14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

.....छँदैछु नि

हास्यव्यङ्ग्य कृष्ण प्रधान August 1, 2021, 11:50 am
कृष्ण प्रधान
कृष्ण प्रधान

बड़ो अजब र गजब़को स्वाभाव हुन्छ यी मान्छे नामक दुइखुट्टे जनावरको । एउटै समाजमा बसोबास गरे पनि कोही गम्भीर देखिन्छ भने कोही छटपटे । कोही चतुर ; कोही लाटा । कसैलाई आफ्नो समाजप्रति सोह्रै आना समर्पित देखिन्छ भने कसैलाई उनी बसेको समाजप्रति लुतो न कनाइ केही नभएको पनि देखिन्छ ।

एउटा समाजमा थरि-थरिका मान्छे नाउँका जनावरहरू देखिन्छन् । कोही प्यार्-प्यार्, ट्याउँ-ट्याउँ गरेर मुखमात्र बजाउँछ । समाजको निम्ति केही गर्नुपऱ्यो भने पहिल्यै पन्छिन्छ । कोही चाहिँ 'म यस्तो गर्न सक्छु' ; 'उस्तो गर्न सक्छु' भनी हाँक लाउँछ तर गर्ने बेलामा टाप । समाजका निम्ति केही गर्नेहरूले केही नभनी, केही नबोली, कुनै हाँक नलगाई, फ्वाँक नदेखाई नै समाजमा गर्नुपर्ने काम गरेर समाजको सर्वाङ्गीण विकासको निम्ति हुट्हुटिएको देखिन्छ ।

तर बिनासित्थी मुख बजाउने टपर्टुइय्येँहरूकै भने समाजमा बोलाबाला, हाँकडाँक, चुरीफुरी धेर देखिन्छ । त्यस्ता टपर्टुइय्येँहरूका घुर्की, धाक कम्ति हुँदैन । कुनै साहित्यिक, सामाजिक वा सांस्कृतिक कार्यक्रममा वरको सिन्का पर नसार्ने खैराते, ढाँटहरू पनि देखिन्छन् । यस्ता लोतिखोरे साहित्य-संस्कृतिप्रेमिहरू चक्षुलज्जाको डरले मात्र गाउँ-घरतिर देखिन्छ । केही सानो कामको भार दिइयो कि ".....छँदैछु नि !" भनी हल्ला गर्ने कम्ति हुँदैन । तर यी ".....छँदैछु नि !"-का भक्तहरूले वरको सिन्का पर सारेको देखिन्न ।

समाजमा सामान्य प्रतिष्ठित, हुने खाने कतिपय तथाकथित समाजप्रेमिहरूकहाँ चन्दा सङ्ग्रह गर्न जाँदा प्रायः रित्तो हात नै फर्किनुपर्छ । यस्ता तथाकथित समाजसेवक भनाउँदाहरूले चन्दा दिन सोझै अस्वीकार नगरे पनि 'भाइहरूको लागि छँदैछु नि ! भनेर टकटकाउँछन् ।

भाषा-साहित्यप्रति अच्चाकाली मोह भएको नाताले बेला-बखत साहित्यिक कार्यक्रम संयोजन गर्ने मान्छे म । समाजमा प्रतिष्ठित व्यक्तित्वहरूबाट सामान्य चन्दा सङ्ग्रह नगरी यस्तो कार्यक्रम संयोजन गर्न हम्मे हम्मे पर्छ । यस काममा मलाई धेरैले सघाउ पुऱ्याए पनि "हाम्रो साहित्य-संस्कृतिको संरक्षण-संवर्द्धन हुनुपर्छ...भाइले गर्नुपर्छ, मबाट सबै तहको सहयोग हुन्छ" भनी मुखैले मात्रै ठिक्क पार्ने एकाध ढाँट साहित्य-संस्कृतिप्रेमि भनाउँदाले '...छँदैछु नि !' भनी मलाई धेरैपल्ट भड़खालामा हालिसकेका कुरा किन लुकाउनु ?

हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, यो '...छँदैछु नि!' भन्ने अपूर्ण वाक्यले मलाई गतिलै वज्राघात गरेको छ । यसकारण मलाई ता लाग्छ, हाम्रो नेपाली भाषामा '....छँदैछु नि !' भन्ने चारवटा वर्ण किन मिलेर भाँड़्भैलो मच्चारहेछ ? म सोंच्न पनि सक्तिनँ । ".....छँदैछु नि !" भन्ने अपूर्ण अधूरो वाक्यमा नकरात्मक वा टकटकाउने वा टाटो मार्ने भाव पाइन्छ । अप्रत्यक्ष रुपमा कसैलाई टार्नु वा टकटकाउनु वा टाटो मार्नु हो भने, 'तपाईहरू गर्दै गर्नोस् न...छँदैछु नि !" भनि दिएपछि काम फत्ते । कति सजिलो अनि मिठाइलो बहना । साँप पनि ढ्याङ, लट्ठी पनि जस्ताको त्यस्तै ।

हाम्रो नपाली भाषामा '...छँदैछु नि !' भन्ने वाक्य नै नहुनुपर्ने भन्ने मेरो दावी मात्र होइन यो '...छँदैछु नि !' शब्दसित गतिलो घृणा पनि छ । आफू जोगिन, पन्छिनु, टाढ़िनुलाई हाँसी-हाँसी '...छँदैछु नि !' भन्यो ; सकियो । कति सजिलो वाक्य '...छँदैछु नि !' हई !

नेताहरूको ओँठैमा तुर्लङ्ग-तुर्लुङ्ग झुण्डिएको हुन्छ यो '...छँदैछु नि !' चुनाउको मुखमा बाह्र-बत्तीसका कुरा फलाक्दै भन्छन् - "यसपाली भोट दिएर मलाई विजयी बनाउनुहोस्...तपाईहरूका लागि '...छँदैछु नि' !" बस...चुनाउ पछि ".....छँदैछु नि !" भट्याउने नेताहरूको अनुहार देख्न पाए ता के । फेरि पाँच वर्षको निम्ति आश्वासनको भँड़ारमा ओथ्रा बस्छन् ।

सामान्य नाम चलेका साहित्यकारहरूलाई आफूले प्रकाशन गर्न लागेको पत्रिकाको निम्ति रचना माग्दा "भाइहरूले रचना बटुल्दै गर्ने... छँदैछु नि'' भनी रित्तो हात फर्काएका कुरा ढाँट अवश्यै होइन । साहित्यप्रति चासो राख्नेहरूकहाँ जानोस् कुरा ता उही '...छँदैछु नि !' कै आउँछ ।

युद्धभूमिमा '...छँदैछु नि !' ठ्याम्मै चल्दैन । सेनापति आफू ढुक्कैले बसेर तिनका सेनाहरूलाई "तिमीहरू शत्रुलाई फायर गर्दै गर...'...छँदैछु नि !" कदाचित् भन्दैनन् । युद्धभूमिमा कि 'कि मर ; कि मार" भन्ने कुरा आउँछ । दण़्डी अभियानमा महात्मा गान्धीले हजारौं-हजारौं आन्दोलनकारीलाई चम्काएर "तिमीहरू दण्डी अभियानमा हिँड़्दै गर...म ता छँदैछु नि !" भनी आफू बाख्राको दूध मुख मिठाउँदै खाइरहेनन् । तर गान्धी स्वयम् दण्डी अभियानमा अग्रिम पङ्क्तिमा अंशग्रहण गरेर फिरङ्गीहरूलाई आछु-आछु मात्र पारेनन् तर दण्डी अभियान सफल पारी छाड़े । त्यसरीनै खलङ्गाको युद्धमा फिरङ्गी विरुद्ध युद्ध गर्ने गोर्खा नर-नारी योद्धाहरूलाई चम्काएर वीर बलभद्रले "तिमीहरू फिरङ्गी विरुद्ध युद्ध गर्दै गर...म ता छँदैछु नि !" भनेर टाटो मार्ने काम गरेनन् ठ्याम्मै । आफू पनि युद्धभूमिमा होमिएर वीर गोर्खा सेनापतिको परिचय दिएको इतिहास साक्षी छ ।

खासै कुरा भन्नु हो भने, गाउँ-समाज-देश-भाषा- साहित्य-संसकृतिप्रति साँच्चै भुतुक्कै र हुरुक्कै हुनेहरूको शब्दकोशमा '...छँदैछु नि !' जस्तो घिनलाग्दो, नकारात्मक वाक्यले पटक्कै वास पाएको देखिँदैन ।
'नदिने बज्यै आइतबार बार्छिन्' भनेजस्तो '...छँदैछु नि !' वाक्य उच्चारण गर्नु नै उम्किने बहना मात्र हो भन्ने स्पष्टै बुझिन्छ । हाम्रो समाजमा हाम्रो साहित्य, संस्कृति तथा सङ्गीतले भनेजस्तो उन्नति र प्रगति गर्न नसकेको मुख्य कारण पनि यही '...छँदैछु नि !' नै हो भन्ने मलाई लाग्छ । '...छँदैछु नि !' वाक्य भट्याउने टपर्टुइय्येँ, बगम्फुसे समाजसेवक भनाउँदाहरूले नै यो '...छँदैछु नि !' शब्दलाई बदनाम पारेका छन् ।

'...छँदैछु नि !'-को ढाँट, बगम्फुसे आश्वासनले हाम्रो जातिलाई भीरको चिण्डो उँधो न उँभो भनेजस्तै बनाएको इतिहास बखानिरहने आवश्यक्ता देख्तिनँ म । '...छँदैछु नि !' को हतियार प्रयोग गरी हाम्रो आइडेण्टिटीको भाग्यमाथि बुर्कुसी मारेर रजाइँ गर्नेहरू पनि हामीले हाकाहाकी देख्यौं । '...छँदैछु नि !' भनी डङ्का पिटी तपाई-हामी सोझा-सिधालाई लोप्पा ख्वाएर आफू मौन बसी हाम्रो रणनीतिलाई भकिम्लोको काठजस्तै बनाइदिने छली, ढाँट, ठगार पनि हामीले नदेखेका होइनौं ।

खासै कुरा भन्नु हो भने, '...छँदैछु नि !' भन्ने अपूरो वाक्य अब हामीले हाम्रा जिब्राले उच्चारण गर्नु पूरै बन्द गर्नुपर्छ । कसैले पनि अब उसो '...छँदैछु नि !' तपाई-हामीलाई भन्छ भने भन्नेको जिब्रो थुतेर धुरी कट्याउनुपर्छ ।

'...छँदैछु नि !' शब्द हाम्रो जातिको निम्ति अत्यन्तै घातक हो भन्ने कुरा आज अहिल्यै नै सार्वजनिक गर्नुपर्छ । नत्र "जत्ति नै गरे पनि बराज्यू गेड़ा ता बाहिरै " भनेजस्तो मात्र हुन्छ ।

'...छँदैछु नि !'- नाश होओस् ।
'...छँदैछु नि !' - स्वाहा होओस् !!

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।