16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समृद्धि

कथा नारायण मरासिनी August 2, 2021, 12:57 am
नारायण मरासिनी
नारायण मरासिनी

लगभग तिन दसक भएको थियो म काठमाडौं बस्न थालेको । तत्कालीन अवस्थामा गाउँबाट एसएलसी पास गरेपछि क्याम्पस पढ्ने रहरमा काठमाडौं छिरेको थिएँ । पछिल्लो दसकदेखि चाहिँ आफ्नो परिवारसहित बसेको थिएँ, जीवनसँगिनी र एउटा छोराको साथमा । गाउँबाट रित्तो हात सहर पसेको मान्छे म । लगभग एक दसक त किताब कापीको झोला बोकेर क्याम्पसको कक्षाकोठा चहार्दैमा बित्यो । त्यसपछिको सानोतिनो कमाइमा रिनधन गरेर सहरको काँठमै भए पनि ओतसम्म लाग्न मिल्ने खालको एउटा बास बनाएँ । निकै सङ्घर्ष गरेर बिते आजसम्मका दिन । विगतलाई हेरिल्याउँदा जिन्दगीको आधाभन्दा बढीजसो बाटो हिँडिसकिएछ । म सँगैका गाउँले दौंतरी कतिपय त अझै पनि जाँडकै घैंटामा मुन्टो गाडेर बसिरहेका छन् । रक्सीको आहालमा पौडी खेल्न कहिल्यै नछोड्ने भए तिनीहरूले ! स्कुलमा मसँग सँगै पढेको होमप्रसाद रक्सीकै कारण पोहोर साल मुटु फुटेर मर्यो भन्ने सुनेको थिएँ । गाउँमा रक्सी नखाने ठिटाहरू भेट्न मुस्किल थियो । बुढाहरूले नै लत्तो छोडेपछि ठिटाहरू पो कसरी चोखो रहन सक्थे र ! खाए पनि आफ्नै ठेगानमा बसिदिए त हुन्थ्यो नि ! कहाँको बस्नु ! रक्सीको उन्माद बढ्दै गएपछि घरमा भाँडभैलो मच्चाउनु र अर्काकी छोरीबुहारीमा आँखा लगाउनु जँड्याहा ठिटाहरूका दैनिकी बन्न थालेका थिए । गाउँ यसरी भाँडिँदै गएको थियो । सुधार्नका लागि अगाडि सर्नुपर्ने नै भट्टी भट्टीमा झुमिरहेका हुन्थे, बाटो दोबाटोमा लडिरहेका हुन्थे ।
गाउँको अवस्था देखेर असाध्यै चिन्ता जाग्थ्यो । युवाहरू विभिन्न रोगका सिकार बनेर असमयमै इहलीला समाप्त पार्थे । म काठमाडौं बस्ने मान्छे । चिन्ताले छटपटाउँदैमा के नै हुन्थ्यो र ! शासन पद्धतिले पनि केही लछारपाटो लाएको महसुस गर्न सकेको थिइन मैले । पञ्चायती व्यवस्थाको विरूद्धमा उचालिएँ । बहुदलीय शासन पद्धतिमा केही होला कि भन्ने सोचेको थिएँ । केही भएन । गाउँ उस्तै रह्यो । मेरा स्कुले सहपाठी हुमनाथ, बद्री र लोकेन्द्रहरू उस्तै रहे । बानीव्यवहारमा कुनै सुधार आएन । भएन भनेर बहुदलीय शासन पद्धतिलाई पनि अस्ताचलमा पुर्याई जनयुद्धको बलमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । अब त केही हुन्छ कि भन्ने आशा जाग्यो । साँच्चै नै अब त शाब्दिक परिवर्तन मात्रै नभएर व्यावहारिक रूपमै परिवर्तनको अनुभव गर्न पाइन्छ भन्ने लाग्यो । अझ स्थानीय निकायको चुनावको घोषणा भएपछि त झन् बस्ती बस्तीमा आशाका किरणहरू उदाउन थाले ।
लगभग दुई दसकको अन्तरालमा चुनाव हुने नै भयो । जनताभन्दा पनि अझ बढी मात्रामा नेताहरू रमाउन थाले । हेलिकोप्टर लिएर ठाउँ ठाउँमा पुगी कार्यकर्तालाई ताली पिट्न लगाउँदै दमाहा र ढोलकीका तालमा उफ्री उफ्री नाच्न थाले । विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत सर्वसाधारणलाई पनि चुनाव सम्पन्न हुन सकेमा राम्रै हुन्छ भन्ने लाग्यो । आफ्नै गाउँबाट जनप्रतिनिधि छानिने हुँदा अब त गाउँघर पनि व्यवस्थित हुन्छन् भन्ने प्राय सबैजसो गाउँलेलाई लाग्न थाल्यो ।
साँच्चै चुनाव हुने नै भयो । सहर बजार, गाउँ बस्ती जताततै चुनावी लहर छाउन थाल्यो । चुनावी चटारो यस्तो देखिन थाल्यो कि मानौं, आकाशमा कालो बादल मडारिएको छ र किसान जतिसक्दो चाँडो काटेर खेतमा सुकाइएका धानका पाँजा उठाउनैमा व्यस्त छन् ।
मतदानका लागि सबै आआफ्ना क्षेत्रमा खटिन थाले । गाउँबाट सहरमा चर्न गएका पनि भोट हाल्नकै लागि भनेर आआफ्नै गाउँ फर्कन थाले, मैले मतदाता परिचय पत्रका लागि काठमाडौंमै फोटो खिचेको थिएँ तर मतदान केन्द्र चाहिँ आफ्नै जन्मथलो चिरगादी राखेको थिएँ । भोट हाल्नकै लागि भनेर चिरगादी आएँ । राज्यको पुनर्संरचना पछिको पहिलो चुनाव भएर होला सायद् गाउँबासीहरू निकै उत्साहित थिए । भोट हाल्नका लागि आतुर थिए । भट्टीपसल, चौतारो, मेलापात जताततै चुनावी चर्चा थियो । गाउँलेहरू आआफ्ना पार्टीका उम्मेद्वारलाई जिताउनका लागि समूह समूहमा विभक्त थिए । चुनावी सन्दर्भलाई लिएर गरमागरम बहस हुन थालेको थियो ।
हाम्रो गाउँपालिकाको अध्यक्ष पदमा मेरै गाउँका भाइ पर्ने हरिप्रसाद उठेका थिए भने मेरो वडाको वडाध्यक्ष पदमा काका पर्नेका छोरा खिमलाल थिए । मेरा भाइखलकका उम्मेद्वार थिए यी । उमेरले दुबै भर्खर गधापच्चिसी नाघेका मात्र । जम्मा सात वडामा विभाजित यस गाउँपालिकामा अन्य प्रतिस्पर्धी दलको उपस्थिति कमजोर थियो । विगत बहुदलीय शासन पद्धतिका चुनावमा निरन्तर विजय हासिल गर्ने पार्टीले नै यसपटक पनि चुनाव जित्ने निश्चित थियो । कारण यस क्षेत्रमा उक्त दलको इतिहासदेखि नै विशेष प्रभाव थियो, बर्चस्व थियो र पढालेखा एवम् सचेत मान्छे पनि धेरैजसो यही दलमा समेटिएका थिए ।
गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार हरिप्रसाद दस कक्षासम्म पढेर एसएलसी पास गरेपछि केही समय विदेश हानिएका थिए । फर्केर आफ्नै घरगाउँमा सानोतिनो पसल गरी बसेका । मान्छे टाठै थिए, परि आउँदा अरुलाई पनि सहयोग गर्ने स्वभावका । वडाध्यक्ष पदका उम्मेद्वार खिमलाल प्लस टु पढेर छाडेका । यी दुबै युवा पुस्ताका उम्मेद्वार । गाउँबासीमा केही गर्छन् भने यिनीहरूले नै गर्छन् भन्ने थियो ।
मैले आफ्नै गाउँको केन्द्रबाट मतदान गरेँ । तुरून्तै काठमाडौं फर्कन मन लागेन । आफ्नो गाउँको चुनावी परिणाम आएपछि मात्रै फर्कने विचार गरेँ । मतदान सम्पन्न भएको तेस्रो दिनमा परिणाम निस्क्यो । परिणाम अधिकांश गाउँलेले सोचेअनुरुपकै भयो । बहुमत युवाहरूकै पक्षमा आयो । ठुलो मतान्तरले गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण वडाका वडाध्यक्षले विजय हासिल गरे । विजयको उन्मादमा बाजागाजासहितको र्याली गाउँ गाउँमा घुम्न थाल्यो । विजयी सबैलाई बधाई दिएँ र म काठमाडौं फर्कने सुरसारमा लागेँ ।
राजमार्ग निस्कनलाई चार पाङ्ग्रे महिन्द्रा जीप चढेँ । निकै भिड थियो । पछाडिपट्टिको भागमा सकिनसकी कोच्चिएको थिएँ म । जीपमा यात्रुको छलफल पनि चुनावी परिणाममै केन्द्रित थियो । मेरै सामु बसेका एउटा बुढा बाले निरासा पोखे, “सबै जँड्याहा केटाहरूले चुनाव जिते, लच्छिन गतिलो छैन ।” अर्का बुढा बा, सायद् यी दुबै एउटै गाउँका थिए, उनले पनि सही थाप्दै थपे, “हो त नि, अरू गाउँपालिकाका तुलनामा यो गाउँपालिकाका प्रतिनिधि कमजोर भए ।”
बुढाहरुको कुरा सुन्दा मलाई जङ चलेर आयो । मेरो आफ्नै गाउँका भाइहरुलाई गरेको अपमान मेरा लागि सह्य थिएन । गाउँपालिकाका प्रमुख हरिप्रसाद भाइ र मेरै वडाका वडाध्यक्ष खिमलाललाई मेरो विचारमा जँड्याहा ठिटामा गन्न मिल्दैनथ्यो । मैले उनीहरुले पनि जाँड खान्छन् भन्ने थाहा पाएको थिइन । मेरा सामु उनीहरुले कहिल्यै पनि जाँड खाएका थिएनन् । मलाई यी दुई ठिटामाथि पूरापूर विश्वास थियो– गाउँका लागि केही गर्छन् भने यिनीहरुले नै गर्छन् । तर म काठमाडौं बस्ने मान्छे, के थाहा ? यिनीहरुले पनि खुसुखुसु जाँड खाएर उपद्रव पो मच्चाउने गरेका छन् कि ! आखिर कसको मनमा को पस्न सक्छ र ?
यद्यपि मैले बुढाडरूसँग मज्जैले प्रतिवाद गरेँ । बुढाहरू केही हच्के र कुराकानीलाई अन्यत्रै मोड्न थाले । राजमार्गको स्टेशनमा ओर्लेर मैले आफ्नो गन्तव्यको बस समातेँ । बसमा पनि चुनावी परिणामकै विश्लेषण गर्दै थिए यात्रुहरु । मैले चाहिँ उनीहरुको कुरामा त्यति चासो नराखी आफूले यात्रामा पढ्न भनेर लगेको उपन्यासको बाँकी अंशमा आँखा लगाउन थालेँ ।
काठमाडौं फर्केपछि म आफ्नै तानेमानेमा व्यस्त रहन थालेँ । बिहान उठ्यो, केही समय लेखपढ गर्यो, पत्रपत्रिका हेर्यो । दिउँसो अफिस । बेलुका फक्र्यो । एक\डेढ घन्टाको समय टेलिभिजन, तत्पश्चात् खाना खाएर डेढ\दुई घन्टाको लेखपढ । दैनिकी यसरी नै बित्न थाल्यो । शनिबार वा बिदाका दिनमा चाहिँ सामाजिक-साहित्यिक कार्यक्रममा हिँड्ने, कहिलेकाहीँ साथीभाइहरूसँग छलफलमा जुट्ने गर्थें । यसैलाई निरन्तरता दिँदै गएँ । आर्थिक उपार्जनका नभई सांस्कृतिक उपार्जनका गतिविधिमा क्रियाशील हुने नशा चढेको थियो ममा । यो नशा चाहेर पनि छोड्न सक्दिनथेँ म ।
अब मलाई गाउँघरको चिन्ता थिएन । सिंहदरबारको सरकार नै गाउँतिर पसेपछि गाउँहरू पनि समृद्ध र सबल हुन्छन् भन्नेमा म विश्वस्त थिएँ । सरकारले नै ‘सिंहदरबारको सरकार गाउँ गाउँमा’ भन्ने नारा दिएको थियो । र थपेको थियो– ‘सरकार सानातिना र झिनामसिना कुरामा अल्झिँदैन, सरकारको अबको एजेन्डा भनेकै विकास र समृद्धि हो ।’ यसबाट पनि गाउँमा आमूल परिवर्तन हुन्छ र गाउँका निर्धा निमुखाको जीवन स्तरमा समृद्धि छाउँछ भन्नेमा म ढुक्क थिएँ ।
हृदयमा जाँगर र पाखुरामा बल भएका युवाहरू निर्वाचित भएका छन् । उनीहरु पक्कै पनि दिनरात नभनी आफूलाई गाउँकै सेवामा समर्पण गरिरहेका छन् । आखिर समाज बनाउने भनेकै युवाहरूले हो । देश बनाउने जिम्मा युवाहरूकै काँधमा हुन्छ । केटाकेटी केटाकेटी नै भैहाले, बुढाबुढी डाँडामाथिका जून । हाम्रो देश जहाँ सहरबजारको तुलनामा गाउँको बाहुल्य छ । हाम्रो प्राण भनेकै गाउँ हो । प्राण जोगाउनका लागि क्रियाशील त हुनै पर्छ । आखिर क्रियाशीलता भन्नु सङ्घर्ष र सङ्घर्षको अर्को नाम नै जीवन भएपछि सङ्घर्ष नगरी जीवनको अस्तित्व पो कहाँ रहन्छ र ! त्यही सङ्घर्षलाई व्यवस्थित गर्नका लागि त जनप्रतिनिधिहरू चुनिएका हुन् र स्थानीय सरकार बनेको हो ।
यस्तै यस्तै तर्कना पालेर मैले काठमाडौंमा दिनहरु घिसारिरहेको थिएँ । स्थानीय निकायको चुनावपछि गाउँ फर्केको थिइन । गाउँ नफर्केको छ\सात महिना भएको थियो । यसै बिच एक साँझ गाउँबाट फोन आयो । आमा बोल्नुभयो, “बाबु ! बुवालाई बेथाले झन्झन् चाप्न चालेको छ । असाध्यै कम्जोर हुनुभा’छ । तिमी छिट्टै आ’र एकपटक त काठमाडौं लैजाऊ भो । राम्रो डाक्टरलाई देखा’र ओखती गर्न पर्यो ।”
बुबा उमेरले भर्खरै असी काट्नुभएको थियो । दम र अल्सरले गाँजिसकेको थियो । औषधि पनि नियमित सेवन गर्नुहुन्थ्यो । बुबालाई एकपटक काठमाडौं ल्याएरै राम्रोसँग जँचाउने सोच बनाएँ मैले । भोलिपल्टै गाउँतिर लाग्ने मनसायले अफिसमा बिदा मिलाएँ । बिहान सबेरै उठी कलङ्कीबाट बस चढेँ । जन्मथलोको परिवेश र बुबाको अनुहार चलचित्रका दृश्य झैं एकपछि अर्को मानसपटमा छाइरहे । बाटो काटेको पत्तै भएन । उही मुग्लिनमा खाना खाँदा बाह्य परिवेशको दर्शन भयो अन्यथा बसबाट आँखाले बाहिर देखे पनि मनले चाहिँ आफ्नै जन्मथलोको तस्बिर खिचिरहेको थियो ।
बस पोखरा हुँदै अगाडि बढेपछि मेरो गन्तव्यको स्टेशन आइपुग्यो । बसबाट ओर्लें । त्यसपछिको कच्ची बाटामा लाग्ने जीप छुटिसकेको रहेछ । अब पैदलै हिँडे पनि साढे दुई घन्टा जतिको बाटो न हो भनी हिँड्ने सुर गरेँ । जीप पाएको भए जीपले लगभग एक घन्टामा चिरगादी भन्ज्याङ पुर्याउँथ्यो । त्यसपछि भने जीपबाट ओर्लेर आधा घन्टा जति पखेराको गोरेटो तेर्सो हिँडेपछि मेरो घर आउँथ्यो । राजमार्गबाट भन्ज्याङसम्म मोटर गुड्ने कच्ची बाटो केही उकालो र अप्ठेरो पनि थियो । छोटा छोटा घुम्ती बढी थिए । यस अर्थमा जीपलाई भन्ज्याङ निस्कन एक घन्टा लाग्थ्यो भने कस्सिएर हिँड्न सक्ने मान्छे जीपको बाटो छाडी पुरानै गोरेटो समाउँदा हिँडेरै पनि दुई घन्टामा पुग्न सक्थ्यो ।
चिरगादी मेरो गाउँपालिकाको नाम र चिरगादी भन्ज्याङ चाहिँ मेरो गाउँपालिकाको केन्द्र अर्थात् सदरमुकाम । भन्ज्याङ, जहाँ गाउँपालिकाको कार्यालय भवन, एउटा हाइ स्कुल, एउटा स्वास्थ्य चौकी, प्रहरी चौकी, एउटा विकास बैंकको शाखा कार्यालय, केही किराना पसल र केही भट्टी पसल पनि । यही हाइ स्कुलबाट त हो नि, ऊ जमानामा मैले एसएलसी पास गरेको ।
म भन्ज्याङमा पुग्दा घाम अस्ताउनै लागेका थिए । कतै पनि ठुस्स नबसी सरासर चढेको थिएँ दुई घन्टाको उकालो । शरीर पसिनाले लछप्पै भिजेको थियो । मुग्लिनमा खाना खाएपछि दिनभर मुखमा केही परेको थिएन । बाटामा चिया पिउने अनुकूल पनि मिलेन । बसमा एक बोतल मिनरल वाटर चाहिँ पिएको थिएँ । उकालाको बिचतिरै आइपुग्दा तिर्खा लागेको थियो । तर पिउन हुने राम्रो पानी नभेटिएकाले पिउन पाएको थिइन । अलिअलि भोक पनि लाग्न थालेको थियो । यस भन्ज्याङबाट आधा घन्टामा घर पुगिन्थ्यो । यसर्थ म तिर्खा र भोक मेटाउने उद्देश्ले साइँली दिदीको भट्टी पसलमा छिरेँ ।
पहिले हामी ‘साइँली दिदीको भट्टी’ भन्ने गथ्र्यौं । साइन बोर्ड थिएन । त्यस समयमा उनी अधबैंसे थिइन् । चना, चिया र उसिनेका अन्डा बेच्थिन् । दुइटा चियाका काला कित्ली, एउटा सिल्टेको दिउरो र एक–दुईवटा तपेसका भरमा उनले भट्टी चलाएकी थिइन् । छोरीहरु साना थिए । आज तिनै छोरीहरु तरूनी भएका छन् । भट्टीमा परिवर्तन आएको छ । अहिले चाहिँ अगाडिपट्टि साइन बोर्ड पनि झुन्डिएको छ र त्यसमा ठुला अक्षरमा लेखिएको छ, “होटल साइँली एन्ड रेष्टुरेन्ट” ।
म बाहिर सामान्य ग्राहकका निम्ति राखिएको एउटा बेन्चमा बसेँ । भित्रको कोठाबाट आएको चर्को आवाजयुक्त हल्ला र ठुलो हाँसो मेरो कानबाट छिर्यो । सोधेँ, “भित्र को को छन् र हो साइँली दिदी ?”
“हाम्रै गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष, सिडिओ साहेप, अरू को को हुन् कुन्नि ! धेरै नै छन् ।” साइँली दिदीले जबाफ फर्काइन् । “सबै जम्मा भएका रहेछन् त ! के रहेछ आज त्यस्तो ?” मैले पुनः साइिँली दिदीतिर जिज्ञासु नजर तेस्र्याएँ । “दिउँसो एउटा कार्जेक्रम थियो, भर्खर सकेर ऐले खाजा खान बसेका ।” साइँली दिदीले मेरो जिज्ञासाको शमन गरिन् ।
पसिना ओभाइसकेको हुँदा पानी पिएँ र म पनि को को रहेछन् त भनी भित्र छिरेँ । भित्री कोठा केही ठुलो थियो । हल जस्तो भनौं । अर्थात् त्यस कोठामा दस-बाह्र जना अटाउँथे । म त्यस कोठाको ढोकैमा पुगेँ । ढोका आधा ढप्क्याइएको थियो । भित्र चारैतिर नजर डुलाएँ । प्राय सबै वडाका वडाध्यक्ष, गाउँपालिकाका प्रमुख लगायत अरू मैले नचिनेका पनि केही मान्छे रहेछन् । सायद् मैले नचिनेका मान्छे पनि गण्यमान्य नै थिए । सबैका अगाडि मासुचिउराका प्लेट र एक एकवटा गिलाँस । टेबुलको बिच भागमा ठडिएको थियो एउटा खुकुरी रमको फुल बोतल । दुईवटा पानीका जग । टेबुलमा यी बाहेक अरू दुईतिनवटा बियरका बोतल पनि ।
“सबैलाई नमस्कार छ है !” मैले दुबै हात जोडेर नमस्कार टत्र्mयाएँ । सबैले एकैचोटि मेरो अनुहारतिर दृष्टि फ्याँके । मेरै वडाका वडाध्यक्ष अर्थात् काकाका छोरा खिमलाल मलाई सिधै अङ्कमाल गर्न आइपुगे । म बस्दिन भन्दाभन्दै पनि निकै कर गरेर उनले मलाई एउटा कुर्सीको बन्दोबस्त मिलाएर बसाले । उनैले सबैसँग चिनापर्ची पनि गराए । दिउँसोको कार्यक्रमका मुख्य अतिथि पनि त्यहीँ रहेछन् ।
“म त भर्खर आउँदै गरेको, केही बुझ्नै सकिन । दिउँसो के कार्यक्रम थियो र यहाँ ?” मैले अनविज्ञता प्रकट गरेँ । मेरो आवाज सुनेपछि कोठामा एकपटक ठुलो हाँसो गुन्जायमान भयो । हाँसोको लहर केही थामिएपछि गाउँपालिकाका प्रमुखले भने, “गाउँमा मदिरापानका कारण झैझगडा र कुटपिट बढ्दै गएकाले हामीले आजैबाट चिरगादी गाउँपालिकालाई मदिरा निषेधित गाउँपालिका घोषणा गर्यौं ।” र उनले अझ अगाडि थपे, “अहिले चाहिँ अन्तिमको खुसियाली स्वरुप.... ।”
“हाम्रो यो निर्णय निकै दूरगामी महत्वको रहने छ,” वडा नं.– ७ का वडाध्यक्षले थपे ।
“घरेलु मदिरा मात्रै निषेधित हो है फेरि... !” अर्का वडाका अध्यक्षले हँसिलो मुहारमा स्वर निकाले ।
पुनः एकपटक सामूहिक हाँसो गुन्जियो ।
त्यहाँ उपस्थित सबै हाँस्दा पनि मेरो ओठबाट चाहिँ हाँसो निस्कन सकेन ।
दिउँसोको घोषणा कार्यक्रमका प्रमुख अतिथि साइँली दिदीले भनेको सिडिओ सा’प नभई सहायक सिडिओ रहेछन् । उनी हाँसी हाँसी भन्दै थिए, “अब यी होटल, रेष्टुरेन्टका मदिरा पनि आजै सकिदिनु पर्छ । खेरा पो किन फाल्नु र है !” सबैको मुहारबाट थामी नसक्नुको हाँसो आयो । उनले गाउँपालिकाका प्रमुखतर्फ लक्षित गर्दै थपे, “बरू भोलिबाटै किनबेच बन्द गराउँदा राम्रो !”
सबैले खुसियाली स्वरुप पिइरहेको सन्दर्भमा मलाई समेत पिउनका लागि कर गरियो । म खासै रक्सी नपिउने मान्छे । सबै ठुलाबडाका सामुबाट फुत्केर भाग्न अप्ठेरो भयो । उनीहरुको मन राखिदिनका लागि पनि मलाई पिउनै पर्ने बाध्यता आई लाग्यो । नपिई सुख पाउने छाँट देखिन । नपिउनका लागि गरेका मेरा सबै प्रयत्न असफल भए । ‘बुबा बिरामी हुनुहुन्छ । म बुबालाई उपचारका लागि लिन आएको हुँदा जतिसक्दो चाँडो घर पुग्नु छ’ भन्दा पनि उनीहरुले सुखै दिएनन् । मैले मुख बिटुल्याउनै पर्ने भयो । चिया खाने गिलाँसको आधा जति हुँदो हो सायद्, गाउँको समृद्धि पान गरेर मैले तत्कालै आफ्नो घरको बाटो तताएँ ।

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।