17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुरस्कार लुँड़्याउनेहरू

हास्यव्यङ्ग्य कृष्ण प्रधान August 14, 2021, 9:26 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

हिजोआज पुरस्कार पाउने पुरस्कृत अस्रष्टाभन्दा पनि पुरस्कार प्रशिद्ध छ ; पुरस्कारकै जय जय छ । यसैकारण कतिपय साहित्यकारहरू पुरस्कार लुँड़्याउनु [लुँड़्याउनुको शाब्दिक अर्थ हुन्छ (लुड़्याउन = लुँड़ि+या+उनु, क्रि.) लुँड़ी पार्नु, गुजुल्ट्याउनु, बटार्नु; बस्तुले सागपात जथाभावीसँग खानु; सागपात आदि मनपरी टिप्नु वा जथाभावी बेड़ाउनु , भेटिए जति सबै लैजानु; पाए जति सबै खानु ; जुवा आदिमा सबैको धन जित्नु, सोहोर्नु ; धनीले वा रक्षकले पत्तै नपाई सबै उड़ाउनु] -ज्यान दिने गरेको कुरा कतै लुकेको छैन । सबै पुरस्कार लुँड़्याउने दाउमै देखिन्छन् । पुरस्कार पाउने कतिको योग्य छ भन्ने कुरा जान्दा-जान्दै पनि जसरी होस् पुरस्कार मैले लुँड़्याउँनैपर्छ भन्ने ध्याउन्नमा हुनेको सङ्ख्या कम्ति छैन । पहिले पहिले पुरस्कारलाई सम्मानको दृष्टिले हेरिन्थ्यो तर अचेल यस्ता साहित्यिक पुरस्कारलाई वेश्याले लाउने सिन्दूर ठान्नेहरू पनि देखिँदोछ । किनभने, अचेल ऐरै-गैरे-नत्थुखैरेको भाग्यमा जुरेको देखिन्छ यो पुरस्कार ।
हुन पनि हो यो पुरस्कार भन्नेको कुनै आमा-बाबा छैनन् । ठीक बतासे नानीजस्तो । जेसुकै भन्नोस्....पुरस्कार लुड़्य़ाउनेहरूको सूचीमा तपाई र मेरो नाम पनि परेको छैन भन्न सकिन्न । आखिर हामी पनि एउटै पोखरीका ता माछा हौँ । तर पुरस्कार लुँड्याउनु त्यति सजिलो छैन । पुरस्कार लुँड़्याउनु हो भने सबैभन्दा पहिले पुरस्कारको खाता खोलिदिने दाता वा पुरस्कारविधातालाई खुशी पार्नुपऱ्यो ; पुरस्कारविधाता महोदयको झोला तुइँतुइँ बोकिदिनुपऱ्यो । पोका लिएर दाताको घर पुग्नुपऱ्यो र मात्रै पुरस्कारविधाताको मनको ढोका खोलिन्छ । बस् पुरस्कार लुँड़ाउने गेट पास हात पऱ्यो भनेर ढुक्कैले बस्दा हुन्छ ।

हिजोआज पुरस्कारले प्रतिभा वा पुरस्कार पाउने योग्यलाई पत्तै दिँदैन । पुरस्कार प्रदानकारी पुरस्कारविधातालाई रिझाउन सकियो भने पुरस्कार लुँड़िन्छ...लुँड़िन्छ । यसमा शङ्का गर्ने ठाँवै छैन । पुरस्कारविधाता रिझियो कि पुरस्कार लुँड़ियो भनी ढुक्कैले बस्दा हुन्छ । कसले, कसरी, कुन प्रकारले, कुन ट्याक्टिक्स, साम-दाम-दण्ड-भेद चलाएर पुरस्कार लुँड़्याउँने काम गरिरहेका छन् त्यसको नालीबेली दुनियाँलाई थाह भइसकेको छ । अनि किसिम जाल-झेल, छक्का-पञ्जा गरेर पुस्कार लुँड़याउने पुरस्कार लुँड़ाहालाई पनि "मैले कुन जदौ-हजूरीले पुरस्कार लुँड़्याएँ" भन्ने कुराले चिमोटे पनि ऊ भिजेको बिरालोजस्तो भएर "म पुरस्कार लुँड़्याउने योग्यको छु क् ती" भनू बुझ पचाई पचाई सद्दे पुरस्कृत स्रष्टा भइटोपल्नेहरू पनि नदेखिएको होइन । ठिक बकुलाजस्तो । बकुला माछा खान नदीमा उभिरहन्छ...माछा छेउमा पऱ्यो कि क्वाप्ल्वाक्कै पार्छ...तर पानी जस्ताको त्यस्तै हुन्छ । बङ्ला भाषामा यसलाई भनिन्छ, "धोरी माछ नाछुई जोल" अर्थात् पानी नछोई नै माछा समात्छु । जदौ-हजूरी गरेर, पोको-पन्तेरो चढ़ाएर वा पुस्कार लुँड़्याउनमा सिंहभाग (lion's share) ज्यान लाएर ट्याक्टिक्सवाल पुरस्कारविधाताको झोला बोकेर पुरस्कार लुँड़्याउनेहरूलाई मैले बकुला नाम राखेको छु ।

पुरस्कार लुँड़्याउने लोभमा परेपछि रगत खान पल्केका नरभक्षी बाघजस्तो पुरस्कारभक्षी भएर पुरस्कारकै दाउमा राँटो लाइरहनेहरू पनि नदेखिएको होइन । उसलाई अरु कसैको वास्ता हुँदैन, चक्षुलज्जा, लाज-शरम सबै पचाइसकेका हुन्छन् । कति ता आफैले पैसा खर्च गरेर सम्मान थाप्नेहरू पनि नदेखिएको होइन । तर किसिम जाल-झेल, जदौ हजूरी गरेर पनि पुरस्कारजस्तो सम्माननीय कुरो लुँड़्याउनु पनि सजिलो छैन । पुरस्कार लँड़्याउनुलाई के कतिको मालिस र पालिश गर्नुपर्छ त्यो तपाईहरूलाई के थाहा ? तर यसमा मालिस र पालिश गर्ने, झोला बोक्ने पुरस्कार लुँड्याहाहरूलाई दोष दिनु पनि गलत हुन्छ । पुरस्कार लुँड़्याउनेको टाउकोमा पुरस्कारको भूत चढ़ाउने ता खासमा पुरस्कारविधाताको पनि सोह्रै आना हात रहेको हुन्छ । यी पुरस्कारविधाताले मालिस गर्ने पालिश गर्ने र झोला बोकिदिने खोजिरहेका हुन्छन् । बस्...ठिक मालिस र पालिस पुग्यो कि ता झोला बोकिदिनेले आफ्नो गह्रौं भार हलुङ्गो पाऱ्यो भने मालिसे पालिसे र झोलेको भाग्यमा पुरस्कारविधाताले पुरस्कार रेखा कोरिदिने निश्चित भइहाल्छ । लण्ठैसाफ...कसैको ऱ्याइँ न झ्याइँ । पुरस्कारविधाता खुसी....पुरस्कार मुठीमा...।

मलाई एकजना साहित्यकार भाइले एकपल्ट सोधेका थिए -"सर ! ठूल्ठूला साहित्यिक पुरस्कार प्राप्त गर्नुलाई के गर्नुपर्छ सर ? कस्तो खाले कृति निकाल्नुपर्छ सर !"
प्रश्न गर्ने यी साहित्यिक पुरस्कारभक्षी जनावर पनि पुरस्कार लुँड़याउने काकाकुली तिर्सनामा हरहरती तिर्खाएको देखेँ । मैले भनेँ, "भाइ ! अचेल पुरस्कारप्राप्त भनिँदैन...पुरस्कार लुँड़्याउनु भनिन्छ । भाइले बारीमा रायोको साग लुँड्याएजस्तो । भाइजस्ता जल्दा-बल्दा भक्कुचूर सा-साना लोकल साहित्यिक पुरस्कार लुँड़ाइकेका साहित्यकारलाई किन चाहियो नि अब ठूल्ठूला साहित्यिक पुरस्कार ?"
टाउको कन्याउँदै शकुनीको भाषामा बोले ती चानचुने साहित्यिक पुरस्कारका धनी साहित्यकार - "होइन नि सर ! अब त्यो पुरस्कार भनेको ता त्यै हो नि सर ।"
मैले भनेँ, "राम्रो हो । कत्ति चानचुने पुरस्कारमात्रै लुँड्याइरहनु । ठूल्ठूला पुरस्कार लुँड़्याउने भाइको आकाङ्क्षालाई मेरो अग्रिम शुभकामना । देवकोटाले भनेजस्तो "उद्देश्य के लिनू ; उड़ी छुनु चन्द्र एक" । हो हामीले चन्द्रमै ताक्नुपर्छ...."
मलाई बोल्न नदिई फेरि सोधे -"होइन सर...कृति चैँ कस्तो खाले हुनुपर्छ ?"
यो प्रश्नले म एकक्षण स्तब्ध भएँ । तरै पनि सकी नसकी जवाफ दिएँ, "भाइ आँप खानुसित मतलब हो...कोयासित के को मतलब ? भाइ अचेल यस्ता ठूल्ठूला पुरस्कारको लागि कृति हेरिँदैन...उम्मेद्वारको मालिस पालिश र झोकाइ बोकाइको योगदान हेरिन्छ । यसकारण, कृति कस्तो निकाल्नु भन्दा पनि भाइले पुरस्कारविधातालाई मालिस र पालिश गर्नु सक्नुपर्छ ।"
भाइ प्याच्चै बोले, "आम्बो सर ! मालिस र पालिश पो गर्नुपर्छ पुरस्कारविधातालाई ? पालिश र मालिस गर्नु जान्दिनँ नि सर !"
मैले भनेँ, "सेलुनमा गएर सिक्नू ।"
उनको जिज्ञासा, "कुन सेलुन सर युनिसेक्स सेलुन ?"
प्याच्चै भनेँ, "सेक्स सेलुन ।"
आँखा ठूल्ठूला पारी फेरि प्रश्न, "पुरस्कार प्रापक हुनुलाई त्यस्तो कसरत गर्नुपर्छ सर ?"
मैले फेरि भनेँ, "यस्तोलाई पुरस्कार प्रापक भनिँदैन...पुरस्कार लुँड्याहा भन्छ । जाँड़ खानेलाई जड़्याहा, रक्सी खानेलाई रक्स्याहा, रम खानेलाई रम्याहा, ब्रण्डी खानेलाई ब्रण्ड्याहा. ह्विस्की खानेलाई ह्विस्किह्या भनेजस्तै पुरस्कार लुँड़ाउनेलाई लुँड़्याहा ।"
फेरि जिज्ञासा, "वाह सर ! दामी विशेषण । अनि सर पुरस्कारविधाताको झोला बोक्नेलाई चाहिँ ?"
मेरो उत्तर, "कतिले झोले भन्छन् कतिले झोल्याहा । म चाहिँ 'मापाझो' भन्छु त्यस्ता पुरस्कार लुँड़्याउन खोज्ने बकुलाहरूलाई ।
छक्क परेर फेरि प्रश्न, "ए रात्तै ! यो 'मापाझो' भन्या चैं को हो'नि सर ?"
बुझाउने प्रयास मेरो, "नेपाल प्रहरीले 'मापसे' (मादक द्रव्य सेवन) अनि 'जापसे' (जाँड़-रक्सी पदार्थ सेवन) भन्याजस्तै 'मापोझो' भन्या मालिसे पालिशे झोले ।"
हा....हा...हा... हाँसेर तीन ठुन्का परे ती पुरस्कार लुँड़्याउन काकाकुली छटपटिने बकुले साहित्यकार भाइ । मेलै नजानेको जस्तो पाराले सोधेँ, "भाइलाई पुरस्कार लुँड्याउने इच्छा होला हई !"
गम्भीर भावमा बोले, "हेरौं सर ! भगवानको जो कृपा..."
म झनक्क भएँ । प्याच्चै भनेँ, "के को भगवानको कृपा ? पुरस्कारविधाताको कृपा बर्सियो भने ब्रह्मा-विष्णु-महेश समेत फेल ।"
आत्तिएर बोले पुरस्कार लुँड्याउन काकाकुली छटपटिएका साहित्यकार भाइ, "कसरी ब्रह्मा-विष्णु-महेश फेल सर ?"
श्वास नबिसाई म बोलेँ, "डाड़ुपन्यू पुरस्कारविधाताकै हातमा भएपछि...."
मलाई बोल्न नदिई "सर मेरो फोन" आयो भनी टाप कसे ती पुरस्कारपिपासु साहित्यचिक भाइ ।
यो पुरस्कार लुड़्याउने रोग हिजोआज गाढ़े घाउ जतिकै भएको छ । योग्य कृति वा योग्य स्रष्टा प्रशस्तै हुँहाहुँदै पनि कालुको ठाउँमा भालुलाई पुरस्कार प्रदान गर्ने परम्पराले जरा गाड़िसकेको कुरा कसैले अस्वीकार गर्छन् भने तिनी पक्कै पनि मुल्य़ाहा र छुल्याहा श्रेणीकै सहित्यकारको सूचीमा पर्छन् भन्ने मेरो दाबी छ । हेनतेन नभनी लाजै पचाएर भनुम् भने, यस्ता भालुहरू छप्छप्ती छन् । हुन ता ठूल्ठूला साहित्यिक पुरस्कारको लोभ नगर्ने विरलाकोटि पाइएलान् । तपाई हामीले जतिनै विरोध गरे पनि अचानक पुरस्कारविधाताले लोकलज्जा घुँइक्याउँदै "यसपाली त्यस्तै भयो...अर्कोपाली चैँ तपाईलाई पक्कै है" भनेपछि गरुड़को छेउमा जस्तै विषालु साँप लालाकलुलुक भएजस्तै तपाई-हामी 'मापाझो' क्याटागोरीमा पर्दैनौं र ? खान्नँ खान्नँ लोकाचार ; खाएपछि मानाचार ।
तपाई हाम्रो साहित्य फाँटमा देखिने पुरस्कारविधाताहरूकै सही-सही, बिसही-बिसही भएकोले उनको पद, कद, हद बढ़ेको याद गर्नुभएकै होला । बाँस जतिनै अग्लिए पनि आखिरमा त्यो नुहिन्छ भन्ने करो पनि पुरस्कारविधातालाई कण्ठस्थ छ र पनि उऩको ढलीमली सबैले देखिरहेका छन्...हेरिरहेका छन्...तर विरोध गर्ने आँट कसैको देखिँदैन । किनभने सबै नै पुरस्कार लुँड़्याउने दाउमा स्यालले अङ्गुर झर्छ कि भनी बोटको फेदमा रुङेझै रुङिरहेका देखिन्छन् । कसलाई पुरस्कार दिने हो, कसलाई पुरस्कारबाट वञ्चित गराउने हो त्यसको हिसाबकिताब गर्न निपुण पुरस्कारविधाताको हिसाबकिताब धर्मराजले मिलाउँदैछन् । ब्ल्यालेन्स सिट मिलेको दिन पुरस्कारविधाताको नेट इऩ्कम छिनाफाना हुन्छ भएपछि पुरस्कारको ब्यालेन्स सिट अडिट भएन भने मलाई भन्नोला ।
भर्खरै मात्र एउटा साहित्यिक कार्यक्रममा मलाई एकजना अग्रज साहित्यकारले भने, "हाम्रो भाइले पो यस्ता पुरस्कार पाउनुपर्ने हो...खै...यहाँ ता....."
मैले उनको मर्म बुझेँ । नम्र भावमा उत्तर दिएँ , " मेरो लागि सोंचिदिनुभएकोमा आभार । तर दाइ....मालिसे पालिशे र झोले भएर लुँड़्याएको पुरस्कारलाई म वेश्याको सिन्दूर जतिकै ठान्छु । पुरस्कारविधाताको पाउ मोलेर पुरस्कार लुँड़्याउने होड़बाजीमा म कोशौं टाढ़ा छु ।

तरै पनि पुरस्कार लुँड़्याउन काकाकुली छटपटिनेहरू जति सबैलाई भक्कुचूर शुभकामना व्यक्त गर्दछु । उनीहरूको पुरस्कार लुँड़्याउने जल्पना -कल्पना सफल होओस् ।

सिलिगु़ड़ी, उत्तर बङ्गाल (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।