पिरतीको मीठो धुन सुनेर साथ फेरि दुख्यो
अँगालोको न्यानो सम्झेर याद फेरि दुख्यो
सिमानाको काँडेतारले पनि छेक्न नसक्ने माया
रूढिवादी जमातलाई नरुचेर जात फेरि दुख्यो
मायाको नदी गहिरो बगेकै हो नि मनभित्रभित्र
बदनामीको आगोमा जलेर घात फेरि दुख्यो
ठूलो र सानो त सङ्कुचित सोचकै उपज हो नि
आलो रगत बेमूल्य पारेर विवाद फेरि दुख्यो
हुनु र नहुनुमा फरक त हुन्छ नि किन हुँदैन र
कुसंस्कारी चलखेलमा परेर उन्माद फेरि दुख्यो
दुख्नु त दुख्छ नि किन दुख्दैन र मनै त हो
भुलिएको व्यथा बल्झेर अवसाद फेरि दुख्यो
डाउहिल,खरसाङ(भारत)