मैले एक छिनको लागि। फेरि आफूलाई सम्हादै समीलाई प्रश्नवाचक नजरले हेरेँ। उनले प्रस्ट पार्दै भनिन्, “हङकङबाट आपा-आमाले बोलाउनु भएको छ, र माल्दाइसँग आजै म उड्दैछु।”उनका कुरा सेनेर म झस्किएँ, मनमा रिक्तता तिक्तताको चिसोपनाले छोयो। तैपनि संयम हुदै उनको विश्वास जित्न मैले भनेको थिएँ, “समीरा तिमी देश नै छाडेर गए पनि मलाई र यो जन्मभूमिलाई भुल्ने छैनौ होला, मलाई विश्वास छ।”
आँसुका बलिन्द्र धारा बगाउदै शरीरमा एक थोपा रगत रहुन्जेल माया गरिरहेन वचन दियौ मलाई। मैले तिम्रो वचनमा कुनै झुठको झलक पाइन त्यसबेला। हङकङबाट पनि पत्र पठाउदै गर्ने वाचा गरेर मेरो हतास मनलाई सान्त्वना दिएथ्यौ, समीरा तिमीले। चुलबुले स्वभावकी उनलाई त्यस दिन मैले पहिलो पटक सिरियस देखेको थिएँ। उनलाई बिदाइ गर्न म एअरपोट जादै गर्दा मेरो भावुक स्वभावमा अझ विछोडको पीडा थपिएर मलाई आफ्नो हातबाट आफू नै टाढा भइरहेको लागिरह्यो। मैले उनलाई रोक्ने साहस पनि गरिन किन भने म आफ्नै लक्षको बाटोमा अधुरो थिएँ। जीवनमा बिहे पहिले केही गर्नु पर्छ भन्ने सोचमा थिएँ म। गुडबाइको हात हल्लाउदै उनी प्लेनको बोर्डिङपास चेकरूमतिर प्रवेश गरिन्। म अवाक भएँ। आधा घण्टा पछि उनको जहाज सफा निलो आकाशमा फन्को मारिरहेको थियो। म बोझिलो पाइलाहरू चाल्दै फर्किएँ आफनो डेरातर्फ। कुडिएको मन लिएर ओठमा कृत्रिम हाँसो कायम राख्दै अफिसतिर लागेँ म। संसारको चक्रीय चरित्र नै यस्तो रहेछ, मिलन विछोड। यही हो संसार ? अनि यसको रित ?
पला, प्रहर, घडी, सेकेन्ड, मिनेट र घण्टा इत्यादि नाममा समय बित्दोरहेछ। समीरा हङकङ गएको पनि तीन महिना भन्दा बढी भइसकेको थियो। म उनको वचनको भरोसामा, उनको पत्रको पर्खाइमा आँखा तानेर पर्खिरहेँ। त्यो बिचमा उनको एउटै पनि चिट्ठी पत्र आएन। केही समय पछि मेरो काम पोखराको शाखामा सरुवा भयो र म पोखरा गएँ। त्यसपछि त अझ हाम्रो दुरी टाढा भयो। किनकि एकअर्काको ठेगाना अज्ञात भएपछि पत्राचारको माध्यमले सम्पर्क हुन गार्हो हुन्छ। म र समीराको बिचमा त्यही नै भयो। हामी एक अर्काबाट साँचै नै टाढा भएको बल्ल बुझेँ मैले। म मेरो कामको व्यस्तताले घर पनि दसैं तिहारमा मात्र आउने जाने गर्न थालेँ। पुराना साथीभाइहरुसँग उनको बारेमा सोधीखोजी गर्दा उनीहरू पनि बेखबर थिए। समय बित्न के बेर लाग्छ र ! समीरा र म छुट्टिएको लगभग तीन बर्ष पछिको घटना हो, म एक महिनाको विदामा घर आएको थिएँ। त्यो विदामा बस्दा मलाई गाउँ नै उजाडिएको लाग्यो। मनमा विरक्त लागेर छट्पटि लागेर आयो। सहरको बसाइले गाउँ बस्ने बानी बिग्रेको पनि होइन मेरो किनभने म एउटा एकान्त प्रकृतिमा नै रमाउने अन्तर्मुखी नेचरको मान्छे थिएँ । त्यसोभए मेरो एकाङ्गी अनुभवको कारण के थियो भन्दा गाउँमा साथीसँगीहरू नहुनु नै थियो। मेरा दौतरीहरू प्राय सबैं जना बिदेश गएका थिए। ती मध्येमा पनि मेरी बालप्रेमिका समीरा जसलाई मैले गाउँमा आए पछि धेरै नै मिस गरेँ । उनीसँग बसेका हिडेका ठाउँहरू देख्दा उनीसँगका ती पलहरूका भूत वर्तमान बनेर आँखामा नाच्न थाल्दथेँ। म उनको सम्झनामा तरङ्गित भएर हरेक दिन निराश भएर बिताउने गर्थेँ। थाहा थिएन, किन गाउँमा आएपछि उनको याद असिमित आइरहेको थियो।
गाउँमै रहदा एक दिन म साइँली दिदीको घर धरानमा थियो र त्यता जानुपर्ने थियो। साइकल चढेर उर्लाबारी बस स्टेसनमा पुगेँ। त्यो पुरानो साइकललाई बस पार्क नजिकैको कान्छा साइकल मर्मत पसलमा छोडेर म धरानका लागि टिकट बुक गर्न गएँ। टिकट काटिसकेर म बस चढ्न यात्रुहरुको भिड भित्र पसेँ। बसको भरेङमा पाइला राखेर ढोकातिर उक्लिदै थिएँ। पछाडिबाट एक जना महिलाले "कृपया, यो नानी बोकिदिनुस्न दाइ" भन्दै अनुरोध गरेको सुनेँ। बस चढ्ने हतारमा सहयोगको याचनालाई मैले नकार्न सकिन। बच्चाको लागि सहयोग गर्न कुनै मुल्य चुकाउनु पर्ने पनि त थिएन। मैले भिडको बिचमा बच्चालाई मात्र हेरेर मेरो अँगालोमा राखेर बसभित्र छिरेँ म। बसको पछाडि एउटा खाली सिटमा बसेँ। त्यतिन्जेलसम्म बच्चा मैलेँ नै बोकिरहेको थिएँ। यात्रुहरू धमाधम बसभित्र छिर्दै थिए।
“बच्चा बोकेर सहयोग गर्दिनु भो, धन्यवाद दाइलाई। मलाई दिनुस् ल मेरो नानी।”ती बैनी बोल्दा बोल्दै बिचैमा अवरुद्ध भयो उनको बोली। उनका र मेरा आँखाहरू ट्याक्क ठोक्किए, एक छिनको लागि दुनियाँ रोक्कियो। म भाव शून्य, रित्तो भएँ। उनी झसङ्ग झस्किइन र शरम भय मिश्रित नजरले मलाई हेरिन्।“स मी रा .................” मेरो मुखबाट अचानक श्वासनली हुदै तीन वटा अक्षरहरू मसिनो ध्वनिमा ब्रेक लाग्दै फुत्किए। उनको नजरहरू मेरो नजरबाट हट्दै बच्चातिर गए। मेरा फत्याकफुतुक् भएर लस्सिएका हातहरूबाट बच्चालाई लिएर म पछाडिको सिटमा गएर बसिन्, समीरा। मलाई भाउन्न भएर आयो, म के गरूँ कता जाउँ, छट्पटिएर पिरोलिएँ म। वेचैन हुदै उनी भए तर्फ हेरे मैले। उनको छेउमा एक अधबैँसे मानिस त्यो बच्चालाई काखमा राखेर बसेको देखेँ। त्यो मान्छे हेर्दै लाहुरे जस्तै देखिन्थ्यो। मनमनै सोचेँ मेरो प्यारमा वार गर्ने जार यही हो भनेर। तर मलाई धेरै रिस चाँहि समीरासँग उठिरहेको थियो। उसको झुठो माया अहिले आएर सावित भइसकेको थियो। मैले त्यो क्षणलाई एक दिवास्वप्न सम्झेर विर्सने कोसिस गर्न थालेँ। बसको झ्यालबाट बाहिर विपरित दिशातर्फ दौडिरहेका रुख बोटहरु, घरहरू, होर्डिङग बोर्डहरू र जे जे देखा पर्छन सबै कुराहरू हेर्दै आफूलाई भुलाउने चेस्टा गर्न थालेँ। समीरासँग अलग भएको केवल तीन बर्ष मात्र भएको थियो। मलाई त्यसबेलासम्म आशा थियो उनी मेरो लागि फर्केर आउनेछिन्। फर्केर त आइन् तर साथमा अमूल्य उपहार लिएर आइन् जुन मेरो जीवनभरको लागि निको नहुने घाउ बनेर रहने भयो। मैले धन्यवादका शब्दाञ्जलीहरू, मंगल कामनाहरू मौन सञ्चारको माध्यमबाट दिदै उनको खुसीका लागि आफ्नो खुसीलाई तिलाञ्जली दिनु नै उचित ठानेर चुपचाप बसिरहेँ। बस एक तमासले चलिरहेको थियो गन्तव्यतिर। यात्रुहरू ओर्लने चढ्ने कार्य भइरहेको थियो। मेरो छेउको सिटबाट लोकल प्यासेन्जरहरू बस्दै जादै गर्ने गर्थे। म तिनीहरूप्रति पुरै वेवास्ता गरेर बाहिर टोलाइ रहेँ। मनमा भने कुँडुलो परेर भुमरी मडारिरहेको थियो। के को भुमरी? किन? म अनुत्तरित थिए त्यसबेला। सबै कुराहरु बिर्सेने कोसिस गर्दै रसाएका आँखाहरुलाई कालो चस्माले ढाकेर कुनै असर नपरेको स्वाङ्ग पार्न थालेँ। पछाडिपटि फर्केर पनि हेरिन, न उसँग बोल्ने कोसिस नै गरेँ। मैले सोचे उसको व्यक्तिगत जीवनमा चासो दिनु हुन्न। अब ढिलो भइसकेको छ, ठाँने मैले । मसँग किन प्रेमको नाटक खेल्यौ समीरा भन्ने प्रश्न मनको कन्दरामा दबाएर राखेँ। घरीघरी आबेगको मनले उनलाई गालीगलौज श्राप दिन खोज्थ्यो भने अर्को मनले भन्थ्यो, “हङकङले तिमीलाई मायालु उपहार दिएछ, समी, सफल होस् तिम्रो जिन्दगी। मेरो शुभकामना छ, तिमीलाई। गाउँले माया भन्दा सहरिया काया नै ठुलो लाग्यो तिमीलाई। सधैँ तिम्रो हाँसो र खुसीका लागि युमा, थेबामाङसँग प्राथना गर्दछु, समीरा।”
नसोचु भन्दा नि सोच आइहाल्ने, भावना बिनाको हुन खोज्दा नि भावविहोर भइहाल्ने यो मन पनि ब्रेक फेल भएको गाडि नै हो कि ? न छोड्न मिल्छ न थाम्न मिल्छ। सोचविचारको पुञ्जमा एकोहोरो हुदाहुदै धरान कतिखेर बसले पुर्याइसकेछ मैले पतै पाइन। खलासीले ‘ओ दाइ धरान आइपुग्यो’ भने पछि म हुडमुनीको -र्याकबाट ब्याग तानेर बसबाट उत्रिएँ। धरान चतरा लाइन जाने ट्याम्पुमा चढेर म दिदीको घर पुगेँ। म मानसिक रुपले स्ट्रेसमा थिएँ। समीरासँग भएको जम्काभेट, उनीसँगका अतितका अविस्मरणीय क्षणहरू र उनले दिएको धोका अर्जुनवाणहरू सरह मेरो ह्रदयमा गडिरहेका थिए। म ती वाणहरूबाट मुक्त हुने प्रयासमा लडिरहेको थिएँ। उनले खाएका कसम, मायाका वाचा र प्रेमपुर्ण व्यावहार सब सब नाटक मात्र रहेछन्। उफ्, म कसरी सजिलै भुल्न सक्छु र? कहिल्यै भुल्न नसकिने जिन्दगीको यो अधुरो प्रेम कथा मेरो व्यथा भएको थियो। दुई दिन दिदीको घरमा बसेर गाउँ फर्केँ म। त्यहाँ झन समीराको यादले मलाई सताइरह्यो। मैले जीवनलाई अर्कै मोड दिने विचार गरेँ। यो जमानाको बैँसालु प्रेमप्रति मेरा वितृष्णा जागेर आयो। अपरिपक्व उमेरको प्रेम विवेक बुद्धिले भन्दा बढ्ता वासना बैँसले अभिप्रेरित हुदोरहेछ। यो मेरो त्यसबेलाको निस्कर्ष थियो। त्यसै सिलसिलामा एक दिन समीराको बालसखा अप्सराले एउटा पुरानो चिठ्ठी ल्याएर मेरो हातमा थमाइ दिइन्। अप्सरा, समीरा र म एकै विद्यालयमा पढ्ने सहपाठी थियौ। अप्सरालाई समीरा र मेरो प्रेम सम्बन्धको सबै कुरा थाहा थियो। म पढ्नलाई काठमाण्डौ गएपछि, अप्सराको बिहे भएर इलाममा थिइन्। अनि हाम्रो भेटघाट हुन सकेको थिएन। अप्सराले भेटमा समीराको बारेमा सुने जति कुरा सुनाइन् मलाई। समीराको बिहे गाइघाट निवासी हङकङे लाहुरेसँग एक बर्ष अघि हङकङमा नै भएको रहेछ। बाँकी कुरा चिठ्ठीमा नै लेखेको होला समीराले भन्दै अप्सरा मबाट बिदा भइन्। अप्सराले मलाई भेट्न नसकेर त्यो पत्र दिन पाएको थिइनन् रहेछ। मैले पहेलीको पार्सल सम्झे त्यो खामबद्ध चिठ्ठीलाई। मैले बुझ्नु थियो समीराको विवशता थियो वा वैमनस्यता; मेरो भरोसालाई, चोखो मायालाई धोका दिनु? मैले खामबाट चिठ्ठी निकालेँ अनि धूमिल आँखाहरुले धमिलिदै गएका ती निला शब्दहरूलाई पढ्न थालेँ।
प्रिय सागर,
असिमित प्रेम एवम् सम्झना
ह्रदयमा असिमित माया ममताहरू तिम्रै लागि साँचेर मुटु मिचेर यो अन्तिम पत्र लेख्न विवश छु, सागर। विशेष कुरा हामी बिचको लव अफेयर नै हो, सागर। आपा-आमाले मलाई हङकङ मेरो विवाहको लागि बोलाउनु भएको रहेछ। एक जना लाहुरे मेरो लागि तयार पार्नु भएको रहेछ। मैले वहाँहरूको कुरालाई जोरजुलुमले इन्कार गरेँ। म बिहे गर्दिन यदि बिहे गर्नुपरे सागरसँग मात्र गर्छु भनी अडान लिएँ। सागर, मेरो बालसखा हो र अहिले प्रेमी हो। उ बिना म बाँच्न सक्दिन भनेर अड्डी गरेँ। मेरो बलजफतीका अगाडि वहाँहरूले केही भन्नु भएन। ल ल तेरो इच्छा अनुसार नै रोजेर बिहे गर भन्नु भयो। म तिमीलाई हङकङ बोलाउने र विवाह गर्ने मिठो सपना देख्दै दिन बिताउन थालेँ। तर सागर, जीवन सधैँ गुलाबी सुन्दर कहाँ हुदोरहेछ र। म हङकङ गएको चार पाँच महिना भएको थियो अचानक म विरामी भएँ। म विरामी हुँदा बेहोस भएर लड्ने, काम्ने र बरबराउने गर्दो रहेछु। मेरो उपचार हङकङमा हुन नसके पछि लन्डन लानु भयो आपा-आमाले। म यति बेहोस हुन्थे मलाई केही नै थाहा हुदैनथ्यो। मेरा साथीसँगी र आफन्तहरू पनि मेरो विराम देखेर छक्क पर्नु हुन्थ्यो। डक्टरहरुले पनि कुनै डाइग्नोसिस गर्न सक्नु भएको थिएन। एक महिना पछि म बिसको उन्नाइस जति निको भएँ। त्यसबेला आपा-आमाले मलाई थाहै नदिइ मेरो बिहेको कुरा अघि बढाउनु भएछ। बिहेको दिन मैले बेहुली बन्नु पर्दा थाहा पाएँ मेरो बिहे हुदैछ भनेर। एक महिना भन्दा बढी विरामी भकोले म शारीरिक र मानसिक दुवै रुपले कमजोर थिएँ र वहाँहरूलाई प्रतिवाद गर्न पनि सकिँन। पछि आपा-आमासँग बुझ्दा बिहे गरेपछि कतिपय यस्ता विरामीहरू ठिक हुने सुझाव दिएका रहेछन् डक्टरहरुले। मेडिकल रिपोटअनुसार मलाई CSB -Compulsive sexual behavior भन्ने हर्मोन गड्बढी हुने समस्याले भेटेको थियो त्यसबेला । त्यो रोगबाट निको बनाउन र पागल हुनबाट जोगाउन बिहे गर्दिनु परेको भन्ने जवाफ पाएँ मैले। अब अरु के लेखुँ र ! मलाई विश्वास छ सागर, तिमीले माफ गर्नेछौ। मैले तिम्रो साँचो मायालाई विश्वासघात गरेँ। म यो जुनीमा धोकेवाज सावित भएँ। सागर, यो जन्ममा म तिम्रो हुन सकिँन, यस जुनीको तिमीसँगको अधुरो प्रेमकथा आशा राख्छु अर्को जुनीमा पुरा गर्नेछु। यही कामना गर्दै तिम्रो प्रेमको अनुराग ह्र्दयको गहिराइमा सधैँ रहिरहनेछ भन्दै कलम बन्द गर्दछु।
तिम्रो हुन नसकेकी,
समीरा
त्यो च्यातिदै गएको पुरानो चिठ्ठी पढि सकेपछि महसुस गरेँ आँखाहरूबाट आँसुका थोपाहरू तप्किदै रहेछन् त्यही चिठ्ठीमाथि। फाउन्टेन पेनको मसिले लेखिएका पुराना अक्षरहरू धुमिल मधुरा देखिन्थे। आँखा तिरमिराउदै हेरेर पढि सक्दा नसक्दै नुनिलो आँसुले नबुझिने गरि सरररर लत्पत बनाइदियो चिठ्ठीका शब्दहरू। लामो सुस्केरा फुत्कियो मेरो नाक र मुखबाट एकैचोटि। मैले त्यो चिठ्ठीलाई सात पटक पट्याएर डल्लो पारेँ। कागजलाई टक्टक्याउदै रगडेँ अनि फेरि खोलेर हेरे सबै अक्षरहरु आँसु र मसिको घर्षणसँगै लिपपोत भइसकेका थिएँ। मैले त्यो खजमजिएको चिठीलाई मेरो डायरीको पानाभित्र च्यापेर राखेँ खोइकुन्नि किन होला ! मैले समीराको बाँकी जीवनको लागि शुभकामना दिएँ मनमनै। “समीरा, तिमी सधैँ खुसी रहनु, स्वस्थ, सफल र सम्पन्न जीवन बाँचिरहनु। म नदीको दुई किनारा बिचको मूलपर्बाहमा एक्लो डुङ्गा चलाउदै किनाराविहीन समुन्द्रमा पुगेर शाश्वत प्रेमको खोजी गरिरहनेछु जिन्दगीभर।”


उर्लाबारी, मोरङ, हालः धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।