14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मान्छेको खोजी

कविता नारायण मरासिनी August 30, 2021, 7:11 am
नारायण मरासिनी
नारायण मरासिनी

आफ्नै रगतमा रातो भए जस्तो म मान्दिन
आफ्नै शरीरमा तातो भए जस्तो म ठान्दिन

लिन्थेँ गर्जनले सातो वैरी तर्सेर भाग्दथे
थिए साथ दिने आफ्ना मान्छे उर्लेर लाग्दथे

चुनौती सामना गर्दै सुरिन्थेँ दिनका दिन
दाह्रानङ्ग्रा गुमाएको बाघ जस्तो भएँ किन ?

के अचम्म भयो यस्तो जोस मेरो गयो कहाँ ?
मान्छेकै बिचमा मान्छे देख्दिन म समाजमा !

न छु रोगी रतन्धोको न छन् नयनमा फुला
आफ्नै मान्छे म देख्दै छु साँढेभन्दा ठुला ठुला !

देख्छु हिमालमा कालो उस्तै मधेसमा दुलो
कालापानी र सुस्तामा देख्छु विषादको धुलो

लुटिँदा खोरका बाख्रा लुटिँदा भाइको सुख
लुटिँदा गोठका भैँसी किन खुल्दैन यो मुख ?

छ जिब्रो ठाउँमा आफ्नै लाटो झैँ आजका दिन
लुटिँदा धानका फाँट बोल्न सक्दिन मै किन ?

किन दुख्दैन यो छाती छोरी आफ्नै हराउँदा
सुन्दैनन् किन यी कान भ्याउसुलो कराउँदा !

किन यस्तो भएँ ऐले संवेदना हराउँदै
गयो कहाँ मभित्रैको मेरो मान्छे डराउँदै ?
ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।