14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘स्वयम्भूका आँखाहरु’ बालबालिकाका लागि प्रविधिमैत्री कथाहरु

कृति/समीक्षा अनिल श्रेष्ठ August 26, 2021, 12:21 pm
अनिल श्रेष्ठ
अनिल श्रेष्ठ

विजयराज आचार्य (२०३३, दाङवाङ, प्युठान) बालसाहित्यका एक बहुआयामिक व्यक्तित्व हुन् । बालसाहित्यमा उनका सिर्जनात्मक लेखनलाई हेर्दा बालकथासहित जीवनी र अनुवादका झण्डै एक सयभन्दा बढी बालसाहित्यका कृतिहरु प्रकाशित भइसकेका देखिन्छन् । प्रथमपटक २०५९ सालमा ‘शान्तिको आत्मकथा’ बालकथा सङ्ग्रह लिएर साहित्यमा देखा परेका उनका दर्जनौ बालसाहित्यका कृतिहरु अङ्ग्रेजी भाषामा समेत अनुवाद भइसकेका छन् । उनी बालसाहित्यिक पत्रिकाहरुका सम्पादक पनि हुन् । सिर्जनात्मक लेखनका साथसाथै उनी एक कुशल प्रशिक्षक पनि हुन् । बालसाहित्य लेखनमा बालबालिकाहरुलाई प्रत्यक्ष सहभागी गराइ उनले देशका विभिन्न विद्यालयहरुका बालबालिकाहरुलाई सिर्जनात्मक कथालेखन कार्यशाला, गोष्ठी र प्रशिक्षणहरु दिँदै आइरहेका छन् । बाल वाङ्मयको विकासमा उनको यो अथक प्रयत्न र क्रियाशीलताले नै उनलाई अलग पहिचान दिएको छ ।


विजयराज आचार्यले बालसाहित्यको क्षेत्रमा गरिरहेको कार्यलाई एउटै बिन्दुबाट हेरेर उनको समग्र मूल्याङ्कन खोज्नु पक्कै सहज छैन । उनको बहुआयामिक व्यक्तित्वलाई एउटा आयामबाट मात्र हेर्न खोज्दा उनको व्यक्तित्वका अरु पाटाहरु छुट्छन् । उनी एक लेखक, एक सम्पादक, एक अनुवादक, एक सङ्गठक, एक प्रशिक्षक, एक प्रेरक । उनको व्यक्तित्वका यी विराट पक्षहरु हुन् । समाजवादी राज्य व्यवस्थामा मात्र बालबालिकाहरुको चेतनाको विकास सम्भव छ र त्यो चेतनाले नै उन्नत र चेतनशील समाजको निर्माण गर्छ । यो उनको दृढ मान्यता हो र उनको यही मान्यतामा उनको लेखन प्रगतिवादप्रति प्रतिबद्ध छ ।


नेपाली समाज बहुसांस्कृतिक र बहुधार्मिक छ । बहुल जाति, सम्प्रदाय, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्व, चालचलन, मर्यादा र सम्मानका शैलीहरु कतिपय रुढीवादले ग्रस्त छन् । यस्ता रुढीवादले पुस्तान–पुस्ता सांस्कृतिक रुपमा जरो गाड्दै र सामाजिक विकृति, विसङ्गति र अन्धविश्वासहरु जन्मदै र हुर्कदै आइरहेको छ । यसले विभिन्न रुपमा सामाजिक विभेद, असमानता र भिन्नताहरु झाङ्गिदै गइरहेका छन् । मानसिक रुपमा बालबालिकाको उमेरदेखि नै यस्ता सामाजिक घटनाहरुले बलियो प्रभाव पारिरहेको हुन्छ । सामाजिक रुपमा जुन कुराहरु बालबालिकाहरुले सानैदेखि देख्छ र सिक्छ त्यही उसको संस्कार बन्छ । त्यही संस्कार एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहन्छ । र, सामाजिक मूल्य बन्छ । त्यसैले सांस्कृतिक रुपमा गढेर बसेका रुढीवाद, अन्धविश्वास, कुरीति, विसङ्गति, विभेद र असमानताका विरुद्ध समाज रुपान्तरणको पहिलो लक्षित वर्ग बालबालिका हुनुपर्छ र उनीहरुका लागि वैज्ञानिक र व्यवहारिक शिक्षा हुनुपर्दछ । यसले नै एउटा समुन्नत र चेतनशील समाजको निर्माण गर्न सकिन्छ । प्रेम, सद्भाव र समानताको सिर्जना गर्न सकिन्छ ।


विजयराज आचार्यका बालसाहित्य सोद्देश्यमूलक छन् । उनी आफ्ना बालकथाहरु एउटा उद्देश्यपूर्तिका लागि लेख्छन् । डा. ऋषिराम शर्माका अनुसार विजयराज आचार्यका बालकथामा बालबालिकाकै पात्र, परिवेशको सेरोफेरामा वैज्ञानिक चेतनामूलक तथ्यलाई कथ्यका रुपमा सम्प्रेषण गरिएको पाइन्छ ।


‘स्वयम्भूका आँखाहरु’ विजयराज आचार्यको भर्खरै प्रकाशित बालकथाहरुको सङ्ग्रह हो । यो बालकथा सङ्ग्रह उनको सबैभन्दा पछिल्लो प्रकाशित कृति हो । र, यो उनको ९४ औं कृति हो । यस बालकथा सङ्ग्रहभित्र काठमाण्डौ उपत्यका र स्वयम्भूको उत्पत्तिसँग जोडिएका नौ ओटा कथाहरु रहेका छन् । नौ ओटा भिन्न शीर्षकमा रहेका यी कथाहरुको कथावस्तु भने एकअर्कासँग शृङ्खलाबद्ध जोडिएका छन् । कथाकारले यसलाई मिथक कथा भनेका छन् । यस बालकथा सङ्ग्रहलाई विवेक सिर्जनशील प्रकाशन प्रा. लि. र रिभिजिट स्वयम्भूले संयुक्त प्रकाशन गरेका छन् । कथामा पौराणिकता छ, मिथक छ, बौद्धकालीन समय छ, लिच्छविकालीन ऐतिहासिकता छ र आजको विज्ञान र प्रविधि छ । बालबालिकाहरुका लागि कथा रोचक र ज्ञानवद्र्धक छन् ।


‘स्वयम्भूका आँखाहरु’ को विषयसूचीभित्र रहेको पहिलो कथा ‘उत्पत्ति’ हो । कथामा प्रचण्डदेव र गुणाकर दुई मूख्य पात्रहरु रहेका छन् । प्रचण्डदेव गौड देशका राजा हुन् भने गुणाकर बौद्ध भिक्षु हुन् । राजा प्रचण्डदेवमा वैराग्य उत्पन्न भएपछि दरबारको सम्पूर्ण सुखसयल र भोगविलास छाडेर सन्यासको लागि नेपाल पुग्छन् र त्यहाँ मञ्जुश्रीका चेला भिक्षु गुणाकरसँग भेट हुन्छन् । त्यहीँ प्रचण्डदेवले भिक्षु गुणाकरसँग बोद्ध धर्मको दीक्षा लिन्छन् र बज्रयानमा दीक्षित भई शान्तिकराचार्य बन्छन् । शान्तिकराचार्यको जिज्ञासामा कथा अघि बढ्छ । र, गुणाकरले शान्तिकराचार्यका सबै जिज्ञासाहरुलाई समाधान गर्दै जान्छ । आफ्ना जिज्ञासाहरु मेटिएपछि शान्तिकराचार्यले भिक्षु गुणाकर सामु स्वयम्भू स्तुप निर्माण गर्ने इच्छा राख्छन् । शान्तिकराचार्यको इच्छाबाट गुणाकर प्रसन्न देखिन्छन् र स्तुप बनाउने आज्ञा दिन्छन् । यसरी स्वयम्भूको उत्पत्तिसँग जोडिएर सङ्ग्रहभित्र रहेका अन्य कथाहरुको शृङ्खलाहरु जोडिन्छन् ।


‘स्तुप’ किताबको दोस्रो कथा हो । शान्तिकराचार्यले स्वयम्भूको स्तुप निर्माण गरिसकेपछि चीनबाट मञ्जुश्रीले मोबाइल मेसेन्जरबाट च्याटमा प्रसन्नता व्यक्त गर्छन्, ‘आहा ! कति राम्रो स्वयम्भूको स्तुप ।’ कथामा मञ्जुश्री, शान्तिकराचार्य र गुणाकर बीचको च्याटिङ संवाद रहेको छ । आजकल इन्टरनेटको प्रविधिमा रमाइरहेका बालबालिकाहरुलाई कथा रोचक बनाउन कथाकारले कथालाई भिन्न किसिमले प्रस्तुत गरेका छन् । कथामा चीनबाट मञ्जुश्रीले काठमाण्डौमा रहेको स्वयम्भूको सौन्दर्यलाई हेर्न मोबाइलमा पावर प्वाइन्टको प्रयोग गरिरहेको र स्वयम्भूको आकर्षक दृश्यहरुबाट इन्जोए गरिरहेको प्रसङ्ग उल्लेख छ ।

‘ल हेर्नुस् तपाईंहरुले स्तुपमा मैले भनेको कुरा छर्लङ्ग देख्न सक्नुहुन्छ ।’ शान्तिकराचार्यले पावर प्वाइन्टमा स्वयम्भू स्तुप देखाउँदै भने ।

‘पावर प्वाइन्टमा हेर्दा त मनै रमायो । साँच्चिकै हेर्दा झन् कति रमाइलो होला ।’ शान्तिकराचार्यलाई ‘लभ’को रियाक्ट पठाउँदै मञ्जुश्रीले लेखे ।


यसरी संवाद शैलीको प्रयोग गरेर कथाकार विजयराज आचार्यले बालबालिकाहरुका लागि कथालाई रोचक र प्रविधिमैत्री बनाएका छन् । यो उनको प्रयोगात्मक कथा पनि हो ।


यसैगरी ‘पाउमा दुई आँखा’ किताबको तेस्रो कथा हो । किताबमा क्रमशः ‘शान्तिपुर’, ‘पञ्चपुर’, ‘बुद्धको न्याय’, ‘हरिहरिहरिवाहन लोकेश्वर’ ‘स्वयम्भूको यात्रा’ र ‘पुरानो स्वयम्भू’ कथाहरु रहेका छन् । ‘पुरानो स्वयम्भू’ किताबभित्र रहेको नवौं र अन्तिम कथा हो ।


‘स्वयम्भूका आँखाहरु’ भित्र रहेका कथाहरुमा कथाकार विजयराज आचार्यले केवल कल्पना मात्र जडेका छैनन् । बालबालिकाहरुका लागि यी कथाहरु रोचक मात्र छैनन् ज्ञानोपयोगी पनि छन् । देश विदेशमै स्वयम्भूको बारेमा नसुन्ने सायदै कमै होलान् । एउटा पर्यटकीय तीर्थस्थलका रुपमा स्वयम्भू सबैको गन्तव्य नै बनेको छ । अझै संसारभरिका बौद्ध धर्मावलम्बीहरुका लागि त यो आस्थाको केन्द्र पनि हो । जीवनमा एकचोटि घुम्ने योजना बनाएर स्वयम्भूमा पाइला टेक्न आउनेहरुको संख्या दिनानुदिन बढ्दो छ । तर स्वयम्भूलाई पुरातात्विक र ऐतिहासिक रुपले बुझ्नेहरु भने कमै छन् । विजयराज आचार्यले बडो मिहिनेतले बालबालिकाहरुका लागि यी कुराहरुलाई उत्खनन गरेर कथामा प्रस्तुत गरेका छन् । यो यस किताबको सबैभन्दा सबल पक्ष हो ।


स्वयम्भूको चैत्य पार्कमा राखिएको सूर्यघडीको रोचक प्रसङ्गलाई विजयराज आचार्यले कथामा यसरी प्रस्तुत गरेका छन्– ‘सूर्य घडीको कथा म आफै सुनाउँछु । ध्यान दिएर सुन ल ।’ प्रवृत्ति मिस आफै अगाडि सरेर कथा सुनाउन थाल्नुभयो, ‘पहिले पहिलेको जमानामा मानिसको साथमा घडी हुँदैनथ्यो । त्यतिबेला सूर्यको गतिको आधारमा समय निर्धारण गर्ने चलन थियो । हेर त यो सुईलाई । यो सुईको छाया जता पर्दै जान्छ त्यसै अनुसार समय निर्धारण गरिन्थ्यो ।’


यस्तै अर्को प्रसङ्ग हेरौं । ‘षट्कोण छवटा कोण मिलेर बन्छ । अस्ति हामीलाई गणित शिक्षकले भन्नुभएकै थियो । षट्कोणले छवटा इन्द्रियलाई पनि जनाउँछ । आँखा, कान, नाक, जिब्रो, छाला र मन । हामीले देखेर, सँघेर, स्वाद लिएर, छोएर र अनुभव गरेर नै संसारका कुराबारे जान्दछौं । त्यसैले षट्कोणलाई ज्ञानको प्रतीक पनि मानिन्छ । ज्ञानको प्रतीक भएकै कारणले नै शैक्षिक संस्थाको लोगोमा षट्कोण प्रयोग गरिएको हो ।’ सुलेखाले हस्याङ्फस्याङ गर्दै भनी ।


यसरी नै कथामा स्वयम्भूको परिसरभित्र रहेका विभिन्न चैत्य, पार्क, गुम्बा, घण्ट, बज्र, आगं छेंका प्रसङ्गहरु उल्लेख छन् जसले बालबालिकाहरुलाई कथाप्रति उत्सुक, जिज्ञासु र चनाखो बनाउँछ । कथाकार विजयराज आचार्यबाट बालबालिकाहरुका लागि सधैं शिक्षामूलक, ज्ञानमूलक र जीवनोपयोगी बालसाहित्यको सिर्जना हुँदै जानेछ भन्ने आशा राख्दै ‘स्वयम्भूका आँखाहरु’ कृतिका लागि हार्दिक बधाई !


आँबुखैरेनी, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।