14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली साहित्यमा स्व. आर. पी. लामाको अवदान

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व August 14, 2021, 8:23 am
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतभरि छरिएर बसेका नेपाली भाषी भारतीय गोर्खा समुदायहरूमध्ये सबै भन्दा अधिक बाक्लो जनसङ्ख्यामा दार्जीलिङ, खरसाङ र कालेबुङ क्षेत्रका पहाडहरूमा हाम्रा पुर्खाहरू युगौंदेखि बसोबास गर्दै आएका छन्। यहाँको ऐतिहासिक पृष्ठभूमि एवं भौगोलिक तथा राजनैतिक स्थिति आदिको पनि अलग महत्व रहेको छ। पहाड़को शीतल अनि स्वास्थ्यवर्धक जलवायु र प्राकृतिक सौन्दर्यको कारणले पनि तत्कालीन अङ्ग्रेजहरू लगायत देश-विदेशका पर्यटकहरूका निम्ति यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्यो। कालान्तरमा यहाँको आर्थिक-सामाजिक विकास तथा शिक्षा र साहित्यको उन्नतिका निम्ति हाम्रा सहस्रौं पूर्वजहरूको पनि ठुलो भूमिका रहँदै आएको छ। यस भूमिमा हाम्रा यस्ता धेरै विभूतिहरू जन्मिएका थिए जसको सत्कर्म, त्याग, बलिदान, लगन र समर्पणको भावनाले नै आज हामी संसारमा एउटा छुट्टै पहिचान लिएर उभिन सफल भएका छौं। ती नै विभूतिहरूमध्ये एकजना स्वनामधन्य स्व- रामप्रसाद लामा पनि हुन्। हामी उनलाई आर.पी. लामाको नामले चिन्दछौं।
उनको जन्म 12 मार्च सन् 1931 को दिन खरसाङ महकुमाको पङ्खाबारी निकट पर्ने लङभिउ चियाकमानको चिलाउनेधुरामा भएको थियो। उनको पिताको नाम स्व. राजमान लामा अनि माताको नाम स्व. चरिमाया लामा हो। उनी आफ्ना माता-पिताका ज्येष्ट पुत्र थिए। उनका पछि तीन भाई अनि एक बहिनी थिइन्। त्यसबेला परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन। जसोतसो स्थानीय पाठशालामा प्रारम्भिक शिक्षा प्राप्त गरेपश्चात् उनी खरसाङको पुष्परानी हाई स्कुलमा भर्ना भए अनि त्यहाँ उनले छात्रवृति पनि पाए जसद्वारा उनलाई आफ्नो पढ़ाईलाई सुचारुरुपले अघि बढाउन धेरै सघाउ पुग्यो। सन् 1950 मा उनी त्यहाँबाट म्याट्रिकुलेसन (वर्तमान माध्यमिक तहको परिक्षा) उतिर्ण भए।
त्यसपश्चात् उनी पश्चिम बङ्गाल सरकारको कृषि विभागमा कृषि सहायकको पदमा नोकरी गर्न थाले। त्यसबेला उनी 90 रुपियाँ गरी मासिक वेतन पाउँथे। त्यस समयमा 90 रुपियाँको क्रयमुल्य धेरै हुन्थ्यो। आफ्नो पोस्टिङ दार्जीलिङमै भएको हुनाले नोकरी गर्दै उनी दार्जीलिङ सेन्ट जोसेफ कलेजमा मोर्निङ क्लास पनि लिन थाले अनि त्यहीँबाट इन्टरमिडिएट गरेपछि सन् 1958 मा उनले बी.ए. पास गरे। उनी सन् 1953 देखि 1958 सम्म कृषि विभागमा सेवारत छँदा विभागीय कृषि सम्बन्धित पत्रिका ‘खेतीपाती’ को सम्पादक पनि रहेका थिए। सन् 1958 देखि बङ्गाल सरकारकै अधीनमा पदोन्नती भएर सूचना तथा संस्कृति विभागमा अधिकारीको रुपमा कार्य गर्दै दार्जीलिङमा रहेर उनले नेपाली भाषा, साहित्य र संस्कृतिको सेवामा पर्याप्त समय दिन समर्थ रहे अनि सन् 1989 मा सो विभागबाट सेवा निवृत भएका थिए। यस अघि उनले स्व-अध्ययनद्वारा उत्तर बङ्गाल विश्वविद्यालयबाट सन् 1982 मा नेपाली साहित्यमा एम.ए. पनि गरे।
नेपाली साहित्य लेखनको क्रममा उनको प्रथम कथा ‘पल्टने’ दार्जीलिङको ‘हाम्रो कथा’ पत्रिकामा सन् 1950 मा प्रकाशित भएको थियो। त्यसपछि उनका अनेकौं फुटकर रचनाहरू कथा, कविता, लेख-निबन्ध, संस्मरण, जीवनी आदि विभिन्न पत्र-पत्रिकाहरू हाम्रो कथा, गोर्खा, युगवाणी, भारती, धुँवा, खेतीपाती, हिमालोक, दियालो, चौतारा, संस्कृति-परिक्रमा, हाम्रो भाषा, भानु स्मारिका, पश्चिम बङ्गाल, बिन्दु, हिमालचुली, बिजुवा आदिमा प्रकाशित भए। यसका अतिरिक्त उनका अङ्ग्रेजी भाषामा लेखिएका असङ्ख्य फुटकर रचनाहरू पनि अमृता बजार पत्रिका, इलुस्ट्रेटेड वीक्ली अफ इन्डिया, हिमालयन अब्जर्भर, स्टेट्सम्यान, एशियन एज, इन्डियन लिटेरेचर (साहित्य एकाडेमी), मास्टरपिस अफ इन्डियन लिटेरेचर, सिक्किम एक्सप्रेस, मुनाल, हिमालय टुडे, प्राची, स्नो लाइन, फेस्टिवल सोव्नियर, टुरिज्म सोव्नियर जस्ता अङ्ग्रेजी भाषाका पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। उनी अङ्ग्रेजी र नेपाली दुवै भाषामा समान रुपले कलम चलाउँथे। उनले ‘हाम्रो पञ्चायत’ र ‘प्रतिध्वनि’ दुइवटा नाटक पनि लेखेका छन्।
पुस्तक रुपमा प्रकाशित उनका प्रमुख कृतिहरू यस प्रकार रहेका छन् :-
1. स्मृतिमा (कविता, कथा र निबन्ध सङ्ग्रह - सन् 1971)
2. हाम्रो पञ्चायत (नाटक – 1972)
3. रेडियो वार्ताहरू (सन् 1981)
4. प्रतिध्वनि (नाटक - सन् 1987)
5. इन्द्रधनुष (नेपाली लोक संस्कृति सम्बन्धमा लेख सङ्ग्रह - सन् 1990)
6. कीर्ति-स्तम्भ (जीवनी सङ्ग्रह – सन् 1987)
7. साहित्य अकादमी र नेपाली भाषा (सन् 1995)
8. स्मृति-तरङ्ग (कविता - सन् 1997)
9. Gorkha’s in Indian Freedom Struggle (1999)
10. Across the Teesta (Nirman Prakashan, Gantok, Sikkim – 2002)

यसबाहेक उनले केही पुस्तक तथा पत्र-पत्रिकाहरूको सम्पादन कार्य पनि गरेका छन्। तीमध्ये प्रमुख हुन् :-
1. खेतीपाती (मासिक पत्रिका 1954-58) (कृषि विभाग, पश्चिम बङ्गाल सरकार)
2. देशभक्तिका गीतहरू खण्ड 1 र 2 (1965 र 1974)
3. स्मारिका दुई खण्ड (1967 र 1978)
4. नेपाली साहित्य सम्मेलनको स्वर्ण जयन्ती (1982)
5. दियालो वाङमय विशेषाङ्क (1984)
6. दलबहादुर गिरी स्मृति ग्रन्थ (नेपाली साहित्य सम्मेलन, दार्जीलिङ)
7. राष्ट्रिय भावनाका नेपाली कविताहरू (1987)
8. भारतीय नेपाली साहित्य : राष्ट्रियताको सन्दर्भमा (1994)
यसका अतिरिक्त हाम्रा विभिन्न पार्वत्य जनजातिहरू लगायत नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्य भाषा-भाषीहरूलाई बुझाउन उनले कतिपय परियोजनाहरू (Projects) अन्तर्गत अंग्रेजी भाषामा अनेकौं महत्वपूर्ण लेखन कार्यहरूको निष्पादन पनि गरेका छन्। तीमध्ये केही यस प्रकारका छन् :-
1. Compilation of annotated bibliography of Nepali translation in India and Nepal (1901 – 1990) under B.P. Koirala India Nepal Foundation, New Delhi.
2. Study of tribals and their festivals in the hills. Sponsored by the Dept. of Culture, Ministry of Human resources Development, Govt. of India.
3. Revision and Compilation of Encyclopaedia of Indian literature (Volume one to six), Sahitya Academi .
4. Nepali Literature
Encyclopaedia Asiatica (Volume four) by Asiatic Society, Calcutta.
5. Bibliography of Inter-language translations of creative literature – Sahitya Academi.
6. Sikkim studies series (Religion, Culture and literature) Govt. Of Sikkim.
7. Folklores – tracing origin, concept, themes and plots (Dept. Of Culture, Govt. Of India). Under Senior National fellowship scheme.
8. Hill folk dances and songs.
नेशनल बुक ट्रस्ट, इन्डियाका एक कर्मठ सदस्य पनि रहेका आर.पी. लामाले अंग्रेजी, हिन्दी र बङ्गला भाषाबाट अनेकौं फुटकर रचनाहरू नेपाली भाषामा अनुवाद गरेर विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित गराएका छन्। उनले नर्वेका नाटककार हेनरिक इब्सेनको नाटक ‘द वाइल्ड डक्’-को नेपाली अनुवाद पनि गरेका थिए जो ‘जङ्गली हाँस’ को नामले साहित्य अकादेमी, दिल्लीले सन् 1997 मा प्रकाशित गरेको छ।
नेपाली साहित्य सम्मेलन, दार्जीलिङका मूल सचिव (1976 – 1981) र अध्यक्ष (1984 – 1991)-का पदमा रहेर उनले आफ्नो उत्तरदायित्व निभाउन कुनै कमी राखेनन् र त्यस अवधिमा उनले सम्मेलनको दीर्घकालीन सेवाद्वारा पुर्याएको योगदान खुबै उल्लेखनीय रहेको छ। उनी एकताका नेपाली अनुवादमाथि राखिएको राष्ट्रिय कार्यशालाका निर्देशक अनि दार्जीलिङ लोक मनोरञ्जन शाखा, पश्चिम बङ्गाल सरकारका प्रशासक पनि रहेका थिए। यसबाहेक साहित्य अकादमी र भारतीय ज्ञानपीठ जस्तो राष्ट्रिय स्तरको साहित्यिक संस्थामा नेपाली भाषा सल्लाहकार समितिका सदस्य तथा संयोजकका रुपमा रहेर उनले लोक संस्कृतिमाथि विशेष शोध कार्य गर्दै नेपाली भाषा र साहित्यका विविध प्रगतिमूलक कार्यहरूमा यथेष्ट योगदान पुर्याएका छन्। उनको पेशा अर्थात् सरकारी सेवा नै लोक संस्कृतिसित दीर्घकालसम्म जोडिएको हुनाले पनि उनले यस क्षेत्रमा धेरै कार्य गर्ने सुअवसर प्राप्त गरेका थिए।
उनले नेपाली लोक संस्कृतिमाथि आधार गरी विविध विषयका अनेकौं लेख-निबन्धहरू लेखेर पत्र-पत्रिकाहरूमा प्रकाशित गराए। पछि तीमध्ये चुनिएका 14 वटा लेखहरूको सङ्ग्रह ‘इन्द्रधनुष’ पुस्तक (सन् 1990)-का निम्ति सन् 1992 मा उनले साहित्य अकादेमी पुरस्कार प्राप्त गरे। साहित्य अकादेमी अनि पच्चीस वर्षका पुरस्कृत नेपाली साहित्य - सम्पादक पवित्र रेग्मी (अधिकारी)-को पुस्तकमा सङ्कलित समीक्षात्मक लेख ‘इन्द्रधनुष : एक समीक्षा’ मा डा. गौतम विश्वास उक्त कृतिबारे लेख्छन् –‘समाज र मानिस माझको सचेत र गहिरो सम्पर्कको दर्पण वा प्रतिविम्ब मात्र साहित्य होइन। साहित्य त योग साधनाको क्षेत्रबाट झ्याँगिएको र हाँगा-विङ्गा र फलफूलले परिपूर्ण वृक्ष हो। अकादेमी पुरस्कार प्राप्त श्री आर.पी.लामाको ‘इन्द्रधनुष’ नेपाली समाज र संस्कृतिको प्रवाहमान परम्परासँग रहेको लेखकको यस्तै साधना र लगनशीलताको फल हो। प्रस्तुत ‘इन्द्रधनुष’ नेपाली संस्कृतिको परिचयात्मक कृति मात्र नभएर लेखकको निजी जीवन बोधले सृजना गरेको नेपाली संस्कृतिका इन्द्रधनुषी वा बहुरङ्गी पक्षहरूको नमूना पनि हो।‘ उनको अध्ययन, लगनशीलता र परिश्रमको झलक हामी उनका अन्य कृतिहरूमा पनि स्पष्ट देख्न सक्छौं।
सरकारी सेवाको प्रारम्भिक कालमै सन् 1961 मा सम्पन्न भएको जनगणनामा उल्लेखनीय कार्य गरेवापत् उनी राष्ट्रपति रजक पदकद्वारा पुरस्कृत भएका थिए। यसबाहेक उनले भारत सरकारको संस्कृति विभागबाट ‘श्रेष्ठतम राष्ट्रिय वृति’ पनि प्राप्त गरेका थिए। उनले सन् 1997 मा नेपालबाहिर नेपाली भाषा र साहित्यको सेवा गरे बापत श्री पाँचको सरकार, नेपालबाट पनि सम्मान पदक प्राप्त गरे अनि सन् 2004 मा विध्याधर्म प्रचारिणी नेपाली समिति, वाराणसीबाट मदनस्मृति व्याख्यानमाला पुरस्कारले सम्मानित भए। भारतीय नेपाली समाजमा देखा परेका यस्ता कर्मठ एवं प्रतिभाशाली व्यक्तित्वको अचानक 26 अक्टुबर 2006 मा यस संसारबाट चोला उठ्यो। आज सशरीर हामीमाझ नरहेता पनि उनले छाडेर गएका उनका कर्मकृतिहरूमा उनी बाँचिरहेका छन् अनि सदा बाँचिरहने छन्।

बाग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।