निद्राको फाँटभरी
विचारहरूको समागम
चलिरहेको थियो।
त्यहाँ होनहार
विकासे कविहरूमा
को कत्तिको पहुँचवाला हो
कस्लाई कसको सिफारिश छ
को कसको आशीर्वादपुष्ट हो
त्यही सावित गर्ने
होड़ चलेको थियो।
एक भन्दै थियो
म त साहित्य संगठनको
पदाधिकारी हूँ।
अझ अर्कोले चर्को स्वरमा भन्यो
मेरा त यत्तिका पुस्तकहरू
प्रकाशित छन।
कविहरूको भेलामा
कविताको कुनै चर्चा थिएन
त्यहाँ रचनाधर्मिता,
चिन्तन, मनन, अध्ययनको
कुनै परिवेश थिएन।
कोही पेंशनको तनावमा थिए
कोही पुरस्कारको लागि
सिफारिशको आशामा
कोही ख्याति कमाउने
लालसामा जीवित थिए।
आफ्नै बढ़िबढ़ाउ गर्ने
एक तमासको होड़
चलिरहँदा एकले
आफ्नै जयघोषमा
जोरले चिच्यायो
अनि अचानक आत्तिदैं व्युँझन्छु
म निद्राबाट
र छाम्दछु आफ्नै छातीमा
कहीं कविताको धड़कन त
जीवित छ!