14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साथीकी स्वास्नी

कथा शिव गौतम August 14, 2021, 4:40 pm
शिव गौतम
शिव गौतम

उस्को र मेरो भेट एउटा वार्षिक व्यवसायिक सम्मेलनमा भएको थियो। निकै पहिलेको कुरो हो यो।

त्यो सम्मेलनमा मैले आफ्नो शोध प्रस्तुत गरीसकेर बाहिर यसो टहलिंदै गर्दा उस्ले मेरो नजिकै आएर अंग्रेजीमा भन्यो , “तपाईंको प्रस्तुति र बिषय निकै रोचक लाग्यो। मलाई पनि त्यस बिषयमा चाख छ, तर खास ज्ञान छैन”

“धन्यवाद”, मैले पनि अंग्रेजीमा नै भने।

त्यो सम्मेलन टेक्ससको स्यान एन्टोनियोमा भै राखेको थियो।

“म रमेश त्रिपाठी”, मैले दाहिने हात उ तिर बढाउँदै भने।

“म, प्रविण बस्नेत”, उस्ले म सँग हात मिलाउँदै भन्यो।

“ए, तपाई त नेपाली पो हो कि क्या हो”, भन्दै मैले यसपाली चैं नेपालीमै सोधें।

उस्ले हाँस्तै ‘हो’ भन्यो। अनि थप्यो, “मैले त तपाईंलाई इण्डियन होला भन्ठानेको थिएँ।”

प्रविण जर्मनीको फ्राईबर्ग सहरको विश्वविद्यालयमा पढाउँदो रहेछ। मैले उसलाई म चाहीं ओहायोको एउटा विश्वविद्यालयमा पढाउने कुरा बताएँ। म अमेरिका पढन आएर त्यहीं अड्किए जस्तै उ पनि जर्मनीमा पढ्न भनेर गएको, उतै अड्किएको रहेछ।

त्यो अन्तररास्ट्रिय सम्मेलनको अवधि एक हप्ताको थियो। संसारभरीबाट मानिस त्यसमा भाग लिन आएका थिए। सहभागीहरू सम्मेलन स्थल नजिकैका केही होटेलहरूमा बसेका थिए। सम्मेलन हुने ठाउँसम्म आउन र जान मिनी-बसहरूको व्यवस्था गरिएको थियो। तर कतिले भने सहरको रमझम हेर्दै हिंडेरै आउने जाने पनि गर्दथे।

म र प्रविण पनि सम्योगबस एउटै होटलमा परेछौँ। उस्को कोठा मेरो भन्दा दुई तलामाथि थियो। होटलबाट सम्मेलन स्थलमा हामी बिहान प्रायजसो सँगै जान्थ्यौँ, तर बेलुका होटलमा फर्कंदा भने बेग्ला बेग्लै जस्तो हुन्थ्यो। सम्मेलनको अवधि भित्र एक दिन शनिबार पनि परेको थियो। इच्छुक सहभागीहरूलाई आयोजकको तर्फबाट बसमा सहर घुमाउने कार्यक्रम थियो । प्रविण र म पनि बसमा घुम्न गयौं, सँग संगैको सिटमा बसेर।

“हाम्रो नेपालमा पनि कहिले यस्तो होला ?” प्रविण झ्यालबाट बाहिर हेर्दै एक्लै बर्बराए जसरी बोल्यो। म चुपचाप बाहिर हेरिराखेको थिएँ। नेपालको बारेमा हामीले धेरैपल्ट धेरै कुरा गरीसकेका थियौं, र खास नयाँ थप्नु पर्ने कुरा केहि थिएनन्।

त्यो सात दिन भित्र हामी पुरानै साथी जस्तो भई सकेका थियौं। एक अर्काको बारेमा निकै जानकारी लिई सकेका थियौं।

“रमेश जी, तपाईंका कति छोराछोरी छन्?” एक बिहान चिया खाँदै गर्दा प्रविणले सोध्यो।

“दुईटी छोरी छन्”, मैले भने । अनि तुरुन्तै थपें, “ठूली चैं साइकोलोजीमा मास्टर्स गर्दै छ, कान्छीले पोहोरसाल देखि कलेज शुरू गरी। ”

“अनि, तपाईंका नी?” मैले सोधें.

“एउटा छोरो, एउटी छोरी”, उस्ले भन्यो। उस्को छोराले भर्खरै कम्प्युटर साइन्समा मास्टर्स पुरा गरेको रहेछ र छोरी स्कूलमा अन्तिम बर्षमा रहिछे। “छोरा र छोरीको बिचमा अलिकति ग्याप छ”, उस्ले मुस्कुराउँदै भन्यो।

बातमार्दा बेला-बेला प्रबिण सरलाको कुरो ल्याउँथ्यो, जस्तो सरला र उ कतै खान जाँदा घटेका रमाइला वा अनौठा घटना। यसबाट मलाई उसको श्रीमतीको नाम सरला हो भन्ने कुरो अन्दाज लगाउन गाह्रो भएन। उस्ले पनि मेरी श्रीमतीको नाम अस्मिता हो भन्ने लख काट्यो होला।

“तपाईहरू फ्राइबर्ग घुम्न आउनुस न” एकदिन प्रविणले यसै भन्यो। “हामी दुई परिवार पेरिस घुम्न जाउँला। आईफल टावर चढौंला। टावर माथिबाट पुरा पेरिस सहर देखिन्छ। त्यहाँबाट संसारका ठूला-ठूला सहर कति कति किलोमिटर टाडा छन् भनेर लेखेको छ र कुन दिशातिर पर्छन् भनेर बाणको टुप्पोको चित्र कोरेर जनाईएको छ। काठमाण्डौको नाम पनि त्यहाँ छ। अथवा स्विट्जरल्यान्ड घुम्न जाउँला। स्विट्जरल्यान्ड त त्यहाँबाट एकदमै नजिक छ”, उस्ले साह्रै लोभलाग्ने गरी भन्यो।

म चुपचाप लागेर अनि चाख मानेर सुनिराखेको थिएँ। फेरि उस्ले थप्यो “पेरिसमा लूभ पनि जाऔंला मोनालिसाको पेंटिंग हेर्न। ”

“भै हाल्छ नी “ मैले भने । मोनालिसाको तस्विरको बारेमा सानै देखि धेरै सुनेको थिएँ तर त्यो आफ्नै आँखैले हेर्न सकिने बारेमा कहिल्यै पनि सोचेको थिईनँ। अहिले प्रविणको कुराले मोनालिसाको चित्र आफ्नै आँखाले हेर्न सकिने सम्भावनाले मलाई रमाइलो लाग्यो।

“के फ्राईबर्गबाट पेरिस नजिकै छ?” मैले उसलाई सोधें।

“नजिकै छ। फ्राईबर्ग नजिकै फ्रान्स र स्विट्जरल्यान्डको सिमानैमा एउटा एअरपोर्ट छ। त्याहाँबाट त्यस्तै पैंतालिस मिनेट वा एकघन्टा जति उडेपछि पेरिस पुगिन्छ। त्यो एअरपोर्ट पनि गज्जबको छ, एकातिरको ढोकाबाट निस्के फ्रान्स, अर्कोबाट निस्के स्विट्जरल्याण्ड । ”

मलाई पनि त्यो सुनेर अलिक कौतुहलता जागेर आयो , अनि “हो र?” भनें ।

मेरो उत्सुकता देखेर उ अझ हौसियो, “नजिकैको स्विस शहर बाजल पनि घुम्न जाउँला”

“यसो सुन्दा त तपाईंकोमा अहिले नै जाउँ-जाउँ जस्तो भै सक्यो”, मैले अलिअलि हाँस्तै भनें।

“होईन, भाउजुलाई पनि लिएर आउनु पर्छ”, उस्ले पनि हाँस्तै भन्यो। अनि अलिक गम्भिर भएर थप्यो, “ए, साँची यात्रालाई अझ अविस्मरणीय बनाउँन कम्तिमा पनि आउँदा व फर्कंदा लन्डन देखि पेरिस सम्मको यात्रा चैं समुद्रको मुनि-मुनि गुड्ने रेलमा चढेर गर्ने व्यवस्था मिलाउनु होला”।

मैले जर्मनीका सहरहरू बर्लिन, म्यूनिख, हमबर्ग, डुसेलडर्फ आदिको नाम त सुनेको थिएँ, तर फ्राईबर्गको नाम पहिले कहिल्यै सुनेको थिईनँ।

प्रविणले भन्यो, “फ्राईबर्ग एउटा सानो चिटिक्क परको सहर हो। यो सहरको मुख्य सडकको किनारमा सानो कुलो जस्तो छ र त्याहाँ निरन्तर तुरतुर गरेर पानी बगिराख्छ। यो त्यो सहरको विशेषतामा पर्छ। नजिकैको ब्ल्याक फरेस्ट पनि हेर्न जाउँला। त्यो पनि फ्राईबर्ग आउने पर्यटकको गन्तव्य मध्येको एक हो“

मलाई पनि के भनौँ के भनौँ जस्तो भयो, अनि भन्न थालें, “तपाईंहरू पनि ओहायो आउनु पर्छ। हामी बसेको ठाउँलाई क्लिभल्याण्ड भन्छन्। त्यो एउटा अजंगको तालको छेउमा पर्ने हुनाले कसै कसैले त अमेरिकाको उत्तरी तट पनि भन्छन्। तालको पारीपट्टी क्यानडा पर्छ। त्याहाँबाट नायाग्रा फल्स नजिकै छ, घुम्न जाउँला। “

“ए, नायग्रा फल्स त्यतै हो, मैले खुबै नाम सुनेको छु”, प्रविणको बोलीमा उत्सुकता प्रष्टै झल्किन्थ्यो।

“हो, नायग्रा फल्स क्यानाडा पट्टिबाट झन रमाइलो देखिन्छ। बरू एकरात क्यानडा पटि नै बास बसौंला र भोलि पल्ट टोरन्टो सहर अनि क्यानाडाको राजधानी ऑटवा पनि घुमेर आउँला। ”

सम्मेलन सकिंदा हामी निकै घनिष्ट मित्र भै सकेका थियौं। हाम्रो विषय समग्रमा एउटै भए पनि विशेषज्ञता भने अलिक भिन्न थियो। साझा रुचिको कुनै विशेष विषयबस्तु फेलापरे सँगै अनुसधान गर्ने समेत कुरा गर्यौं। अझ नेपाललाई मिल्ने वा नेपाल सम्बन्धि कुनै प्रोजेक्टमा काम गर्न पाए नेपाल जाने बहाना पनि मिल्ने थियो भन्दै यसमा अरू सोच विचार गर्ने कुरा गर्यौं।

छुट्टिनु अघि आ-आफ्नो टेलिफोन नम्बर र इमेल साटासाट गर्यौं , र निरन्तर सम्पर्कमा रहिरहने निधो गर्यौं।

प्रविण फर्केर जर्मनी गयो, म ओहायो आएँ। हामी प्रत्येक हप्ता जसो शनिवार वा कहिलेकाहीं आइतवार पारेर कुरा गर्न थाल्यौं। कहिलेकाँही मैले फोन गर्दा प्रविणको फोन उठेन भने त्यसै राखिदिन्थें , अनि पछि फेरि फोन गर्थें। फेरि कहिलेकाँही उ बाहिर निस्केको बेला पर्यो तर सरला भाउजू घरमै भए भाउजूले फोन उठाउनु हुन्थ्यो अनि एकछिनको भलाकुसारी पछि ‘ म प्रविण आएपछि भन्दिन्छु नि ‘ भनेर मसंग विदा माग्दै फोन राखिदेने गर्नु हुन्थ्यो। प्रविण आएपछि उसले मेरो फोन फर्काउँथ्यो, र फेरि उसैगरी चल्थ्यो हाम्रो गफको सिलसिला ।

सरला भाउजूसंग कुरा गर्न सजिलो महसुस हन्थ्यो। सानोसानो कुरामा हास्नु हुन्थ्यो। नाम अनुसारकै सरल र मिष्टभाषी हुनुहुन्थ्यो। शुरुमा एक अर्काको बारेमा थाहा पाए पनि अस्मिता र सरला भाउजूको बिचमा प्रत्यक्ष चिनारी भै सकेको थिएनँ। उहाँहरुको पहिलो फोन सम्पर्क म अझै सम्झन्छु।

एक दिन मैले प्रविणलाई फोन गरेको बेला उ घरमा फेला परेन । सरला भाउजूसंग भलाकुसारी भयो। म एउटा सानो कामकोलागि बाहिर जानु थियो , प्रविणसंग कुरा गरेर जानु पर्ला भन्ने सोचेर फोन गरेको थिएँ तर उसलाई न भेटेपछि पहिले त्यो काम सकेर आउँछु, अनि पछि फोन गर्छु भन्ने सोचेर, ‘ म प्रविणलाई पछि फोन गर्छु, तर अहिलेलाई अस्मितासंग चिनारी गरौं न, है”, भन्दै मैले फोन अस्मितालाई दिएँ।

एकछिन पछि बाहिर जानकोलागि ढोका तिर के लागेको थिएँ , फोनमा सरला भाउजूलाई एकछिन है भन्दै फोन नसमातेको हातको हत्केलाले फोनमा अवाज जाने ठाउँलाई छोप्तै म तिर हेरेर अस्मिताले ‘आउँदा दूध लिएर आउनु है’ भनिन्। मैले ‘हुन्छ‘ को भावमा टाउको हल्लाएँ र ढोका खोलेर बाहिर गएँ अनि बाहिरबाट ढोका बन्द गरें।

अस्मिता र सरला भाउजूको फोनमा निकै बेर कुरा भएछ। सरला भाउजूले पनि फ्राइबर्ग आउनु पर्छ भनेर एकदमै आत्मीयताका साथ निम्तो दिएको कुरा अस्मिताबाट थाहा पाएँ। यसरी बिस्तारै हामी दुवै थरिका श्रीमान श्रीमती आफनै परिवारका जस्ता भयौं। फोनमा हाँसो ठट्टा रमाइलो पनि गर्थ्यौं। फोन कहिलेकाहीं त घन्टौं सम्म पनि हुन्थ्यो।

प्रविण र मैले संगै अनुसन्धान गर्ने विषय पनि फेला पार्यौं र एउटा ग्राण्ट लेख्ने कुरामा सहमति भयो। आफ्नो भागमा परेको ग्राण्ट लेखनमा प्रविण अलिक पछि परिरहेको थियो। उसलाई हतारो लाउनु पर्यो भनेर एकदिन मैले उसलाई अफिसबाटै फोन गरें , दिउँसोको दुई बजे तिर। उसको समय त्यस्तै बेलुकाको सात-आठ बजेको हुँदो हो। मेरो फोन सरला भाउजूले उठाउनु भयो।

“प्रविण जी हुनुहुन्छ ?” नमस्ते आदान प्रदान पश्चात मैले सोधें।

“बाहिर जानु भएको छ, एक घन्टापछि आउनु हुन्छ। “

“सँधै त हप्ताको अन्त्यतिर फोन गर्नु हुन्थ्यो , यसपाला मन थाम्न सक्नु भएन कि क्या हो,” सरला भाउजूले भन्नु भयो र हाँस्नु भयो।

“मलाई पनि प्रविणजी संग कुरागर्ने लतै लागिसक्यो , कुनै शनिवार कुरा गर्न पाइएन भने रातभर निंद्रै लाग्दैन ,” मैले पनि यसो अलिक ठट्टा गरे जसरी भनें।

अनि गफकै सुरमा, झन् हौसिएर , सोच्दै नसोची भनें, “हामी मध्ये एकजाना लोग्नेमान्छे र अर्को चाहीं स्वास्नीमान्छे भएको भए त बातै लाग्ने बेला भइसक्यो। “

सरला भाउजू एक्कासी यस्तरी खुलेर हास्नु भयो कि म अलिक असमन्जसमा परें। त्यस्तो हाँसो मैले शायदै सुनेको हुँला। त्यो हाँसोमा एउटा खनक थियो , खोलाको निर्मल कलकल , थुप्रै बाजागाजा मिश्रित एउटा संगीत जस्तो, अचानक फूलको बर्षा भए जस्तो। एकछिन कुरा गरेर , ‘हवस् त, म प्रविणलाई भोली फेरि फोन गर्छु’, भन्दै फोन राखिदिएँ।

धेरै बेरसम्म त्यो हाँसोको बारेमा सोचिरहें, त्यो उन्मत्त हाँसो मेरा कानमा घोलिई रह्यो। साधारणतया त्यो हाँसोलाई म एक कानले सुनेर अर्को कानबाट निकालिदिने थिएँ होला। तर, पोहोरको नयाँ बर्षको पार्टीबाट घर फर्केपछि अस्मिताले भनेको कुराले होला, त्यो हाँसो एउटा कानबाट पसेर त्यहीं अड्किरह्यो, अर्को कानबाट निस्केर गएन । म यसको कारण खोज्न थालें। कतै पोहोरको नयाँबर्षको जमघटपछि अस्मिताले घर फर्केपछि भनेको कुराले यस्तो भएको त हैन ?

पोहोरको नयाँ बर्षको पार्टीबाट फर्केर घर भित्र पस्ने वित्तिकै अस्मिताले भनेकी थिइन् , “देख्नु भो त्यो गोबिन्देको चाला, आफ्नी स्वास्नीसँग झर्को र फर्को अनि अरुसंग मसक्क मस्केको ? बिहे गर्नु अघि त मा तिमी बिना म मर्छु भन्थ्यो होला।”

त्यो हाँसोलाइ लिएर मेरो मनमा कुरा खेलिरहे। सक्ने भए, म त्यो हाँसोलाई आफ्ना कानबाट झिकेर प्रविणका कानमा हालिदिन्थें होला। उसले त्यो हाँसो कहिल्यै नसुनेको भए, सुन्न पाउने थियो। सुनेको भए , थप एकपल्ट फेरि सुन्न पाउने थियो जस्तो लाग्यो।

अस्मिताको त्यो कुरा पछि बेलाबेला म भित्र पनि कतै ‘गोबिन्दे’ लुकेर बसेको छ कि भनेर खोज्ने गर्छु र हे भगवान , त्यसको बास म भित्र नहोस भनेर मनमनै प्राथना गर्ने गर्छु।

त्यसदिनको अफिसको काम सकेर म घर आएँ र आँफैलाई सोफामा फाले जसरी बसें।

“आज अलिक धेरै काम थियो कि, थाके जस्तो देखिनु हुन्छ नि”, अस्मिताले सोधिन्।

“अरू दिनभन्दा खासै बेग्लै केही थिएन ‘, मैले भनें।

‘चिया बनाउँ ?”

“हुन्छ “

एकछिन पछि अस्मिताले चिया ल्याएर दिईन्। मैले उनलाई आँफुसँगै सोफामा बस्न भनें अनि सोधें , “किन मलाई मात्रै , तिमी चैं चिया नखाने ?”

“मन छैन “

चियाको एक दुई चुस्की लिएपछि चियाको कपलाई बिस्तारै अस्मिताका ओठ तर्फ लाँदै मैले भने , “अलिकति खाउ न, तिमीले बनाएको चिया एकदमै , सदा झैँ , मिठो छ। यसलाई जुठो पारेर अरु मिठो बनाइदेउ न। “

चियाको कप समाई राखेको मेरो माथि अस्मिताले पनि आफ्नो हातले कप समाउँदै सुरुप्प पारेर चिया खाइन् र म तिर हेरेर मुसुक्क हाँसिन्। मैले पनि चिया एकपल्ट सुरुप्प पारें र चियाको कपलाई सोफा अगाडिको कफी टेबलमा राखें। चिया र कपले तातो भएका ओठलाई मैले अस्मिताका गालामा हलुका संग राखें , र उनलाई बिस्तारै आँफू तिर तानें। बुहारी झारले आँफू छोइंदा खुम्चिए जस्तै अस्मिता मेरो अंगालोमा खुम्चिइन् र मसंग लपक्क टाँसिइन्। उनका शरीरका कसाबहरू खुकुलिएका मेरो शरीरले थाहा पाइसकेका थिए। मैले पनि उनलाई अझ अलिक आँफू तिर तानें र मनमनै प्रार्थाना गरें , “प्रविण र सरलाले पनि एक अर्कालाई यसैगरी मायाँ गरुन्।”

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।