नफिँजाउ केशराशी मधुवनमा रात पर्ला
परेलीले बोलिदेउ मायामा आघात पर्ला।
हाँकाहाँकी तिमीलाई आफ्नी भन्न सक्छु तर
लुकाएको माया मोह रमाइलो मात गर्ला।
टाढै बस भन्दिनँ म अझै छेउ आए हुन्छ
हाँकी अँगालोमा बाँधे दुनियाँको घात पर्ला।
सौन्दर्यमा रमाउने अधिकार भोगौँ हामी
ब्यूँझिएका सबैलाई यो शुभ प्रभात पर्ला।
फूल हो यो जवानीको ढकमक्क फुलेको छ
ढिलो गरि टिप्न जाँदा सुकेको त्यो पात पर्ला।
भगवानको सृजनामा आशक्तिको बिज हुँदा
खोजेको त्यो नपाएमा एउटा मीठो घात पर्ला।
नजरकी तारा तिमी सधैँ खोज्छ डिल्लीप्रसाद
देखिँदैनौ जब तिमी अनि दुःख प्रपात पर्ला।