14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

डा. जीवन नामदुंगको व्यक्तित्व र कृतित्व

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व August 1, 2021, 12:07 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

डा. जीवन नामदुंग भारतीय नेपाली साहित्य जगतका एक सुपरिचित, प्रतिष्ठित एवं प्रतिभावान् व्यक्तित्व हुन्। उनको जन्म दार्जीलिङको छेउ सोनादाको नजिकै पर्ने मुण्डाकोठी चियाकमान निवासी पिता नरदीप राई र माता सञ्चमाया राईको परिवारमा 8 सितम्बर 1951 को दिन भएको थियो। परिवारमा उनी पाँच जना दाज्यु-भाईहरुमध्ये सबैभन्दा कान्छा हुन् । उनीपछि एउटी बहिनी छिन्। बाल्यकालमा उनको प्राथमिक शिक्षा मुण्डाकोठी प्राथमिक पाठशालाबाट आरम्भ भएको थियो। उनले माध्यमिक तहको शिक्षा सोनादाको शान्तिरानी हाई स्कुलबाट प्राप्त गरे। त्यसपछि दार्जीलिङ सरकारी कलेजबाट प्रि-युनिभर्सिटीको अध्ययनपछि तिनले सन् 1976 मा बी.ए. अनर्स (नेपालीमा सम्मान सहित) उतिर्ण गरेका थिए।
त्यसपश्चात् सन् 1977 मा उनी डुवर्सको सामसिङ हाई स्कुलमा सह-शिक्षकको रुपमा अध्यापन गर्न लागे। तिनले डुवर्स क्षेत्रमा शिक्षण कार्य तथा साहित्य सेवामा आफ्नो जीवनको युवा अवस्थाको बहुमुल्य समय लगभग एक दशक व्यतित गरेका थिए। यहीँबाट उनले आफ्नो प्रथम कृति ‘नेपाली साहित्यका भौंप्वालहरू (समालोचनात्मक लेख सङ्ग्रह- सन् 1978) प्रकाशित गरे। यसबाहेक उनले दुईटा जीवनी ग्रन्थ 1) जयदेव (अंग्रेजीबाट नेपालीमा – सन् 1984) र 2) जयशङ्करप्रसाद (हिन्दीबाट नेपालीमा-सन् 1985) पनि अनुवाद गरेका थिए। सन् 1977 मा नै उनले आदिकवि भानुभक्तको जीवन चरित्रमा आधारित एउटा ऐतिहासिक नाटक ‘कारागारभित्रको स्वतन्त्र कवि’ लेखेर सामसिङ हाई स्कुलमा मञ्चन गराएका थिए। डुवर्समा छँदा उनले यहाँका अग्रज लेखक, साहित्यकारहरूको खोजबीन गर्ने र यहाँको समकालीन साहित्यिक गतिविधिलाई अघि बढाउने कार्यमा पनि निकै सक्रिय रुपमा देखा परेका थिए। उनका तत्कालीन केही खोजपरक लेखहरू ‘डुवर्सको ऐतिहासिक सन्दर्भमा धमिलिन लागेका नाम द्वय’, ‘डुवर्सको प्रथम पुस्तिका धामीको सवाई’, ‘स्व. किर्तिमान प्रधान - एक चिन्हारी’ आदि ‘टिस्टा-सुनकोश’ पत्रिकाको डुवर्स विशेषाङ्क (1981)-मा प्रकाशित भएका थिए भने अन्य लेखहरू ‘कथा साहित्यमा डुवर्सको योगदान’ हिमाल वर्ष 1 अङ्क 1 (1981)-मा, ‘डुवर्समा नेपाली भाषाको स्वरूप र भाषा आन्दोलन’ नेपालबाट प्रकाशित भानु पत्रिकाको डुवर्स विशेषाङ्क (1984)-मा, ‘नेपाली उपन्यास साहित्य र डुवर्स’ मनन प्रवेशाङ्क (1982)-मा, ‘डुवर्सका दुई कथाकार एक चिन्हारी’ भानु वर्ष 24 पूर्णाङ्क 64 (1986)-मा, मणिकुमार थापाको गीतिकाव्य डुवर्स आदि प्रकाशित भएको पाइन्छ। डुवर्सको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक स्थिति, नेपाली समाज र यहाँको जनजीवनसित जोडिएका समस्याहरुलाई उनले धेरै नजिकबाट बुझेका छन् र उनका अन्य धेरै रचना तथा कृतिहरूमा त्यसको झलक देख्न पाइन्छ। दृष्टान्तको रुपमा उनको एउटा भावात्मक कविता ‘डुवर्स दुख्छ’ लाई लिन सकिन्छ। त्योबेला सामसिङबाट उनको सम्पादनमा एउटा समाचार प्रधान मासिक पत्रिका ‘डुवर्स आवाज’ (सन् 1977-78) र अर्को एउटा साहित्यिक पत्रिका ‘टेवा’ (1980-81) पनि प्रकाशित भएको थियो। सामसिङ हाई स्कुलमा अध्यापन अवधिमा नै उनले उत्तर बंगाल विश्वविद्यालयबाट सन् 1982 मा एम.ए. (नेपालीमा) उतिर्ण गरेका थिए। त्यसपछि उनले बी.एड. पनि गरे। तर सन् 1985 मा उनी पश्चिम बङ्गाल राज्य सरकार अधीन नेपाली भाषा अनुवाद कार्यालय (विधि विभाग)-मा नियुक्ति पाएर दार्जीलिङ गए। सन् 1981 मा उनले बिहे गरिसकेका थिए। आफ्नो जन्मस्थानको निकट दार्जीलिङको परिवेशमा रहेर सरकारी नोकरी गर्न पाउनु उनको परिवारको निम्ति पनि धेरै राम्रो अनि सुविधाजनक थियो। वहाँ पुगेर उनले आफ्नो अध्ययन र लेखनमा एकचित्त भइ साहित्यमा अझ धेरै कार्य गर्ने अवसर पाए।

युवा अवस्थादेखि नै साहित्यप्रति उनको झुकाव रहेको थियो। विध्यार्थी जीवनमा सन् 1968 मा उनको प्रथम कविता ‘सुस्केरा’ दार्जीलिङबाट निस्किने साप्ताहिक पत्रिका ‘पश्चिम बङ्गाल’-मा प्रकाशित भए पश्चात् उनको साहित्यिक यात्रा शुरु भएको थियो। सन् 1970-71 तिर मुण्डाकोठीबाट उनको सम्पादनमा साहित्यिक पत्रिका ‘जागरण’ प्रकाशित भएको थियो। डुवर्सबाट दार्जीलिङ फर्केपछि सन् 1986 मा उनले आफ्नो सम्पादनमा ‘सुयोग’ नामको साहित्यिक पत्रिका प्रकाशित गरे। सन् 1986 मा नै उनको प्रथम कविता सङ्ग्रह ‘जीवन नामदुंगका कविताहरू’ विन्दु प्रकाशन, लामडिङ, आसामबाट प्रकाशित भएको थियो। सन् 1987-88 मा उनी साहित्य अकादमी, नयाँ दिल्लीका सदस्य भए अनि त्यहि अवधीमा उनी उत्तर बङ्गाल विश्वविध्यालय अधीन नेपाली अकादमीका सदस्य पनि रहेका थिए। उनले कथा, कविता, नाटक, संस्मरण, समालोचना, खोजपरक लेख, निबन्ध, जीवनी, अनुवाद आदि विधामा निरन्तर कलम चलाईरहे अनि उनका धेरै फुटकर रचनाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भए। यसबाहेक अङ्ग्रेजी भाषामा लेखिएका उनका लेख र कविताहरु पनि विभिन्न अग्रेजी पुस्तक र पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। सन् 1990 मा उनले हरिभक्त कटुवालको जीवन चरित्रात्मक तथा समीक्षात्मक पुस्तक ‘हरिभक्त कटुवाल’ (मोनोग्राफ) प्रकाशित गरे। सन् 1991 मा उनको दोस्रो कविता सङ्ग्रह ‘समय चुपचाप बोल्छ’ संजीवनी प्रकाशन, दार्जीलिङबाट प्रकाशित भयो । सन् 1992 मा उनको खोजपरक समालोचनात्मक लेखहरूको सङ्ग्रह ‘पर्यवेक्षण’ श्याम ब्रदर्स प्रकाशन, दार्जीलिङले प्रकाशित गरयो। यस पुस्तकको निम्ति उनलाई साहित्य अकादमी, नयाँ दिल्लीले सन् 1994 –को साहित्य अकादमी पुरस्कार प्रदान गरेर सम्मानित गर्यो। नेपाली साहित्यका प्रबुद्ध समालोचक इन्द्रबहादुर राईको ‘नेपाली उपन्यासका आधारहरू’ र गुमानसिंह चामलिङको ‘मौलो’ पछि समालोचना विधामा लेखिएको कृतिलाई प्रदान गरिएको यो तेस्रो साहित्य अकादमी पुरस्कार थियो। सन् 1996 मा उनले त्रिभुवन विश्वविध्यालय, काठमाड़ौंबाट ‘अगमसिंह गिरीका कविताको अध्ययन र विश्लेषण’ -माथि तयार गरिएको शोधप्रबन्धको निम्ति विध्यावारिधि (पी.एच.डी) उपाधि हासिल गरे। त्यसपछि सन् 2000 मा उनको ‘महामानव’ (खण्ड काव्य) प्रकाशमा आयो। त्यही वर्ष उनको सम्पादनमा ‘समकालीन नेपाली समालोचना’ साहित्य अकादमी, नयाँ दिल्लीले प्रकाशित गरयो। यस पुस्तकमा भारतीय नेपाली साहित्यका 32 जना वरिष्ठ लेखकहरूका उत्कृष्ट समालोचनात्मक लेखहरूको सङ्कलन गरिएको छ। सङ्कलनमा डुवर्सका समालोचक मननारायण प्रधानको समालोचनात्मक लेख ‘मणिकुमार थापाको डुवर्स गीति-काव्यको विश्लेषण’ लाई समावेश गरिएको छ। सन् 2000 मा नै उनको अर्को कृति ‘अगमसिंह गिरीका कविताको अध्ययन र आधार’ (समालोचना) श्याम ब्रदर्स प्रकाशन, दार्जीलिङले प्रकाशित गर्यो । यो उनको शोध ग्रन्थको संशोधित अनि संवर्द्धित संस्करण हो। यस ग्रन्थको अङ्ग्रेजी अनुवाद ‘Background And Study of The Poems of Agam Singh Giri’ नेपाली साहित्यकी प्रतिष्ठित लेखिका सुश्री मणिका मुखियाले गरेकी छन्। सन् 2001 देखि 2008 सम्म उनी नेपाली साहित्य सम्मेलनको मुखपत्र ‘दियालो’-का सम्पादक रहेका थिए। सन् 2001 मा उनको सम्पादनमा चार जना नेपाली साहित्यका विशिष्ट कथाकारका चारवटा कथा सङ्ग्रह – प्रेम थापाका कथाहरू, गाब्रियल रानाका कथाहरू, सुखनमका कथाहरू र हरिप्रसाद गोर्खा राईका कथाहरू प्रकाशित भए। यसबाहेक कुमार घिसिङको कविता सङ्ग्रह ‘बलिको पर्वत’ (सन् 2005), ‘रञ्जित सुब्बाका कथाहरू’ (सन् 2007), बल देवानका कथाहरू (सन् 2007), स्वतान्त्रतोत्तर कालका नेपाली कथाहरू (सन् 2008) आदिका पनि उनले सम्पादन गरेका थिए। त्यहि अवधिमा उनका ‘वैशाख’ (कविता सङ्ग्रह, सन् 2002), मितेरी साइनो (लेख सङ्ग्रह-सन् 2005), उल्लेख (समालोचना, सन् 2006), समारोहमा/समारोहहरूमा (कविता सङ्ग्रह-सन् 2008), भूमिका कतिपय (भूमिकाहरूको सङ्कलन – सन् 2009), अक्षर अभिलेख (कविता सङ्ग्रह – सन् 2010) जस्ता कृतिहरू प्रकाशमा आए। सन् 2001 मा उनको व्यक्तित्व र कृतित्वबारे त्रिभुवन विश्वविध्यालयका स्नातकोत्तर तहका निम्ति फणिन्द्र नाथ शर्माद्वारा एउटा शोधपत्र ‘साहित्यकार जीवन नामदुंग : व्यक्तित्व र कृतित्वको अध्ययन’ प्रस्तुत गरिएको थियो। सन् 2005 मा उनले सलेसियन कलेज, सोनादा, दार्जीलिङबाट प्रकाशित पत्रिका ‘आलेख’-को सम्पादन गरे। सन् 2006 देखि 2008 सम्म तिनी नेपाली साहित्य सम्मेलन, दार्जीलिङका अध्यक्ष रहेका थिए। सन् 2008 देखि 2012 सम्म उनी साहित्य अकादमी, नयाँ दिल्लीका नेपाली परामर्श समितिका संयोजक रहे। यस अवधिमा भारतीय लेखकहरूका प्रतिनिधिका रुपमा सन् 2009 मा लन्डन अनि सन् 2011 मा चीनको भ्रमण पनि उनले गरेका थिए। सन् 2008 मा नै अङ्ग्रेजी भाषामा भानु छेत्रीद्वारा अनुदित उनको एउटा काव्यकृति ‘Outstanding Dreams of a Disposed Hill’ प्रकाशित भएको थियो । उनको खण्ड काव्य ‘महामानव’ लाई डा. जयन्तकृष्ण शर्माले असमिया भाषामा अनुवाद गरेका छन् जो सन् 2010 मा प्रकाशित भएको छ। सन् 2009 मा एउटा द्विभाषिक पुस्तक ‘Transitions in Cultural Linguistic Space : The Nepali Speaking Community in Darjeeling’ प्रकाशनमा आएको थियो। यस पुस्तकलाई तयार पार्ने कार्यमा डा. जर्ज थाडाथिल, डा. जीवन नाम्दुंग र डा. ललिता राई अहमदको विशेष भूमिका रहेको थियो।यसका अतिरिक्त डा. जर्ज थाडाथिल र डा. जीवन नाम्दुंग मिलेर अंग्रेजीमा ‘Aalekh : Cultural Identity in Nepali Language and Literature पनि पुस्तकको रुपमा प्रकाशमा ल्याएका थिए। सन् 2012 मा उनको अर्को कृति ‘शिवकुमार राईका नाटकहरू : एक अध्ययन’ नेपाली साहित्य सम्मेलन, दार्जीलिङले प्रकाशित गरयो । सन् 2012 मा पश्चिम बङ्गाल राज्य अधीन रहेको सरकारी भाषा अनुवाद विभागको प्रमुख अधिकारीको पदबाट उनले अवकाश ग्रहण गरे।
सरकारी नोकरीबाट अवकाश ग्रहण गरेको दुई वर्षपछि 15 नोभेम्बर सन् 2014 मा उनले दार्जीलिङको एउटा समारोहमा एकै चोटी 14 वटा कृतिहरूको प्रकाशन अनि विमोचन गरी साहित्यिक तथा पाठकवर्ग सबैलाई आश्चर्य चकित पारिदिए। सम्भवत: यो विश्व रिकर्ड नै हों। ती प्रकाशित कृतिहरू हुन् - 1) बोधार्थ (समीक्षा), 2) जीवन नामदुंगका निर्वाचित कविता (कविता सङ्ग्रह), 3) केही गीत केही मुक्तक, 4)विश्वनाथ तिवारीका केही चयनित कविताहरू (अनुवाद) 5) अक्षया (ओम नारायण गुप्तद्वारा हिन्दीमा अनुदित कविता सङ्ग्रह), 6) अनावरण (मैना थापाद्वारा हिन्दीमा अनुदित कविता सङ्ग्रह), 7) यादहरूको यन्त्रणा शिविरमा (संस्मरण), 8) द्रष्टव्य (निबन्ध सङ्ग्रह), 9) खस्रो मसिनो (कथा सङ्ग्रह), 10) केही सम्पादकीय केही पाठकीय, 11) मेरा दुई नाटक, 12)श्री सुवास देवानद्वारा अङ्ग्रेजीमा अनुदित उनको काव्यकृति ‘‘For the Time Being from Darjeeling’ 13) भूमिका कतिपय (भाग दुई), 14) Haribhakta Katuwal (Historical Biography in English) । यसबाहेक सन् 2014 मा उनका अझै दुई वटा कृतिहरू प्रकाशमा आएका थिए - बखत बहादुरहरू (कविता सङ्ग्रह) र अनुहारको आयतन (निबन्ध सङ्ग्रह) । सन् 2017 मा उनका चारवटा महत्वपूर्ण कृतिहरु प्रकाशमा आए 1)‘केही विचरण : केही विचलन’, 2) ‘डुवर्स : एक अध्ययन’, 3) अभिलेखहरूमा भाषा आन्दोलन र 4) बिर्सिगए पाप लाग्ला (अन्तर्वार्ता सङ्गालो) । ‘डुवर्स : एक अध्ययन’ डुवर्सको ऐतिहासिक सन्दर्भ सहित साहित्यिक गतिविधिबारे विस्तृत अध्ययन गर्न चाहने पाठकहरूका निम्ति एउटा गहकिलो अनि पठनीय ग्रन्थको रुपमा देखा परेको छ। सन् 2019 मा उनको अंग्रेजीमा आधुनिक भारतीय नेपाली साहित्यको इतिहास ‘History of Modern Indian Nepali Literature ‘ साहित्य अकादमी, नयाँ दिल्लीले प्रकाशित गरेको छ। अङ्ग्रेजी भाषामा लेखिएको डा. कुमार प्रधानको A History of Nepali Literature (1984) पछिको यस कृतिलाई अति महत्वपूर्ण शोधग्रन्थका रुपमा लिन सकिन्छ। उनका अन्य कृतिहरुको पनि अनुवाद प्रकाशित भएका छन्। ती हुन् – जीवन नामदुंग : निर्वाचित कविता (बङ्गला अनुवाद- भक्तासिंह ठकुरी), अक्षर अभिलेख (हिन्दी अनुवाद – राजेन्द्र ढकाल), पर्यवेक्षण (हिन्दी अनुवाद श्री भविलाल लामिछाने र खड्गराज गिरी। उनको यो लेखन यात्रा अविराम गतिले अघि बढिरहेको छ । उनका अझै 9 -10 वटा कृतिहरु प्रकाशोन्मुख रहेका छन् भन्ने सुनिन्छ र ती शिघ्र नै पाठकहरूका सामु आइपुग्ने छन् भन्ने आशा गर्न सकिन्छ।
सन् 2018 मा उनी पुन: साहित्य अकादमी नेपाली परामर्श समितिका संयोजक चयनित भएका छन् । उनले भारतीय नेपाली साहित्यलाई राष्ट्रव्यापी स्तरमा नै अझ विकसित र उन्नत बनाउने कार्यमा अथक परिश्रमका साथ आफ्नो योगदान पुर्याउन कुनै कसर बाँकी राखेका छैनन्। सन् 1994 को साहित्य अकादमी पुरस्कार विजेता डा. जीवन नामदुंग सन् 1989 मा नेपालबाट समालोचनात्मक लेखको निम्ति रत्नश्री स्वर्ण पदकद्वारा सम्मानित भएका थिए। सन् 2001 मा उनलाई पानीपत, हरियाणाबाट जैमिनी अकादमी सम्मान दिइयो । सन् 2005 मा उनलाई सिक्किम सरकारबाट जीवन-कालीन उपलब्धी पुरस्कारले सम्मानित गरियो। सन् 2010 मा उनले नेपालबाट महाकवि देवकोटा शताब्दी सम्मान प्राप्त गरे अनि सन् 2015 मा कविताको निम्ति कुवैतबाट स्पन्दन पुरस्कार पाए। साहित्य अकादमी, नयाँ दिल्लीले पनि 29 अप्रेल 2017 मा Meet the Author कार्यक्रम गरेर उनको सम्मान गरेको थियो अनि उनको संक्षिप्त जीवनी सहित उनको कर्म तथा कृतिहरुको विवरण पुस्तिका ब्रोशर प्रकाशित गरेको छ। सन् 2017 मा जी.टी.ए. दार्जीलिङले पनि उनका अनेकौं अनुसन्धानमुलक कार्य अनि आजीवन भाषा-साहित्यको सेवा गरे वापत् उनलाई अगमसिंह गिरी पुरस्कार प्रदान गरेर सम्मान जनायो। साँच्चै उनी हाम्रो सामु प्रेरणाका स्रोत तथा अनुकरणीय व्यक्तित्वका रुपमा एउटा उदाहरण नै बनेर साहित्यको सेवा गर्दै आएका छन् । नेपाली भाषा र साहित्यप्रति उनले दिएको योगदान अतुलनीय र प्रशंसनीय छ। उनको अथक परिश्रम, लगनशीलता तथा कालजयी कर्म-कृतिहरुद्वारा हामीलाई सदैव ठुलो प्रेरणा मिल्दछ।
सन्दर्भ :-
1) साहित्य अकादेमी अनि पच्चीस वर्षका पुरस्कृत नेपाली साहित्य - सम्पादिका : पवित्रा रेग्मी (अधिकारी)
2) डुवर्स : एक अध्ययन – डा. जीवन नामदुंग
3) Meet the Author Jiwan Namdung (Brochure) by Sahitya Akademi (29.April 2017).
4) डा. जीवन नामदुंग अभिनन्दन ग्रन्थ, सम्पादन: अमृत लामा, सतीश थिङ. मोनिका राणा (2008)

डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।