14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘मध्यान्तर’ उपन्यास : नौलो दृष्टिबोध

कृति/समीक्षा डा. राधा शर्मा August 30, 2021, 8:46 am
डा. राधा शर्मा
डा. राधा शर्मा

आधुनिक नेपाली साहित्यको नारीवादी लेखन वर्तमानसम्म आइपुग्दा नारी लेखिकाहरुमै हस्तान्तरण हुँदै आउन लागेको छ। यस्ता कृतिहरुमा नारीहरु आफैले भोक्ताको रुपमा आफना अनुभव , विचार वा धारणाहरु प्रस्तुत गरेका पाइन्छ । यस क्रममा उनीहरुले आफ्ना समूह , समाज वा श्रेणीका अनुभव वा विचारलाई साझा रुपमा ग्रहण गरिरहेका हुन्छन् । यद्यपि ती लेखभित्रका विचार वा धारणा लेखकीय बौद्धिक, हार्दिक क्षमता र अवस्था अनुसार विरेचित हुन्छ वा मन्थन गरिएको हुन्छ। हुन त नारीले भोगिरहेका अनेकौं खालका अवाञ्छित अवस्थाप्रति सहानुभूति वा करूणा वा प्रतिकार नै भनौं प्रकट गर्दै पुरुष लेखकहरुद्वारा धेरै नै कृति लेखिएका छन्, तर यस वृत्तमा नारी स्वयमको प्रथम पुरुषको रुपमा प्रवेश पछि भने नारीवादी लेखनले नयाँ आयाम पाएको छ। अब नारीहरुले आफैले नै आफ्ना पारिवारिक, सामाजिक वा मानसिक अवस्थाको चित्रण गरेर साहित्य लेख्न लागेका छन् । समाजमा नारीले भोग्दै आएका लिङ्गीय विभेद, दमन, शोषण,असमानता, परतन्त्रता र असम्मान आदिको प्रतिकार गर्दै नारी अधिकार ,स्वतन्त्रता, समानताको उद्घोष गर्ने साहित्य नै नारीवादी साहित्य भनिएको पाइन्छ।
परम्परागत सामाजिक मान्यता-विश्वासमा ग्रस्त नारी जीवनले भोग्नुपरेको तीतो पक्षलाई केन्द्रित बनाउँदै लेखिएका साहित्य, सिनेमा, सङ्गोष्ठी, विचारमा नारी प्रतिको सहानुभूति स्पष्ट गोचर हुन्छ र त्यस्ता रुढ़िग्रस्त समाजको वैचारिक र व्यावहारिक धरातल नै हल्लिए झैं भान पनि हुन्छ तर वास्ताविकता के हो भने आजपर्यन्त समाज (जुन चाँहि विशेष गरेर पुरुषहरुद्वारा नै शासित छ) नारीको परिवर्तनशील आकांक्षा र आवश्यकता अनुरुप परिवर्तित हुन सकेको छैन ।
कतै धेरै कतै थोरै गरेर सबैतिर व्याप्त नारी शोषण , दमन र समाजद्वारा छलिएका वा अवहेलित भएका नारी सम्मानको चाहना र अधिकार प्राप्तिको आङ्काक्षाको धरातलमा नारीचेतना सल्बलाएर धेरै अघिदेखि नै जागृत रहेको छ । र नै त एउटा अभियान चलेको छ - नारीवादी चेतनाको, नारी अधिकार र सम्मानको । यही विचारलाई लिएर धेरै कार्य भए । साहित्य लेखिन थालियो । यसको प्रभाव नेपाली साहित्यमा पनि पर्यो । नेपाली साहित्यकै एउटा केन्द्र दार्जीलिङ पनि यो प्रभावदेखि अछुत रहन सकेन।
नारीवादी धारणाकै दृष्टिले लेखिएका नेपाली साहित्य खासै गरी नेपालमा नै जन्मिए ता पनि दार्जीलिङमा पनि यसको प्रभाव परिछाड़्यो। हुन ता नारी जीवनका विविध पक्षको सहानुभूतिपूर्ण उद्घाटन बीसौं शताब्दीको पूर्वार्द्धदेखि नै दार्जीलिङे नेपाली साहित्यमा देखा नपरेको होइन तर नारीवादको प्रकाशमा साहित्यको माध्यम बनाई नारी स्वतन्त्रता र अधिकारको आवाज उठ्ने काम भने नेपालबाट नै भएको देखिन्छ।
सामाजिक दृष्टिले अन्य नेपाली समाजमाभन्दा केही स्वतन्त्र र उदार दृष्टिकोण यहाँ(दार्जीलिङमा) पलाएको देखिन्छ। प्रत्यक्षमा छोरा-छोरीको कुनै सीमा निर्धारण छैन यहाँ । समान अधिकार र सम्मानको भाव यहाँ जताततै पाइए ता पनि परोक्ष रुपमा भने संस्कार रुपमा रहेका नारी विभेदका भावहरु चेप्टिएर बसेकै छन् कि? जस्तो कतै कतै भने यद्यपि अनुभव गर्न सकिन्छ। यस्तो सामाजिक उदार भाव भएको स्थानसित सम्बन्धित र आजको जल्दोबल्दो आवाजसित परिचित र प्रभावित भएर लेखिएको पुष्प राईको दोस्रो उपन्यास ‘मध्यान्तर(२००७)’-मा नारी उत्पीड़न,प्रतिकार , स्वतन्त्रता,नारी सम्मान र अस्मिताको गम्भीर,गहन र मार्मिक पक्षहरु उद्घाटित भएका छन्। विवाहित नारी र समबन्धविच्छेद भएकी पत्नीसित सम्बन्धित यहाँ उठाइएका प्रश्नहरुमा उपन्यासकारको प्रखर नारीवादी चेतना र समर्थनको परिचय पाइन्छ । नारी जीवनको मार्मिक पक्षसित सम्बन्धित रहेको यो उपन्यास नारीवादी दृष्टकोणको सन्दर्भमा केही रोचकतासित विचारणीय हुँदै अगाड़ि बढ़ेको देखिन्छ।
उपन्यासको पृष्ठभूमि दार्जीलिङ नै देखाइए ता पनि यहाँ उत्पन्न प्रश्नहरु भने कुनै पनि समाजसित सम्बन्धित हुन आउँछन्। जीवन जिउने क्रममा एउटी नारीले भोग्नु परेको मानसिक र शारीरिक प्रताड़नाको छवि प्रस्तुत गर्छ , यस उपन्यासले।
‘’’विश्व समाजमा चलिआएको संस्कार सम्पूर्णतः पुरुषनिर्मित हो।यो उसको हित र रजाइँलाई सर्वोपरि ध्यानमा राखी बनाइल्याएको व्यभिचारी, दाम्भिक परम्परा हो । यसैले पुरुषले सँघैँ स्त्रीअघि आफूलाई शक्तिवान् र सामर्थ्यवान् ठान्दछ र यसै दृष्टिकोणले स्वास्नीलाई आफू स्वार्थपूरक साधनको रुपमा लिँदैछ।“( मध्यान्तर पृ ७३) पुरुषप्रधान समाजमा चलिआएको मान्यता वा रुढ़िप्रति आक्रोश व्यक्त गर्दै उपन्यासकारले नारी सत्ता पुरुष-निर्मित समाजमा भोग्या र वस्तुको रुपमा बाँच्नु परेको तीतो सत्यलाई व्यक्त गरेकी देखिन्छ। पराम्परागत रुढ़िग्रस्त मान्यतामा नारी जीवन निर्बल, शोषित र शासित रहेको र पुरुष वर्ग भने आफ्नो शक्तिको प्रदर्शन गर्दे नारी जातिमाथि आधिपत्य जमाएर आफूखुशी गर्दै आएको एकपक्षीय नीतिको अवस्थानलाई यस उपन्यासले सङ्केत गरेको छ ।
परम्परागत धारणा र व्यवहारमा नारी अस्तित्व चेप्टिँदै गएको छ। समय र विचार बद्लिए ता पनि नारीलाई हेर्ने दृष्टिकोण र नारीप्रति गरिने व्यवहारमा भने धेरै परिवर्तन आउन सकेन। नारीलाई हेर्ने र जोख्ने परम्परामा आशालाग्दा लक्षणहरु देखा परे ता पनि त्यस्ता लक्षणहरुले पूर्णता पाउन भने अझ सम्म नसकेका तथ्यलाई उपन्यासकारले अनुभूत गरेकी छिन र पुरुष प्रधान समाजलाई हाँक दिँदै यहाँ प्रश्न राखिएको छ यसरी--
“पुरुषीय रुढ़िको नारी दमन-शोषणको जरा गाड़ेको तिम्रो आधारमा तिलाञ्जलि दिन सकौला के ? सोध आफैलाई , सोच नयाँ युगको तराजुमा तौलेर आफैलाई ।”(पृ ९)अनि सोच्न वाध्य गराउँछिन पाठकलाई समेत। जबसम्म व्यावहारिक रुपमा क्रान्ति आउन सक्दैन , जबसम्म पुरुषले पुरुष हुनुको आडम्बर र अहंलाई त्याग्न सक्दैन तब सम्म त्यस्ता मान्यता र रुढिग्रस्त मानसिकता समाजबाट निर्मूल हुन सक्दैन । विश्वभरि व्याप्त नैसर्गिक न्यायको न्यानो चेतनाको आगोमा जबसम्म पुरुषले आफ्नो व्यवहार र विचार सेक्दैन तबसम्म नारी जीवनको स्थितिमा कुनै सुधार हुने सम्भावना नै छैन । नयाँ चेतना र विचारले प्रभावित भई नारी सम्मान र अधिकारको निम्ति , नारी स्वभिमान र नारीत्वको निम्ति उपन्यासकार पुष्प राईले दार्जीलिङ्को नेपाली उपन्यास लेखनका परम्परालाई नयाँ उच्चता दिँदै एउटा साहसिक र क्रान्तिकारी पाइला चालेकी छिन् ।
‘मध्यान्तर’ उपन्यासमा ‘पति परमेश्वर’-को परम्परागत धारणाको विरोध गर्दै उपन्यासकी नायिकाले पतिसित सम्बन्ध विच्छेद गर्छिन् । जहाँ नारी जीवनको सम्मान छैन,केवल नारीलाई भोग्या र वस्तुको रुपमा हेरिन्छ वा उपभोग गरिन्छ, त्यहाँ नारी जीवन विथोलिन्छ । नारीवादको धारणा बनमा लागेको आगो झैं फैलिरहेको बेला पनि नारीको स्थितिमा सुधार आउन सकेको छैन । यो नयाँ चेतनाले अझ पनि पुरुष अहमलाई बिउँझाउन सकेको छैन । यिनै कुराहरुले उपन्यासकारको नारी मन रोएको छ । नारी जीवनको विभत्स पक्षलाई उनले छोएकी छिन् । नारीत्व रक्षाको निम्ति , नारी सम्मान र अस्तित्वको निम्ति आफूलाई भोग्या सम्झी व्यवहार गर्ने पतिलाई त्याग गर्न लगाएर उपन्यासकारले सामाजिक मान्यता र रुढिग्रस्त धारणाको विरोधमा रहेकी सङ्केत गरेकी छिन् ।
“नारी सत्ताको उचित कदर,उसको साथ र योगदानको सम्मान”(पृ०९) होस् भन्ने विचार लिएर देखापर्ने उपन्यासकारले विविध प्रसङ्ग दर्शाएर एक विचारशील र क्रान्तिकारी दृष्टिकोण यहाँ प्रस्तुत गरेकी छिन् ।
समाज एकपक्षीय नीतिमा मात्र कुद्ने बनाइसकेकाहरुले नारी जीवनको महिमा र उसको कदरलाई हेलचेक्र्याइँ गर्दै आइरहेका छन् । आमा, बहिनी , प्रेमिका र पत्नी मात्र भएर बाँचिरहेकाहरुको कुनै मोल छैन, कुनै उचित कदर छैन न घरमा न समाजमा । पुरुष समाजले गर-गहनामा लादेर नै खुशी बनाउन सक्ने नारी जाति मुछेको काँचो माटो जस्ता मात्र बनिसकेका छन् – पुरुष समाजको निम्ति । आफुले चाहे जसो गरी मनचाँहदो आकार दिएर नारीलाई गुड़िया जस्तो गरी राख्ने समाजमा उपन्यासकार निरपेक्ष नारी सत्ताको उचित कदर भएको हेर्न चाहन्छिन् । कुनै पनि रुपमा नारीले प्रदान गरेको योगदानलाई विस्मृत नगरेर उसको पनि पुरुष सरह मानवीय रुपमा उचित र न्यायपूर्ण मूल्याङ्कन होस् भन्ने चाहनामा यो उपन्यास उभिएको छ । मानवीय धरातलमा किन नारी मात्रको जीवन बिथोलिन्छ समाजमा? किन सामाजिक र वैयक्तिक रुपमा नारी जीवनको उचित कदर हुन सक्दैन समाजमा ? पति र पत्नी माझको सम्बन्धमा बारम्बार नारीत्व र स्वाभिमानमा चोट लागेपछि ‘अति सर्वत्र वर्जयेत्’ भन्ने नीतिलाई यहाँ नायिकाले आत्मसात गरेकी छिन् र नारी जीवनको महिमा र स्वभिमानको संरक्षण गर्दै पतिसित अलग्गिएर बस्नुमा नै श्रेयस्कर ठानेकी छिन् । जीवनभन्दा बढ़ी र आत्मसम्मानभन्दा ठूलो यहाँ केही छैन । यसैले नारी सम्मान र सत्ताको निम्ति, नारीत्वको विजयको निम्ति यहाँ दमनशील पारिवारिकताको विरोधमा सामाजिक विद्रोह छ । पतिद्वारा होइन तर पतिलाई त्यागेर आत्मसम्मानसहित बाँच्न चाहने नारी जीवनको एक वर्गीय जीवन शैलीलाई सूक्ष्म र गहन दृष्टिकोण प्रदान गरिदिएकी छन्।
यस उपन्यास मूल रुपमा स्त्री-पुरुष (पति-पत्नी) माझको सङ्घर्ष बनेको छ । अतीतावलोकन(flash back) शैलीलाई अप्नाएर लेखिएको यस उपन्यासमा वैवाहिक सम्बन्ध विच्छेद (डिभोर्स) गर्न वाध्य बनेकी नारीको नारीत्वको मोल र कदर बारे गम्भीर प्रश्न छ । नारी गरिमा र नारीत्वको रक्षाको निम्ति निर्णय लिन सक्ने नायिका यहाँ सम्मानकी पात्र बनेकी छिन् । नायिका एक शिक्षिता नारी जसले विवाहित जीवनमा पनि सुखसित बाँच्नुको लोभमा धेरै समझौता गरिसकेकी छिन् तर जब बारम्बार आफ्नो नारीत्वमाथि आघात पर्छ, नारी सम्मान र नारी अस्तित्वमाथि लाञ्छना लाग्छ तब प्रतिकारमा नायिकाभित्रको नारी स्वभिमान चित्कार गर्छ र उनले निर्णय लिन्छिन् पतिलाई त्याग्ने र स्वतन्त्र भइ सम्मान सहित जीवन बिताउने ।
“ तिमी म बीच केवल यौवनवृत्तले मात्र प्रधान्यता लियो । हेर्दामा गृहलक्ष्मीको शोभा बनी तिम्रो प्रतीक्षामा रहेको हुनुपर्थ्यो-त्यसो नभएमा तिमी कति रुष्ट र दुष्ट बन्थ्यौ । तिम्रा कस्ता लाजमर्नु बलात्कारहरुसित कति अधोरी रातहरु बिताइए ।----पतिबाट सहृदय एकात्मक समन्वय चुकेको अनुभूतिले मेरो नारी कोमलताको धरातल सुस्तरी धस्कँदै गयो । म यसको बहिर्मुखी आघात सहँदै गएँ।“( पृ ९२)यहाँ उपन्यासकी नायिकाले पत्नी हुनुको शास्ति पाइरहेको अनुभव गरेकी छिन् । नारी सत्ता र अस्मितासित परिचित हुन लागेकी नायिकाले आफुलाई भोग्या वस्तुको रुपमा उपयोग गरिएकोमा उनीभित्रको नारी मन र तन दुवै घाइते हुँदै गएको छ । मानसिक र शारीरिक यातनाले थकित नारी मन यहाँ पति खुशीको निम्ति बलत्कृत हुनुपरेकोमा लज्जित बन्छ ।
पितृसत्तामक समाजमा पुरुष सामाजिक, नैतिक, वैधानिक र संस्थागत रुपमा नै आफ्नो शक्ति र अधिकारको प्रयोग गर्दै आइरहेका छन् । त्यस समाजमा नारी नगन्य ठहरिँदै आइरहेका छन् । त्यही समाजमा पुरुषद्वारा शोषित र दमित नारी जातिको जिउँदो जाग्दो स्थितिलाई उपन्यासकी नायिकाले निर्धक्क भई आफ्नै पतिलाई दुष्ट बलात्कारीको रुपमा चिनाएकी छिन् । यहाँ विवाहको नाममा वैवाहिक बलात्कार(marital rape)-को साङ्लोले जकड़िएका नारीको मनोस्थिति वा मानसिक यातना प्रष्टिएको छ । विवाहको नाममा दिनहु घरेलु हिंसाकै रुपमा नारीले सहनु परेको विवशता र व्यथाले नारी जीवन भित्र वा बाहिर रोएर रहनु पर्ने भएको छ । वैवाहिक सूत्र केवल यहाँ पुरुष यौन दुराचारको दृष्टान्त बन्न पुग्छ।
“विवाह भएकै दिनदेखि नै तिमीले मलाई स्वभाविक यौनवृत्तिको कसिलो सूत्रमा बाँध्यौ । तर…मेरो निज सत्तामा तिम्रो आधिक्यको आँच लाग्दै गयो, मनका संवेदनशील भावनाहरु बलि चढ़्दैगइरहे। यसो हामीमाझ यौनाचार बाहेक भावनात्मक दूरीले आफ्नो सीमा-साँध कोर्देगइरह्योः यहाँ म हुनुको सत्य विस्मृत हुनु थियो । तिम्रो आनन्दी लहड़मा म मात्र सम्पूरक साधन हुनु थियो । लीक पुरानै, वाहन पुरानै, मात्र यो प्राणी नयाँ यात्री हुन पुगी।“ (पृ० ७०) पारम्परिक रुपमा निर्मित पुरुष मानसिकता र नारीप्रतिको तिनीहरुको विचार र व्यवहार अझसम्म पनि बद्लिन नसकेको सामाजिक ढाँचा र पुरुष अहं वा भनौं सामाजिक रुपमा व्याप्त पुरुषीय अनाचार वा पुरुष व्यभिचारप्रतिको असन्तुष्टि यहाँ व्यक्तिएको छ । नारीलाई केवल यौन सन्तुष्टिको साधन ठान्ने र पत्नीलाई आफ्नो सम्पत्तिको रुपमा लिने कामुक र दाम्भिक पुरुष प्रवृत्तिको सङ्केत गर्दै उपन्यासकारले विवाह उप्रान्त पनि वैवाहिक रुपमा बलत्कृत भइरहनुपर्ने नारीहरुको यातना र उच्छ्वासलाई यहाँ प्रस्तुत गरेकी छिन् ।
नारी उत्पीड़नको यो व्यथा नयाँ होइन । हजारौ सालदेखि सहँदै आएको,मान्दै आएको सामाजिक ढाँचामा नारीले आफैलाई पुरुषीय शक्ति र दम्भमा समर्पित गर्दै आइरहेका छन्। त्यसलाई प्रतिकार गर्ने र नारी सत्ताको उचित कदर र सम्मानको चाहना आजको नारीको अधिकार र आन्दोलन बनिसकेको छ। धेरै बद्लियो समाज र विचार तर नारीलाई सम्पत्तिको(commodities /properties)रुपमा लिने र भोग्याको रुपमा भोगिरहने प्रवृत्ति भने उही रुपमा रही रहेको छ । लीक वा बाटो पुरानै , ती संस्कारलाई बोकेर ल्याउने वाहन पनि त्यत्तिकै पुराना तर समय अनुसार विचार बद्लिएको प्रदर्शनी भए ता पनि व्यावहारिक रुपमा नारीको नियति भने बद्लिन सकेको छैन । तिनै नमिल्दा पुरुषीय प्रवृत्ति र पारम्परिक दृष्टिकोणप्रतिको विरोध यहाँ प्रष्टिन्छ । यहाँ उपन्यासकार प्रश्न गर्छिन्- “स्त्रीपुरुष, पति-पत्नी, यौनाचारको परिपूरक,एकतर्फी छत्रछायाँको साम्राज्य, के यो नै हो वैवाहिक सूत्र?” (७१)यो गम्भीर प्रश्न हो समाजलाई।
तर हाम्रो सांस्कृतिक मान्यता के हो भने विवाह एक सामाजिक र धार्मिक कार्य हो । दुर्भाग्यवश यसको कारणले निम्त्याएको नारी उत्पीड़न भने नारीको नितान्त व्यक्तिगत समस्या वा अस्तित्वहीन अस्तित्व (non-existent entity)मात्रै बनाइएको वा ठानिएको छ । यसको सामाजिक मान्यता र यसको निराकरण तर्फ भने हाम्रो समाजको वा समाजमा बसेर लेखिने साहित्यको पनि यथेष्ट दृष्टि पुगेको छैन । त्यो अव्यक्त र व्यक्तिगत मात्र बन्न पुगेको उत्पीड़नप्रति देखिएको सजगता र संवेदनशीलता निश्चय पनि नेपाली साहित्यमा प्रशंसनीय त बनेकै छ तर साह्रै समसामयिक चेतनाको आविष्कार पनि बनेको छ।
उपन्यासकार वैचारिक सन्धि भएको हेर्न चाहन्छिन्- आजको परिवेशमा । खुसी र दुःख साझा रुपमा दुवैले समेटेको हेर्न रुचाउँछिन् - समान रुपमा । तर सम्भव हुन नसक्दा त्यस्ता तीता र विरक्त लाग्दा एकपक्षीय नीतिलाई तिलाञ्जलि दिँदै नारीलाई मुक्तिको बाटो देखाउँछिन् । नयाँ विचार र नयाँ आस्थाको निर्माण नारी स्वयंले गर्नु पर्ने उद्घोषणा समेत गर्छिन्।
केवल नारी हुनुको सामाजिक र मानसिक दण्ड यहाँ पत्नीले भोगिरहेकी छ । नारीलाई उपभोग गर्नुमा नै आफ्नो पुरुषार्थको अहम तुष्ट भएको ठान्ने पुरुषप्रधान समाजको निम्ति यो गतिलो प्रतिकार हो – सामाजिक संकुचित मनोवृत्तिमाथि । नारी केवल यौन‍-तुष्टिको सामग्री होइनन् न त साधन नै हुन् । यस्ता विचार र व्यवहारको विरोधमा उपन्यासकारको ‘मध्यान्तर’ बोलेको छ ।
‘मध्यान्तर’-मा रुढ़िग्रस्त मान्यता र पुरुष निरङ्कुशताको विद्रोह छ । यो परम्परागत रुपमा युगौंदेखि शोषित र शासित नारी मन र अस्तित्वको मुक्तिको चाहनाको उड़ान हो । नारी स्वयं योद्धा भई नारी जातिको मन र तनलाई सुरक्षित राख्नु मात्र होइन तर आफ्नो अधिकार र सम्मानको हितलाई सर्वोपरि ठान्दै भावी सन्तान पनि यस त्रासद स्थितिबाट मुक्त होस् भन्ने चाहना पनि रहेको छ - यस उपन्यासमा। अबलाको रुपमा चिन्हित नारीले अब स्व-रक्षाको निम्ति सचेत र सबल भई “युगले तेर्स्याएको चुनौतिलाई हेर्नुछ”(पृ ९२) परम्परागत रुपमा मान्य भई आएका पुरुष निरङकुशतालाई तोड्दै,सामाजिक कामुक मनोवृत्तिलाई उछिन्दै “ स्व-मुक्तिनिम्ति फुटाउन पर्छ यो नारी स्वयंले”(पृ९२) जस्ता क्रान्तिकारी भाव यहाँ राखिएका छन् । नारी जीवनको त्रासद स्थितिको जिम्मेवार परम्परागत रुढ़िग्रस्त धारणा र पुरुष मनोवृत्ति र आंशिक रुपमा नारीको पनि सुखको वा मातृत्वको लालसाले त्यस अवस्थाप्रति आत्मसमर्पण रहेको कुरालाई यस उपन्यासले देखाएको छ । अनि त्यस त्रासद स्थितिका मुक्तिको बाटो स्वयं नारीमन र उनीहरुको साहसिक पाइला नै रहेको कुरालाई यहाँ प्रष्ट पारी राखिएको छ । बारम्बार खण्डित हुँदै आइरहेको नारी मन र अस्मिता, असम्मानले जब पराकाष्ठा नाघ्छ तब उकुसमुकुस भएको मनले मुक्तिको बाटो खोज्छ । त्यो बाटो सहज नभए पनि असम्भव भने छैन । यही तथ्यलाई उपन्यासकारले सम्भव पार्दै नारी मुक्तिको प्रेरणादायी बाटो स्वयं नारी नै हो भन्ने तथ्यलाई स्वीकृति दिएकी छिन् ।
रुढ़ीग्रस्त मानसिकताको असंवेदनशील पुरुष समाज भने आजपर्यन्त नारी शोषण र दमनमा रमाइरहेको छ । तर “फरक छ हिज अनि आज । वर्तमान शिक्षित सचेत परिवेशमा नारीले शनैःशनैः आफ्नो प्रकट आत्मविश्वासमा, आत्मनिर्भरतामा, सशक्ततामा घरभित्र , घरवाहिर रचनात्मक कार्य गरी आफ्नो सत्ता स्थापित गरेकी छ, धाक जमाउन सकेकी छ हाकाहाकी परिवारमा , समाजमा,देशमा । यस सत्याभासमा कति पनि नतिरमिराई आज गएर सभ्य विश्वले स्त्रीको स्वतन्त्र सबल अस्मिता स्वीकारेको छ । नारी कुनै पनि अर्थमा पुरुषभन्दा न्यून छैन भन्ने सत्य स्वीकारेको धारणासितै नारीको उत्थानमा सहर्ष काँध दिएको छ।“ (पृ९१)
यति हुँदाहुँदै पनि नारीले प्रताड़ना सही रहनु पर्छ । हजारौं सालदेखि सिंचित पुरुष मानसिकता भने नारीको भोग्या रुप र वस्तुकै सेरोफेरोमा फनफन घुमिरहेको छ। तर जबसम्म आफ्नो अधिकार , सम्मान, नारीत्व र अस्मिताको सचेत भाव नारी मनमा पलाउन सक्दैन र त्यस्ता आज अनैतिक र आपराधिक मानिने र ठानिने मनोवृत्तिको विरोध गर्न सक्दैनन् तबसम्म नारी जातिको उन्मुक्तिको चाहना राख्नु व्यर्थ र निरर्थक बन्नेछ। आज नारी उत्थानमा समाज र कानूनले साथ दिएको छ । नारी उत्थानको उद्देश्य आज समाजले बोके ता पनि नारी शोषण र व्यथाको उन्मूलन भने जरादेखि नै नाश हुन सकेको छैन । यस नाशको निम्ति , नारीप्रति अवहेलित न्यून-दृष्टिको उन्मूलनको निम्ति , नारी सम्मान र अस्तित्वको निम्ति भने त्यस प्रकारका मनोवृत्ति र मानसिकताको प्रतिकारको आवश्यक छ । नारी एक्लो भएर पनि नारी सुख र शान्तिसित बाँच्न सक्छे भन्ने सशक्त धारणालाई यस उपन्यासले अङ्गालेको छ। उपन्यासकार लेख्छिन्-‘ तिमी जस्ता स्वार्थान्धतासित हातेमेलो गर्नुभन्दा, एक्लो नारी-जीवन बाँच्नुमा बढ़ी सार्थकता छ, आनन्द छ ।‘(पृ ९४)
सामाजिक विकृति र मनोवृत्तिलाई निमिट्यान्न नपारिन्जेलसम्म स्वर्गको चाहना राख्नु हास्यस्पद कुरो हो । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ईश्वर रमाएर बस्छ भन्ने धारणाले कुनै पनि व्यावहारिक टेको पाएको छैन । ईश्वरको वास र स्वर्गको कुरा गर्नु, विचार र व्यवहारले असन्तुलित समाजमा सारहीन र अर्थहीन कुरो भएको छ । मानवीय समाजमा एकपक्षीय नीति र पुरुष शक्तिको सामु समर्पित बन्नु विवश भएका नारीको उत्थानमा मात्र स्वर्गीय आनन्द प्राप्त हुने यथार्थलाई उपन्यासकारले अनुभूत गरेकी छिन् ।
‘तर पनि वर्तमान पुरुषप्रधान समाजमा पुरुषबाट नारीमाथि अनेकविध असमानता, असम्मान, शारीरिक र मानसिक क्लेश खन्याइन्छन् नै । उसका कुलीनता, धनवानता, शिक्षितता, बलशालिता सब पौरुषिक प्रभुत्वका सहायक साधन बनाइन्छन्। बिहा भइ पतिको घरमा जानपरेकी, कति आशा र हर्ष लिएर गएकी पत्नीले कुनै दिन कुनै दोस्याइमा घरदेखि ‘जा निस्केर’ सम्म भनिनु जस्ता पुरुष-दुराधिकारका चरम दृष्टान्त घटिरहेकै छन् । नारी जति शिक्षित र सचेत छिन् पौरुषिक अन्याय प्रति शीघ्र चिन्छिन्, उति तीव्र अनुभव गर्छिन् । अनि ता सँगै रहनुको निरर्थकताले पोल्छ नारीलाई” (इन्द्रबहादुर राई ‘मध्यान्तर’ भूमिका ग)। यही निरर्थकताको भावले यहाँ उपन्यासकारले लैङ्गिक भेदभावले जन्माएको सामाजिक रुढ़ी र मान्यताको विद्रोह गरेकी छिन्, अविवेकी पुरुष मानसिकतामाथि शब्द प्रहार गरेकी छिन्। क्रान्तिकारी विचारको घेरामा नारी जीवनको तिक्ततालाई इंगित गर्दै नारीवादी धारणाहरु प्रस्तुत गरेकी छिन्।
‘मध्यान्तर’ पुष्प राईको दोस्रो उपन्यास हो । नारी जीवनको विविध पक्षसित परिचित भई त्यहीबाट प्रेरणा लिएर उपन्यास लेख्ने उपन्यासकार राईले यहाँ विश्वजनिन नारी समस्या, नारी व्यथालाई उजागर गरेकी छिन् । कुनै पनि समाजका दुइ पाङ्ग्रा नारी र पुरुष नै हुन् । मानवीय सद्भावपूर्ण व्यवहारको सन्तुलित धरातलमा उभिएर नारीसित मानव सरी व्यवहार नगरेर वा वर्ताव नगरेर केवल वस्तुको रुपमा उपभोग गर्ने मानसिकतामा जकड़िएको सामाजिक ढाँचा र मान्यताप्रतिको आक्रोश यहाँ पाइन्छ।
परम्परागत विचार वा धारणालाई नै अपनाएर नारीलाई हेर्दै आएको र जाँच्दै आएको पितृसत्तात्मक समाज आजपर्यन्त उही गोरेटोमा नै हिँड़िरहेको छ । समय बद्लियो भनिन्छ । विचार बद्लियो भनिन्छ। विश्वमा धेरै परिवर्तनहरु आए पनि भनिन्छ तर परिवारलाई ,समाजलाई वा विश्वलाई नै डोहोर्याइरहेको पुरुष अहं भाव वा पुरुष मानसिकतामा भने नारी प्रतिको विचार र व्यवहारमा भने खासै परिवर्तन आएको छैन । त्यही मानसिकताको विरोधमा र सामाजिक विकारको रुपमा रहेको नारी असम्मान र नारीलाई उपभोगको वस्तु मानिने दृष्टिकोणको प्रतिकार यहाँ पाइन्छ ।
यस उपन्यासमा विवाह पश्चात विवाहको नाममा वा पुरुषको सम्पत्तिको रुपमा आफुलाई वस्तु समान प्रयोग गर्न दिनु एक सचेत र शिक्षिता नारीको निम्ति अमान्य रहेको छ। त्यस प्रताड़नाबाट मुक्ति पाउनु र स्वतन्त्र भई आनन्दसहित जीवन यापन गर्नुमा नै नारी अस्तित्व र सम्मान रहेको ठान्ने उपन्यासकी नायिकाले पतिसित सम्बन्ध विच्छेद गरेकी छिन् । पति गृह त्याग गर्ने निर्णय नायिकाकै हो । आफ्नो जीवनको निम्ति र पुरुष-व्यभिचार र प्रताड़नाबाट मुक्त हुने मार्ग नायिकालाई यहि उचित लाग्छ। यसरी यहाँ स्व-अस्तित्व रक्षाको निम्ति नारी स्वयंले निर्णय लिएर वा विचार गरेर त्यसलाई कार्यान्वयन गर्न सक्ने शक्ति र साहस पनि आजको नारीमा आउनु पर्ने लेखिकाको आग्रहलाई उपन्यासको आलोकमा स्पष्ट देख्न सकिन्छ। आफ्नो जीवनको निम्ति निर्णय लिन सक्ने क्षमता नारीमा आउन सक्दा र परम्परागत रुढ़ीग्रस्त मान्यता र धारणालाई परित्याग गर्न सक्ने शक्ति पलाउँदा यहाँ नायिका पूर्वनिर्धारित सामाजिक साङ्लोबाट स्वतन्त्र हुनपुग्छिन्। पुरुषद्वारा शासित सम्पूर्ण सामाजिक बन्धन र अन्यायको कसिलो साङ्गलोबाट नारी जीवनलाई मुक्त बनाउन खोज्ने चाहनामा नायिकाले यस्तो निर्णय कार्यान्वन गर्छिन् । “अब नारी आफैले आफ्नो स्वकीय सत्तालाई ज्वलन्त राखी आफ्नो स्वत्वमा पुरुष बराबरीको आयाम थप्नुपर्नैछ ।“(पृ ९२)समाजमा निकृष्ट ठानिएकी र मानिएकी नारी जीवनको मर्मलाई छुँदै उपन्यासकारले यहाँ नारी समानताको सुखद प्राप्तिको कामना पनि पोखेकी छिन्।
‘मध्यान्तर’ उपन्यासकार पुष्प राईको नौलो दृष्टिबोधले ल्याएको नयाँ प्रस्तुति हो नेपाली उपन्यास क्षेत्रमा। शिक्षाले, स्वनिर्भरताले, विश्वमा प्रचलित नयाँ मान्यता र धारणाले आजको नारीलाई आफ्नो अधिकार,स्वतन्त्रताप्रति सचेत र सजग बनाइदिएको छ। तरै पनि कतिपय यस्ता कारकहरु छन् आज पनि नजानिदो पाराले नारी जाति पुरषद्वारा शोषित र शासित नै छन् । यस विषयमा सचेत नारीको अविरल विरागको प्रभावशाली अभिव्यक्तिको रुपमा नेपाली साहित्यले पुष्प राईबाट ‘मध्यान्तर’ उपन्यास प्राप्त गरेको छ।
विवाहको नाममा र प्रेमको नाममा समेत नारीले धेरै मानसिक र शारीरिक यातना सहिरहनु परेको छ । त्यस्ता कारकहरु मध्ये एउटा हो वैवाहिक बलत्कार(marital rape)। त्यसैको विरोध हो यो उपन्यास । वैवाहिक बलात्कार जस्ता दुर्घटना--जसलाई अझै पनि हाम्रो समाजले वा कानूनले मान्यता दिएको छैन---को भत्सर्ना गर्दै उपन्यासकारले आफ्नो नव चेतना र नयाँ विचारको नौलो सौगात दिएकी छिन् ।हुन त नारीका पीड़ा र उत्पीड़न बारे चर्चा गरेर धेरै उपन्यास लेखिएका छन्, तर वैवाहिक बलत्कार जस्ता विषयलाई उठान गरेर लेखिएको ‘मध्यान्तर’ सम्भवतः पहिलो उपन्यास हो। यस उपन्यासले गर्दा पाठकमा पनि नयाँ दृष्टिबोध अनुभूत हुन आउँछ।
नारी-अस्मिता र सम्मानको निम्ति सबै खालका यौन उत्पीड़न र शोषणबाट मुक्त हुनुपर्ने आह्वान ‘मध्यान्तर’-मा गुंजिएको छ। नारीवादको चर्चामा अनेकौं प्रश्नहरु उत्पन्न हुन सक्छन् । आज कतिपय प्रश्न पुराना पनि भइसके तर पनि समाजमा कतिपय वैध जस्ता मानिने र धार्मिक जस्ता ठानिने दमनकारी परम्परा आजपर्यन्त जीवन्त छन् र त्यही दाम्भिक र सामाजिक रुपमा निर्धारित परम्पराको सीमारेखाभित्र नारी आज पनि शोषित र व्यथित रहन बाध्य बनाइँदै नै छन् । तिनै प्रत्यक्ष रुपमा नदेखिने तर समाजमा प्रचलित रहेका मान्यताहरुलाई उपन्यासकारले यहाँ बढ़ो सशक्त रुपमा विरोध गर्दै पाठकलाई पनि यस विषयमा गहिरोसित विचार गर्न प्रेरित पारेकी छिन् । ‘मध्यान्तर ‘ उपन्यासमा प्रस्तुत गरिएका यी सबै प्रश्न र प्रसङ्ग नयाँ विचारको नव-ज्योतिको आलोकमा नितान्त नौला र अग्रणी बनेका छन् ।
साहित्य केवल आनन्दको साधन मात्र नभएर यो सांस्कृतिक संकथनको बलियो माध्यम पनि हो । धेरै कुरासहित यसले साह्रै समसामयिक प्रश्न वा समस्याबारे सोच्न वाध्य पनि गराउनुपर्छ ता कि हामी एउटा उन्नत समाजको निर्माणतर्फ उन्मुख हुन सकौं र मनुष्यको मानवतालाई पूर्ण रुपमा विकशित गर्न सकौं। यस कसीमा पुष्प राईको उपन्यास ‘मध्यान्तर’ एउटा सशक्त उदाहरण भएर देखा पर्छ ।

सेन्ट् जोसेफ्स् कलेज, दार्जिलिङ् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।