14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अग्निपुराणमा रसचिन्तन

कृति/समीक्षा प्रा.डा.गंगाप्रसाद अधिकारी August 1, 2021, 12:22 pm
प्रा.डा.गंगाप्रसाद अधिकारी
प्रा.डा.गंगाप्रसाद अधिकारी

सारकथन (abstract)
प्रस्तुत लेख अग्निपुराणमा रससम्बन्धी के कस्तो चिन्तन पाइन्छ भन्ने विषयको अध्ययनसँग सम्बद्ध छ । वैदिक युगदेखि नै परमात्माको आनन्दमय चैतन्य स्वरूपका रूपमा लिइँदै आएको रस तत्त्वका बारेमा व्यवस्थित ढङ्गले भरतमुनिकृत नाट्यशास्त्रमा विशद रूपमा साङ्गोपाङ्ग वर्णन गरिएको पाइन्छ । नाट्यशास्त्रम्पछि रसका बारेमा विशद चर्चा अग्निपुराणमै गरिएको पाइन्छ । नाट्यशास्त्रले नाट्यविधाका सन्दर्भमा मात्र विवक्षा गरेको रसलाई काव्यस्थ रस र नाट्यस्थ रसका रूपमाअग्निपुराणले लिएको देखिन्छ । प्रस्तुत लेखमा अग्निपुराणले रसका बारेमा के कस्तो दृष्टिकोण प्रस्तुत गरेको छ भन्ने कुराबारे अध्ययन र छलफल गरिएको छ । यस लेखमा रसका बारेमा अग्निपुराणले के कस्तो चिन्तन प्रस्तुत गरेको छ, यसअघिको रससम्बन्धी चिन्तन परम्परा कस्तो थियो, अग्निपुराणको रसचिन्तनमा पूर्व परम्पराको के कस्तो प्रभाव रहेको छ र अग्निपुराणमा यस सम्बन्धी के कस्ता मौलिक प्रस्थापनाहरु रहेका छन् भन्ने विषयलाई व्याख्या, विश्लेषण र तुलनात्मक अध्ययन विधिका आधारमा विवेचना गरिएको छ । प्रस्तुत अध्ययनमा भरतमुनिले स्थापना गरेका नाट्यशास्त्रीय मान्यताकै सेरोफेरोमा रहेर अग्निपुराणको रसचिन्तन आए पनि रसलाई ईश्वरीय आनन्दका रूपमा स्थापित गर्नु, शृङ्गार रसको मान्यतामा महत्त्वपूर्ण दृष्टि अघि सार्नु, सबै रसहरूको उत्पत्ति शृङ्गार रसबाट भएको मान्नु, प्रमुख चार रसको उत्पत्तिमा नयाँ विचार अघि सार्नु, रसलाई काव्यस्थ र नाट्यस्थ रसका रूपमा अलग्याएर हेर्नु जस्ता विषयहरू अग्निपुराणका मौलिक स्थापना रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।
१. विषय परिचय
सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर र वंशानुचरित यी पाँच कुराको वर्णन भएको ग्रन्थलाई पुराण भनिन्छ । पुराणको सङ्ख्या अठार मानिएको छ । अग्निपुराण ती अठार पुराणमध्येको एक हो र यो सम्भवतः सबै पुराणभन्दा पछिल्लो पनि हो । यसमा पुराणका पाँचै विषयका साथै भूगोल, ज्योतिषशास्त्र, औषधीविज्ञान, राजधर्म, सैन्यशिक्षा, छन्दशास्त्र, अलङ्कारशास्त्र, व्याकरण, कोष आदि जीवनोपयोगी शिक्षाको पनि वर्णन पाइन्छ । अग्निपुराणका ३२८ देखि ३४७ औं अध्यायसम्म छन्द, काव्यविधा, रस, अलङ्कार, रीति आदि काव्यसँग सम्बन्धित विभिन्न पक्षहरूबारे विमर्श गरिएको छ । ३३९ औं अध्याय रससम्बन्धी चिन्तनमा केन्द्रित छ ।
श्रव्यकाव्यको पठन वा श्रवणबाट अनि दृश्यकाव्यको दर्शन र श्रवणबाट जुन अलौकिक आनन्द प्राप्त हुन्छ त्यसलाई रस भनिन्छ । रसबाट जुन भावको अनुभूति हुन्छ त्यो रसको स्थायीभाव हो । रसलाई संस्कृत काव्यशास्त्रमा अलौकिक अनुभूति मानिएको छ । यसलाई काव्यको आत्माका रूपमा पनि स्विकारिएको छ । कसैकसैले रसलाई अप्रमेय र अनिर्वचनीय पनि मानेको पाइन्छ । रसलाई पदार्थको रस (अमिलो, तितो, गुलियो, टर्राे आदि), आयुर्वेदको रस, सोमरस, साहित्यको रस र मोक्ष या भक्तिरस आदिका रूपमा समेत अथ्र्याइएको छ । यस लेखमा रससम्बन्धी चिन्तनको परम्परा कस्तो रहेको छ, अग्निपुराणमा रसलाई के कसरी चिनाइएको छ र काव्यशास्त्रीय दृष्टिले अग्निपुराणको रससम्बन्धी विवेचना के कस्तो छ भन्ने विषयको अध्ययन गरिएको छ ।
२. अग्निपुराणको प्राचीनता र त्यसअघिको रसचिन्तन परम्परा
अग्निपुराणलाई व्यासको रचना भनेर प्राचीन कालको रचना मान्नेहरू थुप्रै छन् तर विभिन्न साक्षका आधारमा यो कम्तीमा पनि आचार्य भरतभन्दा पछिको भएको पुष्टि हुन्छ । पण्डितराज सोमनाथ सिग्देलले विभिन्न तर्क र प्रमाणका आधारमा अग्निपुराणको रचना आचार्य भरत, भामह र दण्डीभन्दा पछाडि भएको मानेका छन् (सिग्देल, २०१६, पृ.२९) । सिग्देलकै धारणालाई पछिल्ला नेपाली विद्वान्हरूले पनि पछ्याउँदै आएका छन् भने पुराणका पञ्चधा लक्षणभन्दा बाहेकको काव्यशास्त्र सम्बन्धी भागलाई क्षेपक मान्ने मत पनि छ । अग्निपुराणको काव्यशास्त्रीय भागको रचनाकाल विवादित रहेको उल्लेख गर्दै भरतले प्रणयन गरेकाले भारती रीति भनिएको हो भन्ने अग्निपुराणको भनाइलाई आधार मानेर जयमन्त मिश्रले यसको रचना भरतभन्दा पछाडि भएको भनेका छन् (मिश्र, सन् १९८०, पृ. २०) । डा.नगेन्द्रले इसाको एघारौंको प्रारम्भ भनी उल्लेख गरेका छन् (नगेन्द्र, सन् १९७४, पृ. ५८) भने अग्निपुराणमा भारती रीति भरतले प्रणयन गरेको भनिए पनि भरतले रीति शब्दको उल्लेख नगरेको हुँदा रीतिको स्थापनापछिको रचना हुनसक्ने भएकाले यो रीतिवादको प्रणयन गर्ने वामनपछिको रचना हो भन्ने तर्क बच्चूलाल अवस्थीले अघि सारेका छन् (अवस्थी, सन् १९७२, पृ. ५–६) । अग्निपुराणमा अलङ्कार, रस, रीति, वृत्ति, काव्यगुण, काव्यदोष जस्ता पक्षहरूको चर्चा भएको तर ध्वनिवाद, वक्रोक्तिवाद, औचित्यवाद जस्ता पछिल्ला सिद्धान्तहरूबारे उल्लेख नभएकाले अवस्थीको तर्क सत्यको सबैभन्दा नजिक रहेको स्पष्ट छ ।
रसका बारेमा व्यवस्थित अध्ययन भरतको नाट्यशास्त्रबाटै भए पनि त्यसभन्दा धेरै अघिबाट रससम्बन्धी चिन्तनको क्रम थालिएको देखिन्छ । नाट्यशास्त्रको “जग्राह पाठमृग्वेदात् सामभ्यो गीतमेव च । यजुर्वेदादभिनयान् रसानाथर्वणादपि” (नाट्यशास्त्रम्, १ ः १७) भन्ने उक्तिमा पाँचौं नाट्यवेदको प्रणयनमा रसको मान्यता अथर्ववेदबाट आएको हो भन्ने उल्लेख पाइन्छ । रसबारे अलि व्यापक रूपमा चर्चा गर्नेमा नन्दिकेश्वरको नाम उल्लेख्य देखिन्छ । काव्यमीमांसाको प्रथम अधिकरणमा राजशेखरले “रसाधिकारिकं नन्दिकेश्वरः” भनेर रससम्बन्धी प्रथम आधिकारिक चिन्तकका रूपमा नन्दिकेश्वरलाई लिएका छन् । उनले अठार मनीषिहरूको चर्चा गर्दै तीमध्ये नन्दिकेश्वरले स्वतन्त्र ग्रन्थको रचना गरेको उल्लेख पाइन्छ (मिश्र, १९८०इ, पृ.१२÷त्रिपाठी, १९८१ इ., भूमिका÷आचार्य, २०४२, भूमिका) । पारशनाथ द्विवेदीले नन्दिकेश्वरलाई आचार्य भरतका गुरु रहेको भन्दै नन्दिकेश्वरले शिवको आदेशबाट भरतलाई नाट्यकलाको शिक्षा दिएको उल्लेख गरेका छन् (द्विवेदी, २०४६, पृ. २६५) । रसको शास्त्रीय अर्थको विकास रामायण, महाभारत कालपछि र भरतका नाट्यसूत्रभन्दा अघि कामसूत्रको प्रभावको फलस्वरूप भएको अनुमान पनि गरिएको छ (नगेन्द्र, १९७४इ., पृ.९) । वात्स्यायनको कामसूत्रमा पनि नन्दी नामबाट नन्दीकेश्वरले कामसूत्रको रचना गरेको उल्लेख गरेको पाइन्छ (द्विवेदी, २०४६, पृ. ४) । नन्दीकेश्वरले आफूलाई नाट्यशास्त्रको शिक्षा दिएको कुरा भरतले पनि नाट्यशास्त्रमा उल्लेख गरेको देखिन्छ (द्विवेदी, २०४६, पृ. ३) । यी साक्ष्यहरूबाट अथर्ववेद, नन्दिकेश्वरको अभिनयदर्पण र वात्स्यायनको कामसूत्र नाट्यशास्त्रभन्दा अघि रससम्बन्धी चिन्तनमा महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ ।
रस वैदिक वाङ्मयमै बहुशः अर्थ र तात्पर्यमा प्रयोग हुँदै आएको शब्द हो । वैदिक संहिताहरूमा यस शब्दको तरल पदार्थ, स्वाद, दुध, पानी, सोमरस आदि भौतिक द्रवका रूपमा प्रयोग हुँदै आए पनि पछिपछि मानसिक आह्लाद र आध्यात्मिक आनन्दका रूपमा पनि प्रयोग हुन थालेको देखिन्छ । तैत्तिरीयोपनिषद्ले “रसो वै सः” भनेर ईश्वरलाई पनि रसकै रूपमा लिएको प्रसंगबाट उक्त कुरा पुष्टि हुन्छ । पछि श्रीमद्भागवत महात्म्य (६ ः ८१) मा उद्धृत पद्मपुराणको “निगमकल्पतरोर्गलितं फलम्, शुकमुखादमृतद्रवसंयुतं । पिवत भागवतं रसमालयं मुहुरहो रसिकाः भुवि भावुकाः” (यस पृथ्वीलोकका हे रसिक एवम् भावुक जनहरू हो ! वेदरूपी कल्पवृक्षबाट पाकेको फलका रूपमा महर्षि शुकदेवका मुखारविन्दबाट चुहुँदो अमृतरस रूपी श्रीमद्भागवतलाई बारम्बार लयपर्यन्त (जीवनभरि) पान गर्नुहोस्) मा आइपुग्दा भगवद्भक्तिरूपी आनन्दका रूपमा रसलाई लिएको देखिन्छ । ‘रसिकाः’ र ‘भावुकाः’ शब्दको प्रयोगबाट रस शब्दलाई पद्मपुराणले साहित्यरसकै हाराहारीमा लिएको देखिन्छ । यसरी वैदिक युगबाट भौतिक वस्तु, ईश्वरभक्ति, आध्यात्मिक तुष्टि आदिका रूपमा अर्थिँदै आएको रस शब्द पुराणयुगमा आइपुग्दा आत्मिक आनन्दको पर्यायका रूपमा अर्थिन थालेको देखिन्छ ।
रस शब्दलाई वात्स्यायनले शास्त्रीय अर्थमा कामसूत्रमा प्रयोग गरेको देखिन्छ (नगेन्द्र, १९७४, पृ.८ मा उद्धृत) । त्यहाँ रसलाई रति, प्रीतिको भाव, राग, आदिका रूपमा लिइएको छ । यसपछि रसका बारेमा व्यापक सैद्धान्तिक स्थापना आचार्य भरतको नाट्यशास्त्रमै भएको देखिन्छ । भरतअघिदेखि नै रसका बारेमा चिन्तन हुँदै आएको भए पनि यसबारेको पहिलो व्यवस्थित र प्रामाणिक स्थापना नाट्यशास्त्रबाटै भएको हो । भरतले नाट्यशास्त्रमा “विभावानुभावव्यभिचारिसंयोगात् रसनिष्पत्तिः” भनेर विभाव, अनुभाव र व्यभिचारिभावको स्थायीभावसँग हुने संयोगबाट रस निष्पन्न हुन्छ भन्ने उल्लेख गरेका छन् । यही नै रससिद्धान्तको आधारवाक्य हो । आचार्य भरतले नाट्यप्रभावका रूपमा रसलाई प्रमुख स्थान दिँदै रस नभई अन्य नाट्याङ्गरूप अर्थको प्रवर्तन हुँदैन (नाट्यशास्त्र, ६ ः ३१ गद्य) भनेका छन् । भरतले नाट्यतत्त्वका रूपमा व्याख्या गरेको रससम्बन्धी चिन्तन रस सम्प्रदायका रूपमा संस्कृत नाट्यरचनाका सन्दर्भमा मात्र नभई काव्यशास्त्रमा समेत सर्वाधिक महत्त्वपूर्ण सिद्धान्तका रूपमा स्थापित छ ।
आचार्य भामह अलङ्कारवादी हुँदा हुँदै पनि रसका बारेमा “स्वादुकाव्यरसोन्मिश्रं शास्त्रमप्युपयुञ्जते । प्रथमालीढमधवः पिवन्ति कटु भेषजम्” (काव्यालङ्कार, ५ ः ३) (काव्यको मधुर रसमा मिलाएर शास्त्रको पनि उपयोग हुन्छ । पहिले मह आदिको स्वाद लिनेले पिरो दवाइ पनि पिउँछन् ।) भन्दै उनले रसको महत्तालाई निर्बाध रूपमा स्विकारेका छन् । उनले काव्यालङ्कार प्रथम परिच्छेदको २१ औं श्लोकमा “युक्तं लोक स्वभावेन रसैश्च सकलैः पृथक्” भनेर सबै रसको उपस्थिति महाकाव्यमा हुनुपर्ने उल्लेख गरेका छन् । भामहले रसवत् अलङ्कार भनेर अलङ्कारमै रसको सत्ता मानेर रसवत् अलङ्कारको चर्चा गर्दै “रसवद्दर्शितस्पष्टशृङ्गारादिरसं यथा” (काव्यालङ्कार, ३ ः ६) भनेर शृङ्गारादि रस स्पष्टता साथ देखिएको अवस्थामा रसवत् अलङ्कार हुने उल्लेख गरेका छन् । उनले रसबारे विभिन्न ठाउँमा चर्चा गरे पनि रसको परिचय र सङ्ख्या बताएको देखिँदैन ।
भामहपछिका दण्डीले काव्यादर्शमा सर्गबन्धको लक्षण दिँदा, माधुर्य गुणको चर्चा गर्दा र रसवद् अलङ्कारको परिचयका क्रममा रसबारे उल्लेख गरेका छन् । उनले सर्गबन्धको लक्षण बताउँदै महाकाव्यमा रसभावको निरन्तरता रहनुपर्ने (काव्यादर्श, १ ः १८) उल्लेख गरेका छन् भने रसवत् वाक्यमा माधुर्य गुण रहन्छ भनेका छन् । “मधुरां रसवद् वाचि वस्तुन्यपि रसस्थिति” (काव्यादर्श, १ ः ५१) भन्दै जहाँ शब्द र अर्थ दुवैमा रस व्यञ्जक हुन्छ त्यहाँ माधुर्य गुण हुन्छ भन्ने उल्लेख गरेका छन् । भामहले झैं दण्डीले पनि रसलाई रसवत् अलङ्कारमा समेटे पनि रसवत् अलङ्कारका सन्दर्भमा रसबारे अलि व्यापक चर्चा गरेका छन् । उनले काव्यादर्शको दोस्रो परिच्छेदको २८१ देखि २९२ सम्मका १२ पद्यमा रसवद् अलङ्कारको चर्चा गर्दै क्रमशः शृङ्गार, रौद्र, वीर, करुण, बीभत्स, हास्य, विस्मय र भयानक यी आठ रसको सोदाहरण परिचय दिएका छन् । काव्यादर्शको १ ः ६२ मा पनि “कामं सर्वोऽप्यलङ्कारो रसमर्थे निषिञ्चतु” भनेर दण्डीले सबै प्रकारका अलङ्कारले काव्यमा रससिञ्चन गर्नुपर्छ भनेर रसको महत्तालाई अझ स्पष्ट पारेका छन् । यसरी अलङ्कारवादी भएर रसलाई अलङ्कारभित्रै समाहित गरे पनि भामहको भन्दा दण्डीको रसप्रतिको दृष्टि अपेक्षाकृत उदार देखिन्छ ।
रीतिवादी वामनले “दीप्तरसत्वं कान्तिः” (काव्यालङ्कार सूत्रवृत्ति, ३ ः २ ः १५) भनेर शृङ्गारादि रस दीप्त भएको रचनामा कान्ति नामको गुण हुन्छ भनेका छन् । उनले गुणभित्रै रसको सत्ता देखाएर र रसको सङ्ख्या र नाम समेत नदिएर रसप्रति अनुदारता देखाएका छन् ।
यसरी भरतभन्दा अघिदेखि नै चर्चा हुँदै आएको रससम्बन्धी चिन्तन पछिल्ला युगमा पनि उत्तिकै प्रभावशाली रहँदै आएको छ । रससम्बन्धी चिन्तनको क्रम अग्निपुराणसम्म आइपुग्दा निकै व्यवस्थित र समृद्ध बनेको देखिन्छ ।
३. अग्निपुराणमा रसबारेको चिन्तन
आचार्य भरतपछि अग्निपुराणमा नै रसबारे विशद रूपले विवेचना गरिएको पाइन्छ । अग्निपुराणको ३३९ औं अध्याय रससम्बन्धी चिन्तन र विवेचनमा केन्द्रित छ भने अभिनय सम्बन्धी चर्चाका क्रममा ३४२ औं अध्यायमा पनि रसका प्रकारहरूको परिचय दिइएको छ । अग्निपुराणले रसलाई ब्रह्मचैतन्यसँग अभिन्न मानेको छ । अग्निपुराणमा “आनन्द सहजस्तस्य व्यज्यते स कदाचन । व्यक्तिः सा तस्य चैतन्यचमत्काररसाह्वया” (३३९ ः २) । भनेर ब्रह्मको सहज आनन्दको अभिव्यक्तिलाई नै चैतन्य, चमत्कार र रस नामले चिनिने जनाइएको छ । यसबाट तैत्तिरीयोपनिषद्को “रसो वै सः” को दृष्टिकोणलाई अग्निपुराणले पनि स्विकारेको स्पष्ट हुन्छ । परवर्ती विश्वनाथले पनि रसको स्वरूप कस्तो हुन्छ ? भन्ने सन्दर्भमा “ब्रह्मस्वादसहोदरः” भनेर रसलाई आध्यात्मिक आनन्दसँग दाँजेका छन् । यसमा अग्निपुराणको उक्त विचारको प्रभाव परेको अनुमान हुन्छ । रसका विषयमा भरतले पनि “...स्थायिभावांस्तथा बुधाः । आस्वादयन्ति मनसा...” (नाट्यशास्त्रम्, ..., ३३) भनेर मनले अनुभूत गर्ने ईश्वरीय वा आध्यात्मिक आनन्दकै रूपमा रसलाई राखेको देखिन्छ । भरतले रसना (जिब्रो) बाट आस्वादन गरिने षाड्वादि रस (स्वाद) जस्तै नाट्यरस मनसा (मन÷आत्माले) आस्वादन गर्ने बताएर रसलाई आध्यात्मिक÷ईश्वरीय आनन्दको समकक्षतातर्फ सङ्केत गरेका छन् ।
अग्निपुराणमा आनन्दको पहिलो विकार अहङ्कार, अहङ्कारबाट अभिमान उत्पत्ति भएर अभिमानबाट लोकको संहार हुने बताइएको छ भने शृङ्गार रसको आधार रति पनि त्यही अहङ्कारबाट उत्पत्ति हुने मानिएको छ (३३९ ः ३–४) । “तद्भेदाः काममितरे हास्याद्या अप्यनेकशः । स्वस्वस्थादिविशेषोत्थपरिघोषस्वलक्षणाः” (अग्निपुराण, ३३९ ः ५) (शृङ्गार रस प्रमुख हो र त्यसैबाट अन्य रसको उत्पत्ति हुन्छ) । यो कुरो “शृङ्गारी चेत्कविः काव्ये जातं रसमयं जगत् । स चेत्कविर्वीतरागो नीरसे व्यक्तमेव तत्” (३३९ ः ११) (कवि शृङ्गार रसको प्रेमी छ भने उसको काव्य पनि रसमय हुन्छ तर वीतरागी छ भने त्यसको रचना अवश्य नीरस हुन्छ) भन्ने भनाइले पुष्टि गर्दछ ।
अग्निपुराणको रसचिन्तन भरतबाट धेरै मात्रामा प्रभावित देखिन्छ । रससम्बन्धी अग्निपुराणका केही मौलिक प्रस्थापनाहरू भए पनि मूल कुरा भने नाट्यशास्त्रबाटै अनुगृहीत देखिन्छन् । रसलाई परमात्माका सत्त्वादि गुणहरूको विस्तारबाट प्रकट हुने भन्दै अग्निपुराणले अनुरागबाट शृङ्गार, तीक्ष्णताबाट रौद्र, उत्साहबाट वीर र सङ्कोचबाट बीभत्स रसको उदय हुने बताएको छ (३३९ ः ६–७) । यो मत मौलिक देखिन्छ र अन्य चार रस पनि यिनैबाट निष्पन्न हुन्छन् भन्ने नाट्यशास्त्रको मतलाई पनि यसले स्विकारेको देखिन्छ । अग्निपुराण र नाट्यशास्त्रको यस सम्बन्धमा भनाइको ढङ्ग मात्र फरक छ विचार एकै छ ः
शृङ्गाराज्जायते हासो रौद्रात्तु करुणो रसः
वीराच्चाद्भुतनिष्पत्तिः स्याद्वीभत्साद्भयानकः (अग्निपुराण, ३३९ ः ७–८)
शृङ्गाराद्धि भवेद्धास्यो रौद्राच्च करुणो रसः
वीराच्चैवाद्भुतोत्पत्तिबीभत्साच्च भयानकः (नाट्यशास्त्रम्, ६ ः ३९)
नाट्यशास्त्रमा नाट्यरसकै मात्र उल्लेख भएको पाइन्छ तर अग्निपुराणमा भने काव्यकै सन्दर्भमा रसको उपस्थितिको महत्ता देखाइएको छ । यो कुरा माथि उद्धृत (३३९ ः ११) पद्यांशबाट पनि प्रस्ट हुन्छ ।
अग्निपुराणले निभ्र्रान्त रूपमा रसको सङ्ख्या शान्त समेत थपेर नौ बताएको छ । एकातर्फ यसले शृङ्गार, रौद्र, वीर र बीभत्सलाई प्रधान मानेर तिनैबाट क्रमशः हास्य, करुण, अद्भुत र भयानक रस निष्पन्न हुने भन्दै आठ रसको भरतसम्मत अवधारणाको समर्थन गरेको छ भने अर्कातर्फ शान्त रसको सत्तालाई स्विकारेर नौ रसको मान्यतालाई पनि आत्मसात् गरेको छ । भरतपछिका दण्डीले पनि रसवत् अलङ्कारको चर्चा गर्दै “इह त्वष्टरसायत्ता रसवत्ता स्मृता गिराम्” (काव्यादर्श २ ः २९२) भनेर भरतसम्मत आठ रसकै उल्लेख गरेका छन् । दण्डीपछिका उद्भटले “शृङ्गारहास्यकरुणारौद्रवीरभयानकाः । बीभत्साद्भुतशान्ताश्च नव नाट्ये रसाः स्मृताः” (नगेन्द्र, १९७४इ., २३८ मा उद्धृत) भनेर शान्त रसको उल्लेखसहित नौ रसको अवधारणा ल्याएको देखिन्छ । डा.नगेन्द्रले भने यो मान्यतालाई परम्पराप्राप्त भन्दै उद्भटभन्दा अघि नै रसशास्त्रीहरूले शान्तरसको उद्भावना गरिसकेको अनुमान गरेका छन् (नगेन्द्र, १९७४इ., पृ.२३८) ।
अग्निपपुराणले नौ रसको केवल उल्लेख मात्रै गरेको छ तर स्थायीभाव र सात्त्विक भावका दृष्टिले आठ रस मात्र मानेको देखिन्छ । आठ रसको मात्र सत्ता मान्नु र तीमध्ये पनि चार रसलाई मात्र प्राधान्य दिनुमा नाट्यशास्त्रको स्पष्ट प्रभाव देखिन्छ । अग्निपुराणमा रसको परिचयका क्रममा आठ रसमध्ये पनि अद्भुत रसको परिचय दिइएको छैन । अग्निपुराणले ती आठ रसमध्ये पनि शृङ्गारलाई सबै रसको मूल मान्नुमा भने नन्दिकेश्वरको “शृङ्गारवीरकरुणाद्भुतहास्यभयानकाः । बीभत्सरौद्रौ च रसाः शृङ्गारः शुचिरुज्ज्वलः” (अभिनयदर्पण, श्लोक ३२६) को प्रभाव रहेको मान्न सकिन्छ । यहाँ नन्दिकेश्वरले पनि शृङ्गारलाई विशेष महत्त्व दिएको देखिन्छ ।
अर्को महत्त्वपूर्ण पक्ष अग्निपुराणले शृङ्गारलाई स्त्रीपुरुषको वासनात्मक प्रेमको अभिव्यक्ति नभएर आत्मनिष्ठ (निरपेक्ष) रति (प्रेम) हो भन्दै यसै शृङ्गारबाट अन्य रसहरू अभिव्यक्त हुने बताएको छ । आचार्य भरतले शृङ्गार रसलाई स्त्रीपुरुषबिचको वासनात्मक शृङ्गारकै अर्थमा लिएको देखिन्छ भने अग्निपुराणले भने त्यसभन्दा माथि उठेर शृङ्गारलाई निरपेक्ष रतिका रूपमा मानेको देखिन्छ । अग्निपुराणका अभिमानबाट रति उत्पन्न भएर व्यभिचारी आदि भावसामान्यको सहकारिताबाट पुष्ट भएपछि शृङ्गार नामले गाइएको हो र शृङ्गारकै इच्छा अनुसार रसका अन्य भेदहरू प्रकट भएका हुन् (अग्निपुराण, ३३९ ः ४–५) भन्ने भनाइले पुष्टि गर्दछ । अर्को कुरा “शृङ्गारी चेत्कविः काव्ये जातं रसमयं जगत् । स चेत्कविर्वीतरागो नीरसे व्यक्तमेव तत्” (अग्निपुराण, ३३९ ः ११) (कवि शृङ्गारी छ भने मात्र उसले आनो काव्यमा रसमय जगत्लाई प्रस्तुत गर्न सक्दछ अन्यथा उसको काव्य नीरस हुन्छ) भन्ने यो भनाइबाट पनि अग्निपुराणले शृङ्गारलाई रागसामान्यका रूपमा लिइएको स्पष्ट हुन्छ ।
अग्निपुराणमा रति आदि आठ स्थायीभाव र स्तम्भ आदि आठ सात्त्विक भाव बताइएको छ । स्थायीभावमा रति, हास, शोक, क्रोध, उत्साह, भय, जुगुप्सा र विस्मय छन् भने सात्त्विक भावमा स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभेद, वेपथु, वैवण्र्य, अश्रु र प्रलय यी आठ छन् । यिनलाई संक्षिप्त रूपमा अथ्र्याउँदै चाहना अनुसारको सुखको अनुभूतिलाई रति, हर्ष आदिबाट चित्तको विकास हुनुलाई हास, अभीष्ट वस्तुको नाशबाट उत्पन्न हुने मनको व्याकुलतालाई शोक, आनो चाहनाको प्रतिकूल व्यवहार गर्दा कठोरताको उदय हुने अवस्थालाई क्रोध, पुरुषार्थ सुहाउँदो मनोभावलाई उत्साह, चित्र आदि देख्दा मनमा हुने व्याकुलतालाई भय, दुर्भाग्यकारी पदार्थहरूको निन्दालाई जुगुप्सा र कुनै वस्तु देखेर चित्त अत्यन्त आश्चर्यमा पर्नुलाई विस्मय भनिएको छ । स्तम्भ आदि सात्त्विक भावलाई पनि संक्षिप्त रूपमा चिनाउँदै डर वा रागादिका कारण चेष्टा रोकिनुलाई स्तम्भ, श्रम एवम् रागादियुक्त अन्तःकरणको क्षोभबाट शरीरमा आउने जल (पसिना) लाई स्वेद, हर्ष आदिबाट शरीरका रौं ठाडा हुनुलाई रोमाञ्च, हर्ष वा भय आदिका कारण बोलाइ स्पष्ट नहुुनु वा बोलाइमा अवरोध उत्पन्न हुनुलाई स्वरभेद, मनमा रहेको बेचैनीका कारण काम्नुलाई वेपथु, विषाद आदिका कारण शरीरको कान्तिमा परिवर्तन आउनुलाई वैवण्र्य, दुःख वा धेरै आनन्दका कारण निस्केको आँसुलाई अश्रु र उपवास आदिबाट इन्द्रियहरू संज्ञाहीन हुनुलाई प्रलय भनिएको छ ।
प्रस्ततु सन्दर्भमा नाम नदिई उही प्रकृतिका ३३ भावको परिचय दिइएको छ र यी भावलाई ३४१ औं अध्यायको १० औं पद्यमा दृष्टिपरक अभिनयको चर्चाका क्रममा “दृष्टिस्त्रिधा रसस्थायिसञ्चारिप्रतिबन्धना” अर्थात् रस, स्थायीभाव र सञ्चारीभावको सम्बन्धबाट दृष्टि (कान्ता, भयानका आदि रसदृष्टि) को अभिनय तीन प्रकारको हुन्छ भन्ने सन्दर्भमा सञ्चारीभावको उल्लेख भएको छ । ती भावहरू निर्वेद, ग्लानि, शंका, असूया, मद, श्रम, आलस्य, दैन्य, चिन्ता, मोह, स्मृति, मति, व्रीडा÷लज्जा, चपलता, हर्ष, आवेश, जडता, धृति, गर्व, विषाद, उत्कण्ठा÷उत्सुकता, अपस्मार, त्रास, वीप्सा, अमर्ष, प्रबोध, अवहित्थ, उग्रता, वितर्क, व्याधि, उन्माद, शम गरी ३३ बताइएको छ । यिनको परिचय ३३९ औं अध्यायको १५ औंदेखि ३४ औं पद्यसम्मका २० वटा पद्यमा दिइएकोे छ ।
अग्निपुराणमा कविजनले काव्यादिमा रस एवं भावहरूको निवेश गर्नुपर्छ भन्दै विभाव र अनुभावको परिचय दिइएको छ । जसबाट रति आदि स्थायीभावहरूको विभावना हुन्छ त्यसलाई विभाव भनिन्छ भन्दै यसका आलम्बन र उद्दीपन दुई प्रकार मानिएको छ (अग्निपुराण, ३३९ ः ३५–३६) । तीमध्ये रति आदि भाव जुन नायक आदि (पात्रहरू) को आलम्बन÷आश्रय लिएर निष्पन्न हुन्छन् ती पात्र आदिलाई आलम्बन र ती पात्रहरूमा अर्थात् आलम्बन विभावका मनमा संस्कारका रूपमा रहेका भावहरूलाई उद्दीप्त बनाइदिने विभावलाई उद्दीपन भनिएको छ । आलम्बन विभावमा जागरित संस्कारयुक्त भावहरूबाट स्मृति, इच्छा, द्वेष र प्रयत्नको संयोगबाट गरिएका मन, वाणी, बुद्धि र शरीरका कार्यलाई अनुभाव भनिएको छ ।
रसहरूको परिचय भने रसनिरूपणको अध्यायमा नभई ३४२ औं अध्यायमा अभिनयको परिचय प्रकरणमा दिइएको छ । शृङ्गारका सम्भोग र विप्रलम्भ दुई भेद बताउँदै ती दुईका पनि प्रच्छन्न र प्रकाश गरी दुई भेद बताइएको छ । “सम्भोगो विप्रलम्भश्च शृङ्गारो द्विविधः स्मृतः । प्रच्छन्नश्च प्रकाशश्च तावपि द्विविधौ पुनः” (अग्निपुराण, ३४२ ः ४) । विप्रलम्भ शृङ्गारका भने पूर्वानुराग, मान, प्रवास र करुणात्मक यी चार भेद हुन्छन् र यिनै पूर्वरागादिबाट सम्भोग शृङ्गारको उत्पत्ति हुन्छ भनिएको छ (अग्निपुराण, ३४२ ः ५) । अग्निपुराणकै ३३७ ः १८ मा भने यसलाई प्रवास, शाप, मान र करुण गरी चार प्रकार मानिएको देखिन्छ । शृङ्गार स्त्री र पुरुषको आश्रय लिएर रहन्छ । शृङ्गारको साधक वा अभिव्यञ्जक (स्थायीभाव) रति हो र यसमा वैवण्र्य र प्रलय बाहेक अन्य सबै सात्त्विक (स्तम्भ, स्वेद आदि) भावको उदय हुन्छ । यहाँ नाट्यशास्त्रले भने व्यभिचारीभावको विषय उठाएको छ र “व्यभिचारिणश्चालस्यौग्य्रजुगुप्सा वज्र्याः” भन्दै आलस्य, उग्रता र जुगुप्सालाई छाडेर बाँकी सबै व्यभिचारी भावको उपस्थिति रहने उल्लेख छ । पुरुषार्थचतुष्टयबाट, आलम्बनविशेषबाट र आलम्बनविशेषको वैशेषिकबाट शृङ्गार रसको निरन्तर अभिवृद्धि हुन्छ । अग्निपुुराणका अनुसार अभिनेय शृङ्गारका वचनक्रियात्मक र नेपथ्यक्रियात्मक यी दुई भेद हुन्छन् । यहाँ अभिनेय शृङ्गार भन्नाले नाट्याभिनयबाट प्रस्तुत हुने र नेपथ्यक्रियात्मक भन्नाले काव्यादिबाट निष्पन्न शृङ्गार भन्ने आशय बुझिन्छ । यसबाट स्पष्टतः अग्निपुराणले काव्यस्थ र नाट्यस्थ गरी रसका दुई विभाग मानेको सङ्केत पाइन्छ ।
शृङ्गार रसलाई अग्निपुराणले रससामान्य र रसविशेष गरी दुई दृष्टिबाट हेरेको देखिन्छ । अभिमानबाट उत्पन्न रतिका सन्दर्भमा अग्निपुराणले शृङ्गार रसलाई रससामान्य र सबै रसको मूलका रूपमा लिएको देखिन्छ भने रसविशेषका रूपमा भने स्त्रीपुरुषकै प्रणयका सन्दर्भमा लिएको देखिन्छ । अग्निपुराणले रससामान्यमा रागका अर्थमा र रसविशेषमा प्रणयरसका रूपमा लिएको बुझिन्छ । यो अग्निपुराणको रससम्बन्धी मौलिक मान्यता हो ।
अग्निपुराणमा हासका स्मित, हसित, विहसित, उपहसित, अपहसित र अतिहसित यी परम्परागत छ भेदको चर्चा गर्दै तिनलाई अति संक्षेपमा चिनाइएको छ । दाँत नदेखिने मुस्कान मात्रलाई स्मित, अलिअलि दाँतको अग्रभाग देखिने हासलाई हसित, ध्वनियुक्त हासलाई विहसित, कुटिलतापूर्वक दृटिले हेरेर गरिने अट्टहासलाई उपहसित, अकारण नै जोडले हाँसिनेलाई अपहसित र धेरै जोडसित खित्का छोडेर हासिने हासलाई अतिहसित भनिएको छ (अग्निपुराण, ३४२ ः ९–११) ।
स्थायीभाव शोक हुने करुण नामले प्रसिद्ध रसका धर्मोपजनित, चित्तविलासजनित र शोकदायक घटनाजनित गरी तीन भेद मानिएको छ । शोकदायक घटनाजनित करुण रसको स्थायीभाव के होला ? भन्ने प्रश्न उठाएर त्यसको उत्तर दिँदै पूर्ववर्ती शोकबाट नै यसको पनि उद्भावना भएको जान्नुपर्दछ भनी स्पष्टीकरण पनि दिइएको छ । करुण रसका तीन भेद पनि अग्निपुराणको मौलिक विचार रहेको देखिन्छ । रौद्र रसका पनि अंगकर्म, नेपथ्यकर्म र वाक्कर्मका कारण तीन भेद हुने बताइएको छ । स्थायी भाव क्रोध र स्वेद, रोमाञ्च र वेपथु यी सात्त्विक भावको उदय हुने बताइएको छ (अग्निपुराण ३४२ ः १३) । वीर रसको निष्पादक हेतु (स्थायीभाव) उत्साह मानिएको र वीर रसका दानवीर, धर्मवीर र युद्धवीर गरी तीन प्रकार हुने उल्लेख गरिएको छ ।
भयानक रसमा प्रारम्भमा वीरकै अनुसरण हुने तर पछि गएर त्यो भयको उत्पादक भएर भयानक रसको उदय हुने उल्लेख गर्दै यसको निष्पादक भय नामक स्थायीभाव हो भनिएको छ । बीभत्स रसका उद्वेजन र क्षोभण यी दुई भेद मानिएको छ । दुर्गन्ध आदिबाट उद्वेजन र रक्तपातबाट क्षोभण हुन्छ । यसको स्थायीभाव जुगुप्सा हो भनिएको छ भने यसमा सात्त्विक भावको अभाव हुने उल्लेख छ ।
अग्निपुराणमा अद्भुत र शान्त रसको परिचय दिइएको छैन । अद्भुत रसको परिचय खण्डित भएको अथवा छुटेको हुन सक्ने देखिन्छ । शान्त रसको सन्दर्भमा भने नौ रसको उल्लेख एक ठाउँमा मात्र गरेर स्थायी भाव र सात्त्विक भाव चाहिँ आठ मात्र मानेको कुराले शान्त रसको मान्यतालाई अग्निपुराणले नस्विकारेको भन्न सकिन्छ । किन भने अग्निपुराणमा आठ रसका स्थायी भाव र सात्त्विक भावको उल्लेख छ तर शान्त रसको भने स्थायी भाव शम लाई सञ्चारीको वर्गमा राखिएको छ । अद्भुतको मात्र परिचय नदिनुमा यही कारण हुन सक्छ ।
अग्निपुराणले रस र भावको अन्योन्याश्रित सम्बन्धबारे पनि चर्चा गरेको छ । यसबारे “न भावहीनोऽस्ति रसो न भावो रसवर्जितः । भावयन्ति रसानेभिभाव्यन्ते च रसा इति” (अग्निपुराण, ३३९ ः १२) अर्थात् रसविहीन भाव र भावविहीन रस हुँदैन । भावहरूको काम रसलाई भावित गर्नु हो भने भावहरूबाट भावित नभई रस हुँदैनन् । अग्निपुराणले महाकाव्यको परिचयका क्रममा महाकाव्यमा उक्तिवैचिœयको प्रधानता हुने भए पनि त्यसको प्राण चाहिँ रस नै हो र त्यसको सिद्धि पृथक्प्रयत्नविनै (सहज ढङ्गले) साध्य हुने वक्रोक्ति विषयक रसबाट हुन्छ – वाग्वैदग्ध्यप्रधानेऽपि रस एवात्र जीवितम् । पृथक्प्रयत्ननिर्वत्र्यं वाग्वक्रिम्णि रसाद्वपुः (३३७ ः ३३) भनेर रस नै काव्यको जीवन हो भन्ने दृष्टिकोण अघि सारेको छ । यसबाट अग्निपुराणले काव्यमा रसको सत्तालाई अनिवार्य मानेको देखिन्छ ।
४. निष्कर्ष
रसबारेको व्यापक चिन्तन भरतमुनिको नाट्यशास्त्रम्पछि अग्निपुराणमै भएको देखिन्छ । अग्निपुराण र नाट्यशास्त्रम्का बिचको समयमा रसबारे यति विशद चिन्तन अन्यत्र कतै भएको पाइन्न । अग्निपुराणमा रसको संक्षिप्त तर साङ्गोपाङ्ग परिचय पाइन्छ । ब्रह्मानन्दको अभिव्यक्ति मानेर अग्निपुराणले रसलाई ईश्वरीय आनन्दको तहमा राखेको देखिन्छ । अग्निपुराणले ईश्वरीय आनन्दको उपज अहङ्कार, अहङ्कारको अभिमान र अभिमानबाटै शृङ्गार रसको स्थायीभाव रतिको उदय हुन्छ र त्यसबाट शृङ्गार रस निष्पन्न हुन्छ भन्ने मौलिक दृष्टिकोण प्रतिपादन गरेको छ । शृङ्गार रसलाई सबै रसको उत्पत्तिको कारण मानेर सर्वोच्च स्थान दिनु पनि यसको अर्को मौलिक पक्ष हो । अग्निपुराणले शृङ्गारलाई रससामान्य र रसविशिष्ट गरी दुई दृष्टिबाट हेरेको देखिन्छ । शृङ्गारलाई रससामान्य र रतिलाई स्थायीभावसामान्य मान्दै शृङ्गारलाई सबै रसको कारण पनि मानेको छ । अर्को पक्षमा यसलाई स्त्रीपुरुषको प्रणयमा आश्रित रतिबाट निष्पन्न मानेको छ । अग्निपुराणमा शृङ्गारसम्बन्धी मान्यतामा नन्दिकेश्वरको “शृङ्गारसुचिरुज्ज्वलः” को सामान्य प्रभाव रहे पनि प्रमुख चार रसबाट अन्य रसको उत्पत्ति मान्नुमा नाट्यशास्त्रकै चिन्तनको प्रभाव देखिन्छ । तर, परमात्माका सत्त्वादि गुणको विस्तारबाट रस प्रकट हुने र अनुरागबाट शृङ्गार, तीक्ष्णताबाट रौद्र, उत्साहबाट वीर र सङ्कोचबाट बीभत्सको उदय हुन्छ भन्ने अग्निपुराणको विचार भने मौलिक छ ।
शान्त रस थपेर नौ रसको उल्लेख गरे पनि मूलतः आठ रसकै मान्यतालाई अग्निपुराणले पनि स्विकारेको देखिन्छ । रसको चर्चाका क्रममा आठ रसको चर्चालाई मात्र प्रधानता दिनु, शान्त रसको स्थायीभाव शमलाई सञ्चारीभावमा राख्नु अनि रसको परिचयका क्रममा पनि शान्त रसको उल्लेख नहुनुबाट उक्त कुरा पुष्टि हुन्छ । अग्निपुराणले शृङ्गार, वीर, करुण, रौद्र र बीभत्स रसलाई भिन्न दृष्टिबाट विभाजन गरेर यसबारे पनि मौलिक दृष्टि अघि सारेको छ । विशेषतः शृङ्गार रसलाई अभिनेयात्मक र वचनक्रियात्मक भनी विभाजन गरेर अभिनेयात्मकबाट नाट्यरस र वचनक्रियात्मकबाट काव्यरसको निष्पत्ति हुने मान्यता अघि ल्याएर अग्निपुराणले स्पष्टतः नाटक र काव्यमा रसोत्पत्ति हुने प्रक्रिया फरक हुने मौलिक धारणा अघि सारेको छ । रस र भावहरूका बिच अन्योन्याश्रित सम्बन्ध देखाउँदै भावहरूको समेत संक्षिप्त परिचय पनि प्रस्तुत गरेको छ तर रस कसरी निष्पन्न हुन्छ भन्ने निष्पत्ति प्रक्रियाबारे भने अग्निपुराणले स्पष्ट गरेको छैन ।
रससम्बन्धी चिन्तनमा भरतमुनिबाट स्थापित मान्यताकै सेरोफेरोमा रहेर अग्निपुराणको रसचिन्तन आए पनि कतिपय मौलिक प्रस्थापनाहरू पनि अगाडि ल्याएको देखिन्छ । खास गरी रसलाई ईश्वरीय आनन्दका रूपमा स्थापित गर्नु, शृङ्गार रसको मान्यतामा महत्त्वपूर्ण दृष्टि अघि सार्नु, सबै रसहरूको उत्पत्ति शृङ्गार रसबाट भएको मान्नु, प्रमुख चार रसको उत्पत्तिमा नयाँ विचार अघि सार्नु जस्ता विषयहरू अग्निपुराणका मौलिक स्थापना हुन् ।
सन्दर्भ सामग्री
अवस्थी, बच्चूलाल (सन् १९७२). ध्वनिसिद्धान्त तथा तुलनीय साहित्य–चिन्तन. भोपाल ः मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी ।
त्रिपाठी, रमाशंकर (सम्पा) (सन् २०११). भूमिका.दशरूपकम्. तृतीय संस्क. वाराणसी ः विश्वविद्यालय प्रकाशन ।
द्विवेदी, पारसनाथ (सम्पा) (२०४६). भूमिका. आचार्य नन्दिकेश्वर और उनका नाट्य साहित्य. वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
द्विवेदी, पारसनाथ (सम्पा) (२०४८). भूमिका. नाट्यशास्त्रम्.प्रथम भाग (अनु). वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
द्विवेदी, पारसनाथ (सम्पा) (२०५२). भूमिका. नाट्यशास्त्रम्.तृतीय भाग (अनु). वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
नगेन्द्र (सन्.१९७४). रस–सिद्धान्त. तृतीय संस्क. दिल्ली ः नेशलन पब्लिशिंग हाउस ।
नन्दिकेश्वर - <<< _= अभिनयदर्पणम् (पाठ मात्र)=
https://advocatetanmoy.com/2018/10/22/abhinaya- darpanam-by-nandikeshwara-sanskrit-devanagari/ अवतरण मिति ः २०७८।२।२०
भरतमुनि (२०५२). नाट्यशास्त्रम् द्वितीय भाग. (सम्पा. पारसनाथ द्विेदी). वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
भरतमुनि. (२०३५). नाट्यशास्त्रम्. (व्याख्या. बाबूलाल शुक्ल शास्त्री). वाराणसी ः चौखम्भा संस्कृत संस्थान ।
मिश्र, जयमन्त (सन् १९८०). अलङ्कार प्रकाश. दिल्ली, वाराणसी, पटना ः मोतीलाल वनारसीदास ।
राय, गंगासागर (२०६७). भूमिका. ध्वन्यालोक. द्वितीय संस्क. वाराणसी ः चौखम्भा संस्कृत भवन ।
व्यास. (२०६७). अग्निपुराणम्. (अनु.तिलकप्रसाद लुइँटेल). काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।
व्यास. (२०७०). अग्निपुराण (हिन्दी अनु.). बारौं संस्क. गोरखपुर ः गीताप्रेस ।
व्यास. (२०६८) श्रीमद्भागवत महापुराणम्. सातौं संस्क. गोरखपुर ः गीता प्रेस ।
सिग्देल, सोमनाथ (२०१६). साहित्य प्रदीप. काठमाडौं ः नेपाल एकेडेमी ।

(त्रिभुवन विश्वविद्यालय, ६२ औं वार्षिक दिवस विशेषाङ्क, २०७८ साउन ३, (१८ जुलाई, २०२१) मा प्रकाशित)

कौशलटार, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।