14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अस्तित्ववादी दर्शन र सार्त्रको नाटक नो एग्जिट: एक चर्चा

विचार ज्ञान बहादुर क्षेत्री August 1, 2021, 12:19 pm
ज्ञान बहादुर क्षेत्री
ज्ञान बहादुर क्षेत्री

अग्रकथन
विशिष्ट सर्जक समालोचक प्रा.डा. गोविन्दराज भट्टराईसँग कुराकानी भइरहन्छ। आजको दिनमा नेपाल र नेपाल बाहिरका नेपाली साहित्य सर्जकहरुलाई बौद्धिक नेतृत्व प्रदान गर्ने सर्वमान्य अगुवा डा भटराई नै हुनुहुन्छ। उहाँका कृतिहरुमा विशेष गरी डायस्पोरा सिद्धान्त र समालोचना अनि उत्तरआधुनिक विमर्शमा सारा विश्वका नेपाली सर्जक र तिनीहरुको सिर्जनालाई समेटिएको छ। त्यसमा भारतको उत्तर पूर्वाञ्चल भेक पनि छुटेको छैन। नवीन लेखकको त कुरै छोडौं स्थापित भइसकेका प्रवीण लेखकहरु पनि आफ्ना कृतिको भूमिका लेखाउन डा. भट्टराईका घरमा भीड गर्दछन। उहाँले लेखेका भूमिकाहरुको संख्या हजार नाघिसकेको छ। मलाई लाग्छ, नेपाली साहित्यमा सर्वाधिक भूमिका लेखनको यो कीर्तिमान हुन सक्छ। विश्व साहित्यमा आएका नयाँ विचार, सिद्धान्त र कृतिहरुको विषयमा उहाँबाट धेरै कुरा जान्न पाइन्छ। सिर्जना र समालोचनाका क्षेत्रमा उत्रेका लेखकहरु त्यसैले डा भट्टराईको दिशा निर्देशन र परामर्शको अपेक्षा गर्दछन। सोही उद्देश्य लिएर म पनि उहाँसँग बाक्लै विमर्श गर्छु।
एक दिनको वार्तालापमा उहाँले भन्नु भयो--- जेठ 21 गते विस 2078 तदनुसार 6 जुन 2021 का दिन काठमाडौको शिल्पी थिएटरले फ्रेञ्च लेखक जाँ पल सार्त्रको अस्तित्ववादमा आधारित प्रख्यात नाटक नो एक्जिट (नेपाली अनुवादमा तीन अनुपस्थित) प्रविधिको माध्यममा भर्चुअली मञ्चन हुनेछ, हेर्ने मौका नगुमाउनू।
सरले भने अनुसार नाटक त हेरियो तर राम्रो गरी बुझ्न नसकेर होला मनमा खटपटी हुन थाल्यो।
कलेजको छात्र छँदा कामुको द प्लेग उपन्यास पढेको थिएँ। त्यसै समयमा अस्तित्ववादी सिद्धान्त पढेर बुझ्ने प्रयास गरेको याद आउँछ। अस्तित्ववादी दर्शनले मलाई निकै प्रभावित पारेको थियो। यसै विषयमा मेरो एउटा अस्तित्ववादी दर्शन र कामुको उपन्यास द प्लेग भन्ने लेख डिगबोइबाट प्रकाशित पत्रिका समकालीन साहित्य (अङ्क ) छापियो। सन 2000 मा प्रकाशित मेरो पहिलो कृति अवलोकनमा त्यो लेख समावेश गरिएको छ।
त्यसैले सार्त्रको नो एक्जिट नाटक नेपालीमा भर्चुअली प्रदर्शित हुँदैछ भन्ने सुनेर रोमाञ्चित भएँ। हेरेर बुझ्ने प्रयास गरें। नेटमा तत्सम्बन्धी कतिपय लेख फेला परे, हेरें। चित्त नबुझेर त्यस पछि डा. भटराईसँग यस विषयमा कुराकानी गरें, उहाँको यस विषयको लेख पढेँ। बल्ल मनभित्र मडारिएको बादल पन्छियो र छ्यांग उज्यालो देखियो। यतिखेर मेरो अनुभव मेरा फेसबुक मित्रहरुमा सेयर गर्न खसखस लागेको छ।
नो एग्जिट एकाङ्कीको सारांश
एउटा कोठा देखिन्छ---त्यो नरक हो।
यस नाटकमा जोसेफ गार्सिन, इनेज सेरानो, इस्तेले रिगौल र भ्यालेट गरी चारजना पात्र-पात्रा छन। शुरुमा भ्यालेटसँग जोसेफ गार्सिनको कोठामा प्रवेश हुन्छ । उनीहरु आपसमा कुरा गर्छन। त्यस पछि अरु दुइजना नारी--- इनेज सेरानो र इस्तेले रिगौल थपिन्छन। उनीहरुको सम्बादबाट थाहा हुन्छ ती उहिल्यै मरिसकेका व्यक्ति अर्को जुनीमा नरकमा भेट भएका हुन। भ्यालेट नामको सेवकले तीनजना अपराधी (एक पुरुष दुइ नारी) व्यक्तिलाई नरकमा ल्याएर छोडिदिन्छ। उनीहरूले ठानेका थिए अब नरकमा उनीहरुलाई अनन्तकालसम्म यातना दिनेछन। उनीहरुको सोचको विपरीत उनीहरुलाई राखिएको कोठा साधारण भए पनि सजावटपूर्ण निकै राम्रो थियो।
नरकमा परेका तीनजना अपरिचित व्यक्ति आपसमा कुराकानी गर्छन तर कसैले पनि आफ्नो अपराध स्वीकार गर्दैनन यद्यपि उनीहरु प्रत्येकलाई थाह छ अपराध गर्ने व्यक्तिलाई मात्र सजायका लागि नरकमा ल्याइन्छ। धेरैबेर पछि पुरुष पात्र गार्सिनले ढाकछोप गर्ने प्रयास गर्दै अचकल्टो कुरा भन्यो--- म एक युद्धविरोधी शान्तिवादी प्यासिफिस्ट थिएँ, त्यसैले दण्डित भएर नरकमा परेको । त्यस पछि नारी पात्र इनेज भन्छे---मबाट एउटा त्रुटि भयो अनि त्यसैको दण्ड दिन मलाई यहाँ ल्याइएको हो। उनीहरुका अपत्यारिला कुरा सुनेर दोस्रो नारी पात्र इस्तेलेलाई रिस उठ्छ। क्रोधित भएर सातो खाने गरी उ कराउँछे --- सबैले ढाट्न छोडेर अब आ-आफ्नो अपराध स्वीकार गरौं। हामीलाई यहाँ त्यसै ल्याइएको होइन, बाटामा संयोगले भेटिएका मान्छे होइनौं हामी। अपराध गरेकै कारण दण्ड दिने उद्देश्यले हामीलाई यहाँ ल्याइएको हो । हामीलाई एउटै कोठामा राख्नुको उद्देश्य एकले अर्कालाई सताएर नरकको यातना दिनु हो।
उनीहरुको कुरा मिल्दैन र बाझ्न थाल्छन। गार्सिन भन्छ— हामी एक्लाएक्लै शान्त भएर बसौंन। इनेज फाँसीको विषयमा गाउन थाल्छे। इस्तेले आफ्नो अनुहार हेर्न ऐना खोज्छे। यसरी समय बित्दै जान्छ।
अन्त्यमा उनीहरुले आ-आफ्नो अपराध स्वीकार गरे। उनीहरुले दिएको बयान अनुसार इनेज समलिङ्गी थिई। उसले एउटी नारीलाई उल्क्याएर उसको लोग्नेलाई मार्न लगाएकी थिई। त्यो व्यक्ति उसकै साइनो पर्ने दाजू थियो। पछि त्यस नारीलाई पनि सास थुनेर मारेकी थिई।
उच्च घरानाकी इस्तेलेले धनको लोभमा एउटा उमेर ढल्केको व्यक्तिसँग बिहे गरेकी थिई र आफ्नो यौनक्षुधा मेटाउन एउटा जवान केटासँग सल्केकी थिई। तर प्रेमी युवक भने उसलाई अन्तरले चाहन्थ्यो। उनीहरुको सन्तान जन्मिन्छ। एकदिन उसले आफ्नो सन्तानलाई होटलको बाल्कोनीबाट सागरमा हुत्याइदिई। त्यो देखेर प्रेमीले आत्महत्या गरेको कुरा ऊ स्वीकार गर्छे। त्यही अपराधले गर्दा नरकमा ल्याइएकी रहिछ।
गार्सिन व्यभिचारी र प्रवञ्चक थियो। उसले पत्नीका उपस्थितिमै तरुणी केटी घरमा ल्याएर सँगै रात बिताएको थियो। युद्धको समयमा सेनाको सेवा त्याग गरेर युद्ध मैदानबाट भागेको हुँदा सेनाले गोली ठोकेर उसलाई मारेका रहेछन। उसले विवाहिता पत्नी र आफ्नो देशलाई धोका दिने जस्ता अपकर्म गरेको थियो। यिनै अपराधका कारणले ऊ नरकमा परेको रहेछ।
तीनैजनाले आफ्नो अपराध त स्वीकार गरे साथै एकले अर्कालाई अनन्तकालसम्म यातना दिइरहने निश्चय गरे।
यस्तो अप्ठ्यारो स्थितिबाट कसरी पलायन गर्ने भनेर गार्सिन मौका हेर्दै हुन्छ । हठात् ढोका खुल्छ तर ऊ भाग्न सक्तैन। गार्सिनलाई लाग्छ जबसम्म इनेजले उसलाई विश्वास गर्दिन तबसम्म ऊ बच्न सक्तैन। उ इनेजलाई विश्वास दिलाउने प्रयास गर्छ। उता इनेज भने उसलाई पटक्कै विश्वास गर्दिनँ। इनेज बरु उसलाई झन सताउऩ थाल्छे। यसरी ऊ गार्सिनमाथि मानसिक पीडा थपिदिन्छे। तर इस्तेलेले उसलाई प्रलोभन देखाएर प्रेम गर्न खोज्दा ऊ भन्छ--- इनेजले हेर्दैछे, यस्तोमा म कसरी तिमीलाई माया गर्न सक्छु। अरुले देखी देखी कसरी केही गर्न सकिन्छ।
गार्सिन र इस्तेले प्रेम गर्न थाले। त्यो देखेर इनेज ईर्ष्याले ग्रस्त भई। गार्सिन उसकी प्रेमिकालाई बारबार आफू निर्दोषी छु भनेर सुनाउँछ। युद्धमा देश छोडेर भाग्ने कोशिस गरे पनि ऊ भीरु थिएन। इस्तेले विश्वस्त हुन्छे तर इनेज गार्सिनलाई चुक्ली लाउँछे र उनीहरुको प्रेममा फाटो पार्न सफल हुन्छे। ऊ गार्सिनलाई भन्छे--- होस गर है, इस्तेलेको चरित्र ठिक छैन। उसले हृदयले तिमीलाई स्वीकारेकी छैन। उसले यो रुखो ठाउँमा जस्तोसुकै पुरुषलाई भेटेर खाँचो टारेकी मात्र हो।
उनीहरु पहिलेनै मरिसकेका हुन भन्ने कुरा बिर्सेर इस्तेलेले इनेजलाई मार्ने उद्देश्यले छुरिकाघात गर्छे। त्यतिखेर इनेज भन्छे--- हामी त पहिले नै मरिसकेका हौं। हामी मरिसकेका तीन जना कसरी एकै ठाउँमा भेला भयौं भन्दै इस्तेले हुरुक्क हुने गरी हाँस्छे । सबै पागल सरी लठारिएर हाँस्न थाल्छन। भाग्यको यस्तो खेल देखेर गार्सिन चकित हुँदै भन्छ नरक भनेकै अन्य व्यक्ति रहेछन (हेल इज द अदर पिपुल)।
अस्तित्ववाद के हो
अस्तित्ववाद तर्कवाद र अनुभववादका विपरीतमा उभिएको एक बौद्धिक चिन्तन र आन्दोलन हो। अस्तित्ववादलाई स्थापित गराउनेहरुमा सोरेन किर्केगार्ड, गेब्रिएल मार्सेल, स्टिभेन क्रोवेल, जाँ पल सार्त्र, अलबर्ट कामु, सिमन द बुभा, मिसेल फुको आदि प्रमुख हुन। फ्रान्ज काफ्काको द ट्रायेल (उपन्यास,1925), सार्त्रको नोजिया (उपन्यास, 1938) र नो एग्जिट (एकाङ्की, 1945), कामुको द प्लेग (उपन्यास, 1947) सिमन द बुभाको द सेकेन्ड सेक्स (उपन्यास,1949) आदि अस्तित्ववादी दर्शनमा आधारित कृति हुन। नेपाली भाषामा पारिजात, हरिभक्त कटुवाल, अर्जुन निरौला, आदि सर्जकका केही कृति अस्तित्ववादी दर्शनमा अडेसिएको पाइन्छ।
यसको दर्शनका अनुसार मान्छेको जीवन अर्थहीन मूल्यहीन छ। यस दर्शनले मान्छेको अस्तित्वको विषयमा चिन्तन गर्दछ। मान्छेको जीवनमा आइपर्ने उदासीनता, भय, त्रास, असुरक्षा, र चिन्ताले गर्दा अस्तित्व प्रति नै क्रोध उत्पन्न हुन्छ। यस पृथ्वीमा अर्थहीन, लक्ष्य- उद्देश्यहीन जीवन बाँच्न विवश छु भन्ने धारणा जन्मिन्छ। मान्छेलाई यो दुनियामा जसले पठायो (ईश्वर) ऊ बोल्दैन, कसले सुरक्षा दिन्छ त्यो पनि कसैले भन्दैन। मान्छेका चाहना र इच्छाहरुको कुनै मूल्य छैन, छैन कुनै अर्थ पनि किनकि ऊ सधैं अरुबाटै सञ्चालित र नियन्त्रित भएर बाध्यताको जीवन बाँच्न विवश हुन्छ। कति दिन बाँच्नु पर्ने हो त्यसको पनि निश्चिति छैन। यस्तो परिस्थितिमा क्रोध उत्पन्न हुनु स्वाभाविक हो।
अस्तित्ववाद र विसङ्गतिवादको नजीकको सम्बन्ध छ। यी दुबै वाद उस्तै उस्तै लागे पनि तिनमा फरक छ। म कति निर्धो भएर, कस्तो बिजोक पाराले बाँचेको रहेंछु भन्ने बोध विसङ्गतिवाद हो भने म बाँचेको छु कि छुइऩँ भन्ने चिन्ता वा आफ्नो अस्तित्व प्रतिको शङ्का नै अस्तित्ववाद हो भनेर बुझ्न सकिन्छ। वास्तवमा, अस्तित्ववाद भनेको सन्देहको र अनास्थाको दर्शन हो। यो व्यक्तिवादी चिन्तनको दर्शन हो। यस दर्शनले कुनै सोच विचार बिनै महाख्यानलाई पछ्याउने भीडको विपरीतमा व्यक्तिको स्वकीय अस्तित्वको विषयमा सोच्न लगाउँछ। यो पृथ्वीमा मान्छे नै मान्छे देखिन्छन, मान्छेको घुँइचो छ सबैतिर। तर मान्छेको भीडमा मान्छे एक्लो छ, उसलाई सुरक्षा दिने अथवा उद्धार गर्ने कोही छैन। असमिया भाषामा एउटा कथन छ---
साँतोर साँतोर निज बाहुबले
साँतुरिब नोवारिले जा रसातले।
(पौडनु पौडनु आफ्नै बाहुबल
पौडन सकिनस जा रसातल)

यो रुपक हो
कामुको उपन्यास द प्लेग रुपक हो, सार्त्रको नाटक नो एग्जिट पनि रुपक नै हो। रुपकमा एउटा वास्तव अथवा काल्पनिक घटनाको वर्णन हुन्छ तर त्यसभित्र अर्कै गहिरो अर्थ लुकेको हुन्छ। सार्त्रको प्रस्तुत नाटकमा पनि गहिरो अर्थ लुकेको छ। त्यसैले यसलाई रुपक भन्न सकिन्छ। साहित्यमा रुपकको प्रयोग धेरै पहिलेदेखि भएको भए पनि यसले वहन गर्ने प्रकृत समकालीन सन्दर्भको कारणले यो सधैं नयाँ रहन्छ।
युद्धक्षेत्रलाई गीतामा धर्मक्षेत्र (धर्मक्षेत्रे कुरुक्षेत्रे...) भनिएको छ। पहिलो र दोस्रो विश्वयुद्धले मान्छेको विचारमा ठूलो परिवर्तन ल्याइदियो। युद्धक्षेत्रबाट ज्यान जोगाएर भाग्नु सामान्य कुरा हो। गार्सिन पलायित हुनु पनि साधारण कुरा हो। जर्ज बर्नर्ड शाको नाटक आर्म्ज एन्ड द म्यान (1898) को एउटा पात्र केप्टेन ब्लान्ट्स्लीको राइफलको म्यागजिनमा गोलीको सट्टा चकलेट हुन्छ। उ भन्छ युद्धक्षेत्रमा गोलीको भन्दा खाद्यान्नको बढी आवश्यक हुन्छ। (अहिले त झन न्युक्लियर वारफेयर, बायोलोजिकल वारफेयर हुन थालेका छन)। युद्धले विश्वासघात, धोका, हत्या, आत्महत्या जस्ता कुरालाई सामान्य बनाइदियो। मानव जीवनको स्वाभाविक लय र गति विध्वस्त भएपछि मानिसले अनेक थोक सोच्न र गर्न थाल्यो। उहिलेको मूल्यबोध उल्टियो।
प्रस्तुत नाटकको परिकल्पनामा गहिरो चिन्तन र अन्तर्दृष्टिको परिचय पाइन्छ। पृथ्वीलोकमा गरेका पाप-पूण्यको फल भोग्ने कुरा विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पाइन्छ। सार्त्रको काल्पनिक नरक भने अलिक बेग्लै छ। यस नाटकका पात्रहरु पूर्वजन्ममा उनीहरुले गरेका अपकर्महरु सम्झिन्छन। यहाँ नरकको यातना पनि पुरै भिन्न छ। एउटा बन्द कोठालाई नरकका रुपमा प्रस्तुत गरिएको छ।
मानव जीवन एउटा बन्द कोठाजस्तो छ। जन्म र मृत्यु यसका दुइ ढोका —--प्रवेश र प्रस्थान हुन। मान्छे जन्मनु अघि कहाँ थियो अनि मरे पछि कहाँ जान्छ यो अज्ञात र रहस्यमय छ। वास्तवमा, स्वाधीनताकामी मान्छेका लागि बन्द कोठाभित्र बस्नु नै ठूलो सजाय हो। यतिखेर कोरोनाको कारणले सर्वत्र लकडाउन छ । मान्छे बन्द कोठाभित्र थुनिएर बस्न विवश भएको छ। विश्वविजयी जीवश्रेष्ठ मान्छे स्वनिर्मित कारागारमा बन्दी भएको छ। एकजना कवि टङ्क आचार्यले घरलाई कारागारसँग तुलना गरेर यसरी लेखेका छन -----
अरबौ सशस्त्र मानव जाति एकातिर
एउटा निशस्त्र भाइरस अर्कातिर
संसारभरि यसैको आतङ्क छ, त्रास छ
घर नामको झ्यालखानामा बबुरो मान्छेको बास छ। (कोरोना डायरी 16)
सार्त्रका अनुसार नरक भनेको अन्य व्यक्ति वा व्यक्ति समूह हो। हेल इज द अदर पिपुल भन्ने कथनको सारमर्म पनि यही हो। मान्छेलाई यातना दिन अन्यको उपस्थिति चाहिन्छ। मान्छेलाई मानसिक पीडा दिन तिनीहरुको हेराई नै पर्याप्त छ, त्यो हेराइ नै मुटुसम्म पुग्ने घोचाई हुन्छ। त्यसले मुटु छेडेर छियाछिया पारिदिन सक्छ। मनोविज्ञानमा गेज वा हेराईको अर्थ गहिरो हुन्छ। नाटकका पात्रहरु ऐनामा आफ्नो अनुहार हेर्छन। त्यहा उनीहरु जगतको प्रतिबिम्ब देख्छन। यो हेराई वा गेज् नै सार्त्रको दर्शनको आधार हो। सार्त्रले उऩको भविता र शुन्यता भन्ने लेखमा यो दृष्टि वा हेराई यौनेच्छाको आधार हो भनेका छन। उऩले लेखमा उल्लेख गरे अनुसार यौनका लागि छुट्टै बायोलोजिकल आवश्यकता पर्दैन, गेज् अथवा हेराईमा यी सबै कुरा समेटिएको हुन्छ।
मान्छे सधैं अरुको दृष्टिमा कस्तो छु भन्ने चिन्तामा हुन्छ। आफ्ना दोष, अपराध र कर्तुतहरु हेर्ने देख्ने अरु कोही नभइदिए हुन्थ्यो भन्ने ठान्छ। त्यही धारणाले आफ्नो अस्तित्वको बोध गराउँछ। मान्छेको जीवन सधैं अरुको कडा निरीक्षणमा हुन्छ, भाग्ने लुक्ने छलिने ठाउँ कहीं छैन। हामीलाई हेरिरहने अरुका दृष्टिहरु नहुनु भने हामी कति स्वाधीन हुने थियौं, मन लागेको के के गर्न सक्थ्यौं तर अरुले हेरिरहेका छन भन्ने डरले केही गर्न असमर्थ छौ। नेपालीमा प्रचलित कथन ‘लोकले के भन्छ?’, ‘लोकाचार’ आदिले सोही कुरालाई पुष्टि गर्दछ। मान्छेको जीवनलाई नरक तुल्याउने कारक तत्व अरुको दृष्टि नै हो। अस्तित्ववादीहरु अरुको दृष्टिमा नै आफ्नो उपस्थितिको बोध गर्दछन। म छु भन्ने अस्तित्वको बोध त्यही धारणाले गराउँछ। यो चेतना नरकतुल्य, पीडादायक हुन्छ। नरक भनेको ईश्वर सृष्ट कुनै ठाउँ होइन, यो अन्यको समूह हो*। नो एग्जिट नाटकमा सोही कुरालाई खुलासा गरिएको छ।

नो एक्जिट नाटकको थीम
नो एक्जिट नाटकका एकाधिक थीम छन। ती परस्परमा छुट्याउन नसक्ने गरी गाँसिएका छन । अस्तित्ववादी दर्शन बुझेपछि थीम बुझ्न सजिलो पर्छ । एकाकीत्व (Isolation), मिथ्या र आत्मप्रवञ्चना (Lies and Deceit), स्वाधीनता र बन्दीत्व (Freedom and Confinement), पीडा (Suffering), शक्ति (Power) र साहस(Courage) यस नाटकका थीम हुन। नाटकका चरित्र र तिनका क्रियाकलापहरुबाट थीमको पत्ता लाग्छ। जस्तै एउटा कोठामा दुइजना मान्छे भेला भए भने नै तिनमा को पहिलो वा ठूलो भनेर झगडा शुरु भइहाल्छ। मान्छेले मिथ्या र आत्मप्रवञ्चनाको आश्रय लिएर भए पनि श्रेष्ठत्व जाहेर गर्न खोज्छ। उसले आफ्ना अपकर्म लुकाउनु पनि त्यस्तै कुरा हो। मानसिक पीडा शारीरिक पीडा भन्दा ठूलो हुन्छ, घातक हुन्छ। मान्छेलाई यातना दिनका लागि शारीरिक आघात गर्नु पर्दैन। शक्तिको कुरामा सार्त्रले घतलाग्दो कुरा भनेका छन्--- सबैभन्दा ठूलो शक्ति अन्यको हेराइमा हुन्छ। य़ो हेराई (गेज) कति शक्तिशाली हुन्छ भने यसले मान्छेको जीवनलाई ध्वस्त पारिदिन्छ, अर्थहीन तुल्याउँछ। त्यसैले गार्सिन भन्छ—नरक भनेको अन्य मान्छे हुन, तिनको हेराई हो (हेल इज द अदर पिपुल)।

नाटककारको संक्षिप्त परिचय
जाँ पल सार्त्र 1905-1980) फ्रान्सेली उपन्यासकार नाटककार, दार्शनिक चिन्तक र समालोचक हुन। उनका कृतिहरुको संख्या नै पचास कटेको छ। अस्तित्ववादी दर्शनको घडेरीमा उनी धुरीको खाँबो हु। झिँगाहरु (The Flies), सम्मानित देहोपजीविनी (the Respectful Prostitute), फोहोरी हात (Dirty Hands) उनका चर्चित र लोकप्रिय नाटक कृति हुन्।
1943 सनमा सार्त्रले भविता र शुन्यता (Being and Nothingness) शीर्षकको निबन्ध लेखे। यस निबन्धमा उनले अस्तित्ववादी दर्शनलाई व्याख्या गरेका छन। 1938 सनमा प्रकाशित उनको उपन्यास नोजिया मा नै अस्तित्ववादी दर्शनको घडेरी निर्माण भएको मानिन्छ। सार्त्रले उनको दर्शनलाई सही र तर्कसङ्गत सिद्ध गर्ने उद्देश्यले 1944 मा फेरि नो एग्जिट भन्ने एकाङ्की नाटक रचना गरे। मूल फ्रेञ्च भाषामा यसको शीर्षक हुइ क्लोस (huis = कोठा,clos=बन्द) रहेको थियो, पछि अंग्रेजीमा इन क्यामेरा, डेड एन्ड र अरु पनि शीर्षकमा यो एकाङ्की अनुवाद भएको छ। शिल्पी थिएटरले नेपाली अनुवादमा तीन अनुपस्थित शीर्षक दिइको छ। सार्त्रको प्रस्तुत नाटकको शीर्षक चयनमा अनुवादकको मनपरी चलेको देखिन्छ। धेरैले नयाँ शीर्षक दिएका छन भने हामी किन नदिने ? मरिसकेका व्यक्तिको पृथ्वीलोकमा उपस्थिति हुन सक्तैन। त्यसै कारणले र साथै नयाँपन पनि देखाउने उद्देश्यले अनुपस्थित तीन शीर्षक दिएको बुझिन्छ। तर नेपाली शीर्षक त्यति अर्थपूर्ण हुन सकेको छैन।
शिल्पी थिएटर र कलाकारहरु
शिल्पी थिएटर (काठमाडौ) बेनरमा प्रस्तुत नाटकका अभिनय कलाकारहरु यस प्रकार थिए----
मूल नाटकका पात्रहरु --- नेपाली अनुवादमा पात्रहरु ----- अभिनय कलाकारहरु
जोसेफ गार्सिन --- आजाद --- सलिल सुबेदी
इनेज सराङ्गो ---- इच्छा ---- उषा रजक
इस्तेले रिगो ------अभिलाषा ----- पवित्रा खँड्का
भ्यालेट ---- म्यानेजर ----- मनाङ लावती
कोरोना कालीन लकडाउनको समयमा सुनिर्दिष्ट रङगमञ्चमा नाटक प्रदर्शन गर्नु सम्भव थिएन। त्यसैले यस नाटकका
कलाकारहरुले आ-आफ्ना कोठामा बसेर अभिनय गरेका थिए। शारीरिक स्पर्श र अरु नजीकका क्रियाकलापहरु देखाउन प्रविधिको भरपुर प्रयोग गरेको देखियो। दुइटा कुराका लागि मलाई खुसी लागेको छ। ती हुन---
1. विश्वख्यात फ्रेञ्च नाटक नेपालीमा अनुवाद भएर आउनु।
2. कोरोना कालीन लकडाउनको बन्दाबन्दीसँग सन्दर्भ जोडेर प्रविधिको भरपुर प्रयोग गरी भर्चुअली प्रदर्शन गरिनु।
शिल्पी थिएटर (काठमाडौ), तीन अनुपस्थित नाटकका अभिनय कलाकारहरु तथा यसको आयोजक वर्गमा हार्दिक बधाई र शुभकामना टक्र्याउँछु।

सन्दर्भ

1. Gore, Keith (Ed): Twentieth Century Texts, Huis Clos by Jean-Paul Sartre, Routledge
2. कोरोना डायरी खण्ड 16

*Hell is other people rather than a state created by God।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।