16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुर्तीको लत

संस्मरण/स्‍मृति जेबी खत्री August 30, 2021, 8:07 pm
जेबी खत्री
जेबी खत्री

थाहै नपाइ बसेछ सुर्तीको लत । सानामा हजुरआमासँग बस्दा कहिले काहीँ सुर्ती सल्काएर लेले नानी भनेर अराउँनु हुन्थ्यो । अगेनामा आगो हुन्थ्यो । म अगेनाको आगोमा सुर्ती सल्काएर कुदाउँदै हजुरआमा भएसम्म पु¥याइदिन्थेँ । बच्चामा म हजुरआमासँग बसेर हुर्केको । हजुरआमाले मलाई औधी माया गर्ने । हजुरबा वितेपछि हजुरआमा एक्लै बस्नुहुन्थ्यो । चुहानबारीमा हाम्रो अर्को घर थियो । म दुई बर्षको भएपछि हजुरआमासँग बस्न थालेको । हजुरआमाले मेरो नाती स्कुल जाने नभएसम्म मैसँग बस्छ । स्कुल जाने भएपछि पनि भात पकाइ दिन सकेछु भने यहीँ बसेर पढ्छ भन्नुभयो । भन्नुउसो होइन हजुरआमाको औधी प्यारो नाती म । मेरो एउटा भको नाती मैसँग बस्छ भन्नुहुन्थ्यो । भाइ जन्मेकै थिएन । पहिलेका दुई दाजूहरू सानैमा वितेका रे । बुढेसकालका रहरका छोरा बुबाआमा पनि कम माया गर्नुहुन्नथ्यो । पछि भाइ जन्मेपछि पनि बुबाआमा,दिदी,बहिनी र भाइ तलको घरमा बस्थे । हामी हजुरआमा र म माथि चुहानबारीमा बस्थ्यौँ । म कहिले काहीँ मन लागेको बेला तल घर झर्थें । त्यो दिन तल बसेँ भने भोलिपल्ट तुरुन्त हजुरआमासँग आइहाल्थेँ । मलाई हजुरआमासँगै बस्नमा आनन्द लाग्थ्यो । जे खाएपनि मिठै खाइने । नाती बुढ्यामा मात्र थियौँ । जे पकाए पनि हजुरआमा मिठो पकाउँनु हुन्थ्यो ।

यतिबेला विचार गर्दा बुबाको भनाइ अनुसार बुबा त्यसबेला पनि अत्यान्तै बिद्रोही र परिवर्तनकारी सोचको हुनुहुँदो रहेछ । आज भन्दा करिव सत्तरी–बहत्तर वर्ष अगाडिको कुरा । त्यतिबेला केटाकेटी त के छोरी मान्छे तरुनी वा बुढी भएपनि मलामी जान हुँदैन भनेर जान दिदैनथे रे । कुनै छोरी मान्छे मलामी जाँदै–जाँदैनथे रे । जाने चलन पनि थिएन रे । केटाकेटीलाई त झन् मलामी जान हुँदैन । सातो जान्छ भनेर जानै नदिने रे । ठुलै भएपनि बाउआमा हुनेले मलामी जान हुँदैन भनेर जान दिने चलन थिएन रे । बुबा दस वर्षको हुँदा उहाँको हजुरबा सारै दुख्नु भो रे । लामो विमार लागेर आजहोकि भोलि भन्दाभन्दै अचानक हजुरआमा पनि विमारी हुनुभयो रे । हजुरआमा विराम लागेको तीन दिन मै वित्नुभो रे । यसरी हजुरबा भन्दा पहिले त हजुरआमा पो वित्नु भो रे । हजुरबाको घिडघिडो रहिरहयो रे । सबैले अब के गर्ने भन्दा अर्थजल लानु पर्छ भन्ने कुरा गरे रे । त्यतिबेला अर्थजल लाने चलन थियो रे । अर्थजल भनेको बुढाबुढी दुवै जना विरामी भए र एक जनाको मृत्यु भएर अर्को जनाको घिडघिडो रहीरहे दुवैलाई घाटमा लाने र दुवैका खुट्टा घाटको पानीमा चोबी दिए पछि अर्थजल लगेको विरामीको पनि कित प्राण जाने कित निको हुने दुईमा एक हुने र प्राण गए सदगद गर्नु पर्ने निको भए घर फर्काएर ल्याउँने चलन थियो रे । सोही चलन अनुसार बुबाको हजुरआमाको लास अगिअगि हजुबालाई झोलुङ्गोमा पछिपछि गाउँका मान्छे तथा आफन्तले सँगै लिएर गए रे । यो देखेर बुबा पनि भागेर अर्को बाटो हुँदै घाट जानु भयो रे । दस वर्षको बालकले सबै कुरा बुझ्ने कुरा पनि भएन । उहाँको मनमा खाली हजुरवालाई किन जिउँदै घाट लगे भन्ने प्रश्न मात्र उठिरहयो रे । त्यही जिज्ञाशा मेट्न उहाँ त्यसरी भागेर हजुरआमाको मलामी जानु भएको रे । त्यसरी अर्थजल लाँदा चाहिँ गाउँका थुप्रै छोरी मान्छेहरू पनि गएका थिए रे । कोही चामल,कोही तरकारी कोही अन्य खाने कुराहरू लिएर गएका । अर्थजल लगेको मानिसको प्राण नगए र घर फर्काउनलाई पूर्ण रुपमा निको पनि नभए उहीँ घाटमै रुँगेर बस्नु पर्ने । पूर्ण रुपमा निको भए घर फर्काएर ल्याउँनु पर्ने । प्राण गए कति दिनमा जान्छ गएपछि सदगद गरेर मात्र घर फर्कनु पर्ने रे । हजुरबाको हजुरआमाको लाससँगै लगेर तमोरको पानीमा खुट्टा चोबी दिएपछि हजुरबाको पनि तत्काल प्राण गयो रे । त्यसपछि दुवैको एउटै चितामा एकै पटक अन्तेष्टि गरेर सबै घर फर्के रे । बुबा,यसरी केटाकेटी मलामी जान हुँदैन भन्दाभन्दै भागेर म गएँ । न मेरो सातो नै गयो । न म विरामी नै भएँ । न परिवारमा त्यस्तो कुनै नराम्रो घटना नै भयो । केही पनि भएन । त्यो कुरा केही पनि होइन रहेछ भन्नुहुन्थ्यो । यहाँबाट पनि मैले रुढीवादी कुरा छोड्दै लानुपर्ने रहेछ भन्ने कुरा थोरै भएपनि बुझेँ । जस्तै बाउआमा जोरै हुनेले मरिमराउ भएको ठाउँमा मानोचामल वा सिदा लानु हुँदैन भनिन्छ । यस्ता धेरै कुरा छन् । हिन्दू धर्म अनुसार बाउआमाको काजक्रिया गर्दा तेह्र दिनसम्म कोरामा बस्ने चलन छ । यो पनि आजको मानिसको जीवन शैली अनुसार धेरै लामो,खर्चालु र कस्टकर जस्तो लाग्छ । कुरामा कुरा आउँदा बुबा हुन त अब पहिलेदेखि गरि ल्याएको हो तर यति लामो नगरे पनि हुन्छ भन्नुहुन्थ्यो । त्यति मात्र होइन । बुबाआमाको पालामा जातीय बिभेद निक्कै चर्को थियो । तर बुबा त्यतिबेला पनि जातीय विभेदलाई त्यति मान्नुहुन्नथ्यो । मान्छे सबै एकै हौँ भन्नुहुन्थ्यो । धर्मप्रति पनि त्यति कट्टर हुनुहुन्नथ्यो । पाप गरेन भने धर्म गर्नु पर्दैन भन्नुहुन्थ्यो ।

रक्सिले मातिन्छ भन्ने कुरा सुनेको थिएँ । मात्दा कस्तो हुन्छ भन्ने कुरा थाहा थिएन । बुबाले पनि पहिले धेरै रक्सि पिउँनु भएको रे । तर मैले थाहा पाउँदा पिउँनुहुन्नथ्यो । पछि छोड्नु भएको रे । मलाई आमा बारम्बार भनिरहनु हुन्थ्यो । नानी रक्सि खानु हुँदैन । यो राम्रो होइन । यसले राम्रो गर्दैन । मैले आमाले भनेको कुरा सधैँ भरि लिइरहिन । अलि ठूलो भएपछि तोडेँ । रक्सिको स्वाद चाखेरै छोडेँ । मलाई कस्तो हुँदो रहेछ यो जाँडरक्सि भन्ने चिज र मानिसले खान्छन् ! एक पटक चाखेर त्यसको स्वाद विचार गरिहेर्नु प¥यो भन्ने लागिरहेको थियो । हजुरआमा पनि जाँडरक्सि चाहिँ नखानु है नानी भनेर अर्ती,उपदेश दिइरहनु हुन्थ्यो । उहाँको कुरालाई पनि मैले ठूलो भएपछि विर्सेँ । तर मैले यसलाई लतको रुपमा भने कहिल्यै लिइँन । स्वाद चाखेर छोड्दिएँ । जाँड भन्ने कुरा त मेरो घाँटीबाटै छिरेन भनेपनि हुन्छ । स्वाद मात्र थाहा पायो जिब्राले । त्यहाँ भन्दा बढी निल्न सकिन । रक्सि भने दुईचार पटक पिइयो । रक्सिको स्वाद भने राम्रोसँग चाखेँ । केही हदसम्म आमा र हजुरआमाले दिएको अर्तीले काम ग¥यो । लुकीछिपी कहिले काहीँ पिएपनि लत भने रक्सिमा पनि बसेन । नेपालमा रहँदा एक पटक रक्सिले मातेको याद छ । मामाको छोरासँग बसेर खाँदा । इजरायलमा दुई पटक । एक पटक मिफ््ताकिममा हुँदा । थाइ,नेपाली साथीहरूसँग बसेर खाँदा र अर्को पटक तेलभीभको अपार्टमा बस्दा नेपालीनै साथीहरूसँग । रुसी भोड्का । नेपालमा त लोकल खोया विर्के । यो पनि साथीहरूको ढिपी र लहैलहैमा लागेर । नेपालको कुरा त सानो छँदैको कुरा । रक्सि पिएपछि त ठूलै मान्छे भइन्छ झैँ ठानेर पिएको थिएँ । जीवनमा मैले जाँड भनेपनि रक्सि भनेपनि जम्माजम्मि तीन पटक पिएँछु । यसलाई पिएको के भन्नु र । सानामा बुबा रक्सि ज्यादै पिउँनु हुन्थ्योे । पछि हामी जन्मेपछि छोड्नु भएको भनेर आमा बेलाबेला हामीलाई भन्नुहुन्थ्यो । यो सुनेर पनि मलाई यो रक्सि भन्ने चिज कस्तो हुँदो रहेछ । यसको स्वाद थाहा पाउँन पाए हुन्थ्यो । सानैदेखि मलाई यसको स्वाद चाख्ने चाहना थियो । केटाकेटीपन घर परिवार र आफन्तको सारै डर लाग्थ्यो । कसैले थाहा पाएर घरको कसैलाई सुनाइदियो भने भन्ने डर हुन्थ्यो । एक पटक स्कुल जाँदा एक्लै किनेर एक बटुको जाँड जे पर्लापर्ला भनेर पिउँने विचार गरेँ । घरदेखि माथि एउटा लिम्बूको घर थियो । स्कुल जान छोडेर त्यतातिर लागेँ । स्कुल जाने बाटो छेउमै थियो त्यो घर । त्यहाँ आमाछोरीले जाँड,रक्सिको पैकार गर्थे । लिम्बू दाइ घरमै रहेछन् । घरमा भन्दिने डरले पिउँने आँट गर्न सकिन । दुई,तीन पटकसम्म घर मास्तिर पुग्दै फर्कदै गरेँ । किन हो फेरि एक्लै जाँड किनेर पिउँने साहसै गर्न सकिँन । त्यतिबेला कोदाको जाँड शेरे बटुकाको एक बटुकोलाई दुई रूपयाँ प¥थ्यो । मसँग दुई बटुका पिएपनि पैसा थियो । कहिल्यै नपिएको मासिसले पहिलो चोटी नै दुई बटुका पिउँन सक्ने कुरै थिएन । आधा बटुको चाहिँ पिउँछु भन्ने थियो मलाई । लिम्बू दाइ घरै भएकोले मैले जाँड मागेर पिउँन सकिन । त्यतिकै स्कुल गएँ । जाँड पिएको भए केको स्कुल गइ हुनु । स्कुल गइ हुने थिएन । त्यसो त म जाँड खानु प¥यो भनेको भए किन्नुपनि पर्ने थिएन होला । फल्नाको छोरो भनेर एक बटुको त त्यसै पनि दिन्थे होला । यसरी मैले धेरै पटक जाँड वा रक्सि पिउँन खोज्दै छोड्दै गरेको थिएँ सानामा । निक्कै पछि मात्र आँटले जितेर पहिलो पटक पिएको थिएँ । यसरी पहिलो पटक पिउँदा मलाई जाँड अमिलो र रक्सि पिरो लाग्यो । अरू यसको स्वाद थाहा पाइँन मैले । जाँड त त्यसपछि दोस्रो पटक त पिउँदा पनि पिइँन । मनै परेन । पिएपछि रिगटा चल्दो रहेछ । यही रहेछ मातेको भनेको भन्नेसम्म थाहा भयो ।

लत त खैनी,चुरोटमा पो निक्कै नराम्रोसँग बस्यो त । खैनीको पनि त्यस्तै कुरा छ । पहिले त खैनी खाँदा ठूलै मान्छे भइन्छ जस्तै लाग्थ्यो । सानोले त खाँदैन पनि थिए । खैनीको बट्टा पाइन्टको गोजीमा बाहिरबाटै देखिने गरि बोकेर हिँड्दा कति न ठूलो भइन्छ झै लाग्थ्यो । यो पनि स्वास्थ्यका लागि जाँड,रक्सि जस्तै राम्रो होइन भन्ने जान्दाजान्दै पनि सिकेरै छोडियो । खैनीको बट्टा खोलेर कसैले ओठमा खैनी च्यापेको देख्यो कि आहा ऊ त खैनी खाने मान्छे पो हो त कहाँ चानचुने मान्छे हो र भनेझैँ लाग्थ्यो । सुर्ती,चुरोटको बरू त्यति वास्ता हुँदैन थियो । सायद त्यतिबेला खैनी खाने चलन भर्खरभर्खर आएको हुनुपर्छ । आफू भन्दा ठूलो कसैले दियो मलाई एकदुई पटक खैनी । तेस्रो पटक खानलाई म आफैँले किनेँ । त्यतिबेला टिनको सानो बट्टामा बंगाली खैनी आउँथ्यो । ज्यादै कडा । तीन रूपयाँ प¥थ्यो,त्यसबेला नै त्यो एउटा बट्टा खैनीलाई । पहिलो चोटी नै तल्लो ओठभरि हालिएछ । साथीको अगाडि बानी भइसकेको र धेरै खाने ठहर्न । एकैछिन्मा ठाउँको ठाउँ ओछ्यान लाएर सुत्ने आलसतालस बनाइ हाल्यो । भर्खर खाएको भात सबै गयो । साथीहरूले हाँसोको पात्र बनाए । खैनी खान बानी नभएर भको छैन । छोड्ने त कुरै भएन । त्यसपछि एकदम थोरैथोरै च्याप्न थालेँ । त्यतिले पनि रन्काएपछि झिकेर फाल्दियो । केही समयपछि फेरि च्याप्यो गर्न थालेँ । आजभोलि गर्दै बानी हुन के बेर । थाहा पाए छुटाउँने डरले बानी नपरुन्जेल घरका त के कसैले थाहा नपाइ खाइयो । एक डेढ महिना त यसले खैनी खान्छ भन्ने कुराको कसैले गन्ध पनि थाहा पाएन । बानी परिसकेपछि त केको डर सबैलाई देखाउँनकै लागि खाने हो । हुँदाहुँदा खैनीको लत मलाई यति बसेछ कि खैनी विना त म एक सेकेण्ड पनि बस्न नसक्ने भएँ । त्यतिबेला अलि पछिदेखि गोल्डेन ब्राउण्ड भन्ने पहेँलो खोलमा गिलो खैनी आउँन थाल्यो । बंगाली खैनी जस्तै तर त्यति कडा होइन । त्यसलाई डेढ रूपयाँ प¥थ्यो । त्यो पनि खुब खाइयो । पछि चुनासँग मोलेर खाने मडुवा खैनी आयो । यो त आजभोलि पनि पाइन्छ । त्यो खान थालियो । त्यसलाई त्यतिबेला तीन रूपयाँ प¥थ्यो । अहिले दस रूपयाँ पर्छ । अझै पनि यसमा रस भिजेकै छ । लगभग तीस वर्ष भन्दा बढी भएछ । विचमा मलाई खैनीले निक्कै असर गर्ला जस्तो भएपछि मैले खैनी खान छोड्दिएँ । हल्का असर गर्न थालेपछि नै छोड्न कत्ति प्रयास गरेँ । कहिले नयाँ वर्षको उपलक्ष्यमा त कहिले दशैँतिहारको उपलक्ष्यमा तर दुई चार दिन खान छोड्यो फेरि खान थालिहाल्यो । छोड्न नसकेर त्यसो पनि गर्थेँ । निक्कै असर गरेपछि नछोडी भएन । छोडेँ । छोड्न त छोडेँ तर विनासर्त होइन ससर्त । खैनी छोडेर चुरोटमा लागेँ । चुरोटमा लागेपछि खैनी त पूरै छोडेँ तर चुरोट नभइ नहुने । चुरोटले त झन् एक वर्ष पनि नभइ असर गर्न थाल्यो । त्यसपछि केही समय खैनी चुरोट दुवै छोडेँ । लगभग दुई वर्ष जति खाइँन होला । त्यसपछि म इजरायल गएँ । इजरायल गएपछि फेरि चुरोट तान्न थालेँ । इजरायल बस्दा मैले धेरै चुरोट तानेँ । लगभग दिनको आफूले मात्र तान्दा पनि एक बट्टा सकिन्थ्यो । कत्रो चुरोट तानेको भनेर साथीहरू सबै छक्क पर्थे । खल्तिमा चुरोट नभएको बेला पसलसम्म पनि पुग्न नसकेर मैले बाटोमा फालेका ठुटा पनि टिपेर तानेको छु । मेरो जीवनमा भुल्नै नसक्ने घटनाहरूमा यो पनि एउटो हो । यसरी चुरोट तान्न थाले पछि एक वर्ष पनि नभइ मेरो स्वास्थ्य पुनःविग्रियो । त्यसपछि पुनःमैले चुरोट पिउँन छोड्नु प¥यो । छोडेँ । त्यो पनि विनासर्त होइन । ससर्त । फेरि खैनी च्याप्न थालेँ । एउटा निशाले मेरो जीवनमा नछोड्ने नै भयो ठानेँ । छोडेन पनि अझै पनि छोडेको छैन । चुरोटमा लत बसाल्न मलाई खैनीमा जस्तो गाह्रो भएन । सायद पहिलेदेखि कहिले काहीँ सुर्ती तान्ने बानी परेकाले हुनुपर्छ । हजुरआमाले भोर्लाको पातमा बेरेको सुर्ती सल्काउँन लाउँदादेखि नै मलाई सुर्तीको मगमग वासना चल्न थालेको थियो । सुर्तीको ठुटो सल्काएर ल्यायो । कहिले त ल्याउँदाल्याउँदै बाटैमा निभ्थ्यो । ल्याएर दियो । ए ज्याहै निभेछ ठुटो त नानी तान्दै लेन भनेर फेरि पठाउँनु हुन्थ्यो । अनि म तान्दै ल्याएर दिन्थेँ । त्यसैले मलाई चुरोटको लत बसाल्न कुनै गाह्रो भएन । सरासर लत बसिहाल्यो । चारपाँच वर्षको हुँदाको कुरा । उतिबेलै म सुर्तीको ठुटो मुखले तानेर नाकबाट मजाले धुवाँ निकाल्थेँ ।

यसरी धुम्रपानको पनि लत वसिसकेपछि छुटाउँन एकदम गाह्रो रहेछ । अरू भन्दा पनि धुम्रपानको लतका लागि चित्त बुझाउँनै गाह्रो । त्यसैले यसको लतमा परेर पछि छोड्नु भन्दा यसको लतमै नफस्नु उचित रहेछ । म आजभोलि पनि कहिले काहीँ सम्झन्छु । मलाई पहिले खैनी खाने लत बसाल्न पनि कम गाह्रो भएको होइन । पछि छोड्न पनि कम गाह्रो भएको होइन । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि कसोकसो कुलतमा फँसियो । कत्ति प्रयास गर्दा अहिलेसम्म पनि यसबाट छुटकारा पाउँन सकिएन । यद्यपी यो असम्भवनै चाहिँ होइन रहेछ । तिरासी वर्ष पग्नु भएका बुबाले लगभग सत्तरी वर्ष भन्दा बढी सुर्ती तानेर यो त खाने चिज होइन रहेछ भनेर भर्खरदेखि छोड्नु भएको छ । हुन त मानिसले आफ्नो जीवनको पूर्वाद्धमा लागेको कुलत उत्तराद्र्धमा आएर नै छोड्दो रहेछ । त्यति बेलासम्ममा त्यसको असर पनि प्रस्टसँग देखिन थाल्दो रहेछ । सायद त्यही भएर पनि होला ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।