14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पहिलो कविता

लघुकथा ईगम खालिङ August 1, 2021, 11:53 am
ईगम खालिङ
ईगम खालिङ

सविताको परिवार दार्जीलिङको सानो गाउँबाट दिल्लीजस्तो महानगरमा बसाइ सरेको एक बर्ष भइसकेको छ। उनीहरू बसेको ठाउँ कङ्क्रिटैकङ्क्रिटका भवनहरूले भरिएको छ। कहिलेकाँही उसलाई महानगरको यान्त्रिकीकरणले बेसरी पोलेर ल्याउँछ। उसलाई स्कूल जान मन लाग्दैन। आफ्ना नयाँ साथीहरूसित पनि मन लाग्दैन। उसलाई मात्र आफ्नो गाउँको सम्झनाले सताइरहन्छ।

साँझमा एकलै टोलाइरहेकी सबिताले कोठाको एउटा खिड्कीबाट टाढा-टाढासम्म हेरिरहन्छे तर उसले हेर्न चाहेको क्षितिज कतै दिखाइदिँदैन। चैत महिना सुरु भइसकेको छ, अनि पहाडमा पनि हल्का गरम चढ्न थालिसकेको छ। यति बेला उसलाई आरुका फूलहरू हेर्ने मन लागिरहेको छ। आफ्नो गाउँमा हुँदा घरमुनिको आरुको बोट, तलतल पहाडका फेदमा बगिरहेका चाँदीका जस्ता खोलाहरू, अनि बादलहरूको घुम्टोमाथिबाट मुस्कुराइरहने कञ्चनजङ्घालाई एकपल्ट नहेरी उसको दिन सुरु हुँदैन थियो। फेरि उसलाई आरु, पैयुँ अनि नास्पातीका फूलहरू पूरा मनपर्छ।

कोठाभित्र बसेर निकै लामो विरक्तिसकेपछि उसलाई केही लेखेर मनलाई शान्त बनाउने इच्छा जागेर आउँछ। उसले मनमा जे-जे आउँछ त्यै-त्यै कागजमा सरसरती उतार्दै जान्छे। तीस-पैँतीस लाइनजस्तो लेखिसकेपछि उसलाई त्यसबाट पनि वाक्क लागेर आउँछ र खाताको त्यो एउटा पन्ना च्यातेर कच्याककुचुक पारी खिड्कीबाट तलतिर फ्याकिदिन्छे।

बेलुकीको खाना खान बस्दा टेबलमाथि त्यो कागजको डल्लो देख्दा सबिता एकपल्ट झसङ्ग हुन्छे। उसले उत्सुक्तासित आमालाई सोध्छे—“आमा! त्यो कागजको डल्लो के हो?” आमाले उज्यालो अनुहार बनाएर त्यो कागजको डल्लो खोल्दै भन्छिन्—“हेर्न, कसले यति मीठो कविता लेखर फ्याकेछ पो, मैले भेट्टाएर ल्याएको!” त्यसपछि आमाले त्यो कविता आफ्नो मधुर स्वरमा पढेर सुनाउँदा ऊ आमालाई हेरेको हेरेकै हुन्छे। उसले कहिले सोचेको थिएन कि उसले पनि कविता लेख्न सक्नेरहेछे भनेर ।

केही समयपछि सबिताले त्यो कागजको डल्लो कसैले चाल नपाउने गरी टेबलबाट झिकेर लान्छे। त्यसपछि आफ्नो कोठाको ढोकाभित्रबाट बन्द गरेर त्यो कविता बार-बार पढ्छे। राती निन्द्राबाट ब्यूँझदा पनि ऊ त्यो कविता एकपल्ट पढेर मात्र सुत्छे। उसलाई यस्तो लाग्छ कि त्यो कविताबाट उसले जीवनलाई उत्सवका रूपमा मनाउने एउटा बाटो पत्तो लगाइपठाई।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।