14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

महाकालीको काखमा

नियात्रा डा.कृष्णराज अधिकारी August 30, 2021, 8:59 am
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

“ल, पर्सी जाने निधो भयो कान्छा ! तिमीसमेत नौजना भयौं । जग्गु र हरिरामले गाडीको व्यवस्था गर्दैछन् । पर्सि बिहान चारै बजे हिँड्ने कुरा छ ।” —कम्पनीको गेट अगाडि उभिइरहेका डिलाराम वि.क.लाई शेरबहादर ऐडीले आउँदा आउँदै भन्यो । घर जान पाउने सन्देश सुन्दा पनि डिलाराममा कुनै उत्साह जाग्न सकेन । उसले केही भन्न नपाउँदै शेरबहादुरले कुरा थप्यो—“यो कोरोना छिटै साम्य होला जस्तो छैन, झन् बढेको बढ्यै छ । होटल, कम्पनीहरू सबै बन्द भइहाले, कहिले खुल्नेहो ठेगान छैन । यहाँ यत्तिकै के गरेर बस्ने भनत ? बाहिरका सबै आ–आफ्नै घर–गाउँतिर लागिसके । पछि–पछि त गाडी पाउन पनि मुस्किल पर्छ । कोरोनाले मरिने रहेछ भने पनि आफ्नै देशमा गएर मर्ने, आफ्नै जहान–छोराछोरीको काखमा मर्ने ! यहाँ त कुकुर मराइ हुन्छ हेर । म त नेपाल नगएको पनि एक बर्षै जस्तो हुन लाग्यो । केटाकेटी पनि आत्तिएका होलान् । अहिले जाऊँ, कोरोना साम्य भएर बन्द खुलेपछि फेरि आउँला ।”
डिलारामले कम्पनीको गेटको सानो ढोका खोल्यो र त्यहाँ भित्रपट्टि रहेको कुर्सीमा शेरबहादुरलाई बस्न आग्रह ग¥यो । अनि लामो स्वास तानेर पर क्षितिजतिर हेर्दै भन्यो—“नेपाल फर्केर पो के गर्ने दाइ ? जग्गा–जमिन भए त खेतीपाती गरेर बसौं भने पनि हुन्थ्यो, एउटा छाप्रो बनाउने ठाउँसम्म छैन । ज्याला मजदुरी गरौं भन्ने हो भने गाउँमा पाइँदैन, बजारमा गयो भने चारदिन काम ग¥यो अर्को चारदिन खालि बस्नुपर्छ, सधैं पाइँदैन । झन् यस्तो महामारीको बेलामा कामै पो के पाइएला र ?” एकैछिन रोकिएर उसले भन्यो—“यो बन्द कति नै रहला र ? दश–पन्ध्र दिनमा त खुल्ला नि । अव तीन महिनामा त दशैं पनि आइहाल्छ । मलाई त अलि दिन विचार गर्ने हो कि जस्तो लागेको छ ।”
एउटै गाउँका भएकाले डिलारामलाई शेरबहादुरले कान्छा भन्थ्यो भने शेरबहादुरलाई उसले दाइ भन्ने गर्दथ्यो । चार बर्षअघि शेरबहादुरले नै उसलाई यहाँ ल्याएको थियो काम लगाइदिन । शेरबहादुरले आश्वस्त पार्दै भन्यो— “हैन कान्छा, यस्तो महामारीको बेलामा यहाँ बस्नु हुँदैन । यहाँ हाम्रो कस्ले वास्ता–पास्ता गर्छ भनत ? बजार बन्द भइसक्यो । खाने सामान पनि पाउन गाह्रो भइसकेको छ । यो बन्द कतिन्जेल लम्बिने हो थाहा छैन । यहीँका बासिन्दालाई त राज्यले राहत बाँड्ने, खातामा पैसा हालिदिने गर्छ, तर हामीहरूलाई कसैले हेर्दैन । हाम्रो त यहाँ विजोगै हुन्छ । जे भए पनि आफ्नो देश भनेको आफ्नै हो । हुन त अहिलेसम्म यहाँ हामीलाई अप्ठेरो परिहालेको छैन, तर स्थिति के हुन्छ भन्न सकिँदैन ।”
“तपाईँको त अलिकति भएपनि जग्गा छ, आफ्नै जग्गामा बनेको घर छ । तर मेरो त परिवार बाहेक आफ्नो भन्ने त्यहाँ कोही छैन । सम्पत्तिका नाउँमा टेक्ने जमिनसम्म छैन, यहाँ कमाएर त्यहाँका परिबार पाल्नुपर्छ । खोलाछेउको छाप्रो, कहिले बाढी आएर लैजाने हो भन्ने सधैं डर मात्र हुन्छ । जहाँ ढुक्कले निदाउन पाइँदैन, पाखुरी बजारेर खानसम्म पाइँदैन र टेक्ने जमिनसम्म आफ्नो छैन भने त्यसलाई कसरी आफ्नो भन्ने ? त्यहाँ र यहाँ बस्नुको फरक के भयो र दाइ ? जहान–परिवार भेट्न जाने छुट्टै कुरा हो, तर मलाई त आफ्नो देशमा गएर सुख र शान्ति पाइएला भन्ने छैन ।”
“तिम्रो कुरो त ठिकै हो भाइ, आफ्नो भन्ने टेक्ने जमिनसम्म नहुनेलाई कुन आफ्नो देश, कुन परदेश । तर यस्तो महामारीमा, काम नपाएर यसै बस्नुपरेको बेलामा चाहिँ जहान–परिवारसित बस्नुपर्छ भन्ने मात्र हो । परिवार यतै भएको भए त्यहाँ जानुको अर्थ थिएन । कमसे कम त्यहाँ बिरामी हुँदा पानी त पाउँछौ, तर यहाँ थला प¥यौ भने कस्ले पानी दिन्छ भनत ?”
“ठिक भन्नुभयो दाइ । परिवार पनि आत्तिएका होलान् । भेट्नलाई भएपनि यो बेला जानुपर्छ । पछि सँगै फर्कौला । म पर्सी बिहान चारै बजे निस्कन्छु ।” डिलारामले निधो दिएपछि शेरबहादुर हिँड्यो ।
चार बर्षदेखि काम गर्दै आएको कम्पनी कोरोनाका कारण बन्द हुने भएपछि डिलाराम वि.क. निकै चिन्तित बनेको थियो । गुजरातको अहमदावादस्थित एउटा कम्पनीमा चौकिदारको काम गर्दै आएको उसका लागि कम्पनीको त्यो काम परिवार पाल्ने एकमात्र आधार बनिरहेको थियो । सत्तरी कटेका बाबुआमा, सानो तीन बर्षे छोरा र बिरामी श्रीमतीलाई छाडेर गुजरात आउँदाको पीडा कम्पनीमा चौकिदारको काम पाएपछि भने केही कम हुँदै गएको थियो । तलब बाह्र हजार मात्रै भएपनि कम्पनीभित्रै बस्ने व्यवस्था भएकाले कोठाभाडा तिर्न पर्दैनथ्यो । यसैले महिनाको सात–आठ हजार बचाएर घरमा पठाउने गथ्र्यो ।
उसका बाबु लच्छे बि.क. पन्ध्र बर्षको उमेरमा बझाङबाट बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिकामा आएका थिए । त्यही बेलादेखि नै उनी विभिन्न ठाउँमा हलिया बस्दै आएका थिए । भीमदत्त नगरपालिकाको सुकासालमा लामो समय जमिनदारको खेत–खलियान जोतेरै उनले आफ्नो जीवन बिताएका थिए । सरकारले केही वर्षअघि हलिया मुक्त घोषणा गरेपछि बुढेशकालमा आएर अर्काको हलो जोत्ने काम छुटेपनि गास–बासको समस्यालाई भने यसले झनै बल्झाइदिन पुग्यो । उनीसँगै मुक्त भएका कतिपय हलियाले थोरै भएपनि जमिन पाए भने केहीको घर पनि बन्यो । तर उनीजस्ता कतिपय हलियाले भने जमिन र घर त के मुक्त हलियाको परिचयसम्म पाएनन् । मुक्त भएपछि कहाँ जाने ? चिन्ताले झनै सताउन पुग्यो । बरु मुक्त नहुँदासम्म रुखो–सुखो जे जस्तो भएपनि जमिनदारकै घरमा खाने बस्ने गरिएको थियो । तर अव त न कहिँ आफ्नो भन्ने जमिन छ, न कतै बस्ने बासको व्यवस्था छ । छाप्रो हाल्ने ठाउँसम्म कतै नपाएपछि उनका बाबु भीमदत्त नगरपालिकाको ब्रह्मदेव नजिकै गहताडी खोला किनारमा सानो छाप्रो हालेर बसिरहेका थिए । बाबु हलिया बस्दा जमिनदारको गोठमा जन्मिएका डिलाराम पछि त्यही खोला किनारको छाप्रोमा हुर्किएका थिए । त्यहीँ नै उनको तिलबहादुर वि.क.की छोरीसँग बिहे भएको थियो । अर्काको खेत अधियाँ गरेर जिनतिन निर्बाह गर्दै आएको उनको परिवार बाबुआमा अशक्त हुँदै गएपछि र परिवार बढ्दै गएपछि अधियाँ खेती पनि धेरै गर्न नसक्ने र थोरै गर्दा परिवार पाल्न नसक्ने स्थितिमा पुगेको थियो । गाउँमा न ज्याला–मजदुरी नियमित पाउने स्थिति थियो न त अरु कुनै वैकल्पिक उपाय नै बाँकी थियो । यो स्थितिमा एकदिन ऊ गाउँकै शेरबहादुर ऐडीका साथ लागेर भारतको गुजराततिर हिँडेको थियो ।
× × ×
गुजरातको अहमदावादमा काम गर्ने नेपालीमध्ये डोटी, बझाङ, बाजुरा र कञ्चनपुरका गरी पन्ध्र–सोह्र जना शेरबहादुरको संपर्कमा थिए । तीमध्ये कतिपय पहिल्यै घरतिर हिँडिसकेका थिए भने तीनजना परिवारसहित भएकाले नजाने मनस्थितिमा थिए । संपर्कमा आएका एउटै क्षेत्रका नौजनाका लागि हरिराम र जग्गुले बडो मुस्किलले गाडीको व्यवस्था गरेका थिए । सीधै आउने गाडी पाउन सम्भव थिएन । जे जस्तो साधन पाइन्छ त्यसमा चढिहाल्ने गर्दा कहिले ट्रक र कहिले बसमा गरी उनीहरू दुई दिनमा दिल्ली आइपुगे । दिल्लीबाट वनबासासम्म आउन धेरै कष्ट झेल्नुप¥यो । कहिले मालबाहक ट्रकमा, कहिले रेलमा र कहिले बसमा कोचिएर आउनुपर्दा र खानाको चाँजो नमिल्दा उनीहरू निकै शिथिल र थाकेका देखिन्थे । दिल्लीको रेलमा कोचिएर आउँदा जग्गुलाई गाह्रो महसूस भइरहेको थियो । तर यस्तो समस्या झेल्दै आउनुपरेको अवस्थामा उसले कसैलाई केही भनेन । रेलबाट झरेर बनबासाको लागि बस खोज्दै गर्दा उसलाई उभिन पनि गाह्रो भइरहेको थियो । बढी नै गाह्रो जस्तो लागेपछि उसले हरिराम र शेरबहादुरलाई भन्यो । तिनले वरपर चाहार्दा एउटा औषधि पसल भेटाए । जग्गुरामलाई डो¥याउँदै मेडिकलमा पु¥याए । ज्वरो आएको भन्नासाथ पसले हच्कियो र हतपत टाढैबाट सिटामोल दिएर पन्छायो । सिटामोलले उसलाई थोरै हलुका जस्तो भएपनि ठीक भएन । दुई घण्टासम्म बसको प्रतीक्षामा बसेपछि बल्ल एउटा बस भेटियो । भरिभराउ बसमा उनीहरू खाँदाखाँद गरेर चढे । जग्गुको झोला हरिराम र शेरबहादुरले लिइदिएका थिए भने दलबहादुरले उसको हात समातेर भर दिइरहेको थियो । बसमा जग्गुलाई बान्ता आउला–आउला जस्तो भयो । टाउको दुखेर रिङ्गटा लाग्ला जस्तो भयो । खाँदाखाँद मानिस भएकाले मात्र, नत्र ऊ बसभित्रै लड्ने अवस्थामा पुगेको थियो । उभिनै नसक्ने जस्तो भएपछि ऊ दलबहादुरको काँधमा टाउको अड्याउन पुग्यो ।
जसोतसो गरेर उनीहरू सीमा नजिक पुगे । सीमामा प्रहरीहरूको बाक्लो उपस्थिति थियो । भारतबाट नेपाल फर्किन लागेका सयौंको सङ्ख्याका नेपालीहरूलाई त्यहाँका सीमामा रोकेर राखिएको थियो । भीडमा पुरुषहरू मात्र होइन महिलाहरू पनि थिए र अझ कतिपय महिलाले त बच्चासमेत च्यापेका देखिन्थे । अत्यधिक भीडमा भौतिक दुरीको कुनै सम्भावना नभएपनि मुखमा मास्क भने अधिकांशले लगाएका थिए । कोही निराश र उदास अनुहारमा थिए भने धेरैजसो आक्रोशित र उत्तेजित देखिन्थे । चर्को गर्मी र मानसिक सन्तापका कारण अनुहार मात्र होइन पूरै शरीर पसिनाले लछप्प भिजेको थियो । कतिपयको हातमा पानीको बोतल थियो भने कतिपय दालमोठ र चाउचाउ मुखमा फँक्याउँदै थिए । कैयन् दिन लगाएर, कैयन् हन्डर र कष्ट भोगेर बल्ल र तल्ल सीमामा आइपुगेका नेपालीहरू आफ्नो गाउँ जान नपाएपछि नेपाल सरकार र प्रहरीहरूप्रति क्रुद्ध बन्दै विरोधका नारा लगाइरहेका थिए ।
“हैन, के हो यस्तो ? आफ्नो भूमिमा आउन खोज्दा आफ्नै सरकारले रोक्ने ? के हामीलाई आफ्नो देशमा आउने अधिकार छैन ?”— शेरबहादुरले चर्को स्वरमा आक्रोश पोख्यो । कोलाहलपूर्ण त्यो भीडमा उसको कुरा त्यहाँ उभिएका दुई–चार जनाको कानमा पुगेर त्यसै हराउन पुग्यो । “हामी आफ्नो देशमा जान किन नपाउने ? यस्तो विपद्को बेला सरकाले सहयोग गर्नु त कहाँ आफ्नो घर जान्छु भन्दा नपाउने ? हामीले कुनै अपराध गरेका छौं भने बरु लगेर थुने हुन्छ, तर हामी आफ्नो देशमा जान पाउनुपर्छ !”— डिलाराम पनि उत्तेजित हुँदै करायो । त्यसरी धेरैले कराउँदा र नारा लगाउँदा सीमा नाका तनावपूर्ण बनिरहेको थियो । नाकामा उत्तेजित भीड बढ्दै गएपछि प्रहरीले लाठीचार्ज ग¥यो । धेरै जसो भागाभाग भए । कसैको टाउकोमा, कसैको हातमा र कसैको ढाडमा लाठी बर्षियो ।
“दाजुभाइ दिदीबहिनीहरू ! तपाईंहरू संयमित हुनुहोस् ! कोरोना महामारीका कारण नेपाल सरकारले तपाईंहरूलाई नेपाल आउन नियन्त्रण गरेको हो । तपाईंहरूलाई राख्न सरकारले क्वारेन्टाइनको व्यवस्था गर्दैछ । तपाईं र तपाईंहरूको परिवारको सुरक्षाका लागि आवागमनम नियन्त्रण गरिएको हो । भीड नगर्नुहोस् ! कोरोनाबाट बच्न सुरक्षा मापदण्ड अपनानुहोस् ! एक–आपसमा तीन फिटको दुरी कायम गरी शान्तपूर्वक बस्नुहोस् !” —एकजना प्रहरीले माइकद्वारा सबैलाई सम्बोधन गर्दै भन्यो । तर भीड साम्य भएन । झनै उत्तेजित भई नारा लगाउन थाले— “कि हामीलाई खाने–बस्ने व्यवस्था गर, कि आफ्नो घर जान देऊ ! सीमामा अलपत्र पार्न पाइँदैन ! हामीले आफ्नो देश फर्कन पाउनुपर्छ !”
सीमा नाकामा कहीँ–कतै बस्ने व्यवस्था नभएपछि जग्गुलाई अलि परको महाकाली नदी किनारको बगरमा राखेर हरिराम र दलबहादुर औषधिको खोजीमा लागे । एउटा औषधि पसलमा गएर जग्गुको बिमार बताएपछि पसलेले केही औषधि दिएर पठायो । राम्ररी खाना नखाएको पनि पाँच–छदिन भइसकेको थियो । सीमा नाकाको त्यो भीडमा खाना पाउने सम्भावना थिएन । शेरबहादुर र दीपेन्द बजार चहारेर दालमोठ, चिउरा, विस्कुट र पानी किनेर ल्याए । चाउचाउ किन्न खोज्दा कतै भेटाएनन् । जग्गु नदी किनारमा सुतिरहेको थियो । शेरबहादुरले उसलाई उठाएर बिस्कुट र पानी दियो । आधा प्याकेट बिस्कुट र आधा बोतल पानी खाएपछि ऊ केही टाठो जस्तो भयो । पछि सिटामोल र अर्को एन्टिबायोटिक जस्तो गोली पनि खान दिए ।
पानी परिरहेकाले जेठ महिनामै महाकाली नदी बढिसकेको थियो । नाकामा रोकावट थियो भने नदी तरेर जान सम्भव थिएन । “साँझ पर्न लाग्यो, जग्गुको त्यो अवस्था छ, अव के गर्ने ?”—डिलारामले निराश हुँदै भन्यो । “कतै होटल–सोटल पाइन्छ कि, तिमी बुझेर आऊ । एउटा मात्र कोठा पाए पनि जग्गुलाई राख्न हुन्थ्यो, हामी त बाहिरै पनि बस्दथ्यौं ।”—शेरबहादुरले दीपेन्द्रलाई अह्रायो । पूरै बजार चहार्दा पनि कहिँ कसैले कोठा उपलब्ध गराएन । केही उपाय नलागेपछि बाहिर ताला लगाइएको एउटा पुरानो घरको पिँढीमा लगेर जग्गुरामलाई सुताइयो । शेरबहादुर, हरिराम र डिलारामले पनि त्यहीँ गुँडुल्किएर रात कटाए । दीपेन्द, दलबहादुर र अरु साथीहरूले सडकपेटीमै रात छिचले । विभिन्न भूभागबाट आएकामध्ये कोही बाटोमै गुँडुल्किएर बसे, कोही झुण्ड–झुण्ड भएर एकै ठाउँमा पल्टिए भने कतिपयले नदीको बगरमा रात बिताए ।
भोलिपल्ट पनि अवस्था उस्तै रह्यो । न सीमा–नाका खुला भयो न जग्गुको बिमार नै कम भयो । भोलिपल्ट पनि दिनभर उस्तै तनाव, उस्तै पीडा र आक्रोशका उस्तै आवाज । चिउरा र दालमोठ खाएर भोक मेटाउनु बाहेक अर्को उपाय थिएन । जग्गुले चिउरा–दालमोठ खान नसकेपछि बिस्कुट ल्याएर दिइयो । ज्वरो त्यति धेरै बढेको त थिएन तर पनि आज उसलाई कता कता अप्ठेरो जस्तो, स्वास फेर्न गाह्रो भएजस्तो महसूस भइरहेको थियो । शेरबहादुर र हरिराम आत्तिएर अस्पताल चहार्न पुगे । केही पर एउटा अस्पताल भेटियो । बिरामीको लामै लाइन थियो । ‘टिकटको टाइम अफ भइसक्यो’ भनेर त्यहाँको गार्डले भित्र जानै नदिएपछि उनीहरू निराश हुँदै फर्के । आज पनि कोही घरको पिँढीमा र कोही सडक–पेटीमा बसेर रात कटाउन पुगे ।
बिहान जग्गुलाई साह्रो भएर आयो । उसले पानी माग्यो । हरिरामले उसलाई बोतलको पानी दियो । थोरै पानी हातमा खन्याएर जग्गुले मुख धोयो अनि खान थाल्यो । एक घुट्की पानी मुखमा हालेको, निल्नै सकेन । सर्को परेझैं भयो । यसै बीचमा उसलाई दुई–तीन पटक वाकवाकी लाग्यो । थोरै बान्ता पनि भयो । ऊ हरिरामको हात समाती पुर्लुङ्ग पल्टियो । दुईपल्ट हिक्क–हिक्क गरेपछि फुर्सा आँखा पल्टाइहाल्यो ।
‘अस्तिसम्मको त्यति टाठो मान्छे कसरी यस्तो भयो ?’ —सँगै आएका साथीहरू सबै आत्तिए । ‘कतै कोरोना त लागेन ?’ —सबैको मनमा पीडा र अव्यक्त आशङ्काले छायो । नाका बन्द थियो, घरमा खबर गरेर पनि आउनसक्ने अवस्था थिएन । आफूहरू सीमा नाकामा आइपुगेको र जग्गु अलिअलि बिरामी भएको खबर त अस्ति बेलुका नै घरमा पुगेको थियो । तर यो अवस्थाको जानकारी त गराउनै पर्छ भन्दै हरिरामले जग्गुको घरमा फोन ग¥यो । ‘नेपाली हामी, छौं भाग्यमानी...’ मोबाइलको टोनमा बजेको गीत सुनेर उसलाई मोबाइलै फुटालेर फालिदिऊँ झैं भयो । फोनमा उसले जग्गुले संसार छोडेको कुरा सीधै नभने पनि नाकामा सिकिस्त बिरामी परेको कुरा जानकारी गरायो ।
धेरै नेपालीहरू त्यहाँ जम्मा भए । जग्गुको निधनप्रति दुखित हुँदै अन्त्येष्टिमा सहभागी भए, श्रद्धाञ्जली दिए । जग्गुको शवलाई भारतपट्टिको महाकाली किनारमा गाडियो । लगाएको कपडा खोलिदिँदा खल्तीबाट उसको नागरिकताको प्रमाणपत्र फुत्त नदीको किनारमै खस्यो । हेर्दा हेर्दै उक्त नागरिकतालाई नदीको छालले हुत्याएर बगाइदियो । एकजनाले उक्त कागज टिप्न जाँदा डिलारामले भन्यो—“बग्न देऊ यो नागरिकताको खोस्टोलाई । बडो मुस्किलले बनाएको त्यो नागरिकता कहिल्यै काम लागेन उसलाई ।”
निकै बेर पारि क्षितिजतिर हेरिरहेको एकजना व्यक्तिले अफशोस व्यक्त ग¥यो—“नाका पार गर्न मात्र पाएको भएपनि उहाँको शव नेपाली माटोमा गाडिने थियो । नेपाली हावापानी र माटोले बनेको शरीर कमसे कम नेपालकै माटोमा मिल्न पुग्थ्यो, के गर्ने ... ।” उसको कुरा नटुङ्गिदै दैलेखको लालबहादुर खत्रीले भन्यो—“हावा, पानी, माटो र वनस्पति जस्ता प्रकृतिप्रदत्त वस्तुहरूको कुनै देश हुँदैन । एउटै नदी पनि धेरै देश भएर बगेको हुन्छ । हावा देशको सीमा छुट्याएर बहँदैन । जङ्गली जनावरहरू एउटा देशबाट अर्को देशमा आवत–जावत गरिरहन्छन्, चराहरू पनि देश र महादेशसमेत नाघेर विभिन्न मुलुकमा विचरण गर्छन् । मानिस बाहेक कुनैपनि जीवजन्तुको देश र विदेश भन्ने हुँदैन । आफ्नो शासन र हैकम चलाउनकै लागि बन्दुकको भरमा भाग लगाइएका हुन् देशका सीमानाहरू । माटोलाई विभिन्न शासकहरूले भागबण्डा गरेका भएपनि वास्तवमा त्यो कसैको हुँदैन । यसैले नदी वारि मर्नु र पारि तरेर मर्नुले त्यति ठूलो अर्थ राख्दैन । पृथ्वीकै वायुमण्डलको स्वास–प्रस्वासले बाँच्ने हो र पृथ्वीकै माटोमा मिल्ने हो । मानिस लगायतका सारा जीवजन्तु र वनस्पतिहरू प्रकृतिकै अङ्ग हुन् र प्रकृतिमै विलीन हुने हुन् । चिन्ताको कुरा के मात्र हो भने उहाँ उपचार नपाएर मर्नुभयो । हिजो–अस्तिनै उहाँलाई सुविधायुक्त अस्पतालमा लैजान सकेको भए बँच्नुहुन्थ्यो होला । राज्यसत्ता जनताप्रति जिम्मेवार नभएपछि हामीले भोग्ने भनेको यस्तै पीडा, अपमान र मृत्यु मात्र हो ।”
त्यहाँ उपस्थित सबैले आफ्नो सरकारको नीति र अव्यवस्थाप्रति घोर विरोध र आपत्ति जनाए । चर्का–चर्का नारा पनि लगाए । दीपेन्द्र ऐडीले भाषणको शैलीमा चर्को स्वरले भन्यो—‘जग्गु वि.क. अरु देशमा जन्मेको हुन्थ्यो भने उसको यो अवस्था हुने थिएन । विकसित देशको जिम्मेवार सरकार हुन्थ्यो भने उसको अवस्था थाहा पाउनासाथ हरतरहले सहयोग गथ्र्यो, उस्तै परे हेलिकप्टर पठाउँथ्यो । ‘मरे पनि नेपालमै मर्छु’ भनेर देशलाई आमा सम्झेर बडो कष्टका साथ मातृभूमिका काखमा पाइला टेक्नै लाग्दा आफ्नै सरकारले रोक्छ र विदेशी भूमिमा मर्न बाध्य तुल्याउँछ । योभन्दा विडम्बना अरु के हुन सक्छ ?” दीपेन्द्रले कुरा सक्न नपाउँदै डिलारामले बीचैमा भन्यो—“सरकार नागरिकप्रति जिम्मेवार भएको भए यसरी ज्याला–मजदुरी खोज्दै, भाडाका सिपाही र चौकिदार बन्न अरुको देशमा जानै पर्दैनथ्यो भाइ ! आफ्नै देशमा रोजगारीको व्यवस्था हुन्थ्यो । देशको स्रोत–साधनमा केही व्यक्तिको मात्र हालिमुहाली हुँदैनथ्यो । आफ्ना नागरिक विदेशमा अलपत्र पर्दा सरकारले उद्दार गथ्र्यो ।” शेरबहादुरले थप्यो—“युरोप अमेरिकातिर गएर मरेका भए सायद हाम्रो सरकारले पनि चासो राख्दो हो । भारतमा मजदुरी गर्न जाने तिमी–हामी जस्ता दुःखी गरिवहरू हुने भएकाले वास्ता नगरेको होला ।”
अन्त्येष्टि सकेर फर्किँदा दीपेन्द्र ऐडीले शेरबहादुरसँग सुस्तरी भन्यो—“हैन दाइ, कतै जग्गुलाई कोरोना भएको त थिएन ? कतै त्यस्तो जाँचसाँच पनि गराइएन ! नत्र, हिँड्ने बेलासम्म केही नभएको त्यस्तो फूर्तिलो मान्छे एकाएक त्यसरी बिमारी हुन नपर्ने । मलाई त कताकता डर पो लागिरहेछ । कोरोना रहेछ भने त कतै हामीलाई पनि...।” उसको भनाइले शेरबहादुरको मनमा पनि चिसो पस्यो । तर बाहिर विश्वस्त भएझैं भन्यो—“हैन, बढी धपडी भयो, खानपिन पनि मिलेन, भित्र केही बिमार थियो होला । नत्र कोरोना नै लागेको भएपनि त्यस्तो हृष्टपुष्ट युवक त्यसरी ठहरै हुने थिएन । तिमीले सुनेका छैनौ ? कोरोना लागेका नब्बे प्रतिशत मान्छे आफैं ठिक हुन्छन् । बुढाखाडा र रोगीहरूलाई मात्रै च्याप्ने हो ।” भन्नलाई त्यसो भनेपनि शेरबहादुरको मनमा भने आशङ्काले घोच्न थालेको थियो ।
सीमामा कडाइ गरिएपछि भारतका विभिन्न भूभागबाट आएका सयौं नेपालीहरू आफ्नो गाउँ जान नपाएकोमा छट्पटाइरहेका थिए । दीपेन्द्रले साथीहरूलाई भन्यो—“हामी कतिञ्जेल यसरी सडकमा अलपत्र परेर बसिरहने ? अलि तलतिर नदी फाटेर बगेको छ । त्यहाँबाट तरेर जान सकिन्छ भन्छन् । हिजो बिहानै दुई–तीन जना नदी तरेर गएछन् । तर्न सकिएन भनेपनि पौडी खेल्न आउँछ । गाउँमा बस्दा खोलामा गएर पौडी खेल्ने गरिन्थ्यो । जुत्ता–कपडा फुकालेर झोलामा राख्ने र झोलालाई छोटो गरेर बाँधी हात समातेर हिँड्दा तर्न सकिन्छ होला । नदी तर्न सकियो भने सीधै घर जान पाइन्छ, क्वारेन्टिन न स्वारेन्टिन । भोलि बिहान झिस्मिसेमै गएर बिचार गर्नुप¥यो । शेरबहादुर दाइ पनि तर्न सक्नुहुन्छ होला । मेरा अरु सामान हरिराम दाइ आउँदा ल्याइदिनु होला ।” हरिरामले सम्झाउँदै भन्यो—“यसरी आत्तिएर नदीमा हेलिन हुँदैन दीपेन्द्र ! नदी बढेको छ । गाउँको जस्तो सानो–तिनो खोला होइन । अरु यतिका मानिस बसेका छन् भने हामी मात्र आत्तिएर हुँदैन । फेरि पुलिसले थाहा पायो भने समातेर क्वारेन्टिनमा लगिहाल्छ ।”
नदी तरेर जाने कि सीमा–नाका कुरेर बस्ने भन्ने बारेमा साथीहरूबीच निकै बेर विवाद चल्यो । “तरेर जान सकियो भने पुलिसको आँखा छलेर सीधै घरतिर जान सकिन्छ तर नाकाबाट जानेहो भने त एक्काइस दिन क्वारेन्टिनमा बस्नुपर्छ ।”— दीपेन्द्रले नदी तरेरै जान ठीक हुने कुरा राखेपछि शेरबहादुरले निष्कर्ष निकाल्दै भन्यो—“भोलि बिहान झिस्मिसेमै निस्केर जाने र नदीको तलसम्म पुगेर हेर्ने । तर्न सकिने जस्तो लाग्यो भने सबैले हातेसाङ्लो बनाएर तरौंला । नसकिने जस्तो लाग्यो भने फर्कौंला । कोही तर्ने, कोही फर्कने कुरा हुँदैन ।”
उनीहरू आठैजना झिस्मिसेमै उठेर महाकालीको तिरतिरै तल झरे । अलि पर पुगेपछि नदी फराकिलो भएर बगेको थियो । त्यहाँ तिनीहरूले तीन–चारजना व्यक्ति नदी तर्न लागेको देखे । ती सबैले जुत्ता र पाइन्ट फुकाली झोलालाई पछाडि भिरेका थिए । छेउका दुई जनाले लामा लामा लठ्ठी टेकेका थिए भने एक आपसमा हातेसाङ्लो बनाएका थिए । हेर्दाहेर्दै चारैजना महाकालीमा हेलिए अनि विस्तारै पारि पुगे । त्यो दृश्यले उनीहरूको आत्मबल बढाइदियो । “ल, सकिने रहेछ । हामी पनि तिनीहरू तरेकै ठाउँबाट त्यसैगरी तर्नुपर्छ ।”—दीपेन्द्रले उत्साहित हुँदै भन्यो । “तर हामीसँग लठ्ठी भएन । लठ्ठीले धेरै मद्दत गथ्र्यो, नदी कतिसम्म गहिरो र बेगमा छ भन्नेकुरा लठ्ठी गाडेर थाहा हुन्थ्यो । लड्न लाग्दा लठ्ठीले बचाउँथ्यो । लठ्ठी नहुँदा खुट्टा नटेकी गहिराइ थाहा पाउन सकिँदैन ।”—दलबहादुर ठगुन्नाले भन्यो । उनीहरू सबैले जुत्ता फुकालेर झोलाको फितामा बाँधे, पाइन्ट र सर्ट–टिसर्टहरू फुकालेर झोलाभित्र हाले अनि यताउति हेरेर नदी तर्न तम्सिए । वल्लो छेउमा शेरबहादुर र पल्लो छेउमा दीपेन्द्र थिए भने अरु बीचमा । सबैले एकआपसमा हात समातेर माखेसाङ्लो बनाए । “एक अर्काको हात बलियो गरी समाउनुपर्छ है, लडिहाले पनि हात छोड्नु हुँदैन, आत्तिनु हुँदैन । यदि नसकिने जस्तो भयो भने सबैजना उसैगरी हात समातेरै फर्किनुपर्छ, एक–दुई जना मात्र जानु हुँदैन ।” —शेरबहादुरले सचेत गरायो । नदीको बीचसम्म उनीहरू सजिलै गरी पुगे तर त्यसपछि भने नदी झनै गहिरिएको महसूस गरी केही हच्किए । पानी पेटको माथिल्लो भागसम्मै आउन थाल्यो । पछाडि भिरेको झोला पनि भिज्न थाल्यो । फर्किने कि अघि बढ्ने द्विविधामा परे । “हैन दाइ, फर्कनुपर्छ होला । झोलाभित्र पानी पसिसक्यो, उता अझै गहिरोजस्तो छ ।”—डिलारामले डराएको भावमा भन्यो । “हैन, अव आइहालियो, झोला भिजेर केही हुँदैन, जाऊँ ।”—दलबहादुरले आँट गरेर भन्यो ।
नदी तर्न दश फिट जति बाँकी छँदा दीपेन्द्रको खुट्टा पानीभित्रको एउटा ढुङ्गामा चिप्लिन पुग्यो । उसले समातेको दलबहादुरको हात पनि अनायासै फुत्किन पुगेछ । ऊ लडिहाल्यो र पानीको तीब्र प्रवाहसँगै बग्न थाल्यो । दलबहादुर आत्तिएर करायो—“ए ! लौन, दीपेन्द्र लड्यो !” सबै आत्तिएर टक्क अडिए । ऊ लडेतिर हेरे । दीपेन्द्रको पछाडिको झोला डुब्दै उत्रिदै बगिरहेको देखिन्थ्यो । उज्यालो राम्ररी नभइसकेकाले दीपेन्द्रको शरीर स्पष्ट नदेखिए पनि रातो झोलासँगै उसको टाउको भने स्पष्ट देखिन्थ्यो । कोही पनि एक्लै पौडिएर उसलाई उद्दार गर्नसक्ने स्थिति थिएन । साथीको हात फुत्किनासाथ आफैं लडिने स्थिति थियो । बाँकी सबैजना कसोकसो गरेर पारि तर्न पुगे । भर्खर मिर्मिरे हुन लागेको उज्यालोमा उनीहरूले दीपेन्द्रलाई खोज्दै निकै पल्तिरसम्म पुगे । दुई–तीन जनाले चिच्याए—दीपेन्द्र ! दीपेन्द्र !! तै कतै काठ–मुढा केही भेटेर समाउन पायो कि ? अथवा पानीको भेलले कतै किनारतिर हुत्याइदियो कि भन्दै निकै पर–परसम्म खोजी गरे । चिच्याएर पनि मद्दत गर्न निस्कने कुनै बाहिरी मानिस थिएन । वरपर कतै बस्ती थिएन, जङ्गल र झाडी मात्र थियो । यसैले दीपेन्द्र बँचेर फर्किने सम्भावना निकै कम थियो । ऊ बगेर बेपत्ता भइसकेको थियो । उनीहरू निकैवेर त्यहीँको झाडीमा बिलौना गरेर बसे ।
“कस्तो साइतमा हिँडेछौं हामी ! हिँडेको एक हप्तामै दुईजनालाई गुमायौं । अव के भनेर खबर गर्ने दीपेन्द्रको परिवारलाई ? हिजो मात्र उसले घर–परिवारसँग फोनमा कुरा गरेको थियो । आज यस्तो घटना भयो भनेर कसरी सुनाउने ? ‘सँगसँगै नदी तर्न लागेकामा ऊ मात्र बग्यो’ भनेर कसरी भन्ने ?” शेरबहादुरले चिन्ता व्यक्त ग¥यो । सबैभन्दा पुरानो र परिपक्क भएकाले घटनाप्रति बढी चिन्तित पनि उही देखिन्थो । “उसलाई त्यसरी मर्न लेखेको रहेछ र पो नदी तरेर जान जिद्दी गरेको । नत्र, हामीहरू त जतिनै दुःख र अप्ठेरो परेपनि नाका खुलेपछि जाने पक्षमा थियौं ।” —हरिरामले हिजोको विवादलाई सम्झँदै भन्यो । उनीहरू सानो जङ्गल र झाडी हुँदै ब्रह्मदेव नजिक आइपुग्दा कसैले सुराँकी गरेर हो वा आफैंले देखेर हो प्रहरीको कब्जामा परिहाले । उनीहरूलाई अलि परको महाकाली माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा लगेर राखियो ।
क्वारेन्टाइनमा पैतीस जना थिए । स्थानीय विद्यालयको क्वारेन्टाइन भएकाले भौतिक सुविधाको अभाव थियो । पैतीस जनाका लागि जम्मा दुईवटा चर्पीको व्यवस्था थियो । यसैले कतिपय चर्पी जानुपर्दा इन्चार्जलाई सोधेर नजिकको जङ्गलमा जाने गर्थे । सस्तो चामलको भात पातलो चौलानी जस्तो दालमा मुछेर खानुको विकल्प थिएन । नजिक घर भएकाले कहिलेकाहीँ घरबाट खाना वा खाजा ल्याइदिन्थे । उनीहरूलाई विद्यालयभित्र पस्न निषेध गरिएकाले कम्पाउन्ड बाहिरैबाट प्लाष्टिकमा पोको पारेर खानेकुराहरू हुत्याइदिन्थे अनि भित्र रहेकाले छोप्न पुग्दथे । तर अलि टाढा घर भएकाहरूले त्यो सुविधा पनि पाउँदैनथे । डिलारामलाई भेट्न कहिले बाबु र कहिले श्रीमती आउँथे । उसले पनि गुजरातबाट बचाएर ल्याएको पैसा पठाइदिएको थियो । सँगै आएकामध्ये दलबहादुर, चित्रबहादुर र हरिरामको घर अलि टाढा पथ्र्यो । उनीहरूलाई कोही भेट्न आएका थिएनन् । एकदिनमा आउजाउ गर्न नसकिने टाढाको बाटो भेट्न आउने कुरा पनि भएन । यसैले डिलारामले आफूलाई आएको खानेकुरा तिनीहरूलाई पनि दिने गथ्र्यो ।
उनीहरू क्वारेन्टाइनमा रहेको पाचौं दिनमा बल्ल कोरोना जाँच्ने टोली त्यहाँ आइपुग्यो र त्यहाँ रहेका सबैको स्वाब सङ्कलन गरेर लग्यो । हिजो अस्तिसम्म ढुक्क जस्तै रहेका उनीहरूमा स्वाब लिएर गएपछि भने भित्रभित्रै आशङ्का उब्जन थालेको थियो । शेरबहादुर र डिलाराम बढीनै डराए जस्ता देखिन्थे । ‘जग्गु त्यसरी अचानक बिमार लागेर म¥यो । उसलाई कोरोना लागेको रहेछ भनेत पक्कै हामीलाई पनि स¥यो होला । ओहो ! कोरोना देखियो भने ! मेरो त परिवारै सकिन्छ । पाँचजनाको परिवारमा कमाउने भनेको म मात्रै हुँ, यदि मै क्यै भैहालें भने...!” डिलारामको मनमा त्रासको बादल मडारिन थाल्यो । उता शेरबहादुरले पनि मनमनै सोच्यो—‘कोरोना देखियो भने त बरवादै हुन्छ । हुन त कोरोना देखिँदैमा बिमारी भैहालिने र मरिहालिने भन्ने हुँदैन, रिपोटमा कोरोना देखिएर त्यसै सञ्चो भएका धेरै हुन्छन् तर पनि जग्गु जस्तो त म¥यो... !’ अनि आफैंले आफ्नै मनलाई सान्त्वना दियो—‘एउटै परिवारका त एउटालाई कोरोना लाग्दा अर्कालाई नलागेको हुन्छ भन्छन्, जग्गुलाई लाउँदैमा हामीलाई पनि सरेको हुन्छ भन्ने छैन । फेरि ऊ कोरोनाले नै मरेको भन्ने पनि छैन । भित्र अरु नै बिमार पनि हुन सक्थ्यो ।’
परीक्षणको सात दिनका दिन बल्ल रिपोर्ट आयो । त्यहाँको क्वारेन्टाइनमा रहेका पैतीसजनामध्ये सातजनाको रिपोर्ट पोजेटिभ आएछ । अहमदाबादबाट सँगै आएर बँचेका सातजनामध्ये दलबहादुर ठगुन्नाको मात्र पोजेटिभ आएछ, अरु सबैको नेगेटिभ । “अब छ दिनपछि फेरि स्वाव जाँच्ने र नेगेटिभ आएकालाई घर जान छोडिदिने कुरा भएको छ ।”—शेरबहादुरले केही ढुक्क हुँदै भन्यो । नेगेटिभ रिपोर्ट आएकाहरू केही खुसी र उत्साहित देखिन्थे भने पोजेटिभ आएकाहरूमा पीडा र निराशाको भाव देखिन्थ्यो । रिपोर्ट आएदेखि नै दलबहादुर साथीहरूसँग त्यति नबोल्ने, एक्लै टोलाएर बस्ने, टाढाको डाँडातिर हेरिरहने गरेको थियो । उसलाई शेरबहादुर र अरु साथीहरूले धेरै सम्झाए—‘त्यस्तो निराश हुनुपर्दैन दलबहादुर भाइ । रिपोर्ट पोजेटिभ आउँदैमा आत्तिनु पर्दैन । पोजेटिभ रिपोर्ट भएकाहरू पनि नब्बे प्रतिशत बढी त्यसै ठिक भएको सुनिन्छ । बाँकी दश प्रतिशतमध्ये पनि सात–आठ प्रतिशत उपचारपछि सञ्चो भएका छन् । बूढाबूढी र भित्र कडा रोग भएकाहरूलाई मात्र समस्या हुने हो । तिमी हामी जस्ता कुनै रोग नभएका युवालाई यसले कुनै असर गर्दैन । ढुक्क भएर बस, मनोबल बढाऊ भाइ ।’ अरुले जति सम्झाए पनि उसको मनस्थिति बेग्लै हुन थालेको थियो । ‘सँगै आएका साथीहरूमध्ये किन मलाई मात्र कोरोना देखियो ?’ ऊ यस कुरामा बढी चिन्तित भएको थियो ।
उनीहरू क्वारेन्टाइनमा बसेको एक्काइस दिन पुगिसकेको थियो । दोस्रो पटक परीक्षण भइसकेर पनि रिपोर्ट आएको थिएन । उता क्वारेन्टाइनमा मानिसहरू धमाधम थपिइरहेका थिए । ठाउँ नपुगेर एउटै कोठाभित्र छ–सातवटासम्म बेड राखिएका थिए । क्वारेन्टाइनको इन्चार्जले स्थानीय निकायसँग सल्लाह गरेरै होला दोस्रो रिपोर्ट नआइकनै एक्काइस दिन पुगेका र पहिलो रिपोर्ट नेगेटिभ आएकालाई नाम र संपर्क नंवर टिपेर घर पठाइदिने निर्णय ग¥यो । सँगै आएका छ जना साथीहरू दलबहादुरलाई सम्झाउँदै उसँग बिदा भएर घरतिर लागे ।
दल बहादुरले शेरबहादुरलाई भन्यो—“दाइ, मसँग भएको यो पैसा घरमा पु¥याइदिनोस् । यहाँ कतिञ्जेल बस्नुपर्ने हो र यहाँबाट कता–कता सार्ने हुन् थाहा छैन । उता घरमा छोरो आएको भन्ने थाहा पाएर साहुहरूले बालाई अत्याइरहेका होलान् । छोरो आएपछि बेसाहा किन्ने भनेर आमा पनि मैलाई पर्खिरहेकी होलिन् ।” उसले झोलामा राखेको छुट्टै पैसा निकालेर गन्यो—अठार हजार रहेछ । खल्ती छामछुम ग¥यो, साढे तीन हजार चानचुन रहेछ । ‘मलाई किन चाहिएला र ?’ —उसले मनमनै सोच्यो अनि पन्ध्रसय जति आफूले राखेर दुईहजार थपी बीस हजार पु¥याएर शेरबहादुरलाई दियो । साथीहरू हिँडेपछि उसको मन भारी भएर आयो । सोच्यो—‘अव फेरि भेट हुने हो होइन, न जग्गु मरेझैं यहीँ मर्नुपर्ने हो ।’ उसले साथीहरू हिँडेको बाटोतिर निकैबेर हेरेर टोलाइरह्यो ।
सबै साथीहरू घरतिर गएपछि दलबहादुरको मनस्थिति झनै बिग्रन पुग्यो । उसले मनमनै सोच्यो—‘घरको त्यो हालत छ । छोरो आउला र पुरानो ऋण तिरौंला, बेसाहा किनौंला भनेर बाआमा बसेका होलान् । भारतमा गई काम गरेपछि दुईचार पैसा जोगाउँला र घर–व्यवहार चलाउँला भनेको काम थालेको तीन महिना नहुँदै बन्दाबन्दी हुन पुग्यो । आफूसँग भएको पैसा पठाइहालें । कोरोनाले बाँचियो भने पनि घर–गाउँमा सबैले कोरोना लागेको मान्छे भनेर नराम्रो दृष्टिले हेर्छन् । नेपालमा केही काम पाइने होइन, यही बाटो इन्डिया जाऊँ भने पनि नाकामा रोकावट छ, उता कम्पनीहरू सब बन्द छन् । कसै गरे पनि बाँच्न सहज नहुने भयो ।’ उसले चारैतिर अँध्यारो मात्र देख्न थाल्यो । कहीँ–कतै आशाको उज्यालो देख्न सकेन ।
भोलिपल्ट बिहानै त्यहीँ नजिकैको जङ्गलमा मानिस झुण्डिएको हल्ला क्वारेन्टाइनभरि फैलियो । प्रहरी, क्वारेन्टाइनको इन्चार्ज र अरु केही व्यक्ति त्यहाँ पुगे । रुखमा झुण्डिएको शव क्वारेन्टाइनमा बस्दै आएको व्यक्ति दलबहादुर ठगुन्नाको थियो ।
पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।