14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

यहाँ उज्यालो भएकै छैन

कविता विमल लामिछाने August 30, 2021, 7:03 am
विमल लामिछाने
विमल लामिछाने

यहाँ प्रतिक्षाको घडी पनि दूर दुर भइरहेछ,

उज्यालोको प्रतिक्षा गर्दागर्दै

अर्काे अँध्यारोले सन्नाटा छाएको छ ।

उज्यालोकै खोजीमा भौतारिएका

कयौ मनहरु वेदनाको रन्को बनेर

त्यही अँध्यारोभित्र सुस्ताउछन् ,

कुर्दा—कुर्दै यी अध्यारा मनहरु

झन निसपट्ट अँध्यारो बन्दैछन्

यो निसपट्ट अँध्यारोभित्र

परिवर्तित समाजका सपनाहरु

आकासका तारा झै सल्बलाउँछन्

अस्ताउँछन र झुल्किनछन् पुनः पुन ।।


माफ गर्नुहोस् महोदय,

तपाईका समृद्धीका योजनाहरु

गन्तब्यहिन चङ्गा झै कहिले आकास उड्दैछन्

कहिले जमिनमा पछारिँदैछन्

गोवर झै लोट्टीदैछन् र गुईठिदैछन् ।।

यहाँ दिर्घकालिन सपना बोकेर दिर्घ दिशातिरै लम्किनेहरुका

अँगालो भरीका शिखर चुम्ने सपनाहरु

पहरा फोर्दै अग्लो काटेर होचो पुर्ने योजनाहरु

अब यात्रागमनमै थाकिसके

चिरा चिरा भएर फुट्तैछन् दिनदिन ।।

त्यसैले

यहाँ त शब्दकै खडेरी छ महोदय,

मृत्युशैयामा छट्पटाइरहेछन् चिन्तनशिल दिमागहरु

रङ्गी चङ्गी ध्वजा र पतका बोकेर जय जयकार गाउने इकारहरु

हरपल विलाप गरिरहेछन्

दिर्घको साम्राज्य जमाउन उत्रेका भोका पेटहरु,

अँ हँ, दिर्घ बाँच्न सक्तैनन् अब ह्रश्वका विरोधी नाराहरु ।।

महोदय,

आँशुहरु सुकाउन र काला रातहरुलाई

उज्याला दिनहरुमा बदल्न

बाजेका पालाको दियालो बालेर होइन

एक्काइशौं शताब्दीको समय चक्रमा

समयले मागे जस्तो

आकाश र धर्तीलाई छुट्याउने गरी

तेजिलो भोल्टेजको चिम हाल्न सक्नुपर्छ

यो निसपट्ट अँध्यारो सदाका लागि फाल्न सक्नुपर्छ

यहाँ उज्यालो भएकै छैन ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।